April 24, 1984
Created by nepalarchives

निर्णय नं. १९१४ – उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १९१४ ने.का.प. २०४१             अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको...

निर्णय नं. १९१४ ने.का.प. २०४१             अङ्क २

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको रि.नं. १६२१

विषय : उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निवेदक : जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने पोषण वल्लभ पन्त

ऐ ऐ वा.नं. ३ बस्ने गोपी कृष्ण पाण्डे

विरूद्ध

विपक्षी    : भु.सु.का. धनुषा,

जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ५ बस्ने शिव कुमार दनुवार

आदेश भएको मिति : २०४१।१।१२।३ मा

§  ऐनमा भएको व्यवस्थानुसार बाली नबुझाउने मोहीलाई सर्वप्रथम निष्कासन गर्ने या नगर्ने तर्फ निर्णय गर्न पर्ने र त्यसपछि बाली भराउने या नभराउने तर्फ विचार गर्नुपर्ने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

उल्लिखित मुद्दा : x  

आदेश

          न्या. पृथ्वीबहादुर सिंह :  नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

          २.   निवदेकहरूको नाममा दर्ता रहेको रघुनाथपुर गा.पं. वा.नं. १(ग) कि.नं. १११ को ०१११५ ऐ कि.नं. १३९ को ०१२ ऐ वा.नं. ५(घ) कि.नं. ७६ को ०६ को जग्गाको ०३९ सालको बाली नदिएकोले भराई विपक्षी मोहीलाई निष्कासन गरिपाउँ भनी भू.सु.का.धनुषामा हाम्रो फिराद परेको ।

          ३.   वादी दावी बमोजिम कूत भराई दिने तर मोही यथावत कायम राख्ने भन्ने समेत भू.सु.का.धनुषाको मिति ०४०।४।५ को निर्णय ।

          ४.   भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले बाली नदिेने मोहीलाई निष्कासन गर्न सक्ने र ऐ २९(३) ले निष्कासन हुने मोहीबाट बाली समेत भराउने व्यवस्था भएकोमा बाली नबुझाउने मोहीलाई बाली भराई निष्कासन समेत गरिपाउँ भन्ने दावी भएपछि न्यायिक निर्णय गर्ने अधिकारीले तजविजी अधिकार प्रयोग गर्दा सबूत प्रमाणको मूल्यांकन गरी आधार देखाई न्यायिक तरिकाले निष्कर्षमा पुग्न पर्छ भन्ने फुल बेञ्चबाट मिति ०३३।९।२४ मा काशिराम राजवंशी विरूद्ध भू.प्र.का.मोरङको उत्प्रेषणको रिटमा प्रतिपादित सिद्धान्त समेतको विपरीत बाली भराई मोही निष्कासन नहुने ठहर्‍याएको भू.सु.का.धनुषाको मिति ०४०।४।५ को त्रुटिपूर्ण निर्णयबाट नेपालको संविधानको धारा १०।११(२)(ङ) धारा १५ द्वारा प्राप्त मेरा हक हनन् भएकोले ऐ धारा ७१ अन्तर्गत उत्पे्रषणका आदेशद्वारा उक्त कानूनी त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ ।

          ५.  विपक्षीहरूबाट लिखितजवाफ पेश गराउनु भन्ने सिङ्गलबेञ्चको आदेश अनुसार प्राप्त लिखितजवाफ संक्षेपमा यस प्रकार रहेछ ।

          ६.   बाली नबुझाउने मोहीबाट बाली भराई मोही यथावत कायम राख्ने गरी कानून बमोजिम गरेको यस कार्यालयको निर्णयबाट रिट निवेदकको मौलिक हकमा आघात परेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.धनुषाको लिखितजवाफ रहेछ ।

          ७.  रीतपूर्वक म्याद तामेल भई विपक्षी मोहीबाट लिखितजवाफ पेश नभएको ।

          ८.   निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री केदारचरण राय र विपक्षी कार्यालयतर्फबाट रहनुभएको विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहस सुनियो ।

          ९.   अब रिटनिवेदन माग बमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो को निर्णय दिनुपरेको छ ।

          १०.  निर्णयतर्फ विचार गर्दा यसमा मोहीले बाली नबुझाएकोले बाली भराई मोही निष्कासन समेत गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर भएकोमा बाली भराई मोही निष्कासन नहुने ठहर्‍याई भू.सु.का.धनुषबाट निर्णय आदेश भएको रहेछ ।

          ११.  प्रस्तुत विवादमा बाली नबुझाउने मोहीलाई मोहियानीबाट निष्कासन समेत गर्नुपर्ने हो होइन ? यसतर्फ विचार गर्नुपर्ने देखिन्छ ।

          १२.  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) लाई हेर्दा दैवी परी बाली नाश भएमा वा उब्जा हुन नसकेमा बाहेक बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सक्ने र ऐ २९(३) मा त्यस्तो मोहीबाट कूत समेत भराई दिन सक्ने छ भन्ने व्यवस्था गरेको पाइन्छ ।

          १३.  ऐनको यस व्यवस्थालाई हेर्दा विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्ता मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकार भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ । तर ऐनमा भएको व्यवस्थानुसार त्यस्तो बाली नबुझाउने मोहीलाई सर्वप्रथम निष्कासन गर्ने या नगर्नेतर्फ निर्णय गर्न पर्ने र त्यसपछि बाली भराउने या नभराउने तर्फ विचार गर्नुपर्ने स्पष्ट छ ।

          १४.  तर प्रस्तुत विवादमा भू.सु.का.धनुषाबाट सर्वप्रथम मोहीले बाली नबुझाएको भनी मोहीबाट बाली भराउने ठहर गरी त्यस पछि मात्र निष्कासन तर्फ बोलेको देखिएबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) तथा ऐ (३) को स्पष्ट कानूनद्वारा निर्धारित प्रकृयाको विपरीत अवलम्बन गरी ठीक प्रकृया अपनाएको नदेखिएकोले भू.सु.का.धनुषाको मिति ०४०।४।५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानून बमोजिम कारवाही किनारा गर्नु भनी विपक्षी कार्यालयको नाममा परमादेश समेत जारी गरिएको छ । जानकारी निमित्त आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमानुसार मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल बैशाख १२ गते रोज ३ शुभम् ।