May 22, 1964
Created by nepalarchives

निर्णय नं. २३१ – ज्यान

निर्णय नं. २३१            ने.का.प. २०२१ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं. ७६...

निर्णय नं. २३१            ने.का.प. २०२१

फुल बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

फौ.फु.नं. ७६

अपिलाट प्रतिवादी : द्रुपदी लिम्बुनी फपरानी लिम्बुनी

विरुद्ध

विपक्षी, वादी : बेनबहादुर क्षेत्री

मुद्दा : ज्यान

(१)   ज्यानसम्बन्धी मुद्दामा वादीको जिकिर र चस्मदिद् गवाहीहरूको बयानमा सामाञ्जस्यता हुनुपर्ने ।

(२)   खुद लोग्नेले नै मेरो गर्भ भनीसकेपछि अन्यत्र करणी गराई गर्भ रहको भन्न नमिल्ने ।

            वादी वेनबहादुर बस्नेत क्षेत्रीले ०४।८।१५।१ मा दायर गरेको शुरु उजुरमा ०४।१।१२ का दिन अन्दाजी बिहान ३।४ बजेको टायममा म ज्यामरु भन्ने गाउँमा गई म घर फर्कि आउँदा सो दिनमा अन्दाज ९।१० बजेको टायम कमरे भन्ने सिम खेतमा बाटो भएकोले सो खेतमा आइपुग्दा निज अन्यायको लालवीरको घरमा निज अन्यायबालाहरू ३ जना सबै लालवीरको घरमा बसिरहेका र लालवीर लिम्बु र फिपरानी लिम्बूनीसमेत २ जनाले बालक रुवाउँदै सो सिम खेत तिर लगेकाले किन त्यसो गर्छौं भनी मैले भन्दा निज ३ जनाले सिम खेतमा फ्याँक भनी निजहरूले बचन दिएपछि निज फिपरानी लालवीरले सो खेतमा फ्याँकी बालख रुँदा घोप्टो पारी बालख मारेकोले उजुर गर्न आएको छु लास जाँच गरी कर्तव्य गरेमा ऐनबमोजिम सजाय मिलोस भन्ने लेखिदिएको । निजैको ०४।८।१५।१ को खोलुवा बयानको ४ सवालको जवाफमा बालख मारेको कुरा तालुकदारसमेतसँग भनी फिपरानीलाई पक्राउ गर्दा फिपरानीको भाइ लालवीर भन्ने नदेखिएको भाइ भागेकोले हाड नाता करणी लिनुदिनु भई बालख जन्मेकोले सो कुरा दवाउन कर्तव्य गरी लेखिएको मानिसले मारे दवाएको शंका लाग्छ भन्ने लेखिदिएको । ०५।८।१८।४ मा भएको सरजमिन मुचुल्का हेर्दा, चस्मदिद् सरजमिन मध्ये वर्ष ४१ को धनमाया क्षेत्रीनीको बकपत्र बेनबहादरुको शुरु उजुरीसँग कतै मिल्न नआएको । धन मायाको भनाई अनुसार सो वारदात १२ गतेको नभई ११ गतेको हो र टायमको हकमा बिहान ९।१० बजे नभई दिन ढल्केपछि खाजा खाने टायममात्र भएको र जातक दबाउने सिर्फ द्रुपदीमात्र भएको कसैले बचन दिएको भनी लेख्न नसकेको र प्रतिवादीमध्येका सु. रामबहादुरसमेत ३ जनाले दवाउनलाई मारे नमारेकोसमेत मलाई थाहा छैन धनमायाको कथानुसार द्रुपदीको घरनेरको वारदात देखिएको, वेनबहादुरको भनाईअनुसार लालबहादुरको घरनेरको वारदात देखिएको र अर्को चस्मदिद् गवाई मानबहादुर लिम्बुको व्यहोरा के भने सो मार्ग ११ गतेका दिन फारफुक गर्न लाले लिम्बुले डाकेकाले दिन ढल्केपछि निज द्रुपदीको घर भित्र कोठामा बसी धुप बत्ती गर्न लागेको टायममा जिउँदो जातक जन्मेकोलाई फिपरानीले कुवानेर नेउरा भएको ठाउँमा फाली आएसकेपछि थाहा होला देख्ला छिटो पुर भनी प्र.रामबहादुर खड्ग सिंले भनेपछि फिपरानी लालवीरले पुरी आएकोमा सोही ठाउँमा वादी बेन पनि आई पुगेको भन्नेसमेत बकी लेखिदिएबाट चस्मदिद गवाहकै यस मुद्दाको निर्णयसम्बन्धित महŒवपूर्ण विषयमा परस्पर कुरा बाझिएको देखिएको । देखे भनी बयान गर्ने बेनबहादुरले नै यसले बालखको घाँटी निचोरेको भन्न नसकेको फिपरानी र लालवीरको बीचमा हाडनाता करणी भई गर्भ रहेको भए जातक पैदा हुनुभन्दा अगावै खारखेत गरी सौपुवा गर्न सक्नुपर्ने सो नसकेको । प्रतिवादी मध्येकै खड्ग सिंलेसमेत फिपरानी निजको स्वास्नी हो । मेरो करणी विर्यबाट गर्भ रहेको भनी जिकिर लिएको । यदि फिपरानी निजको स्वास्नी भई हाड नातामा परी गर्भ रहेको भए त्यस्तो हाडनातामा भजिनेको गर्भ मेरो हो भनी भन्न नपर्ने सरजमिन मध्येका सुवान सिंहसमेतका मानिसहरूले फिपरानीलाई जातको रीतपुर्‍याई खड्ग सिंले अगावै स्वास्नी तुलाई निजकै विर्यबाट ८ महिनाको गर्भ तुही मरेको जातक जन्मेको भन्नेसमेत किटानी साथ लेखि दिएको र ज्यान जालसाजी मुद्दामा अपीलाटसमेतउपर जालसाजी गरेको ठहरी फैसला भएको प्रमाण मिसिलबाट देखिएकोलेसमेत वादी दावीबमोजिम हाडनातामा करणी गरी अपिलाटसमेतले जातक मारेको ठहर्दैन । फिपरानीको आफ्नो लोग्ने खड्ग सिंकै सहबासबाट गर्भ रहेकोमा स्वभावत गर्भ तुही मरेको ठहराएको ०२१।१।१७।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव छ ।

(प्रकरण नं. १४)

अपिलाट तर्फबाट : वैतनिक वकील सुधानाथ पन्त

 

फैसला

      १.     ०४।८।१२ गतेका दिन म ज्यामरु भन्ने गाउँमा गई फर्की आउँदा कमेरे भन्ने सिमखेतकोबाटो हुँदा सो खेतमा दिनको ९।१० बजेको टायममा आई पुग्दा लालवीरका घरमा ३ जना अन्यायवालाहरू बसी रहेका । लालवीर र फिपरानीसमेत २ जनाले बालख रुवाउँदै सो सिम खेत निर लगेकाले किन त्यसो गर्छौ भन्दा निजहरू ३ जनाले सो सिम खेतमा फ्याँक भनी बचन दिएपछि फिपरानी लालवीरले खेतमा फ्याँकी बालख रुँदा घोप्टो पारी निचोरी मैले देख्दा देख्दै मारेको हुँदा यसरी ज्यानमार्न हुँदैन भन्दा जे गर्नु पर्छ गर भनेकोले गाउँघरका तालुकदारसमेत बोलाई तालुकदारसमेत आई लास हेर्दा, कपाल उम्रेको भरखर जन्मेको, बालख सो सिम खेतमा घोप्टो पारी उत्तर तिर शिर पारी मारेकोले फिपरानीसमेतलाई पक्रदा लाले लिम्बु नदेखिइ भागेको तालुकदारका सामन्ने लालवीर फिपरानीको गर्भ हो । बाबुको ठेगाना नभएकाले हामी ५ जना भइ मारेका हौं भनी लालवीरले भनेको र दु्रपदी लिम्बुनीबाट जन्मेको एकै उदरको फिपरानी दिदी र लाले भाइ हाडनाता करणीमा बिग्री बालख जन्मेको सो कुरा दवाउनलाई बालख मारे दवाएको हो भन्नेसमेत व्यहोराको वेनबहादुरको फिराद बयान ।

      २.    फिपरानी र लाले लिम्बु एका उदरको होइन ५ पुस्ताका दिदी भाइ हुन् । लाले र फिपरानी करणीमा बिग्रेको होइन । २००२ साल माघ महिनामा खड्ग सिं लिम्बुले स्वास्नी तुल्याई लगेको खड्ग सिंको जेठी स्वास्नी हुँदा झगडा गरी आश्विन महिनामा माईत आइ बसेकी थिई, गर्भसमेत रहेछ । आश्विन देखि बिरामी भइ मार्ग ११ गतेका दिन खाजा खाने टायममा मरेको बालख जन्माएकोले खड्ग सिंसमेत भइ लिम्बुको चलनमा मरेको बालख जन्मे नयाँ माटोको हाँडीमा राखी नभए केही पानी भएको ठाउँमा गाड्ने रीति चलन हुँदा नयाँ हाँडी नपाउँदा सिममा गाडेछन् । सो गर्भ तुही मरेको बालख जन्मेको खबर आउँदा ऐ. १३ गते द्रुपदीको घर आउँदा लास कुरुवा राखेका रहेछन् जीउँदो बालख जन्मेको र फ्याँक भनी मैले बचन दिएको मारे मराएकोसमेत होइन मरेकै बालख जन्मेको गाडेको हो । सन्तवीर धनबहादुर आशध्वजसँग लूटपीट जग्गा मुद्दासमेत परेका इवीवाला हुँदा नभएको कुराको मसमेतउपर झुट्ठा मुद्दा लगाएको भन्नेसमेत व्यहोराको सुब्बा रामबहादुर लिम्बुको प्रतिवादी बयान ।

      ३.    लाले लिम्बुको र फिपरानीको करणी लिनु दिनु भएको होइन । फिपरानीको र मेरोमायाँ प्रिती बसी २००२ मार्ग महिनामा करणी लिनुदिनु भएको माघ महिनामा घर लगेको २००४ साल बैशाख महिना देखि मेरो करणी बिर्जेबाट फिपरानीको गर्भ रहेको र घरमा जेठी स्वास्नीसँग नमिली झगडा गरी माइती आएकी थिई । आश्विन महिनादेखि जरो आउने पेट दुख्ने बिरामी भएको थियो । सो पेट दुखेको कारणबाट मरेको बालख मार्ग ११ गते दिन ढल्केपछि जन्मेकाले म र सासु द्रुपदी दाजु धनबहादुर जितबहादुरसमेत भइ लास गाडेको हौं, मारे दवाएको होइन भन्नेसमेत व्यहोरा खड्ग सिं लिम्बुको बयान ।

      ४.    द्रुपती मेरो स्वास्नी होइन ४ पुस्ताको दाजु मानबहादुरको स्वास्नी हुँदा भाउजु हो । लाले फिपरानी करणीमा बिग्रेको होइन । खड्ग सिंसँग पोइल गएको खड्ग सिंको करणी बिर्जेबाट गर्भ रहेको रहेछ । खड्ग सिंको जेठी स्वास्नी भएको सौतासौती झगडा भइ बराबर माइत आउने जाने गर्थी । फिपरानी आश्विन महिनादेखि जरो आउने बेथाले गर्दा मार्ग ११ गते दिन ढल्केपछि मरेको बालख जन्म भएकोले गाडी दिएछन् । सो खवर १२ गतेका दिन आएकाले रामबहादुरसमेत द्रुपदीको घरमा आउँदा सो मरेको बालखलाई गाउँलेले कुरी राखेको रहेछन् । हाडनाता करणी दवाउनालाई जिउंदा बालखलाई मारे दवाएकोसमेत होइन भन्ने लालवीरको बयान ।

      ५.    फिपरानी मेरो छोरी हो । ४ पुस्ता नाताको छोरा पर्ने लाले हो । लालवीर लोग्ने होइन । लोग्ने मानबहादुर मुगलान गएको खड्ग सिंसँग फिपरानी पोइल गएकी खड्ग सिंको जेठी स्वास्नी सौता मिली बस्न नसकी ४ साल बैशाख महिना देखि छोरी गर्भवती रहिछ । आश्विन महिनादेखि छोरीलाई जरो आउने पेट दुख्छ भनी मार्ग ११ गतेको दिन ढल्केपछि मरेको बालख छोरा पोइ ज्वाईसमेत हुँदा ज्वाई खड्ग सिं मसमेत भइ बालखलाई गाडेको हो भन्नेसमेत द्रुपदीको बयान । लाले लिम्बु ४ पुस्ताको नाता भाइ हो । निज मेरो घरमा बस्ने गरेको छैन । भाईसँग मैले करणी लिनुदिनु गरेको होइन । खड्ग सिं लिम्बुसँग मायाँ प्रिती बसी यो आउने २ बर्ष हुन्छ पोइल गई स्वास्नी भइ बसी खड्ग सिंको बिर्जेबाट गर्भसमेत रही जेठी स्वास्नीसमेत हुँदा झगडा परी बस्न नदिएकोले २००४ साल बैशाख निकल्दो माइत आइ बसेकी थिएँ । आश्विन महिनादेखि जरो आउने पेट दुख्ने बेथा भइ झारफुक धामी फेदाम्मा पनि लगाएको थियो तैपनि बराबर जरो आउने पेट दुख्ने भइ मेरो गर्भ रहेको ८ महिनाको बालख मार्ग ११ गते मरेको बालख जन्मेकाले आमा र लोग्नेसमेतले गाड्न लगेको हो । जिउँदो बालखलाई गाडेको होइन भन्नेसमेत फिपरानीको बयान ।

      ६.    फिपरानी मेरो काका पर्नेको छोरी हुँदा दिदी पर्ने हो । द्रुपदी मेरो बाबुको स्वास्नी नभई मानबहादुरको स्वास्नी हुँदा भाउजु नाताकी हो । द्रुपदीको घरमा रहे बसेको होइन । दिदी फिपरानीको करणी मैले गरेको होइन । २ बर्ष भयो फिपरानीलाई खड्ग सिंले लगेको । निजको करणी बिर्जेबाट गर्भसमेत रहेको र खड्ग सिंसँगको २ स्वास्नी मिल्न नसकी २००४ साल जेष्ठ महिना देखि माइत आइ बसेकी । ०४ साल मार्ग महिनामा मरेको बालख जन्मेको खड्ग सिं फिपरानी द्रुपदीसमेतले लगी गाडे भने भन्ने कुरा म दार्जेलिङतर्फ गइ पौष २ गते आउँदा सुनेको हुँ । खड्ग सिंको दाजुको छोरिसँग विवाह भएकोले स्वास्नी घरमै छ भन्नेसमेत व्यहोराको लालवीर लिम्बुको बयान ।

      ७.    लालवीर लिम्बुका र फिपरानीको हाडनातामा करणी लिनु दिनु भइ गर्भ रही जन्मेको जीउँदो बालखलाई द्रुपदी फिपरानी भइ मारे गाडेकोसमेत ठहर्छ भन्नेसमेत ताप्लेजुङ अमिनीको २००६।८।१।४ को फैसला ।

      ८.    इन्साफमा चित्त बुझेन भन्नेसमेत द्रुपदी लिम्बुनीसमेतको अपील परेकोमा इन्साफ शुरुको मनासिव भन्नेसमेत ०१७।११।११ को जिल्ला अदालत म्याङलुङको जाहेरी फैसला ।

      ९.    साधकद्वारा पेश हुँदा इन्साफ शुरुको सदर गरेको जिल्ला अदालतको मनासिव भन्नेसमेत ०१८।१२।१९ को सर्वोच्च अदालत पूर्व दौडाहा डिभिजन बेञ्चको फैसला ।

      १०.    जिल्ला अदालत म्याङलुङको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी द्रुपदी फिपरानीको अपील ।

      ११.    दर्खास्त र प्रतिवादीको प्रतिउत्तरपत्रको कुरा फरक परेको सरजमिनको बकाइ र दर्खास्त उजुरीको मिति फरक परेको फालेको ठाउँ निउरो घारी वा सिमखेत के हो लाले फिपरानी तथा द्रुपदी कसले फालेको हो कुरा फरक भएको सबैले देख्ने गरी दिनको १० बजे लगी मारे भन्नेसमेत कुरा प्रतित नदेखिने । बेनबहादुरलाई खड्ग सिंसमेतले उजुर गरेकोमा ५। बर्ष कैद गर्ने गरेकोमा अपील गर्न सकेको देखिंदैन । उजुरवाला विपक्ष बेनबहादुरलाई छलफलको म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्नेसमेत ०२०।३।२६ को डिभिजन बेञ्चको आदेश ।

      १२.   ज्यान जालसाजी मुद्दामा अपिलबाटसमेतउपर जालसाज गरेको ठहरी आजै यसबेञ्चबाट फैसला भएकोले वादी बमोजिम हाडनातामा करणी गरी अपिलाटसमेतले जातक मारेको ठहर्देन फिपरानीको आफ्नो लोग्ने खड्ग सिं कै सहवासबाट गर्भ रहेकोमा स्वभावत गर्भ तुही मरेको ठहर्छ ।

      १३.   अपिलाटसमेतलाई दामल सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर भई ०१८।१२।१९ मा किनारा लागेको देखिनाले सो डिभिजन बेञ्चको इन्साफसँग यो डिभिजन बेञ्च सहमत नभएको हुनाले सर्वोच्च अदालत नियमावलीको नियम ३१ बमोजिम यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत २१ साल बैशाख १७ गते रोज ४ का डिभिजन बेञ्चको फैसला ।

      १४.   रुलिंग बाझिएको भनी पेश हुन आएको यो मुद्दामा थुनुवा अपिलाटतर्फको बैतनिक वकिल प्लीडर सुधानाथ पन्तले गर्नु भएका बहससमेत सुनी हेर्दा, वादी बेनबहादुर बस्नेत क्षेत्रीले ०४।८।१५।१ मा दायर गरेको शुरु उजुरमा ०४।८।१२ का दिन अन्दाजी बिहान ३।४ बजेको टायममा मज्यांमरु भन्ने गाउँमा गई म घर फर्की आउँदा सो दिनको अन्दाजी ९।१० बजेको टायम कमरे भन्ने सिम खेतमा बाटो भएकोले सो खेतमा आइ पुग्दा निज अन्यायको लालवीरको घरमा निज अन्यायवालाहरू ३ जना सबै लालवीरको घरमा बसी रहेका र लालवीर लिम्बु र फिपरानी लिम्बुनीसमेत २ जनाले बालख रुवांउदै सो सिम खेत तिर लगेकाले किन त्यसो गर्छाै ंभनी मैले भन्दा निज ३ जनाले सिम खेतमा फ्याँक भनी निजहरूले बचन दिएपछि निज फिपरानी लालवीरले सो खेतमा फ्याँकी बालख रुंदा घोप्टो पारी बालख मारेकोले उजुर गर्न आएको छु लास जाँच गरी कर्तव्य गरेमा ऐनबमोजिम सजाया मिलोस भन्ने लेखी दिएको । निजैको ०४।८।१५।१ को खोलुवा बयानको ४ सवालको जवाफमा बालख मारेको कुरा तालुकदारसमेतसँग भनी फिपरानीलाई पक्राउ गर्दा फिपरानीको भाइ लालवीर भन्ने नदेखिएको भइ भागेकोले हाडनाता करणी लिनु दिनु भइ बालख जन्मेकोले सो कुरा दवाउन कर्तव्य गरी लेखिएको मानिसहरूले मारे दवाएको शंका लाग्छ भन्ने लेखी दिएको ०५।८।१८।४ मा भएको सरजमिन मुचुल्का हेर्दा, चस्मदिद सरजमिन मध्ये बर्ष १४ की धनमायाँ क्षेत्रीनीको बकपत्र बेनबहादुरको शुरु उजुरिसँग कतै मिल्न नआएको । धनमायाँको भनाइ अनुसार सो वारदात १२ गतेको नभइ ११ गतेको हो र टायमको हकमा बिहान ९।१० बजे नभइ दिन ढल्केपछि खाजा खाने टायम भएको र जातक दबाउने सिर्फ द्रुपदीमात्र भएको कसैले बचन दिएको भनी लेख्न नसकेको र प्रतिवादी मध्येको सु.रामबहादुरसमेत ३ जनाले दबाउनलाई मारे नमारेकोसमेत मलाई थाहा छैन धनमायाँका कथानुसार द्रुपदीको घरनेरको वारदात देखिएको बेनबहादुरको भनाइ अनुसार लालबहादुरका घरनेरको वारदात देखिएको र अव अर्का चस्मदिद गवाह मानबहादुर लिम्बुको व्यहोरा के भने सो मार्ग ११ गतेका दिन फारफुक गर्न लाले लिम्बुले डाकेकोले दिन ढल्केपछि निज द्रुपदीको घरभित्र कोठामा बसी धुपबत्ती गर्न लागेका टायममा जीउँदो जातक जन्मेकोलाई फिपरानीले कुवानेर नेउरा भएका ठाउँमा फाली आइ सकेपछि थाहा होला देख्ला छिटो पुर भनी प्र.रामबहादुर खड्ग सिंले भनेपछि फिपरानी लालवीरले पुरी आएकोमा सोही ठाउँमा वादी बेनबहादुर पनि आइ पुगेको भन्ने वकी लेखी दिएबाट चस्मदिद गवाहकै यसै मुद्दाको निर्णय सम्बन्धित महŒवपूर्ण विषयमा परस्पर कुरा बाझिएको देखिएको । देखें भनी बयान गर्ने बेनबहादुरले नै यसले बालखको घाँटी निचोरेको भन्न नसकेको । फिपरानी र लालवीरको बीचमा हाडनाता करणी भइ गर्भ रहेको भए जातक पैदा हुनु भन्दा अगावै खारखेत गरी सौपुवा गर्न सक्नुपर्ने सो नसकेको । प्रतिवादी मध्येकै खड्ग सिंलेसमेत फिपरानी मेरो स्वास्नी हो मेरो करणी बिर्जेबाट गर्भ रहेको भनी जिकिर लिएको । यदि फिपरानी निजको स्वास्नी नभइ हाडनातामा परी गर्भ रहेको भए त्यस्तो हाडनातामा भजिनेको गर्भ मेरो हो भनी भन्न नपर्ने । सरजमिन मध्येका सुवान सिंसमेतका मानिसहरूले फिपरानीलाई जातको रीत पुर्‍याइ खड्ग सिंले अगावै स्वास्नी तुल्याइ निजकै बिर्जेबाट ८ महिनाको गर्भ तुही मरेको जातक जन्मेको भन्नेसमेत किटानीसाथ लेखी दिएका र ज्यान जालसाजी मुद्दामा अपिलाटसमेतउपर जालसाजी गरेको ठहरी फैसला भएको प्रमाण मिसिलबाट देखिएकोलेसमेत वादी दावीबमोजिम हाडनातामा करणी गरी अपिलाटसमेतले जातक मारेका ठहर्दैन फिपरानीको आफ्नो लोग्ने खड्ग सिं कै सहबासबाट गर्भ रहेकोमा स्वभावत गर्भ तुही मरेको ठहराएको ०२१।१।१७।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव छ । सो डिभिजन बेञ्चको फैसला तपसील खण्डमा लेखिएको लगत तहसिलमा दिई नियमबमोजिम मिसिल बुझाई दिनु । सफाइ पाउने थुनुवाहरूलाई तुरुन्त छाडी दिनु भनी लेखी पठाइ दिनु ।

 

 

इति सम्वत् २०२१ साल जेष्ठ ९ गते रोज ६ शुभम् ।