July 25, 1986
Created by nepalarchives

निर्णय नं. २६७५ – डाँका

निर्णय नं. २६७५    ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं....

निर्णय नं. २६७५    ने.का.प. २०४३ २०४३ अङ्क – ४

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको फौ.पु.नं. ६१९

फैसला भएको मिति : २०४३।४।१० मा

 

पुनरावेदक/वादी : जितबहादुर लामाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धादिङ पिडा गा.पं.वडा नं.८ बस्ने नरबहादुर तामाङसमेत

 

मुद्दा : डाँका

 

(१)         कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको काँसको दुई थान डवकालाई दशीको रुपमा ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं. १८)

(२)        डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल प्रहरीमा भएको बयानको आधार लिई कसूरदार ठहराउन मिल्ने अवस्था देखिँदैन ।

(प्रकरण नं. १९)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ :

२. २०३९ साल बैशाख २८ गते म घरमा नभएको अवस्था सो रातको अं.१० बजे मेरो घरमा नरबहादुर तामाङ्ग समेत आई घरभित्र पसी मेरो श्रीमतीलाई बाँध छाँद गरी बिगो रु.९००७।को भाँडा वर्तन, लुगा, कपडा, सुना, चाँदी नगद समेत चोरी गरी लगेकाले चोरी भएको मध्ये २ वटा काँचको डवका फेला परेकाले सो डवका र नरबहादुर समेतलाई पेश गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको ०३९।३।९ को जाहेरी दर्खास्त ।

३. २०३९।१।२८ गतेका दिन साँझमा चमार दोङ तामाङ्ग बुध घलान तामाङ, लोप्चन कान्छा तामाङ कप्तान माहिला थिङ्ग तामाङ समेत मेरो घरमा आई जितबहादुरको घरमा चोरी गर्न जाउँ भनेकाले ५ जना भई जाहेरवालाको घरमा गई निजकी श्रीमतीलाई बाँधी कसी सुन, चाँदी, भाडा वर्तन, नगद समेत चोरी गरी बाँडफाँड गर्दा मेरो भागमा २ वटा डवका र रु.२४०।परेको थियो । रुपैयाँ मासी खाएँ डवका दाखिल भएको छ भन्ने समेत व्यहोराको नरबहादुर तामाङ्गको प्रहरी कागज ।

४. २०३९।१।२८ मा म समेत पाँच जना भई जाहेरवालाको घरमा चोरी गरी बण्डा गर्दा मलाई रु.२४०।दिए अरु पछि बाँडौला भनी हर्कबहादुर समेतले लगे भन्ने समेत व्यहोराको कृष्णबहादुरको प्रहरीमा कागज ।

५.    बुद्धिमान, लोप्चन कान्छा, हर्कबहादुर, भिमबहादुर समेतलाई खोज तलास गर्दा फेला नपरेको भन्ने प्रहरी जवान रामचन्द्र लामिछानेको प्रतिवेदन ।

६. ०३९।१।२८ का दिन जाहेरवालाको घरमा नरबहादुर तामाङ्ग, चमार दोङ तामाङ, लोप्चन तामाङ्ग  हर्कबहादुर तामाङ्ग, कप्तान माहिला थिङ तामाङ्ग, मीनबहादुर, लोप्चन बुध घलान तामाङ समेतले जाहेरीमा उल्लिखित माल सामानहरू चोरी डाँका गरी लगेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

७. जितबहादुर तामाङ्गको घरमा रातीमा पसी बिगो रु.८,१२७।को धनमाल प्र.नरबहादुर तामाङ्ग चमार दोङ्ग तामाङ्ग भन्ने कृष्णबहादुर दोङ्ग तामाङ्ग, तर्कबहादुर लोप्चन तामाङ्ग, कप्तान माहिला थिङ्ग तामाङ, मिनबहादुर लोप्चन तामाङ, बुध घलान भन्ने बुद्धिमान तामाङ्ग समेत जना ६ ले चोरी गरी लगी भाग बण्डा गरी बाँडी लिएको सिद्ध हुन आएकोले प्र.हरूले चोरीको महलको ४, ६ नं. अनुसारको कसूर गरेको देखिन आएको चोरीको १४ नं. अनुसार सजायँ भई बिगो रु.८१२७।भराई पाउँन अनुरोध गरिएको प्रहरी प्रतिवेदन ।

८. ०३९।१।२८ मा नरबहादुर बाहेकको अरु म समेत ५ जना भई जाहेरवालाको घरमा गई म बाहिर बसें उनीहरू भित्र गई जाहेरवालाको श्रीमतीलाई बाँधी मालसामान लिएको भनी मलाई समेत रु.१२०। दिए भन्ने समेत व्यहोराको चमार दोङ्ग भन्ने कृष्णबहादुरको शुरु अदालतमा भएको बयान ।

९. ०३९।१।२८ मा म वारदातमा गएको होइन र मेरो घरबाट डवका बरामद भएको पनि होइन मैले चोरी डाँका गरेको छैन भन्ने समेत व्यहोराको प्र.नरबहादुरको शुरु अदालतमा बयान ।

१०.    प्र.मिनबहादुर लोप्चन, कप्तान माहिला थिङ तामाङ्ग, हर्कबहादुर, बुद्धिमान तामाङले मिति ०३९।६।२।७ मा तामेल भएको ७० दिने म्याद गुजारी बसेको ।

११. ०३९।१।२८ मा राती १०।११ बजे प्रतिवादीहरू घर भित्र पसी मलाई पुटका समेतले बाँधी जाहेरीमा उल्लिखित धनमाल चोरी गरी लगेको हो भन्ने समेत व्यहोराको जाहेरवालाकी श्रीमती धनसानी तामाङनीले गरेको बयान ।

१२. अभियुक्त नरबहादुरले अदालतमा बयान गर्दा प्रहरीमा भएको साविती स्वेच्छाले गरेको होइन भनेको, बरामदी मुचुल्का भएको पनि नदेखिएको, जाहेरवाला पनि उपस्थित नगराएको प्र. मध्ये चमार दोङ्ग भन्ने कृष्णबहादुरले पनि निज डाँका गर्न गएका होइनन् भनी बयान गरी दिएको देखिन्छ । प्र.नरबहादुरले डाँका गरेको ठहर्दैन । प्र.चमार दोङ भन्ने कृष्णबहादुरले रु.१२०।सम्मको लागि कसूरमा सावित भई अदालतमा समेत बयान गरेको देखिएको र सो भन्दा बढीमा सबूद प्रस्तुत हुनसकेको नदेखिँदा निजको हकमा रु.१२०।मात्र डाँका गरेको ठहर्छ । हाजिर नहुने प्रतिवादी कान्जो लोप्चन भन्ने हर्कबहादुर लोप्चन तामाङ्ग १, कप्तान माहिला थिङ्ग तामाङ्ग १, मीनबहादुर लोप्चन तामाङ्ग १, बुध घलान भन्ने बुद्धिमान घलान तामाङ्ग १ समेतको जना ४ को हकमा अंश रोक्का भएको ६ वर्ष पुगेपछि मुद्दा खडा गरी ठहरे बमोजिम गर्ने गरी अ.बं.१९० अनुसार मुलतवी राखी दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु धादिङ जिल्ला अदालतको २०४०।१०।९।२ को फैसला ।

१३. सो फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन ।

१४. नरबहादुर प्रहरी समक्ष सावित छ तापनि अदालतमा इन्कारी छ । निजको घरबाट दसी बरामद भएको भनिएको डवका दुई बरामद भएको भन्नेतर्फ जाहेरवालाले बरामद भएको भनेको तर मुचुल्का नभएको, जाहेरवालाको स्वास्नीले मौकैमा नरबहादुरलाई चिनेको भन्ने कुरा पत्यार लायक नहुँदा सफाई दिएको शुरु इन्साफ मनासिब ठहर्छ । कृष्णबहादुरलाई डाँका गरेको ठहर भएको रु.१२०।को डेढी रु.१८०।जरिवाना गरेको जिल्लाको मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।१०।२९ को फैसला ।

१५.   उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदन पर्दा प्रस्तुत मुद्दामा नरबहादुर समेतले बिगो रु.९००७।रुपैयाँको मालसामान चोरी गरेको बिगो खोली जाहेरवालाले जाहेरीमा उल्लेख गरेकोमा बिगोको डेढी बढाई जरिवाना गर्नुपर्नेमा सो बमोजिम नगरेबाट चोरीको १४(४) को त्रुटि भएको साथै जाहेरवालाको श्रीमतीले वारदातको अवस्थामा नरबहादुरलाई किटानी साथ स्पष्ट चिनेको भन्ने तथ्यलाई प्रमाणमा नलिई गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा १८ समेतको त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिने गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४१।१२।१४ को आदेश ।

१६. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहालले नरबहादुर अपराध गरेमा प्रहरीमा सावित छ, निजको घरबाट काँसको डबका बरामद भएको छ । जाहेरवालाको श्रीमतीले नरबहादुरलाई चिनेको भनी किटानीपूर्वक अदालतमा समेत बकी लेखी दिएको छ । कृष्णबहादुरको हकमा निजलाई दावी बिगोको डेढी सजायँ गर्नुपर्नेमा निजले स्वीकार गरेको बिगोको डेढी सजायँ गरेको पनि मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । प्रतिवादी नरबहादुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भू थापाले डबका बरामद भएको भनेकोमा मुचुल्का छैन । नरबहादुरले गा.पं.मा दिएको उजूरीमा कसैलाई नचिनेको भन्ने छ । नरबहादुर अपराधमा संलग्न नरहेको भनी प्र.मध्येको कृष्णबहादुरले लेखाई दिएकोबाट समेत निजलाई सफाई दिने गरेको क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१७. यसमा निर्णयतर्फ हेर्दा ०३९।१।२८ गते राती नरबहादुर तामाङ्गले म घर नभएको अवस्थामा मेरो घरमा आई श्रीमतीलाई बाँध छाँद गरी बिगो रु.९००७।को धनमाल चोरी गरी लगेछ र उक्त समयमा मानिस चिन्न नसकेको कारणले चोरी भएको सामान पत्ता लगाएको अवस्थामा कारवाही गर्नेछु भनी गा.पं.मा हुलिया दर्खास्त दिई खोजतलास गर्दै रहँदा अभियुक्त नरबहादुरको घरबाट दसी समेत निवेदनसाथ दालिख गर्न ल्याएको छु । अभियुक्तलाई पक्राउ गरी कारवाई गरिपाउँ भन्ने व्यहोराको जीतबहादुर लामाको ०३९।३।९ मा जाहेरी परेबाट प्रस्तुत मुद्दाको अनुसन्धान कारवाई शुरु भएको देखिन्छ । बिगोको हकमा जाहेरवालाको ०३९।३।११ को कागजबाट रु.८१२७।कायम गरी सोही बमोजिम माग गरी प्रहरी प्रतिवेदन परेको देखिन्छ । उपर्युक्त जाहेरीकै व्यहोराबाट जाहेरवाला वा निजकी श्रीमतीले वारदात अवस्थामा प्र.नरबहादुरलाई चिन्न नसकेको भन्ने प्रष्ट हुन्छ जाहेरवालाको श्रीमतीको अदालतमा भएको बकपत्रमा वारदातको अवस्थामा नै नरबहादुरलाई चिनेको भने पनि निजको उक्त व्यहोरा शुरु जाहेरीसँग मेल खाएको देखिँदैन । जाहेरी हतार हतार गरी दिएको कारणले कुरा छुट्न गएको हो कि भन्नलाई पनि ०३९।१।२८ को वारदातलाई लिएर ०३९।३।९ मा मात्र जाहेरी दर्खास्त परेकोबाट पनि नरबहादुरलाई जाहेरवालाको श्रीमतीले चिनेको कुरा छुट्न सक्ने अवस्था देखिँदैन ।

१८. काँसको दुइवटा डवका अभियुक्तको घरमा फेला परेको भन्ने हकमा उक्त डबका अनुसन्धान अवस्थामा फेला परेको भन्ने छैन र बरामद मुचुल्का समेत मिसिल सामेल रहेको देखिँदैन । जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गरेको पनि देखिँदैन । कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको उक्त काँसको दुई थान डवकालाई दसीको रुपमा ग्रहण गर्न मिल्ने देखिँदैन ।

१९. प्र.नरबहादुरले जाहेरवालाको घरमा डाँका वारदात गरेमा इन्कार रही अदालतमा बयान  गरेको देखिन्छ । वारदात गरेमा आफू सावितै हुने प्र.चमारदोङ्ग भन्ने कृष्णबहादुर तामाङले पनि नरबहादुर बाहेक अरु बुध घलान, लोप्चन कान्छा, कप्तान माहिला मिनबहादुर समेत भई वारदात गरेको भनी बयान गरेको देखिन्छ र निजहरूको हकमा मुलतवी रहेको छ । प्र.नरबहादुरले जाहेरवालाको घरमा डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल प्रहरीमा भएको निजको बयानको आधार लिई निजलाई कसूरदार ठहराउन मिल्ने अवस्था देखिँदैन । निजलाई सफाई दिने गरेको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

२०.   प्र.कृष्णबहादुरको हकमा हेर्दा शुरु जिल्ला अदालतले निजले खाएको भनी स्वीकार गरेको बिगो रु.१२०।को धनमाल मात्र डाँका गरेको ठहराई सो को डेढी रु.१८० जरिवाना गरी ६ वर्ष कैदको सजायँ गरेको देखिन्छ । निजले सो भन्दा बढीको बिगो डकैत गरेको भन्ने सबूद प्रमाण वादीतर्फबाट पुर्‍याउन सकेको देखिँदैन । सजायँ कम भयो बेसी हुनुपर्छ भन्ने श्री ५ को सरकारको जिकिर नभएको भनी शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा इन्साफ क्षेत्रीय अदालतको मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा मेरो सहमती छ ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

 

इति सम्वत् २०४३ साल श्रावण १० गते रोज शुभम् ।