July 12, 1987
Created by nepalarchives

निर्णय नं. ३२६८ – नकवजनी चोरी

निर्णय नं. ३२६८     ने.का.प. २०४४      अङ्क ११   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं....

निर्णय नं. ३२६८     ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.पु.नं. ४५७

मुद्दा : नकवजनी चोरी ।

 

पुनरावेदक/प्रतिवादी: जि.रौतहट झाझ दक्षिण झुन खूनवा गा.पं. वा.नं. ४ बस्ने विदेशी राय यादव ।

विरुद्ध

विपक्षी/वादी: जय नारायण साहको जाहेरीले वादी श्री ५ को सरकार ।

फैसला भएको मिति: २०४४।३।२८।१ मा

     प्रहरीको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको नदेखिँदा सो सावितीलाई प्रमाणमा लिई कसूरदार ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।४।२३।५ को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनको सिलसिलामा पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।

२.    २०३५।३।२० गते राती निदाएको अवस्था करिब १२ बजेको समयमा चोर आई सेन काटी सकेको रहेछ । हातमा टर्च लिई हेर्दा घरको उत्तर तिरको सेन खनिएकै ठाउँमा एकजना बसेको देखि किन बसेको भन्दै उसतर्फ गइरहेकोमा मेरो घरबाट २ जना आआफ्नो हातमा टीनको पेटी थान २ लिई बाहिर निस्केपछि फेरि टर्च बाली हेर्दा जगरनाथ साह तेली र विदेशी राय यादव, महेन्द्र राय यादव समेत ३ जनालाई चिनें कराउँदा भागी गएँ करिब बिगो रु. ७१७१।को धनमाल चोरी गरी लगेकोले पक्राउ गरी धनमाल दिलाई चोरीमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.    जाहेरवालाको घरमा ३ जना भई चोरी गरी एउटा पेटी पनि ल्याएको थियो त्यसमा के के थियो थाहा छैन । त्यो महेन्द्र राय यादवको साथमा हुँदा हिस्सा पनि पाएको छैन भन्ने समेत व्यहोराको विदेशी राय यादवको साविती कागज ।

४.    घटना भएको दिन अभियुक्तहरूलाई टर्चको उज्यालोमा चिन्ही लखेट्दा पनि पक्राउ हुन सकेन भागी गए निजहरूले नै चोरी गरेका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

५.    विदेशी राय यादवको साविती कागज सरजमीनका शखिचन साह र शुकदेव शाहले लखेट्दै जाँदा चिन्हेको भनी किटानी उजूर गरेको र धनमाल चोरी लगेको सिद्ध हुन आएकोले मुलुकी ऐन चोरीको १४ नं. को देहाय १ बमोजिम सजायँ तथा कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

६.    प्रहरीमा राजिखुसीले बयान गरेको होइन । जाहेरवालाको घरमा चोरी गरेको छैनौं भन्ने समेत व्यहोराको प्रतिवादीहरूले अदालतमा पृथक पृथक गरेको बयान ।

७.    विदेशी राय यादव पहिलोपटक नकवजनी चोरी गरेको ठहर्छ र महेन्द्र राय यादव र जगरनाथ साह तेलीलाई सफाई दिने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको फैसला ।

८.    रौतहट जिल्ला अदालतको फैसलामा चित्त बुझेन । बदर गरी झुठ्ठा प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउँ भने समेत व्यहोराको प्र.विदेशी राय यादवको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

९.    विदेशी राय यादव अदालतमा इन्कार भए तापनि अधिकार प्राप्त अधिकारीको समक्ष कसूरमा साविती र निजको साविती बयान सरजमीनका शुकदेव साह तेली, सरवीचन तेली, समेतको बकपत्रबाट समर्थित हुन आएबाट प्रहरी प्रतिवेदन दावी बमोजिम नकवजनी चोरीको कसूर गरेको ठहर्‍याएको रौतहट जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।३०।२ को फैसला ।

१०.    उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनमा सरजमीनका चस्मदिद  सरवीचन साहले विदेशी राय यादव समेत ३ जनाको हातमा टिनको पेटी थियो भन्ने र शुकदेवले विदेशीको हातमा टीनको पेटी थियो महेन्द्र र जगरनाथको हात खाली थियो भनी लेखाई दिएको देखिन्छ । जाहेरवाला र चस्मदिदहरू समेतको भनाईमा फरक देखिन्छ। यस्तो अवस्थामा विदेशी राय यादवलाई चोरी गरेको ठहर्‍याएको रौतहट जिल्ला अदालतको फैसला मनासिब ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अ.बं. १८४(क) नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटी देखिएको र त्यस्तो त्रुटी सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको तत्कालिन डिभिजन बेञ्चको अनुमति आदेश ।

११.    पुनरावेदक विदेशी राय यादवतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी न्यायाधिवक्ताले गर्नु भएको बहस समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१२.   म निर्दोषी व्यक्तिलाई हुँदै नभए नगरेको नकवजनी चोरीको आरोप लगाई दोषी ठहर गर्ने गरेको निर्णयलाई सदर गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय बदर गरिपाउँ भन्ने मुख्य पुनरावेदन जिकिर भएको पाइन्छ ।

१३.   यसमा जाहेरवालाको शुरु जाहेरी दर्खास्तमा टिनको पेटी थान दुई लिई प्रतिवादी विदेशी राय यादव समेत निस्की जाँदा जगरनाथ र महेन्द्र राय यादवका हातमा पेटी थियो भनी लेखी दिएको देखिन्छ । सरजमीनका चस्मदिद व्यक्ति सखिचन साह तेलीले विदेशी राय यादव समेत तिनैजना प्रतिवादीहरूको आआफ्नो हातमा टिनको पेटी थियो भनी लेखिदिएको र सरजमीनकै अर्को चस्मदिद शुकदेव साह तेलीले विदेशी रायको हातमा टिनको पेटी थियो महेन्द्र राय यादव र जगरनाथको हात खाली थियो भनी लेखिदिएको देखिन्छ । यसरी चस्मदिद जाहेरवाला र चस्मदिद शुखदेव सखीचनहरूको भनाई लेखाइमा समेत मेल नखाई आपसमा बाझिन आएको छ तसर्थ शंकारहित तबरबाट अभियोग प्रमाणित नभएसम्म शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रहरीको सावितीलाई पनि अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको नदेखिँदा सो सावितीलाई प्रमाणमा लिई कसूरदार ठहर्‍याउन मिलेन । चोरी गर्दाको अवस्थाको भनेको कुनै हतियारहरू फेला परेको देखिन्न जाहेरवालाको बकपत्रमा जगरनाथ साह, महेन्द्र यादव तथा यी पुनरावेदक विदेशी रायलाई लखेट्दै जाँदा टर्च लाइटले चिनेको भन्ने उल्लेख गरेको छ । लखेट्दै जाँदा पछाडिबाट बालेको टर्चको उज्यालोले रातीको समयमा अगाडि भागी रहेको व्यक्तिहरूलाई चिनी निजहरूले लिएका टिनका पेटी समेतको पहिचान हुनसक्ने स्वभाविक अवस्था पनि देखिन आउँदैन । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादी विदेशी राय यादवलाई पहिला पटक नकवजनी चोरी गरेको ठहर्‍याएको शुरु रौतहट जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । पुनरावेदक प्रतिवादी विदेशी राय यादवले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

पुनरावेदक प्र.विदेशी राय यादव के माथि इन्साफ खण्डमा लेखिए बमोजिम कसूरबाट सफाई पाउने ठहरी शुरु तथा क्षेत्रीय अदालतको इन्साफ उल्टी भई नलाग्ने भएकोले सो दुवै फैसलाले गर्ने गरेको कैद तथा जरिवाना समेतको सम्पूर्ण लगत काटि दिनु भनि शुरु रौतहट जिल्ला अदालतमा लेखि पठाउनु भनी का.जि.अ.मा लगत दिनु….१

पुनरावेदक प्र.विदेशी राय यादवले म.क्षे.अ.मा पुनरावेदन गर्दा शुरुले गरेको कैद जरिवाना बापत भनी र यस अदालतमा पुनरावेदन गर्दा कैद र जरिवाना बापत भनी अ.बं. १९४ नं. बमोजिम जेथा जमानी दिएको बम राउतका नाउँमा दर्ता भएको जिल्ला रौतहट भगवानपुर गा.पं. वडा नं. ८ कित्ता नं. ४७८ को जग्गा कठ्ठा ०१० जग्गाको जमानत दिएको अब सो नलाग्ने भएकोले फुकुवा गरी दिन भनी दर्ता रहे भएको कार्यालयलाई फुकुवा पत्र लेखी पठाई दिनु भनी शुरु रौतहट जिल्लामा लेखि पठाउन का.जि.अ.मा लगत दिनु…..२

मिसिल नियमानुसार गरी बुझाइदिनु…..३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४४ साल आषाढ २८ गते रोज १ शुभम् ।

