August 9, 1965
Created by nepalarchives

निर्णय नं. २८३ – उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

निर्णय नं.२८३       ने.का.प.२०२२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२१ सालको रीट नम्बर ८/४३ निवेदक      : ब. लिलानाथ...

निर्णय नं.२८३       ने.का.प.२०२२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

०२१ सालको रीट नम्बर ८/४३

निवेदक      : ब. लिलानाथ खरेल, पूर्व १ नं. का.प.ई.भुंलुंटार

विरुद्ध

विपक्षी : श्री ५ को सरकार, अर्थमन्त्रालय, भन्सार तथा अन्तशुल्क विभाग, श्री प्रिभेन्टिभ अफिसर भन्सार चोरी निवारण टोली नेपालगञ्ज, श्री हाकिम कैलाली त्रिनगर भन्सार अड्डा

मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१)   कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्न नमिल्ने । भए गरेको काम कानून अनुरुप नभए उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

            कर्मचारी मुछिएको केश चिफ कहाँ पठाउनु भन्ने ०२०।६।६ को आदेश भएको र त्यस पछि नं.१०२६५ को आ.वा.बाट पनि अधिकार भएको भनी विपक्षी प्रिभेन्टीभ अफिसरले लिखित जवाफमा जिकिर लिएकोमा कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा त्यसको प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्नु कानूनको दृष्टिमा मान्य नहुनु त छँदै छ, तथापि त्यस्तो कुनै आदेश आ.वा.छ भनी विद्वान सरकारी वकिलले पेश गर्नु भएको छैन र बहसमा पनि भन्नु भएन । अतः उल्लेख गरिए बमोजिम आफूलाई कानूनले हेर्न छिन्न अधिकार नदिएको बिषयमा आफ्नो मुकाममा विपक्षी प्रिभेन्टिभ अफिसरले निवेदकको ०२०।९।३।३ मा बयान गराई ०२०।९।५।६ मा ततिम्बा बयान गराएको कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा सो बयान बदर गरिएको छ ।

(प्रकरण नं.९)

निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट      : गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंह

आदेश

      १.     निवेदक त्रिनगर भन्सार अन्तर्गत हुईया फाँटा छोटी भन्सार अड्डामा बहिदार भएकोले जिम्मेबारी साथ काम गर्दै रहेको । ०२०।९।२ का राति अं.१२।१ बजेको समय ११।१३ जना मानिस आई तहबिल खोल भनी असिष्ट व्यवहारबाट मलाई डर त्रास समेत देखाएको अवस्थामा म सरकारी कर्मचारी हुँ । तपाँई को हुनुहुन्छ र रातमा तहबिल देखाउनु ? भन्दा म प्रिभेन्टिभ अफिसर हुँ भनी विपक्षीले भन्नु भएबाट मलाई समय जनाई पत्र दिनु होस् भन्दा आफ्नो साथ मानिसद्वारा निगरानी गराई पेस्तोलको धम्की समेत दिनु भयो । ऐ ३ गते मैले तहविल जिम्मा गलाई दिएपछि बुधराम थारुलाई के किसिमको हो कागज गराई लिनु भएछ र मलाई भन्सार चोरी निकासी गरेकोमा साविति कागज गराउन प्रयत्न गर्नु भएको । इन्कार रहेको अवस्थामा अनेक किसिमको सास्ती दिई कुटपिट गरी बन्दुकको त्रासबाट ऐ ६ गते राति अन्दाजी ७।८ बजे आफ्नो इजलास कायम गरी साविती कागज गराई त्रिनगर भन्सारको हाकिमलाई पछिबाट रोहवरमा राख्नु भई चिफ प्रिभेन्टिभ अफिसरको अफिस राजविराजमा पौष २१ गते हाजिर हुन जानु भनी ऐ ७ गते तारेख तोकी दिई मेरो इन्चार्ज समेत अ.विरबहादुरलाई बुझ्न लगाउनु भयो । मैले तारेखमा अर्जी गरेको र हाजिर हुनालाई इन्चार्ज बुझाई दिएको र सो व्यहोरा सरकारमा जाहेर गरेको छु भन्ने समेत लेखिदिएकोमा मलाई सस्पेन्ड गरियो ।

      २.    यसै मुद्दाको सिलसिलामा विभागबाट शुरु कारवाई गर्न सम्बन्धित गोश्वारामा पठाउन पर्नेमा हाजिर हुन जानु भनी दिएको सूचना कानून बिपरित देखिएको र गस्ती टोलीले पक्राउ गरेको मुद्दा टोलीले हेर्न पाउने अधिकार समेत नहुँदा ऐन विपरीत काम नगर्नु भनी सबै टोलीलाई परिपत्र गर्ने ०२०।११।११ मा निर्णय गरी परिपत्र जारी भएको र मलाई त्रिनगर भन्सारको हाकिमको रोहवरमा गरेको कागजलाई जवरजस्ती गराएको भन्न नमिल्ने भएको । नि.से.नी.परिच्छेद १० को देहाय १ को दफा ७ अनुसार प्रष्टिकरण माग गर्ने ०२१।६।३ मा निर्णय भएकोले उक्त सजाय नलाग्ने कुनै सबुद प्रमाण भए ३ दिनभित्र प्रष्टिकरण पेश गर्नु भन्ने ०२१।७।१६ मा सूचना बुझाईयो ।

      ३.    मलाई जुन कुराको प्रष्टिकरण मागिएको छ, त्यो मुद्दा हेर्न विपक्षी प्रिभेन्टीभ अफिसरलाई अधिकार नभएको र कारवाई गर्न अधिकार भएको भन्सारका हाकिमले रोहवरमा बस्नु भनी गैरकानूनी हुने र त्यस्तो कारवाईलाई विभागबाट समर्थन गर्दै मबाट प्रष्टिकरण मागिएकोले नेपालको संविधानको भाग ३ द्वारा मैले पाएको मौलिक हकबाट बञ्चित गरेको र कानूनमा अन्य उपाय नहुनाले ऐन धारा ७ बमोजिम अधिकार नभएको विपक्षी प्रिभेन्टीभ अफिसरले कारवाई गरी विपक्षी हाकिम भन्सार अड्डा रोहवरमा बस्नु भएको कागजलाई मान्यता दिएको कारवाईलाई निशेधाज्ञा जारी गरी रोक्का राखी मबाट गराई लिएको कागज उत्प्रेषणको रीट जारी गरी बदर गराई पाउँ भन्ने समेत ०२१।७।१९।४ को व.लिलानाथको निवेदनपत्र रहेछ ।

      ४.    ०२१।७।२८।६ का आदेशानुसार लिखित जवाफ पठाउनु भनी विपक्षीहरूलाई सूचना पठाएकोमा निवेदकले वफादारी साथ काम गरेको भए यस्तो कारवाई नै गर्नु नपर्ने अपशब्द प्रयोग गरी हतियार देखाई धम्की दिएको भए मौकैमा उजुरी तथा पछि बयानमा पनि लेखाउन सक्नु पर्ने । कुट्पिट् गरेको भए घाः जाँच समेत गराउन सक्नु पर्ने हो ? निज लिलानाथ समेत ३ गते नै शाहीसेना होमगार्ड साथ धनगडी चलान गरेको थियो र धनगडी पुगेपछि भन्सारका हाकिमको रोहवरमा ततिम्बा हुँदा साविती बयान दिएको थियो । त्यसपछि भएको अधिकार बमोजिम मिसिल मानिस समेत चिफज्यू कहाँ पठाइएको हो भन्ने समेत ०२१।८।२३ को भन्सार चोरी निवारण टोली सञ्चालन नेपालगञ्जको जवाफ आएको रहेछ ।

      ५.    अ.बं.२४ नं. ले आफ्नो खुशी राजीले जाँची बुझी सही हालेपछि सो कागज सदर हुने ऐ ३८ नं. ले करकाप गरी कागज गराएमा फुर्सद भएका मितिले ३५ दिनभित्र नालिस दिनुपर्ने । निवेदकले सो अनुसार नालिस दायर गरेको नदेखिंदा निजको दावी नपुग्ने । नि.से.नी.बमोजिमको काम कारवाई गर्ने पूर्ण अधिकार विभागीय प्रमुखलाई हुँदा निवेदकको गलत कारवाई गराई अनुसार सो बमोजिम प्रष्टिकरण मागिएकोले अ.बं.३५ नं. को प्रश्न उठ्दैन । विभागीय कारवाईबाट निजको मौलिक हक हनन् भएको छैन । करकाप तर्फ अ.बं.३८ नं. को कानून व्यवस्था भएको र विभागले बेरितसंग कारवाई गरेको भए विभाग उपर श्री ५ को सरकारमा अपील गर्ने कानूनी व्यवस्था भएकोबाट पनि रीट निवेदन खारेज गरी पाउँ भन्ने समेत ०२१।९।२४ मा अर्थ मन्त्रालय भन्सार तथा अन्त शुल्क विभागबाट जवाफ आएको रहेछ ।

      ६.    निवेदकको ततिम्बा बयान गराउनेमा त्रिनगर भन्सारको हाकिम राखी बयान गराउनु भन्ने अपील सुन्ने कैलाली कन्चनपुर गोश्वाराको पत्र प्राप्त भई रोहवरमा रहनु परी ततिम्बा बयान गराउँदा रोहवरमा रहेको हुँ । जवरजस्ती संग कागज गराएको छैन भन्ने समेत त्रिनगर भन्सार अ.सु.अ.विरगञ्जमा सरुवा भएको ऐ.ई. (ना.सु.) बाबुराम पोखरेलको ०२१।९।१७।५ को जवाफ आएको रहेछ ।

      ७.    निवेदनपत्रमा उल्लेख भएको ०२०।११।१ को परिपत्रको नक्कल र विपक्षी प्रिभेन्टीभ अफिसरले गराएको निवेदकको बयानको नक्कल झिकाउनु भन्ने डिभिजन बेञ्चबाट आदेश भई उल्लेखित नक्कल समेत प्राप्त भएको रहेछ ।

      ८.    निवेदक ब.लिलानाथको वा.बलभद्र श्रेष्ठ रोहवरमा रही पेश हुन आएकोमा निवेदक तर्फबाट विद्वान वकिल प्लिडर ठाकुरप्रसाद खरेलले र विपक्षी तर्फबाट विद्वान गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंहले बहस गर्नु भयो र प्रस्तुत केशमा विपक्षी प्रिभेन्टिभ अफिसरले विपक्षी त्रिनगर भन्सार अड्डाको हाकिमलाई रोहबरमा राखी आफ्नो मुकाममा गराएको निवेदकको बयान कानून अनुरुप छ, छैन ? नभए, उत्प्रेषणको आदेश जारी गरी बदर गर्नु पर्छ, पर्दैन यसैको निर्णय गर्नु पर्नै देखियो ।

      ९.    यही केशको बिषयको मिति ०२०।११।१२।२ को विपक्षी अर्थ मन्त्रालय भन्सार तथा अन्त शुल्क विभागको पत्रमा गस्ती टोलीले पक्राउ गरेको मुद्दा टोलीले नै हेर्न पाउने अधिकार समेत दिएको नहुँदा आयन्दा यस्तो ऐन सवाल बिपरित काम नगर्नु भनी सबै टोलीलाई परिपत्र गर्ने गरी प्रस्तुत केशमा उपरोक्त बमोजिम कारवाई गर्न सम्बन्धित गोश्वारामा पठाई दिनु भनी त्यस अफिसलाई लेख्ने र विभागमा आएको अ.चेतबहादुरलाई कारवाईको टुंगो नलागेसम्म आफ्नो पोष्टमा रही काम कागज गर्न जानु भनी सूचना समेत गरी दिने ०२०।११।११।१ मा निर्णय भएको भन्ने समेत उल्लेख भएको प्राप्त नक्कलबाट देखिएको छ । यसबाट विभागले पनि कानूनी निर्देश पालन गर्न परिपत्र गरेको देखिन्छ । आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा ५ (क) ले भन्सार महसुल सम्बन्धी मुद्दा हेर्ने अधिकार सोही जिल्लाको भन्सार अड्डालाई मात्र भएको र यसमा भन्सारको कर्मचारी मुछिएको हुँदा ऐनको दफा ६ ले शुरु कारवाई किनारा गर्ने अधिकार सोही जिल्लाको स्थानीय बडाहाकिमलाई मात्र भएको पाइन्छ । कर्मचारी मुछिएको केश चिफकहाँ पठाउनु भन्ने ०२०।६।६ को आदेश भएको र त्यस पछि नं.१०२६५ को आ.बा.बाट पनि अधिकार भएको पनि विपक्षी प्रिभेन्टिभ अफिसरले लिखित जवाफमा जिकिर लिएकोमा कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा त्यसको प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्नु कानूनको दृष्टिमा मान्य नहुनु त छँदैछ, तथापि त्यस्तो कुनै आदेश आ.वा.छ भनी विद्वान सरकारी वकिलले पेश गर्नु भएको छैन र बहसमा पनि भन्नु भएन । अतः उल्लेख गरिए बमोजिम आफूलाई कानूनले हेर्न छिन्न अधिकार नदिएको बिषयमा आफ्नो मुकाममा विपक्षी प्रिभेन्टीभ अफिसरले निवेदकको ०२०।९।३।३ मा बयान गराई ०२०।९।५।६ मा ततिम्बा बयान गराएको कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा सो बयान बदर गरिएको छ । यो आदेशको १ प्रति नक्कल विपक्षकहाँ पठाउन एटर्नी जनरल अफिसमा पठाइ दिनु र नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

इति सम्वत् २०२२ साल श्रावण २५ गते रोज २ शुभम् ।