निर्णय नं. २३६ – घुस
निर्णय नं. २३६ ने.का.प. २०२१ फुल बेञ्च श्रीमाननीय का.मु. प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह श्रीमाननीय न्यायाधीश रत्नबहादुर विष्ट श्रीमाननीय न्यायाधीश नयनबहादुर खत्री क्षेत्री अ.फु.नं. १...
निर्णय नं. २३६ ने.का.प. २०२१
फुल बेञ्च
श्रीमाननीय का.मु. प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह
श्रीमाननीय न्यायाधीश रत्नबहादुर विष्ट
श्रीमाननीय न्यायाधीश नयनबहादुर खत्री क्षेत्री
अ.फु.नं. १
अपिलाट वादी : विष्णुमायाँ लिम्बुनी
विरुद्ध
विपक्षी : द्रोणाचार्य सिटौलासमेत
मुद्दा : घुस
(१) घुस मुद्दामा–घुस खाएको सबुद वादीले गुजार्न पर्ने ।
(२) रीत नपुगी भएको मिलापत्रलाई अदालतलेमान्यता दिन नमिल्ने ।
अपील पहिलाले गरेको इन्साफमा चित्त बुझेन भनी वादी विष्णुमायाँले अपील दिएकी निजको वा बालध्वज गुरुङले ०१७।२।१० को तारेख तेश्रा पटक पारी गुजारेकोले वादीको अपील अ.बं. २२६ नं. ले डिसमिस हुने अपील डिसमिस भए पनि थप सजायलाई जाहेरी फैसला भएको र डिभिजन बेञ्चको राय बाझी भएकोले रायवाझीतर्फबाट इन्साफ हेर्नुपर्ने हुन आई हेर्दा घुस खाएको हो भन्ने सबुद गुजार्न वादीले नसकेकोले हाकिमउपर घुसमा उजुर गर्नेलाई थप सजायलाई अ.बं. २७९ ले जाहेर गरेको मनासिव मिलापत्र बदर गरी इन्साफ गर्ने भन्ने श्री मा. न्याय पशुपतिप्रसाद उपाध्यायको र मिलापत्र सदर गर्ने भन्ने श्री मा.न्या मिनबहादुर थापाको राय भएकोतर्फ हेरिएमा मञ्जुरी कागज र मिलापत्र गर्न पाउने भन्ने दरखास्त २ समेत ३ थान कागजको अक्षर मसी एकै लेखे सुब्बा धनपाल भन्नेको अक्षर देखिएको निज सुब्वा धनपाल झिकाउँदा हाजिर हुन नआएको निजले लेखेका ती ३ थान कागजमा २००६ साल पौष भनी साल महिना लेखी गते बार लेखिएको नदेखिएकोबाट रीत परिबन्द पुगी खुसी राजीबाट भए गरेको रहेछ भन्ने मनासिव नपरेकालेसमेत मिलापत्र बदर गरी इन्साफै गर्ने भन्ने श्री मा.न्या. पशुपतिप्रसाद उपाध्यायको सिंगलबेञ्चको सदर गरेको राय मनासिव छ ।
(प्रकरण नं. १०)
फैसला
१. लोग्ने जगनध्वजको मगज बिक्री कान नसुन्ने भएको छोरा नाबालक भएकोले घरको दामकाम मैले गरेको, म माइत गएको मौकामा लोग्नेलाई के कस्तो कागजमा सहीछाप गराई घरको धनमालसमेत लुटपीट गरी लगेछन र बिन्ति चढाई धनकुटा अपीलले ठाडै बुझी कारवाई गरेकोमा अपील अड्डाको हाकिम सुब्बा हरिराम, अ.ना.सु. सम्शेरराज, मु. पशुराम ६ थुम मालका हाकिम सुब्बा सम्शेरबहादुरसमेत ४ जनाले थानको क.रु. २० पर्ने ४ थान गलैंचा घुस खाएछन र मेरो घरवारी धनबहादुरले भोग्ने त्यसको ८ मुरी ठेक्का मैले बुझाउने अरु धनमाल फिर्ता दियौं भन्ने अपीलले मिलापत्र लेखी माल अड्डा साक्षी बसी मसमेतको करकापसँग सहीछाप गराएकोले म्याद भित्र उजुर गर्न आएको छु भन्ने निवेदनमा घुसतर्फ म्याद भित्रको उजुर भए ऐनबमोजिम नालिस दिन्छ भने ऐन सवालबमोजिम गर्नु अरुमा ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी प्रधान न्यायालयको नाउँमा भएको लूटपीटमा बिन्तिपत्र छोडाई फाल्गुन १९ गते प्रंमागी लागेकै दिन अन्यायी धन बहादुरले मगज बिग्रेको मानिसलाई ताप्लेजुङ्ग अमीनीमा लगी कं.रु. ८४० मा पास गराएछन, लूटपीटमा उजुर गरेको छँदाछदै मगज बिग्रेको मानिससँग पास गराएको सो ८४० को लिखत सदर गराउनका लागी करकापसँग मिलापत्र गराएको मेरो लोग्ने झिकाई मगज बिग्रे नबिग्रेको अस्पतालबाट जाँची घुस खाई करकापसँग गराएको मिलापत्र बदर वातिल गरी घुस लिनुदिनु गरेमा ऐन सवालबमोजिम सजाय गरी पाउँ भन्नेसमेत विष्णु मायाको फिरादपत्र ।
२. मिलेर आएकोले मिलापत्र गराएको हो, घुस खाई बेहिसाब गरेको होइन, कुनै फटाहाको भनाईमा लागी झुट्ठा उजुर गरेको हो भन्ने धनकुटा अपीलको अ.ना.सु. सम्शेरराजले जाबो २० रुपैयाँको गलैंचामा र्याल चुहाई अकर्तव्य गर्नुपर्ने मेरो इज्जत औकात होइन गरेको पनि छैन, मिलापत्र सुनाई मञ्जुर भएपछि ऐनबमोजिमको रीत पुर्याई सहीछाप गरी दिएको हुँ, घुस खाएको छैन भन्ने मालको हाकिम शम्शेरबहादुर मतलब हासिल गरी गराएको हो वा अदाना गरिब देखि सजाय जोगाउनको लागी प्रतिवादीलाई सम्झाई बुझाई मिलापत्र गराएको हो झुक्याई करकाप गरायो भन्ने मुद्दाको मिसिलबाट झल्कने नै छ । वादीको लोग्नेलाई सदरमा डाक्टरद्वारा जाँच गराइयोस भन्ने अ.से.हरेराम अमात्यको रिपोर्ट ।
३. जगनध्वजको मगज बिग्रेको छैन विदेशको पेन्सनदार लेखापढसमेत भएकोले घरको दामकाम निजले नै गरेको छ तमसुकी रु. २५५ थप कं.रु. ४७५ घर खर्च गर्न भनी ३६५समेत जम्मा रु. ८४० मा ०५।११।१२ मा तमसुक पास गरी दिएको जग्गा निजले कमाउने कुत बुझाउने गरी ऐ. २६ गते मोहीपत्र गरेको । यस्तो सद्दे व्यहोरामा विष्णुमायाँले धं. गौंडामा उजुर गरेकी आखिर मुद्दा निजले हार्ने ठहरी निजको भनाईबमोजिम मिलापत्र गरेको हो । निजको लोग्ने मगज बिग्रेको छैन गाउँ घरमा आज भोली तक कारवाई गरेको छ भन्ने द्रोणचार्य सिटौला १, लक्ष्मीप्रसाद सेढाईं १, लल्मीप्रसाद बासकोटा १, दिल्लीराम बासकोटा १, दिलबहादुर लिम्बू १, जगत बहादुर लिम्बू १, नैनन्द लिम्बू १, जगतबहादुर आचार्य १, टिकाराम अचार्ज १, धने बासकोटा १, विष्णुलाल दाहाल १, हरिचरण सिटौला १, धनरुप लिम्बू १, ज. धनबहादुर लिम्बू १, भगीध्वज लिम्बू १, बेडचार सिटौलासमेतको प्रतिवादी ।
४. घुस खाई मिलापत्र गरेको होइन मञ्जुरबाट नै मिलापत्र भएको हो भन्ने प्रतिवादीको साक्षी पाण्डौलाल उप्रेतीसमेत जवान १० र प्रतिवादीले ४ वटा गलैंचा ल्याएको थियो किन ल्याएको भन्दा आफ्नो मालको हाकिम कारिन्दालाई दिन ल्याएको भनेको सुनेको र अपीलका हाकिम असिस्टेण्ट मालको हाकिम विचारीहरूलाई गलैंचा १।१ दिएको देखिएको हुँ भन्ने प्रतिवादीको साक्षी लछु लिम्बू ।
५. प्रधान न्यायालयको ऐनको १० दफाले शुरु कारवाई प्रधान न्यायालयबाट गर्ने नमिल्ने भएकोले ठहरेबमोजिम किनारा गरी दिनु भनी अपील श्रेस्ता फाँटमा बुझाई दिनु भन्ने आदेश ।
६. घुस खाएको भन्ने पक्का सबुद प्रमाण वादीले गुर्जान नसेकेकोले अड्डा साक्षी राखी मिलापत्र गराएको कुरामा तारिख भनी घुस खाई मिलापत्र गरायो भन्ने वादीले प्रतिवादीउपर झुट्ठा उजुर गरेको ठर्हछ । हाकिम असिष्टेण्टउपर घुस खायो भनी उजुर गरेमा अ.बं. २७९ ले रु. १। देखि रु. २० सम्म जरिवाना वा ७ दिन देखि १ महिनासम्म कैद गर्न मुखत्यारको तजविज भएकोले जाहेर गरेका छौं भन्ने अपील पहिलाको जाहेरी फैसला ।
७. अपील पहिलाको इन्साफमा चित्त बुझेन भन्ने विष्णुमायाँको अपील ।
८. घुस खाएको झुट्ठा ठहराएको अपीलको इन्साफ मनासिव छ । मिलापत्र बदर गरी पाउँ भन्ने दावीको हकमा वादीको लोग्नेले दिएको निवेदन र मिलापत्र गरी पाउँ भन्ने वादी प्रतिवादी दुवै थरले दिएको दर्खास्त औ प्रतिवादीको मिलापत्र गर्ने मञ्जुरनामासमेत सुब्बा धनपाल लिम्बूले लेखेको सो सबै कागज एउटै मसी हस्ता देखिएको र आठराई भनेको धनकुटा अपीलबाट ३।४ दिनकोबाटो फरक देखिने र वादीको उजुर परी रहेकोमा निजको लोग्नेले उजुरी बिन्तिपत्र दिनुपर्ने प्रयोजन केही नहुँदा र बेमञ्जुरी भन्ने उजुरी परेकोले ऐनबमोजिम इन्साफ गरी दिनु पर्ने हुँदा मिलापत्र बदर गरी दिने ठर्हछ । अपीलसँग राय सहमत नभएकोले जागिरदार बाहेक अरुलाई छलफलमा झिकाई निर्णयका लागी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलको आदेश ९७ सालमा रजिष्ट्रेशन पास गरी वादीको लोग्नेले कर्जा खाएको न्हेडिकसमेत तिरी वादीको लोग्नेले आफै रजिष्ट्रेशनमा गई रु. ८४० को तमसुक पास गरी दिएको होस ठेगाना नभएको भनी वादीले उजुर गरेमा मेरो होस ठीक छ भनी आफैं जगनध्वज अपीलमा हाजिर भई कारवाई गरेकोमा सबै मञ्जुर गरी बयान दिएको र मिलापत्र भनी निज जगनध्वजसमेत बसी मिलेको माल साक्षी र अपीलको हाकिम असिष्टेण्टसमेत सहीछाप गरी रीतपूर्वकको मिलापत्र भएको घुसको र झुक्याएको सबुद दिन नसकेकोले मिलापत्र सदरै हुने भन्ने श्रीमाननीय न्यायाधीश मानबहादुर थापाको डिभिजन बेञ्चको राय बाझी फैसला ।
९. वादीको लोग्ने बौलाहा भन्ने उजुरी भई लुटपीट मुद्दामा कारवाई हुँदा बीचमा निजवादीको लोग्ने जगनध्वज आई म बहुला भएको छैन भन्ने बिन्तिपत्र दिएकोमा अस्पताल जाँच गर्न पठाउँदा अहिले त ठीक छ । तर १५ दिनसम्ममा फेरी जाँच्नु पर्छ भन्ने अस्पतालले जवाफ दिएको फेरी जाँच नहुँदै निजको सद्दे छु भनी बयान गराई एउटै व्यक्तिले बिन्तिपत्र दर्खास्त मञ्जुरनमा लेखि अठराइको मुकामसमेत लेखिएको र त्यस्तो बौलाहा भन्ने लोग्नेको अस्पतालले आखिर निर्णय नदिई लोग्नेको व्यहोरामा नलेखी मिलापत्रमा भने सहीछाप गराउने अवैधानिक देखिएको वास्तविक इन्साफ गरी पाउने दावी हुनाले सो मुद्दाबाट ठहरेबमोजिम मिलापत्र भन्दा इन्साफ गरी दिनु राम्रो भई अघि सिंगलमा लेखिएका आदेशका बुँदा प्रमाणसमेतबाट मिलापत्र बदर गरी ऐनबमोजिम इन्साफ गर्न धनकुटा अपीलमा पठाई दिनु । श्रीमाननीय सहकारी न्यायाधीशज्यूको राय अर्कै भएकोले नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने श्रीमाननीय न्यायाधीश पशुपतिप्रसादको डिभिजन बेञ्चको राय बाझी फैसला ।
१०. डिभिजन बेञ्चबाट रायबाझी भएकाले राय बाझीतर्फबाट फुल बेञ्चमा पेश हुन आएको यो मामिलामा छलफलमा झिकिएका प्र. द्रोणाचार्यसमेतको वारेससमेतको धनबहादुर लिम्बु राखी हेर्दा, अपील पहिलाले गरेको इन्साफमा चित्त बुझेन भनी वादी विष्णुमायाँले अपील दिएको निजको वा. लालध्वज गुरुङले ०१७।२।१० को तारिख तेश्रा पटक पारी गुजारेकाले वादीको अपील अ.बं. २२६ नं. ले डिसमिस हुने, अपील डिसमिस भए पनि थप सजायलाई जाहेरी फैसला भएको र डिभिजन बेञ्चको राय बाझी भएकोले रायवाझीतर्फबाट इन्साफ हेर्नुपर्ने हुन आई हेर्दा घुस खाएको हो भन्ने सबुद गुजार्न वादीले नसकेकोले हाकिमउपर घुसमा उजुर गर्नेलाई थप सजायलाई अ.ब. २७९ नं. ले जाहेर गरेको मनासिव मिलापत्र बदर गरी इन्साफ गर्ने भन्ने श्री मा.न्या. पशुपतिप्रसाद उपाध्यायको र मिलापत्र सदर गर्ने भन्ने श्री मा.न्या. मीनबहादुर थापाको राय भएकोतर्फ हेरिएमा मञ्जुरी कागज र मिलापत्र गर्न पाउँ भन्ने दर्खास्त २समेत ३ थान कागजको अक्षर मसी एकै लेख्ने सुब्वा धनपाल भन्ने अक्षर देखिएको निज सुब्बा धनपाल झिकाउँदा हाजिर हुन नआएको, निजले लेखेका ती ३ थान कागजमा २००६ साल पौष भनी साल महिना लेखी गतेबार लेखिएको नदेखिएकोबाट रीत परिबन्द पुगी खुसीराजीबाट भए गरेको रहेछ भन्ने मनासिव नपरेकोलेसमेत मिलापत्र बदर गरी इन्साफै गर्ने भन्नेसमेत श्री मा.न्या. पशुपतिप्रसाद उपाध्यायको सिंगलबेञ्चको सदर गरेको राय मनासिव छ । वादी विष्णुमायाँ लिम्बुनी प्र. द्रोणचार्यसमेत भएको लूटपीट करकाप मुद्दामा २००६।९।२८ को मिलापत्र भएको सो मिलापत्र बदर गरी सो मुद्दाको वादी प्रतिवादी दुवै थरलाई झिकाई ऐन सवाल ठहरेबमोजिम इन्साफै गरी दिनु भनी यो फैसलाको नक्कल सो मिलापत्र बदर भएको मुद्दामा राखी धनकुटा अपीलमा सो लूटपीट करकाप मुद्दा पठाई दिनु मिलपत्र बदर भई ठहरेबमोजिम इन्साफ हुने भएकोले हाल यस मुद्दाका प्रतिवादीहरूलाई केही गर्नुपर्दैन । वादी विष्णुमायाँ लिम्बुनीकै हाकिमउपर घुसमा झुट्ठा उजुर गरेमा अ.बं. २७९ नं. ले तजविजी मोरु १। एक थप जरिवाना र डिसमिसतर्फ शुरु दण्ड मोरु. २०। र हाल भएको थप दण्डसमेत जम्मा रु. २१। को इन्साफ सदर ठहरे हा.का. १० । नं. ले सयकडा १० ले रु. २।१० दण्ड हुनेमा डिसमिस हुँदा सो हुने दण्डको अ.बं. २२८ नं. ले सयकडा ४ ले रु. ११ एघार पैसा दण्डसमेत जम्मा मोरु १।११ दण्ड हुन्छ बेरुजु हुँदा तहसीलमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१७ साल आषाढ २९ गते रोज ३ शुभम् ।