July 28, 1964
Created by nepalarchives

निर्णय नं. २३८ – बाँध काट्यो भन्ने

निर्णय नं. २३८            ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ३०६ निवेदक,...

निर्णय नं. २३८            ने.का.प. २०२१

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ३०६

निवेदक, वादी : पुष्पनिधि तिवारी

विरुद्ध

विपक्षी, प्रतिवादी : तितारुराज बंशी

मुद्दा : बाँध काट्यो भन्ने

(१)   झगडा परेको जग्गा नै वादीको अधिकार वाहिरको भए सो जग्गासम्बन्धी वादी दावी पुग्न नसक्ने ।

            प्रस्तुत मुद्दाको नक्सा र अघि किनारा भएको बाँध पैन मुद्दाको नक्साहरूबाट अघि पक्की बाँध बाध्न पाउँ भनेको ठाउँमा बाँध काटेको भन्ने झगडा जनाएको देखिएको सो ठाउँमा लेखिएबमोजिम प्रतिवादीकै पैनी भएकोले वादीले पक्की बाँध बाँध्न नपाउने भन्ने फैसला भएको देखिएको सोही अगी परेको मुद्दामा यो मुद्दा दायर हुन भन्दा पहिले ०११।१।२५ मा वादीसमेत रही भएको नक्सामा सिरामा १ नं. दोमुहानमा २ नं. वादीले अघि हिस्सा पाएको भनेको ठाउँमा नं. ३ लेखिएको पक्की बाँध बनाउन पाउँ भनेको ठाउँ दोमुहान नं. २ र नं. ३ को बीचमा देखिएको सो ठाउँमा साविक देखी वादीको कच्ची बाँध भएको भन्ने उक्त नक्सामा जनिएको नदेखिएकोबाट झगडा परेको ठाउँमा वादीका साविक कच्ची बाँध भएको भन्ने देखिन नआएको र पक्की बाँध बाँधी पाउँ भन्ने मुद्दामा साविक कच्ची बाँध भईरहेको भन्ने वादी लेखाई पनि नभएको त्यस ठाँउमा वादीको बाँध छैन भनी सरजमिन ७२।७३ जनाले भनेकासमेतबाट झगडा परेको ठाउँमा वादीको बाँध रहेछ भन्ने मिल्ने नदेखिंदा वादीको बाँध ठहराएको डिभिजन बेञ्चको माननीय न्यायाधीशज्यूहरूको राय मिलेको देखिएन । …. वादीको बाँध नभएपछि प्रतिवादीले काटेको रहेछ भन्ने ठहराउन न्यायोचित नदेखिदा बिगो भराइपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ बिगो भरी नपाउने गरेको सम्माननीय न्यायाधीश इश्वरीराज ज्यूको राय फैसला मनासिव ।

(प्रकरण नं. १४,१५)

वादी तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे

प्रतिवादी तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा

फैसला

      १.     सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । यो मुद्दा सर्वोच्च अदालतबाटै हेरी पाउँ भन्ने प्रमांगी पाउँ भन्नेसमेत निवेदकले दिनु भएको बिन्तिपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम पेश हुँदा भएका राय बाझी फैसलाबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

      २.    दौलथपुर मसमेतको १२५ बिगाहा पाटनमा प्र.तर्फ करीब ३५।४० बिगाहामा गहिरो भई ९७ सालमा बाँध बाँधी पटाई आएकोमा प्रतिवादीको पैनी गैरो भई हामीहरूको जग्गा पैनी ३।३ । । । फुट उच्च हुन गएकोले सो गैरो भएको पैनीमा पक्की बाँध बाध्न पाउँ भनी मैले उजुर गर्दा सो बाँध हुन सक्तैन भनी ०११।३।३ गते फैसला भएपछि प्रतिवादी धकंलाल १ तितरु १समेतले मुद्दा जिते भनी ४०।५० जना हसेरी लागी बाँध काटी दिएकोले सो बाँध जस्तोको तस्तै बनाई पाउँ बाँधी नदिए अहिले रु. ६०० पर्ने हुँदा रुपैयाँ दिलाई सजाय गरी पाउँ भन्नेसमेत वादी पुष्पनिधि तेवारीको बिन्तीपत्र बयान ।

      ३.    वादीको बाँध होइन हामीले हसेरिसमेत लिई काटेको छैनौं, बाँध हाम्रा बाजेकै पालादेखि हामीले बाँधी आएको हुँ, वादीले पक्का बाँध बाध्न पाउँ भनी उजुर गर्दा नपाउने ठहराई फैसला भएपछि वादीको बाँध कसरी भयो ? हाम्रो इनार भत्काई बाँधमा लगी दिएकोले कं.रु. १५०० पाउँ भनी नालेस गरेको इवीले झुट्ठा उजुर गरेको हो । वादीको आना हिस्सा पानी जाने बाँध कदमबोटनेर छ भन्नेसमेत तितारु राजवंशीसमेतको प्रतिवादी बयान ।

      ४.    प्रतिवादीहरूले वादीको बाँध काटी नोक्सान गरेकोसमेत ठहराएको मो.वि.गो. को ०१२।५।२१ को फैसला ।

      ५.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी तितारु राजबंशीसमेतको अपील ।

      ६.    इन्साफ मो.वि. गोश्वाराको मनासिव भन्नेसमेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०१३।३।२५ को फैसला ।

      ७.    सो फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई हेरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तितारु राजबंशीसमेतले दिनु भएको बिन्तीपत्रमा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवालबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख निजी सचीवालयको १८।५।८ को हुकुम प्रमांगी ।

      ७.    बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने का.मु. प्रधान न्यायाधीशको १८।५।१८ को आदेशानुसार पेश हुँदा अ.बं २४२ नं. ऐनबमोजिम मुद्दा एकै पटक टुँगो लगाई किनारा गर्नुपर्नेमा पछि कुलो जाँची बिगो कायम गर्ने गरी नोक्सानी पाउँ भन्ने मुद्दा मो.वि.गो. बाट फैसला गरेउपर सर्वोच्च अदालत सिंगलबेञ्चबाटसमेत फैसला भएको उक्त फैसलाहरू बदर भएको छ । यसै मुद्दाबाट जो बुझ्नु पर्ने कानूनबमोजिम बुझी ठहराई ऐनबमोजिम किनारा गरी दिनु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल जिल्ला अदालत धरानमा पठाई दिनु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।३।२५।२ को फैसला ।

      ८.    जिल्ला अदालतबाट तह चढी आउँदा धेरै मर्का दुःख पर्ने हुनाले मुद्दा दोहर्‍याई सर्वोच्च अदालतबाट हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको वादी पुष्पनिधि तिवारीको बिन्तिपत्र । यो निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए यो मुद्दा सर्वोच्च अदालतबाट हेरी ऐन सवालबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका विशेष जाहेरी विभागबाट लेखी आएको २०।२।२१ को हुकुम प्रमांगी ।

      ९.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम सर्वोच्च अदालतबाटै किनारा गर्नुपर्ने हुँदा दर्ता गरी पेश गर्नु भन्ने माननीय का.मु. प्रधान न्यायाधीशज्यूबाट भएको २०।१२।५।४ को आदेश।

      १०.    उक्त आदेशानुसार सर्वोच्च अदालत डिभिजन बेञ्चमा पेश हुँदा झगडा परेको पैनीको पानीको हकमा यिनै वादी प्रतिवादीहरूको सर्वोच्च अदालत डिभिजन बेञ्चबाटसमेत १३।५।१ मा किनारा भईसकेको प्रमाण मिसिलबाट देखियो । ९७ सालमा बाँध बाँधी पटाई आएकोमा बाँध काटी दिए भन्ने मुख्य वादीको दावी सो बाँध वादीले खर्च लगाई बाँधेको र वादीको बाँध हैन, हाम्रा बाबु बाजेको पाला देखिको बाँध हो भन्नेसमेत प्रतिवादी भएको । भई आएको नक्सा र बुझिएका सरजमिनहरू मध्ये कोहीले वादीको मिलान र कोहीले प्रतिवादी मिलान जस्तो गरी बकेको देखिन्छ । तापनि प्रतिवादीतर्फका सरजमिनहरूले भन्न नसकेको कुरा पनि लेखिदिएकोले सरजमिनका कुरा साँचो रहेछ भन्न मिलेन । वादीको बाँध हैन भन्ने प्रतिवादीले वादीका बाँध काटी दिएन होला भन्न न्यायोचित देखिएन । वादीको साविक देखि पटाई आएको बाँध काटी दिने प्रतिवादीले सो बाँधबाट पाटने जग्गा नै छैन भन्न नसकेको प्रमाण मिसिलबाटसमेत वादीको बाँध देखिएको । त्यस्तो साविक देखि पटाई आएको बाँधमा बाँधेको बाँध पानीले बगाई लगेको होला भन्न नमिल्ने भई साविक देखिको बाँध भन्ने कुरा नक्साबाट पनि देखिन आएकोले बुझिएका सरजमिनसमेतबाट वादीको बाँध प्रतिवादीहरूले काटी दिएको ठर्हछ । सो ठहर्नाले वादीको बाँध प्र. ले बनाई दिए बनाउन लाउने र नबनाए बनाउन लाग्ने खर्चको बिगो रु. ६००। प्रतिवादीहरूबाट वादीले भरी पाउनेमा बिगो नपाउने भन्ने श्री मा.न्या. इश्वरी राजज्यूसँग राय सहमत नभएकोले फुल बेञ्चमा पेश गर्नु भन्ने न्यायाधीश उपेन्द्र राज्यूको २१।१।१५।२ को राय फैसला ।

      ११.    ०१३।५।१।५ मा यही बाँध पक्की बनाउन र उच्चा उराउन नपाउने फैसला भएको । सो मुद्दाको मिसिल सामेल रहेको इञ्जिनियरले गरेको नक्सा र प्रस्तुत मुद्दाको मिसिल समेल रहेको २०१२।३।१५ को नक्सामा दुवैमा प्रतिवादीतर्फबाट पुरानो बाँध भनी बहसमासमेत जिकिर लिएको पूर्व र दक्षिणतर्फको बाँधलाई हाल बाँधिएको नयाँ बाँध भनी जनाएको र वादीले साविक बाँध भनेको बाँधलाइ नयाँ भनी नक्सामा नजनाएको सो बाँधदेखि उत्तर पूर्वमा गएको खोल्सीमा पनि पुरानो बाँध बाधी पानी बाँधेको इञ्जिनियरको उक्त नक्सामा प्रष्टै देखिएकोलेसमेत वादीले जिकिर लिएको कच्ची बाँध अघि थिएन भन्न मिलेन बाँधका हकम साविकबमोजिममा नबढाई कच्ची बाँध कायम गरी पानी लैजान पाउने देखिन्छ, भई आएको नक्सामा बाँधको बीचमा काटीएको देखिएको अधिकाँश सरजमिनले प्रतिवादीले काटेको हैन भनेको कच्ची बाँध हुँदा पानीले पनि काट्ने सम्भव भएकोले प्र.ले नै भत्काएको भन्ने निःसन्देह प्रमाण वेगर प्रतिवादीबाट बाँध बनाउन लगाई पाउँ वा बाँध बाँधी नदिए सो बाँध बनाउन कं.रु. ६०० दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादी दावीबमोजिम बाँध नबनाई दिएमा प्रतिवादीबाट बाँध बनाउन लाग्ने कं रु. ६०० भराउने गरेकोमा श्री मा.न्या उपेन्द्रराजज्यूको रायसँग सहमत हुन नसकेकोले नियमबमोजिम फुल बेञ्च पेश गर्नु भन्नेमाननीय न्याायधीश ईश्वरीराज मिश्रज्यूको २१।१।१५।२ को राय फैसला।

      १२.   डिभिजन बेञ्चबाट राय बाँझी भएकोले फुल बेञ्चमा पेश गर्नु भन्ने भई तारेखमा रहेका निवेदक, वादीको वारिस र प्रतिवादीको वारिससमेत राखी गत श्रावण ६ गते पेश भई निवेदक, वादीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले र प्रतिवादीतर्फको विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले गर्नु भएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम वादीको झगडा परेको ठाउँमा बाँध छ वा छैन यदि काटेको भए प्रतिवादीले काटे नकाटेको के हो ? यदि काटेको भए बिगो भरी पाउने हो होइन भन्ने कुराको निर्णय गर्नुपर्ने देखिन्छ ।

      १३.   मेरो गैरो भएको पैनीमा पक्की बाँध बाँध्न पाउँ भन्ने बारे मैले उजुर गरेकोमा सो साविकमा पक्का नभएकाले अहिले पनि हुन सक्दैन भनी ०११।३।३ मा फैसला भएपछि प्र.हरूले अं. ४०।४५ जना हसेरी लगी बाँध एक्कासी काटी दिन भन्ने वादी भएको प्रमाण निमित्त आई रहेको यिनै निवेदक पुष्पनिधिको र तितारुसमेतको ०१३।५।१ मा सर्वोच्च अदालतबाट किनारा लागेको बाँध पैनी मुद्दाको मिसिल हेरेमा जहाँबाट पानीको भागबण्डा हुने हो सो ठाउँमा बाँध छ भनेको नभई प्रतिवादीका पैनीमा बाँध्न पाउँ भनेको हुनाले अर्कोको पैनीमा बाँध्न दिन मनासिव नपर्ने भनी मो.वि. गोश्वराबाट किनारा भएउपर अपील पर्दा वादीले भनेका ठाउँमा वादीले बाँध्न नपाउने ठहराएको मोरङ विराटनगर गोश्वाराको मनासिव भनी सर्वोच्च अदालतबाट किनारा लागेकै देखियो । निवेदक, वादीका भनाईबमोजिम साविकमा पक्का नभएकोले अहिले पनि हुन सक्दैन भन्ने कुरा फैसला उल्लेख भएको देखिएन ।

      १४.   प्रस्तुत मुद्दाको नक्सा र अघि किनारा भएको बाँध पैन मुद्दाको नक्साहरूबाट अघि पक्की बाँध बाँध्न पाउँ भनेको ठाउँमा बाँध काटेको भन्ने झगडा जनाएको देखिएको सो ठाउँमा लेखिएबमोजिम प्रतिवादीकै पैनी भएकोले वादीले पक्की बाँध बाध्न नपाउने भन्ने फैसला भएको देखिएको सोही अघि परेको मुद्दामा यो मुद्दा दायर हुनु भन्दा पहिले ०११।१।२५ मा वादीसमेत रही भएको नक्सामा सिरामा १ नं. दोमुहानमा २ नं. वादीले अघि हिस्सा पाएको भनेको ठाउँमा नं. ३ लेखिएको पक्की बाँध बनाउन पाउँ भनेको ठाउँ दोमुहान नं. २ र ३ नं. को बीचमा देखिएको सो ठाउँमा साविकदेखि वादीको कच्ची बाँध भएको भन्ने उक्त नक्सामा जनिएको नदेखिएकोबाट झगडा परेको ठाउँमा वादीको साविक कच्ची बाँध भएको भन्ने देखिन नआएको र पक्की बाँध बाँधी पाउँ भन्ने मुद्दामा साविक कच्ची बाँध भईरहेको भन्ने वादी लेखाई पनि नभएको त्यस ठाउँमा वादीको बाँध छैन भनी सरजमिन ७२।७३ जनाले भनेकोसमेतबाट झगडा परेको ठाउँमा वादीको बाँध रहेछ भन्न मिल्ने नदेखिँदा वादीको बाँध ठहराएको डिभिजन बेञ्चकोमाननीय न्यायाधीशज्यूहरूको राय मिलेको देखिएन ।

      १५.   माथि लेखिएबमोजिम वादीको बाँध नभए पछि प्रतिवादीले काटेको रहेछ भन्ने ठहराउन न्यायोचित नदेखिंदा बिगो भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । तसर्थ बिगो भरी नपाउने गरेकोसम्म माननीय न्यायाधीश ईश्वरीराजज्यूको फैसला मनासिव छ, अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी पुष्यनिधि तिवारी के माथि लेखिएबमोजिम ठहरेको र नोक्सानी बिगो दिलाई पाउँ भन्ने किटानी दावी नभई बाँध जस्ताको तस्तै गराइ पाउँ नभए बिगो दिलाई पाउँ भन्ने वादी हुँदा जग्गा आवाद गर्नेको १३ नं. बमोजिम तजवीजी रु. ५ जरिवाना हुन्छ वारिस हुँदा असुल गर्नु भनी तहसीलमा लगत दिनु……………….१

मोरङ विराटनगर गोश्वराका फैसला र सर्वोच्च अदालत सिंगलबेञ्चका फैसलाले प्रतिवादी र सरजमिन समेतलाई भएको जरिवानाको लगत ०१९।३।२५।२ का फैसलाले कटाई सकेको र देखिँदा केही गर्नु परेन…..२

मिसिल नियमबमोजिम बुझाई दिनु………….. ३

 

इति सम्वत् २०२१ साल श्रावण १३ गते रोज ३ शुभम् ।