January 3, 1988
Created by nepalarchives

निर्णय नं. ३२९१ – ज्यान

निर्णय नं. ३२९१     ने.का.प. २०४४      अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको...

निर्णय नं. ३२९१     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ४२५

सम्वत् २०४३ सालको फौ.पु.नं. ५५०

                              ५५१

                              ५५२

                              ५५३

सम्वत् २०४३ सालको फौ.साधक.नं. १२५

मुद्दा : ज्यान ।

 

पुनरावेदक:जि.सर्लाही मानपुर गा.पं.वडा नं. ९ घर भै जि.का.कारागार काठमाडौंमा थुनामा बस्ने टैटा हजरा दुसाध ।

ऐ.ऐ सुन्दरपुर चुअडवा गा.पं. वडा नं.४ बस्ने खदल भन्ने रामस्वरुप साह कलबार ।

ऐ.ऐ वडा नं.३ बस्ने विल्टु भन्ने राजकिशोर  राय यादव ।

ऐ.ऐ बस्ने ब्रम्हदेव राय यादव ।

ऐ.ऐ बस्ने भागीरथ राय यादव ।

ऐ.ऐ बस्ने रामस्वरुप राय यादव ।

ऐ.ऐ बस्ने किशोर साह कलवार ।

ऐ.ऐ बस्ने कपीलदेव साह कलवार ।

ऐ.ऐ बस्ने माधो साह कलवार ।

ऐ.ऐ वार्ड नं. ३ बस्ने विगाराय यादव ।

ऐ.ऐ बस्ने किशोर साह बनिया ।

ऐ.ऐ वार्ड नं.४ बस्ने राम औतार रय यादव ।

ऐ.ऐ बस्ने गोनौर राय यादव ।    

ऐ.ऐ बस्ने वलदेव राय यादव ।

ऐ.ऐ बस्ने साविक वार्ड नं.६ हाल वा.नं.३ बस्ने रमावती लाल कायस्थ ।

ऐ.ऐ बस्ने गुदर साह कलवार ।  

विरुद्ध

प्रत्यर्थी/वादी: भनसरीया दुसाधनीको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति: २०४४।९।१९।१ मा

     प्रतिवादी मध्येको टेण्टा हजारा दुसाधले प्रहरीमा घटनाक्रमको विस्तृत विवरणको व्याख्या गरी हसेरी साथ वारदातमा हाजिर रही मृतकलाई १।२ लाठी कसेर हिर्काएको र लाश गाडी आएकोमा पूर्ण साविती भएको र सो सावितीलाई अन्यथा सफाई दिन मिल्ने किसिमको भरपत्यार लायकको कानुनी प्रमाण निजबाट पेश दाखिल भए गरेको पनि पाइँदैन, यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) अनुसारको कृयाकलापसँग मिल्दो अवस्थाको वारदात भन्न मिल्ने देखिँदैन कारण ज्यानसम्बन्धीको १४ नं. हेर्दा लाठी ढुङ्गा लात मुक्का इत्यादीले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मारेमा दश वर्षकैद गर्नु पर्छ भन्ने किटानी व्यवस्था भएको र वारदात र प्रतिवादी टेण्टाको बयान सावितीलाई राम्रोसँग हेर्दा हसेरी समेतका जन समूह बीचको वारदातमा लाठीले हानेको देखिएको र यही प्रतिवादीका चोटबाट नै मृत्यु भएको हो भन्ने किटानी जाहेरी पनि देखिँदैन । यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) नं.सँग मिल्ने वारदात नदेखिने।

(प्रकरण नं. ३७)

     यो यो किसिमबाट यसरी यो हतियार मृतकमा प्रयोग गरी मरे मारेको हो भन्ने किटानी जाहेरी तथा चस्मदिदबाट पनि खुल्न नआएको र अदालतमा आई पूर्ण इन्कार रहेको र मृतकलाई ज्यान मार्ने मतलबमा पसी मर्नबाट भाग्न उम्कन नपाउने काम गरी मार्ने संयोग पारिदिएको सबूद प्रमाण मिसिल संलग्न कागजातबाट समेत देखिन नआएकोले पुनरावेदक प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(२) अनुसार ५ वर्षकैद गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने ।

(प्रकरण नं. ३७)

पुनरावेदन, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

प्रत्यर्थी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१९ को फैसलामा चित्त बुझेन भनी उपरोक्त प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।

२.    २०३३।३।८ गते कलारी नदीमा बाँध बाध्न गई फर्किदा सुन्दरपुर गा.पं. को प्राथमिक स्कूलतिर भएको गोरेटो बाटोमा उक्त विपक्षी र नचिनेका ३५ जनाले बाटामा नै राम औतार राय गुदर साहा कलवारले मर्ने गरी कुट भनी बचन दिई अरु विपक्षीहरुले कुटपिट गर्दा निसु हजरा दुसाधको प्राण जाने स्थितिको थियो, जिउँदै छन् वा मरे यकीन भन्न सक्दैन, हाम्रो घा खत जाँच गरिपाउँ भन्ने समेतको शिवशरण राय यादव समेतको मिति २०३३।३।१० को दर्खास्त।

३.    राम औतार राय यादव समेत चिनेका १८ जना र नचिनेका ३५ जना विपक्षीहरूले कुटपिट गरी मर्ने बाँच्ने दोसाधमा थियो भन्ने सुनी वारदात स्थलमा हेर्न जाँदा कोही नभई लोग्नेको पत्ता लगाउँदा थाहा नभएकोले जीवित छन् वा मरिएको पत्ता लगाई मारी सकेको भए कारवाही गरिपाउँ भन्ने समेतको मृतक निसुको श्रीमती मन्सरीया दुसाधनीको २०३३।३।१५ को जाहेरी दर्खास्त ।

४.    लाल देवर खोलाको छेउमा पौडेल हरीको जग्गानेर अज्ञात व्यक्तिको लाश सडी गली दुर्गन्ध भइसकेको छ । शिघ्र कारवाही गरिपाउँ भन्ने समेत लौकट गा.पं.का.को पत्र ।

५.    मिति २०३३।३।१४ को लाश प्रकृति मुचुल्का ।

६.    २०३३।३।८ गते बाँध बाँधी आएका हामी मध्येका निसु हजारालाई राम औतार राम यादव, गुदर साहा कलवार, रमापती लाल कायस्थ ३ जनाले मानपुर बालालाई मार भनी बचन दिएपछि, किशोरी साहा कलवार, रजला दुसाध समेतले लाठी भालाले हिर्काउँदा घट्नास्थल मै निसुको मृत्यु भइसकेको थियो भन्ने समेत सरजमीनको फौदी हजरा समेतका केही व्यक्ति, निसुलाई कर्तव्य गरी मारेको होइन, कालगतीले मरेका हुन भन्ने समेत रामस्वरुप साह कलवार समेत केही व्यक्तिको बकाई लेखाई भएको सरजमीन मुचुल्का ।

७.    २०३३।३।८ गतेका दिन विन्दा टोलीले बाँधेको बाँध तोडी मानपुर भवानीपुर वालाहरू फर्किन लागेका अवस्था दुवै पक्षका बीच कुटपिट हुँदा निसु हजाराको सो कुटाइले घटनास्थलमै मृत्यु भएको हो । धेरै जनाको कुटपिटमा कसले कसलाई कुटे थाहा भएन गुदर साह कलवार र राम औतारको इशारा अनुसार हसेरी जम्मा भई कुटपिट हुँदा निसु मरेको हो, रजला दुसाध, बलदेव राम, बुझावन मलाहा, सोमन सहनी, लछन सहनी, बिलास महतो समेतले प्रहार गरेको चोटबाट मरेका हुन् । किशोरी बनिया आई मलाई र भविछन मलाहा, बुझावन सहनी, समेत सोमत मलाहा लछन सहनी, बिलाश सहनी समेतलाई रु.३००।दिन्छौं भनी भन्दा म समेतले लाश गोरु गाडामा हाली फेला नपर्ने ठाउँमा पुर्दा हडबडले परिएन भन्ने समेतको टेन्टा हजाराका प्रहरीमा भएको कागज ।

८.    २०३३।३।८ गते मानपुरका, मानिसहरूले बाँध बाँधी आउँदा २ थरीको कुटपिट हुँदा निसुको मृत्यु भएको हो । कस्ले मार्‍यो यकीन भन्न सक्दैन रुपैयाँको लालचमा परी टेन्टाको भनाई अनुसार लाश दबाउन गएको हुँ भन्ने समेतको भविछनले प्रहरीमा गरेको कागज ।

९.    २०३३।३।८ गते विन्वा टोल मानपुर भवानीपुर समेतका जनताको संघर्ष हुँदा विन्वा टोल तर्फको राम औतार, गुदर साह, रमापतीलाल, बुनिर राय समेतले बचन दिई बलदेव सहनी, लछन सहनी समेतले प्रहार गरेको भाला गडासाको चोटबाट निसु समेतले प्रहार गरेको भाला गडासाको चोबाट निसु कर्तव्य गरी मरेका र टेन्टा दुसाध समेतले लाश दबाई आएको, यसैको चोटबाट मरेको भन्ने खुल्न नआएकोले  निज ७ जनालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम, कुटी भनी बचन दिने राम औतार, गनौर समेत जना ४, लाई ऐ.को १३(४) बमोजिम, अन्य सहेरीमा सम्मिलित भई घेरा दिने १३ जनालाई ऐ.को १७(२) बमोजिम र लाश दबाउने लछीमनलाई ऐ.को १७(३) बमोजिम गरी सरजमीनले पोलेका सहदेव राय, राजेन्द्र राय, रामचन्द्र राय सुरेन्द्र झा, निरञ्जन राय समेत उपर मुद्दा नचलाउने गरी प्रस्तुत गरिएको प्रहरी प्रतिवेदन ।

१०.    वारदातको दिन म ससुराली मलहट्टा गएको थिएँ । प्रहरीमा भएको कागज मैले भने बमोजिम लेखिएको नभै, हप्काउँदा डरले सहिछाप गरी दिएको हुँ भन्ने समेत टेन्टा हजराले अदालतमा गरेको बयान ।

११.    निसुलाई मैले चिन्हेको नहुँदा मरे बाँचेको थाहा छैन । प्रहरीमा भएको कागजमा व्यहोरा मैले भनेको थिइन, भन्दै नभनेको व्यहोरा किन लेखे थाहा छैन, म लाश दबाउन गएको छैन भन्ने समेतको भविछनले गरेको बयान ।

१२.   मृतक निसुलाई मैले चिन्हेको छैन । म वारदातमा थिएन र बचन समेत दिएको छैन, म र गुदर भैसी किन्न जि.बारा जितपुर बजार गएका थियौं भन्ने समेत प्र.राम औतार यादव र गुदर साहको करिब एकै मिलानको अदालतमा गरेको बयान ।

१३.   मैले मृतकलाई चिनेको छैन र मार्न बचन पनि दिएको छैन । वारदातको दिन म पर्सा जिल्ला कोइला माइको दर्शन गर्न जाँदा बाटामा बिरामी परी बागेश्वरी हेल्थपोष्टमा उपचार गरी २०३३।३।१० गते सम्म त्यही बसी उपचार गराई ११ गते घर फर्केको हुँ । म उपर झुठ्ठा मुद्दा लगाएको हो भन्ने समेत प्र.किशोरी साह कलवारको अदालतमा गरेको बयान ।

१४.   म मृतकलाई चिन्दीन र मार्न बचन दिएको छैन । वारदातको दिन म छोरी भेट्न फरइदवा गएको थिएँ, आषाढ १० गते छोरी लिई घर फर्केको हुँ भन्ने समेतको प्र.गोनौर राय यादवले अदालतमा गरेको बयान ।

१५.   मैले निसुलाई घेरी छेकी मारेको होइन, वारदातको दिन मेरो भैंसी हराएको हुँदा खोज्न गएको, पछि घर गाउँमा आउँदा झगडा भएको सुनिन, विन्वा टोलका मानिसलाई फसाउन मानपुर गाउँलेले यो ज्यान मुद्दा लगाएका हुन भन्ने समेत बिल्टु भन्ने राजकिशोर राय यादवले अदालतमा गरेको बयान ।

१६.    मैले मर्ने निसुलाई चिनेको छैन । २०३३।३।८ गते गोरु किन्न बारा जिल्ला गढबजारमा पुगी घर फर्केको सो दिन घरमा थिएन । बाँध तोडेको रीसले यो ज्यान मुद्दा दिएको हो भन्ने समेत प्र.रामस्वरुप राय यादवले अदालतमा गरेको बयान ।

१७.   वारदातको दिन र घरमा नभई घोडा किन्न रौतहट गएको, भोलिपल्ट घर आएपछि झगडा भएको सुने, बाँध तोडी दिएको कारण म प्रति मुद्दा लगाएको हो भन्ने समेतको प्र.रामस्वरुप कलवारले अदालतमा गरेको बयान ।

१८.   वारदातको दिन म घरमा नभई दिदीको घर रौतहटमा पूजामा गएको थिए । मानपुरवालाले बाँध तोडेकोमा मेरो समेत नोक्सानी भएकोले उजूर गर्ला भन्ने डरले हुँदै नभएको वारदात खडा गरी झुठ्ठा मुद्दा लगाई फसाउन खोजेको हो भन्ने समेत प्र.विगाराय यादवले अदालतमा गरेको बयान ।

१९.    मर्ने निसुलाई चिन्हेको छैन, वारदातको दिन रामस्वरुप कलवारको बैल किन्न सँगै गएको थिएँ । वारदातै नभएकोलाई मुद्दा लगाएको मात्र हो भन्ने समेतको प्र.किशोरी साह रौनियारले अदालतमा गरेको बयान ।

२०.   वारदातको दिन सर्लाही मलेही गा.पं.गई ०३३।३।९ गते घर तर्फ लागे मानपुर भवानी पुरेले हाम्रो बाँध तोडी दिएकोमा हर्जनामा नालिस गर्ने कुरा चलेकोले इवी साँध्न झुठ्ठा मुद्दा लगाएको हुन भन्ने समेत  प्र.माधो साह कलवारले अदालतमा गरेको बयान ।

२१.   २०३३।३।८ गते म व्यापार गर्न २ कोष टाढा बरहथवा बजार गएको थिए । हाम्रो बाँधको गेट मानपुरवालाहरूले तोडी दिएकोमा हर्जानामा उजूर गर्ने सल्लाह गर्दै थियो । विन्चाटोलका मानिसहरूलाई फसाउन झुठ्ठा मुद्दा लगाएको हो भन्ने समेतको प्र.कपीलदेव शाह कलवारले अदालतमा गरेको बयान ।

२२.   निर्सुलाई मैले मारेको हैन । वारदातको दिन भन्दा ४ दिन अघिदेखि नै ज्वरो आई आफ्नै घरमा सुतेको छु । बाँधको गेट तोडी दिएकोमा ज्यान मुद्दा लगाए हर्जानामा उजूर गर्दैनन् भनी झुठ्ठा मुद्दा लगाएको हो भन्ने समेतको प्र.भगीरथ राय यादवले अदालतमा गरेको बयान ।

२३.   निर्सुलाई मैले चिन्हेको छैन र कुटपिट पनि गरेको छैन । २०३३।३।६ गते भैंसी किन्न रौतहट जिल्ला विछुवा लक्ष्मीपुर गएको १ गते घर फर्केको हुँ । बाँध पानीको कुरामा मानपुरवालासँग भनाभन पनि हुने गरेको थियो । सोही रिसइवीबाट पोलेको हुनुपर्छ भन्ने समेत प्र.बलदेव राय यादवले अदालतमा गरेको बयान ।

२४.   बाँध पैनीको कुरामा कुटपिट भएको थाहा छैन । लुगा कपडा किन्न बरथहवा बजार गएको ०३३।३।८ गते राती घर फर्केको हुँ । मानपुर भवानीपुरवालाहरूले हामीले बनाएको गेट तोडी दिएका भन्ने सुने । मलाई रीस ईवीले मुद्दा चलाएको हो भन्ने समेत प्र.नेवाजी मिया धोवीले अदालतमा गरेको बयान ।

२५.   म गाउँलेको गाई चराउने काम गर्ने हुँदा २०३३।३।८ गते गाई चराउन गई रात परेपछि फर्कदा स्कूलनीर मारपीट भयो भन्ने सम्म सुने । मानपुर वालाहरूले बाँधको गेट तोडफोड गर्दा मैले हप्काएको हुँदा नोक्सानीको प्रमाण होला भन्ने हेतुले म उपर झुठ्ठा उजूर गरेको हो भन्ने समेत प्र.रजला दुसाधले अदालतमा गरेको बयान ।

२६.   मैले निर्सुलाई चिन्हेको छैन । २०३३।३।६ गते वीरगञ्जमा पढिरहेको छोरालाई भेट्न गएको ऐ.१७ गते मात्र घर फर्केको हुँ । वारदातका दिन गाउँघरमा नभएको हुँदा कसैलाई मारेको छैन । मानपुरवालाले गेट तोडी दिएकाले नोक्सानीमा उजूर गर्लान भन्ने हेतुले झुठ्ठा मुद्दा दिएको हुन भन्ने समेत प्र.रमापतीलाल कायस्थले अदालतमा गरेको बयान ।

२७.   मर्ने निसुलाई चिन्दीन, झगडा भएको पनि थाहा छैन । २०३३।३।८ गते राती रौतहट बडहरवा मीतकहाँ पूजाको निम्तामा गएको ऐ.१० गते मात्र घर आएको हुँ । म गाउँ घरमै नहुँदा केही गरे विराएको छैन भन्ने समेतको प्र.सिताराम महतो कोइरीले अदालतमा गरेको बयान।

२८.   प्र.लछन सहनी, प्र.विकास महतो, प्र.सोमत सहनी प्र.बुझावन सहनी, प्र.इश्वरीदाश कलवारले तामेल भइआएको म्याद गुजारी बसेका ।

२९.   प्र.मध्येका बुझावन सहनी, सोमत सहनी, लछन सहनी, बिलाश महतो, इश्वरी शाह समेत जना ५ ले ७० दिने म्याद गुजारी बसेका हुँदा निजहरूको हकमा हाल निर्णय गर्न नमिल्ने हुँदा अ.बं.१९० नं. बमोजिम मुलतबी राख्ने र मर्ने निसु हजारालाई कर्तव्य गरी मारे मराएको हैन भन्ने सबूद प्रमाण प्रतिवादीहरूले गुजार्न सकेको नदेखिँदा प्र.राम औतार राय समेत जना २० ले नै निसु हेजारालाई कर्तव्य गरी मारे मराएको प्रष्ट हुन आउँछ । प्र.टेन्ट दुसाध प्र.बलदेव राय समेत जना २ लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम, प्र.राम औतार राय यादव, प्र.गुदरसाह कलवार, प्र.रमापतीलाल कायस्थ, प्र.गौनोर राय समेत जना ४ लाई ऐ.को १३(४) नं. बमोजिम र अन्य प्रतिवादीहरू रुदल भन्ने राम स्वरुप साह कलवार प्र.रामश्वरुप राय प्र.किशोरी साह कलवार, भगिरथ राय यादव, वधदेव राय, प्र.कपिलदेव कलवार, प्र.माधो साह कलवार, किशोरी साह वनिया, विल्टु भन्ने राजकिशोर राय, प्र.नेवावी मिया, प्र.विगाराय, प्र.सिताराम महतो, प्र.रजुला  दुसाध समेत जना १३ लाई ऐ.को १७(२) नं. बमोजिम र प्र.भविछन सहनी मलाहालाई ऐ.को दफा १७(३)(४) बमोजिम हुन्छ भन्ने समेत शुरु सर्लाही जिल्ला अदालतको ०३५।५।२३ को साधक जाहेरी फैसला।

३०.   उक्त इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत रामस्वरुप राय यादव, किशोरी साह कलवार, रुदल भन्ने रामस्वरुप शाहले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन र सोहि फैसलामा चित्त बुझेन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत बिल्टु भन्ने राज किशोर राय१ विगाराय यादव १, बलदेव यादव, माधो शाह कलवार, कफिदेव शाह कलवार, भगीरथ राय, किशोरी शाह बनिया, समेतले ऐ.अदालतमा दिएको छुट्टै पुनरावेदन, सर्लाही जिल्ला अदालतले गरेको गल्ती फैसला बदर गरी आजन्मको काराबासबाट मुक्त गरिपाउँ भन्ने समेतको प्र.टेन्टा दुसाधले ऐ.अदालतमा दिएको छुट्टै पुनरावेदनपत्र ।

३१.   टेण्टा दुसाधलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गरेको शुरुको फैसला मनासिब ठहर्छ, अन्य प्रतिवादीहरू र पुनरावेदन, नगर्ने रजला दुसाध समेतका हकमा पनि अ.बं. २०५ नं. ले विचार गर्दा शुरुले सजायँ गरेको फैसला मिलेको नदेखिँदा शुरुको फैसला उल्टी भई किशोर साह समेतका प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।११।१९ को साधक जाहेरी फैसला ।

३२.   उक्त फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकार र प्र. टैटा दुसाध समेतको यस अदालतमा पुनरावेदन परेको र अन्य प्र. हरूमा साधक तहबाट दर्ता हुन आएको रहेछ ।

३३.   यसमा म.क्षे.अ.को फैसलाबाट इन्साफ खण्डमा सफाई पाउने ठहर गरेको र तपसील खण्डमा सजायँ हुने भनी उल्लेख गरेको फैसला कानुनसंगत देखिएन र उहि अभियुक्तहरूले एकै फैसलाबाट सजायँ तथा सफाई पाउने कुरो न्याय परिपाटीसँग नमिल्ने हुँदा हाल अरु तथ्यमा प्रवेश गरी रहन नपरी म.क्षे.अ.को फैसला बदर गरी दिएको छ । अब पुनः ऐन बमोजिम सबै प्रतिवादीहरूको हकमा कारवाही किनारा गर्नु भनी मिसिल म.क्षे.अ.मा पठाई दिने ठहर्छ भन्ने समेत यस अदालतको २०४०।४।३१ को फैसला ।

३४.   निर्सु हजाराको कर्तव्य गरी ज्यान मारेको अभियोगमा प्र.टेन्टा दुसाधलाई ज्यानसम्बन्धीको १३(३) नं. को कसूरदार ठहर्‍याई जन्मकैद हुने भनी र प्र.किशोरी साह कलवार, प्र. राम स्वरुप राय यादव, प्र.रुदल भन्ने राम स्वरुप कलवार, प्र.बिल्टु भन्ने राजकिशोर राय यादव, विगाराय यादव, ब्रम्ह देव राय यादव, माधो साह कलवार१ कपिल देव साह कलवार, भगीरथ राय यादव, किशोरी साह बनिया, लाई ऐ.को १७(२) को कसूरदार ठहर्‍याई वर्ष ५ का दरले कैद गर्ने गरी निजहरूका हकमा सर्लाही जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्छ, निजहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन, सर्लाही जिल्ला अदालतले प्र.बलदेव राय यादवलाई ऐ.को १३(३) र प्र, राम औतार राय यादव, प्र. गुदर साह कलवार, प्र. रमापतीलाल कायस्थ, प्र.गोनोरु राय यादव, लाई ऐ.को १३(४) को कसूरदार ठहर्‍याएको नमिली निजहरूको ऐ.को १७(२) को कसूरदार ठहरी निजहरूलाई ५ वर्षका दरले कैद हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४२।१।९ को साधक जाहेरी फैसला ।

३५.   उक्त म.क्षे.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत माथि उल्लिखित प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी दर्ता भई यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

३६.   पुनरावेदक प्रतिवादीहरू तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले र विद्वान अधिवक्ता सुनिल अधिकारी एवं विद्वान अधिवक्ता श्री गणेशराज शर्माले गर्नु भएको बहस समेत सुनियो ।  मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

३७.   यसमा निसु हजरा दुसाध कर्तव्य परी मरेकोमा विवाद देखिन्न । मुलतवी रहेको ५ जना प्रतिवादीहरूका विषयमा केही गर्न परेन अरु प्रतिवादी मध्येको टेण्टा हजारा दुसाधले प्रहरीमा घटना क्रमको विस्तृत विवरणको व्याख्या गरी हसेरी साथ वारदातमा हाजिर रही मृतकलाई १।२ लाठी कसेर हिर्काएको र लाश गाडी आएकोमा पूर्ण साविती भएको र सो सावितीलाई अन्यथा सफाई दिन मिल्ने किसिमको भर पत्यार लायकको कानुनी प्रमाण निजबाट पेश दाखिल भए गरेको पनि पाइँदैन । यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) अनुसारको कृयाकलापसँग मिल्दो अवस्थाको वारदात भन्न मिल्ने देखिँदैन । कारण ज्यानसम्बन्धीको १४ नं. हेर्दा लाठी ढुङ्गा लात मुक्का इत्यादिले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मारेमा १० वर्षकैद गर्नु पर्छ भन्ने किटानी व्यवस्था भएको र वारदात र प्रतिवादी टेण्टाको बयान सावितीलाई राम्रोसँग हेर्दा हसेरी समेतका जन समूह बीचको वारदातमा लाठीले हानेको देखिएको र यहि प्रतिवादीका चोटबाट नै मृत्यु भएको हो भन्ने किटानी जाहेरी पनि देखिँदैन । यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) नं.सँग मिल्ने वारदात देखिएन । ज्यानसम्बन्धीको १४ नं. अनुसार निज प्र.टेण्टा हजारा दुसाधलाई १० वर्षकैद हुने ठहर्छ । अन्य पुनरावेदक प्रतिवादीहरूको हकमा विचार गर्दा निजहरूले यो यो किसिमबाट यसरी यो हतियार मृतक निरसुमा प्रयोग गरी मरे मारेको हो भन्ने किटानी जाहेरी तथा चस्मदिदबाट पनि खुल्न नआएको र अदालतमा आई पूर्ण इन्कार रहेको र मृतक निरसुलाई ज्यान मार्ने मतलबमा पसी मर्नबाट भाग्न उम्कन नपाउने काम गरी मार्ने संयोग पारिदिएको सबूद प्रमाण मिसिल संलग्न कागजातबाट समेत देखिन नआएकोले पुनरावेदक प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(२) अनुसार ५ वर्षकैद गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । निज पुनरावेदक प्रतिवादीहरूले उक्त उल्लिखित कारण प्रमाणका अपराधमा आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । टेण्टा हजारा दुसाध समेतका हकमा साधक जाहेर गरेकोमा पुनरावेदनबाटै हेरी निर्णय भएकोले सो साधकको लगत कट्टा गरिदिने र अरु तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी टेण्टा हजरा दुसाध के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्षकैद हुने ठहरेकोले म.क्षे.अ.का फैसलाले निजलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद गर्ने गरेको लगत कट्टा गरी १० वर्षकैदको लगत कसी असूल गर्नु भनी शुरु सर्लाही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अमा लगत दिनु …..१

देहायमा लेखिएका पुनरावेदक प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए अनुसार निजहरूले आरोपित कसूरबाट इन्साफ खण्डमा लेखिए अनुसार निजहरूले आरोपित कसूरबाट सफाई पाउने ठहरेकोले निजहरूलाई म.क्षे.अ.ले ज्यानसम्बन्धीको १७(३) अनुसार जनही कैदवर्ष ५ गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरेको र प्र.बलदेवका हकमा पनि शुरुले ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरेकोमा ऐ.१७(२) अनुसार ५ वर्षकैद गर्ने गरेको समेतको सम्पूर्ण लगत काटिदिनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.मा लगत दिनु …..२

      (१)   रुदल भन्ने रामश्वरुप साह कलवार

      (२)   पिल्टु भन्ने राज किशोर राय यादव

      (३)   ब्रमदेव राय यादव

      (४)   भागीरथ राय यादव

      (५)   रामस्वरुप राय यादव

      (६)   किशोरी साह कलवार

      (७)   कपिलदेव साह कलवार

      (८)   माधो साह कलवार

      (९)   विगाराम यादव

      (१०)  किशोरी साह बनियाँ

      (११)   राम औतार राय यादव

      (१२)  गोनोर राय यादव

      (१३)  बन देव राय यादव

      (१४)  रमावती लाल कायस्थ

      (१५)  गुदर साह कलवार

देहायमा लेखिएका पुनरावेदक प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए अनुसार निजहरूले आरोपित कसूरबाट सफाई पाउने ठहरेकाले निजहरूलाई लागेको कैद बापत निजहरूले यस अदालतमा राखेको र म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको धरौटी नलाग्ने हुँदा कानुनका म्यादमा फिर्ता माग्न आए कानुनको रीत पुर्‍याई फिर्ता दिनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु……३

यस अदालतमा ०४२।६।२०।१ मा जनही रु. २७०।का दरले प्र.बिल्टु भन्ने राय किशोर राय, ब्रम्हादेव राय, भागीरथ राय, रुदल भन्ने रामस्वरुप साह कलवार, समेत जना ४ ले राखेको रु. १०८०।किशोरी साह कलवार, कपिलदेव साह, माधव साह कलवार, विगा राय यादव, किशोरी साह कलवार, विगा राय यादव, किशोरी साह बनीया१ समेत जना ५ ले जनही रु. २७०।का दरले ०४२।६।३० मा अदालतमा धरौटी राखेको जम्मा रु. १३५०।

प्र. राम औतार राय यादव, गौनौर राय, बलदेव राय, गुदर साह कलवार१ समेत जना ४ ले जनहि रु. ७००।का दरले ०४२।७।३० मा यस अदालतमा राखेको रु. २८००।

पुनरावेदक प्रतिवादी रमापतिलाल कायस्थले निजलाई शुरु तथा क्षेत्रीय अदालतले गर्ने गरेको कैद बापत पुनरावेद गर्दा जेथा जमानी राखेको जि.सर्लाही सुन्दरपुर चुअडुवा गा.पं. वडा नं. ५ को कि.नं. ४०८ को जग्गा विगहा ०१५० पन्ध्र कट्ठा जग्गा हाल सफाई पाउने ठहरेकोले सो जग्गा फुकुवा गरिदिनु भनी सम्बन्धित दर्ता रहेको कार्यालयमा लेखि पठाउनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.मा लगत दिनु……४

मिसिल नियमानुसार गरी बुझाई दिनु……५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल पौष १९ गते रोज १ शुभम् ।

