निर्णय नं. ३१६७ – उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निर्णय नं. ३१६७ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४३ सालको...
निर्णय नं. ३१६७ ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४३ सालको रिट नम्बर १८८९
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक : जिल्ला पर्सा गाउँ पञ्चायत वडा नं. ९ सिर्सिया बस्ने नथुनी राउत अहिर ।
विरुद्ध
विपक्षी : भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय, पर्सा ।
जिल्ला पर्सा गाउं पंचायत श्रीसीमा वडा नं ८ बस्ने फुलेन महतो चाई ।
आदेश भएको मिति: २०४४।५।७।१ मा
भूमिसम्बन्धी ऐन नियमहरूद्वारा तोकिएको निश्चित म्यादभित्र कुतबाली सम्बन्धित मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने हुन्छ, त्यसरी मोहीले बुझाउन जाँदा जग्गाधनीले नबुझेमा म्यादभित्र तोकिएको कार्यालयमा धरौट राख्नु पर्ने हुन्छ, तोकिएको निश्चित म्यादभित्र कुतबाली नबुझाएको वा धरौट समेत नराखेको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले त्यस्तो कुत नबुझाउने मोहीलाई मोहीबाट निष्कासन गर्न सक्ने कानूनी व्यवस्था भइराखेको देखिने ।
(प्रकरण नं. १२)
रिट, निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
प्रत्यर्थी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :
२. मेरो नाममा दर्ता रहेको जिल्ला पर्सा गाउँपञ्चायत वडा नं. ५ श्रीसीया कि.नं. ५ को ज.बि. ०–१३–० ऐ.कि.नं. १२१ को जग्गा बिगहा ०–८–५ समेत ज.बि. १–१–५ को म जग्गाधनी र विपक्षी नथुनी राउत अहिर मोही भएकोमा निजले ०२२ सालको बाली नदिएकोले दिलाई मोहीबाट निष्कासन गरिपाउँ भनी फुलेन साहूले पर्सा जिल्ला अदालतमा फिराद दिँदा मिति २०२४।१२।१९ मा पर्सा जिल्ला अदालतबाट बाली दिलाई मोही निष्कासन गर्ने ठहर्याई निर्णय भयो ।
३. उक्त निर्णय उपर फुलेन चाई समेतले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा छुट्टाछुट्टै कित्ताको छुट्टाछुट्टै २ जना मोहीको नाममा एउटै फिराद दिएकाले अ.बं. ७२ नं. बमोजिम पल्टन राउतको हकमा मात्र इन्साफ हुने हुँदा नथुनीको हकमा इन्साफ हुन सक्दैन भनी वादीको दावी नथुनीको हकमा मात्र खारेज हुन ठहर भई मिति २०२८।५।४ मा फैसला भयो । अ.बं. ७२ नं. अन्तर्गत नथुनीको हकमा खारेज गरेकाले २०२२ सालको आधा फाँट मोहीको परसारी मैले पाउनु पर्ने आधा फाँटवारी रु. १,०१९।५६ प्रतिवादीबाट दिलाई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी फुलेन महतो चाइको भूमिप्रशासन कार्यालय पर्सामा २०२८ साल आश्विनमा फिराद पर्यो । अञ्चल अदालतको खारेजी फैसला उपर मुद्दा सुन्ने अधिकार यस अड्डालाई नहुँदा मुद्दा खारेज गरिपाउँ भन्ने मेरो प्रतिउत्तरपत्र परेकोमा २०२२ सालको बालीको उजूरी २०२८ सालमा लिई इन्साफ दिनु भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को देहाय (ग) अनुसार व्यवस्था भएको नदेखिएको हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी मिति २०२९।४।६ मा भूमिप्रशासन कार्यालय, पर्साबाट निर्णय भयो । उक्त निर्णय उपर विपक्षीको सर्वोच्च अदालतमा रिट परेकोमा ऐन बमोजिम इन्साफ गरिदिनु भन्ने मिति २०३०।५।७ मा आदेश भयो । तत्पश्चात वादीलाई बाली दिलाई दिने मोही निष्कासन नहुने भनी पुनः ०४० साल आषाढ १ गतेमा भूमिसुधार कार्यालयबाट निर्णय भयो । उक्त निर्णय उपर विपक्षीको पुनः सर्वोच्च अदालतमा रिट परेकोमा न्यायिक मनको अभावमा निर्णय गरेको भनी उक्त निर्णय उत्प्रेषणद्वारा बदर गरी पुनः निर्णय गर्नु भनी मिति २०४०।११।१६ मा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट दोश्रा पटक निर्णय भयो ।
४. २०२२ सालदेखि संघर्षरत मोही बाली बुझाउन तयार रहेकोलाई निष्कासन गर्न नमिल्ने भएकोले मोही निष्कासन नहुने ठहर्छ भनी मिति २०४१।६।११ मा भूमिसुधार अधिकारीबाट निर्णय गर्नु भयो सो निर्णय उपर विपक्षीको मिति २०४१ सालमा रिट निवेदन परेकोमा भूमिसुधार अधिकारीले न्यायिक मनको प्रयोग नगरेको हुँदा पुनः कानून बमोजिम निर्णय गर्नु भनी परमादेश समेत जारी भई सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४२।६।२९ मा आदेश भयो । तत्पश्चात निश्चित समयमा कुत नबुझाउने र धरौट समेत नराख्ने मोहीलाई मोही स्थापित गरिरहन उपयुक्त नभई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) बमोजिम बाली नबुझाउने मोहीलाई निष्कासन गरिदिने ठहर्छ भनी श्री अधिकारीज्यूबाट मिति २०४३।६।५ मा फैसला भएको छ ।
५. वादीले म उपर दिएको दावी खारेज हुने ठहर्याई ना.अं.अ. बाट निर्णय भएको छ । त्यसपछि कुन ऐन अन्तर्गत विपक्षीको ०२२ सालको बालीमा नालेश लाग्यो विपक्षीको उजूरी हदम्याद नाघी परेको छ । विपक्षी उपर मोही बेदखलीमा उजूरी परेकोमा मुद्दा चल्दैको अवस्था देखिएकोले जग्गाधनीले मोही हटक गर्यो भन्न नमिल्ने वादीलाई भोगचलन नै वा जोत्न नदिई प्रतिवादीले हटक गरेको अर्को उजूरी परे प्रतिवादीलाई सजायँ गर्ने भनी निर्णय भएको छ । सो निर्णय अन्तिम भई बसेको छ । उक्त निर्णयबाट मेरो मोहियानी हक कायमै छ । यस्तो स्थितिमा मोहीबाट निष्कासन हुने ठहर्याएको विपक्षी भूमिसुधार अधिकारीको २०४३।६।५ को निर्णय त्रुटिपूर्ण भएको र सो निर्णयबाट संविधानको धारा १०(१), ११(२)ङ तथा १५ द्वारा प्रदत्त हकमा आघात पर्न गएकाले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन ।
६. विपक्षीहरूबाट लिखितजवाफ मगाई जवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको मिति २०४३।७।२७ को आदेश ।
७. मोहीको हैसियतले कमाउने मोहीले बुझाउनु पर्ने कुतबालीको लागि निश्चित समय तोकिदिएको र त्यसरी तोकिएको म्यादमा कुतबाली नबुझाउने मोहीलाई निष्कासन गरिदिने कानूनी व्यवस्था पनि भएकोले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) बमोजिम गरिएको निर्णय बदर हुन नपरी रिट निवेदन नै खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।
८. भूमिसुधार कार्यालय, पर्साबाट गरेको मिति २०४३।६।५ को निर्णय कानून अनुरुप हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी फुलेन महतोको लिखितजवाफ ।
९. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले ०२२ सालको बालीमा विपक्षी जग्गाधनीले बाली दिलाई मोही निष्कासन गरिपाउँ भन्ने फिराद गरेकोमा ना.अं.अ. बाट निवेदक उपरको दावी खारेज हुने ठहरी अन्तिम भएको छ म्यादभित्र नपरेको उजूरी लिई मोही निष्कासन हुने ठहर गरेको भूमिसुधार अधिकारीको मिति २०४३।६।५ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले कुतबाली समयमा नबुझाउने मोहीलाई मोहीबाट निष्कासन गर्ने व्यवस्था कानूनमा भएकै हुँदा आफूलाई भएको अधिकार प्रयोग गरी मोही निष्कासन हुने ठहर्याएको भूमिसुधार कार्यालय, पर्साको मिति २०४३।६।५ को निर्णय कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१०. प्रस्तुत रिट निवेदनबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा निर्णयतर्फ हेर्दा २०२२ सालको कुतबाली नदिएको र धरौट समेत नराखेकाले दिलाई मोहीबाट निष्कासन गरिपाउँ भन्ने फुलेन महतोको भूमिसुधार कार्यालय पर्सामा उजूरी परेकोमा कुतबाली बुझाउनु पर्ने मोहीको लागि कानूनले निश्चित समयमा तोकिदिएको छ । त्यस्तो समय भित्र जग्गाधनीलाई कुत पनि नबुझाउने र कानूनले व्यवस्था गरेको निकायमा कुत धरौटी समेत नराखी एकलौटी कुतबाली खाइदिने मोहीलाई मोहीमा स्थापित गरिरहन उपयुक्त नभई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम बाली नबुझाउने मोहीलाई निष्कासन गरिदिने ठहर्छ । उक्त मोही निष्कासन हुने भएकोले कुतबाली भराई रहन परेन । प्रतिवादी मोहीको नामको लगत कट्टा गरी मालपोत कार्यालय पर्सालाई जानकारी दिने भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले मिति २०४३।६।५ मा निर्णय गरेको देखिन्छ ।
१२. सो निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन पर्न आएको पाइन्छ । निवेदकले विवादित जग्गाको २०२२ सालको बाली प्रत्यर्थी जग्गाधनीलाई तोकिएको म्यादभित्र बुझाएको वा धरौट राखेको छु भनी देखाउन सकेको पाइँदैन । भूमिसम्बन्धी ऐन नियमहरूद्वारा तोकिएको निश्चित म्यादभित्र कुतबाली सम्बन्धित मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने हुन्छ । त्यसरी मोहीले बुझाउन जाँदा जग्गाधनीले नबुझेमा म्यादभित्र तोकिएको कार्यालयमा धरौट राख्नु पर्ने हुन्छ । तोकिएको निश्चित म्यादभित्र कुतबाली नबुझाएको वा धरौट समेत नराखेको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले त्यस्तो कुत नबुझाउने मोहीलाई मोहीबाट निष्कासन गर्न सक्ने कानूनी व्यवस्था भइराखेको देखिन्छ ।
१३. यस स्थितिमा रिट निवेदकले विवादित जग्गाको २०२२ सालको कुतबाली जग्गाधनीलाई नबुझाई बाँकी राखेको ठहर गरी अधिकार प्राप्त भूमिसुधार अधिकारीले आफ्नो अधिकार क्षेत्र भित्र रही रिट निवेदक मोहीलाई मोहीबाट निष्कासन हुने ठहर्याएको प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय पर्साको मिति २०४३।६।५ को निर्णयलाई अन्यथा गर्नु पर्ने स्थिति नहुँदा रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४४ साल भाद्र ७ गते रोज १ शुभम् ।