September 26, 1986
Created by nepalarchives

निर्णय नं. २७५० – डाँका जबरजस्ती करणी

निर्णय नं. २७५०    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.न. ६३५, ६७१...

निर्णय नं. २७५०    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको फौ.पु.न. ६३५, ६७१

फैसला भएको मिति : २०४३।६।१०।६ मा

 

पुनरावेदक/प्रतिवादी : परसवनि गा.पं.वा.नं. ७ बस्ने कपलेश्वर यादवसमेत

विरुद्ध

विपक्षी/वादी : कपिलेश्वरी तेलीन समेतको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : डाँका जबरजस्ती करणी

 

(१)         निर्णय गर्दा भावनामा अडेर होइन कानुनको आधारमा हुन पर्ने ।

(प्रकरण नं. २२)

(२) अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने, प्रस्तुत विवादमा त्यस्तो कुनै किसिमको कुनै दसि सबूद प्रमाण भनाई समेत पाइएको छैन । केवल जाहेरीको भनाईलाई मात्र प्रमाण आधार बनाउन मिल्ने होइन ।

(प्रकरण नं. २२)

 

पुनरावेदक/प्रतिवादीहरूतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री जुक्तिजङ्ग लामिछाने

विपक्षी/वादीतर्फबाट   : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकारको छ :

२. ०३६ साल भाद्र ३ गते मेरो घरमा डाँका परी जबरजस्ती करणीसमेत गरेको भनी हुलाकबाट पठाएको जाहेरी दर्खास्त नआई पुगेको घाउ लोप हुने हुँदा जाँच गराई पाउँ भन्ने कपिलेश्वरीको ०३६।५।११ को जाहेरी ।

३. ०३६।५।३ गते राती लक्ष्मण यादव समेत गरी चिन्हेका ३२, नचिन्हेका १५।२० जना डाँकाहरूले हमला गरी बिगो रु.१७,७३०।७५ को धनमाल लुटेको र रामदेव शर्मा समेत १२।१५ जनाले कपिलेश्वरीलाई उठाई लगी कपिलेश्वर यादव, रामदेव शर्मा, बुधिया भन्ने जितेन्द्र यादव समेतले क्रमशः करणी गरेबाट बेहोस भए भन्ने रामलाल साहु र कपिलश्वरीको संयुक्त हु. बाट पठाएको जाहेरी ।

४. प्र. कपिलेश्वर यादव समेत गरी १०।१५ जनाले हतियार देखाई करणी गरे भन्ने कपिलेश्वरीको सनाखत कागज ।

५. ०३६।५।३ बलराम यादव समेत भई मलाई बाँधी डाँका गरी लगे भन्ने रामलखन साहको सनाखत कागज ।

६. ०३६।५।३ गते राती डाँका पर्दा छोरी कपिलेश्वरीलाई नदेखी खोजी हुँदा बाँसघारीमा फेला परेकी र होस् आएपछि सोधनी गर्दा जाहेरीमा उल्लिखित मानिसहरूले बेइज्जती गरेको भनी भनेकीले थाहा पाए भन्ने जाहेरवालाको बाबु हुली साहु र मनसरी साहु समेतको कागज ।

७. ०३६।५।३ गते राती जाहेरवालाको घरमा डाँका परी कपिलेश्वरीलाई करणी गरेको नै हो भनी परमेश्वरी समेत ७ जनाको मुचुल्का साथै जनाए अनुसार वारदात नभएको बनौली हरिया उठाउने विषयमा झंझट भएको उक्त वारदातमा जाहेरवाला समेत संलग्न भएकोले आफू बच्नलाई वादी खडा गरी जाहेरी दिएका हुन् भन्ने सरजमीन मुचुल्का ।

८. सङ्कलित सबूद प्रमाणको आधारमा डाँका र करणीको वारदातमा माथि जाहेरीमा उल्लेख गरिएका कपिलेश्वर समेत ३ जनालाई ज.क. महलको दफा ३ र अरु सम्मिलित भएका ६ जवानलाई ऐ.महलको ४ नं. बमोजिम सजायँ हुनु र जाहेरवालाले दावी गरे अनुसार बिगो भराउन समेतको प्रहरी प्रतिवेदन । प्रतिवादीहरूलाई सरजमीनले किटानी लेखिदिएको हुँदा निजहरूलाई चोरीको १४ नं. को   (४) बमोजिम सजायँ भई जाहेरवालाको बिगो समेत भराई दिने भन्ने स.अ. तथा स.अ.को छुट्टै राय ।

९. ०३६।४।२५ गते लोकही गरी ५।२३ गते मात्र फर्कि आएकोले ०३६।५।३ गते भएको वारदातमा आफू नरहेको भन्ने समेत व्यहोराको लक्ष्मण यादवको बयान ।

१०. मिति ०३६।५।३ गतेदेखि नै आफु विमारी भएकोले उक्त वारदातमा छैन भन्ने नगुलाल यादवको बयान ।

११. मैले डाँका जबरजस्ती करणी गरेको छैन भन्ने समेत व्यहोराको प्र.हनुमी यादवको बयान ।

१२. ०३६।५।२ गते दाइसँग भेट्न लाहान गई ऐ.५।४ गते मात्र फर्की आएकोले उक्त वारदातमा छैन भन्ने प्र.कपिलेश्वर यादवले गरेको बयान ।

१३. ०३६।५।२ गते रामपुर गई ०३६।५।४ गते मात्र फर्कि आएबाट वारदात भएको राती म उपस्थित छैन भन्ने जितेन्द्र यादवको बयान ।

१४. अभियुक्त रामदेव शर्मा, रामहरि यादव मुराई रामदेव मैनेजरको हकमा कारवाही किनारा बाँकी राखी अरु प्र.हरूको हकमा बुझिए सम्मका सबूद प्रमाणबाट जबरजस्ती करणी डाँका गरेको ठहर्दैन भन्ने शुरु सप्तरी जिल्ला अदालतको फैसला ।

१५. उपरोक्त फैसलामा चित्त बुझेन वादी पक्षबाट पेश भएको सबूद प्रमाणको उचित मूल्याङ्क नभई गरेको शुरु सप्तरी जिल्ला अदालतको फैसला नमिलेकोले उल्टाई पाउँ भन्ने श्री ५ को सरकारको पू.क्षे.अ.मा परेको पुनरावेदन ।

१६. अभियुक्त मध्येका मैनेजर मियाँको थुनामा नै मृत्यु भएको हुँदा पुराई यादवको हकमा मुलतवी नै कायम गरी बाँकी प्र.रामदेव शर्मा, रामदेव यादव, रामहरि यादव समेतले सफाई पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदातलको मिति ०४१।१०।१ मा भएको फैसला ।

१७. उक्त फैसला पनि न्यायसंगत नहुँदा प्र.हरूलाई प्रहरी प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकार तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदन ।

१८. अ.बं. २०२ नं. बमोजिम कपिलेश्वर समेतलाई झिकाई आएपछि पेश गर्नु भन्ने पू.क्षे.अ. डिभिजनबेञ्चको आदेश ।

१९. प्र.हरूले डाँका गरेको भनी सरजमीनका व्यक्ति समेतले भन्न नसकेको र डाँका गरेको कुनै पनि सबूद वादी पक्षले पेश गर्न नसकेको हुँदा समेत प्र. हरूलाई डाँका मुद्दाबाट सफाई दिएको शुरु सप्तरी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ र प्र. हरूले जबरजस्ती करणी गरेको हो होइन सोतर्फ हेर्दा किटानी जाहेरी सरजमीनमा रामनाथ यादवको भनाई र डाक्टरको बोर्डले समेत करणी गरेको भन्ने आएको रिपोर्ट दिएको साथै करणी नभएको भए आफ्नो चरित्रमा कलङ्क लाग्ने गरी कपिलेश्वरीले बकपत्र समेत गर्न नपर्ने अतः प्र.कपिलेश्वर यादव, प्र.रामदेव शर्मा, प्र.बुधिया भन्ने जितेन्द्र यादव  समेतलाई जबरजस्ती करणी महलको ३ नं. बमोजिम जनही वर्ष ५ कैद हुने ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२०. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अुनमति पाउँ भनी कपिलेश्वर यादवको १ र रामदेव शर्मा र जितेन्द्र यादवको परेको छुट्टाछुट्टै निवेदनमा कपिलेश्वरीको काका नाता पर्ने व्यक्ति शहिदर साहुतेली समेतले जाहेरवालीलाई जबरजस्ती करणी सम्बन्धी कुनै वारदात घटेको छैन भन्ने बकपत्र गरेको र डाक्टरी रिपोर्टबाट समेत जबरजस्ती करणी गरेको निष्कर्षमा पुग्न सक्ने स्थितिको छैन अतः प्रमाणको मूल्याङ्कन नै नगरी गरेको पू.क्षे.अ.को फैसलामा प्रमाण ऐन, ०३१ को दफा ४ को त्रुटि भएको देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४२।१।१२ र मिति ०४२।३।५ को छुट्टाछुट्टै दुवै निवेदनमा भएको आदेश ।

२१. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदकहरू तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल र विद्वान अधिवक्ता श्री जुक्तिजङ्ग लामिछानेले र श्री ५ को सरकार तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्यतः प्रस्तुत विवादमा पूर्वाञ्चल क्षेत्रीय अदालतले प्र.हरूलाई जबरजस्ती करणी गरेको ठहर्‍याएको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपर्ने हुन आयो ।

२२. प्रस्तुत विवादमा पू.क्षे.अ.ले निर्णय ठहरमा पुग्दा मुख्यतया किटानी जाहेरी सरजमीनमा रामनाथ यादवले किटानी बकपत्र र कपिलेश्वरीले आफ्नो चरित्रमा समेत कलङ्क लाग्ने गरी बकपत्र समेत गरेका हुँदा प्र.हरूले जबरजस्ती करणी गरेको भन्ने ठहरमा उल्लेख गरेको पाइन्छ । सोतर्फ हेर्दा ०३६।५।३ गते राती लक्ष्मण यादव समेत गरी चिन्हेको ३२ जना र नचिन्हेका १५।२० जना डाँकाहरू समेत आई रामदेव शर्मा समेतले मलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दर्खास्त पर्दा ०३६।५।३ मा गएको वारदातको सम्बन्धमा जबरजस्ती करणी गरेको हो होइन भन्ने सम्बन्धमा ०३६।५।११ गते डाक्टरहरूको बोर्डबाट परीक्षण समेत भएको पाइन्छ । डाक्टरहरूको बोर्डको रिपोर्टमा कपिलेश्वरीको उमेर १६ वर्ष भन्दा माथिको देखिएको र जबरजस्ती करणी गरेको भन्ने लक्षण भएको भन्ने प्रष्टतया उल्लेख भएको पाइएको छैन सो बाहेक जबरजस्ती करणी गरेको भन्ने अभियोग लगाउने पक्षले सो सम्बन्धमा विर्य लागेको पेटीकोट लगायतका अन्य कुनै पनि दशी प्रमाणमा देखाउन सकेको पाइँदैन । जसलाई करणी गरिएको भनिएको हो सो को जिउ आङमा प्र.हरूले जबरजस्ती गर्दाको संघर्षमा लागेको घा चोट भन्ने पनि कहि कतै मिसिलबाट देखिन आएको छैन । सरजमीनको कुनै पनि व्यक्तिले सो दिन जबरजस्ती करणीको वारदात भयो भनी अदालतमा समेत भन्न सकेको छैन । सरजमीनको रामनाथ यादवले समेत प्रहरीमा कागज गर्दा मैले कपिलेश्वरीलाई उठाई लगेको देखेको हुँ भनेका छन् भन्ने अदालतमा बकपत्र गर्दा घटना घटेको भन्ने राम लखन साहुको मुखबाट सुनेको हुँ भनी बयान गरेकोबाट निजको भनाईलाई निर्णयको आधार बनाउन समेत उक्तिसंगत देखिन आउँदैन । कपिलेश्वरीको नाताको काका पर्ने सहिन्दर साहु तेलीले समेत बकपत्र गर्दा वारदात घटेको नै होइन, जाहेरी झुठ्ठा हो भनी भनेका छन् । यदि जबरजस्ती करणी जस्तो वारदात नै भए आफ्नो भतिजी माथि भएको घटनालाई लुकाई अभियुक्तहरूलाई सफाई दिलाउने प्रयास गर्न नपर्ने, सो बाहेक सरजमीनमा बक्नेले जबरजस्ती करणी भएको होइन भनी बकेको छ, घर सरजमीनमा व्यक्तिले वारदात भएको होइन बनौली हरिया उठाउने सम्बन्धमा झंझट भएको प्र. र जाहेरवाला समेत संलग्न रहेकोले आफू बच्न झुठ्ठा वारदात खडा गरेका हुन् समेत भनेका छन् । प्रतिवादीहरूले आफू घटनामा सो ठाउँमा नरहेको र अन्तै ठाउँमा भएको भन्ने बयान गरेका छ भने प्रतिवादीको साक्षीहरूले समेत  पूर्ण रुपमा प्र.हरूलाई सफाई दिई बकेको पाइन्छ । यस्तो किसिमको शंका र सम्भाव्यताबाट उठेको प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले असरबाली कपिलेश्वरीले यदि घटना दावा घट्न गएकोमा आफैंले किटानी जाहेरी गरेकी हुँदा जबरजस्ती करणी नभएको भए एउटा स्त्री जातीले त्यस्तो भन्न लेखाउन नपर्ने भन्ने भावनात्मक तर्क दिएर निर्णय गरेको पाइन्छ । निर्णय गर्दा भावनामा अडेर होइन कि कानुनको आधारमा हुन पर्ने हुन्छ । अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने प्रस्तुत विवादमा त्यस्तो किसिमको कुनै दसी सबूद प्रमाण भनाई समेत पाइएको छैन । केवल जाहेरवालीको भनाईलाई मात्र प्रमाण आधार बनाउन मिल्ने होइन । अतः शंका र अनुमानको आधारमा जबरजस्ती करणी गर्ने ठहराई प्र. हरूलाई जबरजस्तीको अभियोग लगाई जबरजस्ती करणीको महलको दफा ३ बमोजिम हदै कैद वर्ष लगाउने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने हुँदा प्र. हरूले सफाई पाउने ठहर्छ । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

कपिलेश्वर यादव, प्र.रामदेव शर्मा, प्र.बुधिया भन्ने जितेन्द्र यादव के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.ले गरेको फैसला उल्टी भई निजहरूले सफाई पाउने ठहरेकोले पू.क्षे.अ.को फैसलाले राख्‍ने गरेको हदकैद वर्ष ५ नलाग्ने हुँदा सो को लगत कट्टा गरी दिनु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.लगत तहसीलमा लगत दिनु……….१

मिसिल नियमानुसार गरी बुझाइदिनू …. २

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४३ साल आश्विन १० गते रोज ६ शुभम् ।