July 28, 1987
Created by nepalarchives

निर्णय नं. ३१६९ – लिखत बदर

निर्णय नं. ३१६९   ने.का.प. २०४४    अङ्क ८   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको...

निर्णय नं. ३१६९   ने.का.प. २०४४    अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ६८१

मुद्दा : लिखत बदर ।

 

पुनरावेदक/प्रतिवादी:गण्डकी अञ्चल जिल्ला कास्की राखी गा.पं. वार्ड नं.४ बराल डाँडाको हाल              जि.तनहुँ कमलटार गा.पं. वार्ड नं. ७ अमल पानी बस्ने सरस्वती बराल ।

        जि. कास्की राखी गा.पं. वडा नं. ४ बराल डाँडा बस्ने हीमादेवी भण्डारी ।

विरुद्ध

विपक्षी/वादी: ऐ. ऐ. बस्ने नारायण बराल ।

        ऐ.ऐ बस्ने अनन्त बराल ।

        ऐ.ऐ बस्ने खडानन्द बराल ।

        ऐ.ऐ बस्ने कमलापति भन्ने चूडामणि बराल ।

फैसला भएको मिति: २०४४।४।१२।३ मा

    छुट्टी भिन्न भएको भन्ने कुरा प्रतिवादीले सबुद गुजार्न सकेको नदेखिँदा एकासगोलको पैतृक सम्पत्तिमा अंशियारको मन्जूरी बिना बिक्री गरेको लेनदेन व्यवहारको १० नं. र अंशबण्डाको ११ नं. ले सदर नहुने हुँदा कि.नं. ८६ प्र.ले दाइजो पेवाबाट निखनी लिएको भन्ने देखिँदा सो बदर नहुने भन्ने ठहर गरेको क्षे.अ. को इन्साफ मनासिब ठहर्र्छ, कि.नं. ३४४ अंश हकको जग्गा प्रतिवादीले बिक्री गरेकोमा वादी दावी बमोजिम ७ अंशियार कायम गरी ७ भागको ४ भाग बदर गर्नुपर्नेमा प.क्षे.अ.बाट ६ भागको ४ भाग बदर गर्ने भन्ने हदसम्म उल्टी हुने ।

(प्रकरण नं. १६)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री चूडामणि राज सिंह मल्ल

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बरप्रसाद सिंहः  पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा जिकिर यसप्रकार छ :

२.  मेरो दुई श्रीमतीमा कान्छी सरस्वती बराल जेठी उमादेवी बराल हुन । कान्छी श्रीमतीकी तर्फ ३ भाइ छोरा अनन्त बराल, नारायण बराल, षडानन्द बराल समेत ७ अंशियार जेठी श्रीमती सहित म रोजगारका लागि विदेश भारत सिलाङमा बसेको छु । यहाँ नेपाल सरहदमा रहेको सम्पत्ति कान्छी श्रीमती सरस्वतीको रेखदेख जिम्मामा दिई कहिले काहीँ यहाँ आई घर व्यवहार सबै हेरी जाने गरेको थिएँ । म नेपाल नआएको अवस्थामा २०३१ सालको सर्भेमा जग्गा सबै श्रीमतीले आफ्ना नाउँमा कित्ताकाट गराएकी छन् । २०३६।११।१९ का दिन विपक्षी श्रीमतीले मेरो पैतृक सम्पत्ति हीमादेवी भण्डारीलाई कि.नं. ३४४ को रोपनी ११ र कि.नं. ८६ को रोपनी ४२ खेत क्रमशः रु. ८,०००।र रु. ४२,०००।जम्मा रु. ५०,०००।मा राजीनामा बिक्री गरेको म विदेशबाट चैत्र १९ गते घर आउँदा हल्ला सुनी कास्की मालमा गई ०३६।१२।२० गते उक्त राजीनामाको नक्कल सारी लिंदा यथार्थ थाहा भयो । लोग्नेबाट छुट्टी भिन्न भई मेरो हक भएको भन्ने समेत झुठ्ठा व्यहोरा लेखाई सबै अंशियारहरूको अंश भाग समेत मेटिने गरी लिखत गरेको हुँदा ७ भागको ५ भाग लिखत बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.  मेरो विवाहित खसम परलोक भई विधवा रहेकी र मेरी छोरी र गंगाप्रसादको छोराको बीच विवाह भएपछि सोही नाताबाट आवत जावत हुँदा चूडामणिसंग मेरो वैवाहिक सम्बन्ध भई २०१७ सालमा रामचन्द्र जन्मेपछि खसम विदेश गई चिठ्ठी समेत नपठाउनु भएको थियो यसै अवस्थामा जेठाजु छोरा रुद्रप्रसादले आफ्नो अंशको जग्गा मध्ये यही वादी दावीको सेसो भन्ने खेत मुरी ।३६।१० मध्ये खेत मुरी ।१२।३ मुल्य रु. ३,०००।मा २०२६।९।२४ मा इश्वरीप्रसाद राना भाटलाई राजीनामा पास गरी दिँदा मैले मुद्दा दिई निखनी पाउने ठहर भई सो जग्गा २०२९।८।६।३ मा कास्की मालबाट मेरो पेवा धनले निखनी मेरो हक भई भोगचलन तिरो भरो गरेकी र लोग्ने घरमा नआई विदेशमा नै हुँदा घरको मुख्य मानिस समेत म नै थिएँ । २०३० साल पौष महीनामा निज खसम चूडामणि अकस्मात आई आसाममा गोठको व्यवसाय गरी त्यहाँ घरजम गरी बसे । तिमीहरू आमा छोरा पनि उतै हिंड भन्नु भएकोमा यहाँको सम्पत्ति बिक्री गरी सौताको पञ्जामा जान्न भनी भन्दा त्यसो भए यहाँको मेरो अंशको जग्गा तिमीहरूले आफ्नो अंश जति खाओ भन्नु भएकोले मैले आफ्नो तर्फबाट तिरो भरो नामसारी गरी सर्भेमा समेत मेरो पेवा र खसमको अंशको पैत्रिक सम्पत्ति समेत मेरा नाउँमा दर्ता गरेकी र दर्ता जग्गा हकको बिक्री गर्न मन्जूर लिन नपर्ने हुँदा हामी साहु आसामीले लिनु दिनु गरी पास गरेका हौं । दर्ता र अघिको फैसला बमोजिम उक्त राजीनामाको पुरै लिखत सदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.  वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेको ।

५.  वादी मध्ये उमेर पुगेकी जग्गा देवी बरालको वारेस अख्तियारामा बेगरको फिराद हुँदा निजका हकमा इन्साफ गर्न नमिली खारेज हुने र अरु वादी ४ जना चूडामणी समेत प्र.मध्ये सरस्वती बरालसंग साझा सगोल रहेका देखिँदा निजहरूको भाग जति रु.  ५०,०००।मिति ०३६।११।१९ मा आसामी सरस्वती बराल साहू हीमा देवी भण्डारी भई लेनदेन गरी पारीत गरे गराएको राजीनामा लिखत मध्येबाट ४ जना वादीहरूको भाग जति ४ खण्ड बदर हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको ०३७।९।२१ को फैसला ।

६.  उक्त इन्साफ उपर हीमादेवी भण्डारी समेतको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको ।

७.  प्र. सरस्वती बरालले आफ्नो दाइजो रुपैयाँबाट हक सफाबाट निखनी लिएको सम्पत्ति आफ्नो खुस गर्न पाउने देखिँदा लिखत बदर गरिपाउँ भन्ने समेत वादी दावा पुग्न सक्दैन। शुरुको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत गण्डकी अञ्चल अदालतबाट मिति २०३९।११।१।१ मा भएको फैसला ।

८.  गण्डकी अञ्चल अदालतको फैसला प्रत्यक्ष कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको प.क्षे.अ.मा पर्न आएको निवेदन ।

९.  यसमा सरस्वती बराल्नीले हकसफा गरी लिएको सम्पत्ति भन्दा बढी जग्गा बिक्री गरेको देखिँदा प्रमाण छाडी निर्णय गरेको देखियो । पुनरावेदनको अनुमति दिइएको छ । नियम बमोजिम पेश गर्नु भन्ने प.क्षे.अ.को ०४१।३।१५।५ को आदेश ।

१०. हक सफा गरिदिएको भन्दा बढी सम्पत्ति बिक्री गर्ने हक सरस्वतीलाई नहुँदा चूडामणि र निजको जेठी श्रीमती उमा देवी पट्टिका छोरा ३ समेतका हकमा हकसफा गरी लिएको जग्गा बाहेक ६ भागको ४ भाग जग्गाको लिखत बदर हुने ठहर्छ । गण्डकी अञ्चल अदालतको फैसला केही उल्टी हुन्छ भन्ने समेत प.क्षे.अ.बाट भएको फैसला ।

११.  उक्त इन्साफमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा पर्न आएको पुनरावेदन ।

१२. यसमा गण्डकी अञ्चल अदालतको मिति २०२९।५।१० को फैसला बमोजिम प्रतिवादी सरस्वती बरालले मिति २०२९।८।६ मा रुद्रप्रसाद बराल र इश्वरीप्रसाद बरालबाट हकसफा गरी लिएको पेश भएको भर्पाईको नक्कलबाट देखिन्छ । तर प्रतिवादी सरस्वती बरालले खेत मुरी ६।१।५।४ हकसफा गरी लिएको प्रमाण मिसिलबाट देखिन्छ भन्दै ६ भागको ४ भाग जग्गाको लिखत बदर हुने ठहर्‍याई प्रमाणको गलत मूल्याड्ढन गर्दै प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि गरी प.क्षे.अ.बाट भएको ०४२।७।२१ को फैसला सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि विद्यमान हुँदा अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको आदेश।

१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रही इजलास समक्ष उपस्थित हुन आएका वादी प्रतिवादीका वा.समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी वादीहरूका तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्लले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१४. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१५. यसमा नेपाल सरहदमा रहेको सम्पत्ति कान्छी श्रीमती सरस्वतीको रेखदेख जिम्मामा दिई विदेश भारत सिलाङ गई बसी घर आउँदा कान्छी श्रीमतीको रेखदेखमा रहेको सम्पत्ति हिमा देवी भण्डारीलाई कि.नं. ३४४ र कि.नं. ८६ को समेत राजीनामा बिक्री गरी दिएकोले झुठ्ठा व्यहोरा लेखाई हामी अंशियारहरूको अंश भाग समेत मेटिने गरी लिखत गरेको हुँदा ७ भागको ५ भाग लिखत बदर गरी हक इन्साफ पाउँ भन्ने फिराद दावी भएकोमा कि.नं. ८६ मा प्र.सरस्वतीको दाइजो पेवाबाट निखनाएको बदर नहुने र अरु जग्गा लोग्ने छोराको मन्जूर बेगर बिक्री गर्न लेनदेन व्यवहारको १०  नं. ले प्र. सरस्वतीलाई हक नपुग्ने हुँदा अंशियारा ७ जना मध्ये उमादेवीको हकमा जि.अ.बाट खारेज गरेकोमा पुनरावेदन नपरी अन्तिम रुपमा रहेकोले निजको हकमा विचार गर्नु नपरी ६ भागको ४ भाग मात्र बदर हुने ठहर्छ भन्ने म.क्षे.अ.को इन्साफ भएको पाइन्छ ।

१६. इन्साफतर्फ विचार गर्दा उमादेवी समेत ७ अंशियारा भएको कुरामा विवाद रहेन । जेठी श्रीमती उमादेवीको पुनरावेदन नपरे पनि निज अंशियाराबाट वञ्चित गर्न मिल्ने देखिएन । निजको पुनरावेदन नपरेबाट बिक्री गरेकोलाई समर्थन गरेको मान्नु पर्ने हुन आयो । बाँकी चूडामणि समेतका ४ जनाका हकमा विचार गर्दा छुट्टि भिन्न भएको भन्ने कुरा प्रतिवादी सरस्वती बरालले सबुद गुजार्न सकेको नदेखिँदा एका सगोलको पैत्रिक सम्पत्तिमा अंशियाराको मन्जूर बिना बिक्री गरेको लेनदेन व्यवहारको १० नं. र अंशबण्डाको ११नं. ले सदर नहुने हुँदा कि.नं. ८६ प्र. ले दाइजो पेवाबाट निखनी लिएको भन्ने देखिँदा सो बदर नहुने भन्ने ठहर गरेको क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । कि.नं. ३४४ अंश हकको जग्गा प्रतिवादी सरस्वतीले बिक्री गरेकोमा वादी दावी बमोजिम ७ अंशियार कायम गरी ७ भागको ४ भाग बदर गर्नु पर्नेमा प.क्षे.अ.बाट ६ भागको ४ भाग बदर गर्ने भन्ने हदसम्म उल्टी हुने ठहर्छ । कोर्ट फी राखी मुद्दा दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल श्रावण १२ गते रोज ३ शुभम् ।

