निर्णय नं. १९९ – घर चलन चलाई पाउँ
निर्णय नं. १९९ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह...
निर्णय नं. १९९ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. १०९
निवेदक, प्रतिवादी : इन्द्रमाया धोवीनी
विरुद्ध
विपक्षी : बद्री धोबी
मुद्दा : घर चलन चलाई पाउँ
(१) भोगबन्धकी लिई भोग गरेको घर पाताल भए ऐनको म्याद भित्र नबनाई पातालै राखे साहुको थैली भुस हुने ।
घर धराप भई विपक्षीले बनाउन मञ्जुर नगरेकोले नगरपालिकाले मलाई बनाउन लगाउँदा जगैदेखि पल्टाई मैलेनै बनाई तयार गरेकोले घर भत्कि धराप भएपछि बनाउन खोज्दा घर बनाउनेको ४ नं. ले मेरो हक हुने भन्ने निवेदनका जिकिरका हकमा सो घर भत्की धराप भएपछि बनाउन खोज्दा प्रतिवादीले बनाउन नदिएकी भनी वादीले नगरपालिकाको मुद्दामा जिकिर लिईरहेको र भोगबन्धकी लिई भोग गरेको घर पातालसमेत भए बर्ष ४ महिना बाहेक भत्केको ३५ दिनभित्र बनाएन । पाताल राख्यो भने साहुको थैली भुसिन्छ । पाताल समाउन पाउँदैन । आसामीको हुन्छ भन्नेसमेत घर बनाउनेको ४ नं. मा उल्लेख भएको । सो अनुसार घर भत्कि पाताल भएको र नबनाई पातालै राखेको भन्ने नभई धराप भएकोसम्म घर धराप मुद्दाको मिसिलबाट देखिन आएकोले समेत यस्तो अवस्थामा घर बनाउनेको ४ नं. ले घरमा साहुको हक नपुग्ने भन्ने मिल्ने देखिएन ।
(प्रकरण नं. ५१)
फैसला
१. यसमा डिभिजन बेञ्चबाट ०१९।२।१८।५ मा फैसला भए उपर दोहराई पाउँ भन्ने निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियम संशोधन ६३ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा,
२. अन्यायवालाको बाबु हर्ष धोबीले मेरा बाबु बुद्धिमानबाट रु. २१०२ कर्जा लिई १४९।।।२ जग्गा र पूर्व मोहडाको २ नाले तीन तले ४ कबले पक्कि झिंगटी घर मध्ये उत्तर खण्डको २ नाले ।।। कबले ४ तले बाहेक गरी बँँकी दक्षिण पट्टिको २ नाले ३ तले ३। कबले पक्की झोछेटोलको घर १ र श्रीमान महर्जनको बिर्तामा बनेको ढुङ्गाधारा १ र दक्षिण मोहढाको १।। नाले २ कबले ३ तले पक्की झिगटी घर १ मध्ये, धारा १६ आनामा ३ आना कट्टा गरी बाँकी धारा १३ आना र ।। नाले ३ कबले भएको पश्चिम पट्टिको १।। नाके २ तल्ले ३ कबले कट्टा गरी बाँकी घर लगापातसमेत १९८१।८।२५ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरी दिएकोमा मेरा बाबु र आसामीसमेत मरी अन्यायवालाको र मेरो हक भएपछि झगडा पर्दा जग्गा र दिल्ली बजारको घर धारासमेतमा मेरो हक नपुग्ने गरी ०६।१२।३० मा रा.का.दे.पै. बाट फैसला भएपछि झोछे टोलको घर भोग चलन गरी आएकोबाट जग्गातर्फ कपाली भएको रु. ५००। र व्याजसमेत भराई पाउँ भने नालेस गरेको रा.का.दे.पै. मा दायरै छ । सो झोछे टोलको घरमा बाहालमा राख्ने गरी आएबाट ०१४।१२।११ देखि जितबहादुर तामाङ्गलाई बाहालमा राखेकोमा ०१५।११।१५ गते अन्यायवालाले निजलाई जवरजस्ती चलन गरेकीले दामासाहीले रु. १६०२। र बन्धकी थैलीको घर जबरजस्ती चलन गरेमा सजाय गरी निजलाई घरबाट उठाई थैली नतिरेसम्म मैले नै चलन गर्न पाउने गरी चलन चलाई पाउँ भन्ने बद्री धोबीको ०१५।१२।३ को फिरादपत्र ।
३. सो घरका हकमा भत्की धराप भएबाट म्युनीसिपल्टीले यो वादी र म समेतलाई पक्री कारावाई गर्दा वादीको हकै नहुनाले हक हुने मसमेतलाई बनाउनु भनी ०१५।३।१० गते फैसला गरेको । त्यस उपर अपील उजुर नगरी चित्त बुझाएकोले मेरो हक हुने भन्ने कुरै झुट्टा देखिने हुँदा मुद्दै खारेज हुनुपर्छ । सो घर वादीले भोग गरेको र मैले खिचोला गरेको समेत छैन भन्ने ईन्द्रमाया धोबीनीको ०१६।१।२० को प्रतिउत्तरपत्र ।
४. वादीको बाबुले प्रतिवादीको बाबुसँग ८१ सालमा रजिष्ट्रेशन पास गरेको घर जग्गा मुद्दा पर्दा ०४।९।११ को प्र.न्या.को फैसलाबाट वादी धोबीकै भोग ठहरी जितेको देखिएको र ०५ सालको फैसलाबाट घरको बाहाल पनि वादीले पाउने भईरहेको । यही झगडा परेको घर धराप भई बनाउने बिषय नगरपालिकाले गरेको फैसला उपर अपील पर्दा मैजिष्ट्रेटबाट घर बद्रीको देखिन आएको भन्नेसमेत ०१६।६।९ मा फैसला भएको । घर बनाउनेको ४ नं. ले बन्धकी परको घर साहु वा आसामीले बनाउनु पर्ने साहुले दृष्टी नदिई पाताल हुन गएका साहुको थैली अलपत्र हुन जाने र म्युनिसीपल्टीमा परेको मुद्दाको रुपले नै घर बनाउन मरमत गर्न नक्सा पास गरी गर्नुपर्ने देखिन आएको हुँदा साहुले चलन पाएमा बनाउने प्रबन्धमा साहु अग्रसर हुने हुनाले र वादीकै भोगबन्धक हक भन्ने देखिन आएको हुनाले वादी दावीको घर प्रतिवादीबाट वादीले चलन पाउने ठर्हछ भन्ने का.दे.इ.अ. को ०१७।३।९।१ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादी इन्द्रमायाको अपील ।
६. का.न.पा.मा परेको मुद्दाको छिनुवा मिसिल र यस मिसिलमा समेत पेश भईराखेको फैसला नक्कलहरूबाट झगडा परेको घर शुरु देवानी अदालत र ०४।९।११ गते प्र.न्या. पहिला लगायतबाट वादीको भोगबन्धकी कायम ठहरी फैसला भईसकेको देखिन आएको र पछी सोही घरमा बाहाल तिरी बस्ने सानु मानन्धरले बाहाल बाँकी राखे बारे उजुर पर्दा पनि वादीले नै बाहाल भरी पाउने ठहरी दे.दो. बाट फैसला भएको समेत देखिन आएकाले घर वादीको भोगबन्धकी रहेनछ भन्न भएन । हाल बाहालमा बस्ने भनेको जितबहादुरको कबुलियत पेश गर्न नसकेको भन्ने अपील जिकिरका हकमा सो कबुलियत पेश भईराखेकै देखिन आएको । घर भत्कँदा नबनाई वादी निच मारी बसेकोबाट हक नपुग्ने हो कि भन्न पनि भत्केको बनाउन खोज्दा प्रतिवादीले बनाउन नदिएकी भनी वादीले नगरपालिकाको मुद्दामा लेखेको र यता खिचोला गरी भनी यो उजुर दायर गरेको देखिनाले बनाउनेतर्फ वास्तै छाडेको भन्न पनि उचित परेन । सो घरमा दामासाहीले रु. ५२५।५० थैली कायम हुनुपर्ने भन्ने जिकिरलाई त्यसतर्फ छुट्टै उजुर गरी कायम गराउनु पर्ने कुरा हुँदा इन्साफ शुरुको मनासिव छ भन्ने काठमाडौं जिल्ला अदालतको १७।२।२८ को फैसला ।
७. अपीलबाट हदमुनि गरी छिनेकोमा अपील दिने अनुमति पाउँ भन्ने प्रतिवादी इन्द्रमायाँको निवेदनमा अपील दिन पाउने गरी मध्यमाञ्चल उच्च अदालतबाट आदेश भएको ।
८. का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी ईन्द्रमायाको अपील ।
९. भोगबन्धकी लिखत भएकोमा दुवैतर्फको मुख मिलेको र तमसुकबमोजिम भोग नभएको भन्ने जिकिरलाई यिनै वादी प्रतिवादीहरूको धराप मुद्दाको मिसिल सामेल ०४।९।११।५ को प्र.न्या.पै. को फैसला नक्कल हेर्दा बद्री धोबीको भोग भएको देखिने भनी ठहर भएको देखिएको सो घर धराप मुद्दामा का.न.पा.ले गरेको फैसला उपर काठमाडौं मेजिष्ट्रेटमा बद्री धोवीको अपील पर्दा पनि प्र.न्या.पै. कै फैसलाबमोजिम बद्री धोबीको भोग कायम गरेको भनी ०१६।६।१९ मा का.मे.अ. बाट फैसला भएको देखिएकोले समेत इन्साफ जिल्ला अदालतको मनासिव छ भन्ने डिभिजन बेञ्चको ०१९।२।१८।५ को फैसला ।
१०. सो उपर चित्त बुझेन । दोहर्याई पाउँ भन्ने ईन्द्रमायाँको निवेदनपत्र ।
११. प्र.न्या. को ०४।९।१७ को फैसलाले चलन देखिए पनि विपक्षीले चलन नगरेकोले घर धराप हुन गई त्यस्तो राख्दा मानिस समेतको हानी नोक्सानी हुने सम्भावना हुनाले फैसलाले भोग देखिएका विपक्षीलाई पक्राउ गर्दा बनाउन मन्जुर नगरेकोले हकदार म भई नगरपालिकाले मलाई बनाउन लगाउँदा आफ्नो खर्च लगाई जगै देखि पल्टाई बनाई सकी तयार भएपछि विपक्षीले दावी गरी मेरा उपर उजुर गरेकोमा अघि एकपल्ट विपक्षीको भोग ठहरी फैसला भएको उक्ति लगाई डिभिजन बेञ्च लगायतबाट फैसला हुँदा मर्का पर्यो भनी निवेदककै रोहवरमा निवेदन गरेकोले व्यहोरा साँचो हो र बन्धकी लिनेको हक खाने बद्रीले भोग चलन नगरी घर पनि निवेदकले नै बनाएको भए प्रधान न्यायालयका फैसलाबमोजिम बद्रीका भोग ठहर्ने या घर बनाउनेका ४ नं. बमोजिम निवेदकको ठहर्ने के हो ? भन्ने कानूनी प्रश्न उठेकोले त्यसको निर्णयको लागि दोहर्याई हेर्न निस्सा दिएको छ । दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फँँटमा बुझाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट ०१९।४।८।५ को आदेश ।
१२. निवेदक पक्षबाट रहनुभएको विद्वान वकील प्लिडर मुक्तिलाल झाले मेरो पक्षको बाबु हर्क धोबीले वादीको बाबु बुद्धीमानलाई ८१ सालमा भोगबन्धकी लिखत गरी दिएको भए पनि झगडा परेको घर वादीले भोग गरेको कुनै निस्सा प्रमाण छैन । घर भत्की धराप भएपछि मेरै पक्षले बनाएको हो । घर बनाउनेका ४ नं. का ऐनले सो घरमा मेरो पक्षकै हक भोग कायम हुनुपर्छ भन्ने र विपक्षी, वादीतर्फबाट रहनुभएको विद्वान वकील एडभोकेट दिनेशमान प्रधानले भिममायाँ धोवीनीसँग झगडा पर्दा घर मेरो पक्षकै भोग कायम ठहरी २००४।१।१७ मा प्र.न्या.बाट र सानु मानन्धरसँग बाहाल भराई पाउँ भन्ने मुद्दा पर्दा मेरो पक्षले बाहाल पाउने ठहरी ०५।८।७ मा दे.पै.बाट फैसला भएको छ । घर धराप मुद्दामा का.मे.अ. बाट भएको ०१६।६।९ को फैसलाबाट पनि मेरो पक्षकै भोगबन्धकी कायम भएकोले आसामीले रुपैयाँ नतिरेसम्म मेरो पक्षले भोगबन्धकीमा घर चलन पाउने भएको कायमै हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१३. उपरोक्त विवरणहरूबाट झगडा परेको घरमा वादीको भोगबन्धकी हक कायम हुने नहुने के हो ? भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो ।
१४. प्रमाणमा आईरहेको यिनै वादी प्रतिवादीहरूको घर धराप मुद्दाको मिसिल सामेल, बद्री धोबी, भिममायाँ धोवीनीको लेनदेन जालसाजी मुद्दामा प्र.न्या.पै. बाट ०४।९।११।५ मा भएको फैसलाबाट सो घरमा वादी बद्री धोवीकै भोग कायम गरेको र बद्री धोबी, सानु मानन्धरको बाहाल भराई पाउँ भन्ने मुद्दामा का.दे.दो. बाट ०५।८।७।२ मा भएको फैसलाबाट सो घरको बाहाल वादी बद्री धोबीले भरी पाउने ठहरेको समेत देखिन आएको र सो घर धराप मुद्दामा का.मे.अ. बाट भएको ०१६।६।९ को फैसलाले पनि उपरोक्त फैसलाहरूकै उक्ति लगाई बद्री धोबीले सबुद पेश गर्न नसकेको भन्ने का.न.पा. मुद्दा फाँटको भनाई निराधार ठहराएको देखिएकोले समेत सो बन्धकी घरमा वादी पक्षको भोग नभएको भन्ने निवेदक पक्षका विद्वान वकीलको बहस जिकिर मनासिव देखिन आएन ।
१५. घर धराप भई विपक्षीले बनाउन मञ्जुर नगरेकाले नगरपालिकाले मलाई बनाउन लगाउँदा जगै देखि पल्टाई मैले नै बनाई तयार गरेकोले घर बनाउनेको ४ नं. ले मेरो हक हुने भन्ने निवेदकको जिकिरका हकमा सो घर भत्की धराप भएपछि बनाउन खोज्दा प्रतिवादीले बनाउन नदिएकी भनी वादीले नगरपालिकाको मुद्दामा जिकिर लिईरहेको र भोगबन्धकी लिई भोग गरेको घर पाताल समेतभएछ । वर्षा ४ महिना बाहेक भत्केको ३५ दिन भित्र बनाएन, पाताल राख्यो भने साहुको थैली भुसिन्छ । पाताल समाउन पाउँदैन । आसामीको हुन्छ भन्नेसमेत घर बनाउनेको ४ नं. मा उल्लेख भएको । सो अनुसार घर भत्की पातालै भएको र नबनाई पातालै राखेको भन्ने नभई धराप भएकोसम्म घर धराप मुद्दाको मिसिलबाट देखिन आएकोले समेत यस्तो अवस्थामा घर बनाउनेको ४ नं. ले घरमा साहुको हक नपुग्ने भन्न मिल्ने देखिएन ।
१६. तसर्थ, भोगबन्धकी दिई पटक–पटक फैसलाले साहुकै भोग कायम ठहर भईराखेको घर आसामीले रुपैयाँ नबुझाउँदासम्म साहुले भोग चलन गर्न पाउने नै हुँदा घर वादीले चलन पाउने ठहराएको काठमाडौं जिल्ला अदालतको सदर भरी डिभिजन बेञ्चबाट ०१९।२।१८।५ मा छिनेको इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक, प्रतिवादी ईन्द्रमायाँ धोवीनीके इन्साफ दोहराएमा शुरु कोर्टफी ने.रु. ८४।३ को हामिकका नाउँमा कराउनेको ११ नं. ले दशौद ने.रु. ८।४१ दण्ड हुने । स्वास्नी मानिस हुँदा दण्ड सजायका २ नं. ले आधी ने.रु ४।२०।२ दण्ड हुन्छ । वारेस हुँदा असूल गर्न तहसीलमा लगत दिनु ……………………….. १
मुद्दाको अन्तिम टुंगो नलागेसम्म घर चलन चलाउने कारवाई हाल स्थगीत राख्नु भनी श्री माननीय प्रधान न्यायाधीशज्यूका आदेशानुसार ०१९।५।२५ मा लेखी गएकोमा हाल लेखिएबमोजिम ठहरेकाले स्थगीत राख्नु पर्दैन । ऐन फैसलाबमोजिम गर्नु भनी का.दे.त मा जनाउ दिनु ……………………….. २
नियमबमोजिम मिसिल बुझाई दिनु ………………………. ३
इति सम्वत् २०१९ साल फाल्गुन २४ गते रोज ६ शुभम् ।