August 18, 1964
Created by nepalarchives

निर्णय नं. २४३ – हक सफा

निर्णय नं. २४३            ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २३९ निवेदक,...

निर्णय नं. २४३            ने.का.प. २०२१

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री स.इश्वरीराज मिश्र

दे.फु.नं. २३९

निवेदक, प्रतिवादी : भोजराज अधिकारी

विरुद्ध

विपक्षी, वादी : खड्गबहादुर खत्री क्षेत्री

मुद्दा : हक सफा

(१)   साहु असामीका ९ नं. बमोजिम हकवालाले निखन्न पाउने म्याद कसरी कायम गर्ने ?

            साहु आसामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको उक्त ऐनमा ६ महिना वर्ष दिन भित्र भन्ने बोली नपरेसम्ममा भन्ने लेखिएको, ६ महिना र १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधीसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्न म्याद दिएको देखिन आएको भनी ०१९।७।२४।६ मा फुल बेञ्चबाट व्याख्या भई निर्णय भईसकेको हक सफा गर्ने म्याद ६ महिनासम्ममात्र हो की भन्न, बेचे किनेका मितिले ६ महिनाको अन्त्यतिर थाहा पाएँ, त्यसबाट ३५ दिन म्याद नपाउने हुनजाने त्यसमा पनि यस्तो हक सफा मुद्दा अन्य मुद्दा सरह दावी गरेमात्र पुग्ने नभई उजुरी साथ धरौटसमेत राख्नु पर्ने ६ महिनाको आखिरी दिनमा थाहा पाए सो दिनमै धरौट राखी उजुर गर्न साधारणतः मुस्किल पर्न पनि जाने, थाहा पाएको ३५ दिन भित्र भन्ने वाक्यांश निरर्थकसमेत हुन जाने हुँदा थैली बन्दोवस्त गर्नको निमित्त पनि थाहा पाएको ३५ दिन दिइएको भन्ने सिद्ध हुन आउने हुनाले ६ महिनासम्म थाहा पाउने म्याद र थाहा पाएको ३५ दिनभित्र उजुर गर्ने म्याद दिएको देखिएको भनी ६ महिनाको आखिरी दिनमा थाहा पाएमा त्यसबाटसमेत ३५ दिन अर्थात ६ महिना ३४ दिनसम्म म्याद पाउने गरी निर्णय भएको न्यायोचितै देखिएको प्रस्तुत उजुरी ६ महिना १ दिनको दिन थाहा पाएको भनेको ३५ दिन भित्रै हुँदा म्याद नाघेको भन्न मिलेन ।

(प्रकरण नं.११)

फैसला

      १.     दुर्गाबहादुर खत्री क्षेत्री मेरो भतिजो भएको निजले आफ्ना हक भोगको प्र.कमला खोजमा पचरुपी र ऐ.जुठपानीको तपसीलबमोजिमको जग्गा बिगाहा २२।।१।३ भा.रु. १०५०० मा भोजराज अधिकारीलाई ०१७।७।२८ गते महोत्तरी मालमार्फत रजिष्ट्रेशन पास गरी सुक्रिबिक्री राजिनमा गरी दिएछन । सो कुरा मैले ०१८।१।२० गतेमात्र थाहा पाएकोले थाहा पाएको ३५ दिन भित्र लेखिएको भा.रु. १०५०० धरौट राख्न आएको छु । सो रुपैयाँ बुझ्न लगाई हक सफा गराई पाउँ भन्नेसमेत खड्गबहादुरको ०१८।१।२८।४ को दर्खास्त ।

      २.    लेखिएको जग्गा बिगाहा २२।।१.३ भा.रु. १०५०० मा दुर्गाबहादुरबाट ०१७।।७।२८ मा महोत्तरी मालमार्फत रजिष्ट्रेशन पास गरी लिएको र अरु नगदी जिन्सीको असामीसमेत सकार गरेको भा.रु. ५०० खर्च गरी सिखर घर बनाएको ६ महिना भित्रको उजुरसमेत नहुँदा खारेज गरी पाउँ भन्नेसमेत भोजराज अधिकारीको प्रतिवादी बयान ।

      ३.    दुर्गाबहादुरको ३ पुस्ता भित्रको काका खड्गबहादुर भन्ने देखिएको हकदार होइन भन्न प्रतिवादीले नसकेको । थाहा पाएको ३५ दिन भित्र धरौट राखेको देखिएकोले वादीले धरौट राखेको थैली प्रतिवादीले बुझी लिनु पर्ने ठर्हछ भन्नेसमेत रघुनाथपुर मालको १८।८।५।२ को फैसला ।

      ४.    सा.अ.का. ९ नं. बमोजिम ६ महिनासम्ममा निखन्न पाउँछ भन्ने लेखिएकोले सो ६ महिनाको हद भित्रै ३५ दिन पाएको मिति म्याद कायम हुने भन्ने देखिएकैमा हद नाघेकोलाई म्याद भित्रको भनी निखन्न पाउने गरी भएको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी भोजराज अधिकारीको अपील ।

      ५.    बेचे किनेका मितिले हकवाला सरहदमै भए ६ महिनासम्ममा थाहा पाएको ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने स.अ. को ९ नं. प्रष्ट लेखिएको वादीको उजुर ६ महिनाभित्रको नभई १ दिन नाघेको देखिएकोले वादीले निखन्न नपाउने ठर्हछ भन्नेसमेत म.स.गो. को १८।१२।२१ को फैसला ।

      ६.    म्यादभित्र धरौट राखेकोलाई म्याद नगाई धरौट राखेको देखिएको भनी निखन्न नपाउने गरी भएको फैसालमा चित्त बुझेन भन्नेसमेत वादी खड्गबहाुदरको अपील ।

      ७.    ६ महिनासम्म थाहा पाएका ३५ दिन भित्र हक सफा गर्न पाउने बराबर व्याख्या भईसकेको हुनाले म्याद नाघेको भन्ने नदेखिने हुनालेसमेत थैली बुझ्न पर्ने ठहराएको शुरु मालको इन्साफ मनासिव भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेनचको ०२०।२।६ को फैसला ।

      ८.    म्याद नाघी धरौट रहेकोमा निखन्न पाउने ठहराई डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भोजराज अधिकारीको बिन्तिपत्र ।

      ९.    सर्वोच्च अदालत डिभिजन बेञ्चबाट छिनिएको इन्साफमा चित्त बुझेन दोहर्‍याई हेरी पाउँ भन्नेसमेत तपसीलका मानिसले चढाएको तपसीलका निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा निजहरूको व्यहोरा साँचो भए रुल नियम बमोजिकको फुल बेञ्चबाट एकपटक दोहर्‍याई हेरी ऐन सवालबमोजिम निर्णय गरी दिनु भनी त्यहाँ पठाउन मौसूफबाट हुकुम बक्सेकोले सोबमोजिम हुन तपसीलका निवेदन पठाएको छ भन्नेसमेत मौसुफका विशेष जाहेरी विभागबाट लेखी आएको ०२०।५।४।३ को हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूको ०२०।५।१७।२ को आदेश ।

      १०.    यसमा तारेखमा रहेका निवेदक, प्रतिवादी भोजराज अधिकारी र वादीको वारेस होमबहादुर खत्रीसमेत राखी गत श्रावण २० गते पेश भई वादीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहस सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा निवेदक भोजराजतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद उपाध्यायले र वादीतर्फका वकीलहरूले पेश गर्नु भएको बहसनोटसमेत हेरी विचार गर्दा,

      ११.    साहु आसामीको ९ नं. बमोजिम हकवालाले हक सफा गर्ने म्याद सम्बन्धमा निवेदक, प्रतिवादी गुणनिधि घिमिरे जैशी विरुद्ध वादी छबिन्द्र शर्मा मरी मुद्दा सकार गर्ने मणिकर्णीका भएको जग्गा निखनाई पाउँ भन्ने मुद्दा साहु असामीको ९ नं. मा बेचे किनका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको उक्त ऐनमा ६ महिना वर्ष दिनभित्र भन्ने बोली नपरेसम्ममा भन्ने लेखिएको ६ महिना र १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधीसम्ममा म्याद पाएको ३५ दिन भित्र निखन्न म्याद दिएको देखिन आएको भनी ०१९।७।२४।६ मा फुल बेञ्चबाट व्यवस्था भई निर्णय भईसकेको, हक सफा गर्ने म्याद ६ महिनासम्ममात्र हो कि भन्न बेचेकिनेका मितिले ६ महिनाको अन्त्य तिर थाहा पाए त्यसबाट ३५ दिन म्याद नपाउने हुन जाने, त्यसमा पनि यस्तो हक सफा मुद्दा अन्य मुद्दा सरह दावी गरेमात्र पुग्ने नभई उजुरी साथ धरौटसमेत राख्नुपर्ने, ६ महिनाको आखिरी दिनमा थाहा पाएमा सो दिनमै धरौट राखी उजुर गर्न साधारणतः मुस्किल पर्न पनि जाने, थाहा पाएको ३५ दिन भित्र भन्ने बाक्यांश निरर्थकसमेत हुन जाने हुँदा थैली बन्दोबस्त गर्नको निमित्त पनि थाहा पाएको ३५ दिन दिइएको भन्ने सिद्ध हुन आउने हुनाले ६ महिनासम्म थाहा पाउने म्याद र थाहा पाएको ३५ दिन भित्र उजुर गर्ने म्याद दिएको देखिएको भनी ६ महिनाको आखिर दिनमा थाहा पाएमा त्यसबाटसमेत ३५ दिन अर्थात ६ महिना ३४ दिनसम्म म्याद पाउने गरी निर्णय भएको न्यायोचितै देखिएको प्रस्तुत उजुरी ६ महिना १ दिनको दिन थाहा पाएको भनेको ३५ दिन भित्रै हुँदा म्याद नाघेको भन्न मिलेन ।

      १२.   हामीले किनी लिएपछि सो जग्गा घर बनाएकोले वादीले अगावै थाहा पाएको म्याद भित्र उजुर नगरेको भन्ने निवेदकतर्फबाट जिकिर लिएको र तत्सम्बन्धमा नजीरमा देखाइएको डिभिजन बेञ्चबाट भएको निर्णय नं. ११५ शुकदेव खवास विरुद्ध नारायणप्रसाद श्रेष्ठको हक सफा मुद्दामा निखन्न दिन नपर्ने भनी तेरो मेरो परेकोले अदालतमा नालेस दिनजानु भनी सुनाउने गरेको देखिनाले कसो हो भन्नेतर्फ सो मुद्दा हेर्दा, हक सफा गरी पाउँ भन्ने वादी दावीमा जग्गा लिई घर बनाई आली धुर बगैंचासमेत लगाएको देखि मैले दिएको कुरा मौकैमा थाहा पाएको, वादीको बाबु धनप्रसाद पद्मप्रसादको बण्डपत्रमा यो २ बिगाहा जग्गा बाहेक भन्ने लेखेको म्याद नघाई छोराबाट उजुर गरेकोमात्र हो भन्ने इन्कारी लिई त्यस कुराको पुष्ट्याईं निमित्त बण्डापत्र सबुद र उजुरवालाको बाबुसमेत भएको कुरा देखिएको, प्रस्तुत मुद्दामा निवेदक, प्रतिवादीले जग्गा लिई घर बनाएको भन्ने कुरा वादीलाई जानकारी भएको सबुद प्रतिवादीतर्फबाट पुर्‍याए त्यस कुराको विचार हुने त्यस्तो सबुद प्रतिवादीतर्फबाट कुनै पेश हुन नआएको, जग्गा बिक्री गर्नतर्फबाट घर बनाएको हो कि भनी हकवालाले सम्झन पनि सक्ने हुँदा प्रतिवादीले नै राजिनामा लिई घर बनाएको कुरो वादीले अघि थाहा पाई सकेको भन्ने कुरालाई पुष्ट्यार्इं गर्ने सबुदको अभावमा घर बनेकै भरले निवेदकले जग्गा राजिनामा गराई लिएको भन्ने कुरा वादीले थाहा पायो भन्न सम्झन नहुने मनासिव कारण देखाई थैली बुझ्न इन्कार लिएको नदेखिएकोबाट उक्त डिभिजन बेञ्चबाट निर्णय भएको निर्णय नं. ११५ को मुद्दा अनुरुप प्रस्तुत मुद्दा नहुँदा नालेस दिन जानु भनी सुनाउनु नपर्ने हुनालेसमेत प्रतिवादीले थैली बुझी लिनु पर्ने हराएको शुरु मालको सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२०।२।६।२ को इन्साफ मनासिव ठर्हछ । निवेदक भोजराज अधिकारीले इन्साफ दोहराएमा यस अघिका डिभिजन बेञ्चका फैसलाले लिने गरेको जरिवाना रु. ५। को अ.बं. २०४ नं. ले दशौद रु. ।५० जरिवाना लाग्छ रुजू हुँदा असूल गर्नु भनी तहसील लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।

     

इति सम्वत् २०२१ साल भाद्र ३ गते रोज ३ शुभम् ।