निर्णय नं. २७६ – लेनदेन जालसाजी
निर्णय नं.२७६ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री फौ.फु.नं.५७ निवेदक, प्रतिवादी : महेन्द्रविक्रम...
निर्णय नं.२७६ ने.का.प.२०२२
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
फौ.फु.नं.५७
निवेदक, प्रतिवादी : महेन्द्रविक्रम शाही
विरुद्ध
विपक्षी, वादी : गोबिन्दमान प्रधान
मुद्दा : लेनदेन जालसाजी
(१) कर्जा लेनदेन बाहेक व्यापारतर्फ नालिस दिने हदम्याद कायम गर्दा साहु असामीको ३८ नम्बर लागु हुने ।
वादीले प्रतिवादी संगै सम्पर्क राखी कारोबार गरेको देखिनाले कम्पनिले बैना पच गर्न पाउने नपाउने व्यापारको रीतिस्थिति के हो भन्नेतर्फ बिचार गरिरहनु नपर्ने र वादीले प्रतिवादीसँग सम्पर्क राखी के कस्तो कारोबार गरेको रहेछ भन्ने कुराको हकमा कर्जा लेनदेन नभई व्यापारको कारोबार भए गरेको देखिएकोले साहु असामीको ३८ नं.बमोजिम म्याद २ बर्षभित्रको उजुर हुनु पर्नेमा ०३।११।९ मा भा.रु.२००० बैना लिनु दिनु भई भरपाई भएको रुपैंया दिलाई पाउँ भन्ने कुरामा ०१३।४।१७ मा मात्र नालिस दर्ता गरेको देखिएकोले उक्त साहु असामीको ३८ नं. को म्याद २ बर्ष नाघी सकेपछिको हुँदा खारेज हुने ठहर्छ ।
(प्रकरण नं.१५)
फैसला
१. सिमेन्टी दिन वापत म संग १९४७ फरवरी २० तारेख ०३।११।९ गते एडभान्स बैना वापत कं.रु. २०००। मबाट प्रतिवादीले लिई भरपाई गरेको सिमन्टी पनि नदिई, रुपैंया पनि नदिएकाले सो कं.रु.२ हजार भराई पाउँ भन्ने समेत वादी गोबिन्दमानको फिराद ।
२. निज वादीले भुक्तानी दिई सिमेन्टी उठाउनु पर्ने उठाउन नआई बैना पच गराएको हो । त्यस्तो बिदेशी कलकत्ताको लेनदेनको साहु असामीको ३६ नं. ले उजुर लाग्नै नसक्ने र कलकत्ता छँदै वादीलाई रु.३०००। सेन्ट्रल बैंकको चेक दिएको । निजले सो रुपैंया भर्ना नदिएकोमा तर–ताकेता गर्दा बेइमानी चिताई झुठ्ठा नालिस गरेको हो भन्ने समेत प्र.महेन्द्रविक्रम शाहको प्रतिवादी ।
३. रुपैंया लिएमा साबितै र आफ्नो लेनामा छुट्टै उजुर गर्नुपर्ने । एडभान्स जफत हुने भन्ने कुनै शर्त पेश गर्न नसकेकोले समेत प्रतिवादीबाट वादीलाई रुपैंया भराई दिने ठहर्छ भन्ने ललितपुर अदालतको फैसला ।
४. सो फैसला उपर चित्त बुझेन भन्ने प्रतिवादीको अपील ।
५. अपीलाट प्रतिवादीबाट पेश दाखिल भएको चेक समेतको कागज पाटन जिल्ला अदालतबाट सुनाउँदा जालसाजी हो भन्ने वादीको वा.इश्वरमानको र सद्दे हो भन्ने प्रतिवादीको वा.विजयराजको बयान ।
६. जालसाजी तर्फ शुरु कारवाई किनारा गर्न शुरुमा पठाई दिने समेत पाटन जि.अ.बाट आदेश भई मिसिल शुरुमा पठाएकोमा जालसाजी भन्ने कुराको वादीले प्रमाण पेश गर्न नसकेकाले झुठ्ठा उजुर ठहर्छ भन्ने समेत ल.पु.जि.अ. ले फैसला गरेको । सो उपर चित्त बुझेन भन्ने वादीको अपील ।
७. वादीलाई ३०००। रुपैंया गईसकेको छ । सो भर्ना मिलाउन जिकिर लिई बैंकको चेक दाखिल गरेको तर्फ प्र.महेन्द्रविक्रमको रीतपूर्वकको दावी बेगर सो रु.३०००। को चेक अर्धकट्टी सद्दे किर्तेमा चलाउन नपर्ने चलाएको बेमुनासिव हुँदा खारेज गर्ने रु.२०००। को वामर लरी कम्पनिको क्यास विल जालसाजी हो भन्ने वादी बयानलाई प्रतिवादीले कम्पनिमा रुपैंया दाखिल गर्नु स्वाभाविकै देखियो । त्यस्तो विललाई जालसाजी गरेको सबुद वादीले दिन नसकेकोले विल रीतपूर्वककै देखिएको । सिमेन्ट किन्न २ हजार दिएको । सो कागज होइन भन्न नसकी गरी दिएमा सावितै हुनु भएको । बैना वापत लिए पछि दिनु नपर्ने भन्ने सबुद पेश हुन आएकोले समेत रु.२ हजार प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने ठहराएको इन्साफ सुरुको मुनासिव ठहर्छ भनी काठमाडौं जिल्ला अदालत दोश्राबाट फैसला गरे उपर नलाग्ने दण्ड लगाएको फिर्ता पाउँ भन्ने वादीको र इन्साफैमा चित्त बुझेन भन्ने प्र.महेन्द्रविक्रमको अपील ।
८. वादी दावीको व्यवहारमा भर्ना गरेको भन्ने जिकिर नभई पछि हुने गरिदिएको भनी प्रतिवादीले प्रतिउत्तरपत्रमा जिकिर गरेकोले यस मुद्धामा तहकिकात गर्न नपर्ने । रु.३००० तीन हजारको चेक तर्फको सद्दे किर्ते तहकिकात खारेज गर्ने गरेको र प्रतिवादी महेन्द्रविक्रमको हस्ताक्षरको लिखत गरेमा सावित हुनाले प्रमाण लाग्ने देखिन आएमा उक्त लिखत बमोजिम नोट रु.२००० र दुई हजार बैना लिएको देखिन्छ । सो लिखतमा यती समय भित्र पुरा रुपैंया चुक्ति गर्ने भन्ने लेखेको देखिंदैन र अझै पनि पुरा रुपैंया चुक्ति गरेमा माल दिन्छु भनी प्रतिवादीले जिकिर नगरेकोले समेत दावी बमोजिम भा.रु.२०००। को ने.रु.३२०००। प्रतिवादीबाट वादी गोबिन्दमानले भरी पाउने ठहराएको इन्साफ काठमाडौं जिल्ला अदालत दोश्राको मुनासिव छ भन्ने समेत २०१९।१२।१६।६ को डिभिजन बेञ्चको फैसला ।
९. सिमेन्ट वापतको रु.गोबिन्दमान हस्ते पाएँ । रु.पुरा चुक्ति भएपछि रेल्वे रसिद साथ दिनेछु भन्ने बोलिको मैले भरपाई गरे अनुसार मैले निजकै नामबाट कम्पनिमा रुपैंया बुझाई रसीद लिई मैले पूरा गर्नु पर्ने प्रथम कर्तव्य पुरा गरी सकेको छु । तर निजै गोबिन्दमानले बाँकी रुपैंया बुझाउनु पर्ने कर्तव्य पुरा नगरी कम्पनिले निजको अडर क्यान्सिल गरे पनि निजका अपील जिकिर अनुसार कम्पनिसँग पनि लेखा पढी गरी कम्पनिबाट रुपैंया पाउन नसकी अनि म उपर उजुर गर्न आएको भन्ने प्रष्ट भएकै छ । यस प्रकार म त केबल बीचको मार्फतसम्म भई कलकत्तैमा निजले दिएको र विपक्षीले आफ्नो रुपैंया सम्बन्धमा कम्पनिबाटै लिनु पर्ने जानी कम्पनिसँग रुपैंया आफैले लेखापढी गरेको भएपछि यस्तो बिदेशीसँगको व्यवहारमा सा.अ. का.३६ नं. ले म उपर नालिस लाग्न नसक्ने र यदि नालिस लाग्ने भएका खण्डमा पनि विपक्षी समेतले आफ्नो लेना बारे कम्पनि नै जिम्मेबार सम्झी लेखापढी गरेको भएपछि उक्त कम्पनिको क्यास विल (भरपाई) सद्दे किर्तेमा सुनाउनु पर्ने भन्ने मेरो जिकिर हुँदा मुद्दा दोहर्याई पाउँ भन्ने समेत वादी महेन्द्रविक्रम शाहले श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्तिपत्रमा न्यायिक समितिबाट यस्मा वादीले विपक्षीले सिमन्टी दिन एडभान्स बैना वापत नोट रु.२००० बुझी भरपाई गरी दिएकोमा सिमन्टी नदिएको भन्ने र प्रतिवादीले सिमन्टीको बैना वापत दिएको भा.रु २००० को भरपाई गरी दिई उसै दिन निजको नाउँबाट कलकत्ताको वामर लरी कम्पनिमा जम्मा गरी दिएको हो । निजले भुक्तानी दिई सिमन्टी उठाउनै नआई बैना पच गराएको हो । कम्पनिले अर्डर क्यान्सिल गरेकोले बैना फिर्ता पाउनै नसक्ने र बिदेशी कम्पनिसँगको कारवाई र बिदेशको लेनदेनको भरपाईबाट यहाँ उजुर लाग्न नसक्ने भन्ने लेखेको र भा.रु.२००० को भरपाईमा २ गाडी सिमन्टीको एडभान्स ने.रु.२००० आजको मितिमा गोबिन्दमान हस्ते पाएँ । पक्का स्ट्याम्प रसिद पुरा रु.चुक्ति भई रेल्वे रसिदसाथ दिनेछु भन्ने लेखिएकोमा सर्वोच्च अदालतबाट निर्णय हुँदा वादी प्रतिवादीको दावी जिकिरको वास्तविक कुराको निर्णय भएको नदेखिएकोले वादीको प्रतिवादीसँगको कारवाही वा कम्पनिसँगको कारबार के हो ? सिमन्टी नउठाए बैना जफत हुने हो, होइन ? सिमन्टी नदिएमा वादीले र सिमन्टी नउठाएमा प्रतिवादीले वा कम्पनिले वादी उपर के कारवाई गरेको छ ? नियम शर्त के छ ? पुरा मालको पुरा रुपैंया बुझाइकन मात्र माल छुटाउनु पर्ने हो ? वा दाखिल भएको रुपैंयाको माल छुटाई लान पाउने के हो ? भन्ने समेत बिभिन्न किसिमका प्रश्न उपस्थित हुन आउने देखिन्छ । तापनि वास्तविक मूल प्रश्न वादीको कारबार प्रतिवादीसँग वा कम्पनिसँग भएको मान्ने र उक्त उल्लिखित कुरामा प्रतिवादीको दायित्व के हो ? र उजुर गर्ने हदम्याद के छ भन्ने समेत कानूनी प्रश्न देखिन आउँछ । तत्सम्बन्धमा बुझी निर्णय दिएको भए वास्तविक कुराको निधो देखिन आई न्यायको टुङ्गो लाग्ने थियो । अतएव मुद्दाको मूल प्रश्नमा निर्णय दिएको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारबाट ०२१।६।१६।५ मा लेखि आएको व्यहोरा समेत श्री माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई प्रस्तुत मुद्दाको अन्तिम निर्णय भएकोमा सो निर्णयको प्रतिलिपी दुई २ प्रमुख सचिवालय राजदरबारमा पठाउन रजिष्ट्रार अफिसमा पठाइ दिनु भन्ने २०२१।७।६।५ को आदेश ।
१०. तारेखमा रहेका दुवै पक्षको वारेसहरू रोहवरमा रहि ०२१।११।२९ को तारेखमा पेश हुँदा निवेदक तर्फको विद्वान एडभोकेट गंगाप्रसाद काम विशेषले कलकत्ता जानु भएको र हिजो मात्र पक्षले मलाई भनेकाले केशको अध्ययन हुन सकेको छैन समय पाउँ भनी सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले बेञ्चसमक्ष निवेदन गर्नु भएकोमा श्री विद्वान एडभोकेट गंगाप्रसादले दिनु भएको ०२।१।२१ को निवेदनमा भोली २२ गते घरायसी जरुरी काम अवस्थाले झापा गई यही २९ गते मात्र काठमाडौंमा आई पुग्ने भएको हुँदा सो २९ गतेका फुल बेञ्चमा उपस्थित भई पक्ष तर्फबाट बहस गर्न नभ्याउने परेकोले अनुरोध गरेको छु भन्ने समेत लेखिएको देखिनाले १ साता अघि नै सूचना पठाईसकेको पक्षले आफ्नो वकिलले पेशीको तारिखमा बहस गर्न नभ्याउने भएपछि यथासमयमा अर्को वकिलको बन्दोबस्त गर्नु पर्ने सो नगरी आखिरी टायममा पक्षले मलाई भनेको भन्ने वकिलको भनाईबाट समय दिने गर्दा अनुशासित र क्रियात्मक ढङ्गबाट कुनै पनि परम्परा बस्न नसक्ने भएकोले यस्तोमा बेञ्चले समय दिन उचित ठानेन र आफ्नो बहस लिखित रुपमा पनि दिए हुन्छ भनी मुद्दाको सुनुवाई भयो । निवेदक पक्ष र विपक्ष तर्फ समेतबाट तत्काल केही बहस प्रस्तुत भएन । आजको निर्णय सुनाउने तारेख तोकिएकोमा आदेशानुसार दुवै पक्षका वकिलले लिखित बहस नोट पेश गरेकोले सो समेत हेरी प्रस्तुत मुद्दामा मुख्यतया निम्न लिखित प्रश्नहरूको निर्णय गर्न पर्ने देखिएको छ ।
(१) वादीको कारोबार प्रतिवादी महेन्द्रविक्रमसँग भएको वा वामर लरी कम्पनिसँग भएको के हो ?
(२) यदि वादीको कारोबार महेन्द्रविक्रमसँगको हो भने यो कर्जा लेनदेनको कारोबार वा व्यापारको कारोबार सम्बन्धी काममा बैना पेश्की लिएको के हो ?
(३) यदि यो व्यापार सम्बन्धी बैना पेश्की लिएको कारोबार हो भने यस्तोमा कुन हदम्याद लाग्ने हो ?
११. प्रतिवादीले सिमन्टी दिन वापत कं.रु २००० लिई सन् १९४७ फरवरी २० तारिख अर्थात २००३ साल फाल्गुण ९ गतेमा भरपाई गरी दिएको सिमन्टी नदिएकोले सो रुपैंया भराई पाउँ भन्ने वादी दावी भएकोमा म त मार्फतसम्म मात्र हुँ । वादीले मलाई दुई गाडी सिमेन्टी लिई दिनु पर्यो भनेकाले निजबाट बैना वापत कं.रु २००० लिएको सो बैना रुपैंया पनि कम्पनिमा दाखिल गरी सकेको छु भनी क्यास विल पेश गरेको र वादीले कम्पनिको पुरा दाम भुक्तानी नगरेकाले व्यापारको चलन बमोजिम बैना पच गरी अडर समेत क्यान्सील गरेपछि वादीले मबाट भरी पाउने होइन । वादीले सिधा कम्पनिसँग समेत लेखापढी गरेपछि मेरो केही जवाफदेही छैन भन्ने प्रतिवादी भएकाले वादीको कारोबार कम्पनिसँग वा प्र.महेन्द्रविक्रमसँग भएको हो भन्ने कुरा मुख्य निर्णय गर्नु पर्ने बिषय देखिएको छ ।
१२. सर्वप्रथम यही प्रश्न तर्फ हेरेमा, प्रतिवादी महेन्द्रविक्रम शाहले वादीसँग कं.रु, २००० लिई गरी दिएको सन् १९४७ फरवरी, २० तारेखको भरपाईमा २ गाडी सिमन्टीको वापत एडभान्स नोट रु.२००० आजको मितिमा गोबिन्दमान हस्ते पाएँ । पक्का स्टाम्प रसिद पुरा रु.चुक्ति भई रेल्वे रसिद साथ दिनेछु भन्ने व्यहोरा लेखिएको देखियो । वामर लरी कम्पनि समेतसँग वादीको सम्बन्ध भई उक्त रुपैंया लिनु दिनु गरेको र वामर लरी कम्पनिबाटै वादीलाई सिमेन्टी दिने दिलाई दिने शर्त भएको समेत उक्त भरपाई व्यहोराबाट देखिन आएन । गोबिन्दमानको निमित्त सिमेन्टको बैना वापत भनी रु.२०००। वामर लरी कम्पनिमा दाखिल भएको भरपाई प्रतिवादीबाट पेश भएको भए पनि सो रुपैंया गोबिन्दमानले नै उक्त कम्पनिमा दाखिल भए गरेको नभई महेन्द्रविक्रम शाह मार्फत दाखिल भएको देखिएकोले र वामर लरी कम्पनिले पनि प्रतिवादी महेन्द्रविक्रमसँग नै सम्पर्क राखी लेखापढी तर–तागेता गरेको पत्रहरू पेश भएको समेतबाट सो सिमन्टी दिने लिने बिषयमा प्रतिवादी महेन्द्रविक्रमको वामर लरी कम्पनिसँग सम्बन्ध कारोबार भएको र वादी गोबिन्दमानको चाहि प्रतिवादी महेन्द्रविक्रमसंग नै सम्पर्क रहि कारोबार भएको देखिन्छ ।
१३. अब दोश्रो प्रश्न तर्फ यो कर्जा लेनदेन गरेको कारोबार हैन ? सिमन्टी दिन वापत एडभान्स बैना दिए लिएकोसम्म कुरा हो भन्ने समेत निवेदक, प्रतिवादीको जिकिर हुनाले बिचार गरेमा, साहु असामीको १ नं.बमोजिम तमसुक खाता बही समेतको लिखत पत्र गरी साहु असामि बनि सापटी लिनु दिनु गरेकोलाईसम्म कर्जा लेनदिनको व्यवहार मान्नु पर्ने देखिन्छ । यस्मा त्यसो नभई २ गाडी सिमेन्टीको वापत एडभान्स रुपैंयां लिनु दिनु गरेको कुरा उक्त भरपाईमै उल्लेख गरी राखेको र स्वयम वादी दावी भई एडभान्स बैना वापत दिएको भनी लेखेको समेतबाटै व्यापारको व्यवहार सम्बन्धी काममा बैना पेश्की लिए दिएको भन्ने प्रष्ट भैरहेको । यस्तो व्यवहारलाई लेनदेनको कारोबार भन्न मिल्ने देखिएन ।
१४. यस्तो व्यापार सम्बन्धी बैना पेश्की लिए दिएको कारोबारमा कुन हदम्याद लाग्ने हो भन्ने तेश्रो प्रश्न तर्फ साविक साहु असामीको २ नं. मा केही व्याज पनि असुल नभएको मौका पत्रको कागज पनि नगराएकोमा तमसुक लिखत पत्र भएका मितिले १० बर्ष भित्र र १० बर्षको बीचमा व्याज अड्केकोमा भाखापत्रको कागज गराएको वा व्याज खाएको रहेछ भने सो मितिले फेरि १० बर्ष भित्र नालिस गर्न पाउने समेत व्यवस्था भएको र व्याज खाने वा सो वापतको भाखापत्र गर्ने कुरा कर्जा लेनदेनको व्यवहारमा मात्र आउने हुनाले उक्त १० बर्षको हदम्याद सोही साहु असामीको १ नं.बमोजिम तमसुक खाता बही समेतको लिखत पत्र गरी कर्जा लेनदेन गरेको व्यवहारलाईसम्म हो भन्ने कुरा प्रष्ट हुने हुँदा यस्तो व्यापार सम्बन्धी बैना पेश्की लिए दिएको कारोबारलाई कर्जा लेनदेन सरहको व्यवहार मान्न नमिली उक्त साहु असामीको २ नं.बमोजिम १० बर्षको हदम्याद लाग्न सक्ने देखिएन । यस्तोमा साहु असामीको ३८ नं.बमोजिम २ बर्षको हदम्याद लाग्ने मिल्ने देखिन्छ ।
१५. अतः माथि दफामा लेखिएका कारणहरूबाट वादीले प्रतिवादीसँगै सम्पर्क राखी कारोबार गरेको देखिनाले कम्पनिले बैना पच गर्न पाउने नपाउने व्यपारको रीतिस्थिति के हो ? भन्ने तर्फ बिचार गरी रहनु नपर्ने र वादीले प्रतिवादीसँग सम्पर्क राखी के कस्तो कारोबार गरेको रहेछ ? भन्ने कुराको हकमा कर्जा लेनदेन नभई व्यापारको कारोबार भए गरेको देखिएकोले साहु असामीको ३८ नं.बमोजिम म्याद २ बर्ष भित्रको उजुर हुनु पर्नेमा ०३।११।९ मा भा.रु.२००० बैना लिनु दिनु भई भरपाई भएको रुपैंया दिलाई पाउँ भन्ने कुरामा ०१३।४।१७ मा मात्र नालिस दर्ता गरेको देखिएकोले उक्त साहु असामीको ३८ नं. को म्याद २ बर्ष नाघि सकेपछिको हुँदा खारेज हुने ठहर्छ । इन्साफ गरेको शुरु ललितपुर इलाका अदालत तथा काठमाडौं जिल्ला अदालत दोश्राको सदर गरी डिभिजन बेञ्चबाट १९।१२।१६मा छिनेको मुनासिव नदेखिएकोले अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी लेखाईबाटै म्याद नाघिसकेको मुद्दा चल्न नसक्ने । नालिस दर्ता गर्नु अदालतको गल्ती हुनाले कोर्टफि ऐन, ०१७ को दफा ११ को उपदफा ३ बमोजिम यस्तोमा कोर्टफि नलाग्ने र नालिस दस्तुर रु.१ कट्टा गरी बाँकी फिर्ता दिनु पर्ने हुँदा ल.पु.अ. को ०१४।३।३ को फैसला बमोजिम प्रतिवादी महेन्द्रविक्रमसँग असुल भए निजैसँग असुल नभए गोबिन्दमानसँग असुल गर्ने गरेको शुरु कोर्ट फी रु.१०। निज महेन्द्रविक्रमले ०१४।५।१० मा अपील श्रेस्तामा अपील दर्ता गर्दा दाखिल गरेको भन्ने देखिनाले सो मध्ये रु.१। नालिस दस्तुर कटाई बाँकी रु.९९। निजलाई फिर्ता दिनु भनी का.क्षे.अ.त. मा लगत दिनु ………………..१
वादी गोबिन्दमान श्रेष्ठ के ल.पु.इ.अ. को ०१८।६।१२।५ को फैसलाले गर्ने गरेको दण्ड करु.६२५ मध्ये रु.३५ का हकमा पाटं जि.अ. को ०१९।३।८।६को फैसला रु.२५०। का हकमा डिभिजन बेञ्चका २०१९।१२।१६ का फैसलाले नलाग्ने फिर्ता दिने गरीसकेको हुँदा बाँकी का.जि.दो. का फैलाले गर्ने गरेको दण्डमा रु.२५। पनि नलाग्ने हुँदा फिर्ता दिनु भनी का.क्षे.अ.त. मा लगत दिनु ……………….२
ल.पु.अ. को ०१४।३।३ को फैसालले वादी गोबिन्दमानलाई प्रतिवादी महेन्द्रविक्रमबाट भराई दिने गरेको भा.रु.२००० को लगत काटी दिनु भनी का.क्षे.अ.त. मा लगत दिनु……………३
खारेज गर्नु पर्ने इन्साफ गरेमा देहायका मानिसको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु …………………..४
ल.पु.अ.ना.स शम्शेर राजवन्त १
ऐको डि हिरामान १
ऐ ऐको वि हर्ष शेयर १
ल पु.इ अ का न्या गोबिन्दप्रसाद प्रधान १
का.जि.अ.दो.न्या विश्वनाथ १
यो फैसलाको प्रतिलिपी २ दुई श्री ५ महाराजाधिराजको प्रमुख सचिवालयमा पठाउन रजिष्ट्रार अफिसमा पठाई नियम बमोजिम बुझाई दिनु …………..५
इति सम्वत् २०२१ साल चैत्र १० गते रोज १ शुभम् ।