September 8, 1986
Created by nepalarchives

निर्णय नं. २७४४ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २७४४    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं.१५७६ आदेश...

निर्णय नं. २७४४    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको रि.नं.१५७६

आदेश भएको मिति : २०४३।५।२३।२ मा

 

निवेदक : का.प.जि.होत्से गा.पं.वडा नं.७ बस्ने शिवबहादुर थापासमेत

विरुद्ध

विपक्षी : का.प.जि.साठी घर गा.पं.वडा नं.२ बस्ने कुमारबहादुर कार्कीसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         अधिकार प्राप्त निकाय गाउँ पञ्चायत न्यायिक समितिबाट भएको इन्साफ र सो इन्साफलाई सदर गरेको जिल्ला न्यायिक समितिको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन ।

(प्रकरण नं. ९)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री माधवकिशोर भट्टराई

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : साठी घर गा.पं.को मिति ०४१।८।२० को र जिल्ला पञ्चायत न्यायिक समिति काभ्रेपलाञ्चोकको मिति ०४२।४।१३ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२. कि.नं.४११ को पूर्व पट्टिबाट पश्चिम भित्ता भित्ता हुँदै ऐ.ऐ.गा.पं.वडा नं.२ को कि.नं.३८१ समेतका कित्ता १२ मा हामीहरूले र गाउँलेहरूले हिउँदे कुलो लगी विभिन्न बाली लगाई आएको र ०४० सालमा विपक्षीहरूले कुलो पुरी बन्द गरेको भन्ने विपक्षी वादीहरूले साठी घर गाउँ पञ्चायतमा निवेदन दिएकोमा वादीले दावा गरेको उक्त कि.नं. ४११ मेरो नाम दर्ता भएको मेरो हक भोगको जग्गामा साविकमा कुलो थिएन  र कुलो दिनु पनि थिएन भन्ने हाम्रो भनाई भएको सो कुलो सम्बन्धमा विपक्षीहरूले जिल्ला कार्यालय काभ्रेपलाञ्चोकमा दिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी ज्यूबाट मिति ०४१।४।१६ मा खारेजी फैसला भएकोमा विपक्षीहरूले पुनरावेदन समेत नगरी स्वीकारी बसी सक्नु भएकोमा उक्त विषयलाई नै लिएर साठी घर गाउँ पञ्चायत काभ्रेमा पुनः निवेदन दिएको । ०४१।८।१० को पेशी तारिखमा जिल्ला कार्यालय काभ्रेपलाञ्चोकको फैसला सारी पेश गर्नु भनेकोमा मैले निर्णय उतार पेश गर्न नपाएकोले पेश नगरेको कारणले वादी दावा बमोजिम साग सब्जीको लागि हिउँदे अस्थायी कुलो दिनु पर्छ भन्ने मिति ०४१।९।२ को साठी घर गा.पं.काभ्रेपलाञ्चोकले फैसला गरेको र सो फैसला उपर मेरो पुनरावेदन परेकोमा उक्त कुलोबाट हिउँद महीनामा पक्ष विपक्ष र गाउँले समेतलाई अति आवश्यक हुने भएकोले उक्त कुलो परम्परा देखि चल्दै आएकोले कुलो दिनुपर्ने, ठहर्‍याई मिति ०४२।४।१२ मा जिल्ला पञ्चायत न्यायिक समिति काभ्रेपलाञ्चोकबाट फैसला गरियो । नयाँ कुलो बनाई पानी पटाउने विवादको उजूरी लिई हेर्न र छिन्ने अधिकार गाउँ पञ्चायत ऐन, २०१८ ले गाउँ पञ्चायतलाई दिएको छैन । यसरी आफ्नो अधिकार नभएको कुरामा मुद्दा हेरी गा.पं.ले निर्णय गरेको र सो निर्णय उपर जि.पं.न्यायिक समितिमा पुनरावेदन गरेकोमा मुद्दा खारेज नगरी पुनरावेदन सुनी गरेको मिति ०४२।४।१३ को निर्णय अ.बं. ३५ नं. विपरीत हुनाले बदरभागी छ । ०४१।४।१६ मा वादी दावा खारेज गर्ने गरी जिल्ला कार्यालय काभ्रेले गरी सकेको विषयमा साठी घर गा.पं.ले पुनः दुई पटक कारवाही तथा निर्णय गरेको अ.बं. ८५ को विपरीत छ । अतः साठी घर गा.पं.को मिति २०४१।८।२० को र जिल्ला पञ्चायत न्यायिक समिति, काभ्रेपलाञ्चोकको मिति ०४२।४।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

३. विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति ०४२।५।२७।५ को सिंगलबेञ्चको आदेश ।

४. कुलोका सम्बन्धमा उठेको झगडाको शान्ति सुरक्षाको विषयमा रिट निवेदक शिवबहादुर थापाका बाबु भिमबहादुरले दिएको र जिल्ला कार्यालयले कुलोको सम्बन्धमा आफ्नो अधिकार क्षेत्रभित्रको नभई सम्बन्धित ठाउँमा जानु भनी तामेलीमा राख्‍ने निर्णय गरेको हो । रिट निवेदकको जिकिर बमोजिम खारेजी निर्णय नभएकोले यसमा अ.बं.८५ नं. आकर्षित हुन सक्दैन । आफ्नो क्षेत्र भित्र चाहे नयाँ कुलो पानी होस् वा पुरानो पानीका विषयमा होस् कुनै पनि कुलो पानीको सम्बन्धमा उठेको विवादको सम्बन्धमा शुरु कारवाही र किनारा गर्ने अधिकार गाउँ पञ्चायत ऐन, २०१८ ले गाउँ पञ्चायतलाई नै प्रदान गरेकोले उक्त गाउँ पञ्चायतको र जि.पं.न्यायिक समितिको निर्णयमा रिट निवेदन जिकिर अनुसारको त्रुटि नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थीहरू भोलाबहादुर कार्की, लुमडीबहादुर कार्की, गुमानबहादुर थापा र कुमारबहादुर कार्कीको लिखितजवाफ ।

५. गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ को उपदफा १ को (ज) अनुसार आफ्नो अधिकार क्षेत्रभित्र रही यस साठी गाउँ पञ्चायतले प्रस्तुत कुलोको विवादको शुरु कारवाही तथा किनारा गरेकोले रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध गरिन्छ भन्ने समेत प्रत्यर्थी साठी घर भगवती स्थान गाउँ पञ्चायतको लिखितजवाफ ।

६. विपक्षी जिल्ला पञ्चायत न्यायिक समिति काभ्रेपलाञ्चोकले लिखितजवाफ नदिई म्याद गुजारी बसेको रहेछ ।

७. निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री माधवकिशोर भट्टराईले यस विषयमा जिल्ला कार्यालयमा कारवाही चल्दा वादी दावी खारेज भइसकेकोमा गाउँ पञ्चायतले विपक्षीहरूको निवेदन लिई कारवाही  तथा निर्णय गरेको र सो उपरको पुनरावेदन हेरी निर्णय गरेको जिल्ला न्यायिक समितिको निर्णय त्रुटिपूर्ण हुँदा विपक्षीहरूको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

८. यसमा निर्णयतर्फ हेर्दा काभ्रेपलाञ्चोक जिल्ला साठी घर भगवती गा.पं.वडा नं.२ को कि.नं.४७४ को खराने खोलाको पानी अघि देखि कुलो खनी विपक्षीहरूको कि.नं.४११ को खेतको पूर्वपट्टीबाट भित्ता भित्तै लगी हामी फिरादीहरू र गाउँलेहरु समेतको खेतमा सिंचाई गरेको मा विपक्षीहरुले कुलो बन्द गरेकोले खुलाई पानी लग्न पाउँ भन्ने विपक्षी कुमारबहादुर कार्की समेतले साठी घर गाउँ पञ्चायतमा, गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(ज) बमोजिम उजूरी पर्दा साठी घर भगवती गाउँ पञ्चायत न्यायिक समितिबाट कुलो दिनुपर्ने ठहराएकोमा, सो उपर रिट निवेदकको जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन परेकोमा उक्त समितिबाट सबूद प्रमाणको मूल्याङ्कन गरिपाउँ न्यायिक समितिको इन्साफ मनासिब ठहराई ०४२।४।१३।१ मा निर्णय भएको देखिन्छ ।

९. अधिकार प्राप्त निकाय गाउँ पञ्चायत न्यायिक समितिबाट भएको इन्साफ र सो इन्साफलाई सदर गरेको जिल्ला न्यायिक समितिको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

 

इति सम्वत् २०४३ साल भाद्र २३ गते रोज २ शुभम् ।