April 27, 1981
Created by nepalarchives

निर्णय नं. १४३१ – ज्यान

निर्णय नं. १४३१   ने.का.प. २०३८                   अङ्क १ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको फौ.पु.नं. १५७...

निर्णय नं. १४३१   ने.का.प. २०३८                   अङ्क १

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ सालको फौ.पु.नं. १५७

फैसला भएको मिति :  २०३८।१।१५।२ मा

पुनरावेदक : वाग्लुङ जिल्ला निसी गा.पं.वार्ड नं. ७ गलकोट झिम्मा घर भई हाल पाल्पा केन्द्रीय कारागारमा थुनामा बस्ने लालमणी रामजाली मगर ।

विरुद्ध

विपक्षी   : पञ्च सदस्य विभिषण केसीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१) मानसिक सन्तुलनमा बिकार पैदा भई मारेकोभन्ने प्रमाण प्रतिवादीले पुर्‍याउनसकेको देखिँदैन । यस स्थितिमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव हुने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लक्ष्मी कृष्ण

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : पाल्पा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरे उपर प्रतिवादीको पुनरावेदन पर्न आएको रहेछ ।

          २.  मुझु गा.पं. वडा नं. ३ चिडियार भन्ने ठाउँमा ०३३।१०।२६ गते पाल्पा पालुङ गा.पं.अन्तर्गत रितु घर भई हाल पाल्पा मुझु गा.पं.वार्ड नं. ५ मैनादी तल्लाबारी माइतघर बसेकी रुकबहादुर कुँवर की छोरी जन्नकुमारीलाई नाम, थर बतन, थाहा नभएको मानिसले टाउको पट्टि प्राहर गरी हानी मारेको र हत्याराको पनि रुद्रघण्टी माथि घाँटीमा सेरीए जस्तो काटिएको घाउ भएको र श्वास फेर्न सक्ने देखिएकोले नियमबमोजिम कारवाई गरिपाउँ भन्ने प.स.विभिषणकुमार के.सी.को ०३३।१०।२६।३ को जाहेरी दर्खास्त ।

          ३.  दाहिने कन्पारोमा आखा देखि कपालको आधा भागसम्म काटिएको ७ इञ्च लामो घाउ १, ५ इञ्च लामो घाउ १, चौडाई १ इन्चको घाउ देखिएको भन्ने लास प्रकृति मुचुल्का ।

          ४.  अन्दाजी २० गज फकर पूर्वतर्फ खोलामा घाँटिमा घाउ र मुखमा रगत लागेको नचिनिने …लोग्ने मानिस लडिराखेकोले निजैले जन्नकुमारीलाई खुकुरीले हानी गहना चोर्ने नियतले मारी डरका मारे आफ्नो घाँटी आफैंले सेरेको हो भन्ने गजाधर न्यौपाने अपरिचित मानिसले गहनाको लोभले जन्नकुमारीलाई खुकुरीले काटी मारेको होला भन्ने समेत व्यहोराको अन्य सर्जमिनका मानिसले बकेको सर्जमिन मुचुल्का ।

          ५.  ०३३।१०।२६ गते बिहान उज्यालो नहुँदै तानसेन जान हिंडे । अर्गलीमा आएपछि उज्यालो राम्रो भएको थिएन चोर चोर भनी कराई मलाई लखेट्न लागेको जस्तो देखेँ । भाग्दै जंगलमा पुगेपछि खोल्सा परेको ठाउँमा एउटा स्वास्नी मानिस भेटे र अर्घाखाची जानेबाटो कता हो भनेर सोध्दा थाहाछैन भनिन । जंगलमा आयो आयो भनेर मानिस करायो जस्तो लाग्यो । त्यो कहाँ जानेबाटो हो त भन्दा चोरबाटो हो भनिन । सबै यस्तै रहेछन् भनेर मलाई मान्छे मार्न र आफू पनि मर्न मन लाग्यो भिरेको खुकुरी थुतेर २।३ पटक त्यो आइमाइलाई हिर्काए, आइमाई ढलिन् । मैले आफ्नो घाँटिमा २ पटक रेटे र त्यहींहरू स्वास्नी मानिस नजिक पल्टेर २ पटक गर्दनमा पनि खुकुरीले हाने प्राण गएन, छटपटिदै खोलामा गएर हाम्फाले । मर्ने मानिससँग मेरो कुनै रिसइवी छैन भन्ने समेत लालमणी रामजाली मगरले प्रहरीमा गरेको कागज ।

          ६.  जन्नकुमारी क्षेत्रीनीलाई ०३३।१०।२६ गते खुकुरीले काटी मारेको र आफ्नो घाँटिमा आफैंले काटी घाइते भएको प्रमाणित हुन आएको निजलाई ज्यान सम्बन्धी महलको १३(१)नं. अनुसार सर्वश्व सहित जन्मकैद गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ७.  ०३३।१०।२६ गते बिहान रिडिबाट तानसेनतर्फ आउन लाग्दा चोर चोर भनेकोले अगाडि बढदै गए । जंगल नजिक पुग्दा स्वास्नी मानिसलाई भेटी त्योबाटो कहाँ जान्छ भनी सोध्दा त्यो त चोरबाटो हो भनी भनेकी र अरू मान्छेहरूले चोर भनेको साँचै रहेछ जस्तो लाग्यो । एकवारको जिन्दगी हो यसलाई पनि काट्छु आफू पनि मर्छु भन्ने मन लाग्यो र भिरेको खुकुरी थुति २।३ पटक स्वास्नी मानिसको टाउकोमा हिर्काए निज लडिन । आफ्नो घाँटिमा पनि सोही खुकुरीले २ पटक घाँटी रेटे २ पटक गर्दनमा हाने । निजलाई मार्न कसैको सल्लाहा सहयोग छैन भन्ने समेत लालमणी रामजाली मगरले अदालतमा गरेको बयान ।

          ८.  वादी दावी बमोजिम प्रतिवादी लालमणि रामजाली मगरले जन्नकुमारीलाई कर्तव्य गरी मारेको ठहरेकोले ज्यान सम्बन्धीको नं. १३(३) अनुसार सर्वस्वसहित जन्मकैद हुन्छ । चोरचोर भनी सबै तर्फबाट आवाज सुनिरहेको र चोर भन्ने शब्दको कारण भ्रमबस निज भागिरहेको बखत अर्घाखाची जानेबाटो कुन हो भनी जन्नकुमारीलाई सोध्दा यो त चोरबाटो हो भनेकीले काटी मारेको भन्ने देखिँदा प्रतिवादीले विक्षिप्त अवस्थामा भ्रमवश हिनता वोधक अवस्थामा परी जन्नकुमारीलाई काटीमारी आफू समेत काटिएको र मारौं भन्ने पुरानो रिसइवी नदेखिएकोले प्रतिवादीलाई सर्वश्व सहित जन्मकैद गर्दा चर्को सजाय हुने चित्तमा लागेकोले १० वर्ष मात्र सजाय हुनुपर्ने भनी राय लगाई पाल्पा जिल्ला अदालतले ०३४।११।१९ मा गरेको जाहेरी फैसला ।

          ९.  उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          १०. पुनरावेदक प्रतिवादी आफैं विक्षिप्त भएको भन्ने केही प्रमाण दिन गुजार्न नसकेको यस्तो अवस्थामा मर्ने जन्नकुमारीलाई मैले खुकुरीले काटी मारेको भन्ने प्रहरी र अदालतमा साविती बयान कागज गरेको देखिएकोले प्रतिवादीलाई शुरूले सर्वश्व सहित जन्मकैद गर्ने गरेको फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ अ.बं.१८८ नं. अन्तर्गत १० वर्ष मात्र कैद हुनुपर्ने भनी शुरूले राय लगाएको सम्म नमिलेको हुँदा सो हदसम्म बदर हुन्छभन्ने समेत ०३६।३।५।३ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला ।

          ११.  तत्काल मेरो सामान्य परिस्थिति खलबलिएको फलस्वरूप मानसिक सन्तुलनमा विकार पैदा भई परिणाम सोच्न नसकी खुकुरीको प्रहारबाट मारेको र मर्न खोजेको प्रष्ट छदा छँदै शुरूले लगाएको राय समेत बदर गरी शुरूले सर्वश्व सहित जन्मकैद गर्ने गरेको फैसला नै मनासिव ठहराई गरेको फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

          १२. पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वै.अ. श्री लक्ष्मीकृष्णले गर्नुभएको बहससमेत सुनियो ।

          १३. यसमा जन्नकुमारीलाई खुकुरीले काटी मारेमा र आफूलाई समेत खुकुरीले काटेमा प्रतिवादी अदालतमा सावित भएको देखिन्छ । चोरचोर भनी सबैतिरबाट आवाज सुनी मेरो सामान्य परिस्थिति खलबलिएको फलस्वरूप मानसिक सन्तुलनमा बिकार पैदा भई परिणाम सोच्न नसकी खुकुरीको प्रहारबाट मारेकोले १० वर्ष मात्र कैद हुनुपर्ने भन्ने पुनरावेदन जिकिर छ । मानसिक सन्तुलनमा बिकार पैदा भई मारेको भन्ने प्रमाण प्रतिवादीले पुर्‍याउन सकेको देखिँदैन । यस स्थितिमा पाल्पा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मनासिव छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल वैसाख १५ गते रोज २ शुभम् ।