December 23, 1987
Created by nepalarchives

निर्णय नं. ३२९० – कर्तव्य ज्यान ।

निर्णय नं. ३२९०     ने.का.प. २०४४      अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको...

निर्णय नं. ३२९०     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पु.नं. ५३९

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: जलील अन्सारीको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: जि.नवलपरासी फवलीहवा गा.पं..वडा नं. ५ बस्ने हनिफ अन्सारी ।

            ऐ.ऐ बस्ने पदिना निसा अन्सारी ।

            ऐ. वडा नं. ३ बस्ने अली हुसेन अन्सारी ।

फैसला भएको मिति: २०४४।९।८।४ मा

     आफ्ना स्वास्नी माथी जबरजस्ती करणी गर्न खोजी परास्त भएको अवस्थामा श्रीमतीकै गुहारबाट लोग्ने कोठामा पुग्दा निज मृतकलाई भेटी तत्काल उठेको रिसको आवेगमा चक्कूले हानेको र निजको मृत्यु भएकोमा चक्कू समेत बरामद भै आएको देखिएको र निज प्र.हनीफको बयान तथा सरजमीनको भनाईबाट समेत प्रमाणित भएको आधार प्रमाणबाट आफ्नो सतित्व बचाउन कराउनेलाई जबरजस्ती करणीको महलको ८ नं.ले केही सजायँ नगर्ने र सालालाई अदालतमा तथा प्रहरीमा गरेको इन्कारी बयान समेतको आधारमा सफाई दिने र हनीफ अन्सारीलाई ज्यानसम्बन्धीको १७(३) अनुसार कैदवर्ष १।६ १ वर्ष ६ महिना गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरी गरेको इन्साफ मिलेको हुँदा मनासिब ठहर्छ ।

(प्रकरण नं. १६)

पुनरावेदक, वादी तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री जयनारायण हुजेदार

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।२।१५ का फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.    २०३९।४।३२ गते रातको ९ बजेको समयमा हनिफ मुसलमानको घर तर्फबाट मेरो दाई समसुदिन  अन्सारीले ज्यान मारे भनी जोडले कराएको आवाजले म विउँझी त्यहाँ जाँदा हनिफ मुसलमानको घर आँगनमा दाई भूँईमा लडेको र हनिफ मसुलमान, निजको श्रीमती मादिना निसा र निजकै साला अली हुसेन अन्सारी समेत ३ जना सोही ठाउँमा उभिएको देखिएकाले जाहेर गरेको छु भन्ने समेत जलिल अन्सारीको जाहेरी दर्खास्त ।

३.    २०३९ साल श्रावण महिनाको सोमबारको दिन हो म दिदीको घर गएको थिएँ । खानाखाई भिनाजु र म गोठ घरमा सुतेका थियौं । रातको १० बजेको समयमा दिदी सुतेको कोठाबाट गाईगुईको आवाज आयो, त्यहाँ समसुदिन अन्सारीको लाश रक्तामय अवस्थामा छ भन्ने सुनें हेर्न गईन कसले मार्‍यो भनी सोधपुछ गर्दा मैले मारेको पनि दिदीको मुखबाट सुनें, मैले मारे मराएको हैन भन्ने समेत प्र.अली हुसेन अन्सारीको प्रहरीमा गरेको बयान ।

४.    साँझ ९.३० बजेको समय हुँदो हो स्वास्नीले चोर बदमास आयो भनी चिच्याएको आवाज सुनी घर भित्र गई हेर्दा गाउँकै समसुदिनलाई मेरो स्वास्नीले चक्कुले हानिरहेको देखें । त्यसबखत समसुदिन मरिसकेको थिएनन् सास छँदै थियो । श्रीमतीले यो बुढो आएर मेरो करणी गर्ने खोजेको थियो भन्दै चक्कूले हानिरहेको देखे पछि मैले पनि रिस थाम्न नसकी स्वास्नीको हातबाट चक्कू खोसी गर्धनमा २ पटक हानेपछि समसुदिन मरेको हो भन्ने समेत व्यहोराको प्र. हनिफ अन्सारीले प्रहरीमा गरेको बयान ।

५.    २०३९।४।३२ गते रातको १०११ बजेको थियो एउटा भारी मानिस मेरो शरीर माथि चढेको मलाई भान भयो । म विउँझेको तत्कालै निजले म माथि चढी छामछुम गरी करणी गर्ने उद्देश्य राखी हमला गरे जस्तो मलाई लाग्यो निज को हो मैले चिनिन तापनि मेरो लोग्ने कमतौलको भएकोले सो व्यक्ति अरु बाहिरीया व्यक्ति हो भन्ने लागी सिरानमा रहेको चक्कू निकाली निज माथि प्रहार गरें निज भूँईमा लडेर दादन भन्यो, अनि त्यो व्यक्ति समसुदिन रहेछ भन्ने थाहा भयो । त्यस पछि मैले हल्ला गरें मेरो लोग्ने दौड्दै आई निजले समेत चक्कूले प्रहार गरे । मैले चक्कू हानेको व्यक्ति रण्डीबाजी गर्ने खालको व्यक्ति हो, निजसँग मेरो ठट्टा मस्करी समेत केही हुन्नथ्यो र रिसइवी समेत केही थिएन भन्ने समेतको प्र.मादिना निसाले प्रहरीमा गरेको बयान ।

६.    हनिफ अन्सारीको श्रीमती मादिना निसालाई समसुदिनले जबरजस्ती करणी गर्न खोजेकाले सोही कारणबाट अली हुसने समेतले समसुदिनलाई मारेमा शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

७.    हनिफ र निजको श्रीमती मादिनाको ज्यान मार्ने मनसाय नदेखिएको, रिसइवी पनि नभएको तर आफूलाई रातको समयमा करणी गर्ने उद्देश्यले गई छामछुम गरेको सहन नसकेकाले तत्काल उठेको रीसबाट रीस थाम्न नसकी अरु कुनै जोखमी हतियार प्रयोग नगरी साधारण चक्कू लाठी मुक्काले हानी तथा सोही अवस्था निज मदिनाको लोग्ने हनिफ पुगी स्वास्नीलाई हातपात गरेको सहन नसकी चक्कूले घाँटीमा रोपी मारेको देखिन आएकोले निज दुवैलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार र अली हुसेनलाई ऐ.को १७(३) नं. अनुसार दण्ड सजायँ हुनुपर्ने भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।

८.    म र भिनाजु सँगै सुते पनि भिनाजु राती दिदी भएको ठाउँमा गएको पनि मलाई थाहा भएन, दिदीको मुखबाट सुनेको सो मृतक जबरजस्ती आई लागेकोले चक्कूले हानी मारिदिएकी हुँ भनेकीले कसरी मारे थाहा छैन । मैले मारेको र सहमति भएको छैन भन्ने समेतको प्र.अली हुसेनले अदालतमा गरेको बयान ।

९.    मेरो स्वास्नीले बदमास आएको छ भनी चिच्याएकीले दौड्दै जाँदा मेरो स्वास्नीले समसुदिनलाई चक्कूले हानिरहेकी थिइन । निज पल्टिसकेको थियो । मैले पनि स्वास्नीबाट चक्कू मागी हानेको हुँ । मैले हान्दा अली छटपटाउँदै थियो, मैले हानेपछि त्यो मरेको  हो भन्ने समेत प्र.हनिफ अन्सारीले अदालतमा गरेको बयान ।

१०.    २०३९।४।३२ गते राती म निदाएको अवस्थाको मानिस हो म सुतेको ठाउँमा आई मेरो पेट छातीमा चढेछन् । सो थाहा पाई मेरो निन्द्रा खुली मैले त्यो मानिसलाई खटीयाबाट जमीनमा पल्टाई दिनानाथ मेरो सिरानमा रहेको चक्कूले सो मानिसलाई पेटमा जोरसँग हाने र फेरि पनि प्रहार गर्दा त्यो मानिस मरेनी बाबा भन्दै खडा नै रह्यो । अर्को पटक हान्दा जमीनमा गिर्‍यो । मैले चोर चोर भनी हल्ला गरेपछि मेरो लोग्ने पनि त्यहाँ आइपुगे, मैले भएको सबै विवरण बताई दिनासाथ रीसले लोग्नेले पनि सोही चक्कूले २ पटक प्रहार गरी निज ऐया भनी बोल्दा बोलीबाट गाउँको सुदीन मियाँ हो भन्ने चिने भन्ने समेतको मादिना निसाले अदालतमा गरेको बयान ।

११.    मादिना निसाले आफ्नो धर्म बचाउन नसक्ने अवस्था परी करणी लिन नपाउँदै सो रिसको आवेशमा चक्कू प्रहार गरी समसुदिनलाई कर्तव्य गरी मारे मराएको ठहर्छ । अली हुसेनले कसूर गरेको ठहर्दैन । मादिना निसाको हकमा जबरजस्ती करणीको ८ नं.ले केही सजायँ नहुने र हनिफ अन्सारीलाई ज्यानसम्बन्धीको १७(३) नं.ले कैदवर्ष १।६ एक वर्ष छ महिना हुने भन्ने समेतको शुरु नवलपरासी जिल्ला अदालतको फैसला ।

१२.   तथ्य प्रमाणको मूल्याङ्कन नगरी गरिएको शुरु फैसला बदर भई प्रतिवादीहरू तिनै जनालाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१३.   करणी गर्न नपाउँदै सतित्व रक्षार्थ सोही थलामा प्र.मदिनाले चक्कू प्रहार गरी समसुदिनलाई ढालेकी र पछि तत्कालै पत्नीलाई करणी गर्ने प्रयास गरेको कुरा सुनी प्र.हनिफले पुनः चक्कू प्रहार गर्दा समसुदिनको मृत्यु हुन गएको पाइयो । यस अवस्थालाई विचार गरी हेर्दा शुरुको इन्साफ मनासिब छ, श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन, भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।२।१५ को फैसला ।

१४.   मृतक करणी गर्न मादिनाको कोठामा गए पछि बाँधछाँद जोरजुलुम इत्यादि गरेको केही देखिँदैन । करणी गर्न खोज्दा विरोधसम्म नजनाई एकै पटक चक्कू प्रहार गरेको छ । जबरजस्ती करणीको ८ नं. को सुविधा पाउनका लागि गुहार मागी कराई वा अरु केही गरी जुल्मीको पन्जाबाट उम्की भागी धर्म बचाउन नसक्ने अवस्था परेको हुनुपर्ने, परेको छैन, ज्यानसम्बन्धीको १७ नं. अनुसार सजायँ गर्न ज्यान मार्नको लागि मतलबमा पसेको तर मुख्य भई बचन नदिएको, हातहतियार नछाडेको र जिउमा पनि नछोएको अवस्था हुनुपर्नेमा चक्कूले हानी मारेको भनी बयान गर्ने प्र. हनिफलाई उक्त १७ नं. अनुसार सजायँ गरिएको समेतका सबूद प्रमाणको आधारमा प.क्षे.अ.को उक्त सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटिपूर्ण फैसला बदर गरी प्र.हरूलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउन पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको निवेदन पत्रमा प्र.मध्ये अलि हुसेनको हकमा केही नबोली गरिएको शुरुको फैसलालाई सदर गरी प.क्षे.अ.बाट फैसला भएको देखियो । वारेन्ट जारी हुने वा चोरीको महलले मुलतबी रहने मुद्दाका अभियुक्त अड्डामा पक्राउ परी नआएको, हाजिर नभएको हकमा बाहेक गै¥ह मुद्दा फैसला गर्दा एउटै मिसिलबाट गर्नु पर्ने काम मध्ये केही बाँकी राखी पछि बुझी छिन्ने व्यहोरासँग फैसला गर्नु हुँदैन, भन्ने अ.बं.१९२ नं.को विपरीत उक्त फैसला भएको देखिँदा सार्वजनिक महत्वको विषयमा उक्त कानुनको प्रत्यक्षतः गम्भीर त्रुटी भई न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५) को अवस्था विद्यमान  देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको तत्काल डिभिजन बेञ्चको मिति २०४३।४।३१ को आदेश ।

१५.   पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.ले र विपक्षी तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री जय नारायण हुजेदारले गर्नु भएको बहस समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१६.    यसमा मादिना निसा भन्ने हनिफ अन्सारीको श्रीमती भएको र निज एक्लै कोठामा सुतेको तथा कोठाको ढोका बन्द नगरेकोमा समेत विवाद देखिँदैन । यसरी एक्लै सुतेकी जनानालाई रातको बीचमा मृतक समसुदिनले ढोका भित्र पसी जबरजस्ती करणी गर्न खोजेको भन्ने कुरामा पनि विवाद देखिँदैन । आफ्ना स्वास्नी माथी जबरजस्ती करणी गर्न खोजी परास्त भएको अवस्थामा श्रीमती कै गुहारबाट लोग्ने कोठामा पुग्दा निज मृतकलाई भेटी तत्काल उठेको रिसको आवेगमा चक्कूले हानेको र निजको मृत्यु भएकोमा चक्कू समेत बरामद भइआएको देखिएको र निज प्र. हनीफको बयान तथा सरजमीनको भनाई समेतबाट प्रमाणित भएको आधार प्रमाणबाट आफ्नो सतित्व बचाउन कराउने मादिनालाई जबरजस्ती करणीको महलको ८ नं.ले केही सजायँ नगर्ने र साला अली हुसेनलाई अदालतमा तथा प्रहरीमा गरेको इन्कारी बयान समेतको आधारमा सफाई दिने र हनीफ अन्सारीलाई ज्यानसम्बन्धीको १७(३) अनुसार कैदवर्ष १।६ एक वर्ष ६ महिना गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको हुँदा मनासिब ठहर्छ । वादी श्री ५ सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल पौष ८ गते रोज ४ शुभम् ।

