September 20, 1964
Created by nepalarchives

निर्णय नं. २६८ – उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

निर्णय नं.२६८             ने.का.प.२०२२ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह रीट नं.२०/७० निवेदक      : बासुदेवप्रसाद उपाध्याय विरुद्ध विपक्षी : श्री ५...

निर्णय नं.२६८             ने.का.प.२०२२

डिभिजन बेञ्च

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

रीट नं.२०/७०

निवेदक      : बासुदेवप्रसाद उपाध्याय

विरुद्ध

विपक्षी : श्री ५ को सरकार सवारी मन्त्रालयको सचिव क्षेत्रविक्रम राणा

बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१)   थप सबूत प्रमाण बुझी हक बेहकमा निर्णय दिन पर्ने अवस्था आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ।

            निवेदकले बारामालबाट जग्गा विगाह १५//१ को चलन पाएको र सो जग्गा भन्दा बेग्लै १७३। विगाह जग्गा २०/१२/१४ का निर्णयबाट गोपवाला धितालले पाएको हो भन्ने समेत विपक्षीले लिखित जवाफ दिएको हुनाले निवेदकले दावी गरेको जग्गा र गोपवाला धितालले पाएको जग्गा एकै हो वा पृथक हो ? भन्नलाई नक्सा सर्जमीन समेतको अरु थप सबूत प्रमाणहरू बुझी यकीन गर्नुपर्ने अवस्था पर्न आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ।

(प्रकरण नं.८)

निवेदक तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्त

विपक्षी तर्फबाट      : विद्वान एडभोकेट रमानन्दप्रसाद सिंह

आदेश

      १.     जि.बारा वडाफरको प्रति जग्गा कृषि मन्त्रीज्यूको ०१४।४।५ का आदेश बमोजिम नापजाँच गरी मेरो नाउँमा ५।। १ पोत रु. ८७। समेत गरी जग्गा १७।३।।, ०१६ सालको बाली देखि सम सरहको पोत बुझाई खानु भनी बारा मालले ०१५।१०।१६।५ मा म समेतलाई चलनी पूर्जी गरी दिएकोले घरद्वार समेत बनाई हजारौं रुपैंया खर्चगरी आबाद गरी जिम्दारी बन्दोबस्त नभएको हुँदा ०१८ सालसम्मको पोत राष्ट्र बैंक मार्फत मालमा पठाइएकोमा निज बारा मालले अधिकार नभएको कंजरभेटरको आदेशबाट श्रावण महिना हुँदा बन्दोबस्त गरी दिएँ ।

      २.    ०१९ साल आषाढ ४ गतेमा कञ्जरभेटरबाट सो जग्गाको वन सिमाना डिमारकेशन गरी अव्यवस्थित सुकुम्वासीलाई जग्गा बन्दोबस्त गरी दिनु भनेकोले बन्दोबस्तको सिलसिलामा सोही जग्गा मध्ये ७७ ।। टेकचन्द्रको नाउँमा दर्ता गरी दिई म गरीवको जग्गा अर्को आदेश नआएसम्म दर्ता नगर्नु भनी आदेश दिएको र बारा मालले पनि टेकचन्द्रको मानिसलाई २० साल देखि हुन्डा बन्दोबस्त गरी दिएमा रसीद दिलाई पाउँ भन्ने समेत आय र कर अदालतमा निवेदन दिई कारवाई हुँदैछ ।

      ३.    नेपालको संविधानको धारा ११ को उपधारा (२) (घ) को विरुद्ध बारा मालमा जगेडा रहेको भन्ने भान देखाई गोपवाला धितालको निवेदन पार्न लगाई दोहरा दर्ता गरी दिने किसिमबाट ०२०।१२।१४ को निर्णय भनी ०२१ सालका बाली देखि आबाद गर्न दिनु भन्ने सवारी मन्त्रालयको निर्णय भई गएछ । मैले आबाद गरी अधिकारवाला मालबाट नापजाँच भई चलन पुर्जी समेत पाएको जग्गा विपक्षीलाई त्यसरी आबाद गर्न दिन अधिकार नभएको हुनाले संविधानको धारा ७१ बमोजिम उत्प्रेषणको आदेश जारी गरी उल्लेखित श्री ५ को सरकारको निर्णय बदर गरी मेरो हक भोग चलनको जग्गा मेरै चलन प्रचलनमा राखी पाउँ भन्ने समेत ०२१।१।१०।४ को जि.बारा प्र.टोकनी मौजे बडाफर बस्ने बासुदेवप्रसाद उपाध्यायको निवेदनपत्र ।

      ४.    १५ दिन भित्र एटर्नी जनरल अफिस मार्फत लिखित जवाफ पठाउन विपक्षीलाई सूचना पठाई दिनु भन्ने समेत ०२०।१।१२।६को सिंगलबेञ्चको आदेश ।

      ५.    श्री ५ को सरकारको निर्णयबाट निवेदिका गोपवालाले निवेदनमा माग गरे अनुसार अव्यस्थित रैतीहरूको नाउँमा दर्ता भई बाँकी रहन आएको मालको जिम्मा जगेडा रहेको १७।३।। जग्गा दिइएको हो । उक्त माल जिम्मा जगेडा रहेको जग्गा रमेशचन्द्र उपाध्याय समेतले र राजा माईलाल मास्के र निवेदक समेतले ०१५।१०।१६मा बारा मालबाट दर्ता बहालीको पूर्जीबाट पाएको जग्गा भन्दा छुट्टै सोही वडाफर संगै रहेको ७० विगाहा जग्गा मध्येको हो भन्ने कुरा उक्त मालबाट गरी दिएको दर्ता बहालीको पूर्जिबाट छर्लङ्ग हुन्छ । निवेदक र निजको साथै गोपालप्रसाद, शान्तिकला प्रत्येकले ५।।२ को दरले पाएको जम्मा जग्गा १५।।१ मात्र हुन्छ । निजले निवेदनमा तिनै जनाको भनी देखाएको जग्गा जम्मा १७।३।।। देखाएकोले पनि निजहरूले रीतपूर्वक पाएको जग्गा अरु नै हो । यो गोपवाला देवीले पाएको जग्गा १७।३।।। होइन भन्ने देखाउँछ । उक्त तथ्य प्रमाणको आधारबाट रीट खारेज हुनु पर्ने हो भन्ने समेत ०२१।४।२६को गृह मन्त्रालयको लिखित जवाफ ।

      ६.    डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०२१।४।७।४ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      ७.    सरकारी वकिल उपस्थित गराउन विपक्षीलाई सूचना दिई पेशगर्नु भन्ने समेत ०२१।४।२८।४ को डिभिजन बेञ्चको आदेश ।

      ८.    प्रस्तुत बिषय निवेदक बाशुदेवप्रसाद उपाध्याय रोहवरमा रही पेश हुन आएकोमा निज तर्फबाट उपस्थित हुनु भएको एडभोकेट कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्तहरू र विपक्षी तर्फबाट उपस्थित हुनु भएको गभर्नमेन्ट एडभोकेट रमानन्दप्रसाद सिंह समेतका विद्वान वकिलहरूले गर्नु भएको बहस समेत सुनी निर्णय तर्फ बिचार गर्दा, उपरोक्त लेखिए बमोजिम बारा मालले ०५।०।१६।५ मा म समेतलाई चलन पुर्जी गरी दिएकोले आबाद गरी घरद्वार समेत बनाई चलन गरेको जग्गा विगाहा १७।३।।। विपक्षीले ०२०।१२।१४ मा अनाधिकार निर्णय गरी गोपवाला धिताललाई दिएकोले सो निर्णय बदर गरी पाउँ भन्ने समेत निवेदकको दावी भएकोमा निवेदकले बारा मालमा जग्गा विगाहा १५।०।१ को चलन पाएको र सो जग्गा भन्दा बेग्लै १७।३।।। विगाहा जग्गा ०२०।१२।१४ का निर्णयबाट गोपवाला धितालले पाएको हो भन्ने समेत विपक्षीले लिखित जवाफ दिएको हुनाले निवेदकले दावी गरेको जग्गा र गोपवाला धितालले पाएको भनेको जग्गा निज निवेदकको जिकिर बमोजिम एकै हो वा बेगल के हो ? भन्नालाई नापनक्सा सर्जमिन समेतको अरु थप सबुद प्रमाणहरू बुझि एकिन गर्नुपर्ने अवस्था पर्ने । उत्प्रेषणको रीटबाट उल्लेख गरिए बमोजिम थप सबुद प्रमाणहरू संकलन गरी हक बेहकमा निर्णय गर्न नमिल्ने हुनाले यो निवेदनपत्र खारेज हुने ठहर्छ । यो आदेशको १ प्रति नक्कल एटर्नी जनरल अफिसमा पठाई दिनु र नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२१ साल आश्विन ५ गते रोज १ शुभम् ।