निर्णय नं. ३१३८ – दर्ता बदर हक कायम ।
निर्णय नं. ३१३८ ने.का.प. २०४४ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान माथेमा...
निर्णय नं. ३१३८ ने.का.प. २०४४ अङ्क ७
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान माथेमा
सम्वत् २०४२ सालको दे.पूर्ण इ.नं. ११३
मुद्दा : दर्ता बदर हक कायम ।
निवेदक/वादी:का.जि.का.न.पं. वडा नं. २८ बाँगेमुडा बस्ने गंगानाथ कपाली ।
ऐ.ऐ बस्ने कृष्ण प्रसाद कपाली ।
ऐ.ऐ बस्ने विष्णुमाया कपाली ।
ऐ.ऐ बस्ने आनन्द कपाली ।
ऐ.ऐ बस्ने बद्रीनाथ कपाली ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ. ऐ. नघल टोल बस्ने विष्णु कुमारी जोशी ।
ऐ.ऐ बस्ने भरतराज जोशी ।
का.प.जि.नाला गाउं पंचायत वडा नं.४ बस्ने मदतमान श्रेष्ठ ।
फैसला भएको मिति: २०४४।७।१२।५ मा
कि.नं. ६०२ को जग्गा खरीद गर्दा विवादको कि.नं. ६०३ का घरलाई सत्तल भनी किल्ला देखाएको पाइन्छ, यसबाट विवादको घर वादी दावी अनुसार वादीहरूको स्ववासी भन्ने देखिन नआई सो घर सत्तल भन्ने देखिन आएकोछ, सो द्वारिकामानबाट वादीले खरीद गरी लिएको हाल नापीको कि.नं. ६०२ को जग्गामा निजैले घर बनाउन नक्शा दिँदा दक्षिणतर्फ रहेको विवादको घरलाई माहिला जोशीको घर भनी देखाएकोबाट समेत विवादको घर विपक्षी प्रतिवादीहरूका पूर्खा माहिला जोशीले राखेको विपक्षी प्रतिवादीहरूको हकको सत्तल भन्ने देखिन आएकोले, सो घरलाई स्ववासी भनी आफ्नो नाममा दर्ता गरिपाउँ भन्ने वादीहरूले दावी लिएको सो दावी पुग्न सक्ने अवस्था नरहने ।
(प्रकरण नं. १९)
निवेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
उल्लेखित मुद्दाः X
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादीहरूले चढाएको विन्तिपत्रमा फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।१२।१३ मा तोक लागी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. का.जि.का.न.पं. वडा नं. २८ को कित्ता नं. ६०३ को घर जग्गा समेत पिता पूर्खाका पालादेखि नै हामी फिरादीहरूको संयुक्त स्ववासी घर जग्गा हो सर्भे नापी हुँदा बद्रिनाथ, गंगानाथ, कान्छा कपाली र विष्णुमाया समेतका नाममा सगोल स्ववासी भनी दर्ता भयो । मिति २०३७।७।२१ मा कान्छा कपालीको स्वर्गवास भई हामीहरूको हक भई हामी फिरादीहरूले भाग लगाई भोगचलन गरिआएका छौं । यस्तो कि.नं. ६०३ को घर जग्गालाई हामी फिरादीहरूले आपसी समझदारी अनुसार भाग लगाई खाएको जग्गालाई आफ्नो भन्दै भाडामा बसिआएका व्यक्तिले आफ्नु स्ववासी भनी लेखाएको इत्यादि कुराहरूको उल्लेख गर्दै आफ्नु नाममा दर्ता गरिपाउँ भनी विपक्षीले ३ नं. नापी गोश्वारामा उजूर गर्नु भयो । ३ नं. नापी गोश्वाराले विपक्षीका नाममा दर्ता गरिदिने भनेको निर्णय त्रुटिपूर्ण छ । सो निर्णय र विपक्षी समेतको नाममा गरिएको का.न.पं. वडा नं.२८ कि.नं.६०३ को घर जग्गा दर्ता गरी हाम्रो नाममा सगोल दर्ता गरी हककायम गरिपाउँ भन्ने समेत व्यहोराको बद्रीनाथ कपालीसमेतको मिति २०३७।१०।२२।४ को फिरादपत्र ।
३. विवादको कि.नं. ६०३ को घर विपक्षीहरूको नाममा भएको सूचना प्रकाशन भएपछि मेरो उजूर परी विपक्षीहरूलाई झिकाई कागज गराई सरजमीन समेत बुझी विवादको घर म समेतका र हकदारको भएबाट ३ नं. नापी गोश्वारा समेतको गठित समितिका मिति २०३७।९।१२ का निर्णयले म समेतका नाममा दर्ता गरिएको छ । उक्त निर्णयमा जग्गा नाप जाँच ऐन, २०१९ को उल्लेख नहुनाको साथै उक्त निर्णयमा विपक्षीहरूलाई हक बेहकमा अदालतमा जानु भनी सुनाएको समेत छैन साथै दर्ता बदरतर्फ ज.मि. को १८ नं. अन्तर्गत फिरादपत्र दायर हुन नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विष्णु कुमारीको मिति २०३८।३।२।३ को प्रतिउत्तरपत्र जिकिर ।
४. विवादको घरजग्गामा वादीहरूको प्रमाण परिबन्द अवस्थाबाट विवादको घरजग्गामा वादीहरूको हक कायम हुनसक्ने नदेखिएकोले वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३८।९।६ को काठमाडौं जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको गंगानाथ कपाली समेतको वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०३८।१०।१८ को आदेश ।
७. प्रतिवादीको पेटबोलीबाट भरतराज जोशी समेतलाई अ.बं. १३९ नं. बमोजिम बुझ्ने भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०३९।१।५ को आदेश ।
८. बाजे माइला जोशीको अपुतालीबाट विवादको घर हामी प्रतिवादीहरूको हक हुन आएको विपक्षीहरूले सालको रु. ५०।– बहाल दिने गरी बसिआएको सो घरमा मेरो हक कायम गरिपाउँ भन्न समेत श्यामराजको हकमा मुद्दा सकार गरी आफ्ना हकमा समेत भरतराज जोशीको मिति २०३९।२।४ को बयान ।
९. विवादको ६०३ नं. को घर हाम्रा माहिला बाजे माहिला जोशीको हुँदा वहाँको पालादेखि रु. ५०।– बहाल बुझाउने गरी मौखिक शर्तमा विपक्षी बसिआउनु भएको हो । विवादको घर म समेतको हकको हो भन्ने समेत मदतमानको वा.भरतराज जोशीको मिति २०३९।३।४ को बयान ।
१०. विवादित घर विपक्षी प्रतिवादीहरूले हाम्रा पूर्खाका पालादेखिको साझा सत्तल भनी जिकिर लिएको छ । कुन पूर्खाले कहिलेदेखि सत्तल बनाई वादीहरूलाई बस्न दिएको हो सो कुराको सबुद दिन नसकेको । वादी बद्रिनाथले मिति २०२१।११।२२ मा राजीनामा गरी लिँदा दक्षिण तपाई साहूहरू बसेको सत्तल भनी उल्लेख भएको विवादको घर जग्गादेखि दक्षिणतर्फ जग्गा हुने बालसुन्दर मल्लले २०३१ सालमा का.न.पं. मा घर बनाउने नक्शा पास गर्दा उत्तर सोही ठाउँ बस्ने बागचा कपालीको जग्गा र आफ्नै एकलौटी चोक भन्ने उल्लेख भएकोबाट विवादित घर पुनरावेदकहरूकै पूर्खादेखिको हक भोगचलनको रहेछ भन्ने देखिने । प्रतिवादीहरूले बहालमा बसेको सबुद पेश गर्न नसकेकोबाट समेत विवादित घर पुनरावेदक वादीहरूका नाममा सगोलको दर्ता गरी वादीहरूकै हककायम हुने समेत ठहर्छ । शुरु इन्साफ उल्टी हुन्छ भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०३९।३।१४ को फैसला ।
११. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको मिति २०४०।४।२६ को आदेश ।
१२. कि.नं. ६०१ को जग्गा लिने गोपालको लिखतबाट र २०३१ सालमा बालसुन्दरले कि.नं. ६०४ को घरको नक्शा पास गर्दा उत्तर बागचा भन्ने कान्छा कपालीको जग्गा भनी उल्लेख भएको भन्ने जिकिर लिएकोमा कृष्णरामको अरु व्यक्तिले लेखिदिएकोलाई आधार मान्न मिल्ने देखिन आएन । वादी मध्येका बद्रीनाथले २०२१।११।२२ मा लिएको फार्छेमा दक्षिण तपाई साहूहरू बसेको सत्तल भनी लेखेको वादी मध्ये बद्रीनाथ गंगानाथले २०२२ सालमा नक्शा पासको लागि दिएको दर्खास्तमा दक्षिण माइला जोशीको घर भनी उल्लेख गरेकोबाट विवादित कि.नं. ६०३ को घर जग्गा वादी पक्षको हकको रहेछ भन्न मिल्ने देखिन आएन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । वादीहरूको हक कायम हुने समेत ठहर्याएको वागमती अञ्चल अदालतको इन्साफ मिलेको नहुँदा उल्टी हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जको मिति २०४१।३।५।२ को फैसला ।
१३. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादीहरूको निवेदन परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १८४(क) र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।४।५ को आदेश ।
१४. मिति २०२१।११।२२ को राजीनामा दक्षिण तपाई साहूहरू बसेको सत्तल भनी किल्ला लेखिएको देखिन्छ । सो राजीनामाको पाताल जग्गामा घर बनाउन नक्शा पास गराउँदा नगरपञ्चायतमा मिति २०२२।२।१० मा दर्खास्त दिँदा पुनरावेदक मध्येको बद्रीनाथ कपाली र गंगानाथ कपालीले दक्षिण किल्लामा माहिला जोशीको घर भनी लेखेको देखिएबाट वादी स्वयंले विवादको घरजग्गा आफ्नो होइन भनी मानिसकेको कुरामा शंका देखिँदैन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१०।२८ को फैसला ।
१५. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई पाउँ भनी वादीहरूले चढाएको बिन्तिपत्रमा लेखिएको मुद्दा फुलबेञ्चबाट झिकी दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज बाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।१२।१३ मा तोक लागी आएको रहेछ ।
१६. निवेदक वादीहरूतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विवादको घरमा वादीहरू पुस्तौं पुस्ता देखि बसिआएको हो । वादीहरू बसिआएको कुरा विपक्षीले बहालमा राखेको भनेकोबाट पुष्टि हुन्छ । विवादको घर विपक्षीहरूको हक भएको भन्ने सबुद प्रमाण कुनै देखाउन सकेको छैन । कि.नं. ६०२ को जग्गा गंगानाथलाई राजीनामा दिनु पूर्व आसामी द्वारिकामानले नक्शा दिँदा पनि दक्षिण किल्ला कपाली बसेको सत्तल भनी देखाएको छ । जसको भोगचलन छ उसैको हक मान्नु पर्छ । तसर्थ वादी दावी नपुग्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको इन्साफ मिलेको छैन । सो घर वादीहरूको हक कायम हुनुपर्छ भन्ने समेत र निवेदक वादीहरूतर्फबाटै रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले विवादको घर वादीहरूको हक लाग्ने होइन भन्ने कुराको सबुद पुर्याउन सकेको छैन बद्रीनाथ र गंगानाथले नक्शा दर्खास्त दिँदा दक्षिण किल्ला माहिला जोशीले घर उल्लेख गरेको भन्दैमा अरु वादीको हक जाने होइन । प्रतिवादीको हक भएको सबुद आउनु बेगर प्र.को हक कायम हुनसक्ने होइन भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मुद्दा दोहोर्याई पाउँ भनी वादीहरूले चढाएको विन्तिपत्रमा घरवार विहीन भन्ने उल्लेख । तर निजहरूको घर भएको हुँदा व्यहोरा साँचो देखिँदैन । दावी गर्दा स्ववासी भनी दावी गरेको हाल विन्तिपत्रमा सत्तल भनेकोले पनि व्यहोरा साँचो देखिँदैन । समितिको निर्णय बदर गरिपाउँ भन्ने दावी नै छैन वादी मध्ये गंगानाथ बद्रीनाथले नक्शा दर्खास्त दिँदा दक्षिण माहिला जोशीको घर भनी लेखेकोबाट पनि वादीहरूको घर होइन प्रतिवादीहरूको घर देखिन्छ । विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले पनि विवादको घर स्वसासी भन्ने दावी लिई उजूर परेको देखिन्छ । सत्तल भनी दावी गरेको छैन । स्ववासी घर हो होइन सो कुराको मात्र निरोपण हुने हो । विवादको घर प्रतिवादीहरूको भन्ने देखिन्छ । तसर्थ सर्वोच्च अदालतको इन्साफ सदर हुनुपर्छ भनी बहस गर्नु भयो ।
१७. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१८. यसमा निर्णयतर्फ हेर्दा का.न.पं. वडा नं. २८ को कि.नं. ६०३ को घरजग्गा हामी फिरादीहरूको स्ववासी भई हामीहरूको नाममा दर्ता भएकोमा सो ३ नं. घर नापी गोश्वाराको निर्णयले विपक्षीका नाममा दर्ता गर्ने गरेकोले सो घर जग्गा हाम्रा नाममा दर्ता गरी हक कायम गरिपाउँ भन्ने समेत वादीहरूको दावी देखिन्छ ।
१९. निवेदक वादी मध्ये बद्रीनाथ कपाली र गंगानाथ कपालीले नक्शा पास गरिपाउँ भनी दिएको दर्खास्तमा काठमाडौं नगरपञ्चायतबाट मिति २०२२।४।२१ मा नक्शा पास भएको प्रमाण मिसिल सामेल रहेको द्वारिकामान राजभण्डारीबाट गराई लिएको मिति २०२१।११।२२ मा पारीत राजीनामामा उल्लिखित सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०१९।५।१७ मा फैसला भएको निवेदक प्रतिवादी गणेशमाया श्रेष्ठनी विपक्षी वादीले द्वारिकामान राजभण्डारी भएको दे.ठा. ३५ नं. को जग्गा (नक्शा पास) मुद्दाको रेकर्ड मिसिल सामेल रहेको सर्वोच्च अदालतबाट भएका मिति २०१९।२।१४।१ को नक्शामा पनि वादी दावीको विवादको घर सत्तल भन्ने उल्लेख भएको देखिन्छ । यिनै वादी मध्येका बद्रीनाथ कपाली र गंगानाथ कपालीले द्वारिकामान राजभण्डारीबाट विवादको घरको उत्तरतर्फको हाल कि.नं. ६०२ को जग्गा मिति २०२१।११।२२ मा खरीद गर्दा विवादको कि.नं. ६०३ को घरलाई सत्तल भनी किल्ला देखाएको पाइन्छ । यसबाट विवादको घर वादी दावी अनुसार वादीहरूको स्ववासी भन्ने देखिन नआई सो घर सत्तल भन्ने देखिन आएको छ। सो द्वारिकामानबाट वादी मध्ये बद्रीनाथ गंगानाथ कपालीले खरीद गरिलिएको हाल नापीको कि.नं. ६०२ को जग्गामा निजै बद्रीनाथ गंगानाथ कपालीले घर बनाउन नक्शा दिँदा दक्षिणतर्फ रहेको विवादको घरलाई माहिला जोशीको घर भनी देखाएकोबाट समेत विवादको घर विपक्षी प्रतिवादीहरूका पूर्खा माहिला जोशीले राखेको विपक्षी प्रतिवादीहरूको हकको सत्तल भन्ने देखिन आएकोले, सो घरलाई स्ववासी भनी आफ्नो नाममा दर्ता गरिपाउँ भन्ने वादीहरूले दावी लिएको सो दावी पुग्न सक्ने अवस्था रहेन । तसर्थ विवादको घरमा वादी दावी नपुग्ने ठहर्याएको काठमाडौं जिल्ला अदालत र मध्माञ्चल क्षेत्रीय अदालतको इन्साफलाई सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१०।२८ को इन्साफ मनासिब ठहर्छ । कोर्ट फी रहेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४४ साल कार्तिक १२ गते रोज ५ शुभम् ।