November 8, 1966
Created by nepalarchives

निर्णय नं. ३३८ – डाका

निर्णय नं. ३३८            ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री हेरम्वराज न्यायाधीश...

निर्णय नं. ३३८            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री मिनबहादुर थापा

न्यायाधीश श्री हेरम्वराज

न्यायाधीश श्री कालीप्रसाद

सम्वत् २०२३ सालको फौ.फु.नं. १८

निवेदक      : तौलिहवा जेलमा थुनिएको कैलास पासी

विरुद्ध

विपक्षी : रागाही थारु

मुद्दा : डाका

(१)   एकै मुद्दामा बिभिन्न पक्ष भएमा आफ्नोफ्नो सफाईको पृथकपृथक सबुद पेश भएका भए, गरेका भए सबुदको तुलनामा कसैलाई सफाई र कसैलाई गढाउ हुन सक्ने भएपछि परेको अपील उपर निर्णय गर्दा सफाई हुन सक्ने नै । सो को आधारबाटै रुलिङमा बाझिएको भन्न नमिल्ने ।

            अभियुक्तलाई गढाउ हुने गरी दुबैलाई समान स्तरको पोल भए पनि अभियुक्तहरूले आफ्नो सफाइको सबूद पृथकपृथक पेश गरेका छन, अभियुक्तहरूको हकमा निर्णय हुँदा निज विरुद्धको र निजतर्फको सबूदको तुलना भई कोहीलाई सफाई र कोहीलाई गढाउ हुन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा पहिले सुलतानको अपील सुनी निजलाई गढाउ गर्ने ठहर भएको कैलासको इन्साफ भएको नदेखिएको । माथि लेखिएबमोजिम बिभिन्न सबुद प्रमाणका आधारमा बिभिन्न अभियुक्तहरूलाई बिभिन्न ठहर हुन सक्ने हुँदा पछि पेश भएको कैलासको अपील उपर निर्णय गर्दा सफाई हुनसक्ने नै भएकोले यस मुद्दामा रुलिङ्ग बाझिएको नदेखिएको ।

(प्रकरण नं. १६)

अपीलाट तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद खरेल, वैतनीक वकिल श्री मिनमर्दन

फैसला

      १.     १७।७।१३।७ का राती ११।१२ बजेका टायममा बन्दुकको आवाज सुनेबाट डाका नै आएका हुन भन्ने लागेको र ठुलो मद्दत नहुनाले डाकासँग भिड्न सकिंन । मेरो घरबाट पूर्व गल्ली भई भाग्दा बदमासहरूको संख्या १०।१२ जना जतिको थियो । घरमा गई केटाकेटीहरूलाई सोध्दा डाकाहरूलाई चिनेनौं भने । जाहेर नगर्दा वारदात बढ्ने संभावना भई धनमालको बिगो तपसीलमा खुलाई दर्खास्त दिन आएको छु । ठहरेको डाकुबाट बिगो भा.रु.११४ भराई पाउँ भन्ने समेत तम्पे बड्ही छाप मौजे सिउपुर तीन घरमा बस्ने रोगाही थारुको १७।८।९।५ को दर्खास्त ।

      २.    ०१७।७।१३ गते राती डाकुहरू आई बन्दुको फायर गरी डकैती गरी पूर्व किनारातर्फ भाग्दा आगोको उज्यालोबाट सुतलान गछी १ ले हातमा बन्दुक लिई हिंडेको, कैलास पासीको रातमा लाठी लिएको चिनेका र अरु १०।१२ जना नचिनेका थिए भन्ने समेत ढेडे थारुसमेत जना १० को एकै व्यहोरा । वारदातमा आउन सकेनौं पछि बुझ्दा सुल्तान गछि कैलास पासीले डाका गरेको शंका लाग्छ भन्ने समेत तपेसोर थारु समेत जना १२ को भनाइ समेत भएको ०१७।८।२४।६ को मुचुल्का ।

      ३.    गेलहे मुसलमानले मलाई बोलाई मैले सुल्तान गछि समेतका साथिलाई खबर दिई बोलाएको हुँ । रात अन्दाजी १० बजेको टायम पचमाई मौजामा १८।१९ जना बसीरहेको देखी गेल्हे मुसलमान १ नद्यागोडीया १ सुल्तान गछि मुसलमान १ अधारे अहिर १ समेत चिनेको र अरु नचिनेको १४ जना समेत देखि अधारे अहिरले भरुवा बन्दुक लिएको र अरुले लाठी, दण्डा, लाईट समेत लिएको थियो । तिनघरेबामा डाका मार्नुपर्छ भनी गेल्हे मुसलमानले भनेकोले सबैले मञ्जुरी गरी नाउँ नजानेको थारुको घरमा पसी धनमाल डाका गरी गेल्हे मुसलमानको घरमा जम्मा गरी ४।५ दिन जाँदा तेरो भाग भनी भा.रु.१० हिस्सा दिएको थियो । ऐन सवालबमोजिम होस भन्ने समेत कैलास पासीले १७।८।२८।३ मा पुलिसमा गरेको कागज ।

      ४.    १७।७।१२ गतेको दिन गेल्हे मुसलमानले खबर दिई मलाई बोलाएमा गई भोली डाका गर्नुपर्छ भनी गेल्हेले भन्दा मैले मञ्जुरी गरी नन्दा गोडीयालाई साथमा लिई भोलिपल्ट जाँदा आधारेको हातमा बन्दुक र गेल्हे मुसलमान समेतलाई चिनेको हुँ । अरु अन्दाजी १३।१४ जनालाई चिन्न सकिन । सबैको हातमा दण्ड, लाइट थियो । केहि बेरपछि कैलास लाठी सहित आई पुग्यो र नाउँ नजानेको थारुका घरमा डाका गरी धनमाल लुटी गेल्हेको घरमा राखी पछि भा.रु.१० हिस्सा पाएको थिएँ । ऐन सवालबमोजिम होस भन्ने समेत सुल्तान गछिले १७।९।१।५ मा पुलिसमा गरेको कागज ।

      ५.    मैले डाका गरेको होइन । सो कार्तिक १३ गते म मेरो घरमा छु । पुलिसले मलाई लात्ता मुक्काले शरिरमा हिर्काउने र कपालमा समाती जगल्ट््याउने गरी कागजमा सहि नगरी धर नदिएकोले गरेको हुँ । मैले डाका गरेको हो भनी मञ्जुरीले कागज गरेको होईन भन्ने समेत १७।९।१।५ मा कैलास पासीले अदालतमा गरेको बयान ।

      ६.    मैले डाका गरेको र त्यस किसिमको कागज गरी दिएको होइन । आफू खुशी त्यस्तो कागज गराएका छन । मलाई नसुनाई सहिछाप गराएको हुन भन्ने समेत सुलतानले अदालतमा १७।९।१।५ मा गरेको बयान ।

      ७.    कैलास र सुलतानले झुठ्ठा पोल गरेका हुन । डकैती गरेको छैन । सो डकैतीमा मलाई कुनै कुरा जानकारी छैन भन्ने समेत अधिरैले ०१७।९।२।६ मा पुलिसमा गरेको कागज ।

      ८.    बन्दुक लिएको र डाका गर्न गएकोसमेत छैन । मेरा साथमा बन्दुक पनि छैन । जान पैचान नभएका मानिसले किन पोल गरे ? म जान्दिन भन्ने समेत अधिरै अहिरले अदालतमा १७।९।२।६ मा गरेको बयान ।

      ९.    ०१७।७।१३ गते डाका परेको हो । अन्दाजी १०।१२ जना डाकाहरू थिए । चिन्न सकिंन । अरु पुलिस अफिसमा दर्खास्तमा लेखी दिएको छु भन्ने समेत रोगाहि थारुको १७।९।१९।२ को बयान ।

      १०.    सुलतान गछि, कैलास पासीले पुलिसमा गरेका कागजमा डाका गर्ने साथी भनेका अधिरै अहिर १ नन्दा गोदीया १ समेत थियो भनी पोलेको छ तापनि हामी डाका गर्न गएको होइन भनी बयान गरेको । बुझिएका सर्जमिनले पनि निजहरूलाई डाका गर्न गएको देखेको भन्न नसकी बयान गरेको । साक्षी बुझिएसम्मले पनि निजहरू उपर शंका नगरेकाले कैलास सुलतानले पोलेको रोगाही थारुका घर डाका गर्न निजहरू गएका भन्ने कुरा फजुल देखिएको । सुल्तान कैलास पासी समेत २ जनाका हकमा पुलिसमा ठाडो कागज गर्दा डाका गरेकै भनी सावित भई कागज गरेकोले यस अड्डामा पुलिसले इन्कारी छँदै पनि साबिती लेखाएछन् भन्छन तापनि उजुर गरी बदर गराउन नसकेको सर्जमिन १० जनाले पनि सुल्तान कैलास डाका गरी जाँदा हामीले परालको आगोबाट देखे चिनेको भनेकाले डाका गरेको देखिने । मौजे पचगाई बस्ने गेले मुसलमान समेत डाकामा गएको भनी सुलतान, कैलासले पोलेकोमा निजले म्याद गुजारी बसेकोले फिरादीका हकमा मुलतवी राख्ने । सुल्तान कैलासले डाका गरेको ठहर्छ भन्ने समेत इ.अ.तौलिहवाको ०१८।६।८।१ को फैसला ।

      ११.    उक्त इन्साफमा चित्त बुझेन भन्ने १८।८।१।५ को सुल्तान गाछी र कैलास पासीको पृथकपृथक अपीलपत्र ।

      १२.   नन्दा गोडीयाका हकमा डाका गर्नासाथ लिई गएको भनी सुलतानले र कैलास समेतले पोल गरेको, निजले अयोध्या गएको थिएँ भनेमा त्यस कुराको कुनै सबुद गुजार्न नसकी साक्षीले समेत म्याद गुजारेको देखियो । साबिती सुतलान कैलासले डाका जस्तो कुरामा नगएको भए पोल्नु नपर्ने, छलफलमा झिकाएमा समेत हाजिर नभई गुजारी बसेकोले निजले डाका वारदात गरेको रहेनछ भन्न नहुने भई डाका ठहर्न आएकोले डाका नठहराई शुरुले गल्ती ईन्साफ गरेको र अरु गेलेका हकमा मुल्तबी राख्ने समेत गरी शुरुले छिनेको मनासिव भन्ने समेत तौलिहवा जि.अ.को ०१८।११।२९।२ को फैसला ।

      १३.   सो इन्साफमा चित्त बुझेन भन्ने कैलास पासीको अपीलपत्र ।

      १४.   पुरानो मुलुकी ऐन चोरीका महलको १० नं.मा चोरी भएको थाहा पाएका ७ दिन भित्र सदरमा भए कोतबालीमा अन्त मोफसलमा भए अदालत अमिनी नगिच भए सोहि अड्डामा र सो अड्डा टाढा भए थाना पुलिस अरु अड्डा अदालतमा गई मेरा माल यति थोक चोरी भयो भनी चोरीको माल घटी बढी नपारी २ प्रति फिरिष्त लेखी १ प्रतिमा सहिछाप गरी दिनु १ प्रतिमा अड्डाको र हाकिमको वा अमाल र अमालिको समेत सहिछाप गराई दिनु भन्ने समेत लेखी दिएको र त्यस्तो दर्खास्त पर्न आएपछि अड्डाबाट फिरिस्त उतारी कारवाही गर्नुपर्ने व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा ०१७।७।१३ को डाका वारदात भएकोमा ०१७।८।९ मा मात्र माल धनीको जाहेरी पर्न आएको र १० जना सर्जमिनले पराल बालेको उज्यालोबाट प्र.सुल्तान गछि र अपीलाट कैलास पासीलाई चिनेर अरुलाई चिन्ह सकिंन भनी बकेको ।

      १५.   जहाँ उज्यालो छ, उतैबाट डाका भाग्यो होला भन्ने कुरा प्रतित लायक पनि नदेखिएको र चिनें भन्ने सर्जमिन मध्ये कुनैले अधिरैको हातमा बन्दूक थियो भन्ने र कुनैले सुल्तानको हातमा बन्दूक थियो भनी लेखी बकी दिएकोबाट निजहरूको बकाई र पुलिसमा गरेको साविती ठाडो कागजमा अपीलाट कैलास पासीले अधरैको हातमा बन्दूक थियो भनी लेखेकोले निजहरूको बकाई महत्त्वपूर्ण कुरालाई लिई आपसमा बाझिएको र मौकैमा देख्ने सुन्ने भनेका सर्जमिनले देखे सुनेका कुरा साँचो भए उसै गाउँको उजुरवाला माल धनीलाई मौकैमा भन्न सक्नु पर्ने र वारदात भएको करिब २५ दिनमा दर्खास्त दिँदा तथा करिब ३५ दिनमा बयान गर्दा सर्जमिनले देखे सुने भनेको कुरा भनी वादीले आफ्नो उजुरीमा लेख्न सक्नुपर्ने सो कौनै कुरा उल्लेख गर्न नसकेकाले अपीलाट कैलास पासीलाई सफाई दिनु पर्ने ठहर्छ । एकै वारदातमा मुछिएको अपीलाट सुल्तान गछीको अपील परी आएकोमा ०२१।५।३१।३ का डिभिजन बेञ्चका फैसलाबाट तौ.जि.अ.को ईन्साफ सदर भई निज सुल्तान गछी कसुरदार ठहरेको मिसिल सामेल रहेको फैसलाबाट देखिएको तर माथि लेखिएका कारण परिबन्दबाट उही वारदातमा उत्तिकै गढाउ प्रमाणमा मुछिएका अपीलाट कैलास पासी सफाई पाउँने ठहरेकाले २१।५।३१।३ को डिभिजन बेञ्चको राय फैसलासँग यस बेञ्चको राय सहमत हुन नसकेकाले स.अ.नियमावली, २०२१ को दफा ३३ को उपनियम (ख) अनुसार रुलिङ्ग सहमत नभएको कारणबाट अन्तिम निर्णय निमित्त फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०२३।५।५।१ को डिभिजन बेञ्चको फैसला ।

      १६.    रुलिङ्ग बाझिएको भनी गत कार्तिक १६ गते पेश भई अपीलाट कैलास पासी तर्फबाट रहनु भएका विद्वान वकिल प्लीडर श्री ठाकुरप्रसाद खरेलले र वैतनीक प्लीडर श्री मिनमर्दनले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भई पेश हुन आएको प्रस्तुत मुद्दामा सर्वप्रथम रुलिङ्ग बाझिएको हो वा होईन ? भनी हेर्नु परेको छ । सुल्तान गछि र कैलास पासीलाई दुवैले परस्परमा देखाई पुलिसमा कागज गरेको र सर्जमिनले शंका गरेकोमा कैलास पासीलाई सफाई दिंदा सुल्तान गछिलाई गढाउ गरेको फैसलासँग मतबिरोध भएकोले रुलिङ्ग बाझिएको भन्ने शंका उपस्थित भएको रहेछ । अभियुक्तलाई गढाउ हुने गरी दुवैलाई समान स्तरको पोल भए पनि अभियुक्तहरूले आफ्नोफ्नो सफाईको सबूद पृथकपृथक पेश गरेका छन । अभियुक्तहरूको हकमा निर्णय हुँदा निज विरुद्धको र निजतर्फको सबूदको तुलना भई कोहीलाई सफाई र कोहीलाई गढाउ हुन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा पहिले सुल्तानको अपील सुनी निजलाई गढाउ गर्ने ठहर भएको कैलासको इन्साफ भएको नदेखिएको । माथि लेखिएबमोजिम बिभिन्न सबुद प्रमाणका आधारमा बिभिन्न अभियुक्तहरूलाई बिभिन्न ठहर हुन सक्ने हुँदा पछि पेश भएको कैलासको अपील उपर निर्णय गर्दा सफाई हुन सक्ने नै भएकोले यस मुद्दामा रुलिङ्ग बाझिएको नदेखिएको हुनाले बेञ्चको लगत काटी नियमबमोजिम गरी डिभिजन बेञ्चमै पेश गर्न फाँटमा बुझाई दिन मिसिल अपील दर्ता विभागमा बुझाई दिनु ।

 

इति सम्वत् २०२३ साल कार्तिक २३ गते रोज ३ शुभम् ।