December 11, 1964
Created by nepalarchives

निर्णय नं. ३२५ – जालसाजी

निर्णय नं. ३२५           ने.का.प. २०२३ फुल बेञ्च प्र.न्या. श्री भगवतीप्रसाद सिंह न्या.श्री नयनबहादुर खत्री क्षेत्री न्या.श्री वाशुदेव शर्मा निवेदक      : महंथप्रसाद कुर्मी विरुद्ध विपक्षी...

निर्णय नं. ३२५           ने.का.प. २०२३

फुल बेञ्च

प्र.न्या. श्री भगवतीप्रसाद सिंह

न्या.श्री नयनबहादुर खत्री क्षेत्री

न्या.श्री वाशुदेव शर्मा

निवेदक      : महंथप्रसाद कुर्मी

विरुद्ध

विपक्षी : महादेवप्रसाद कुर्मी समेत

मुद्दा : जालसाजी

(१)   विधवा अंशधनका ऐनले खुस गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बकस सदर गरी मुद्दा छिनिएको र आफू खुश गर्न पाउने जग्गा रहन नआएकोमा राजिनामा सदर हुन्छ भन्न नमिल्ने ।

            अगाडिकै मिति पारी जालसाजी लिखित गरेको भन्न ठहराउन मिल्ने ठोस सबुद समेत नभएको र राजीखुशीबाट लिनु दिनु गरेकोमा जालसाज भन्न नमिल्ने । वादी महंथप्रसाद कुर्मीको र प्र.सहदेव समेतको बकसपत्र बदर मुद्दामा विधवा अंश धनका ऐनले खुश गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बाँकी बकस सदरहरू बदर गरी डिभिजन बेञ्चबाट किनारा भएको सदर ठहरी आजै यस बेञ्चबाट फैसला भएको राजिनामा जालसाज नठहरे पनि बिक्री गर्ने गनपता समेतको हकमा खुस गर्न पाउने जग्गा रहनै नआएकोबाट सो राजिनामा सदर हुन्छ भन्न नमिलेकोले समेत लिखत बदर हुने ठहराएको समेत इन्साफ डिभिजन बेञ्चको ०१९।१०।२८।१ को मनासिव छ ।

 (प्रकरण नं. १२)

वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा र इच्छाहर्ष

फैसला

      १.     सहदेव माहादेव मामा फुपुका छोरा र निज सहदेव सरस्वतीको छोरी ज्वाँइ भएका । सरस्वती गनपता मेरो ३ पुस्ता भित्रको भाउजु नाता भएको । निजहरूको लोग्ने छँदै जस्तो गरी हेर विचार गरी पुगनपुग रूपैया कर्जि सापटी दिदै आएकोमा मेरो हक मेटाई सरश्वतीको ज्वाई सहदेवलाई सम्पति जग्गा जमीन दिई मेरो थैली समेत मार्ने विचारले सो थैली सुखलालपुर आफूलाई राखी थुमवाको जम्मै जिमिदारी शिर विगाह ।।३०।। २४।। सहदेवको स्वास्नी समुन्दाका नाउँमा हालै बकसपत्र बदर गरी पाउँ भनी मेरो नालेस परेको सरस्वती गनपताको वा मैले भरी पाउने बिगो रु.६१५।।।ऽ।१ का दरले भरीपाउँ भनी ०१३।९।३ गते दरखास्त दिई कारवाई भएको जानी मेरा हक मेटाइ थैली भुस गराउन सरस्वती गनपताको जग्गा थामि दिनु पर्‍यो भनी ०१३।९।१७ गते विगाहा ७।८ बाहेक सरस्वती गनपताको बाँकी रहेको जिमिदारीबाट माहादेवले लिन पर्‍यो भनी सहदेवले भन्दा पारसले ठिम हो, अघिको मिति पारि लिखत खडा गरी पास गराउन पर्‍यो भनी जालसाज लिखत गरी गराई लिएको कुरा ऐ माघ ६ गते प्रमाणका मानिसबाट थाहा पाई ऐ ७ गते मालबाट नक्कल लिई हेर्दा, ०१०।२।२३ को कपाली तमसुक रु.६४८१ आज दिएको रु.१५२० जम्मा भारु.८००१ मा सरस्वतीका नाउँमा दर्ता भएको शिर विगाहा ६१४+४४।४।। सु.जानकी देवी कल्लुकाडलाई राजिनामा र समुन्दलाई बकसपत्र सौता सरस्वतीले गरी दिए बाहेक बाँकी बिगहा २०।।।१।।।४ र सो थैलीको शिर विगाहा ७ऽ।।३ राजिनामा गरी दिए भन्ने ०१३।४।२ को राजिनामा खडा गरी मेरो हक मार्ने नियतले लेखी दिई साज गरेकोले सजायगरी लिखत बदर गरी पाउँ भन्ने समेत वादी महंथप्रसाद कुर्मीको फिरादपत्र ।

      २.    वादीले हामीलाई हेर विचार गरेको छैन । अवला स्वास्नी मानिसले खेती गर्न नसकी घटोला गरी कर्जा लिई काम चलाउँदा चलाउँदै जमिदारी जाने अवस्था देखि म सरश्वतीले छोरी समुद्रा ज्वाईं सहदेवलाई अंशको जग्गा बकसपत्र गरी दिएको र म गनपताले पनि सरस्वतीसँग भिन्नै छुट्टै खेती गरी मालपोत बुझाई काम चलाउँदा धेरै कर्जा लागी सौतासँग राय मिलाउँदा कर्जिमा आफ्नु अंशको जिमिदारी बिक्री गरी दिनु होस म पनि सिहोखोस सोठोलीको जिमिदारी बिक्री गरी दिन्छु भनी सुखलालपुर भारततर्फको मौजा बिक्री गर्न मञ्जुर गरी उक्त जिमिदारी लेखी पास गरी दिएको हो । जालसाज गरेको होइन भन्ने समेत सरश्वती गनपता र जालसाजी गरी रूपैया नदिई राजिनामा गराई पास गराएको होइन भन्ने समेत माहादेव समेतको प्रतिवादी ।

      ३.    वादी ३ पुस्ताको हकवाला हुन भन्न नसकेकाले हकवाला सिद्ध भएको । बिक्री गरेको जिमिदारी साक्षी समेतबाट पसखैको देखिएको त्यस्तो जग्गा विधवा अंश धनको १ नं.ले आफू खुशी गर्न पाउनेको आधीमात्र मञ्जुरी नलिई खुस गर्न पाउनेमा सोबमोजिम भए गरेको नदेखिएको र बकस बदर मुद्दाको प्रतिवादीमा सरस्वतीले २ सौता भएको व्यहो विगाहा २०।।।१।।।४ लेखेको वादीले बढी लेखिएको भनेकोमा जग्गा विगाहा ११।२। मात्र हुनेमा भुलबाट लिखत हुन गएको भनी लेखेको, फेरि सो जिमिदारी ऋणी गनपताको नाउँमा दर्ता भएको नदेखिने सरस्वतीको नाउँमा दर्ता भएको २००२। बुझी लिएँ भनेको हिसाब नमिलेको समेत र वादीको साक्षी बकाई समेतबाट हकवालाको मञ्जुरी बेगर बेचबिखन गर्न नहुने समेत जग्गा जालसाजी गरी लिनु दिनु गरेको ठहर्छ भन्ने समेत ०१४।११।३०।५ को तौलिहवा अमीनीको फैसला ।

      ४.    हाम्रा देवरानी राजकुमारीले छोरीलाई ०६ सालमा दान गरी दिई बहाली दिँदा भएको टाँसमा उजुर नगरेबाट र सरस्वतीको सही छाप भएको वासुदेवबाट वादी नजिक हकवाला रहेनछ भन्ने सिद्ध भएको हकवालै भए पनि दशौंद भन्दा बढी नपाउने र थैली तिरी साहु असामिको ९ नं.अनकुल निखन्न सम्म पाउने । दशौंद बाँकी भारत र यस नेपालमा रहेको देखिएबाट राजिनामा बदर नहुने भन्ने समेत सरस्वती समेतको र चित्त बुझेन भन्ने पारसनाथ दुबै समेतको अपील ।

      ५.    शिवालय जस्तो ठाउँमा जालसाजी गर्‍यो भन्ने पत्यार नपर्ने । जालसाजी लिखत भए कपाली तमसुकी र हाल थप भन्ने बोली लेखिन र पास हुन नपर्ने । खजहनि मालले पाएको जग्गा विगाहा ३०।।२।४।। चलन गरेको भन्ने लेखिएको मालको रसिद र पटवारीको पाटवारीबाट गनपताका नाउँमा जग्गै रहेनछ भन्न नभएको । ०८ साल देखि मुद्दा परेको देखिएबाट वादीले सेवा टहल गरेको गुज्रन आएको । वादी भन्दा नजिक नाताको रामवरा कुर्मी देखिएको । जालसाज गरेको भए चुप लागी बस्न नपर्ने । राजकुमारी गनपता सरश्वतीहरू एकै सरहको अंशियार, परस्पर गरेको व्यवहारमा साक्षी बसी लेनदेन गरेको देखिन आएको र बढी जग्गा लेखी दियो भन्ने वादी लेखको हकमा गनपताले बिक्री गरेको नभई सरस्वतीले आफ्नो फाँट हिस्सा जग्गा बिक्री बकसपत्र गरी दिएको जग्गा लिने साहुले जग्गा भोग गर्न नपाई बिक्री गर्ने उपर साहुको नालेस परेमा उसै बखत ऐनबमोजिम हुने हुँदा जग्गा दिने साहुको नालेस गरी कारवाही भएको छ भन्ने उल्लेख गर्न वादीले नसकेपछि त्यसतर्फ विशेष विचार गरी रहनु नपरी गनपता कुर्मी जसका हिस्सामा पर्ने थुमवाको जग्गा विगाहा ३८५४।४ मध्ये जग्गा विगाहा २०।।।१।।।४ महादेव कुर्मीलाई राजिनामा गरी दिई अरु जग्गा बाँकी नै रहेको लिखत जालसाजै हा ेकि भन्नलाई लिखत जालसाजी भए लिखतमा बस्ने फटके र लेख्ने साक्षीहरूले पनि यो यति लिनु खानु खानु गरी जालसाजी गरेका हुन भनी लेख्नु पर्ने, वादीले नसकेको । अर्काको निमित्त साक्षीहरूले जालसाजी गर्नुपर्ने प्रयोजनै नभएको र प्रतिवादीहरूका साक्षीहरूले पनि प्रतिवादीहरूलाई सफाई नै दिएको र निजैहरूको बकसपत्र बदर गरी पाउँ भन्ने मुद्दा पनि आजै बकसपत्र बदर हुने ठहरी अपील किनारा भएको समेत माथि लेखिएका प्रमाण परीबन्दबाट जालसाजी लिखत गराएको बदर गरी पाउँ भनी वादीले झुट्टै उजुर गरेको र अमिनीले गल्ती ईन्साफ गरेको ठहर्छ भन्ने समेत २०१५।४।२७।२ को बुटवल अपीलको फैसला ।

      ६.    राजिनामामा सरस्वतीले रु.२५०१। बुझि लिएकी भन्ने लेखेको । सो दिन १५२०। लिनु दिनु भएकोबाट समेत मेरो बिगो मार्नलाई जालसाज गरी राजिनामा खडा गरेको कुराको विचार नभएकोले चित्त बुझेन भन्ने समेत वादी महंथप्रसादको अपील ।

      ७.    घरसारमा राजिनामाको मिति ०१३।४।२ को अगाडि बनाई जालसाज गरेको हो कि भन्नलाई साबिचासँग महंथप्रसादले भरि पाउने बिगो भराई पाउँ भनी दरखास्त दिई सरजमिन भएकोमा महादेवप्रसाद वा निजका हकमा अरुले मुचुल्का गरेको नदेखिएको र मौजा पनि विगाहा दर खुलाई रोक्का नभई चल धन मालहरू महादेवको जिम्मा लगाएकोबाट मिति जालसाजी भन्न नभएको र असामिले यति ऋण लिएको भनी तमसुक गरेको । त्यसबाट हकवाला हुने यो महथंप्रसादहरूलाई केही नोक्सानी हुन जाने नदेखिएको समेतबाट जालसाजीमा सजाय गरी पाउँ वादी दाबी पुग्न नसकी जालसाजी गरेको ठहर्दैन । लिखतमा लेखेको मध्ये जम्मै सम्पत्तिको हिसाबबाट विधवाले हकवालाको मञ्जुरी बिना पनि आफू खुस गर्न पाउने भन्दा पनि बढी बकसपत्रमा लेखी दिएको बढी जति आजै फैसला भएको बकसपत्र मुद्दाबाट बदर हुने ठहरेकोले अब सो सम्पत्तिमा हकवालाको मञ्जुरी बेगर ऐनले उठाउन पाउने केही बाँकी रहन नआएकाले हकवालाको मञ्जुरी नभएको राजिनामा बदर र बुटवल अपीलको केही गल्ती ठहर्छ भन्ने समेत २०१९।१०।२८।१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

      ८.    उक्त ईन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने समेत वादी महंथप्रसाद कुर्मीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्रमा व्यहोरा साँचो भए एकपटक फुल बेञ्चबाट ईन्साफ जाँची ऐनबमोजिम गरी निर्णय दिनु भन्ने हुकुम बक्सेको भन्ने २०।२।२१।३ को हुकुमपत्र प्रमांगी ।

      ९.    बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने २०।३।२।१ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      १०.    झगडियको निवेदनबाट दोहोरिएकाले हामीहरूको हकमा पनि दोहोर्‍याई पाउँ भन्ने महादेव कुर्मीले श्री ५ महाराजधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएका जति नियमबमोजिम फुल बेञ्चबाट एकपटक दोहोर्‍याई हेरी ईन्साफ जाँची ऐन सवालबमोजिम गरी दिनु भन्ने समेत २०।७।२६।३ मा हुकुम प्रमांगी बक्स भईआएको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने २०।८।१३।६ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      ११.    यसमा तारेखमा रहेका निवेदक वादी महंथप्रसादको वारेस परमल थारु विपक्ष निवेदक प्रतिवादी महादेवप्रसादको वारेस दामोदर समेत रोहवरमा राखी मुद्दा पेश गर्दा पेश गर्नु भन्ने निवेदक व्यहोराहरू समेत गत मार्ग १६ गेत पेश भई वादीतर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा तथा विपक्ष प्लीडर ठाकुरप्रसादको र प्रतिवादीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे तथा विद्वान प्लीडर इच्छाहर्षले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउन तारेख मुकरर भएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा,

      १२.   मेरो थैली समेत मार्ने विचार अघिको मिति पारी जालसाजी गरे भन्ने समेत वादी दावी भएको । बिगो भरी भराउको सिलसिलामा ०१३।९।८ मा भएको तायदाती मुचुल्का हेर्दा, जग्गा जमीनको विगाहा अंश किटी रोक्का भएको पनि नदेखिई खजहनि माल बुझे यथार्थ हुनेछ भन्ने लेखिएको र चल धनमालसम्म सहदेव जिम्मा लागेको देखिएको । अगाडिकै मिति पारी जालसाजी लिखत गरेको भन्न ठहराउन मिल्ने ठोस सबुद समेत नभएको र राजि खुसीबाट लिनु दिनु गरेकोमा जालसाज भन्न नमिल्ने । वादी महंथप्रसाद कुर्मीको र प्र.सहदेव समेतको बकसपत्र बदर मुद्दामा विधवा अंश धनका ऐनले खुस गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बाँकी बकस सदर अरु बदर गरी डिभिजन बेञ्चबाट किनारा भएको सदर ठहरी आजै यस बेञ्चबाट फैसला भएको राजिनामा जालसाज नठहरे पनि बिक्री गर्ने गनपता समेतको हकमा खुस गर्न पाउने जग्गा रहनै नआएकोबाट सो राजिनामा सदर हुन्छ भन्न नमिलेकाले समेत लिखत बदर हुने ठहराएको समेत ईन्साफ डिभिजन बेञ्चको ०१९।१०।२८।१ को मनासिव छ । अरु तपसील बमोजिम गर्नु ।

     

तपसील

अपीलाट महंथप्रसाद कुर्मी के इन्साफ दोहोर्‍याएमा यस अघिको डिभिजन बेञ्चको फैसला अपील गर्ने वापत गर्ने गरेको दण्ड भारु.६६।। ।।। को हुने नेरु.१०६।६८ को अ.बं.२०४ नं.ले दशौंद रु.१०।६ जरीवाना लाग्छ वारेस हुँदा असुल गर्नु भनी तहसिलमा लगत दिनु…………………….१

निवेदक प्रतिवादी माहादेव कुर्मी के इन्साफ दोहोर्‍याएमा यस अघिको फैसलाले केही जरिवाना गरेको नदेखिंदा अ.बं.२०४ नं.बमोजिम रु.१।जरिवाना लाग्छ वारेस हुँदा असुल गर्नु भनी तहसिलमा लगत दिनु……………….२

मिसिल नियमबमोजिम बुझाई दिनु ……………………३

 

इति सम्वत् २०२१ साल मार्ग २६ गते रोज ६ शुभम् ।