निर्णय नं. २७४९ – जग्गा नापी बदर
निर्णय नं. २७४९ ने.का.प. २०४३ अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.न....
निर्णय नं. २७४९ ने.का.प. २०४३ अङ्क – ६
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.न. ७३३
फैसला भएको मिति : २०४३।६।१३।२ मा
पुनरावेदक/वादी : जि.कपिलवस्तु सरनामपुर गा.पं.वडा नं.१ बस्ने सोमदत्त कुर्मीसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामप्यारे कुर्मीसमेत
मुद्दा : जग्गा नापी बदर
(१) प्रतिवादीले दर्ता गराएको जग्गामा वादीहरूको हक स्थापित हुने हुँदा प्रतिवादीको नाउँमा दर्ता भएको जग्गाहरूको दर्ता बदर हुने ।
(प्रकरण नं. १२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी डिभिजनबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :
२. हरनामपुर मौजा मध्ये म रामसेवक कुर्मीका नाउँमा ज.वि. १६–१५–११ र म सोमदत्त कुर्मीका नाउँमा ज.वि. १६–१५–११ बहाली पुर्जी भई निज रामप्यारे, सुमीरन कुर्मिनी, उरिहा कुर्मिनी समेतले पनि बहाली पाएको निज प्रतिवादीहरूले हिस्सा भन्दा बढी जग्गा दर्ता बहाली गराई लिएको दर्ता बहाली बदर गरिपाउँ भन्ने मुद्दामा यस अदालतका फैसला उपर लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परी रहेको छ । सर्भेमा हाम्रो जग्गा धेरै घटी भएकोले ४५ दिनभित्रै निवेदन दिएकोमा कुनै कारवाही नभएको, खोज तलास गरी पत्ता लगाउँदै जाँदा विपक्षीहरू मध्ये सुमिरन कुर्मीले म सोमदत्त कुर्मीको साविक कि.नं. १ को हाल कि.नं. १९४ मा, साविक कि.नं.८२ को हाल कि.नं. ७ मा र रामप्यारे कुर्मीले साविक कि.नं. ८५ को हाल कि.नं. ४५ मा र म रामसेवक कुर्मीको भोगको जग्गा मध्ये प्र.रामप्यारे कुर्मीले साविक कि.नं. ८२ को हाल कि.नं. ५ मा साविक ८३ को हाल कि.नं. ४१ मा पारी ०२७ साल चैत्र १०, १५ र १६ गतेमा समेत नापी दर्ता गराई लिएकोले सो बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत फिराद ।
३. ८८ सालको नापीमा म रामप्यारेका जेठा बाजे तथा म सुमिरनको जेठा बुढा ससुरा जगत कुर्मी राम आश्रे तथा तपेश्वरका नाउँमा समेत गरी जम्मा ज.वि. ४६–८–१४ जग्गा दर्ता भएको, निजहरू छँदा निजहरूले भोग तिरो गरी आएको निजहरू स्वर्गे भएपछि ३ खण्डको एकखण्ड अंशियार राम आश्रे हाँगा तर्फ, हामीहरू र म सुमिरनको सौता उरिहा समेत जना ३ को हक हुन आएको सो बमोजिम ३ खण्डको १ खण्डमा पर्ने जग्गा जिमिदारी मध्ये ज.वि. ७–१४–१५–२ म रामप्यारेले र बाँकी आधामा आधी आधीका दरले ज.वि.३–१९–१७–३ मा म सुमिरनले तथा ज.वि. ३–१९–१७–३ उरिहाले समेतले दर्ता बहाली गराउने विषयको २०२२ साल माघमा कपिलवस्तु मालमा दर्खास्त दिएको र सो मालबाट हकवालाका नाउँमा ३५ दिने म्याद टाँस भएकोमा कसैको उजूर नपरेकोले हाम्रो दर्खास्त अनुसार सो जग्गा हामीहरू र उरिहा समेतका नाउँमा मालबाट ०२२।१२।५ मा दर्ता बहाली पुर्जी गरी सो बमोजिम दाखिल खारेज नामसारी समेत भएको म रामप्यारेको जग्गामध्ये केही जग्गा उखडा निस्किएको म रामप्यारेका नाउँमा दर्ता कायम रहेको विगहा ६–३–१९ म सुमिरनको नाउँमा ज.वि. ३–१७–५० को जग्गाधनी दर्ता प्रमाण पूर्जा समेत प्राप्त भएको छ । हामीहरूले आफ्नो अंश हक भन्दा बढी जग्गा दर्ता गराएको भए मालबाट दर्ता गर्नु भन्दा पहिले हकवाला अंशियारका नाउँमा ३५ दिने सूचना टाँस गर्दाको अवस्थामा नै वादीहरूले विरोध गर्न सक्नु पर्नेमा नसकेको हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत सुमिरन कुर्मिनी तथा रामप्यारे कुर्मीको संयुक्त प्रतिउत्तर ।
४. २०००।७।३० को मिलापत्रमा लेखिएको शर्त अनुसार जग्गा जिमिदारी हिस्सा समेत बाँडी लिएको सम्म देखिँदा कुन कित्ता नम्बरको के कति जग्गा कुन अंशियारले बाँडी लिई भोग गर्ने हो सो कुरा मिलापत्रबाट देखिँदैन । बण्डा पत्र समेत गरी पास गर्ने भनेकोमा आजसम्म बण्डापत्र खडा भई भोग चलन गरी आएको छ भन्न वादीले नसकेको र दावीको साविक कित्ता नम्बरको जग्गा वादीको अंश हिस्साको हो भन्न नमिल्ने हुनाले वादी दावीको जग्गा वादीकै हकको हो भनी ठहराउन न्यायोचित नहुँदा दर्ता बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत कपिलवस्तु जिल्ला अदालतको फैसला ।
५. उक्त इन्साफ उपर वादी प्रतिवादी दुवैको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. विवादीत जग्गा समेतको यीनै वादीका बाबु भागवत कुर्मि समेत लालबहादुरको अंश मुद्दा परी २०००।७।३० मा भएको मिलापत्रको शर्त अनुसार जग्गा जिमिदारी हिस्सा बाँडिएको सम्म देखियो । कुन कित्ता नम्बरको के कति जग्गा कुन कुन अंशियारले बाँडी लिइ भोग चलन गरेको हो सो कुरा मिलापत्रबाट देखिन नआएको समेतबाट सो मिलापत्र अनुकुल ऐन बमोजिम पास गरी शर्त अनुसार भाग बण्डा लगाई बण्डा पत्र खडा नभएसम्म दावीको जग्गा वादीकै हकको हो भनी ठहराउन न्यायोचित नपर्ने देखिँदा वादी दावी नपुग्ने ठहराएको इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको ०३६।८।१० को फैसला ।
७. उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदनमा अनुमति दिने आदेश भई अञ्चल अदालतको इन्साफ जाँच गरिपाउँ भन्ने प्रतिवादीको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई प.क्षे.अ.डिभिजनबेञ्च समक्ष पेश हुँदा यिनै वादी सोमदत्त कुर्मी विरुद्ध सुमिरन कुर्मी समेत भएको जग्गा बाली मुद्दामा जग्गा विगहा १५–९–११ मध्ये ज.वि. ११–३–४ प्रतिवादीहरूका नाउँको कायम राखी जग्गा विगहा ४–५–१७ को प्रतिवादीको नाउँमा बहाली भएको दर्ता बहाली बदर भई शुरु कपिलवस्तु जिल्ला अदालतबाट भएको इन्साफ लुम्बिनी अञ्चल अदालतबाट सदर भएको, सो बढी दर्ता बहाली पाएको जग्गा कुन कित्ताबाट के परिबन्दले कति जग्गा हालको कित्तामा दावी लिएको हो फिरादपत्रमा किटान गर्न सकेको छैन, २०००।७।३० को मिलापत्र बमोजिम बण्डामा पाएको जग्गा वादी प्रतिवादीहरूले तिरो भरो गरी आएको हुँदा विवादीत ज.वि. ४–५–१७ प्रतिवादीहरूले आफ्नो नाउँमा दर्ता गराएको भन्ने सबूद प्रमाण वादीहरूबाट पेश हुन आएको नदेखिँदा लुम्बिनी अञ्चल अदालतको फैसलामा मिलापत्र अनुसार बण्डापत्र खडा नभएसम्म भन्ने बुँदा उल्लेख भएको हदसम्म बदर गरी अरु लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
८. पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको सर्वोच्च अदालतमा निवेदन पर्दा यिनै सोमदत्त र रामसेवक वादी र यिनै प्रतिवादी रामप्यारे र सुमिरन कुर्मीनी समेत भएको जग्गा बहाली मुद्दामा जग्गा विगहा ११–३–१५ प्रतिवादीका नाउँको कायम राखी ज.वि.४–५–१७ को प्रतिवादीका नाउँमा भएको बहाली नापी दर्ता बहाल बदर भई अन्तिम रुपमा ०३६।८।१० मा फैसला भएको देखिन्छ । उक्त अन्तिम रहेको फैसलाको विपरीत वादी दावी नपुग्ने ठहराई प.क्षे.अ.बाट निर्णय गरेको निर्णयमा प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि देखिन्छ । पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
९. पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्ददाश सरसले बहाली बदर मुद्दामा प्रतिवादीहरूले गराएको बहाली दर्ता मध्ये ज.वि. ४–५–१७ को दर्ता बहाली बदर हुने ठहरी फैसला भएको सोही दर्ता बहाली गराएको जग्गा सर्भे नापीमा प्रतिवादीहरूले नापी दर्ता गराएको विषयलाई लिएर साविक र हाल कि.नं. समेत खोली नापी दर्ता बदर मुद्दा दिएकोमा वादी दावी नपुग्ने ठहराएको प.क्षे.अ. को इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले २०००। सालको मिलापत्र बमोजिम आफ्नो हक हिस्साको जग्गाको मेरो पक्षले २०२२ सालमा दर्ता बहाली लिएको छ । मालमा बहालीको निम्ति दर्खास्त परेपछि जारी भएको ३५ दिने सूचनाको म्यादमा कसैको उजूर नपरेकोबाट बहाली पाएको जग्गा नै नापी दर्ता गराएको हुँदा वादी दावी नपुग्ने ठहराएको प.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा यिनै वादी प्रतिवादीहरूको बीच चलेको जिमिदारी जग्गा दर्ता बहाली बदर गरिपाउँ भन्ने मुद्दाको प्रमाण निमित्त आएको ०३४ सालको दे.पु.नं. ३०६ को मिसिलमा वादी दावी बमोजिम ज.वि.४–५–१७ को प्रतिवादीले गराई लिएको बहाली बदर गरी जग्गा वादीहरुले बराबरका दरले दर्ता बहाली लिन पाउने ठहराई शुरु कपिलवस्तु जिल्ला अदालतले गरेको इन्साफ सदर गरी लुम्बिनी अञ्चल अदालतबाट २०३६।८।१० मा फैसला भई सो फैसला अन्तिम भइरहेको देखिन्छ । उक्त मुद्दामा पनि विवादीत हालको सर्भे नापीको कित्ता नम्बरहरू वादीले अदालतको आदेशानुसार खुलाएको पाइन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा साविक र हालको कित्ता नं. समेत खुलाई फिरादपत्रमा दावी लिएको देखिन्छ । उपर्युक्त अनुसार जिमिदारी जग्गा दर्ता बहाली बदर मुद्दाबाट वादीहरूले हक गराएको दावीको जग्गा यो यति कारण परिबन्धले होइन भनी प्रतिवादीहरूले तथ्ययुक्त रुपमा खण्डन गरेको पाइँदैन । २००० साल कार्तिक ३० गतेको मिलापत्र अनुसार बण्डापत्र पास नगराएको जिकिरको हकमा दुवैपक्षले आ–आफ्नो भाग बुँदा अंश दर्ता तिरो भोग गरी अंश गरी आएको कुरामा विवाद नदेखिएकोले त्यसतर्फ अरु विचार गर्नुपर्ने स्थिति रहेन ।
१२. अतः उपर्युक्त जिमिदारी जग्गा दर्ता बहाली बदर मुद्दाबाट वादीको हक कायम हुन आएको जग्गा हाल वादीले दावी गरेको सर्भेमा हरनामपुर गा.पं.वडा नं.१(ख) को कि.नं.५, ४१ र ४५ प्रतिवादी रामप्यारे कुर्मीले र ऐ.कि.नं.७ र ऐ.वार्ड नं.२(क) को कि.नं.१९४ को सुमिरन कुर्मीले दर्ता गराएको जग्गामा वादीहरूको हक स्थापित हुने हुँदा प्रतिवादीहरूको नाउँमा दर्ता भएको उक्त जग्गाहरूको दर्ता बदर हुने र वादीहरूका नाउँमा बराबरका दर्ले दर्ता हुने समेत ठहर्छ । वादी दावी नपुग्ने ठहराएको कपिलवस्तु जिल्ला अदालतको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालत र पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी सोमदत्त कुर्मी र रामसेवक कुर्मीले फिराद गर्दा राखेको कोर्टफी रु.५।– अरु दस्तूर रु.१।९० शुरु उपर अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२२०।७५ प.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३३।७५ यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.१।५० समेत जम्मा रु.२६२।९० दुई सय बासठी रुपैयाँ नब्बे पैसा देहायका प्रतिवादीहरूबाट भराई पाउँ भनी ऐनका म्यादभित्र वादीहरूको दर्खास्त परे दस्तूर केही नली देहायका प्रतिवादीहरूबाट बराबरका दर्ले वादीहरूलाई बराबरका दर्ले भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु……. १
प्रतिवादी रामप्यारे कुर्मी १
प्रतिवादी सुमिरन कुर्मिनी १
पुनरावेदक वादी सोमदत्त कुर्मी र रामसेवक कुर्मीले पश्चिमाञ्चल क्षेत्रीय अदालत उपर यस अदालतमा पुनरावेदन गर्दा शुरु कोर्टफी रु.२२५।७५ को सयकडा १५ ले रु.३३।७५ कोर्टफी लाग्नेमा रु.१।५० मात्र कोर्टफी राखी रु.३२।२५ कोर्टफी वादीहरूबाट लिन छुटेको र वादीहरूले मुद्दा जितेको हुँदा सो नपुगे कोर्टफी रु.३२।२५ बत्तिस रुपैयाँ पच्चीस पैसा देहायका प्रतिवादीहरूलाई लाग्छ निजहरूको वारेस भई बेरुजु हुँदा बराबरको दरले ऐन बमोजिम असूल गरी सदर स्याहा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ……… २
प्रतिवादी रामप्यारे कुर्मी १ प्रतिवादी सुमिरन कुर्मी १ वादी दावीको हरनामपुर गा.पं.वडा १(ख) को कि.नं.५, ४१ र ४५ प्र.रामप्यारे कुर्मीले र ऐ.कि.नं. ७ र ऐ.वार्ड नं. २(क) को कि.नं.१९४ को सुमिरन कुर्मीले दर्ता गराएको बदर हुने र वादीहरूका नाउँमा बराबरका दर्ले दर्ता हुने ठहरेकोले सो जग्गा दर्ता गरी पाउँ भनी वादीहरूको ऐनका म्यादभित्र दर्खास्त पर्न आएमा सो बमोजिम दर्ता गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन मिसिल कपिलवस्तु जिल्ला अदालतमा पठाई दिनु …३
मिसिल नियम बमोजिम गरी बुझाइदिनू……४
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४३ साल आश्विन १३ गते रोज २ शुभम् ।