January 18, 1963
Created by nepalarchives

निर्णय नं. १८५ – बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत

निर्णय नं. १८५            ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ११२ निवेदक,...

निर्णय नं. १८५            ने.का.प. २०२०

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ११२

निवेदक, वादी : हरिप्रसाद सापकोटा

विरुद्ध

विपक्षी, प्रतिवादी : एकराम पाध्या मरी मुद्दा सकार गर्ने खेमराज पाध्या

मुद्दा : बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत

(१)   अंशबण्डाका ४९ नं. र रजिष्ट्रेशनको ३ नं. उक्त ऐनहरूको मनसाय बण्डापत्र रजिष्ट्रेशन पास गराउनु नै पर्ने ।

            अंशबण्डाको ४९ नं.बमोजिम रु. १०० भन्दा बढी चल धनसम्पत्ति घर औ जतिसुकै भए पनि अचल जग्गा जमिन कच्ची पक्की घर र दाखिल खारेज गर्नुपर्ने अचल जग्गा जमिन बण्डा गर्दा साक्षी राखी ऐनबमोजिम बण्डा छुट्ट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिष्ट्रेशनका ऐनले रजिष्ट्ररी पास गर्नुपर्ने अचल जग्गा जमिन कच्ची पक्की घर जतिको छ ऐनका म्यादभित्र रजिष्ट्रेशन पाससमेत गरिदिनु पर्छ । लेखिएबमोजिम नगरी अंशबण्डा गरेको सदर हुँदैन भन्ने लेखिएको । रजिष्ट्रेशनको ३ नं. ले अंशबण्डाको बण्डापत्रमध्ये दाखिल खारेज गर्नुपर्ने अचल जग्गा र पक्की घर जतिको मात्र रजिष्ट्रेशन गराउनु भन्ने भएपछि दाखिल खारेज गर्नुपर्ने अचल जग्गाको बण्डापत्र पास गराउन पर्ने देखियो ।

(प्रकरण नं. १७)

            यदि अचल जग्गा महाजाँच आएको बेला वा अरु कुनै बेलामा दाखिल खारेज गराउनु पर्ने रहेछ भने त्यस्तो दाखिल खारेज गराउन जग्गा भाग बण्डा लगाउन परे बण्डापत्र पास गराई राख्नु पर्छ भन्ने ऐनको मन्साय हो ।

(प्रकरण नं.१८)

(२)   अंशबण्डाको ३८ नं. विपरीत काम भए गरेकोमासाहु आसामीका ८ नं.अन्तर्गतको म्याद भित्र नालेस गर्नुपर्ने ।

            साहु आसामीको ८ नं. मा अब उप्रान्त अंश नभई एकाघरसँग बसेकोले अचल गैह्र बेचबिखन गर्दा ऐनले आफू खुसी गर्न पाउने अरुको मञ्जुरी लिन नपर्ने बाहेक अरुमा एकाघरसँग बसेको सबैको मञ्जुरी लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ । लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महिना र विदेश भएको भए १ बर्ष सम्ममा थाहा पाएका ३५ दिन भित्र उजुर गर्नेको हक जति त्यो वस्तु जो हो सो फिर्ता गराई त्यहि बेचबिखन गर्नेको नाउँमा कपाली तमसुक गराई वा जायजातबाट भराई दिनु । आफूले आर्जेको भए सगै बसेकाको मञ्जुर लिनुपर्दैन । बेचबिखनसमेत गैह्र गर्नु हुन्छ भन्ने उल्लेख भएको । ऐनले आफू खुसी गर्न पाउने अरुको मञ्जुरी लिन नपर्ने बाहेक भन्ने वाक्यहरूको सम्बन्ध अंशबण्डाको ३८ (१) सँग रहेछ भन्ने कर लाग्दछ । त्यस्तो अरुको मञ्जुरी लिई व्यवहार चलाउन बिक्री गर्नुपर्ने सम्पत्ति बाबुले बिना मञ्जुरी बिक्री गरिदिएको खण्डमा सो बिक्रीबाट जजसका हक जाने हो, उसले आफ्नो हक कायम राख्न साहु आसामीको ८.नं. को म्याद भित्र उजुर गर्नुपर्छ भन्ने व्यवस्था साहु आसामीको ८ नं. मा पाउँछौं । अंशबण्डाको ३८ नं. मा उल्लिखित बन्देज उपर नालिस गर्न हदम्यादको व्यवस्था अंशबण्डाको महलमा छैन भन्दा साहु आसामीको ८ नं. निष्कृय हुन जान्छ । तसर्थ साहु आसामीको सम्बन्ध स्थापित भएको प्रस्तुत मुद्दामा साहु आसामीको ८ नं. लाग्दैन भन्न मिलेन ।

(प्रकरण नं.२०)

निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी र एडभोकेट वाशुदेवप्रसाद ढुंगाना

प्रतिवादी तर्फबाट : एडभोकेट मधुप्रसाद

फैसला

      १.     यसमा मध्यमान्चल उच्च अदालत डिभिजन बेञ्चका फैसला उपर निवेदकले दिएको निवेदनमा यो मुद्दा एकपटक दोहराई हेरी दिनुपर्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भएबाट दायर भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा,

      २.    बाबु रत्नाखरबाट मेरो आमा पट्टि म समेत ३ भाइ छोरा जन्मेका म रोजगारको निमित्त विदेश पटनामा बसेको । २०१० सालमा आमा स्याउली परलोक हुनुभएको र बाबाले ल्याइता स्वास्नी ल्याइ बस्नु भएछ । ०१० साल चैत्रमा म घर आउँदा ल्याइता आमाले बालख मेरा भाइ अरुलाई हेला गरी रहेको देखी भाईहरू २ र म समेतको अंश दिनु होस भन्दा जेठा बाबा अगनधर कान्छी आमा देवकी मरी त्यसको अपुताली समेत ०११।१।३ मा अंश गर्दा १।४० मध्ये तिरो रु. ४।८२ लागेको खेत मुरी ।२० समेतका जग्गा हाम्रा अंशमा र अरु सोहीबमोजिम बाबुको अंशमा परी ९८ सालको घरसारको भोगबन्धकी लिखतबमोजिम रु. ८४०। मा एकरामका बाबुलाई बन्धकी दिइको पास नभई कपाली भए पनि व्याज वापतमा जग्गा निजैले भोगी राखेको सो बन्धकी निखनी खानु भन्ने बण्डापत्रमा लेखिएको ९९ सालको ३ महलमा एकरामको बाबु श्री रामकै नाउँमा दर्ता भए पनि हक टुटेको लिखत बेगर जग्गा हक नहुने । म विदेश गई नोकरी गरी केही पैसा कमाई बन्धकी रुपैयाँ बुझाउन जाँदा बुझी लिई फट्टा भरपाई नदिई मेरा अंश बाबुबाट रु. ६०००। को बेदामे राजिनामा ०१२।१२।१४।३ मा पास गराई लिएछन । २ बर्ष भित्र उजुर गर्न पाउनेमा रुपैयाँ बुझी फट्टा नदिएका मितिले ३५ दिन भित्र भूल भई गुज्रेको म्याद थमाई नालिस गर्न आएको छु । बिक्री गरेको बदर गरी बन्धकी थैली बुझेको जग्गा मेरो सदर गरी पाउँ भन्नेसमेत व्यहोराको हरिप्रसादको वादी ।

      ३.    दावीको खेत ।२० मध्ये ३ भागको १ भाग वादीको बाबु रत्नाखरको १ भाग अगनधरको १ भाग नरबढीको भई वादीको बाबुबाट रु. २७६। मा अगनधर नरबढी समेत २ भाग ५५२। मा ९१।१०।२२ गते राजिनामा लिई दर्ता गरी भोग गरेको । नरबढी, अगनधर मरी अपुताली समेतबाट वादीका बाबुको हक भई थैली बुझ भनेकोले ५१७२। थपी ०१२ सालमा राजिनामा पास गरेको हो । ०१० सालमा वादी छुट्टिएको र यो जग्गा अंश पाएको होइन भन्ने एकरामको प्रतिवादी।

      ३.    रत्नाखरले म्यादै गुजारेको ।

      ४.    थैली बुझाएको भन्ने उजुर झुट्टा र वादीको भागको जग्गामा वादीको बाबु रत्नाखर समेतले जग्गा राजिनामा गरी लिएको बदर हुने ठर्हछ भन्नेसमेत स्याङ्गजा अदालतको ०१५।६।२१।३ को फैसला ।

      ५.    जालसाज गरेको फैसला भएपछि थैली बुझी फट्टा नदिएको पनि ठहर्नुपर्ने नठहरिएकाले चित्त बुझेन भन्ने वादी हरिप्रसादको अपील ।

      ६.    ९१ सालमै लिएको जग्गामा पास नभएबाट फेरी मैले नै पास गरी ०१२ सालमा लिएकोले सदर गर्नुपर्ने नगरेकाले चित्त बुझेन भन्नेसमेत व्यहोराको एकराम पाध्याको अपील ।

      ७.    सौतेनी व्यवस्था भएको बाबुले राजिनामा गरी दिनुको पनि सम्भवै हुने । बण्डापत्र गर्दा पनि यो झगडा परेको जग्गामात्र नभई अरु जग्गा समेत देखिएको । त्यस्तो बण्डापत्र उपर उजुर नपरी बीचका मानिसको भनाईबाट बदर हुन्छ भन्न पनि नहुने । बण्डापत्र उपर एकरामले उजुर गर्न नसकेको । बाबुलाई सजाय हुने गरी बाबु छोरा मिली कदापि नालिस नगर्न बेतमसुकी साहु लिन भैंसी किन्न भन्ने वापत लेखिएको प्रतिवादीमा भने अघि लिएको रुपैयाँमा थप ५१७२। दिई रु. ६०००। को लिखत पास गरेको भनी लेखिएको र अघिको लिखत सबै खडै राखेको देखिन आएको । अघि अघिको लिखत भनी प्रतिवादीले पेश गरेको हेर्दा वादीको बाबुले रु. १०।१२ सम्म पनि तमसुक लेखी कर्जा लिएको देखिएको । त्यस्तो व्यक्तिलाई रु. ५१७२। जसले लेख्नु पर्ने मनासिव माफिकको कारण पनि साहुले देखाउन नसकेको समेतबाट इन्साफ शुरुको मनासिव ठहर्छ भन्नेसमेत पाल्पा अपीलको ०१६।१।२३।४ को फैसला ।

      ८.    वादीबाट दाखिल भएको बण्डापत्र पास नभएको । बाबु छोरा मिली जुनसुकै अवस्थामा पनि खडा गर्नसक्ने हुँदा त्यस्तो कागज सदर गर्न ऐनमा बिरोध पर्ने । बन्धकी भए दोहरी छ भन्न दाखिल गर्नसक्नु पर्ने नसकेको । एकरामको बाबु श्रीरामलाई ९१ सालमा राजिनामा नदिएको भए ९९ सालको ३ महलमा एकरामका बाबुको नाउँमा दर्ता हुननपर्ने । वादीको बाबुले जुनसुकै बोली राखी राजिनामा गरी दिए पनि साविककै साहुलाई राजिनामा दिंदा कसैको उजूर नपर्ने अवस्था हुँदा अघि पछिको गरी रु. ६०००। मा राजिनामा गरिदिएको स्वसिद्धै देखिएको । उही साहुको अघिको फट्टा नजनिएको भनी बदर गरिदिन ऐनकानून प्रचलित व्यवहारसमेतमा मनासिव नपर्नेसमेत परिबन्दबाट वादीले प्रतिवादीउपर झुट्टै उजुर गरेको ठहर्ने भन्नेसमेत व्यहोराको पाल्पा अपीलका वि. रुद्रनारायणको ०१६।१।२३।४ को राय पर्चा ।

      ९.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी हरिप्रसादको अपील ।

      १०.    उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी एकराम पाध्याको अपील ।

      ११.    अंशबण्डाका ३८ नं. साहु आसामीको ८ नं. ऐन अन्तर्गत बाबुले आफू खुशी गर्न पाउने भाग कटाई आफ्नो भागमा सोही ८ नं. का म्यादभित्र दावी लिई उजुर गरेको देखिन नआई ०११ साल बैशाख ३ गते बाबु रत्नाखरले गरी दिएको बण्डापत्रबाट अंश हक पाएको जग्गा जालसाजीबाट राजिनामा लिनुदिनु गरेको बदर गरी जग्गा चलन गर्न पाउँ भन्ने दावी भएकोमा प्रमाण खण्डमा अरु सँग छ भन्ने लेखेपछि पेश गरेको सो बण्डापत्र रजिष्ट्रेशन पास भएको नदेखी घरायसमा गरेको रजिष्ट्रेशनका ३. नं. ले पास गराउनु पर्ने पास नगराएको बण्डापत्रबाट रजिष्ट्रेशनका ७ नं. ले जग्गा दावी गरेको नालिस लाग्न नसक्ने भई कानूनको रीत पुगेको लिखत प्रमाण दिन नसकेकोले वादीको बाबुले ०१२ साल चैत्र १४ गते रजिष्ट्रेशन पास गरी प्रतिवादी एकरामलाई राजिनामा गरी हक छाडी दिईसकेको जग्गा दाबी गरी बन्धकी थैली बुझाई सके भन्ने लिखत सबुद बेगर आफ्नो हक नपुगेको वादीका यस फिरादपत्रबाट इन्साफ गर्ननपर्ने भई दण्ड सजायको ५३ नं. ले यो मुद्दा खारेज हुने ठहर्छ भन्ने मध्यमान्चल उच्च अदालत डिभिजन बेञ्चको ०१७।४।३ को फैसला ।

      १२.   शुरु र अपील २ तहबाट जालसाज ठहरी मैले जितेको मुद्दामा म.उ.अ. बाट खारेज हुँदा मर्का पर्‍यो । अपील लाग्ने र रिभ्यू हुने व्यवस्था नभएकाले इन्साफ दोहर्‍याई दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको हरिप्रसादको निवेदनपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए यो मुद्दा एकपटक सर्वोच्च अदालतबाट दोहर्‍याइ हेरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०१७।१२।२९।३ मा मौसुफका निजी सचीवले सवारी मुकाम रत्नमन्दिर फेवाताल पोखराबाट लेखी पठाउनु भएकाले निवेदकलाई जनाउ दिई बक्स भएका हुकुम प्रमांगीबमोजिम हुन बेञ्चमा पेश गरी दिनु होला भन्ने ०१८।१।१।५ को म.उ.अ. दौडाहा मुकाम पोखरा सिंगलबेञ्चको आदेश ।

      १३.   यसमा बक्स भएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहर्‍याई दिन ठाडोमा दर्ता गरी नियमबमोजिम गर्न तोक भएको जनाउ निवेदकलाई दिनु भन्नेसमेत ०१८।१।२०।३ को का.मु. प्रधान न्यायाधीशको आदेश ।

      १४.   निवेदक, वादीतर्फबाट रहनुभएका विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारी र एडभोकेट वाशुदेवप्रसादले पहिलेको बन्धकी नतिरी राजिनामा पास हुन नसक्ने । सगोलमा भए पनि अंशबण्डाका ३८ नं. ले अपुतालीबाट आएको जग्गा बिक्री गर्दा २१ बर्षका छोराको मञ्जुरी लिनुपर्ने नत्र सदर नहुने । अंशको कुरामा अंशबण्डाको ऐन मान्न पर्ने । साहु आसामीको ८ नं. को म्याद नलाग्ने । बण्डापत्र कानूनले नै सदर छ । अंशबण्डाको जग्गा दाखिल खारेज हुनपर्ने होइन । महाजाँच आएपछि मात्र दाखिल खारेज गर्नुपर्ने हो भन्नेसमेत र प्रतिवादी पक्षबाट रहनुभएका विद्वान वकील एडभोकेट मधुप्रसादले बाबु र छोराको मिलेमतोबाट साहुको थैली भुस्याउन घरसारमा बण्डापत्र जहिलेसुकै पनि खडा हुनसक्ने । त्यस्तो पास नभएको सो बण्डापत्रबाट छुट्टिएको भन्न नमिल्ने र सगोलको सम्पत्ति बेचबिखन गरेकोमा साहु आसामीको ८ नं. को हदम्यादभित्र आउन पर्ने । नआएको समेतबाट वादी उजुरी खारेज हुनपर्ने भन्नेसमेत बहस गर्नुभयो ।

      १५.   प्रस्तुत मुद्दामा बण्डापत्रबाट एकलौटी हक भएको भन्ने वादी हुँदा वादीबाट पेश भएको ०११।१।३ को बण्डापत्र पास हुनपर्ने नपर्ने के हो ? । सगोलमा रहँदा बाबुले अंशबण्डाको ३८ नं. को विरुद्ध २१ बर्ष नाघेका सबै छोराहरूको मञ्जुरी बेगर सगोलको सम्पत्ति बेचबिखन गरेमा साहु आसामीको ८ नं. लाग्ने नलाग्ने के हो ? भन्नेसमेत कुराको निर्णय दिनुपर्ने हुन आयो ।

      १६.    बाबुसँग लिखत खडा गरी साक्षी राखी गरेको बण्डापत्रबमोजिम मेरो भागमा परेको श्रीरामबाट निखनी लिनुपर्ने जग्गा म परदेश गएको बेलामा बाबु दिने साहु एकराम किन्ने भई मिली जालसाजी गरी राजिनामा पास गरेछन । सो बदर गरी पाउँ । मैले बुझाएको थैलीको फट्टा पाउँ भन्ने वादी दावी भएको देखियो ।

      १७.   अब वादीको भागको जग्गा राजिनामा दिएको भनेकोले सो बदर गरी पाउँ भनी वादीलाई नालिस दिन पाउने हकको आधार बण्डापत्र नै देखिएकोले उक्त ११।१।३।५ को बण्डापत्र कानूनी बेकानूनी के रहेछ भनी विचार गर्दा, अंशबण्डाको ४९ नं.बमोजिम रु. १०० भन्दा बढी चल धनसम्पत्ति घर औ जतिसुकै भए पनि अचल जग्गा जमिन कच्ची पक्की घर र दाखिल खारेज गर्नुपर्ने अचल जग्गा जमिन बण्डा गर्दा साक्षी राखी ऐनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिष्ट्रेशनका ऐनले रजिष्ट्ररी पास गर्नुपर्ने अचल जग्गा जमिन कच्ची पक्की घर जतिको छ, ऐनको म्यादभित्र रजिष्ट्रेशन पाससमेत गरी दिनु पर्छ । लेखिएबमोजिम नगरी अंशबण्डा गरेको सदर हुदैन भन्ने लेखिएको । रजिष्ट्रेशनको ३ नं. ले अंशबण्डाको बण्डापत्र मध्ये दाखिल खारेज गर्नुपर्ने अचल जग्गा र पक्की घर जतिको मात्र रजिष्ट्रेशन गराउनु भन्ने भएपछि दाखिल खारेज गर्नुपर्ने अचल जग्गाको बण्डापत्र पास गराउन पर्ने देखियो ।

      १८.   प्रस्तुत मुद्दामा राजिनामा दिएको भनेको झगडा परेको जग्गा महाजाँच आएको बेलामा मात्र दाखिल खारेज हुन्छ । बीचमा जहिलेसुकै दाखिल खारेज हुने जग्गा होइन । तसर्थ उपरोक्त अंशबण्डाको ४९ नं. र रजिष्ट्रेशनको ३ नं.बमोजिम त्यस्तो अचल जग्गा भाग लागेको बण्डापत्र पास हुनुपर्ने होइन भन्ने निवेदकतर्फका विद्वान वकीलको जिकिर भएकोमा दाखिल खारेज गर्नुपर्ने भन्ने वाक्यांशको अर्थ तत्काल दाखिल खारेज हुनुपर्छ भन्ने वादी पक्षको धारणा भएको देखिन्छ । यदि अचल जग्गा महाजाँच आएको बेलामा वा अरु कुनै बेलामा दाखिल खारेज गराउन पर्ने रहेछ भने त्यस्तो दाखिल खारेज गराउन पर्ने जग्गा भाग बण्डा लगाउन परे बण्डापत्र पास गराई राख्नुपर्छ भन्ने ऐनको मनसाय हो । त्यस्तो पास भएको बण्डापत्रको आधारमा जग्गा दाखिल खारेज हुने कुरा प्रष्ट देखिएको । यस्तो सरल कुरालाई जहिले पनि दाखिल खारेज हुन नसक्ने । अचल जग्गालाई पास गराउन पर्छ भन्ने अंशबण्डाको ४९ र रजिष्ट्रेशनको ३ नं. को मनसाय होइन भन्ने निवेदकतर्फका विद्वान वकीलको जिकिर उक्त ऐनको मनसायको विपरीत देखिन्छ । यसरी ०११।१।३।५ को बण्डापत्र ०२ सालको सनद इश्तिहार अंशबण्डाको ४९ नं. रजिष्ट्रेशनको ३ नं. अनुसार पास हुनै पर्ने लिखत हो भन्ने सिद्ध छ ।

      १९.    अब अर्को प्रश्न विचार गर्दा, सगोलमा रहँदा बस्दा घरको मुख्य मानिसले व्यवहार चलाउन सगोल सम्पत्ति कतिसम्म आफू खुशी गर्न पाउने हो भन्ने कुरा अंशबण्डाको ३८ नं. मा व्यवस्था भएको देखिन्छ । अर्थात सो ३८ नं. ले घरको मुख्य माथि बन्देज गरेको पाईन्छ । उक्त बन्देज नाघी घरको मुख्यले मनोमानी तरिकाले २१ बर्ष नाघेको छोराहरूको मञ्जुरी बेगर मोल लिई वा नलिई सगोलको सम्पत्ति यत्रतत्र गरेमा हक मारिएका छोराहरूले नालिस उजुर गर्ने हदम्याद अंशबण्डाको महलमा व्यवस्था गरिएको छैन । यो एउटा बाबु छोराको सम्बन्धको विशेष व्यवस्थाको ऐन हो । साहु आसामीको ऐन एउटा साधारण व्यवस्थाको ऐन हो । तसर्थ अंशबण्डाको ३८ नं. विरुद्ध मुख्यले मनोमानी गरेमा हदम्यादै छैन भन्ने वादी पक्षले बहसमा तर्क उपस्थित गरेकोमा विचार गर्दा, बाबुआमा छोराछोरीका बीच अंशबण्डा गर्नु परेमा अंशबण्डाको महल लाग्ने र साहु आसामी भई गरेको किनबेचको ब्यवहारमा साहु आसामीको महल लाग्ने भन्ने कुरा स्वसिद्ध भएको । प्रस्तुत मुद्दा अंश दिएन दिलाई पाउँ भन्ने नभई बाबुले जग्गा राजिनामा गरी दिएछन । बदर होस भन्ने भएको । जग्गा राजिनामा गरी दिएछन भन्नासाथ बाबु रत्नाखर आसामी प्र. एकराम साहु भई साहु र आसामीको सम्बन्ध स्थापित हुन गएको प्रष्ट देखिन आएको छ ।

      २०.   यसरी साहु र आसामीको सम्बन्ध स्थापित हुनासाथ प्रस्तुत मुद्दामा साहु आसामीको महल अन्तर्गत पर्ने कुरा स्पष्ट छ । साहु आसामीको ८ नं. मा अब उप्रान्त अंश नभई एकाघरसँग बसेकाले अचल गैह्र बेचबिखन गर्दा ऐनले आफू खुशी गर्न पाउने अरुको मञ्जुरी लिन नपर्ने बाहेक अरुमा एकाघरसँग बसेका सबैको मञ्जुरी लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ बर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र उजुर गर्नको हक जति त्यो वस्तु जो हो । सो फिर्ता गराइ त्यही बेचबिखन गर्नेको नाउँमा कपाली तमसुक गराई वा जायजातबाट भराई दिनु । आफूले आर्जेको भए सँग बसेकाको मञ्जुरी लिनु पर्दैन । बेचबिखनसमेत गैह्र गर्न हुन्छ भन्ने उल्लेख भएको । ऐनले आफू खुशी गर्न पाउने अरुका मञ्जुरी लिन नपर्ने बाहेक भन्ने वाक्यहरूको सम्बन्ध अंशबण्डाको ३८ (१) सँग रहेछ भन्न कर लाग्दछ । त्यस्तो अरुको मञ्जुरी लिई व्यवहार चलाउन बिक्रि गर्नपर्ने सम्पत्ति बाबुले बिना मञ्जुरी बिक्रि गरी दिएको खण्डमा सो बिक्रीबाट जजसको हक जाने हो, उसउसले आफ्नो हक कायम राख्न साहु आसामीको ८ नं. को म्याद भित्र उजुर गर्नपर्छ भन्ने व्यवस्था साहु आसामीको ८ नं. मा पाउछौं । अंशबण्डाको नं. ३८ मा उल्लेखित बन्देज उपर नालिस गर्न हदम्यादको व्यवस्था अंशबण्डाको महलमा छैन भन्दा साहु आसामीको ८ नं. निष्कृय हुन जान्छ । तसर्थ साहु आसामीको सम्बन्ध स्थापित भएको प्रस्तुत मुद्दामा साहु आसामीको ८ नं. लाग्दैन भन्न मिलेन ।

      २१.   थैली बुझाएको भन्ने वादी दावीतर्फ बुझिएको लिखत भरपाई केही दाखिल नभएकोले प्रतिवादीले बुझेको भनी बेगर प्रमाण वादीलाई दिलाई दिन नमिल्ने कुरा सिद्ध भएको र अरु उपरोक्त दफाहरूमा उल्लेख भएबमोजिम २००२ सालको सनद र ऐनको विपरीत घरायसमा भएको बण्डापत्र लिखत सदर मान्न नमिल्ने हुँदा वादीको मूलश्रोत बण्डापत्र नै कच्चा देखिएपछि सो बण्डापत्रबाट वादीको एकलौटी हक कायम भएको भन्न मिलेन र सगोलमा रहेकोले आफ्नो हक कायम राख्न वादी साहु आसामीको ८ नं. का म्याद भित्र आउनु पर्नेमा आफ्नो हक अधिकारमा वास्ता नराखी म्याद उपर सुती बस्ने वादीलाई कानूनले मद्दत नगर्ने हुँदा वादीको जिकिर पुग्न सक्दैन । उजुर खारेज गर्ने ठहराई मध्यामान्चल उच्च अदालत डिभिजन बेञ्चबाट ०१७।४।१८।३ मा गरेको इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक, वादी हरिप्रसादको इन्साफ दोहर्‍याएमा शुरु दण्ड ने.रु. ३७।५० को हाकिमका नाउँमा कराउनेका ११ नं. ले दशौंद ने.रु. ३।७५ दण्ड हुन्छ । रुजु हुँदा ऐनबमोजिम असूल गरी तहसीलमा लगत दिनु ……………………..१

नियमबमोजिम मिसिल बुझाई दिनु …………………… २

 

इति सम्वत् २०१९ साल माघ ५ गते रोज ६ शुभम् ।