निर्णय नं. २६७९ – उत्प्रेषण र जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय नं. २६७९ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको रिट...
निर्णय नं. २६७९ ने.का.प. २०४३ २०४३ अङ्क – ४
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४२ सालको रिट नं. १३९८
आदेश भएको मिति : २०४३।४।१२।१ मा
निवेदक : जि.वारा पंजरिया गा.पं.वडा नं.१ मौजे बलुवा निवासी बंशी राउत खुलावट
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय, वारासमेत
विषय : उत्प्रेषण र जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) एका परिवारमा एउटा व्यक्ति जग्गाधनी अर्को व्यक्ति मोही हुन नसक्ने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रविन्द्रमान प्रधान
प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : भू.सु.का.वाराको ०४२।३।२४ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. जि.वारा. गा.पं.पंजरिया वा.नं. १ कि.नं. ३५ को ज.वि.०–१०–० योगेन्द्र राउतको नाउँमा दर्ता भई सगोलको कान्छा बाबु बंशी राउत खुलौत मोही भएको योगेन्द्रले मदनकुमारलाई ०३९।९।१३ मा मदनकुमारबाट ०४०।१०।१२ मा मैले पास गराई दर्ता गराई भोगी आएको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा वंशी राउतको नाम उल्लेख छ । साविक ज.ध. योगेन्द्र राउतको सगोलेको कान्छा बाबु भएकोले सगोलमा मोही हक नहुने हुँदा मोही लगत कट्टा गरी पाउँ भन्ने प्रत्यर्थी बुधनको निवेदन । योगेन्द्रको बाबु दरोगाले ईश्वर राउत समेतको नाउँमा लेखत दर्ता बदर मुद्दामा वंशी राउत पहिले आफ्नो अंश लिई छुट्टी भिन्न भई बसेको भन्ने लेखेको हुँदा भिन्द भन्ने प्रमाणित छ । मदनप्रसादले कूत बुझी भर्पाई दिएको छ । मोही लगत कट्टा हुनुपर्ने होइन भन्ने रिट निवेदकको प्रतिवाद परेकोमा निवेदन मागको जग्गाको मोही लगत कट्टा हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.का.वाराबाट ०४२।२४ मा फैसला भएको रहेछ ।
३. भू.सं. ऐनको दफा २६(१) ले मेरो मोही हक मेरो स्वास्नी समेतमा सर्नेमा सो कानुनको त्रुटि गरी फैसला भएको प्रत्यक्ष छ । सो फैसलाबाट भू.सं. ऐन, ०२१ को दफा २५ को उपदफा १ दफा २६(१) र दफा ३४(२) समेतको प्रतिकूल कानुनी त्रुटि भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त भू.सु.का.वाराको फैसला बदर गरी जो चाहिने आदेश पुर्जी जारी गरिपाउँ भन्ने निवेदन जिकिर ।
४. विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।४।२१ को आदेश ।
५. वंशी राउतले गरेको १ नं. लगतमा परिवारमा योगेन्द्र राउत समेत भएको देखिएको सरजमीन बुझ्दा निजहरू काका भतिजा भन्ने देखिएकोले मोही लगत कट्टा हुने गरी भएको निर्णय कानुनसंगत भएकोले रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भू.सु.का.वाराको लिखितजवाफ ।
६. रिट निवेदकले भरेको १ नं. लगतबाट एकासगोल रहेको स्पष्ट छ निवेदकको व्यहोरा झुठ्ठा हो । भू.सं. ऐनको दफा २(ख) ले सगोलको अंशियारको नाउँको जग्गामा अर्को अंशियार मोही हुन सक्दैन । सबूद प्रमाणको मूल्याङ्कन गरी विधिवत भएको फैसला हुँदा विपक्षीको हकमा आघात पुगेको छैन । दफा २६(१) अप्रासंगीक छ । विधिवत गरेको निर्णयमा कुनै त्रुटि छैन रिट खारेज गरिपाउँ भन्ने समेत बुधन राउत अहिरको लिखितजवाफ ।
७. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रविन्द्रमान प्रधानले रिट निवेदक सुरक्षित मोही हो । कूत बुझाई भर्पाई लिएको छ । कूत धरौट राखेको समेत छ । ०३० सालमा परेको लिखत बदर मुद्दाबाट भिन्न भएको भन्ने देखिन्छ । त्यस्तोमा साविक ज.ध. योगेन्द्रको सगोलको भनी रिट निवेदक मोहीको लगत कट्टा गर्ने गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल तथा प्रत्यर्थी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले रिट निवेदकले १ नं. लगत भर्दा साविक जग्गाधनी योगेन्द्र राउतलाई परिवार देखाएको छ । सरजमीनहरूले पनि काका भतिजा नाता देखाएको समेत सबूद प्रमाणको आधारमा मोही लगत कट्टा गरेको निर्णय कानुनसंगत छ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी भूमिसुधार कार्यालय बाराले कार्यालयको १ नं. लगत हेर्दा बंशी राउत खुलवटले भरेको र परिवारमा योगेन्द्र राउत खुलवट समेत भएको देखिन्छ । सरजमीन बुझ्दा बंशी राउत खुलवट सगोलका काका भतिजा हुन भन्ने देखिँदा एका परिवारका व्यक्तिका नाममा नम्बरी र मोही देखिएको हुँदा निवेदक भागको जग्गाको मोही लगत कट्टा हुने ठहर्छ भनी निर्णय गरेको देखिन्छ ।
१०. रिट निवेदकले भूमिसुधार लागू हुँदा भरेको १ नं. लगतमा परिवारमा योगेन्द्र राउत खुलवट समेतलाई देखाई भरेको कुरालाई खण्डन गर्न सक्ने कानुनी आधार रिट निवेदकले कुनै देखाउन सकेको छैन । एकापरिवारमा एउटा व्यक्ति जग्गाधनी अर्को व्यक्ति मोही हुन सक्ने नदेखिँदा रिट निवेदक स्वयंले भरेको १ नं. लगत समेतका सबूद प्रमाणको मूल्याङ्कन गरी अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही मोही लगत कट्टा गर्ने गरी निर्णय गरेको देखिएको हुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४३ साल श्रावण १२ गते रोज १ शुभम् ।