December 10, 1987
Created by nepalarchives

निर्णय नं. ३२९२ – कर्तव्य ज्यान

निर्णय नं. ३२९२     ने.का.प. २०४४      अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको...

निर्णय नं. ३२९२     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पु.नं. ४१५

सम्वत् २०४३ सालको फौ.सा.नं. ९७

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:नुवाकोट जिल्ला बुधसिंङ गा.पं. वार्ड नं.३ घर भै हाल जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको प्रेम राज श्रेष्ठ ।

ऐ.ऐ घर भै हाल ऐ.ऐ थुनामा बस्ने तेज बहादुर श्रेष्ठ ।

ऐ.ऐ घर भै हाल थुनामा बस्ने बुद्धिमान श्रेष्ठ ।

विरुद्ध

विपक्षी/वादी: कृष्णलाल श्रेष्ठको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी:नुवाकोट घर भै हाल जि.का.कारागार शाखा काठमाडौंमा रहेका प्रेमराज श्रेष्ठ ।

ऐ.ऐ बस्ने तेज बहादुर श्रेष्ठ ।

ऐ.ऐ बस्ने  बुद्धिमान श्रेष्ठ ।

फैसला भएको मिति: २०४४।८।२४।५ मा

     मृतकलाई मार्ने पूर्व योजना समेत बनाई धारिलो हतियारद्वारा पटकपटक प्रहार गरी मरिसकेपछि पनि लाशमा पटकपटक धारिलो हतियार प्रयोग गरी हानी मारेको देखिन आएकोले मिसिल संलग्न उपरोक्त प्रमाण आधारबाट निज प्र.प्रेमराज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्ने ।

(प्रकरण नं. २०)

     हतियार प्रयोग गर्दा कुनै प्रकारको रोक छेकवार समेत नगरी ज्यान मार्नमा संयोग पारी दिई ज्यान मरी सकेपछि पनि घिसारी झिक्राले छोपी आएको भन्ने देखिन आएको छ निज उपर सह अभियुक्तको पोलाई भएको समेत देखिन्छ, धारिलो हतियार प्रहार गरेको कुरामा निज प्र.तेजबहादुर इन्कार रहे तापनि निजको ज्यान मार्नमा संलग्नता मिसिल संलग्न अन्य प्रमाणबाट समर्थन देखिन आएकोले निजलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. २१)

     प्रतिवादीको उमेर १६।१७ भन्ने निजले गरेको प्रहरी र अदालतको बयानबाट देखिन्छ, मर्नेलाई ठीक गर्ने भन्ने सल्लाहमा निज उपस्थित नभएको तर पछि निजको भिनाजु र दाजुको साथ घटनास्थलमा उपस्थित भई ढुङ्गाले हिर्काएको समेत देखिएको र निजको कलिलो उमेर समेत हुँदा निजलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने हुँदा निज बुद्धिमानको हकमा जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम ५ वर्षको सजायँ हुने।

(प्रकरण नं. २३)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ता श्री नरहरी आचार्य

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बर प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।२।२६ को इन्साफ उपर चित्त नबुझी प्रतिवादीहरूको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ। मेरा एकाघरका भाइ लाल बहादुर श्रेष्ठले प्रेमराज श्रेष्ठको विवाहिता श्रीमती कान्छी श्रेष्ठलाई जारी गरी ल्याई जारी समेत तिरिसकेको छ । निज प्रेमराजले अझैसम्म पनि जार हो भनी रिस ईवी लिई हिंडेका थिए । त्यस्तैमा मिति ०४१।७।१० गते अं.३ बजे मेरा भाइ लाल बहादुर श्रेष्ठ आफ्नै दासा चौर गोठबाट गाई गोरु चराउन देउराली भन्ने जङ्गलमा गएकोमा प्रेमराज श्रेष्ठ समेतले पुरानो रिस ईवीहरू  लिई खुकुरी प्रहार गरी कर्तव्य गरी मारेकोले विपक्षी प्रेमराजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने कृष्णलाल श्रेष्ठको मिति २०४१।७।११ को जाहेरी दर्खास्त।

२.    दायाँ हातको कुम र गर्धन काटिएको टाउको छुट्टिएको बाँया कुहिनादेखि अगाडि अं.२ इन्चको चोट बायाँ कानको लोती देखि घुच्कूकको बीचसम्म काटेको घाउ र च्यापू घाँटीको बीच भागदेखि उक्त कानदेखि १ इन्च तल छँदै पछाडिसम्म अं. ५ इन्च लम्बाइको काटी रगत सुकेको घाउ समेत देखिएको भन्ने समेत व्यहोराको मृतक लाल बहादुर श्रेष्ठको मिति २०४१।७।१२ को लाश प्रकृति मुचुल्का ।

३.    २०३७ साल कार्तिकमा म शाही नेपाली सेनामा भर्ना भई तालीम लिंदै थिएँ । २०३८ साल ज्येष्ठमा मृतक लाल बहादुरले आफ्नो श्रीमती बनाई लगेको मृतकले आफ्नो बस्तुलाई मेरो बारीको बाली खुवाई आमासग झगडा परेको र घरमा आउँदा मलाई ठक्कर दिई हिंड्ने गरेको र मेरी हालकी श्रीमती समेत निज मृतकले लान्छु भनी हिंडेकोले मेरो मनमा अनेक तर्कना उठी निज लाल बहादुरलई काट्न पाए च्वाट्ट काट्ने थिएँ भनी माइला जेठान तेजबहादुरसँग सल्लाह गरे निज जेठानले मद्दत चाहेमा साइला जेठान बुद्धिमानलाई समेत लैजाउँला भनेको थिए । मिति २०४१।७।१० गते साँझ निज लाल बहादुर एक्लै गोठमा भएको बखत जेठानहरू लिन आएकोले जेठान तेजबहादुर बुद्धिमान समेतलाई लिई निज लाल बहादुर आउने बाटो देउराली जङ्गलमा तिनै जनाले हातमा ढुङ्गा लिई लुकी बस्यौं निज लाल बहादुर आएपछि तिनै जनाले ढुङ्गाले हानी लडाएपछि मैले निज लाल बहादुरको साथमा भएको हंसियाले निजैलाई हिर्काई घिसारी फेरि हँसियाले गर्धनमा हानी काटी उक्त देउराली जङ्गलको मलपानी खोल्सामा लगी दुई टुक्रा पारी फालेको छु भन्ने समेत व्यहोराको प्रेमराज श्रेष्ठको मिति २०४१।७।१२ को प्रहरीमा भएको बयान ।

४.    मृतक लाल बहादुरसँग पैसाको बारेमा झगडा र मृतकका दाजूलाई मेरो बहिनी नदिई प्रेमराजलाई दिएको हुँदा निज लाल बहादुरले मलाई समेत मार्छु भनी रिस ईवी गरी हिडेको ज्वाइँ प्रेमराजलाई गुण्डागर्दि गरेको कारण समेतबाट निज लाल बहादुरसँग रिसइवी थियो यस्तैमा ज्वाइँ प्रेमराज तिहारमा मेरो घरमा आई लाल बहादुरले ज्यादै रिस गर्‍यो यसलाई मार्नु पर्‍यो मौका कहाँ मिल्छ भनी भन्नु भएको थियो । त्यसै कारण ०४१।७।१० गते निज लाल बहादुर एक्लै गोठमा गएको देखि मेरो भाइ बुद्धिमान समेतलाई लिई ज्वाइँ प्रेमराजलाई खबर गरी लिई आई देउराली वनको बाटोमा हातमा ढुङ्गा लिई बसे निज लाल बहादुर आएपछि सबैले हिर्काई लडाई ज्वाइँले निज लाल बहादुरको हँसियाले गर्धनमा हानी काटी घिसारी मारी सोही जङ्गलको मलपानी खोल्सोमा पुर्‍याई दुई टुक्रा बनाई फाली आएका हौं भन्ने व्यहोराको तेजबहादुर श्रेष्ठको मिति २०४१।७।१५ को प्रहरीमा भएको बयान ।

५.    बहिनीको विवाह सम्बन्धमा मृतक लाल बहादुरसँग झगडा परी रिसइवी परेको थियो । यस्तैमा २०४१।७।१० गते ज्वाई प्रेमराज र दाजु तेजबहादुरले लाल बहादुरलाई मार्न जाउँ भनेकोले गई ढुङ्गाले हिर्काई लडाई ज्वाइँ प्रेमराजले निज लाल बहादुरको हँसिया खोसी मारी घिसारी मलपानी लगी ज्वाइँले फेरि हसियाँले गर्धनमा हानी काटी घाँटी छिनाली दुई टुक्रा पारी छाडि आएका हौं भन्ने समेत व्यहोराको बुद्धिमान श्रेष्ठको मिति ०४१।७।१५ मा प्रहरीमा भएको बयान ।

६.    २०४१।७।१३ को धारिलो हतियारले घाँटी समेत काटी छिनालेको कारण समेतबाट मृत्यु भएको भन्ने मृतक लाल बहादुर श्रेष्ठको पोष्टमार्टम फाराम ।

७.    ०४१।७।१० गते साँझ लाल बहादुर श्रेष्ठ हरायो भनी निजको बाबु खोजी गर्दे हिंडेको थाहा पाएको थिए । सोही रातको अं.१० बजे निज लाल बहादुर मृतक अवस्थामा मलपानी खोल्सोमा फेला परे भन्ने सुनें  भोलिपल्ट ११ बजे उक्त ठाउँमा जाँदा निज लाल बहादुर शीर शरीर छुटिएको अवस्थामा देख्यौं को कसले मारे भन्ने सम्बन्धमा प्रेमराज मृतकको जार भएकोले रिसइवी भइरहेको र गाउँलेले शंका लागी सोधपूछ गर्दा लाल बहादुरलाई कर्तव्य गरी मारेकोमा सावित भएको र तेजबहादुर बुद्धिमानको मृतकसँग रिसइवी भएको हुँदा निजहरू तिनै जना मिली लाल बहादुरलाई ढुङ्गाले हानी हँसियाले काटी कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको कृष्ण बहादुर श्रेष्ठ समेतले मिति ०४१।७।२८।३ मा गरेको सरजमीन मुचुल्का ।

८.    अभियुक्त प्रेमराज श्रेष्ठ, तेज बहादुर श्रेष्ठ बुद्धिमान श्रेष्ठ समेत जना ३ ले मृतक लाल बहादुरलाई कर्तव्य गरी मारी मु.ऐन ज्यानसम्बन्धी महलको १ नं. अनुसार कसूर गरेको प्रष्ट देखिन आएकोले निज प्रेमराज श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र तेज समेत जना ३ लाई सोही ऐनको १३(३) बमोजिम सजाय हुन माग दावी दावी सम्बन्धित मिसिल कागज समेत अभियुक्तहरुलाई त्यसै साथ पेश गरेको छु भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

९.    २०३० सालमा कान्छी श्रेष्ठसँग मेरो जातको रिति थिति अनुसार विवाह भयो । यस्तैमा म शाही नेपाली सेनामा जागिरे भएकाले निज मृतक लाल बहादुरले मेरो विवाहिता श्रीमती कान्छी श्रेष्ठलाई ०३८ साल ज्येष्ठ महिनामा पोइल लगेको रहेछ सो कुरा मेरो बुबाले काठमाडौंमा गई भन्नु भएकोले थाहा पाएँ । तत्पश्चात मृतक लाल बहादुरको बस्तुले मेरा बारीमा बाली खाएको सम्बन्धमा मेरी आमाले मृतक लाल बहादुरलाई भन्न जाँदा तेरो बुहारी मैले ल्याएँ तेरो छोराले केही गर्न सकेन बाली खाएकोमा के गर्न सक्छेस् भनेको रहेछ । यो कुरा बुबाले भन्नु भएपछि मृतक उपर झन रिस बढ्यो । मृतकले मेरो हालको श्रीमतीलाई समेत लैजान्छु भनी गाउँमा धाकधम्की दिई हिंडेको रहेछ । त्यसबाट पनि मलाई रिस बढ्यो । ०४१ साल कार्तिक १० गते भाइ टिकाको टिका लगाई राम बहादुरको पसलमा गई बसिरहेको थिएँ । त्यसबखतमा माइलो जेठान तेजबहादुर, साहिलो जेठान बुद्धिमान आई लाल बहादुर मात्र एक्लै उसको गोठ दासा चौरमा गएको छ । आज त्यसलाई कुटन ताल पर्छ भनी भन्नु भएपछि हामी तिनै जना लाल बहादुरको गोठ तर्फ गयौं निज फर्की आउने देउराली भन्ने जङ्गलमा बाटो माथी तिन जनाले दुई दुइवटा ढुङ्गा लिई लुकि बसेका थियौं । अं.६ बजेको समयमा मृतक हामी लुकि बसेको ठाउँमा आइपुग्यो । मृतक एक्लै आएपछि म एक्लै गएँ र निजलाई मैले बायाँ हात पट्टीबाट कम्मरमा अँठ्याई उचालेर पछारी दिई र हातमा रहेको ढुङ्गाले हिर्काउन थाले । त्यस अवस्था जेठानहरु पनि नजिकबाट ढुंगाले हिर्काए त्यस अवस्था यस्तो नगर्नुस भनेकोसम्म सुनेको थिएँ मृतकको र मेरा कुटपिट भइरहेको अवस्था निज मृतकको पछाडि पट्टी खुपिन्याकमा राखेको फलामे खुर्पा निजले झिकी मलाई काट्न खोज्दा मैले निज मृतकको हातबाट खुर्पा फुत्काई मैले हातमा लिई निजको घाँटीमा हिर्काई काटी निजलाई कान्लोबाट लडाई दिएँ त्यस अवस्था जेठानहरूले सास राख्नु पर्छ भनी भनेका थिएँ । तर मैले रिसको झोकमा नमानी कान्लोमुनी गई फेरि घाँटीमा दुई पटक खुर्पाले हिर्काई काटे । काट्दा निजको घाटी छिनेको थिएन । तर मानिस मरिसकेको थियो त्यसपछि लाशलाई तिनजना मिली मलपानी खोल्सोमा पुर्‍याई जेठान बुद्धिमानको हातमा रहेको खुर्पा मागी अझ रिस मरेको छैन भनी पुनः काटी मुड र टाउको छुट्याई दिए टाउको आफैं गुडेर अं.१०१५ फिट तल खोल्सीमा पुग्यो भन्ने समेत व्यहोराको प्रेमराज श्रेष्ठले मिति ०४१।८।४ मा अदालतमा गरेको बयान ।

१०.    निज मृतक लाल बहादुरसँग पैसा मागेको निउमा झगडा भएछ । मृतकले दाजुलाई गाउँ घर जागा मागा हिंडलास भनी धाक धम्की पनि दिएछ मृतक लाल बहादुरले प्रेमराजलाई त्यसको पहिलेको स्वास्नी तुल्याई अर्को पनि ल्याउँछु भनी गाउँ घरमा भनी  हिंडेकोले त्यस्तो भन्दा हामीलाई पनि चित्त दुःखी रिस उठी रहेको थियो । ०४१ सालको कार्तिक १० गते भाइ टिकाको दिन टिका लगाई अं. ३ बजेतिर हामी दुवैजना ढकाल थोकमा गई तास खेलेको हेरी त्यसपछि बुधासिमा पर्ने सानी अमाको घरमा पुगेको थियौं । ज्वाइँ त्यही नै आइपुग्यो । त्यसपछि दाजु तेजबहादुरले मृतक लाल बहादुर आज दासा चौरमा बेसिमा एक्लै गएको छ भनी भन्दा ज्वाइँले हामी तीनै जना जाउँ त्यसलाई आज कुट्नु पर्छ भनी भन्दा म समेत देउराली भन्ने बाटो माथि खर बारीमा हातमा एक एक वटा ढुङ्गा लिई लुकी बसेका थियौं । अं. बेलुकी ६ बजेको टायममा मृतक लाल बहादुर हामी लुकी बसेको ठाउँ नजिक आइपुग्यो । ज्वाइँ प्रेमराजले मृतकलाई अँठ्यायो, त्यसै बखत मैले ढुङ्गाले हिर्काएँ र त्यही बसी ज्वाइँ र मृतक झगडा भई लठारिएको थियो, त्यसपछि ज्वाइँले कान्लामुनी फाली दिएर ज्वाइँ कान्ला मुनीसँगै गई मृतक लाल बहादुरलाई खुर्पाले हिर्काई घाँटीमा काटी दिएपछि हामी दुवैजना कान्ला मुनी जाँदा यसरी मार्ने भनेको भए हामी आउने नै थिएनौं कुटपिट गर्न भनेर पो आएका भनी हामी दाजु भाइले भन्दा मैले मारी दिइसकें भनी भन्नु भयो । हामी दुवैजनाले त्यसलाई छोएको थिएनौं अलि माथि थियौं ज्वाइँ प्रेमराजले हामीलाई तपाईहरू के हेरिरहनु भएको आउनुस् भन्दा हामी पनि गई मृतक लाल बहादुरको लाशलाई मृतकले लगाएको कट्टु फुकाली खुट्टामा बाँधी घिसार्दै मलपानी खोल्सीमा पुर्‍याएपछि ज्वाइँले अझ मेरो रिस मरिसकेको छैन, यसलाई छुट्टाई दिन्छु भनी निजको हातमा रहेको खुर्पाले काटी दिएपछि टाउको छुट्टिएर अं.१०१२ हात जति मुनि पुग्यो । लाशलाई सालको हाँगाले छोपिदियौं भन्ने समेत व्यहोराको बुद्धिमान श्रेष्ठले मिति ०४१।८।५ गते अदालतमा गरेको बयान ।

११.    मृतक लाल बहादुरसँग मेरो रुपैयाँको सम्बन्धमा निजको घरमा म जाँदा मृतकले मसँग बाजाबाज गरी झगडा गरी अब गाउँ घरमा हिडलास् भनी धाक धम्की दिइरहेका थिए । त्यसमा पनि रिसइवी थियो । मेरो बहिनी फूलमाया प्रेमराजसँग विवाह गर्नु भन्दा अघि लाल बहादुरको दाजु कृष्ण बहादुरलाई मागेको रहेछ । त्यसमा मेरो बहिनी दिन्न भनेको थिएँ प्रेमराजलाई मैले वैनी दिएपछि पहिलेको स्वास्नी त मैले ल्याएँ विवाह गरेको केटी पनि म नल्याई छोड्दिन भनी हिडिरहेको थिए । मिति २०४१ साल कार्तिक ८ गते काग तिहारको दिन ज्वाइँ प्रेमराज मेरो घरमा आए यो जारले मलाई ज्यादै अत्याचार गर्‍यो गाउँ घरमा हिड्न दिन्न भन्छ के गर्ने यसलाई मार्नु पर्छ कि भन्दा मैले त्यसरी मानिस मार्न हुँदैन भनी भन्दा म त्यसलाई नमारी छोड्दिन भन्दा मैले मानिस मार्न हुँदैन भने । जङ्गलमा कुटपिट गर्नु पर्छ भनेर ज्वाइँ आफ्नो घर जानु भयो । ऐ.कार्तिक १० गते टिकाको टिका लगाई दिनको अं. ४ बजे गाउँतिर गएको ज्वाइँलाई भेट भयो र मैले मृतक लाल बहादुर एक्लै निजको गोठ दासा चौरमा गएको छ कुटपिट गर्न जाउँ भनी भन्दा ज्वाइँ म र भाइ बुद्धिमान मृतक गएको गाउँतिर गयौं र बाटो माथि बुटेनमा लुकी बस्यौं । त्यसबेला एक एकवटा ढुङ्गा हातमा लिएर बसेका थियौं साँझ अं. ६ बजेतिर निज मृतक हामी लुकी बसेको ठाउँ नजिक आइपुग्यो त्यसपछि ज्वाइँ प्रेमराजले ढुङ्गाले मृतकलाई हिर्कायो र पछि म र मेरो भाइ बुद्धिमानले एक एक वटा ढुङ्गाले हिर्कायौं निज मृतक लड्यो र उठ्दा प्रेमराजले धकेली एक कान्ला मुनी पुर्‍याई दियो लड्नासाथ प्रेमराज सँगसँगै हामफाली निज मृतकले नै भिरेको हसिया खोसी प्रेमराजले घाटीमा हिर्काई काट्यो त्यस अवस्थामा म र भाइ बुद्धिमान माथि बाटोमा नै थियौं । ज्वाइँले आउनुस् यसलाई घिसारुँ भन्दा हामी समेत गई घिसारेको हौं । निज मृतक त्यहाँ नै मरेको हुनुपर्छ पछि पनि मृतक कट्टु फुकाली निजको खुट्टा बाँधी घिसारी मल पानी खोल्सीमा पुर्‍याई म र ज्वाइँले यो बाँच्न सक्छ मेरो रिस मरेको छैन भनी दुई टुक्रा पारिदियौं टाउको आफैं गुडेर तल  खोल्सामा पुग्यो भन्ने समेत व्यहोराको तेजबहादुर श्रेष्ठले मिति २०४१।८।४ गते अदालतमा गरेको बयान ।

१२.   अभियुक्त प्रेमराज श्रेष्ठको हकमा निजलाई ज्यानसम्बन्धी महलको १३ नं.को देहाय दफा १ अन्तर्गत सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अभियुक्त तेजबहादुर र बुद्धिमानलाई ज्यानसम्बन्धीको महलको १३ नं.को देहाय (४) अन्तर्गत जन्मकैद हुने ठहर्छ । अभियुक्त बुद्धिमानको उमेर १६१७ वर्ष रहेको देखिँदा एकाएक घटना घट्न जाँदा सोच्ने सम्झना शक्तिको कमजोरीपनामा बुद्धिको न्यूनताले पनि तत्कालको स्थितिमा दाजु र ज्वाइँको पक्षमा लाग्नु स्वभाविकै रहेको हुँदा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्न जाने हुँदा निज बुद्धिमान श्रेष्ठलाई कैदवर्ष ५ पाँच गर्न न्यायोचित हुने हुँदा अ.बं. १८८ नं. अन्तर्गत छुट्टै राय प्रस्तुत गरेको छु भन्ने समेत व्यहोराको ०४२।२।२४।५ को नुवाकोट अदालतको जाहेरी फैसला ।

१३.   उपरोक्त जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरू प्रेमराज, तेजबहादुर, बुद्धिमान श्रेष्ठ समेत जवान ३ को म.क्षे.अ.मा परेको पुनरावेदन ।

१४.   मृतक लाल बहादुर एक्लै गाई गोरु चराउन वन जङ्गलमा गएको सुराक निज तेजबहादुर समेतले अभियुक्त प्रेमराजलाई दिई निजहरू लाल बहादुर फर्कने बाटो ढुकी लुकी बसेका बखत निजलाई ढुङ्गाले हानी लडाई हसिया प्रयोग गरी घाइते बनाई सकेपछि सबै अभियुक्तहरूले घिसारी पुनः हतियार प्रयोग गरी अभियुक्त प्रेमराजले टाउको समेत छिनाली खोल्सीमा लाश लुकाएको भन्ने तथ्य अभियुक्तहरूले अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित भई बयान गरिदिएका र लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतबाट अभियुक्तहरूको बयान समर्थित भएको देखिएकोले प्र. मध्येका प्रेमराज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैद र प्र.तेजबहादुर श्रेष्ठ तथा बुद्धिमान श्रेष्ठलाई जन्मकैदको सजायँ हुन्छ । प्र.बुद्धिमानको हकमा कम सजायँ गर्ने राय व्यक्त गरेको शुरु जि.अको इन्साफसँग सहमत हुन सकिएन भन्ने समेत म.क्षे.अ.का मिति २०४३।३।२।२६ को फैसला रहेछ ।

१५.   सर्वस्वसहित जन्मकैद गर्ने गरी गरेको म.क्षे.अ.को इन्साफमा हाम्रो चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको यस अदालत समक्ष पर्न आएको संयुक्त पुनरावेदन रहेछ ।

१६.    प्रतिवादी बुद्धिमान श्रेष्ठको उमेर कलिलो भएको र मृतक लाल बहादुरलाई मार्ने उद्देश्य रहेको भन्ने पनि नदेखिएकोले अ.बं. १८८ नं.को व्यवस्थाको सन्दर्भमा सजायँ घटी हुने देखिन आएको हुँदा छलफलको निमित्त अ.बं. २०२ र स.अ.नियमावली, २०२१ बमोजिम उपस्थित हुन म.न्या.को कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको संयुक्त इजलासको ०४४।६।२७ को आदेश रहेछ ।

१७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दमा पुनरावेदक प्रतिवादी तेजबहादुर तथा प्र.प्रेमराजको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले मृतक लाल बहादुर श्रेष्ठले प्रतिवादी प्रेम बहादुर श्रेष्ठको श्रीमती कान्छी श्रेष्ठलाई जारी गरी लगेकोले सोही रिस ईवी लिई तत्काल उठेको रीसबाट मृतक लाल बहादुरको ज्यान लिन पुगेकोले निज प्र.प्रेम बहादुरलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिने हुँदा मु.ऐ.अ.बं.१८८ को प्रयोग गरी कम सजायँ हुनुपर्ने भन्ने र प्रतिवादी तेजबहादुर समेत ज्वाइँ प्रेम बहादुरको भनाईमा लागी कुटपिटसम्म गर्ने भन्ने कुरामा सहमत भई साथ लागी गएको अवस्थामा निज उपर समेत जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं. १८८ नं. प्रयोग भई कम सजायँ हुनुपर्ने भन्ने बहस जिकिर प्रतिवादी बुद्धिमान श्रेष्ठको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान  अधिवक्ता श्री नरहरी आचार्यले प्रतिवादी बुद्धिमान श्रेष्ठ उक्त घटना घट्दाको अवस्था १६१७ वर्षको कलिलो उमेरको व्यक्ति देखिने र मृतक लाल बहादुरलाई मार्ने षडयन्त्र रचिन गएको र केवल प्रेमराजलाई बहिनी दिएकोमा लाल बहादुरले जारी गरी लगेकोले निजलाई कुटपिट गर्न सम्म भनी दाजु तेजबहादुरको साथमा लागी गएकोले निज प्र.बुद्धिमानलाई मु.ऐ.अ.बं.१८८ को प्रयोग गरी राय समेत लगाई पठाएको शुरु इन्साफलाई सदर गर्नु भन्ने समेतका बहस जिकिरहरू सुनियो ।

१८.   प्रस्तुत मुद्दामा म.क्षे.अ.ले प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद र जन्मकैद गर्ने ठहर गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ र प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरूले लिनु भएको बहस जिकिर बमोजिम अ.बं. १८८ को प्रयोग हुनसक्ने नसक्ने समेत सम्बन्धमा विचार गर्नु पर्ने हुन आयो ।

१९.    यसमा जाहेरवालाको जाहेरी दर्खास्त मृतक लाल बहादुर श्रेष्ठको मिति २०४१।७।१२ को लाश प्रकृति मुचुल्का मृतक लाल बहादुर श्रेष्ठको पोष्टमार्टम फाराम सरजमीन मुचुल्का समेतका सम्पूर्ण प्रमाण कागजबाट जाहेरवालाको भाइ मृतक लाल बहादुर श्रेष्ठको कर्तव्य गरी मृत्यु भएको प्रष्ट देखिन आयो ।

२०.   अब प्रतिवादीहरूको के कस्तो कर्तव्यबाट मृत्यु हुन गएको र म.क्षे.अ.ले प्र.हरूलाई कर्तव्य गरेमा सजायँ गर्ने गरेको इन्साफमा प्रतिवादी पक्षका विद्वान अधिवक्ताहरूले लिनु भएको बहस जिकिर बमोजिम सजायँमा छुट दिन सकिने नसकिने अवस्था समेत के रहेछ त्यसतर्फ पनि विचार गर्नु पर्ने हुन आएको छ । जाहेरवालाको शुरु जाहेरी दर्खास्त हेर्दा मेरो भाइ लाल बहादुर श्रेष्ठले प्रेमराज श्रेष्ठको श्रीमती कान्छी श्रेष्ठलाई जारी गरी ल्याई जारी समेत तिरी सकेकोमा निज प्रेमराजले अझै सम्म पनि जार हो भनी रिसइवी लिई हिंडेको र लाल बहादुर गाई गोरु चराउन देउराली भन्ने जङ्गलमा गएकोमा प्रेमराज श्रेष्ठ समेतले पुरानो रिसइवी लिई खुकुरी प्रहार गरी मारेकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने देखिन्छ । लाश प्रकृति मुचुल्का हेर्दा टाउको काटिई छुटिएको भन्ने र शरीरको विभिन्न ठाउँहरूमा खुकुरीद्वारा काटिएका विभिन्न घाउहरू भएको भन्ने देखिन आएको छ । निज प्र.प्रेमराज श्रेष्ठले प्रहरी समक्ष गरेको बयान कागज हेर्दा मृतक लाल बहादुर श्रेष्ठले मेरो श्रीमती कान्छी श्रेष्ठलाई जारी गरी लगेकोेले निज लाल बहादुरलाई काट्न पाए च्वाट्ट काट्ने भनी आफ्नो माइला जेठान तेजबहादुरसँग सरसल्लाह गर्दा निज जेठानले मद्दत चाहिएमा साइला जेठान बुद्धिमान समेत लैजाउ भनेका र मिति ०४१।७।१० गते साँझ निज लाल बहादुर एक्लै गोठमा गएको बखत जेठानहरू लिन आएकोले जेठान तेजबहादुर बुद्धिमान समेतलाई लिई लाल बहादुर गाई चराउन जाने देउराली जङ्गलमा तीनै जनाले हातमा ढुङ्गा लिई लुकी बसी निज लाल बहादुर आएपछि तिनै जनाले ढुङ्गा हानी लडाए पछि मैले निज लाल बहादुरको साथमा भएको हसियाँ झिकी गर्धनमा हिर्काएको र घिच्रो निकै काटिएकोले लडे पछि २५ फिट जति तल झर्‍यो त्यहाँ पनि २ पटक हसियाले हिर्काएँ घिच्रो चुडीन मात्र बाँकी भई निज मरिसकेको थियो पछि ३ जनाले घिसारी तीन सय गज जति तल पुर्‍यायौं फेरि एकपटक घिच्रोमा हानी टाउको अलग पारी टाउको १० फिट तल गुडी गयो र लाश नदेखियोस् भनी सुकेको झिक्रोले छोपिदियौं भन्ने समेत उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीले अदालत समक्ष बयान गर्दा सोही प्रहरीमा भएको साविती बयानलाई समेत पुष्टी गर्दै तिनै जना भई निज लाल बहादुरलाई काटी मारी फालेकोमा साविती देखिन्छ । निजको उक्त बयानलाई समेत सहअभियुक्त तेजबहादुर तथा बुद्धिमानको बयानबाट समेत समर्थित हुन आएको देखिन्छ । लाश प्रकृति मुचुल्का पोष्टमार्टम रिपोर्ट समेतबाट निज प्रतिवादीको बयान समर्थित हुन आएको छ । यस्तो अवस्थामा निज मृतक लाल बहादुरलाई मार्ने पूर्व योजना  समेत बनाई धारिलो हतियारद्वारा पटकपटक प्रहार गरी निज मरिसकेपछि पनि लाशमा पटकपटक धारिलो हतियार प्रयोग गरी हानी मारेको देखिन आएकोले मिसिल संलग्न उपरोक्त प्रमाण आधारबाट निज प्र.प्रेमराज श्रेष्ठलाई सर्वस्व सहित जन्मकैद गर्ने गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । निज प्र.प्रेमराज तर्फका विद्वान अधिवक्ताले बहस जिकिरमा अ.बं. १८८ नं. लगाई कम सजायँ गरियोस् भनी माग गर्नु भएको तर्फ समेत विचार गर्दा निज प्र.ले यस अदालत समक्ष दिएको पुनरावेदनमा समेत अ.बं. १८८ नं. बमोजिमको राय लगाई पाउने मागसम्म गरेको नभई मैले अपराध नै गरेको होइन भनी इन्कारी गरिएको र घटनाको र अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई उपरोक्त बमोजिमको सजायँ चर्को पर्ने समेत नदेखिएबाट विद्वान अधिवक्ताको रायसँग सहमत हुन सकिएन ।

२१.   अब प्रतिवादी मध्येको तेजबहादुर श्रेष्ठको तथा बुद्धिमान श्रेष्ठको हकमा विचार गर्दा निज प्रतिवादी तेजबहादुरले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा प्रेमराजलाई दिएको बहिनी मृतक लाल बहादुरले जारी गरी लगेकोले ज्वाइँ प्रेमराज तिहारमा मेरो घरमा आई लाल बहादुरले ज्यादै रिस गर्‍यो यसलाई मार्नु पर्‍यो मौका कहाँ मिल्छ भनी भन्नु भएको र ०४१।७।१० मा बुद्धिमान समेतलाई लिई ज्वाइँ प्रेम राजलाई खबर गरी लिई देउराली बनेको बाटोमा ढुङ्गा लिई बसेको र लाल बहादुर आएपछि ढुंगाले हानी लडाई ज्वाईले निज मृतक लाल बहादुरको गर्धनमा हानी काटी तीनै जनाले घिसारी मारी दुई टुक्रा पारी फाली आएको भन्ने साविती बयान गरेको देखिन्छ । तर निजले अदालत समक्ष बयान गर्दा निज प्र.प्रेमराजले मृतक लाल बहादुरलाई मार्नु पर्‍यो भनी निज तेजबहादुर बुद्धिमान श्रेष्ठलाई आउनु भनी सकेपछि भाइ बुद्धिमानलाई लिई जङ्गलमा लिई गएको ढुङ्गाले निज मृतक लाल बहादुरलाई हानी लडाएको कुरामा सावित रही धारिलो हतियार प्रहार गरेको कुरामा इन्कारी रहेको देखिन्छ । तर त्यसप्रकार प्रेमराजले हतियार प्रयोग गर्दा कुनै प्रकारको रोक छेकवार समेत नगरी ज्यान मार्नमा संयोग पारी दिई ज्यान मरी सकेपछि पनि घिसारी झिक्राले छोपी आएको भन्ने देखिन आएको छ । निज उपर सहअभियुक्तको पोलाई भएको समेत देखिन्छ । धारिलो हतियार प्रहार गरेको कुरामा निज प्र.तेजबहादुर इन्कार रहे तापनि निजको ज्यान मार्नमा संलग्नता मिसिल संलग्न अन्य प्रमाणबाट समर्थन देखिन आएकोले निजलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । निजको हकमा समेत अ.बं. १८८ नं. को राय जिकिर लिनु भएको विद्वान अधिवक्ताको बहसतर्फ समेत अपराध गरेको अवस्था विचार गर्दा निज प्र. तेजबहादुरलाई समेत ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिन नआएकोले त्यसतर्फ विद्वान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

२२.   अब प्र. बुद्धिमानको हकमा विचार गर्दा समेत कर्तव्य गरी मार्नमा संलग्नता भएकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती देखिन्छ तर अदालतमा बयान गर्दा धारिलो हतियार प्रयोग गरेकोमा इन्कारी देखिन्छ । निज समेत भई मृतकलाई मारेको भन्ने प्रेमराजले पोल गरेको देखिन्छ, तेजबहादुरको साथ लागी गएको, ढुङ्गा हिर्काएको, भन्ने समेत कुरामा निज समेत साविती छन् । यस्को साथै मिसिल संलग्न विभिन्न प्रमाण आधार समेतबाट समेत निज प्र.बुद्धिमानलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरु जि.अ.को इन्साफलाई मनासिब गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ ।

२३.   तर निज प्रतिवादी बुद्धिमानको हकमा निजको उमेर १६।१७ भन्ने निजले गरेको प्रहरी र अदालतको बयानबाट देखिन्छ । मर्ने लाल बहादुरलाई ठीक गर्ने भन्ने सल्लाहमा निज उपस्थित नभएको तर पछि निजको भिनाजु र दाजुको साथ घटनास्थलमा उपस्थित भई ढुङ्गाले हिर्काएको समेत देखिएको र निजको  कलिलो उमेर समेत हुँदा निजलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने हुँदा निज बुद्धिमानको हकमा विद्वान अधिवक्ताले लिनु भएको बहस जिकिर बमोजिम निजलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ५ वर्षको सजायँ हुने समेत ठहर्छ ।

२४.   तीनै जना प्रतिवादीको पुनरावेदन परी इन्साफ सदर भई फैसला भएकोले साधकको लगत समेत काटिदिने ठहर्छ । प्र.हरूको कारागार शाखा मार्फत पुनरावेदन पर्न आएकोले प्र.हरूलाई जनाउ दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल मंसिर २४ गते रोज ५ शुभम् ।

