June 22, 1987
Created by nepalarchives

निर्णय नं. ३१७३ – अंश

निर्णय नं. ३१७३ ने.का.प. २०४४  अङ्क ८   संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको डि.दे.पू.नं....

निर्णय नं. ३१७३ ने.का.प. २०४४  अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४१ सालको डि.दे.पू.नं. ५३१

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी: जि.मोरङ कञ्चनबारी गा.पं. वार्ड नं. ४ बाट परिणत विराटनगर न.पं. वार्ड नं. ४ बस्ने उमा देवी पोखरेल ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने लेखनाथ पोखरेल ।

          ऐ.ऐ बस्ने जीवनाथ पोखरेल ।

फैसला भएको मिति:२०४४।३।८।२ मा

    एक अंशियाराको सहिछाप नहुँदैमा बण्डापत्रलाई मान्यता नहुने भन्ने प्रश्न उठ्न सक्दैन, बण्डा बराबर नभए वा गलत तरीकाले भएकोमा म्याद भित्रै उजूर गर्नु पर्ने ।

(प्रकरण नं. १८)

    जिउनी सम्बन्धी प्रश्न पनि अंश विषयसंग सम्बन्धित हुन्छ, अंशपाउँ भन्ने मुद्दाबाट जिउनीको भाग बण्डा हुन नसक्ने होइन ।

(प्रकरण नं. १८)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री छविरमण सिटौला

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः    पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.   ससुरा जीवनाथका ५ भाइ छोरामा जेठा तोपनाथ, माहिला प्र. लेखनाथ, साँहिला मेरो पति मोहनप्रसाद, काँहिला गुणराज र कान्छा हरिकुमार समेत हुन् । मेरो पति मोहनप्रसाद ०४० सालमा विदेश गए देखि हालसम्म बेपत्ता हुनु हुन्छ । म, सासू ससुरा तथा प्र.लेखनाथसंग सगोलमा बस्दै आएकोमा ०३२।१०।२६ मा घरायसी झगडा परी मलाई घरबाट निकाला गरेकोले मेरा पतिको १ भाग अंश दिनुहोस् भनी मौखिक रुपमा अनुरोध गर्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्र.लेखनाथ समेतले भनेबाट पति बेपत्ता हुनुभएकोले मुख्य दाम काम गर्ने प्र.लेखनाथ हुँदा निजबाट तायदाती लिई ५ भागको १ भाग मेरा पतिले पाउने अंश दिलाई मेरो जिम्मा लगाइपाउँ भन्ने समेतको उमा देवी पोखरेलको फिरादपत्र ।

३.   वादीको लोग्ने वेपत्ता भए तापनि आसामको अजान्ता भन्ने ठाउँमा गोठपाली बसेको छ । हामी एकाघर सगोलमा बस्न नसक्दा २०२४।८।३ मा परदेश जाने समेतका अंश भाग लेखत खडा गरेको पास समेत भइसकेको छ । वादीका लोग्नेको भाग अंशको जग्गाको आयस्ता वादीले मोहीहरूबाट बुझी सोको भर्पाई समेत गरिदिएका छन् । हामी २०२४ सालमा ऐन बमोजिम छुट्टि भिन्न भएका हुँदा वादी दावा झुठ्ठा एवं लाग्न नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेतको प्र.लेखनाथको प्रतिउत्तर ।

४.   विदेशमा गएका छोराको समेत अंश भाग लगाई बण्डापत्र खडा गरी रजिष्ट्रेशन पास भइसकेको छ । वादीको लोग्नेको भागको आयस्ता वादीले नै खाँदै आएकी छिन् । असामको अजन्तामा वादीको लोग्ने हुँदा फिराद लाग्न नसक्ने भन्ने समेतको जीवनाथको प्रतिउत्तरपत्र ।

५.   छुट्टिई भिन्न भएको जेठाजुसंग अंशमा दावी लाग्न नसक्ने हुँदा वादी दावा खारेज हुने ठहर्छ भन्ने समेतको मोरङ जि.अ.को फैसला ।

६.   उक्त इन्साफमा चित्त बुझेन सो बदर गरी फिराद लेख बमोजिम इन्साफ गरिपाउँ भन्ने प्र.उमादेवी को पू.क्षे.अ.मा परेको पुनरावेदन ।

७.   वादीले पतिको भागमा दावी गर्न सक्ने देखिँदा शुरु मोरङ जि.अ.को फैसला बदर गरिएको छ पुनः ऐन बमोजिम निर्णय गर्नु भन्ने समेतको पू.क्षे.अ.को फैसला ।

८.   पू.क्षे.अ.को फैसला उपर प्र.लेखनाथको पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरी डिभिजन बेञ्ज  समक्ष पेश हुँदा पू.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ भन्ने समेतको फैसला भएको रहेछ ।

     ९.   सर्वोच्च अदालत डिभिजन बेञ्जको ०३६।१०।१४ को निर्णय दोहर्‍याई पाउँ भनी वादी उमादेवीको न्यायिक समिति मार्फत निवेदन परी नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत मुद्दा दोहर्‍याउने सिफारिश जाहेर गर्ने ठहर्छ भन्ने समेतको न्यायिक समितिको पर्चा भई दोहरी फुलबेञ्चको लगतमा दर्ता भएको ।

१०.  डिभिजन बेञ्जको फैसला कानूनसंगत नहुँदा पू.क्षे.अ.को इन्साफ नै मनासिब ठहर्छ। कानून बमोजिम ठहर गर्न मिसिल मोरङ जि.अ.मा पठाई दिने भन्ने समेतको सर्वोच्च अदालत फुल बेञ्चको मिति ०३९।१।१४ को फैसला भई मोरङ जि.अ.मा सरी गएको ।

११.   वादीले आफ्ना पति मोहनप्रसादको भाग बण्डा पाउने नै देखिँदा जीवनाथ जिम्मा रहेको निजका पतिको अंश बुझी लिन पाउने ठहर्छ भन्ने समेतको मोरङ जि.अ.को ०३९।५।२२ को फैसला ।

१२.  मोरङ जि.अ.को इन्साफमा चित्त बुझेन । प्रतिवादीहरू समेतका अंशियारबाट नालेश परेको अघिल्लो दिन सम्मको तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेतको उमादेवी पोखरेलको पू.क्षे.अ.मा पुनरावेदन परेको ।

१३.  वादीको लोग्नेको सही नपरेको बण्डापत्रलाई मान्यता दिई गरेको मोरङ जि.अ.को इन्साफ फरक पर्ने भएबाट विपक्षी झिकाउने भन्ने पू.क्षे.अ.बाट आदेश भएको ।

१४.  मोरङ जि.अ.को फैसला मनासिब ठहर्छ भन्ने समेतको पू.क्षे.अ.को ०४०।११।२८ को फैसला।

१५.  पू.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको वादी उमादेवीको निवेदन परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा उमादेवीले अंश पाउने ठहर्‍याएपछि अंशबण्डाको २० नं. को प्रक्रिया पूरा गर्नु पर्नेमा सो गरेको नदेखिएको र अंशबण्डाको ३२ नं. को त्रुटि गरी प.क्षे.अ.बाट निर्णय भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

१६.  नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिका वादी उमादेवीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शुम्भ थापाले ०२४ सालको बण्डापत्रमा पुनरावेदिकाको पतिको सहिछाप नभएबाट नालेश पर्दाको अघिल्लो दिनसम्मको तायदाती मागी ५ भागको १ भाग अंश दिनुपर्दछ । ०२४ सालको बण्डा पत्रमा मोहनप्रसादका नाउँमा छुट्याएको जीवनाथ जिम्माको जग्गामात्र बुझी लिन पाउने ठहर्‍याई पू.क्षे.अ.बाट भएको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी लेखनाथका तर्फबाट विद्वान अधिवक्ता श्री छविरमण सिटौलाले ०२४ सालमा नै बण्डा भइसकेको हुँदा सो बमोजिम हुँदैन भन्न मिल्दैन । सो बण्डापत्रमा चित्त नबुझे समयमा नै उजूर गर्नु पथ्र्यो त्यसो गर्न सकेको छैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

१७.  अब प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१८.  निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदिका वादीका लोग्ने मोहनप्रसाद विदेश गई नआएको भन्ने कुरामा विवाद छैन । निज मोहनप्रसाद विदेश गएका बखत निजको समेत अंश भाग छुट्याई मिति ०२४।८।३ मा अंशियारहरू बीच अंशबण्डा भएकोमा निजको अंश पिता जीवनाथ जिम्मा रहेको देखिन्छ । सो बण्डापत्र हुँदा अर्को अंशियार हरिकुमार पनि विदेश मै भएकोमा उनको भाग पनि बाबु कै जिम्मा रहेको र पछि विदेशबाट फर्की आएर आफ्नो भाग बुझी बसेको भन्ने देखिन आएको छ । उक्त बण्डापत्रबाट प्राप्त आआफ्नो भोग व्यवहार अंशियारहरूले गरिआएका साथै अंशियार मध्येका गुणराजले आफ्नो अंश भागको जग्गा ०३२।१।११  मा बिक्री गरी दिएको पाइन्छ । आफ्नो लोग्ने विदेशिएकी उमा देवीको लोग्नेको अंशमा हक हुने हुँदा सो आफ्नो समेत अंश लाग्न सक्ने सम्पत्ति बिक्री व्यवहार गर्दा सो उपर कुनै किसिमको उजूर परेको देखिँदैन । २०२४।८।३ मा भएको बण्डापत्रलाई वादीले जालसाजी वा कीर्ते भन्न सकेकी छैनन् । एक अंशियारको सहिछाप नहुँदैमा बण्डापत्रलाई मान्यता नहुने भन्ने प्रश्न उठ्न सक्तैन । बण्डा बराबर नभए या गलत तरिकाले भएकोमा म्यादभित्रै उजूर गर्नुपर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा बण्डा पत्र उपर वादीको उजूर परेको पनि पाइँदैन अर्थात् समयमा नै चुनौती दिन समेत सकेको देखिएन । एकपटक बण्डा छुट्टिई सकेका प्र.जीवनाथ पुनः प्र.लेखनाथसंग मानो जोडी बसेको भए सो मानो जोडिएको रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत भएको लिखत हुनुपर्ने हुन्थ्यो । सो छ भन्न वादी उमादेवीले सकेकी छैनन् । यसर्थमा जीवनाथको सम्पत्तिमा मिति २०२४।८।३ मा रीतपूर्वक सबै अंशियार बीच बण्डापत्र भएको कुरालाई अन्यथा मान्न मिलेन । मोहनप्रसादका अंश भागमा परेको जग्गा हाल सर्भे नापी टोलीमा उमादेवी मोहनप्रसादका नाउँमा कि.नं. २३८।४९८।४९९।५००।५०१। ५०२।५०४।५०५।५०८।५१७।५२०।५२३। समेत गरी १२ कित्ता ओखलढुंगा जि. रातमाटे गा.पं. वार्ड नं. ७ मा कित्ताकाट भएको भन्ने कुरा मिसिल साथ रहेको प्र.लेखनाथले दर्ता खुलाएको मिति ०४४।२।२५ को निवेदनबाट देखिन आएकोले सोही अंश हकको जग्गा पाएको मान्नु पर्‍यो तसर्थ आफ्नो लोग्नेको अंश भाग जीवनाथबाट बुझी लिन पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरी पू.क्षे.अ. बाट भएको फैसला त्यति हदसम्म सदर हुने ठहर्छ । जहाँसम्म बाबु जीवनाथ समेतको लागि राखिएको जिउनीमा पुनरावेदिकाको हक पुग्छ पुग्दैन भन्ने सम्बन्धमा प्र.जीवनाथको जीवन यापनको लागि चानचुन बिगहा १० जिउनी रहेको भन्ने मिति ०२४।८।३ कै बण्डापत्रबाट देखिएको छ । जीवनाथ परलोक भइसकेको भन्ने कुरामा विवाद देखिँदैन । सोही जिउनी राखेको जग्गा मध्येबाट अन्य भाइहरूले भागबण्डा प्राप्त गरेको भन्ने कुरा मिसिलबाट देखिन आउँछ । तर वादी उमादेवी वा निजको लोग्ने मोहनप्रसादले जिउनी बापतको कुनै जग्गा प्राप्त गरेको देखिएन । रामगन्ज गा.पं. वार्ड नं. १ख कि.नं. ९ को जग्गा हालसम्म लेखनाथ कै नाउँमा रहेको भन्ने कुरा मालपोत कार्यालय सुनसरीको ०४४।१।२७ को पत्रबाट देखिएको र सो जग्गा जिउनी मध्ये कै हो भन्ने कुरामा वादी प्रतिवादीको मुख मिलेको छ । जिउनी सम्बन्धी प्रश्न पनि अंश विषयसंग सम्बन्धित हुन्छ । अंश पाउँ भन्ने मुद्दाबाट जिउनीको भाग बण्डा हुन नसक्ने होइन । तसर्थ उक्त ०१७१६ जग्गा प्र. लेखनाथबाट वादीले जिउनी बापतको हक प्राप्त गर्ने ठहर्छ सो पाउनेमा नपाउने ठहर्‍याएको हदसम्म पू.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम जि.सुनसरी रामगन्ज गा.पं. वार्ड नं. १(ख) कि.नं. ९ को ०१७१६ को जग्गा वादी उमादेवी पोखरेलले पाउने ठहरेको हुँदा सो बमोजिम निजका नाउँमा दर्ता कायम गर्नु भनी सुनसरी मालपोत कार्यालयमा लेखिपठाउन सुनसरी जि.अ.मा लेखिपठाउन का.जि.अ.त.मा लगत दिनु…१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…..२

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल आषाढ ८ गते रोज २ शुभम् ।

