January 18, 1966
Created by nepalarchives

निर्णय नं. ३१४ – डाका

निर्णय नं. ३१४            ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२२ सालको फौ.पु.नं.३४ प्रतिवादी...

निर्णय नं. ३१४            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२२ सालको फौ.पु.नं.३४

प्रतिवादी : हाल जलेस्वर थुनामा बस्ने लखन सोनार

विरुद्ध

वादी : अपुन साहु

मुद्दा : डाका

(१)    अ.बं.२०५ नं.मा रहेको कसैको अपील उजुर परेकोबाट इन्साफ सजाय उल्टाई फैसला गर्दा, अपील गर्दा उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयोभन्ने शब्दको तात्पर्यइन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्ने अरू झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने ऐनको मनसाय ।

            अ.बं.२०५ नं.मा एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील नगर्ने झगडियाको हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सदर गरी दिनु हुँदैन । अपील उजुर नदिनेको हकमासमेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ ।

(प्रकरण नं. ११)

            कसैको अपील उजुर परेकोबाट इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने भन्ने शब्दको तात्पर्य एकजनाका हकमा उल्टी हुँदा अरूका हकमा पनि स्वतः उल्टिने । सामूहिक उत्तरदायित्व भएको सामूहिक विषयहरूको मुद्दाका लागि मात्र हो कि भन्ने तर्क गर्न व्यक्ति विशेषको मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भयो र सोही कारणबाट उही सरहका अपील उजुर नगर्नेहरूका हकमा पनि इन्साफ सजाय उल्टिन जाने देखिन्छ भने अरुका हकमा अपील उजुर परेको छैन भनी अपील उजुर गर्नेका हकमा मात्र त्यसरी उल्टाई फैसला गर्दा एकै मुद्दाका एकै सरहका हार्ने झगडिया मध्ये अपील गर्नेको हकमा एकथोक अपील नगर्नेको हकमा अर्को थोक इन्साफ सजाय कायम हुन गई कानून र न्यायको सिद्धान्तमा एकरूप नआउने हुनाले यी सब कुराहरूलाई ध्यानमा राखेर विचार गर्दा,, सामूहिक या व्यक्ति विशेष जस्तोसुकै मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परी इन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्नेहरू झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने यस्तो अवस्थामा त्यसरी उल्टाई फैसला गर्न हुने उक्त ऐनको मनसाय प्रष्टै देखिन्छ । अपील उजुर नदिनेका हकमा विचार गर्न अप्रासंगिक हुने र त्यस्ता व्यक्तिहरूलाई कसरी कसुरदार ठहराईए भनी तथ्यहरूको मूल्यांकन गरी हेर्न नमिल्ने भन्न मिल्दैन ।

(प्रकरण नं. १२)

फैसला

      १.    ०१५ साल बैशाख २ गतेका दिन रातमा मेरो परिवार भात खाई सुतेपछि अं.१२।१५ जना डाकाहरू आई मलाई समाती बन्दूकका कुन्जाले टाउकामा हानी रगतपक्ष पारी तपसीलको धनमाल डाका गरी भागेकोले डाका पत्ता लगाई बिगो रु.२३३७। दिलाइ पाउँ भन्ने अपुन साहुको ०१५।१।७ गतेको जाहेरी दरखास्त ।

      २.    ०१५ साल बैशाख महिना हो । गते बार सम्झना छैन म र लखन सोनार समेत भई अपुन साहु तेलीको घर डाका गरी भाग्यौं । त्यसपछि ऐ.साल श्रावण महिना हो गते बार सम्झना छैन म र निज लखन सोनार समेत भई हरि मरिजंबदी बस्ने नाउँ नजानेको ग्वारको घरमा डाका गर्‍यौं र हामी भाग्यौं । मौकैमा साथीमध्ये जुमन धुनीयाँ १ लखन सोनार १ समेत २ जनालाई गाउँलेहरूले पक्रेछन् । म भागेको थिएँ । पुलिसले पक्राउ गरी दाखेल गरेका हुन भन्ने जलील कवारी पलट कबारीको पुलिसमा र अदालतमा समेत साबिती बयान ।

      ३.    जलिल पलटसँग मेरो चिनाजान छैन । ०१५।१।२ गते अपुन साहुको घरमा मैले डाका गरेको छैन । जलिल पलटको पोल झुट्टा हो भन्ने लखन सोनारको बयान ।

      ४.    पलट जलिलसँग मेरो चिनाजान बस उठ छैन । मैले डाका गरेको छैन । किन पोल गरेका हुन ? निजहरू जानुन् भन्ने जुमन धुनियाँको बयान ।

      ५.    जुमन धुनियाँ र लखन साहु सोनार २ जनाले हामीले वादी अपुनको घरमा डाका गरेको छैन भनी बयान गरेकाले भने निजहरूले वादीको घर डाका गरेका रहेछन् कि भन्न निजहरू २ जना बेनी राउतको घरमा डाका गरेमा सावित भएको देखिएको । त्यस्तो बदचलनका मानिसले यो वादीको घरमा डाका गरेका रहेनछ भनी भन्न मनासिव नपर्ने । निजहरूलाई पोल गर्ने जलिल पलटले यो कारणबाट हामीलाई पोलेको हो भन्ने पनि नसकेकोले निज जुमन र लखन साहु सोनार समेत र साविती जलिल पलट समेत भई वादीको घर डाका गरेको ठहर्छ भन्ने ०२०।२।१०।६ को महोत्तरी विशेष अदालतको फैसला ।

      ६.    बेनी राउतको घर डाका गरेमा सावित भएकाले वादीको घरमा पनि डाका गरेकै हुनुपर्छ भन्ने अनुमानको आधारमा वादीको घरमा म समेतले डाका गरेको ठहराएको म.बि.अ.को इन्साफमा चित्त बुझेन भन्ने लखन साहु सोनारको अपील ।

      ७.    यसमा यो अपीलाट उपर सर्जमिनले शंका गरेमा पनि नदेखिएको र निजका साक्षीले पनि सफाई दिई बकेकाले नं.८१६ को बेनी राउतको घर डाका मुद्दामा सावित भई डाका गरेको ठहरेको भन्दैमा पक्का सबुदको अभावमा यो अपीलाट समेत भई डाका गरेको हो भनी यस मुद्दामा ठहराउन नमिल्ने हुँदा अ.बं.२०२ नं.र नियमबमोजिम वादीलाई झिकाई पेश गर्नु भन्ने ०२१।७।१६ को डिभिजन बेञ्चको आदेश ।

      ८.    अपीलाट थुनुवा लखन समेत भई अपुन साहुको घरमा डाका गरेको हुँ भनी साविती जलील कवारीले र पलट कवारी समेत २ जनाले पोल गरेको छ तापनि निज लखनले मेरो घरमा डाका गरेको हो भनी घर धनीले पोल नगरेको, मौका तहकिकातमा बुझिएका सर्जमिनले पनि शंका नगरेको, सो डाका वारदातमा लखन सोनार गएकै थियो भन्ने प्रमाणित सबूद पोल गर्ने सावितीहरूले केही दिन नसकेको र सो दिन रात प्रतिवादी लखन आफ्नै घरमा थियो भनी निजका साक्षी जिबछ साहुतेली चलीतर साहु सोनार समेतले बकेबाट वारदातमा नगएको सिद्ध हुने । निजलाई डाका गरेका हो भन्ने प्रमाणित सबुद बेगर अर्को मुद्दामा डाका गरेमा सावित भएको भन्ने र यस मुद्दामा सावितीहरूले पोलेको भन्ने कारणले मात्र डाका गरेको भनी ठहराउन नमिल्ने हुँदा निज लखन सोनारले अपुन साहुको घरमा दोश्रापटक डाका गरेको ठहराई महोत्तरी विशेष अदालतले गरेको इन्साफ गल्ती देखिन्छ । जुमन धुनियाँलाई कसुरदार ठहराई जिल्ला अदालतले फैसला गरेकोमा अपील नगरी चित्त बुझाई बसेको छ । एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सजाय गरी दिन हुँदैन । अपील उजुर नदिनेका हकमा समेत अपील उजुर दिने सरह उल्टाई छिनि दिनु पर्छ भन्ने अदालती बन्दोवस्तको २०५ नं.ऐनमा लेखिएको पाइयो । त्यसमा सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने भन्ने शब्दको तात्पर्य अपील दिनेको हकमा भएको निर्णयले नै अपील नदिनेको हकमा पनि स्वतः उल्टिने उल्टाउन पर्ने हुन आउन पर्छ । त्यसो नभएमा अपील नदिनेहरूलाई कसुदार ठहराइएको तथ्यमा हेर्दा, कैयौं विवाद खडा हुन आउने र जसले चित्त बुझाई बस्छ, उसका हकमा विचार गर्नु अप्रासांगिक हुने हुनाले अपील नदिनेलाई किन र कसरी कसुरदार ठहराईएछ भनी तथ्यहरूको मूल्यांकन गर्न मिल्दैन । स्वतः उल्टिने कस्तो अवस्थामा हुन्छ ? सामूहिक उत्तरदायित्व भएको सामूहिक विषयहरूमा, जसको व्यक्तिगत उत्तरदायित्व हुन्छ, त्यहाँ व्यक्ति विशेषकै विचार गर्नु पर्छ र स्वतः उल्टिने परिधी भित्र पर्न आउँदैन । यसमा लखन सोनारले सफाई पाएकैबाट स्वतः जुमनको हकमा उल्टाउन पर्ने अवस्था पर्न नआई व्यक्तिगत उत्तरदायित्व भएको जुमनलाई कुन प्रमाणले कसुदार ठहराइएछ ? सो प्रमाणमा तथ्य के छ ? भनी हेर्न जानु पर्ने अवस्था पर्न आयो । त्यसरी हेर्न जानु उक्त ऐनले नदिएको हुँदा जुमनलाई सफाई दिने विचार गर्न नमिल्नेमा सहयोगी माननीय न्यायाधीशज्यूबाट अपील नगर्ने जुमनलाई पनि सफाई दिने राय गर्नु भएकोले डिभिजन बेञ्चको लगत काटी सर्वोच्च अदालत नियमावली, ०२१ को दफा ३३ अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री लोकराजको र ।

      ९.    एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सदर गरी दिन हुँदैन । अपील उजुर नदिनेका हकमा समेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने अ.बं.२०५ मा लेखिएको पाइएपछि लखन सोनारले जिल्ला अदालत उपर अपील गरेको र निजले सफाई पाएपछि डाका जस्तो अभियोगको कुरामा सावितीहरूले पोलेको र अर्को डाका मुद्दामा कसुरदार ठहरिएको कारणले कसुरदार ठहराइएको लखन सोनार, जुमन र धुनियाँ एकै अवस्थाका मानिस देखिएको । तिनीहरूमा लखन सोनारले अपील दिएबाट निजले सफाई पाए पछि उही सरहको जुमनलाई पनि सफाई दिन उक्त ऐनमा व्यवस्था भएको र मिलेको हुँदा एकै सरहको व्यक्ति कसैलाई सफाई दिने र कसैलाई अपील परेको छैन भनी त्यसतर्फ विचार नगर्दा उक्त ऐनको व्यवस्थामा मिल्न नआउने देखिएकोबाट निज जुमनलाई पनि सफाई दिने ठहर्छ । सहयोगी माननीय न्यायाधीशज्यूबाट अपील नगर्ने जुमनका हकमा विचार गर्न नमिल्ने भनी राय गर्नु भएकोले डिभिजन बेञ्चको लगत काटी फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.बब्बरप्रसाद सिंहको राय भएको ०२२।२।२४।१ को डिभिजन बेञ्चको फैसला ।

      १०.   प्रस्तुत मुद्दामा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी रायबाझी भई यस बेञ्चमा पेश हुन आएको विषय हार्ने झगडिया मध्ये अपील गर्नेका हकमा इन्साफ सजाय उल्टिने भएपछि अपील नगर्नेका हकमा पनि उल्टाई फैसला गर्न मिल्छ मिल्दैन ? यदि मिल्छ भने अपील नगर्ने जुमन धुनियाँले सफाई पाउने नपाउने के हो ? भन्ने कुराको मुख्य निर्णय दिनु परेको छ ।

      ११.   यस सम्बन्धमा भएको कानूनी व्यवस्थातर्फ हेरेमा, अ.बं.२०५ नं.मा एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भइ सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील नगर्ने झगडियाको हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सदर गरी दिनु हुँदैन । अपील उजुर नदिनेको हकमा समेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ ।

      १२.   उक्त ऐनमा उल्लेख भएको कसैको अपील उजुर इन्साफ परेकोबाट सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने भन्ने शब्दको तात्पर्य एकजनाको हकमा उल्टी हुँदा अरूका हकमा पनि स्वतः उल्टिने सामूहिक उत्तर दायित्व भएको सामूहिक विषयहरूको मुद्दाका लागि मात्र हो कि भन्ने तर्क गर्न व्यक्ति विशेषको मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भयो र सोही कारणबाट उही सरहका अपील उजुर नगर्नेहरूका हकमा पनि इन्साफ सजाय उल्टिन जाने देखिन्छ भने अरुका हकमा अपील उजुर परेको छैन भनी अपील उजुर गर्नेका हकमा मात्र त्यसरी उल्टाई फैसला गर्दा एकै मुद्दाका एकै सरहका हार्ने झगडिया मध्ये अपील गर्नेको हकमा एकथोक अपील नगर्नेको हकमा अर्कोथोक इन्साफ सजाय कायम हुन गई कानून र न्यायको सिद्धान्तमा एकरूप नआउने हुनाले यी सबै कुराहरूलाई ध्यानमा राखेर विचार गर्दा,, सामूहिक या व्यक्ति विशेष जस्तोसुकै मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परी इन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्ने अरू झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने यस्तो अवस्थामा त्यसरी उल्टाई फैसला गर्न हुने उक्त ऐनको मनसाय प्रष्ट देखिन्छ । अपील उजुर नदिनेका हकमा विचार गर्न अप्रासंगिक हुने र त्यस्ता व्यक्तिहरूलाई कसरी कसुरदार ठहराइएछ भनी तथ्यहरूको मूल्यांकन गरी हेर्न नमिल्ने भन्न मिल्दैन ।

      १३.   अब प्रस्तुत मुद्दाको तथ्य विचार गरेमा साविती जलील, पलट २ जनाले पोल गरेको अपील गर्ने लखनका हकमा घर धनीको पोल नभएको, सरजमिनले शंका नगरेको र सो डाकाको वारदातमा लखन गएकै थियो भन्ने प्रमाणिक सबुद पोल गर्नेहरूले दिन नसकेकाले अर्को मुद्दामा डाका गरेमा सावित भएको र सावितिले पोलेको भन्ने सम्म कुराले कसुर ठहराउन नमिल्ने भनी डिभिजन बेञ्चबाट माननीय न्यायाधीश दुवै जनाले लखनलाई सफाई दिने ठहर गर्नु भएको छ । अपील नगर्ने जुमन पनि उनै साविती जलील, पलट २ जनाले पोल गरेको व्यक्ति हो । निज जुमन उपर पनि घर धनीको उजुर छैन र सर्जमिनले शंका गरेका समेत छैनन र निज जुमन यो डाकाको वारदातमा गएकै थियो भन्ने प्रमाणिक सबुद, पोल गर्नेहरूले कुनै दिनसकेको पनि देखिंदैन । गढाउको तथ्य सबुद कुनै पनि नभएको यस्तो स्थितिमा अर्को मुद्दामा डाका गरेमा साविती भएको भन्ने र सावितिले पोलेको भन्ने सम्म कुराले मात्र कसुर ठहराउन नमिली लखन सरह समान स्थितिको जुमन उपर गढाउको थप प्रमाणको अभावमा कसुर गरेकै हो भन्न मिल्ने देखिएन ।

      १४.   तसर्थ, उपरोक्त कारणहरूबाट अपील नगर्ने निज जुमनका हकमा पनि सफाई दिने ठहराई महोत्तरी विशेष अदालतको इन्साफ उल्टी गरी डिभिजन बेञ्चमा माननीय न्यायाधीश बब्बरप्रसाद सिंहले गर्नु भएको ०२२।२।२४।१ को राय फैसला मनासिव ठहर्छ । सो फैसलाबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको राय

      १५.   यसमा एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भई उल्टिई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सदर गरी दिनु हुँदैन अपील उजुर नदिनेको हकमा समेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने अ.बं.२०५ नं.मा उल्लेख भएको जहाँसम्म उक्त ऐनको सिद्धान्तको कुरा छ त्यसमा सहयोगी न्यायाधीशज्यूहरूले गर्नुभएको रायसँग मेरो पनि सहमत छ तर यस किसिमको व्यक्ति विशेषका मुद्दामा हार्ने झगडियाहरू कुनै समान र कुनै फरक दुवै स्थितिका हुन सक्छन् अपील गर्ने कसैको हकमा उल्टी हुँदैमा अपील नगर्ने फरक स्थितिकाहरूका हकमा पनि इन्साफ सजाय उल्टिन जाने अवस्था आउँदैन । वारदात कायम भएन अथवा जसको अपील उजुर परी जाँचिंदा इन्साफ सजाय उल्टिने भएको छ सोही सरह समान स्थितिकाहरू पनि छन भने त्यस स्थितिमासम्म उक्त ऐनलाई प्रयोगमा ल्याउन विचार गर्नुपर्ने हुन्छ प्रस्तुत केशमा वारदात कायम भईरहेकोले अपील गर्ने लखन साहु सोनार र अपील नगर्ने जुमन धुनियाँ एकै स्थितिका हुन होइनन भन्ने कुरा मुख्यतया विचार गर्नुपर्ने भएको छ । कसुरमा पोलिएको आधार र अर्को डाका मुद्दामा डाका गरेमा सावित भएको भन्ने कुरासम्ममा दुवैको समान स्थिति भए पनि अरु कुरातर्फ विचार गरेमा लखनका हकमा आफ्नो सफाईको २ जना साक्षी गुजारेको छ । जुमनका हकमा वारदात भएको मिति ०१५।१।२ गते दिनरात दमको बेथाले बिरामी भई आफ्नु घर गाउँमा छु भनेको तर त्यस कुराको साक्षी सबुद कुनै गुजार्न सकेको छैन । लखनले यो मुद्दा र बेनी राउतसँगको डाका मुद्दाको बयान समेतमा यो मुद्दामा पोल गर्ने जलील पलट कसैसँग जान पैचान नभएको भन्ने एकै मिलानको कुरा भनेको छु । जुमनले यो मुद्दाको बयानमा जलील पलट समेतलाई चिनेजानेको छैन भनेको बेनीको राउतसँगको डाका मुद्दामा भने जलील पलट समेतलाई चिने जानेकै अवस्था देखाई आफू र निजहरू समेत भई डाका गरेको भनी सावित भएको भई निजकै बयान गराइएको कुरा परस्पर मिलेको छैन । दुवैको चरित्रतर्फ निजहरूकै भनाइको कुरालाई विचार गरेमा पनि बेनी राउतसँगको डाका मुद्दामा बयान गर्दा लखनले म रोजी बजार गर्न गएको बखत हाल साथी हुन आएका डाँकुहरूले जाउँ भनेकाले गएको हुँ । मलाई पहिले डाका गर्न जाने कुरा भनेका थिएनन भनेको र जुमनले डाका गर्न जानु पर्छ भनी भोला कवारीले बोलाउन आएबाट गएको हुँ भनेको भई पूर्व मनसायमा पनि केही अन्तर देखिने र जुमनले कसुर ठहराएको शुरु इन्साफमा अपील नगरी चित्त बुझाई बसेको समेत यी सब कुराहरूको समष्टि रूपले विचार गर्दा, लखन र जुमन एकै सरह समान स्थितिका देखिन नआएकोले प्रस्तुत केशमा अपील गर्ने लखनका हकमा इन्साफ उल्टी भएको कारणबाट अपील नगर्ने जुमनका हकमा पनि इन्साफ उल्टिन जाने अवस्था परेको भन्न मिल्ने देखिएन तसर्थ, जुमनका हकमा सफाई दिने विचार गर्न नमिल्ने ठहराउनु भएको समेत मा.न्या.श्री लोकराजज्यूको रायसँग मेरो राय सहमत छ ।

 

इति सम्वत् २०२२ साल माघ ५ गते रोज ३ शुभम् ।