निर्णय नं. १९३ – जालसाजी
निर्णय नं. १९३ ने.का.प. २०२० फुल बेञ्च माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा नं. १७२...
निर्णय नं. १९३ ने.का.प. २०२०
फुल बेञ्च
माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
नं. १७२
निवेदक, प्रतिवादी : मुक्तिमायाको मुद्दाको सकार गर्ने कमलप्रताप मान जोशी समेत
विरुद्ध
विपक्षी, वादी : वीरमायाको मुद्दा सकार गर्ने कान्छी श्रेष्ठनी समेत
मुद्दा : जालसाजी
(१) शर्त र।खी बकसपत्र गरी दिएकोमा सोबमोजिम नगरे बकसपत्र गरी दिनेको हकदारको उजुर लाग्ने ।
देवीप्रसादले आफ्नो मावलीतर्फबाट बकस पाएको उनको निजी आर्जन भएकाले वादी वीरमायाको त्यसमा हक नपुग्ने हुँदा देवीप्रसादले बकस दिंदा अंशबण्डाको ३८ नं.बमोजिम मञ्जुरी लिन नपर्ने भन्ने निवेदक पक्षको जिकिरलाई अपुतालीको १ नं. मा “मर्नेका स्वास्नी छोराहरू र अरुसँग बसेका ३ पुस्ता भित्रको हकवाला भएसम्म छोरीले अपुताली पाउँदैनन भन्ने उल्लेख भएकोले मर्ने देवीप्रसादको शेषपछि उनको सम्पत्तिमा स्वास्नी वादी वीरमायाँका हक लाग्ने देखिएको । देवीप्रसादले गरिदिएको शेषपछिको बकसपत्र पास नहुँदैमा देवीप्रसाद मरेका र उसमा पनि “म र मेरो स्वास्नी तिम्रो बजैलाई बाँचेसम्म पालनपोषण स्याहार सम्भार गरी मरे पछि दागबत्ति पिण्डपानीसमेत चलाई शेषपछिको बकस लेखि दिएँ भन्नेसमेत बकसपत्रमै लेखिएकोले वीरमायाँको उजुर गर्ने हकै नपुग्ने भन्ने जिकिर मनासिव देखिएन ।
(प्रकरण नं. १५)
(२) लिखत गरिदिने कारणी पास नहुँदैको अवस्थामा मरेकोमा रजिष्ट्रशनको १२ नं. अनुसार पास गराउनु पर्ने–अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी पास गराएको ठहरे पास बदर गरी ऐनबमोजिम सजायसमेत गर्नुपर्छ ।
लिखत जालसाजबाट पास गराए नगराएको र सदर हुन सक्ने हो होइन ? भन्नेतर्फ विचार गर्दा, लिखत गरिदिने कारणी पास नहुँदैको अवस्थामा मरेकोमा रजिष्ट्रेशनको १२ नं. मा मर्ने पट्टिका मुख्य हकदारले लिखत सकार गरी पास गरीदिने मञ्जुर गरे सो लिखतको शिरमा व्यहोरा जनाई सहीछाप गराई पास गरी दिनु भन्ने र १२ क.नं. मा अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी दरखास्त दिई पास गराएको ठहरे पास बदर गरी ऐनबमोजिम सजायसमेत गर्नु भन्ने लेखिएको । पास भएको लिखतमा बकस दिने साहु देवीप्रसाद मरेकोले निज मेरा बाबु देवीप्रसाद मरी ३ पुस्ता भित्रका हकदार कोही नभई म हकदार हुनाले सो बकस दिएको समेत साँचो हो भनी कागज सकार गरी सहीछाप गर्ने निज ना.सु. देवीप्रसादको छोरी मुक्तिमायाँ श्रेष्ठनी भनी जनिएबाट पास हुने भएको । मिसिलबाट देवीप्रसादको अहिले अपुताली पाउने मुख्य हकदार खुद स्वास्नी वीरमायाँ छँदै बकस पाउने शिव, प्रतापमानकी आमा मुक्तिमायाँले उक्त व्यहोरा लेखी पास गराई लिएको व्यवहारमा मुक्तिमायाँलाई मुख्य हकदार मानी मान्यता दिन र शुद्धरुपले पास गराएको भन्न नमिल्ने देखिएबाट रजिष्ट्रेशनको १२।१२क नं. विरुद्ध पास गराएको देखिन आएकोले सो लिखत पास गराएको सदर नहुने हुँदा सो बदर गर्ने ठहराएको शुरु अपीलको सदर गरेको डिभिजन बेञ्चको ०१९।३।२५।२ को इन्साफ मनासिव छ ।
(प्रकरण नं. १७)
निवेदकतर्फबाट : विद्वान एडभोकेट श्री कृष्णप्रसाद भण्डारी
विपक्षीतर्फबाट : विद्वान प्लिडर श्री सुधानाथ पन्त, श्री इच्छाहर्ष
फैसला
१. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, ०१३ को संशोधित नियम ९२ अन्तर्गत निवेदन परी ऐ., नियमावली संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको यस मुद्दामा छोटकरी व्यहोरा यसप्रकार छ :
२. मेरो खसम देवीप्रसादको छोरा छोरीमध्ये सबै परलोक भई बाँकी छोरीहरू ४ मध्ये मुक्तिमायाँ, कृष्ण प्रतापमानलाई विवाह गरी दिएको निजको सन्तान बढ्ता भएबाट एकजनाको जागिरले जाहान पाल्न मुस्किल भयो भनी मेरा खसम देवीप्रसादलाई बारम्बार भनी रहेका नै थिए । ०१५ साल आश्विन ६ गतेका दिन भोज छ । इज्जत राखी दिनु पर्यो भनी निजको छोरा शिवप्रतापमानले सुन तोला ७ को माला लिई गएछ । मेरा खसम बाहिर गएका बखत कन्तुरमा राखेको कागजपत्रसमेत लिई गएछन । तर ताकिता गर्दा नदिएकोले आउने जाने बन्द भएको थियो । ०१५ साल कात्र्तिक १५ गते खसम देहान्त हुनुभएको । मलाई खान नदिएकोले ३ भाग लगाई पाउँ भनी ०१४ सालमा पद्मकुमारीले दावी गरेकीमा निज शिवप्रतापमान सामेल भई के–के जालपेच गरेछन ? निजहरू जान्लान् । मेरा खसम देवीप्रसादलाई मामली बाज्ये हर्षनारायण बज्यै कृष्णकुमारीबाट गुठी सरहको श्राद्ध गर्नु भनी ७० साल पौष २६ गते बकसपत्र पाएको । तिमी नातिलाई शेषपछि बकस दियाँ भन्ने म्याद नाघेको ०१४ साल कार्तिक २४ गतेको जैलेसुकै पनि बदर गर्न पाउने लिखत अन्यायवालाहरूले जालसाजी पास गरेका रहेछन । थाहा पाएका ३५ दिन भित्र नालेस गर्न आएको छु । जालसाजीबाट पास गरेको लिखत बदर गरी पाउँ भन्नेसमेत वादी।
३. बाज्ये देवीप्रसादले काजकृया गरी मावलीतर्फबाट पाएको बकसपत्र ३ पुस्ता भित्रको हकदार कोही नहुँदा नाति शिवप्रताप मानलाई मरेपछि कृया गरी खानु भनी ०१४।७।२४ गते बाज्येको हस्ताक्षरबाट बकस लेखी दिएको पास गर्न जाँदा काठ कटानीको हरहिसाब बुझाउन नसकेकोले निजको जेथा रोक्का भएको फुकुवा भई आफ्नै हस्ताक्षरबाट निवेदन दिई आदेशबमोजिम रजिष्ट्रेशनमा ०१५।१।२० गते आफै हाजिर भई कारवाही भई पास हुन नपाउँदै ०१५।७।१५ मा परलोक हुनुभएको बाज्येले नै ३ पुस्ता भित्रको हकदार कोही छैन भनी लेखी दिनुभएको र रजिष्ट्रेशन दानदातव्यका ऐनले जसले दियो उसैले मात्र बदर गर्न पाउने अंश बण्डाका ऐनले स्वास्नीको मञ्जुर नभए पनि आफू खुश गर्न पाउने । हकवाला साक्षी नबसे पनि दानदातब्य गरी दिन हुन्छ भनी दानदातब्यको १ नं. मा उल्लेख भएको गुठी श्राद्ध चलाई खानु भनी लेखी दिएकोमा बाज्येको हक पुग्न नसक्ने हुँदा जालसाजी गर्यो भन्ने वादी दावा झुट्टा हो भन्नेसमेत मुक्तिमायाँ शिवप्रतापमानको एउटै प्रतिवादी ।
४. ना.सु देवीप्रसादले शिवप्रताप मानलाई बकसपत्र गरी दिएकोमा स्वास्नी वादी वीरमायालाई साक्षी राखेको नदेखिएकाले दानदातब्यको १ नं. ले सदर नहुने र लिखत पास नहुँदै देवीप्रसाद मरेको भएपछि रजिष्ट्रेशनका १२ नं. बमोजिम अपुताली खाने स्वास्नी । यो वादीबाट पास गराउनु पर्नेमा विवाह भईसकेको छोरीबाट पास गरिएको रजिष्ट्रेशनका १२ नं. ले सदर नहुने हुँदा बदर हुने ठहर्छ भन्नेसमेत ०१६।९।२९।४ मा रा.का.फौ.अ. बाट भएको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भनी प्रतिवादी मुक्तिमाया, शिवप्रतापमानसमेतको अपील ।
६. शुरुले गरेको इन्साफ सदर र हदमुनी गरी ०१७।५।२९।३ मा काठमाडौ जिल्ला अदालतबाट भएको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भनी ०१७।८।८।४ का मध्यमाचन्ल उच्च अदालत सिंगलबेञ्चका आदेशबमोजिम प्रतिवादी मुक्तिमाया, शिवप्रतापमानको अपील ।
८. दुवै पक्ष राखी छलफल गर्नुपर्ने देखिएकोले का. जिल्ला अदालत उपर मुक्तिमायाँ समेतले दिएको अपीलपत्रमा ०१७।६।१६ गते वीरमाया परलोक हुनु भए भन्ने लेख लेखेको देखिँदा निज वीरमायाको हकदारका नाउँमा छलफलको १५ दिने म्यादा दिई हकदार हाजिर भएपछि मुद्दा सकार गराइ नियमबमोजिम पेश गर्नु भन्ने ०१९।२।२४।४ को स.अ. डिभिजन बेञ्चको आदेश ।
९. दरखास्तवाला कान्छी, राधादेवी दुवै जना मर्ने वीरमायाको छोरीहरू हुन् भन्ने देखिएकोले ऐनबमोजिम दुवै जनाको सकार गराई नियमबमोजिम गर्नु भन्ने ०१९।३।१३।४ को स.अ. डिभिजन बेञ्चको आदेश ।
१०. सकार गर्नालाई वारेस दिने मुक्तिमायाँको नै अपील परी मुद्दामा रुजु नै भएकोले पछि मुद्दाबाटै ठहरेबमोजिम हुने हुँदा हाल सकार गराई रहनु पर्दैन भन्ने ०१९।३।२२।६ को स.अ. डिभिजन बेञ्चको आदेश ।
११. मर्ने ना.सु. देवीप्रसादको जहान वादी वीरमाया जीवित छँदाछँदै माहिली छोरीले रजिष्ट्रेशन अड्डामा गई निज मर्ने देवीप्रसादको कारवाई सकार गर्न नपाउने र म नै देवीप्रसादको जहान वादी छँदाछँदै ३ पुस्ता भित्रको हकदार कोही छैन भनी झुट्टा व्यहोरा जनाई पास भएको भन्न नमिल्ने र रजिष्ट्रेशनले गरेको पर्चालाई डिग्री सम्झनु पर्ने भन्ने पक्षको बहस जिकिरलाई नालेस उजुर परी सबुद प्रमाण बुझी ठहर गरेको र अपीलको म्याद दिएको समेत नदेखिएकोले त्यस्ता पर्चा लाई रजिष्ट्रेशनका ३४ नं. अन्तर्गतको फैसलाको संज्ञा दिन नमिल्ने र अड्डा अदालतको कारवाईको सिलसिलामा कारणी मर्न गएमा नजिककी हकदार गई सो कारवाई सकार गर्नुपर्नेमा उक्त लेखिएबमोजिम देवीप्रसादका श्रीमतीहरूद्वारा सकार गराई पास भएको नहुँदा अरु शुरु र जिल्ला अदालतका फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट लिखत बदर गर्ने ठहराई शुरुले गरेको इन्साफ सदर गरी काठमाडौ जिल्ला अदालतले गरेको इन्साफ मनासिव छ भन्ने ०१९।३।२५।२ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
१२. वादी वीरमायाले ०१५।७।२९ मा मुद्दाको व्यहोरा बुझी सकार गरेपछि सो सकार गरेको मुुुद्दाको व्यहोरा यो वादीले थाहा पाएन भन्ने भन्न सम्झनै नहुने । सो ०१४।११।२१।३ आफ्ना हकमा वारेस भई लोग्ने ना.सु. देवीप्रसादले गरेको बयानको व्यहोरा थाहा पाएन होला भनी भन्न सम्झनै नहुने हुनाले सो सकार गरेकै मिति ०१५।७।२९ ले ३५ दिन भित्र ०१५।९।४ सम्ममा नालेस गर्न सक्नु पर्ने नसकी ०१५।१०।७ मा मात्र नालेस गरेकोबाट अ.बं. ६३ नं. बमोजिम खारेज हुने लिखत बदरतर्फ कुनै कानून आरोप लगाउन नसकेकोले इन्साफ दोहर्याई पाउँ भन्ने वीरमाया, शिवप्रतापमानको निवेदनमा सर्वोच्च अदालत अपील दर्ता फाँट के शिवप्रतापमानसमेतको वारेस नक्साल बस्ने पुर्णबहादुर श्रेष्ठको तो.नं. ७३ को निवेदनपत्रको व्यहोरा पेश हुन आएकोमा ना.सु. देवीप्रसादले मावली बाज्येबाट पाएको सम्पत्ति मलाई शेष पछिको बकसपत्र गरिदिएका काठ कटानीको कागजमा जेथा रोकिएको छ भनी रजिष्ट्रेशन पास गरी नदिएकाले उहाँले नै रजिष्ट्रेशन पास गरी पाउँ भनी निवेदनपत्र दिई कारवाई भई पास हुने टुंगो लागिसकेपछि निज ना.सु. देवीप्रसाद परलोक भएकाले पास हुन नपाएकोमा रजिष्ट्रेशन अड्डाले ऐनको रीतपुर्याई पास गरेपछि जालसाज गरी बकसपत्र पास गरेछन बदर गरीपाउँ भनी विपक्षीले उजुर गरेकीमा डिभिजन बेञ्चबाट समेत बदर गरिदिंदा न्याय परेन भनी निवेदकले रोहवरमा जिकिर गरेकोले व्यहोरा साँचो भए शेषपछिको बकसपत्र दिनेले नै निवेदन दिई कारवाई भईरहेको पास हुन नपाउँदै निज परलोक भएकोले रजिष्ट्रेशन पास गरेको शेषपछिको बकसपत्र सदर हुने नहुने के हो ? त्यसको निर्णय गर्न दोहर्याइ हेर्न निस्सा दिएको छ । दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिनु भन्ने ०१९।५।७।५ को प्रधान न्यायाधीशज्यूको आदेश ।
१३. निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारी बकसपत्र गर्ने खूद दाता आफै रजिष्ट्रेशनमा गई पास गराउनलाई हाजिर रही कारवाई चलाईसकेको अवस्थामा मरेको हुनाले रजिष्ट्रेशनको १२ नं. यो मुद्दामा लाग्न नसक्ने । पद्मकुमारीको उजुर परेको अंश मुद्दामा वादीको वारेस समेत भईरहेका दाता देवीप्रसादले ०१४।११।२१ मा बयान गर्दा मैले मावली बज्यै कृष्णकुमारीबाट गुठी सरह दानबकस पाएको सबै अंशबण्डाका ३८ नं. बमोजिम शेषपछिको बकसपत्र गरी शिवप्रताप मानलाई दिईसकेको भनी बयान गरेको । देवीप्रसाद मरेपछि सो मुद्दा वादीले ०१५।७।२९ मा सकार गरेकी समेत हुँदा मलाई थाहा नै नदिई जालसाजी बकसपत्र लिखत पास गराई लिएकोले थाहा पाएका म्यादभित्र नालेस गरेकी छु भन्ने वादी व्यहोरा झुट्टा हो । म्याद नाघी दायर गरेको वादीको उजुरै खारेज गरी देवीप्रसादले अरुको मञ्जुरी लिन नपर्ने खुश गर्न पाउने आफ्नो आर्जन बकस गरी दिएको र पास भईसकेको हुनाले सदरै हुनुपर्ने भनी र वादी पक्षबाट रहनुभएको विद्वान वकील प्लिडर सुधानाथ पन्त प्लिडर इच्छाहर्षले लिखत गरी दिने दाता लिखत पास हुनुभन्दा अगावै मरेमा के गर्नुपर्ने हो ? त्यसको निमित्त रजिष्ट्रेशनको १२ नं. तथा १२क. नं. बनेको हो । मर्ने मानिस रजिष्ट्रेशनमा गए पनि नगए पनि केही मतलब आउँदैन । यस्तो विशेष अवस्थामा रजिष्ट्रेशनको १२क. नं. नलाग्ने भन्ने विपक्षतर्फको बहस जिकिर कानूनी होइन । लिखत हुँदा घरसारमा सहीछाप नगर्ने वादीको रजिष्ट्रेशनका ३२ नं.बमोजिम पास भएपछि मात्र हदम्याद शुरु हुने । पास हुनुभन्दा अगावै थाहा भए पनि रजिष्ट्रेशनको ७ नं. ले पास नहुँदासम्म बेप्रमाणिक हुने लिखत उपर उजुर गर्ने आवश्यक नभएको । ०१५।८।८।१ मा पास भएको थाहा पाएका मितिले म्याद भित्रै उजुर परेको र वादीको समेत शेषपछि पाउने बकसपत्र हुँदा दानदातब्यका १२ नं. ले जहिलेसुकै पनि बदर गर्न पाउने रजिष्ट्रेशन पास हुने ठहराई ०१५।८।८ मा पर्चा भए पनि सो हुनुभन्दा अगावै ०१५।७।१५ मा देवीप्रसाद मरीसकेको पद्मकुमारीसँगको अंश मुद्दाबाट देखिन्छ । त्यस्तो आफुलाई वारेस दिने कारणी परलोक भईसकेको कुरा प्रकाश नगरी देवीप्रसाद जिवितै रहेको भन्ने भानपारी निजकै वारेसको हैसियतले तारेखमा रही पर्चा हुँदा शिवप्रतापमानले सही गरेकोबाट रजिष्ट्रेशनमा देवीप्रसाद तारेखमा रहेको भन्ने विपक्षको भनाई झुट्टा र ब्यवहार जालसाज भन्ने देखिन आउने । बकस दिने दाताको खूद स्वास्नी छँदै बकस पाउने शिवप्रतापमानले आफ्नी आमा लगी अरु हकदार कोही छैन भनी झुट्टा व्यहोरा लेखी पास गराएको रजिष्ट्रेशनको १२क.नं. विरुद्ध छ । अड्डाले पनि सो ऐनको रीतपुर्याई पास नगरेको । यस्ता नभएको व्यहोरा देखाई जालसाज गरेको किर्ते कागजका ३ नं. अन्तर्गत जालसाजी ठहर्ने हुँदा डिभिजन बेञ्चबाट भएको फैसला कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१४. उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वादीको उजुर गर्ने हक छ छैन ? म्याद भित्रको उजुर हो होइन ? जालसाजबाट लिखत पास गराए नगराएको र सो लिखत सदर हुन सक्ने हो होइन ? यी कुराको समेत निर्णय गरी प्रस्तुत मुद्दा किनारा लगाउनु पर्ने देखिन आयो ।
१५. देवीप्रसादले आफ्नो मावलीतर्फबाट बकस पाएको उनको निजी आर्जन भएकोले वादी वीरमायाको त्यसमा हक नपुग्ने हुँदा देवीप्रसादले बकस दिंदा अंशबण्डाका ३८ नं. बमोजिम मञ्जुरी लिन नपर्ने भन्ने निवेदक पक्षको जिकिरलाई अपुतालीको १ नं. मा ‘मर्नेका स्वास्नी छोराहरू र अरुसँग बसेका ३ पुस्ता भित्रको हकवाला भएसम्म छोरीले अपुताली पाउँदैनन्’ भन्ने उल्लेख भएकाले मर्ने देवीप्रसादको शेषपछि उनको सम्पत्तिमा स्वास्नी वादी वीरमायाको हक लाग्ने देखिएको । देवीप्रसादले गरी दिएको शेषपछिको बकसपत्र पास नहुँदैमा देवीप्रसाद मरेका र उसमा पनि “म र मेरो स्वास्नी तिम्रो बज्यैलाई बाँचेसम्म पालनपोषण स्याहारसम्भार गरी मरेपछि दागबत्ति पिण्डपानीसमेत चलाई शेषपछिको बकस लेखी दियौं” भन्नेसमेत बकसपत्रमै लेखिएकाले वीरमायाको उजुर गर्ने हकै नपुग्ने भन्ने जिकिर मनासिव देखिएन ।
१६. पद्मकुमारीसँगको अंश मुद्दामा बयान गर्दा र सकार गरी थाहा पाएको । सो थाहा पाएका मितिबाट ३५ दिन नघाई गरेको उजुर खारेज हुनुपर्ने भन्नेतर्फ विचार गर्दा, वादी लेखाईबाट घरसारको बकसपत्र जालसाजी भन्ने नभई पास गराएको जालसाजी भन्ने देखिएको । दानदातव्यको १५ नं. मा “हक पुगी भोग चलन गरेको २ बर्षभित्र नालेस दिन पाउने” भन्ने उल्लेख भएको प्रस्तुत मुद्दामा शेषपछि मात्रै भोग चलन गर्न पाउने गरी प्रतिवादीले शेषपछिको बकसपत्र पाएको । सोबमोजिम भोग चलन गरी २ बर्ष म्याद नाघी सकेको सबुद प्रतिवादीबाट पेश हुन नसकेको । ०१५।८।८ मा पास भएको ०१५।९।३ मा थाहा पाए भनी सोही बकस पासउपर वादी वीरमायाले ०१५।१०।७।३ मा नै यो उजुर चलाएको देखिन आएकाले हदम्याद नाघेको भन्न मिलेन ।
१७. लिखत जालसाजबाट पास गराए नगराएको र सदर हुन सक्ने हो होइन भन्नेतर्फ विचार गर्दा, लिखत गरी दिने कारणी पास नहुँदैको अवस्था मरेकोमा रजिष्ट्रेशनको १२ नं. मा मर्ने पट्टिका मुख्य हकदारले लिखत सकार गरी पास गरी दिने मञ्जुर गरे सो लिखतको शिरमा व्यहोरा जनाई सहीछाप गराई पास गरी दिनु भन्ने र १२क.नं. मा अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी दर्खास्त दिई पास गराएको ठहरे पास बदर गरी ऐनबमोजिम सजायसमेत गर्नुृ भन्ने लेखिएको । पास भएको लिखतमा बकस दिने साहु देवीप्रसाद मरेकाले निज देवीप्रसाद मरी ३ पुस्ता भित्रका हकदार कोही नभई म हकदार हुनाले सो बकस दिएको समेत साँचो हो भनी कागज सकार गरी सहीछाप गर्ने निज ना.सु. देवीप्रसादको छोरी मुक्तिमाया श्रेष्ठनी भनी जनिएबाट पास हुने भएको मिसिलबाट देवीप्रसादको अहिले अपुताली पाउने मुख्य हकदार खुद स्वास्नी वीरमायाँ छँदै बकस पाउने शिवप्रताप मानकी आमा मुक्तिमायाले उक्त व्यहोरा लेखी पास गराई लिएको व्यवहारमा मुक्तिमायालाई मुख्य हकदार मानी मान्यता दिन र शुद्धरुपले पास गराएको भन्न नमिल्ने देखिएबाट रजिष्ट्रेशनको १२।१२क. विरुद्ध पास गराएको देखिन ठहर्न आएकाले सो लिखत पास गराएको सदर नहुने हुँदा सो बदर गर्ने ठहराएको शुरु अपीलको सदर गरेको डिभिजन बेञ्चको ०१९।३।२५।२ को इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादी के मनासिव इन्साफ दोहर्याएमा देहायबमोजिम शुरु दण्डको हा.क. का ११ नं. ले दशौंद देहायबमोजिम नै दण्ड हुन्छ । देहायबमोजिम असूल गर्नु भनी तहसीलमा लगत दिनु ………………… १
आसामी–शुरु दण्ड ने.रु. दशौंद ने.रु., का.ई. चिकंमगुल बस्ने मुक्तिमायाँको मुद्दा सकार गर्ने कमलप्रतापमान रुजु हुँदा के ऐनबमोजिम असूल गर्ने २।५०, ।२५ ऐ ऐ बस्ने शिवप्रताप मान बेरुजु हुँदा के ऐ. ५। ।५०
नियमबमोजिम मिसिल बुझाई दिनु ………………… २
इति सम्वत् २०१९ साल मार्ग १ गते रोज ६ शुभम् ।