निर्णय नं. ३१६६ – अबण्डा जग्गा छुट्याई पाउँ
निर्णय नं. ३१६६ ने.का.प. २०४४ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...
निर्णय नं. ३१६६ ने.का.प. २०४४ अङ्क ८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.फु.नम्बर ७०
मुद्दा : अबण्डा जग्गा छुट्याई पाउँ ।
निवेदक/वादी:कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं. ९ बस्ने नुरप्रसाद पराजुली ।
ऐ.ऐ बस्ने नुर प्रसाद पराजुली ।
ऐ.ऐ बस्ने कुल प्रसाद पराजुली ।
विरुद्ध
विपक्षी/प्रतिवादी:कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं. ९ बस्ने विष्णुमाया पराजुली ।
ऐ.ऐ बस्ने सोमनाथ पराजुली ।
ऐ.ऐ बस्ने चेतभक्त पराजुली ।
फैसला भएको मिति: २०४४।८।१।३ मा
मिति २०३२।१।१३ मा भएको बण्डापत्र यी वादी तथा प्र.हरूका बीचमा भएको नभई वादीहरूका आफ्ना दाजुभाइका बीच भएको देखिन्छ । उक्त बण्डापत्र हेर्दा त्यसमा पहिले गुरुप्रसाद हाल विष्णुमाया दर्ताको बाहुन थर घरवारी विजमाना ।.।६ को जग्गा भन्ने नभई माथिको बारी भन्ने जग्गा सगोलमा राखिएको भन्ने लेखिएको छ । यस बण्डापत्रमा विष्णुमाया साक्षी बसेको देखिएन र साक्षी नबस्ने विष्णुमायाको हक टुट्ने भएन । बण्डापत्रको लेखाइबाट नै वादी दावीको बाहुन थर बिजमाना ।.।६ को जग्गा नै गोश्वारा राखेको हो भन्ने देखिन नआउने ।
(प्रकरण नं. १८)
निवेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४२।४।२१।२ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकहरूले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा “यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको अबण्डा जग्गा छुट्याई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु” भन्ने हुकुम बक्स भइआए बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. बाजे हरिलाल र बजै रुकमिणीका ४ छोरामा जेठा गुरुप्रसाद, माहिला उमापति, साहिंला टेकनाथ र कान्छा कर्णप्रसाद हुन् । कर्णप्रसाद पहिले नै परलोक हुनुभएको सन्तान समेत छैन, जेठा गुरुप्रसादकी पत्नी विष्णुमाया, छोराहरू सोमनाथ, चेतभक्त समेत ५ छन् माहिलाको छोरा हामी नुरप्रसाद, कुलप्रसाद, होमनाथ, टंकप्रसाद र सुन्दरप्रसाद छौं । बाजे बजै पहिले नै परलोक हुनुभएको हो । २००७ सालमा बाबुहरू घरसारमा छुट्टिई भिन्न हुँदा पूर्खाका पाला देखिको माथिको बारी भन्ने बिजमाना ।.।६ को पाखो जग्गा बाबु उमापति र गुरुप्रसाद बीच गोश्वारामा राखी अरु बण्डा भएको उक्त माथिको बारी भन्ने बाहुन थर घरवारी पाखो र घर गोश्वारामा भोगिआएको पछि घर पाताल भयो । जेठा बाबु गुरुप्रसाद नै जान्ने सुन्ने हुँदा वहाँले नै तिरो भरो गर्नुभएको निजपछि जेठी आमा विष्णुमायाले तिरो भरो गरी जग्गा हामीहरू समेतले गोश्वाराबाट भोगिआएका थियौं । हामीहरू २०३२।१।१३ मा छुट्टिई घरसारमा बण्डा गर्दा उक्त जग्गा गोश्वारा राखी अन्यायी मध्येका चेतभक्त, सोमप्रसाद साक्षी बसेका छन् । २०३५।५।१५ मा विपक्षीहरूसंग उक्त गोश्वारा रहेको जग्गा हाम्रो बण्डा छुट्याई दिनु होस् भन्दा तिमीहरूको हक नलाग्ने गरी दर्ता तिरो समेत एकलौटी गरिसकेका छौं । बाँड्न मन्जूर छैनौं भनी नदिएको हुँदा सो अबण्डा गोश्वाराको हिसाब शान्ति हामी माहिला सन्तानको आधा बण्डा छट्याई हामीलाई दिलाई पाउँ भन्ने समेत कुलप्रसाद पराजुली, नुरप्रसाद पराजुलीको फिरादपत्र ।
३. सो वादीमा लेखिएको गैरापाटन बाहुन थोकको विजमाना ।.।६ को पाखो जग्गा सासू बजै रुकमिणीलाई ज्यूनी राखी सो बाहेक अरु गैर श्रीसम्पत्ति ४ भाइको ४ अंश लगाई ९१ साल माघ ८ गते छुट्टी भिन्न भई विपक्षीका पिता उमापति समेत ३ भाइ आ–आफ्नो अंश लिई छुटिई बेगल र हाम्रा पिता पुरुष गुरु प्रसाद बजै रुकमिणी सगोलमा बस्नु भएको एकासगोलबाटै २०१८ सालमा स्वर्गीय हुनुभएको र २०२१ सालमा गुरुप्रसाद परलोक हुनुभएको २०१९ सालको सर्भेमा र हालको सर्भेमा समेत सो विजमाना ।.।६ को जग्गा समेत म विष्णुमायाका नाममा दर्ता गरी भोग तिरो गरिआएका छौं । त्यसपछि साहिंला बाबु टेकनाथले घरबाट उठाई पाउँ भन्ने र अंश मुद्दा दिई वादीहरू पेटबोलीबाट बुझी सो मुद्दामा अंश भएको र घरबाट उठाउन नपर्ने ठहरी फैसला भएको छ र यिनै वादीका एकाघरका दाजु होमनाथले फैसला बदरमा र अंशमा समेत हाम्रा उपर २ मुद्दा दिएकोमा दावी छाडी मिलापत्र समेत भएको छ । वादी लेख बमोजिम बिजमाना ।.।६ को जग्गा सगोल गोश्वारामा रहेको र बण्डा गर्नु पर्ने समेत हैन उक्त जग्गा हाम्रो एकलौटी गरी अंश समेतको ठहर्याई पाउँ भन्ने समेत विष्णुमाया पराजुली, चेतभक्त पराजुली, सोमनाथ पराजुली समेत जना ३ को प्रतिवादी ।
४. बुझिएको प्रमाण समेतबाट वादीहरूले दावा गरेको जग्गा अबण्डामा रहेको देखिएको र हरिलालको ४ छोरामा कान्छो कर्णप्रसाद मरिसकेको र साँहिलो टेकनाथ जीवित रहेको देखिएकोले साँहिला टेकनाथका हकमा निजको दावा परेको बखत ठहरे बमोजिम हुने हुँदा वादीहरूले दावा गरेको अबण्डा जग्गा बिजमाना ।.।६ मध्ये ३ भागको १ भाग बिजमाना ।.।२ को जग्गा वादीहरूले पाउने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०३६।७।२१ को फैसला ।
५. कान्छा बाबु टेकनाथले दावा गरेमा ठहरे बमोजिम हुने भनी शुरुले गरेको फैसला उपर इन्साफमा चित्त नबुझेको सो शुरुको आंशिक इन्साफ बदर गरी वादी दावी बमोजिम हाम्रो हक कायम गराई पाउँ भन्ने समेत वादीहरूको पुनरावेदन जिकिर ।
६. सो शुरुले गरेको फैसला उपर इन्साफमा चित्त बुझेन सो शुरुको फैसला बदर गरी हाम्रा प्रतिलेख जिकिर बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन जिकिर ।
७. माथिको बारी भन्ने बाहुन घर घरवारी बिजमाना ।.।६ को पाखो जग्गा मध्ये आधि पाउँ भन्ने वादीको दावा पुग्न नसक्ने भनी ठहर्याउनु पर्नेमा टेकनाथको हकमा दावा परेका बखत ठहरे बमोजिम हुने र ३ भागको १ भाग वादीलाई दिलाउने गरेको शुरु जिल्ला अदालतको फैसला गल्ती ठहर्छ र सो विजमाना ।.।६ मध्ये आधि पाउँ भन्ने वादी दावी र वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने गण्डकी अञ्चल अदालतको मिति २०३८।९।२९ को फैसला।
८. गण्डकी अञ्चल अदालतबाट भएको फैसला प्रत्यक्ष कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी कुलप्रसाद पराजुली र नुरप्रसाद पराजुलीको निवेदनमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भएको मिति २०३९।९।१५ को आदेश ।
९. शुरु जिल्ला अदालतले साँहिला टेकनाथको हकमा निजका दावा परेको बखत ठहरे बमोजिम हुने गरी दावीको जग्गा मध्ये ३ भागको १ भाग वादीहरूले पाउने ठहर्याई छिनेको इन्साफ शुरु कास्की जिल्ला अदालतको मनासिब ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।६।१७ को फैसला ।
१०. उक्त फैसलामा कानूनी त्रुटि हुँदा चित्त बुझेन भनी प्रतिवादी विष्णुमाया पराजुली समेतको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पर्न आएकोमा दावीको जग्गा मध्ये ३ भागको १ भाग वादीहरूले पाउने ठहर्याई पश्चिमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको पाइन्छ । मिति २०३२।१।१३।७ को घरसारको बण्डापत्रलाई प्रमाणमा लिन नहुनेमा लिई गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को तर भन्ने प्रतिबन्धात्मक वाक्यांशको त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयको समेत देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४०।१२।१६ को आदेश ।
११. वादीका बाबु र प्रतिवादी पुनरावेदकका पति अघि नै छुट्टि भिन्न भएको भन्ने कुरामा विवाद देखिँदैन । २००७ सालमा बाबुहरू घरसारमा छुट्टिई भिन्न हुँदा अबण्डा रहेको माथिको बारी भन्ने बाहुन थर घरवारी पाखो बिज ।.।६ को जग्गा आधा बण्डा छुट्याई पाउँ भन्ने मुख्य वादी दावी देखिन्छ । विवादको सो बाहुन थर घरवारी पाखो विज ।.।६ को जग्गा गुरुप्रसादका नाममा दर्ता रहेको छ । सो जग्गा वादीहरूका बाबुहरू छुट्टिदा अबण्डा रहेको लिखत प्रमाण वादीहरूले पेश गर्न सकेको छैन सो जग्गा अबण्डा रहेको २०३२।१।१३ को घरसारको बण्डापत्रबाट सिद्ध हुन्छ भन्ने वादीले दावी गरेको पाइन्छ । तर सो लिखत हेर्दा वादीका बाबु भाइहरू बीच अंशबण्डा गरेको देखिन्छ । प्रतिवादीहरूसंग बण्डा भएको देखिँदैन । त्यसमा पुरानो माथिको बारी सगोलमा राख्ने भन्ने लेखिएको छ । तर गुरुप्रसाद दर्ताको बाहुन थर घरवारी पाखो भन्ने र विजन समेत खुलाई सो बण्डापत्रमा लेखिएको देखिँदैन । तसर्थ गुरुप्रसाद दर्ताको बाहुन थर पाखो विजमाना ।.।६ को जग्गालाई २०३२।१।१३ को घरसारमा उल्लेख भएको पुरानो माथिको बारी भन्न मिलेन । यही वादीका दाजु भाइ होमनाथ पराजुलीले यिनै प्रतिवादी विष्णुमाया समेत उपर दिएको अंश मुद्दामा विवादको गैरापाटन बाहुन थर भन्ने पाखो जग्गा विष्णुमायाले तायदाती दिएकोमा आखिर वादीले अंशमा दावी छाडी कास्की जिल्ला अदालतबाट २०३५।३।११ मा मिलापत्र भएको छ । टेकनाथले सोमनाथ पराजुली उपर दिएको घरको दावी छुटाई पाउँ भन्ने मुद्दामा विवादको गैरापाटन बाहुन थर बिजमाना ।.।६ को पाखो वजै रुकमिणीको ज्यूनी भन्ने प्रतिवाद जिकिर लिए भएकोमा आखिर वादी दावी नपुग्ने ठहरी २०३४।३।१६ मा गण्डकी अञ्चल अदालतबाट निर्णय भएको छ । निजै टेकनाथ उपाध्यायले सोमनाथ उपाध्याय उपर घरबाट उठाई पाउँ भनी दिएको मुद्दामा विवादको गैरापाटन बाहुन थोक बिजमाना ।.।६ बजै रुकमिणीको ज्यूनी भन्ने प्रतिवादीको जिकिर भएको त्यसमा पेटबोलीबाट प्रस्तुत मुद्दाका वादी नुरप्रसाद र टंकप्रसादलाई बुझेकोमा वादीले दावी गरेको घर वादीको हक लाग्ने होइन प्रतिवादीको हो भनी बयान गरेको र सो मुद्दामा वादी दावी नपुग्ने ठहरी २०३४।३।१६ मा गण्डकी अञ्चल अदालतबाट फैसला भएको प्रमाणको मिसिलहरूबाट देखिन्छ । यसबाट पनि सो गैरापाटन बाहुन थोक विजमाना ।.।६ को जग्गा वादीहरूका भनाई अनुसार अबण्डा रहेको भन्ने देखिन आएन । यस स्थितिमा विवादको सो जग्गा अबण्डा हुँदा बण्डा गरिपाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिँदैन । वादी दावी नपुग्ने ठहर्याएको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ ।
१२. शुरु टेकनाथको हकमा निजको दावा परेका बखत ठहरे बमोजिम हुने गरी दावीको जग्गा मध्ये ३ भागको १ भाग वादीहरूले पाउने ठहर्याएको इन्साफ शुरु कास्की जिल्ला अदालतको मनासिब ठहर्याइएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन भन्ने समेत यस अदालत डिभिजन बेञ्जको मिति २०४२।४।२१।२ को फैसला ।
१३. यस अदालत डिभिजन बेञ्जबाट भएको उक्त फैसला दोहोर्याई पाउँ भनी निवेदकहरू नुरप्रसाद पराजुली र कुलप्रसाद पराजुली समेतले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएको रहेछ ।
१४. यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको अबण्डा जग्गा छुट्याई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानूनी बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भइआएको ।
१५. श्री ५ महाराजाधिराज सरकारबाट बक्स भइआएको हुकुम बमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई नियम बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ यसमा निवेदक वादीहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले वादीले दावी गरेको माथिको बारी भन्ने विजमाना ।.।६ को पाखो जग्गा पैतृक र अबण्डा जग्गा हो । यो माथिको बारी भन्ने जग्गा र बाहुन घर घरवारी पाखो भन्ने जग्गा एउटै जग्गा हो जुन कुरा प्रतिवादी स्वयंले मानी वादीले दावी गरेको जग्गा सासू बज्यै रुकमिणीको जिउनीमा राखेको भनी भनेको छ । यो जग्गा रुकमिणीलाई जिउनीमा राखेको भन्ने कुराको सबुद प्रतिवादीले पुर्याउन सकेको छैन २०३२।१।१३ मा घरसारमा वादीहरू बीच बण्डा हुँदा उक्त जग्गा गोश्वारा राखिएको बण्डापत्रमा प्रतिवादी मध्येका चेतभक्त र सोमनाथ साक्षी बसेका छन् । यसबाट पनि विवादित जग्गा अबण्डा देखिएको छ । अतः वादी दावी नपुग्ने ठहर्याएको यस अदालतको डिभिजन बेञ्जबाट भएको निर्णय नमिलेको हुँदा वादी दावी बमोजिम विवादित जग्गा बण्डा गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादी विष्णुमायाका तर्फबाट बहस गर्न उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रस्तुत मुद्दा अंशबण्डाको ३५ नं. को आधारमा अबण्डा जग्गा छुट्याई पाउँ भन्ने मुख्य दावी लिई पर्न आएको छ । तर वादीतर्फबाट अबण्डा रहेको कुनै लिखत छ भन्न सकेको र भाग शान्ति वादीहरूले भोग गरेको कुनै प्रमाण पनि पेश गर्न सकेको छैन । दर्ता एकलौटी रुपमा विष्णुमायाको नाममा २०१९ सालको सर्भेमा र हालको सर्भेमा समेत दर्ता भइसकेको र गुरुप्रसाद मरिसकेकोले जिय जिय पछिको यो फिराद लाग्न सक्दैन । मिति २०३२।६।१३ मा वादीहरूका बीच भएको बण्डामा विष्णुमाया साक्षी बसेकी छैनन् । वादीमा लेखिएको गैरापाटन बाहुन थोकको विजमाना ।.।६ को पाखो जग्गा विष्णुमायाको सासू रुकमिणीलाई जिउनीमा राखिएको जग्गा हो । वादीहरू बीच मिति २०३२।१।१३ मा भएको बण्डापत्रमा माथिल्लो बारी सगोलमा राखिएको भन्ने छ । माथिल्लो बारी भन्ने जग्गा र गैरापाटन बाहुन थोकको जग्गा दुई भिन्दा भिन्दै जग्गा हुन। वादी दावा बमोजिम गैरापाटन बाहुन थोक घर भन्ने जग्गा बण्डा गर्नु पर्ने होइन । अतः वादी दावी नपुग्ने ठहर्याएको यस अदालत डिभिजन बेञ्जकै निर्णय सदर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो ।
१६. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा यस अदालत डिभिजन बेञ्जबाट भएको निर्णय मिलेको छ, छैन हेर्नु परेको छ । यसमा २००७ सालमा हाम्रा बाबु उमापति र जेठा बाबु गुरुप्रसादका बीचमा घरसारमा बण्डा हुँदा अबण्डा गोश्वारा राखिएको माथिको बारी भन्ने वाहुन थर घरवारी पाखो बिजमाना ।.।६ को जग्गा आधा बण्डा छुट्याई पाउँ भन्ने दावी लिई वादीहरूको फिरादपत्र परेको देखिन्छ । १९९१ सालमा बाबुको ४ दाजु भाइका बीच अंश भई छुट्टिई भिन्न हुँदा वादीमा लेखिएको गैरापाटन बाहुन थोकको बिजमाना ।.।६ को पाखा जग्गा सासू बज्यै रुकमिणीलाई जिउनीमा राखिएको जग्गा हो अबण्डा गोश्वाराको नहुनाले बण्डा गर्न पर्ने होइन भनी जिकिर प्रतिवादीहरूले लिएको देखिन्छ । वादी प्रतिवादीहरूको दावी तथा जिकिरबाट वादी तथा प्रतिवादीहरूको बीचमा पहिले नै अंशबण्डा भइसकेको कुरामा विवाद देखिएन । अतः प्रस्तुत मुद्दामा वादीले दावी लिएको माथिको बारी भन्ने वाहुन थर घरवारी पाखो बिजमाना ।.।६ को जग्गा अबण्डा भई दावी बमोजिम बण्डा छुट्याई पाउने हो होइन ? भन्ने विवादको विषयमा निर्णय दिनु परेको छ ।
१७. निर्णयतर्फ हेर्दा यसमा २००७ सालमा बाबुहरू घरसारमा छुट्टिई भिन्न हुँदा विवादको जग्गा बाबु उमापति र जेठा बाबु गुरुप्रसाद बीच अबण्डा राखिएको भन्ने दावी वादीहरूको छ । तर सो जग्गा अबण्डा राखिएको हो भन्ने लिखत प्रमाण वादीहरूले पेश गर्न सकेको छैन । यसका साथै सो जग्गा वादी तथा प्र.हरूले गोश्वारा दर्ता तिरो तथा भोग भएको भन्ने सबुद प्रमाण पनि वादीहरूले दिन सकेका छैनन् । विवादको जग्गा साविकमा प्र.हरूका पति बाबु गुरुप्रसादको नाममा दर्ता भई निजले नै दर्ता तिरो गरेको र निजको मृत्युपछि निजकी श्रीमती अर्थात् प्र.हरू मध्येका विष्णुमायाका नाममा दर्ता तिरो भरो भएको कुरा वादीहरू स्वयंले आफ्नो फिरादपत्रमा स्वीकार गरेको पाइन्छ । सर्भेमा पनि उक्त जग्गा प्रतिवादी विष्णुमायाको नाममा एकलौटी दर्ता तिरो रहेको कुरा मिसिल संलग्न कागजबाट देखिन्छ । र सो दर्ता तिरो बदर भइसकेको छ, भनी वादी पक्षले भन्न सकेका छैनन् ।
१८. वादीहरूका दाजुभाइ बीच मिति २०३२।१।१३ मा घरसारमा बण्डापत्रमा गर्दा माथिको बारीलाई गोश्वारामा राखेको र सो बण्डापत्रमा प्रतिवादीहरू मध्ये चेतभक्त र सोमप्रसाद साक्षी बसेका छन् । यसबाट पनि विवादको जग्गा अबण्डा भन्ने प्रमाणित हुन्छ, भन्ने वादी पक्षका विद्वान कानून व्यवसायीहरूको बहस जिकिर भएको पाइन्छ । वहाँहरूको यस बहस जिकिरतर्फ हेर्दा मिति २०३२।१।१३ मा भएको बण्डापत्र यी वादी तथा प्र.हरूका बीचमा भएको नभई वादीहरूका आफ्ना दाजुभाइका बीच भएको देखिन्छ । उक्त बण्डापत्र हेर्दा त्यसमा पहिले गुरुप्रसाद हाल विष्णुमाया दर्ताको बाहुन थर घरवारी विजमाना ।.।६ को जग्गा भन्ने नभई माथिको बारी भन्ने जग्गा सगोलमा राखिएको भन्ने लेखिएको छ । यस बण्डापत्रमा विष्णुमाया साक्षी बसेको देखिएन र साक्षी नबस्ने विष्णुमायाको हक टुट्ने भएन । बण्डापत्रको लेखाइबाट नै वादी दावीको बाहुन थर बिजमाना ।.।६ को जग्गा नै गोश्वारा राखेको हो भन्ने देखिन आउँदैन ।
१९. यिनै वादीहरूका दाजुभाइ होमनाथ पराजुलीले यिनै प्र.हरू विष्णुमाया पराजुली समेत उपर दिएको अंश मुद्दामा विष्णुमायाले अंशको तायदाती फाँटवारी दिँदा हाल प्रस्तुत विवादको गैरापाटन बाहुन थरको बिजमाना ।.।६ को पाखो जग्गा पनि दिएकोमा वादीले अंशमा दावी छाडी कास्की जिल्ला अदालतबाट मिति २०३५।३।११ मा मिलापत्र भएको कुरा प्रमाण मिसिलबाट देखिन्छ । यस्तै वादीहरूका साहिंला बाबु टेकनाथ पाध्या पराजुलीले सोमनाथ उपर दिएको घरको दावी छुटाई हक कायम गराई पाउँ भन्ने मुद्दामा विवादको गैरापाटन बाहुन थर बिजमाना ।.।६ को पाखो जग्गा बजै रुकमिणी जिउनी भन्ने प्रतिवाद जिकिर भएकोमा वादी दावी नपुग्ने ठहरी गण्डकी अञ्चल अदालतबाट मिति २०३४।३।१६ मा फैसला भएको छ । निजै टेकनाथ पाध्या पराजुलीले सोमनाथ पाध्या पराजुली उपर दिएको घरबाट उठाई पाउँ भन्ने मुद्दामा विवादको गैरापाटन बाहुन घर बिजमाना ।.।६ को पाखो जग्गा बजै रुकमिणीको जिउनी भन्ने प्रतिवादीको जिकिर भएको त्यसमा पेटबोलीबाट प्रस्तुत मुद्दाका वादी नुरप्रसाद पराजुली र टेकप्रसाद पराजुलीलाई बुझेकोमा वादीले दावी गरेको घर वादीको हक लाग्ने होइन प्र.को हो भनी बयान दिएको र सो मुद्दामा पनि वादी दावी नपुग्ने ठहरी मिति २०३४।३।१६ मा गण्डकी अञ्चल अदालतबाट फैसला भएको प्रमाण मिसिलबाट देखिन्छ ।
२०. उपरोक्त उल्लिखित बुँदा प्रमाणहरूबाट वादीहरूले दावी लिएको गैरापाटन बाहुन थर बिजमाना ।.।६ को जग्गा वादी दावी अनुसार अबण्डा रहेको भन्ने देखिन आएन । तसर्थ वादी दावी नपुग्ने गरी गण्डकी अञ्चल अदालतले गरेको फैसला मनासिब ठहर्याई शुरुको इन्साफ सदर गरेको प.क्षे.अ.को इन्साफ बदर गरेको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिब ठहर्छ वादीहरूबाट कोर्ट फी दाखिल भइसकेकोले केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल मंसीर १ गते रोज ३ शुभम् ।