August 11, 1964
Created by nepalarchives

निर्णय नं. २४० – बकसपत्र जालसाजी

निर्णय नं. २४०            ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २९० निवदेक     ...

निर्णय नं. २४०            ने.का.प. २०२१

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री

न्यायाधीश श्री स.इश्वरीराज मिश्र

दे.फु.नं. २९०

निवदेक      : आशाकाजी बाडे श्रेष्ठ

विरुद्ध

विपक्षी : न्हुछेमायाँ श्रेष्ठनीसमेत

मुद्दा : बकसपत्र जालसाजी

(१)   आयस्थाले वर्ष दिन खान पुग्ने रहेछ भने विधवाले आफ्नो हकका सबै आफु खुसी गर्न नमिल्ने ऐनले दिएको अधिकार भन्दा बढी प्रयोग गरी कानूनी निर्देशन नाघि अर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने ।

(२)   वर्ष दिनको आयस्थाले खान पुग्ने रहेछ भने विधवाले कतिसम्म आफू खुसी गर्न पाउने ऐनले दिन पाउने भन्दा बढी आर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने ।

            बकसपत्र गरिदिने हिराकुमारी र वादीसमेत अंश पाउन बाँकी ३ अंशियारको पूर्व १ नं. बनेपामा घर खेत र चाबेलमासमेत २ घर भएको देखिएको सो घर जग्गाहरूको आम्दानीले खान नपुग्ने भन्ने देखिन नआएकोले हिराकुमारीले आफ्नो हक सबै खुस गर्न पाउने भन्न मिलेन । अंशबण्डा उठाई नसकेको अवस्थामा वादीसमेतका छोराहरूले हेर विचार नगरेको भन्ने सबुद प्रतिवादीतर्फबाट दाखिल पेश हुन आएको पनि देखिएन । छोराहरूले हेरविचार नगरेको भन्ने सबुदको अभाव र खान पुग्ने स्थिति उक्त ऐनबमोजिम हिराकुमारीले आफ्नो हकमा ३ खण्डको १ खण्डमात्र खुस गर्न पाउनेमा बनेपाको घरखेत बाजेको पालाको भन्ने आशाकाजीको जिकिर भएको सो हैन भन्न प्रतिवादीले नसकेकोले सो घर जग्गामा ६ खण्डको १ खण्ड र चाबेलको घरतर्फमा ३ खण्डको १ खण्ड खुस गर्न पाउने देखिन्छ । यसरी कानूनले निर्देश गरे भन्दा बढी मुद्दा पर्दै रहेको अवस्था यी वादीसमेतका छोराहरू कसैलाई साक्षी नराखी आमा छोरीसमेतको मिलेमतोबाट मुद्दा पारी पराई बकसपत्र लिनु दिनु गरेको देखिदा हिराकुमारीको अंश हकजतिको उक्त ऐनले खुस गर्न पाउने बाजेका पालाको ठहरेको बनेपाको घर जग्गा मध्येबाट ६ खण्डको १ खण्ड र चाबेलको घर जग्गा र अरु सम्पत्तिको ३ खण्डको १ खण्डसम्म बकसपत्र सदर ठर्हछ, सो भन्दा बढी ऐनले दिन नपाउनेमा वादीसमेतको हक मेट्ने गरी लिनु दिनु गरेको बदर हुने ठर्हछ ।

(प्रकरण नं. १४,१५)

निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा ।

प्रतिवादी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी ।

फैसला

            सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको इन्साफमा चित्त बुझेन मुद्दा दोहोर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, वादीले दिनु भएको बिन्तिपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

      १.     मैले दिएको बण्डापत्र पास मुद्दा आमा हिराकुमारीले दिएको अंश मुद्दा परी रहेको छंदै ७३ वर्ष पुगी सकेकी आमा हिराकुमारीलाई वारिसनामा इत्यादि भनी सही गराई छोरी न्हुछेमायाँलाई शेषपछिको बकसपत्र प्रतिवादीहरू मिली जालसाजीबाट मेरो मञ्जुरी बेगर ०१३।२।१० को मिति हाली हेरविचार नगरेको र खान पुग्नेमा नपुग्ने भनी झुट्टा कुरा लेखी लेखाई जालसाज गरेको हुनाले सो बकसपत्र बदर गरी सजाय गरी पाउँ भन्नेसमेत आशाकाजीको फिराद ।

      २.    आमालाई रिझाए बापत खुसीराजीले शेषपछिको बकसपत्र लेखि लिनु दिनु भएको आमाको काज कृया पनि मैले गरे गराएकी छु भन्नेसमेत न्हुछेमायाँ खुसी राजीले नै दिएको हो भन्नेसमेत रामकृष्ण र शंकरप्रसाद हिराकाजी र बकसपत्र भन्ने थाहा नभइ सहीछाप गरेको हुँ भन्नेसमेत गोपालप्रसादसमेतको प्रतिवादी ।

      ३.    बण्डापत्रको लेखाईबाट अरुलाई बकस दिन नपाउने दिएकोले जालसाजबाट बकसपत्र खडा गरेको ठर्हछ भन्नेसमेत रा.का.दे.दो को ०१६।२।५ को फैसला ।

      ४.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी न्हुछेमायाँसमेतको अपील ।

      ५.    बकसपत्र मुद्दामा आमाले मैले छोरीलाई बकसपत्र लेखिदिएको हुँ भनी प्रतिउत्तर फिराएको देखिएकोलेसमेत जालसाजबाट बकसपत्र लेखाइ लिएको भनी वादीले झुट्टा दावा लिएको ठहर्छ भन्नेसमेत अपील पहिलाको ०१६।९।१६ को फैसला ।

      ६.    उक्त फैसला चित्त बुझेन भन्नेसमेत वादी आशाकाजीको अपील ।

      ७.    इन्साफ अपीलको मनासिव भन्ने मध्यमाञ्चल उच्च अदालत सिंगलबेन्चको ०१८।६।१३।६ को फैसला ।

      ८.    सो फैसलामा चित्त बुझेन भन्ने वादी आशाकाजीको र कानूनी प्रश्न समावेश भएको नहुँदा अपील दिन वादीले नपाउनेमा पाउने गरेकोमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी न्हुछेमायाँ रामकृष्णको अपील ।

      ९.    छोरीलाई रिज वापत मेरो मञ्जुरीसाथ शेषपछिको बकस गरी दिएकी हुँ भनी बकसपत्र गरी दिने हिराकुमारीको बकस पास गरी पाउँ भन्ने न्हुछे मायाले दिएको मुद्दामा प्रतिवादी दिएकी र बकसपत्रको शिर पुछारसमेतमा ल्याप्चे लागेको भन्ने जनिएको देखिएबाट वादीको दावी जिकिरबमोजिम वारिसनामा इत्यादि भनी सहीछाप गराई जालसाजी गरे भन्ने जालसाजीको सबुद वादीले गुर्जान नसकेबाटसमेत जालसाजी भन्ने वादीको अपील जिकिर पुग्न सक्तैन । इन्साफ अ.पै. को सदर गरी छिनेको मध्यमान्चल उच्च अदालतको मनासिव भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१९।१२।२५।१ को फैसला ।

      १०.    डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहोर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, वादीले दिनु भएको बिन्तीपत्रमा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची ऐन सवालबमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मौसूफका विशेष जाहेरी विभागबाट २०।२।२१ मा लेखि आएको व्यहोरा पेश हुँदा बकस भई आएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेमाननीय प्रधान न्यायाधीशज्यूबाट भएको २०।३।२१ को आदेश ।

      ११.    यसमा दुवै पक्ष राखी गत श्रावण १६ गते पेश भएकोमा निवेदक, वादी आशाकाजी तर्फबाट रहनुभएको सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले र वादी न्हुच्छेमाया तर्फबाट रहनुभएका विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारीले गर्नु भएको वहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम जालसाजबाट बकसपत्र गरे नगरेको के हो र बकसपत्र सदर बदर के हुने हो भन्नेतर्फ हेर्दा, बण्डापत्र झुक्याई गराए, बण्डापत्र पास गराई पाउँ भन्ने र अंश मुद्दाहरू परी रहेकै बखत वारिसनामा इत्यादि भनी जाल परिपन्च मिलाउने गरी हामीहरूले हेरविचार नगरेको र खान पुग्नेमा नपुग्ने भनी झुट्ठा कुर लेखी जालसाजबाट बकसपत्र दिएको सदर नहुने । बदर गराई पाउँ भन्ने वादीले दावी लिई आएको देखियो ।

      १२.   बकसपत्र पास गराई पाउँ भन्ने मुद्दामा बकसपत्र गरी दिएको भनी हिराकुमारीले प्रतिवादी दिएको देखिएबाट वारिसनामा इत्यादि भनी जालसाज गरेको भन्न मिल्न आएन ।

      १३.   हामीहरूले हेर विचार नगरेको र खान पुग्नेमा नपुग्ने भनी झुट्टा कुरा लेखी दिएको बकसपत्र बदर गरी पाउँ भन्ने वादी दावीतर्फ विचार गर्दा, विधवा अंश धनको १ नं. को देहाय १ मा ४० वर्ष पुगेकोले आफ्नो हक पुग्ने चल र आफ्ना लोग्नेका पालको अचलमा आफ्ना वा सौतेनी छोरा र एकाउदरबाट जन्मेका जेठाज्यू र देवर छन भने लोग्ने छदैका हिसाबसँग हेर विचार गरी राखेको भए छोराहरूको मञ्जुरी नभए पनि आफ्नो हक पुग्नेमा ३ खण्डको १ खण्ड खुश गर्न पाउँछे भन्ने र देहाय ३ मा बाजेका आर्जनको चल रहेछ भने माथि लेखिएबमोजिम उठाउन पाउनेमा अचलमा आधी उठाउन पाउँछे भन्ने र देहाय ४ मा वर्ष दिनलाई खान नपुग्ने रहेछ भने सबै उठाउन पाउँछ भन्ने उल्लेख भएको छ ।

      १४.   बकसपत्र गरी दिने हिराकुमारी र वादीसमेत अंश पाउन बाँकी ३ अंशियार को पूर्व १ नं बनेपामा घर खेत र चाबेलमासमेत २ घर भएको देखिएको सो घर जग्गाहरूको आम्दानीले खान नपुग्ने भन्ने देखिन नआएकोले हिराकुमारीले आफ्नो हक सबै खुस गर्न पाउने भन्न मिलेन । अंशबण्डा उठाई नसकेको अवस्थामा वादीसमेतका छोराहरूले हेर विचार नगरेको भन्ने सबुद प्रतिवादीतर्फबाट दाखिल पेश हुन आएको पनि देखिएन । छोराहरूले हेर विचार नगरेको भन्ने सबुदको अभाव र खान पुग्ने स्थितिमा उक्त ऐनबमोजिम हिराकुमारीले आफ्नो हकमा ३ खण्डको १ खण्डमात्र खुश गर्न पाउनेमा बनेपाको घरखेत बाजेको पालाको भन्ने आशाकाजीको जिकिर भएको, सो हैन भन्न प्रतिवादीले नसकेकाले सो घर जग्गामा ६ खण्डको १ खण्ड र चाबेलको घरतर्फमा ३ खण्डको १ खण्ड खुश गर्न पाउने देखिन्छ ।

      १५.   यसरी कानूनले निर्देश गरे भन्दा बढी मुद्दा पर्दै रहेको अवस्था यी वादीसमेतको छोराहरू कसैलाई साक्षी नराखी आमा छोरीसमेतको मिलेमतोबाट मुद्दा पारी पराई बकसपत्र लिनु दिनु गरेको देखिँदा हिराकुमारीको अंश हक जतिको उक्त ऐनले खुश गर्न पाउने बाजेका पालाको ठहरेको बनेपाको घर जग्गा मध्येबाट ६ खण्डको १ खण्ड र चाबेलको घर जग्गा र अरु सम्पत्तिको ३ खण्डको १ खण्डसम्म बकसपत्र सदर ठर्हछ सो भन्दा बढी ऐनले दिन नपाउनेमा वादीसमेतको हक मेट्ने गरी लिनु दिनु गरेको बदर हुने ठर्हछ । डिभिजन बेञ्चको केही उल्टी हुँदा तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी आशाकाजीको पूरा बकसपत्र जालसाजी भनेमा अपील तेश्राबाट झुट्टा उजुर गरे बापत सजाय भईरहेकै देखिइ सोही कायम हुने हुँदा केही गर्नु परेन ………………..१

प्रतिवादी देहायका मानिसको माथि लेखिएबमोजिम ठहरेकाले किर्ते कागजका १३ नं. ले तजविजी रु. ५ जरिवाना हुन्छ । न्हुछेमायाँ स्वास्नी मानिस हुँदा दण्ड सजायको २ नं. ले अघिसमेत देहायबमोजिम दण्ड हुन्छःरा.का.दे.दो. का ०१६।२।५ को फैसलाले न्हुछेमायाँलाई रु. २।५० र अरु प्रतिवादीहरूलाई रु. ५ का दरले दण्ड गरे मध्ये गोपालप्रसाद बाहेक अरुमा रामकृष्णले ०१६।२।११।२ मा, न्हुछेमायाँ हिराकाजी शंकरप्रसादले ०१६।२।८।२ मा, अ.त.दे. फाँटमा बुझाएको नलाग्ने भनी अपील पहिलाका ०१९।९।१६ का फैसलाले फिर्ता दिने गरेको देखिँदा हाल लाग्ने ठहरेको देहायबमोजिम कटाई अरु बढी फिर्ता दिनु भनी र फिर्ता गई सकेको भए देहायबमोजिम असुल गर्नु भनी र गोपालप्रसादको हकमा शुरुका फैसलाबमोजिम असूल भएको भए हाल लाग्ने देहायबमोजिमको रु. १। कटाई बढी फिर्ता दिनु भनी र असूल नभएको भए शुरुको लगत काटी हाल लाग्ने रु. १। को लगत कसी असुल गर्नु भनी ऐ.ऐ ………………..२

का.इ ढोका टोल बस्ने राम कृष्ण श्रेष्ठ के रु. एक १, का.इ.यटखा टोल बस्ने शंखरप्रसाद श्रेष्ठ के.रु. १, का.इ चाबेल बस्ने हिराकाजी जोशी के.ऐ. १, ऐ.बस्ने गोपालप्रसाद पाध्या के ऐ. १, का.इ.ढोका टोल बस्ने न्हुछेमायाँ श्रेष्ठनी के पचास पैसा ।५०

मिसिल नियमबमोजिम बुझाई दिनु ………………… ३

 

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको राय

यसमा वारिसनामा इत्यादि भनी जालसाज गरे भन्ने वादी दावी भएको बकसपत्र पास मुद्दामा बकसपत्र गरी दिएकी हुन् भनी हिराकुमारीले प्रतिवादी दिएको देखिएकोले जालसाज गरेको भन्ने नदेखिने, हेरविचार नगरेको र खान पुग्नेमा नपुग्ने भनी बकस दिएको भन्ने वादीको लेखाईतर्फपनि मुद्दा मामिला परेको छोराले हेर विचार गर्‍यो होला भन्न सम्झन नहुने, त्यति थोरै रैकर जग्गाबाट खेती गर्न काममा लाग्ने खर्च र तिरो कटाई वर्षदिन खान पुग्ने भन्नेसमेत नदेखिएकोले बकसपत्र सदर ठहराई ०१९।१२।२५ को मसमेतको डिभिजन बेञ्चबाट निर्णय भईसकेको र सो परिवर्तन गर्न अन्य नयाँ सबुद प्रमाण निवेदकतर्फबाट पेश दाखिल हुन नआएकोबाट ०१९।१२।२५ को डिभिजन बेञ्चको फैसला मनासिव छ । केही खण्ड बकसपत्र बदर गर्ने गरीमाननीय सहयोगी न्यायाधीशज्यूहरूले गर्नु भएको रायसँग सहमत हुन नसकेकोले बहुमतको राय कायम हुने हुँदा सोबमोजिम गर्नु ।

 

 

इति सम्वत् २०२१ साल श्रावण २७ गते रोज ३ शुभम् ।