October 29, 1987
Created by nepalarchives

निर्णय नं. ३१३७ – उत्प्रेषण

निर्णय नं. ३१३७     ने.का.प. २०४४      अङ्क ७   पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...

निर्णय नं. ३१३७     ने.का.प. २०४४      अङ्क ७

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको रिट पूर्ण इजलास नम्बर ३२

विषय : उत्प्रेषण ।

 

निवेदक      : जिल्ला कपिलवस्तु तिलौराकोट गाउँ पञ्चायत वडा नं. ३ बस्ने फुलमती गोसाइन ।

      ऐ.ऐ बस्ने फुलमती गोसाईन ।

      ऐ.ऐ बस्ने कौलेश्वर गिरी गोसाई ।

      ऐ.ऐ बस्ने ईन्द्रजीत गिरी ।  

विरुद्ध

विपक्षी : ऐ. ऐ. बस्ने शंखादेव गोसाईन ।

      भूमि सुधार कार्यालय,कपिलवस्तुका भूमि सुधार अधिकारी ।

आदेश भएको मिति: २०४४।७।१२।५ मा

     आफ्नो समेत हक लाग्ने जग्गाको मोही हुन नसक्ने हुँदा मोहीमा लेखाई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेकोलाई कानून अनुरुप मान्न नमिल्ने ।

(प्रकरण नं. ११)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

विपक्षीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंहः प्रस्तुत रिट निवेदन निर्णयार्थ मिति २०४३।२।१९ मा डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको रहेछ । रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    किसुन गिरी नाम दर्ता जिल्ला कपिलवस्तु गोवरी गा.पं. वडा नं. ७ कि.नं. २७, ५६, १३८, १६०, २०६, ३०५, २३३ को जग्गामा हाल सर्भे हुँदा अंशियारको नाताले विपक्षी शंखादेवीको पति हरिवंशले मोहियानी लेखाई प्रमाणपत्र लिनु भएको थियो । २०३४ सालमा किसुन गिरीको बाबु हरद्वारा गिरीका छोरा सन्तानमा अंश मुद्दा परी २०३४।८।५ मा मिलापत्रबाट अंशबण्डा गराउनु भएको थियो । उक्त मिलापत्र बमोजिम हरिद्वारको माहिलो छोरा जय नारायणका हाँगाको हरिवंश १ विजयकुमार १ नन्दलाल १ बलराम मध्ये हरिवंश र नन्दलाल परलोक भई जयनारायणको छोरा विश्वनाथतर्फको सम्पूर्ण बण्डा विजयकुमारले प्राप्त गर्नु भई विपक्षी शंखादेवीको अंश विजयकुमार जिम्मा रहन आयो । उक्त बण्डापत्र अनुसार विवादित जग्गा मध्ये कि.नं. ५६, २३३, ३०५ किसुन गिरी र कि.नं. २७, १६० कौलेश्वर गिरीको अंश भागमा कि.नं. १३८ र २०६ मध्ये आधि किसुन गिरी र कौलेश्वरको भागमा पर्‍यो पछि किसुन गिरी परलोक भई निजको श्रीमती फुलमती गोसाइनीले नामसारी गराई कि.नं. ५६, २३३, ३०५ को जम्मै जग्गा र कि.नं. १३८ को कित्ताकाट भई कायम भएको, कि.नं. ४३८ र २०६ को कित्ताकाट भई कायम भएको कि.नं. ४४० फुलमतिले बकसपत्र पास गरी म इन्द्रजीतलाई दिनु भएकोले मेरा नाममा दर्ता भई भोगिआएको छु । त्यस्तै कि.नं. २७, १६० को जम्मै र कि.नं. १३८ को कित्ताकाट भई कायम भएको कि.नं. ४३७ र कि.नं. २०६ को कित्ताकाट भई कायम भएको कि.नं. ४३९ कौलेश्वरको नाममा दर्ता भई भोगिआएको छु । आÇन हक अंश लाग्ने जग्गा भए पनि उपरोक्त ७ कित्ता जग्गाको  हरिवंशले मोहीको प्रमाणपत्र लिएका आधारमा उक्त मिलापत्र पछि सो जग्गाहरू हरिवंशको मृत्यु पछि मेरो हक लाग्ने हुँदा नामसारी गरिपाउँ भनी विपक्षी शंखादेवीले किसुन गिरी उपर २०३५ सालमा गरेको उजूरी खारेज हुने गरी भूमिसुधार कार्यालयबाट मिति २०३६।४।१६ मा निर्णय भयो । पुनः विपक्षीले उल्लिखित जग्गाको जग्गाधनी किसुन गिरीलाई देखाई लोग्ने हरिवंशका नामको मोही नामसारी गरिपाउँ भनी विपक्षीले २०३६ सालमा उजूर गर्दा किसुन गिरी परलोक भई निजको श्रीमती फुलमतीको प्रतिवाद पर्‍यो । म कौलेश्वरलाई मोही नामसारी गर्ने गरी भूमिसुधार कार्यालयबाट मिति २०३८।२।१३ मा निर्णय भयो । उक्त निर्णय उपर म कौलेश्वरले सर्वोच्च अदालतमा रिट गर्दा भूमिसुधार कार्यालयको निर्णय बदर गरी पुनः कानून बमोजिम निर्णय गर्नु भन्ने परमादेश समेत जारी भयो।

३.    उक्त आदेश भएपछि विपक्षीले मोही नामसारीमा पुनः कारवाही गरिपाउँ भनी मिति २०४०।२।२३ मा निवेदन दिएपछि मोही नामसारी हुने ठहर्‍याई विपक्षी अधिकारीज्यूले मिति २०४१।३।२९ मा निर्णय गर्नु भयो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(क) बमोजिम दर्तावाला र त्यसको अंशियार र हकवाला समेत जग्गावालाको परिभाषा भित्र रहेको छ । अरु जग्गाको आफ्नो हक अंश नलाग्ने जग्गामा मोहियानी हक लाग्न सक्ने प्रावधान छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अनुसार मोही हुन उक्त नियम ३.६ ले १, २ नं. लगत भरेको हुनुपर्छ साथै सोही ऐनको ३४(१) अनुसार कबूलियत हुनुपर्छ जब हरिवंशको नै मोही हक प्राप्त गर्न नसक्ने अवस्था छ भने निजको मृत्यु पछि निजको पत्नी विपक्षी शंखादेवले हक पाउने हैन । यसरी विपक्षी कार्यालयबाट अ.बं. १८४ को (क) १८५, १८९ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१), २६(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ३.६ प्रमाण ऐन, २०३१ को दफा ३, , , १०, २६, २७, ३५, ५४ विपरीत विपक्षीबाट भएको निर्णयबाट संविधानको धारा १०(१), ११(२)(ङ), १५ प्रदत्त मौलिक हकमा आघात पुर्‍याएको हँदा सो निर्णय बदर गरी संरक्षण गरिपाउँ भन्ने रिट निवेदन ।

४.    विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने यस अदालतको सिंगल बेञ्जबाट मिति २०४१।४।२४ मा भएको आदेश ।

५.    विवादित जग्गा २०३६ सालमा सर्भे नापी हुँदा फिल्डबुकमा समेत मेरो लोग्नेको मोहीमा दर्ता छ । उक्त जग्गाको जोताहा मोही प्रमाणपत्र समेत पाएको छ । सो जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को २६ बमोजिम नामसारी गराउन पाउने हक मलाई प्राप्त छ । विवादित जग्गा आआफ्ना नाममा नामसारी गराउन चाहन्छौं भनी रिट निवेदकले बयान गरेका छन् । यसबाट सो जग्गा मोहियानी भन्ने प्रष्ट छ । मेरा पति हरिवंश गिरीका नाममा मोही दर्ता भएको जग्गा मेरा नाममा नामसारी हुने र मोही लगत कट्टा सम्बन्धमा विपक्षीहरूको दावी पुग्न नसक्ने भनी भूमिसुधार कार्यालय, कपिलवस्तुबाट मिति २०४१।३।२९।५ मा भएको निर्णयले निवेदकलाई आघात पुगेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको शंखादेवी गोसाइनीको लिखितजवाफ ।

६.    रिट निवेदकले कबूलियतको आवश्यक पर्छ भनी दावी गरेकोमा भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ नियम ९(१) बमोजिम हक प्राप्त गरेको मोही भएकाले मोही हरिवंशको मृत्युपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम नजिकको हकवाला निजको श्रीमती शंखादेवी गोसाइनी मात्र देखिएको हुँदा निजलाई मोही हक प्राप्त हुने ठहर्‍याई यस कार्यालयबाट मिति २०४१।३।२९ मा भएको निर्णय न्यायसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, कपिलवस्तुको लिखितजवाफ ।

७.    निर्णयार्थ संयुक्त इजलास समक्ष पेश हुँदा विवादका जग्गाहरूको विपक्षी शंखादेवीको पति हरिवंशले २०२६ सालमा सर्भे नापी हुँदा मोहीमा आफ्नो नाममा  दर्ता गरी प्रमाणपत्र लिएको भन्ने दुवै पक्षको भनाई छ । तिनै जग्गाहरू रिट निवेदक र विपक्षीका बीचमा अंश मुद्दा चली मिलापत्रबाट आआफ्ना हकभोगमा आएको भन्ने देखिन्छ अर्थात् रिट निवेदकहरू र विपक्षी सगोलको अंशियार भएको नाताले उल्लिखित जग्गाहरू अंशबण्डाबाट रिट निवेदकहरूको नाममा आएको भन्ने देखिन्छ । सोही जग्गालाई विपक्षीले आफ्नो लोग्नेको मोहियानी हक भित्रको हुँदा नामसारी गरिपाउँ भनी विपक्षीले भूमिसुधार कार्यालयमा निवेदन दिएपछि भूमिसुधार कार्यालयबाट नामसारी हुने गरी निर्णय भएको पाइन्छ । यसरी एउटै अंश सगोलको जग्गाहरू अंशियार मध्येकै हरिवंशले मोहीमा लेखाएर पछि अंशबण्डा भएपछि निजको मोहियानी हक स्थापित भएको भनी मान्न मिल्दैन । भूमिसम्बन्धी ऐन तथा नियमहरूले मोहियानी हक प्राप्तका लागि एउटा निश्चित प्रकृया तोकिएको छ । सगोलको जग्गामा अंशबण्डा भई सम्पूर्ण अंशियारका नाममा जग्गा आएपछि तिनै जग्गाहरूलाई सर्भे नापीमा अंशियार मध्येकै लोग्ने हरिवंशको मोहियानी थियो नामसारी गरिपाउँ भनी विपक्षी शंखादेवीले निवेदन गरेकै आधारमा नामसारी भएको पाइन्छ । विपक्षीको पति हरिवंश नै उल्लिखित जग्गाको कानून बमोजिमको विधिवत मोही हुन भनी भन्न नमिल्ने हुँदा यस्तो स्थितिमा विवादित जग्गा विपक्षी शंखादेवीका नाममा नामसारी हुने गरेको मिति २०४१।३।२९ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय ।

८.    यसमा विवादका जग्गाहरू अंश मुद्दाको मिति २०३४।८।५ मा भएको मिलापत्रबाट हाम्रो अंशहक भित्रको पर्दछ सोही जग्गालाई विपक्षी शंखादेवीले लोग्ने हरिवंशको मोहियानी हकको जग्गा हुँदा नामसारी गरिपाउँ भनी भूमिसुधार कार्यालयमा निवेदन गरी भूमिसुधार कार्यालयबाट नामसारी हुने निर्णय भएको हुँदा सो निर्णय बदर गरिपाउँ भन्ने नै रिट निवेदकको मुख्य भनाई छ । अर्कोतर्फ उक्त जग्गाहरू नै विपक्षी शंखादेवीको पति हरिवंशले अंश हुनु अगावै २ नं. लगत प्रकाशन भई सर्भे नापी हुँदाका बखत मोहियानी हकको प्रमाणपत्र पाइसकेको भन्ने भूमिसुधार कार्यालयको निर्णयबाट देखिन्छ । यसरी आफ्नो हक प्राप्त जग्गा पतिको परलोक पश्चात शंखादेवी गोसाइनीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोहियानी नामसारी गरी माग्न भूमिसुधार कार्यालय कपिलवस्तुमा निवेदन गरी नामसारी भएको पाइन्छ । यिनै पक्ष विपक्षी भएको रिट नं. १२५९ मा समावेश भएको भूमिसुधार कार्यालयबाट रिट निवेदकहरूले उल्लिखित जग्गाकै सम्बन्धमा हरिवंशको नामको मोही लगत कट्टा गरिपाउँ भनी दिएको उजूरीमा मोही लगत कट्टा नहुने भनी निर्णय भएको र रिट निवेदकहरूले बिलम्ब गरी उजूर गरेको देखिँदा भूमिसुधार कार्यालयको निर्णयमा कुनै कानूनी त्रुटि नहुँदा रिट खारेज गर्ने राय मैले व्यक्त गरिसकेको छु । अतः अधिकार प्राप्त अधिकारीले कानूनको अवलम्बन गर्दै विवादको मोही जग्गा शंखादेवीको नाममा नामसारी गर्ने गरी भएको मिति २०४१।३।२९ को निर्णयमा कुनै कानूनी त्रुटि विद्यमान नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।२।१९ मा निर्णय भएको रहेछ ।

९.    निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्ददाश सरसले विपक्षी संखादेवीका पति हरिवंश गिरी र निवेदकहरू अंशियार भएको र विवादित जग्गाहरू २०३४ सालको अंश मिलापत्रबाट निवेदकको हकमा आएको कुरामा विवाद छैन । यस्तोमा हरिवंशले विवादित जग्गामा मोही लेखाउँदैमा मोहियानी हक प्राप्त हुनसक्ने होइन यस्तोमा शंखादेवीका नाममा मोही नामसारी गर्ने र मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदकको दावी पुग्न नसक्ने ठहर्‍याएको विपक्षी भूमिसुधार कार्यालय, कपिलवस्तुको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी भूमिसुधार कार्यालय, कपिलवस्तुको  तर्फबाट उपस्थित विद्वान उप-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले विवादित जग्गामा शंखादेवीको लोग्ने हरिवंशले भूमिसुधार लागू हुँदाको अवस्था देखि नै १ नं. लगत भरी २ नं. प्रकाशित गरी मोही हकको प्रमाणपत्र समेत प्राप्त गरेको र प्रकाशित २ नं. अनुसूचीमा कसैको उजूर परी बदर भएको नदेखिएको समेतबाट मोही नामसारी गर्ने र निवेदकहरूको जिकिर बमोजिम मोही लगत कट्टा गर्ने ठहर्‍याएको भूमिसुधार कार्यालयको निर्णय कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१०.    यसमा निर्णयतर्फ हेर्दा शंखादेवीको लोग्ने हरिवंश गिरी मोही हुँदा निजलाई सर्भे नापी पछि गाउँपञ्चायत गोवरी वडा नं. ७ को कि.नं. २७, ५६, १३८, १६०, २०५, २३३ र ३०५ को मोही प्रमाणपत्र दिएको देखिन्छ । निज मरेपछि निजको पत्नी निवेदिकाले मोही नामसारीको माग गरेको देखिएको भूमिसम्बन्धी ऐनको दफा २६(१) को व्यवस्था अनुसार निवेदिका पत्नी भएकोले नामसारी हुने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय, कपिलवस्तुबाट मिति २०४१।३।२९ गतेमा निर्णय भएको देखिन्छ ।

११.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेति गर्ने किसान सम्झनु पर्दछभन्ने उल्लेख भएको पाइन्छ । रिट निवेदकहरू र विपक्षी मध्येकी संखादेवीको पति हरिवंश गिरी अंशियार भएको र विवादित जग्गाहरू निजहरू बीच भएको मिति २०३४।८।५ को अंश मिलापत्रद्वारा निवेदकको नाममा कायम हुन आएको भन्ने निवेदन जिकिर देखिन्छ सो कुराको खण्डन विपक्षी शंखादेवीले गर्न नसकेको साथै निजले भूमिसुधार कार्यालयमा मिति २०३६।४।१४ मा कागज गर्दा सगोलमा बसेको कुरा स्वीकार गरेको पाइन्छ । यसबाट २०३४।८।५ को अंश मिलापत्रको कागज हुनु भन्दा अगाडि विवादित जग्गाहरू विपक्षी शंखादेवीको लोग्ने हरिवंश गिरी समेतको अंश हक लाग्ने एका सगोलको सम्पत्ति देखिन आयो । मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाएको हुनुपर्ने माथि उल्लिखित भूमिसम्बन्धीको ऐन, २०२१ को दफा २(ख) ले अनिवार्य गरेको देखिएको विपक्षी शंखादेवीको लोग्ने हरिवंशले आफ्नो समेत हक लाग्ने जग्गाको मोही हुन नसक्ने हुँदा मोहीमा लेखाई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेकोलाई कानून अनुरुप मान्न मिलेन ।

१२.   यिनै शंखादेवी गोसाइनीले मोही नामसारी गरिपाउँ भनी विवादित जग्गाहरू कै विषयमा किसुन गिरीलाई विपक्षी कायम गरिदिएको निवेदनमा मोही नामसारी नहुने ठहर्‍याई भूमिसुधार कार्यालय, कपिलवस्तुबाट मिति २०३६।४।१३ मा निर्णय भएको मिसिल संलग्न फैसला प्रतिलिपिबाट समेत देखिन्छ । सो कुरालाई गुम पारी शंखादेवीले पुनः निवेदन दिई नामसारी हुने ठहर्‍याई भूमिसुधार कार्यालयबाट निर्णय भएको भन्ने रिट निवेदन जिकिर छ । सो कुराको खण्डन विपक्ष तर्फबाट हुनसकेको समेत देखिएन । यस स्थितिमा शंखादेवीको माग दावी बमोजिम मोही नामसारी हुने ठहर्‍याएको भूमिसुधार कार्यालयको निर्णय अ.बं. ८५ नं. समेतको विपरीत भई त्रुटिपूर्ण देखिन्छ ।

१३.   उपर्युक्त कारणबाट विपक्षी भूमिसुधार कार्यालय, कपिलवस्तुको मिति २०४१।३।२९ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ उत्प्रेषणको आदेश जारी हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिब ठहर्छ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

न्या.महेशरामभक्त माथेमा

न्या.हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४४ साल कार्तिक १२ गते रोज ५ शुभम् ।

