September 10, 1986
Created by nepalarchives

निर्णय नं. २७२७ – उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 निर्णय नं. २७२७    ने.का.प. २०४३     अङ्क – ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं.२१३७...



निर्णय नं. २७२७    ने.का.प. २०४३     अङ्क – ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको रिट नं.२१३७

आदेश भएको मिति : २०४३।५।२५।३ मा

 

निवेदक : बारा जिल्ला हरैया गा.पं.वार्ड नं. ७ बस्ने ध्रुवप्रसाद केशरी

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय बारा कलैयासमेत

 

विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 

(१)         मोही लगत कट्टा तथा प्रमाणपत्र बनाई पाउँ भन्ने अलग अलग मितिका निवेदन भएकोमा मोही कट्टातर्फ मोही लगत कट्टा हुने वा नहुने माग दावी बमोजिम निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधिर श्रेष्ठ

विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान अधिवक्ता श्री प्रकाश बस्ती

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।

२. जि.वारा, सिहोर्वा गा.पं.वा.नं. ६ बस्ने प्रेम चौधरी थारुले आफ्नो नामको ऐ.गा.पं.को वा.नं. ७(क) कि.नं. ५ को ज.वि. १० अवल जग्गा बिक्री गरी मिति ०३०।११।४।६ मा राजीनामा लेखी दिएकोमा सो लिखत ऐनको म्यादभित्र पारीत नगरिदिएकोले  बारा जिल्ला अदालतमा नालिश दिँदा मिति २०४३।३।३१ मा पारीत हुने ठहरी मेरो नाममा दाखेल दर्ता भई जग्गाधनी प्रमाण पूर्जा लिएकोमा सो प्रमाण पूर्जामा कसैको नाम मोहीको रुपमा लेखिएको छैन । यसै बीच इमामद्दीन मियाले उल्लिखित जग्गामा मोही भई साल बसाल जोतकोड गरी अघि बाली खलैमा विपक्षी जग्गा धनीलाई बुझाउँदै आएकोमा २०२४ साल देखि २०२८ साल सम्मको कूत भर्पाई र नापी टोलीबाट पाएको अस्थायी निस्सा समेत ०२८ सालको आगलागीमा परी डढेकोले ०२९ सालको कूत बाली बुझाएको भर्पाईको नक्कल राखी मोहीको स्थायी निस्सा पाउँ भनी भूमिसुधार कार्यालयमा निवेदन दिएको रहेछन । भूमिसुधार कार्यालयबाट विपक्षीलाई मोही कायमै राखी मोही प्रमाणपत्र बनाई दिने भनी मिति २०४१।११।३०।४ मा निर्णय गरेको ।

३. प्रेम चौधरी थारुबाट २०३० सालमा उक्त जग्गा राजीनामा लिई यद्यापी रुपमा भोग चलन गर्दै आई रहेको जग्गा बिक्री गर्ने साहूले ऐनका म्यादभित्र राजीनामा रजिष्ट्रेशन पास नगरी दिएकोले अदालतमा नालेश परी पास हुने ठहरी मेरो नाउँमा दाखेल दर्ता समेत भई जग्गाधनी पूर्जा समेत पाएको छु । सो जग्गाधनी पूर्जाम कसैको मोही भनी जनिएको छैन । यसरी कुनै कसैको मोहियानी भएको जग्गा नभएकोमा विपक्षीले केवल ०२९ सालमा साविक जग्गाधनी र ०३२ सालमा उप प्रधानपञ्चलाई कूत बुझाएको भर्पाई मात्र पेश गर्नुभएको छ । यदि विपक्षी हक प्राप्त मोही भएको भए भू.सु. ऐनको दफा २५(१) को दावी लिन सक्नु पथ्र्यो सो दावी लिन सक्नु भएको छैन र दफा ३४(१) कबूलियत भएको कुरा पनि दावी गर्नु सक्नु भएको छैन ।

४. अतः भूमिसुधार कार्यालय बाराले विपक्षीलाई मोही कायम गरी स्थायी निस्सा बनाई दिने भनी गरेको निर्णय भू.सु. ऐन, २०२१ को दफा २५(१), ३४, ३६(२) को प्रत्यक्षतः त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर ।

५. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश बमोजिम प्राप्त भएका  लिखितजवाफको जिकिर संक्षेपमा यसप्रकार छ ।

६. जग्गा धनीले भोगबन्धकी फर्छ्यौट भएको भनेको तर सो को कुनै प्रमाण पेश गर्न नसकेको र मेहदी र निजको छोराले २०२१ साल भन्दा अघि देखिनै मोहीमा कमाई नापीमा समेत जोताहा लेखाएको कुरा स्वीकार गरेकै हुँदै मोही कायम नै ठहरी मोहियानी हकको प्रमाणपत्र बनाई दिने भू.सु. कार्यालयको निर्णय कानुनसंगतनै भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.बारा कलैयाको लिखितजवाफ ।

७. उक्त जग्गामा साविक जग्गाधनी प्रेम चौधरीबाट नै भू.सु.ऐन लागू हुनुभन्दा धेरै पहिले नै मोहियानीमा कमाउन लिएको हुँ । मैले भोगबन्धकीवालासँग मोहियानीमा नलिई साविक जग्गा धनीसँग नै मोहियानीमा कमाउन लिएको छु यो जग्गा प्रेम चौधरीले भोगबन्धकी दिँदा समेत म मोही नै थिएँ र साहूले मसँग बाली लिन्थे । प्रेम चौधरी र लक्ष्मी साहूको व्यवहार मलाई केही थाहा छैन । मलाई जग्गा जोत्‍न सँग सम्बन्ध छ र जो निर्वाध निरन्तर जोती आएको छु । ज.ध.प्र. पूर्जामा मोही लेखियो लेखिएन मलाई थाहा छैन नापीमा नलेखिँदैमा मोहियानी समाप्त नहुने नजीर नै स्थापित छ भन्ने इमामद्दीन मियाको लिखितजवाफ ।

८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठले विपक्षी इमान सिंहले भू.सु.का.बारामा मोही प्रमाणपत्रको लागि निवेदन दिँदा आफू कुन ऐन बमोजिमको मोही हो खुलाउन सक्नु भएको छैन । तसर्थ विपक्षी भू.सु.ऐन, २०२१ को दफा २५(१) बमोजिमको मोही कायम हुन सक्दैन र विपक्षी भू.सु.का.बाराका तर्फबाट का.मु अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी इमामद्दीनका तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश बस्ती समेतले यीनै हालका जग्गाधनी रिट निवेदकले इमामद्दीन मोही हो भन्ने कुरा स्वीकार गरी ०४१ सालमा मोही लगत कट्टा गरिपाउँ भनी भू.सु.का.बारामा निवेदन दिएका थिएँ । तर हाम्रो पक्ष २०२१ साल देखि कै मोही भएकोले निवेदकले प्राप्त गरेको ज.ध.प्र. पूर्जामा मोहीको नाप नजनिदैमा इमामद्दीनको मोही हक जाने होइन भू.सु.का.वाराको निर्णय यथावत राखी पाउँ भन्ने बहस जिकिर प्रस्तुत गर्नुभयो ।

९. अब रिट निवेदकका माग बमोजिम आदेश जारी हुनुपर्ने हो वा होईन सो नै मुख्य कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१०. यसमा निर्णयतर्फ विचार गर्दा जि. वारा सिर्होजा गा.पं.वा.नं.७(क) कि.नं. ५ ज.वि. १० मा २०२१ साल देखिको नै मोही भएकोले मोही प्रमाणपत्र पाउँ भनी इमामद्दीन मियाको भू.सु.का.बारामा निवेदन परी भू.सु.का.बाराबाट मोही प्रमाणपत्र बनाई दिने भन्ने समेत मिति २०४१।११।३०।४ मा निर्णय गरेको रहेछ । भू.सु.का.बाराको उक्त निर्णयलाई अवलोकन गर्दा यिनै निवेदकले मोही लगत कट्टा गरिपाउँ भनी ०४१।२।९ मा उक्त भू.सु.कार्यालयमा निवेदन दिएकोमा उक्त जग्गामा विपक्षी इमामद्दीन मिया कानुन बमोजिम हक प्राप्त मोही हो वा होइन निवेदकले लिएको जिकिर बमोजिम मोही लगत कट्टा हुने हो वा होइन आदि कुराको सबूद प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी विपक्षी इमामद्दीनले मोही प्रमाणपत्र बनाई पाउँ भनी दिएको निवेदनका सिलसिलामा कारवाही गर्दा भोगबन्धकी फर्छ्यौट भएको प्रमाण पेश गर्न नसकेको भनी लगत कट्टा नहुने भई मोही प्रमाणपत्र बनाई दिने ठहर्छ भनी भू.सु.का.बाराबाट निर्णय भएको देखिन्छ । मोही लगत कट्टा तथा प्रमाणपत्र बनाई पाउँ भन्ने अलग अलग मितिका निवेदन भएकोमा मोही कट्टातर्फ मोही लगत कट्टा हुने वा नहुने माग दावी बमोजिम निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी मोही प्रमाणपत्र बनाई प्रमाण पाउँ भन्ने निवेदनको निर्णयमा नै लगत कट्टातर्फ बोलेको भू.सु.का.बाराको निर्णय दावी  बाहिरको भई त्रुटिपूर्ण देखिएकोले उक्त भू.सु.का.बाराको मिति २०४१।११।३०।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालय बाराका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल भाद्र २४ गते रोज ३ शुभम् ।