April 17, 1984
Created by nepalarchives

निर्णय नं. १८६५ – जारी चोरी

निर्णय नं. १८६५  ने.का.प. २०४१                    अङ्क १ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल...

निर्णय नं. १८६५  ने.का.प. २०४१                    अङ्क १

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको स.अ.फु.फौ.नं. ८

मुद्दा : जारी चोरी

निवेदक/प्रतिवादी : जिल्ला बैतडी थाली डाँडा गा.पं.सेल्पाखा बस्ने बहादुरे दमाई

विरूद्ध

विपक्षी/वादी :    कञ्चनपुर भुजेल गा.पं. वा.नं. २ तिल्केनी बस्ने धनिराम दमाई

फैसला भएको मिति :  २०४१।१।५।३ मा

§  तल्लो तहको फैसला बदर भएको स्थितिमा तल्लो तहको अदालतको फैसलाको अस्तित्व नै नरहेको स्थिति हुन्छ । यस्तोमा पुनः अधिकार क्षेत्र ग्रहण गर्नु अ.बं. ८५ नं. को विपरीत भएको र एउटै विषयमा उही अदालतले दुईटा निर्णय गरेको अवस्था पर्छ भन्न मिल्दैन ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल

विपक्षी तर्फबाट   :  

उल्लेखित मुद्दा : x

 

फैसला

            न्या. धनेन्द्रबहादुर सिंह : मिति २०३८।४।२९ मा सु.प.क्षे.अ.को फैसला मनासिब छ भनी यस अदालत डिभिजन बेञ्चले गरेको फैसला चित्त नबुझ्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम सर्वोच्च अदालतको फैसला दोहर्‍याईपाउँ भनी न्यायिक समिति राजदरवारको सिफारिशबाट श्री ५ महाराजाधिराज सरकारको जुनाफमा जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपयुक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हु.प्र.बक्स भई आई फुल बेञ्चको लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

            २.   अन्यायी मध्येका कलुवा ढोलीको छोरी पार्वतीलाई २०२१ साल माघ महीनामा विवाह गरी सुन समेतको गहना लगाउन दिई स्वास्नी तुल्याई राखेको थियो । २०२४ सालमा कञ्चनपुर तिनकोनीमा आई केही जग्गा आवाद गरी घर बनाई दिउँसो महेन्द्रनगरमा लुगा सिई राति घरमा जाने गर्दथेँ । मेरो लुगा सिउने मेशिन बिग्री नयाँ मेशिन किनी ल्याउन भनी मेरो साथी मध्ये विश्रामलाई साथ लिई २०२९।१०।२० मा भारत बरेलीतर्फ गएको अवस्थामा ऐ २१ गते अन्यायवालाहरू मेरो घरमा आई मेरो श्रीमती पार्वतीलाई फकाई बहादुरले स्वास्नी तुल्याउने कुरा मिलाई लगाएको गहना र बक्सामा राखेको रु.३२५। समेत झिक्न लगाई भगाई लगेछन् । ऐ २३ गते घरमा आउँदा ५ महीनाको गर्भ सहित श्रीमती घरमा नदेखी खोजतलास गर्दा बहादुरे दमाईसँग पोइल गएको कुरा थाहा पाई नालिश गर्न आएको छु मेरी श्रीमती जारी गरी लगेकोले धनमालको हकमा चोरीको महल बमोजिम सजाय गरी बिगो रु.२७६५। दिलाई कलुवा र बहादुरेलाई चोरीको १८ नं. बमोजिम सजाय गरिपाउँ बहादुरे र पार्वतीलाई जारीतर्फ जारीको २।४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको धनीरामको फिराद ।

     ३.   वादी दावी बमोजिम पार्वती वादीकी श्रीमती नभई ०२९।३।१७ गते बहादुरे र मेरो विवाह भएको हो वादीसँग विवाह भएको होइन । मेरो करणी विर्यले गर्भ रहेको हो भन्ने हकमा वादीका भनाई अनुसार म २०४० सालमा नाबालक रहेको अवस्था भएको र वादीसँग विवाह हुँदै नभएकोमा कसरी गर्भवती भए हुँली वादीले मलाई विवाह गर्न मागेको र मैले मञ्जूरी नगरेको हुँदा रिसइवीबाट वादीले झुठ्ठा उजूर गरेको भन्ने पार्वती र पार्वतीलाई मैले २०२९ सालमा कन्या कुमारी विवाह गरेको हुँ वादीले विवाह गरेको होइन भन्ने बहादुरे र वादीसँग छोरीको विवाह भएको होइन र २०२९ सालमा बहादुरेको साथ विवाह गरी दिएको हुँ । छोरी माग्न आएको नदिएको रिस लिई झुठ्ठा उजूरी गरेको हो भन्ने समेत व्यहोराको कलुवा ढोली समेत ३ जनाको इन्कारी प्रतिउत्तर पत्र ।

     ४.   धनीरामको र मेरो जग्गा साथसाथ भएकोले पार्वती निजको स्वास्नी हुन् भनी थाहा पाएको हुँ । वादी नयाँ मेशिन किन्न बरेलीतर्फ गएको अवस्थामा फिरादमा उल्लेख भए बमोजिमको धनमालको साथै पार्वतीलाई पनि कलुवा टोली समेतले आफ्नो साथमा लगेको हो अहिले पार्वती बहादुरेको स्वास्नी भई बसेकी छ भन्ने वादीको साक्षी जना २ को बकपत्र ।

     ५.   पार्वती बहादुरेको स्वास्नी हो पार्वतीलाई धनीरामले विवाहको लागि कुरा गर्दा पार्वतीको मन नपर्दा बहादुरेसँग विवाह भएको हो हामीहरू पार्वतीको विवाहमा जन्ती समेत गएका हौं भन्ने प्र.का साक्षी जवान ४ ले गरेको बकपत्र ।

     ६.   बुझिएको प्रमाणबाट पार्वती वादीको स्वास्नी ठहर्दैन सो नठहर्नाले प्र.ले जारी गरी लिए भनी झुठ्ठा उजूर गरेको ठहर्छ । वादीले दावी गरे अनुसार निज परदेश गएको हो वा होइन यकीन नभई चोरीको महल बमोजिम सजाय गर्न मिलेन धनमालतर्फ वादी दावी खारेज हुने ठहर्छ भन्ने कञ्चनपुर जिल्ला अदालतको फैसला ।

     ७.   विपक्षीले जारी चोरी गरेको नठहराई मलाई ३ वर्ष १ महीना १५ दिन कैद गरी कै.जि. अ.बाट भएको फैसलामा चित्त बुझेन । जि. अ.को उक्त फैसला बदर गरी दावी बमोजिमको धनमाल भराई जारीमा सजाय समेत गरिपाउँ भन्ने समेत व्यहोराको धनीराम दमाईको सु.प.क्षे.अ.मा परेको पुनरावेदन ।

     ८.   स्वास्नी कायम गर्ने तर्फ वादी पुनरावेदन दावी नै नभएकोमा शुरू जि. अ.ले फैसला गर्दा पार्वतीलाई वादीको स्वास्नी ठहर्दैन भनी गरेको ठहर मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम झगडिया झिकाई पेश गर्नु भन्ने सु.प.क्षे.अ.डिभिजन बेञ्चको आदेश ।

     ९.   प्रतिउत्तरको व्यहोराबाट स्वास्नी हो होइन भन्ने निर्णय गर्नुपर्ने प्रश्न खडा हुन आएको देखिन आएकाले निरोपण गर्नुपर्ने विषय अर्थात स्वास्नी कायम गरिपाउँ भन्ने तर्फ पनि सबूत प्रमाण खुलाई सो समेत बुझी मात्र वादीको स्वास्नी हो होइन भनी जारी चोरी तर्फ निरोपण गर्नुपर्नेमा सो नगरी गरेको ठहर ऐन विरूद्ध भएकोले शुरू जि. अ.को निर्णय बदर हुन्छ । स्वास्नी कायम गराई पाउँ भन्ने तर्फ वादीलाई अ.बं.१३३ नं. बमोजिम कागज गराई खुलाउनु पर्ने सबूत प्रमाण खुलाई जो बुझ्नु पर्ने बुझी कानून बमोजिम ठहर गर्नु भनी मिसिल शुरू जि. अ.मा पठाउने ठहर्छ भन्ने सु.प.क्षे.अ.को डिभिजन बेञ्चको फैसला ।

     १०.  सु.प.क्षे.अ.डिभिजन बेञ्चको फैसलामा चित्त नबुझेकोले न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी प्र.बहादुरे दमाई र पार्वती दमेनी समेतको यस अदालतमा पर्न आएको निवेदन ।

     ११.   मुलुकी ऐन अ.बं.१३३ नं. बमोजिम मनासिब माफिकको कुरामा कागज गराउन हुने हुनाले कुनै कानूनको आधार नभई त्यसतर्फ इन्साफ गर्न शुरू जि. अ.मा पठाउने गरेको सु.प.क्षे.अ. को निर्णयमा अ.बं.१३३ नं. को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।

     १२.  वादीको दावीमा उल्लेख भए अनुसार जारी र चोरीमा समेत सजायको माग दावी भएकोमा स्वास्नी होइन भन्ने प्रतिउत्तर जिकिर भएपछि सो विषयमा पनि सोही मुद्दाबाट सबूत प्रमाण बुझी निर्णय दिनु पर्नेमा सो बमोजिम समेत नगरेको आधारमा कञ्चनपुर जिल्ला अदालतको निर्णय बदर गर्ने गरेको मनासिब देखिनाले पुनरावेदन जिकिर पुग्न सक्दैन सु.प.क्षे.अ.को फैसला मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको फैसला । यस अदालत डिभिजन बेञ्चको मिति ०३८।४।२९ मा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई नै सदर गर्ने गरी भएको फैसलामा चित्त नबुझेको हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम सो इन्साफ जाँची हेरी दिनु भन्ने श्री सर्वोच्च अदालतको नाउँमा हुकुम प्रमांगी पाउँ भनी न्यायिक समिति राजदरवार मार्फत श्री ५ महाराजाधिराजको हजुरमा बहादुरे दमाई र पार्वती दमेनीले चढाएको निवेदनमा न्यायिक समितिको सिफारिश पर्चा समेतको आधारमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट सर्वोच्च अदालतको नाममा हु.प्र.बक्स भई आएको ।

     १३.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दा निवेदकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले गर्नुभएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा यस अदालत डिभिजन बेञ्चको सु.प.क्षे.अ.को फैसलालाई सदर गर्ने गरेको मिति ०३८।४।२९ को फैसला मिले नमिलेको के रहेछ सो तर्फ हेर्नुपर्ने हुन आयो ।

     १४.  यसमा निर्णयतर्फ हेर्दा आफ्नी स्वास्नी पार्वतीलाई बहादुरे दमाईले लगाएको गहना तथा रुपैयाँ पैसा समेत जारी गरी लगेकोले सजाय गरिपाउँ भन्ने वादी दावी भएको र पार्वतीको वादीसँग विवाह भएको नभई वादीले दमाइसँग विवाह भएको भन्ने प्रतिवादीहरूको जिकिर देखिन्छ । शुरू कञ्चनपुर जिल्ला अदालतले धनमालतर्फ वादी दावी खारेज हुने र जारी तर्फ वादी दावी नपुग्ने ०३२।३।२० मा ठहर गरेकोमा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा वादीको स्वास्नी नै होइन भन्ने प्रतिउत्तर हुन आएकोले अ.बं.१८४(क) नं. बमोजिम मुख नमिलेको कुरामा निर्णय दिनु पर्ने नै प्रतिउत्तरको व्यहोराबाट स्वास्नी हो होइन भन्ने निर्णय गर्नुपर्ने प्रश्न खडा हुन आएको देखिएको भनी शुरू कञ्चनपुर जिल्ला अदालतको ०३२।३।२० को फैसला बदर गरी स्वास्नी कायम गराई पाउँ भन्ने तर्फ पनि वादीलाई अ.बं १३३ नं. बमोजिम कागज गराई निर्णय गर्नु भनी मिसिल शुरू जिल्ला अदालतमा पठाउने ०३५।३।१२ मा निर्णय गरेको र सोही निर्णय सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३८।४।२९ मा सदर भएको देखिन्छ ।

     १५.  माथिल्लो तहको अदालतको निर्णयद्वारा तल्लो तहको अदालतको फैसला बदर भएपछि माथिल्लो तहको फैसलाले तोकेबमोजिम तल्लो तहको अदालतले पुनः अधिकार क्षेत्र ग्रहण गरी जो बुझ्नु पर्ने सबूत प्रमाण बुझी पुनः कानून बमोजिम निर्णय गर्न सक्ने नै देखिन्छ । तल्लो तहको फैसला बदर भएको स्थितिमा तल्लो तहको अदालतको फैसलाको अस्तित्व नै नरहेको स्थिति हुन्छ । यस्तोमा पुनः अधिकार क्षेत्र ग्रहण गर्नु अ.बं.८५ नं. को विपरीत भएको र एउटै विषयमा उही अदालतले दुईटा निर्णय गरेको अवस्था पर्छ भन्न मिल्दैन ।

     १६.  अत उपर्युक्त कारणहरूबाट अ.बं.१३३ नं. बमोजिम वादीलाई कागज गराई खुलाउनु पर्ने सबूत प्रमाण खुलाई जो बुझ्नु पर्ने बुझी कारवाही किनारा गर्नु भनी मिसिल शुरू कञ्चनपुर जिल्ला अदालतमा पठाउने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,

न्या. श्री हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल वैशाख ५ गते रोज ३ शुभम् ।