निर्णय नं. ३१६८ – उत्प्रेषण
निर्णय नं. ३१६८ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रिट नं....
निर्णय नं. ३१६८ ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४३ सालको रिट नं. १५४०
विषय : उत्प्रेषण ।
रिट निवेदक: जिल्ला पर्सा भौराटार गा.पं.वा.नं. ५ बस्ने किसुन राउत कुर्मी ।
विरुद्ध
विपक्षी : ऐ. ऐ. बस्ने सत्य नारायण रौनियार ।
ऐ.ऐ बस्ने हीरालाल रौनियार ।
ऐ.ऐ बस्ने जवाहरलाल रौनियार ।
भू.सु.अ.भू.सु.का. पर्सा ।
आदेश भएको मिति: २०४४।३।३०।३ मा
विवादित साल देखि अघिको पनि किसिम अनुसारको बाली विपक्षी जग्गाधनीले बुझिलिएको र सो भन्दा पछि पनि विभिन्न सालका बाली बुझी भर्पाई गरिदिएको मिसिल सामेल रहेको भर्पाईबाट देखिन्छ, यस्तो स्थितिमा सो विवाद गरेको साल भन्दा पछि पनि विपक्षीले निवेदकलाई मोही मानी कुत बुझी भर्पाई गरेको देखिँदा देखिँदै पनि यति लामो समय पछि दावी गरेको सालको रसीद नभएकोले भनी बाली भराई जग्गाबाट निष्कासन गर्ने गरी गरेको निर्णय कानून अनुरुप मिलेको देखिन नआउने ।
(प्रकरण नं. ९)
रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्ग,विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
उल्लेखित मुद्दाःX
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर निम्नानुसार छ ।
२. मेरो नाम दर्ता मोराटार गा.पं.वा.नं. ६ स्थित कि.नं. १५१ को ज.वि. ०–९–० ऐ.कि.नं. १७२ को ज.वि. ०–६–१२ ऐ.कि.नं. १७८ को ज.वि. ०–४–६ ऐ.कि.नं. २२५ को ज.वि. ०–१–० समेत ज.वि. १–०–१८ समेतको मोही किसुन राउत कुर्मी भएकोमा २०२७ सालको कुतबाली नबुझाएकोले कुतबाली भराई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी १ नं. को निवेदन विपक्षी नं. ४ को कार्यालयमा परी विपक्षी नं. ४ ले मोही निष्कासन गर्ने गरी २०२८।८।१० मा निर्णय गर्यो।
३. विपक्षी नं. ४ ले मलाई प्रतिवादीको मौका नै नदिई गरिएको विपक्षी नं. ४ ले गरेको निर्णय उपर मेरो निवेदन सम्मानीत अदालतमा परी मिति २०३९।१२।१९ मा विपक्षी नं. ४ को निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरियो । सो फैसला बमोजिम गरिपाउँ भनी मेरो निवेदन परेपछि एउटै विषयवस्तु उपर विपक्षी नं. १ को निवेदन विपक्षी नं. ४ बाट गरेको भिन्ना भिन्नै फैसला उपर छुट्टाछुट्टै निवेदन लिई आजै सम्मानीत अदालतमा आएको छु । २०२७ सालको भर्पाई पेश गर्न नसकेको भन्ने हचुवा किसिमले यति लामो समयसम्म उक्त जग्गा जोती आफू र आफ्नो परिवारहरूको जीवन व्यतित गर्दै आइराखेको म एउटा निमुखा किसानका मोहियानी हक अधिकार माथि कुण्ठित पार्दै विपक्षी नं. ४ ले न्यायिक मनको प्रयोग गर्दै नगरी मिसिल सामेल रहेको प्रमाण तथा पूर्व फैसलालाई मिल्काई पूर्वाग्रही भई गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३, ३४, ५४ अ.बं. १८४(क), १८५, १८९, भू.सं. ऐन, २०२१ को दफा २(ख) २५, २९ अदालतका पूर्व फैसलाहरू तथा सम्बद्ध नजीर समेतको विपरीत हुन गएको छ । विपक्षी नं. ४ को मिति ०४३।३।९ को निर्णयले संवैधानिक प्रत्याभूति धारा १०, ११(२)ङ र १५ का मौलिक हक अधिकारको हनन् हुन गई अन्य उपचारको बाटो नहुँदा धारा १६।७१ अनुरुप सम्मानीत अदालतमा यो निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेशद्वारा विपक्षी नं. ४ को मिति ०४३।३।९ को निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेशगर्नु भनी तत्कालीन सिं.बे.को आदेश ।
५. २०२७ सालको बाली धान नबुझाएकोले बिगो दिलाई भराई मोहीबाट निष्कासन गरिपाउँ भनी भू.प्र.का. पर्सामा म जग्गावाला सत्यनारायण रौनियारले निवेदन चढाउँदा विपक्षीले म्याद गुजारी बसेबाट विपक्षीलाई मोहीबाट निष्कासन हुने ठहर्याई बिगो रु. ३०३।८७ भरी पाउने गरी मिति ०२८।८।१०।६ मा भू.प्र.का. पर्साबाट निर्णय भएको सो निर्णय उपर विपक्षीको सम्मानीत सर्वोच्च अदालतमा रिट निवेदन परी सो निर्णय बदर हुने गरी यस अदालतबाट मिति २०२९।१२।१९।१ मा निर्णय भयो । बाली भराई मोही निष्कासन गरिपाउँ भन्ने मेरो उजूरी वादी दावी यथावत कायम नै रहयो । भू.सु.का. पर्साबाट पछि म्याद जाँदा विपक्षीले प्रतिवाद गरे पछि सो मुद्दामा सक्कल भर्पाई पेश गर्न नसकेकोले भू.सं. ऐनको दफा २ बमोजिम मोही निष्कासन गरिदिने ठहर्छ कुतबाली भराई रहन नपर्ने ठहर्याई भू.सु.का. पर्साबाट ०४३।३।९ मा निर्णय भएको विपक्षीको रिट निवेदन कानूनी व्यवस्थाको विपरीत हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सत्यनारायण रौनियार समेत ३ तीनको संयुक्त लिखितजवाफ ।
६. यसमा रिट निवेदकले कुतबाली नबुझाए बापत यस कार्यालयबाट निजलाई निष्कासन हुने गरी मिति २०२८।८।१० मा निर्णय भएकोमा प्रतिवाद लिने मौका नदिएकोले निर्णय बदर भई पुनः निर्णय गर्नु पर्दा कुतबाली बुझिलिएको भर्पाई अ.बं. ७८ नं. बमोजिम ज.ध.लाई देखाउनु पर्ने अवस्थामा रिट निवेदकले पेश गर्न नसकेको रिट निवेदकले आफू मोही भई गर्नु पर्ने कर्तव्य पूरा गरेको देखिएन । कुत बुझाउने मोहीलाई भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम निष्कासन गरिएको छ । यसरी नियम बमोजिम भएको निर्णय बदर गर्न नपरी रिट निवेदकको उजूरी नै खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सू.का. पर्साको लिखितजवाफ ।
७. नियमानुसार निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकतर्फबाट रहनु भएको अधिवक्ता प्रकाश वस्ती र विपक्षी सत्यनारायण समेत तर्फबाट रहनु भएको अधिवक्ता गजेन्द्रबहादुर प्रधानाड्ड र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएको मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा समेतले गर्नु भएको बहस जिकिर समेत सुनियो मुख्यतः रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो वा होइन सो को निर्णय दिनु पर्ने हुन आयो ।
८. मलाई विवादित जग्गाबाट निष्कासन गर्ने गरेको निर्णय गैरकानूनी भई बदर गरिपाउँ भनी रिट निवेदकले मुख्य जिकिर लिएको पाइन्छ ।
९. यसमा यही विवादित जग्गामा ०२७ सालको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी यिनै निवेदक उपर जग्गाधनी विपक्षी सत्यनारायणले दिएको उजूरीमा बाली भराई जग्गाबाट निष्कासन गरिदिने ठहर्याई भू.सु.का.बाट ०२८।८।१० गते निर्णय भए उपर यिनै निवेदकले ०२८ सालको रिट नं. ११५१ मा दिएको रिट निवेदनमा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्याई तत्कालीन डिभिजन बेञ्जबाट ०२९।१२।१९ मा निर्णय भएको देखिन्छ । सोही ०२७ सालको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी पुनः जग्गाधनी विपक्षीले भू.सु.का. पर्सामा दिएको निवेदनमा बाली बुझाई सकेको छु भर्पाई हराएकोले झुठ्ठा उजूर गरेको हो त्यसपछि र अघिको सालसालको भर्पाई मौजूद छ भन्ने प्रतिवाद भएको पाइन्छ । विवादित सालदेखि अघिको पनि किसिम अनुसारको बाली विपक्षी जग्गाधनीले बुझिलिएको र सो भन्दा पछि पनि विभिन्न सालका बाली बुझी भर्पाई गरिदिएको मिसिल सामेल रहेको भर्पाईबाट देखिन्छ । यस्तो स्थितिमा सो विवाद परेको साल भन्दा पछि पनि विपक्षीले निवेदकलाई मोही बाली कुत बुझी भर्पाई गरेको देखिँदा देखिँदै पनि यति लामो समय पछि दावी गरेको सालको रसीद नभएकोले भनी बाली भराई जग्गाबाट निष्कासन गर्ने गरी गरेको निर्णय कानून अनुरुप मिलेको देखिन नआएकोले विपक्षी भूमिसुधार कार्यालय पर्साको ०४३।३।९ को निर्णय अनाधिकृत एवं गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फायल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल आषाढ ३० गते रोज ३ शुभम् ।