March 23, 1966
Created by nepalarchives

निर्णय नं. २७४ – लिखत पास

निर्णय नं.२७४       ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी दे.फु.नं.३३४।२९३ निवेदक, वादी : का.ई.भोटाहिटी बस्ने...

निर्णय नं.२७४       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री लोकराज जोशी

दे.फु.नं.३३४।२९३

निवेदक, वादी : का.ई.भोटाहिटी बस्ने पशुपति मैनाली

विरुद्ध

विपक्षी, प्रतिवादी : का.ई.पाको पोखलड्याङ् बस्ने मागेलाल माडवारी

मुद्दा : लिखत पास

(१)   अगाडिको फट्टा लिखतले पछिल्लो दृष्टि लेखी दिएको आधार र त्यस्तो पास नभएको लिखतको दावा पुग्न नसक्ने ।

            सवभन्दा पछिल्लो लिखतले अगाडिका लिखतहरू फट्टा गरी सकेको र पास पनि नभएको हुनाले अगाडिका फट्टा लिखतले दृष्टि लेखाएको घर समाउन पाउने अवस्था नपर्ने । ति फट्टाहरू कपाली हुन आउने ।

(प्रकरण नं.१२)

निवेदक तर्फबाट : विद्वान प्लिडर कोषराज

विपक्षी तर्फबाट      : विद्वान एडभोकेट मधुप्रसाद शर्मा र कृष्णप्रसाद घिमिरे

फैसला

      १.     प्रतिवादीले ब्यापार गर्न वापत रु.२१२५१। चाहियो । मेरो पाकोपोखलड्याङ् व्लक नं.६।२२० को घर लिए वापत धितो लेखिदिन्छु । ब्याज दसौंदका दरले तिर्छु । म्यादमा पास गरिदिन्छु भनेकोले ०७।६।५ गते मबाट रुपैंया लिई तमसुक गरी दिएको र फेरी बन्धकमा आईरहेका कपडा झिकी ब्यापार गर्नु पर्‍यो रु.२००० देउ । विरगञ्जको घर लेखि दिन्छु । दसौंद दरले तिर्छु भनी ०७।६।३० गते मबाट लिई दुवै तमसुकको भाखा पुगेकोले दुवै तमसुकको रुपैंयामा थप २१६८। लिई २५४१९। रु. को ६ महिनाको भाखा र ब्याज दसौंद दरले तिर्ने गरी धितो भोगको ०७।१२।२६ गते तमसुक गरी दिएको भाखामा आलटाल गरी नतिरी फेरी ०८।६।२६ गते आफ्नो हस्ताक्षरले बन्धकी तमसुक लेखिदिएको पास गरी नदिएकोले नालिस गर्न आएको छु । ०८।६।२६ गतेको लिखत पास गरी पाउँ भन्ने वादी ।

      २.    अन्यायवालासंग लेनदेन भई पटकपटक लेखेको लिखतहरू नै सहिछाप गराई लगेको । महिना दिन बाद देखि पटकपटकको दोहरी नै लेखि रुपैंया लिनेले हिसाब गरी बाँकी भए लिई फाजिल गरे दिई सबै हरहिसाब मिलाई लिखत फट्टा गरी दिनुपर्ने । २५।३० हजारको कपडा हुन्छ भनी मैनालीहरू नै साक्षी राखी हस्ताक्षरले लेखि सही गरी दिएको दोहरी नै किर्ते भन्ने र हरहिसाब बारे नालिस दिएका छौं । लेखिएको दोहरी बमोजिम रुपैंया दिई तिरी बुझाईसकेको सबै फाजिल मिलाई कट्टा गर्न पर्ने चुक्ति भईसकेको हुनाले लिखत पास गरी दिनुपर्ने होइन । वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत जानकी दास माडवारीको प्रतिवादी ।

      ३.    वादीले डिक लेखाई लिएको पाको पोखलड्याङको घर जग्गा चेतकुमारीलाई लेखि दिईसकेको । दोहरा लेखि दिनै नहुने लेखिदिएको र विरगञ्जको घर जग्गा प्रतिवादीका नाउँमा नामसारी भईसकेको नभई निजका दाजुका नाउँबाट निज दर्तावालाका छोरा मागेलालका नाउँमा ०८।११।१२ मा दर्ता भएको देखिने हुनाले समेत वादी दावीको लिखत पास गरी दिन नमिल्ने हुँदा पास गरी पाउँ भन्ने वादी दावी नपुग्ने भन्ने समेत रा. का.दे.पै. को ०११।३।११ को फैसला ।

      ४.    मेरो लिखत पास नहुने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी पशुपति मैनालीको अपील ।

      ५.    उही तमसुक पास गरी पाउँ भन्ने पशुपति मैनालीको अपील जिकिर र आजैका मितिमा यो वादी प्र. मागेलालको दर्ता बदर मुद्दा नाउसारी बदर हुने ठहरी फैसला भएकोले यो मुद्दामा उक्त नाउसारी बदर मुद्दामा लेखिएका बुँदा प्रमाण समेतबाट यो पास गरीपाउँ भन्ने वादी जिकिर बमोजिम पास हुने ठहर्छ । पाको पोखल्ड्याङको घरको हकमा अघिल्लो दृष्टि चेतकुमारीको देखिनाले सा.अ. का.२७ नं. को हकसम्म पाउने हुँदा सो घर बाहेक गरी ऐन बमोजिमको रीत पुर्‍याई दिई पास गरी दिनुपर्ने ठहर्छ । शुरुले पास नहुने ठहराएको इन्साफ गल्ती ठहर्छ भन्ने समेत ०१७।१२।१।४ को जिल्ला अदालत पाटनको फैसला ।

      ६.    पाको पोखल्ड्याङको घर जानकी दासले मलाई अघि नै लिखत गरिदिएको हुनाले सो पशुपतिको लिखत पास हुन सक्तैन भन्ने लेखिसके पछि सा.अ. का २७ नं. को हक पाउने भनी बढि कुर फैसलामा लेख्न नहुने लेखि मेरो हकमा बाधा पर्ने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत चेतकुमारी पंडेनीको अपील ।

      ७.    पाको पोखल्ड्याङको घरका हकमा ०५।९।५ मै चेतकुमारीलाई जानकीले दृष्टिबन्धक पास गरी दिई निजको उजुर समेत पारी सकी बिगोमा दर्खास्त दिई कारवाई भईरहेको र सो दोहरो दिएकोमा जानकीले सजाय समेत पाईसकेको र छोडपत्र गरेपछि हकै नलाग्ने । असामीले लिखत गरेकामा सा.अ. का २७ नं. ले पछिल्लो साहुले सुबिधा नपाउने भई सो २७ नं.लगाई फैसला गर्ने पा.जि.अ. को गलत ठहर्छ । पाको पोखल्ड्याङ तर्फ वादीको लिखत पास हुन सक्दैन । विरगञ्जको घरका हकमा वादीको आखिर लिखत ०८।६।२६ को छ तापनि लेनदेन व्यबहार ०७।६।३० देखि नै भए गरेकाले ६।६ महिनामा तमसुक फेराएको देखियो । रुपैंया तिरी सकेको भन्ने प्रतिवादीले दिएको उजुरीमा कोर्ट फी राखी उजुर गर्ने निर्णय उपर उजुर गर्न र यस मुद्दामा अपील गर्न समेत नसकेबाट र छोडपत्र गर्नु भन्दा अघिको ऋण मागेलालहरूले सकार गर्नै पर्ने । लिए खाएको रुपैंया वापत दृष्टि लेखिदिएको देखिन आउने । विरगञ्जको घर निखन्न पाउने हुँदा आजै छिनिएको दर्ता बदर मुद्दामा प्रतिवादी जानकीले अंशको हक छाडी भतिजा मागेलाललाई ०७।१२।१२ मा घरसारमा र ०८।६।९ मा पास गरी दिंदा सो घर मागेलालका नाउँमा दर्ता भई निजले जगदीशप्रसादलाई लिखत गरी सकेको भन्ने देखिएकोमा उस मुद्दामा लेखिएका प्रमाणबाट जानकीले लिखत गरी दिईसकेपछि मात्र भतिजालाई लिखत गरी दर्ता गराएको बदर ठहरी आजै छिनिएको र दाज्यू नरसिं मरी सकेपछि घरको दामकाम जानकीले नै गरेको । सो लिखत पास हुने बखत ऐनको रीत पुर्‍याई दर्ता गराउन चलनै भएबाट लिखतमा दाज्यूका नाउँमा दर्ता भएको भन्ने शब्दले बदर गर्न नमिल्ने समेत हुँदा लिखत बमोजिम विरगञ्जको घरसम्म पास हुने ठहर्छ भन्ने समेत ०१९।१०।४ को डिभिजन बेञ्चको फैसला ।

      ८.    दोहरा लेनदेनमा अघिल्लो वा पछिल्लो साहुले थैली तिरी धितो लिन पाउँछ भनी सा.अ.२७ नं. मा लेखिएको । उक्त ऐन बमोजिम थैली तिरी आफ्नो थैली गुमाई धितो लिन पाउने पुरा हक पाएकोमा नपाउने गरी भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत वादी पशुपति मैनालीले दिनु भएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा एक पटक फुल बेञ्चबाट दोहर्‍याई इन्साफ जाँची ऐन बमोजिम गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट लेखि आएको २०।२।२१ को हुकुम प्रमांगी ।

      ९.    ०३ सालको सनद बमोजिम मेरा नाउँमा दर्ता भएको घर काका हक बेहकवालाले बेच बिखन गरी दिएको सदरै नहुने र सो लिखत पास हुने होइन । पास हुने गरी भएको फैलामा चित्त बुझेन । मुद्दा दोहराई पाउँ भन्ने समेत मागेलाल माडवारीले दिनु भएको बिन्तिपत्रको व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए अघि पशुपति मैनालीका निवेदनपत्रमा भएको हु.प्र.बमोजिम गरी यिनीहरूका हकमा पनि जाँची दिनु भन्ने हुकुम बक्सेको छ भन्ने समेत मौसुफका विशेष जाहेरी विभागबाट लेखि आएको ०२०।८।२९ को हुकुम प्रमांगी । हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत माननीय प्रधान न्यायाधीशज्यूको ०२०।३।९ को र माननीय का.मु.प्रधान न्यायाधीशको २०।१०।२३ को आदेश ।

      १०.    यस्मा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २१।१२।३।३ मा पेश भई निवेदक पशुपति मैनाली तर्फबाट विद्वान प्लीडर कोषराज निवेदक, प्रतिवादी मागेलाल तर्फबाट विद्वान एडभोकेट मधुप्रसाद शर्मा कृष्णप्रसाद घिमिरेले र चेतकुमारी तर्फबाट विद्वान प्लीडर कुलराजले समेत गर्नु भएको बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा उजुर दावीको लिखत पास हुने हो, हैन भन्ने कुराको निर्णय गर्नु पर्ने देखिन्छ ।

      ११.    वादीले पास गरी पाउँ भनेको ०८।६।२६।६ को तमसुकमा दृष्टि लेखिएको घर जग्गा ०७।६।५।५ र ०७।६।३०।२ देखि दृष्टि तमसुक लेखि दिई आएको र सो तमसुकको रुपैंया पछिल्लो तमसुकमा सर्दै गएको भनी फट्टा तमसुकहरूको पछाडि पीठमा जनाएको समेत देखिन्छ तापनि पास नभएको ती फट्टा तमसुकहरूले दृष्टि लेखिएको घरमा दृष्टि कायम हुन नसक्ने भई पास हुन सके ०८।६।२६ कै तमसुकबाट दृष्टि लेखिएको घरमा सो हैसियतले दावा पुग्ने थियो । तर ०८।६।२६ मा सो वादीले दृष्टि लेखाई लिनु भन्दा अगावै ०५।९।१५ मा पाको पोखलड्याङको घर चेतकुमारीलाई दृष्टि लेखिदिएकोमा मुद्दा परी ०९।१०।५ मा फैसला भई चेतकुमारीले सो घर चलन समेत पाईसकेको र बीरगञ्जको घर पनि उक्त दृष्टिबन्धकी तमसुकको घरसारको ०८।६।२६को मिति भन्दा अगावै जानकी दासले ०८।६।९ मा पास गरी दिएको छोडपत्र बमोजिम मागेलालको हक पुगी सकेको समेत देखिएकोले त्यस्ता अर्कालाई लेखि दिईसकेको घरहरू जानकी दासले वादीलाई दृष्टि लेखिदिएको लिखत पास गरी दिन मिल्ने देखिएन ।

      १२.   जानकी दासले ०७।६।३० देखि नै दृष्टि लेखिदिएकोले वादीको दृष्टि लिखत कायम रही पास हुन सक्ने भन्ने डिभिजन बेञ्चको फैसलामा उल्लेख गरेको पाइन्छ । त्यसमा सवभन्दा पछिल्लो लिखतले अगाडिका लिखतहरू फट्टा गरी सकेको र पास पनि नभएको हुनाले अगाडिका फट्टा लिखतले दृष्टि लेखिएको घर समाउन पाउने व्यवस्था नपर्ने । ती फट्टाहरू कपाली हुन आउने । रुपैंया कुन कुन अंशियारले तिर्नु पर्ने हो भन्ने कुराको विवाद उठेका बखत यो अंशियारले तिर्नुपर्छ भन्ने कुराको निर्णय दिनुपर्ने अवस्थालाई मात्र काम लाग्ने देखिन आउँछ ।

      १३.   चेतकुमारी तर्फ साहु असामीको २७ नं. ऐन बमोजिमको सुबिधा पाउनु पर्छ भन्ने निवेदक, वादी पशुपति मैनालीको निवेदन जिकिरमा पनि यो मुद्दा सोही व्यहोराको दावी लिई परेको नभई आफ्नो लिखतसम्म रजिष्ट्रेशन पास गरी पाउँ भन्ने परेको उजुरबाट सोही कुराकोसम्म निर्णय दिनु पर्ने र माथि व्यक्त गरिए बमोजिम छोडपत्र गरिदिई सकेपछिको वादीको लिखत पास हुन नसक्ने भएको समेतबाट फिराद दावी नभएको साहु असामीको २७ नं. को सुविधा पाउने नपाउने तर्फ निर्णय दिन मिल्ने देखिंदैन ।

            अतः उपरोक्त कारणहरूबाट उजुर दावीको तमसुक पास नहुने ठहराइएको इन्साफ शुरुका दे.पै. को मुनासिव ठहर्छ । बीरगञ्जको घर तर्फ पास हुने ठहराएकोबाट जिल्ला अदालत र डिभिजन बेञ्चको ठहर मुनासिव नदेखिएकोले अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

जिल्ला अदालत पाटनको ०१७।१२।१।४ को फैसला बमोजिम वादी पशुपति मैनालीलाई प्रतिवादी जानकी दासबाट भराई दिने गरेको कोर्टफी रु.५।६५ को लगत काटी दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ……………………१

पाटन जिल्ला अदालतका जि.न्या.इश्वरीजंगबहादुरको इन्साफ उल्टीको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु …………………..२

नियम बमोजिम मिसिल बुझाइदिनु …………………३

 

इति सम्वत् २०२२ साल चैत्र १० गते रोज ३ शुभम् ।