निर्णय नं. २३९ – झुक्याई सहीछाप गराए
निर्णय नं. २३९ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र फौ.फु.नं. ८५ निवेदक,...
निर्णय नं. २३९ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षत्री
न्यायाधीश श्री स.इश्वरीराज मिश्र
फौ.फु.नं. ८५
निवेदक, प्रतिवादी : आशा काजी वादे श्रेष्ठ ।
विरुद्ध
विपक्षी, वादी : हिराकुमारी श्रेष्ठनीको मुद्दा सकार गर्ने न्हुछे माया श्रेष्ठनी समेत ।
मुद्दा : झुक्याई सहीछाप गराए
(१) बण्डापत्र पढी मतलब र परिणाम नबुझाई झुक्याई जालसाजबाट सही गराए खुसीराजीसँग बण्डापत्र भएको भन्न नहुने, अघिको मिति पारी पछी बण्डापत्र खडा गरे बदर हुने ।
वादी हिराकुमारी “वर्ष ७३ पुगिसकेको आँखा नदेख्ने कान नसुन्ने” भनी बकसपत्र जालसाजी मुद्दामा प्रतिवादी आशाकाजीले आफ्नो फिरादमा लेखेकोसमेतबाट वादी हिराकुमारीको शारीरिक स्थिति नाजुक थिएन भन्ने कुरामा शंका गरी रहन परेन । बण्डापत्र भनी अरु जनाउ मानिस कोही नराखी गरे पनि छोरा हो भनी विश्वास लागी सही गरिदिएको थिए । झुक्याई बण्डापत्र भनी जीउनीको कागज गराएकोले बदर गरी पाउँ भन्ने वादी भएको बण्डापत्र हेर्दा, वादीको भागमा जीउनी भनी परसारिएको र आमाको जीउनी हामी २ जना दाज्युभाइको मञ्जुरी बेगर केही गर्न नपाउने भन्नेसमेत लेखिएको देखिएको बण्डापत्र हेरी बुझी सही गरेको भए आफ्नो हक जीउनीमा त्यसरी बन्देज राख्न पनि नपर्ने बण्डा पाउने मध्येको सेतेकाजीले दाज्युले नै मानिसल्याई लेखाई राखेको कागजमा मैले र आमाले सही गरी दिएको छ । कागज भएको मिति महिना भने मैले भन्न सकिन भनी र अंशियार साक्षी बसीदेउ भन्दा हुन्छ भनी बसी दिएकोसम्म हुँ, मैले यस मितिमा यस्तो भयो भन्ने विवरण बुझी सही गरेको छैन भनी अर्को छोरा शिवलालसमेतले प्रतिवादी दिएकोले बण्डापत्र पढी मतलब र परिणाम बुझी सही गरेको भन्ने देखिन नआएकोलेसमेत खुसीराजीसँग भएको भन्ने निवदेकको जिकिर खम्बिर हुन आएन । तसर्थ झुक्याई जालसाजबाट अघिको मिति पारी पछी बण्डापत्र खडा गरेको देखिएकाले बदर हुने ठर्हछ भनी शुरुले ठहराएको सदर गरेको अपील तेश्राको मनासिव गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको १९।१२।२५।१ को इन्साफ मनासिव ठर्हछ ।
(प्रकरण नं. ११)
निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा ।
प्रतिवादी तर्फ : प्लिडर कृष्णप्रसाद उपाध्याय, एडभोकेट कृष्णप्रसाद भण्डारी ।
फैसला
सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको इन्साफ चित्त बुझेन मुद्दा दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, प्रतिवादीले दिनु भएको बिन्तीपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,
१. कान्छो छोरा शिवलालले ०७ सालमा रु. २००१। लिई अंश छोडपत्र गरेको अरु आशाकाजी सेतेकाजीसँगै थियौं । ०१२।८।२५ गते भिन्न बस्ने भई जयभक्तले बण्डापत्र लेखी सही गराएको थियो, पास भएको थिएन । ऐ पौष १५ गते रु. १००० दिए घर मेरो हुने भयो । तपाईं बस्न पाउनु हुन्न भनी शिवलालले भने, मलाई कुनघर भन्दा जीउनी लेखेको छ भने त्यसो हुँदा बण्डा भनी झुक्याइ सही गराएकोले बदर गरी पाउँ भन्नेसमेत हिराकुमारीको फिराद बयान ।
२. झुक्याई सही गराएको होइन १२।४।७ गते खुसी राजीबाटै बण्डा भई सही गरेको हो भन्ने आशाकाजी शिवलाल सेतेकाजी जयभक्तको प्रतिवादी बयान ।
३. अंशबण्डा गर्दा ऐनबमोजिम राम्रो भाग बण्डा छुट्याई बण्डा भएको भन्न नभई गोलमाल पारी वादीलाई झुक्याई जालसाजबाट अघिको मिति पारी पछि बण्डापत्र खडा गरेको देखिएकोले सो बण्डापत्र बदर हुने ठर्हछ भन्नेसमेत रा.का.फौ.अ.को १३।११।२ को फैसला ।
४. सो फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी आशाकाजीको अपील ।
५. अंश पाउने वादीलाई जीउनी लेखिदिएको त्यस मध्ये जीउनीको घर पनि रु. १००१। तिरी शिवलालले पाउने गराएको आशाकाजीले सेतेलाई गरी दिएको भनेको १५०१ को लिखतमा अंशमा बखेडा नगर्नु भन्ने बोली परेको उक्त कागज पास भएकोसमेत नदेखिएकोलेसमेत इन्साफ शुरुको मनासिव भन्नेसमेत अपील तेश्राको ०१४।२।२ को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी आशाकाजीको अपीलपत्र ।
७. फिरादमा बण्डा गर्दछौं भनी छोराहरू भेला भई घरमा आउँदा मेरो भागसमेत छुट्याई देउ भनेको भन्ने लेखी राखेकोले बण्डापत्र भन्ने थाहा भई मञ्जुरीले नै कागज भएको देखिन्छ । अदालत अपीलसँग राय नमिलेकोले छलफलमा झगडिया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने स.अ. सिंगलबेञ्चको ०१५।३।१९ को आदेश ।
८. ०१२।४।७।६ को बण्डापत्र भनेको कागज हेर्दा, शिर व्यहोरामा आमाको नाउँमा राखेको जीउनी घरखेत हामी दुई जना दाजुभाइको मञ्जुरी बेगर केही गर्न पाउँदैन भन्ने र तपसीलमा आमा हिराकुमारीलाई जीउनी खेत खला ३, घर १ कान्छा भाईले रु. १००१।– बुझाए छाडी दिनपर्ने नबुझाएसम्म आमालाई जीउनी घर १ भन्ने र दुई जना दाजुभाइ मिली पालनपोषण काजकाम गर्ने नगर्नेले आमाको हक जीउनीमा दावी गर्न पाँउदैन भन्ने लेखिएको, त्यस्तो बन्देजी लेखाई शुद्धरुपको खसोखास बण्डापत्र खडा भएको रहेछ भन्ने त्यही बण्डापत्र भनेको कागजकै लेखाई व्यहोराबाट देखिन नआएकालेसमेत इन्साफ शुरुको मनासिव गरी छिनेको अपील तेश्रा फाँटको मनासिव ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।१२।२५।१ को फैसला ।
९. सो फैसला चित्त बुझेन मुद्दा दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, प्रतिवादीले दिनु भएको बिन्तिपत्रमा निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची ऐनबमोजिम निर्णय गरि दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभागबाट लेखी आएको २०२०।२।२१ को हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत प्रधान न्यायाधीशज्यू २०।३।२।१ को आदेश ।
१०. यसमा तारिखमा रहेको दुवै पक्ष राखी गत श्रावण १६ गते पेश भई निवेदक प्र.आशाकाजीतर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा तथा प्रतिवादी जयभक्तलाल मूलतर्फका विद्वान प्लीडर कृष्णप्रसाद उपाध्यायको र न्हुछेमायाँतर्फका विद्वान एडभोकेट कृष्ण प्रसाद भण्डारीसमेतले गर्नु भएको बहस सुनी आजको निर्णय सुनाउने तारिख मुकरर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा,
११. वादी दावीबमोजिम झुक्याई सही गराए नगराएको के हो भन्नेतर्फ वादी हिराकुमारी वर्ष ७३ पुगी सकेकी आँखा नदेख्ने कान नसुन्ने भनी बकसपत्र जालसाजी मुद्दामा प्रतिवादी आशाकाजीले आफ्नो फिरादमा लेखेकोसमेतबाट वादी हिराकुमारीको शरीरिक स्थिति नाजुक थिएन भन्ने कुरामा शंका गरी रहन परेन । बण्डापत्र भनी अरु जनाउ मानिस कोही नराखी गरे पनि छोरा हो भनी विश्वास लागी सही गरी दिएको थिएं झुक्याई बण्डापत्र भनी जीउनीको कागज गराएकोले बदर गरी पाउँ भन्ने वादी दावी भएको बण्डापत्र हेर्दा, वादीको भागमा जीउनी भनी परसारिएको र आमाको जीउनी हामी २ जना दाजुभाइको मञ्जुरी बेगर केही गर्न नपाउने भन्नेसमेत लेखिएको देखिएको, बण्डापत्र हेरी बुझी सही गरेको भए आफ्नो हक जीउनीमा त्यसरी बन्देज राख्न पनि नपर्ने, बण्डा पाउने मध्येको सेतेकाजीले दाजुले नै मानिस ल्याई लेखाई राखेको कागजमा मैले र आमाले सही गरी दिएको छु कागज भएको मिति महिना भने मैले भन्न सकिन भनी र अंशियार साक्षी बसी देउ भन्दा हुन्छ भनी बसी दिएकोसम्म हुँ, मैले यस मितिमा यस्तो भयो भन्ने विवरण बुझी सही गरेको छैन भनी अर्को छोरा शिवलालसमेतले प्रतिवादी दिएकोले बण्डापत्र पढी मतलब र परिणम बुझी सही गरेको भन्ने देखिन नआएकालेसमेत खुसीराजीसँग भएको भन्ने निवेदकको जिकिर खम्बिर हुन आएन । तसर्थ झुक्याई जालसाजबाट अघिको मिति पारी पछि बण्डापत्र खडा गरेको देखिएकाले बदर हुने ठर्हछ भनी शुरुले ठहराएको सदर गरेको अपील तेश्राको मुनासिव गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको १९।१२।२५।१ को इन्साफ मुनासिब ठहर्छ । निवेदक आशाकाजीके इन्साफ दोहराएमा यस अघिका डिभिजन बेञ्चका फैसलाले गर्ने गरेको रु. ।५ को अ.बं. २०४ नं ले दशौद रु. ।०।२ दुई दाम दण्डमा हुन्छ । रुजु हुँदा असुल गरी तहसिलमा लगत दिनु नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२१ साल श्रावण २७ गते रोज ३ शुभम् ।