March 20, 1963
Created by nepalarchives

निर्णय नं. १८२ – लुटपीट

निर्णय नं. १८२                  ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं. ५९ निवेदक, प्रतिवादी...

निर्णय नं. १८२                  ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री वाशुदेव शर्मा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

फौ.फु.नं. ५९

निवेदक, प्रतिवादी : ल. विष्णुकुमार श्रेष्ट

विरुद्ध

विपक्षी, वादी : कृष्णवदन रन्जितकारनी

मुद्दा : लुटपीट

(१)   वारदाताको दिन (वा कुनै खास दिन) अन्यत्र फलाना ठाउँमा थिए भन्ने जिकिर लिएमा सोको सबूत जिकिर लिनेले नै गुजार्नपर्ने ।

            …….आफू अन्यत्र रहेको भन्ने कुरा प्रमाणित गर्ने पूर्णअभिभारा निवेदक प्रतिवादी माथि नै रहन्छ ।

 (प्रकरण नं. १५)

(२)   आफूले लिएको जिकिर प्रमाणित गर्न नसकेमा वादी जिकिर नै साँचो मान्नुपर्ने ।

            …… अन्य शंका रहित सबुद प्रमाण निवेदकतर्फबाट कुनै पेश दाखिल भएको देखिएन । जब प्रतिवादीले आफू अन्यत्र रहेको कुरा प्रमाणित गराउन सक्दैन तब समान्यतः वादीले भनेअनुसारको स्थानमा प्रतिवादी रहेछ भन्ने कुरा देखिन आउँछ ।

(प्रकरण नं. १५)

निवेदकतर्फबाट      : प्लिडर दुर्गाप्रसाद

वादीतर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा

फैसला

      १.     डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

      २.    ०९।५।२३ गते राती १०।१२ जवान पुलिसफोर्स आई पिस्तोलसमेत देखाई धनमाल कहाँ छ भनी खानतलासी गरी धनमाल र लोग्नेसमेत १० जवानलाई पक्राउ गरी लगेको फेरि १ घण्टापछि ले. विष्णुकुमारसमेत आई बाह्रमासे जुवा खेलाएको भनी खनतलासी गरी धनमालसमेत लगेको र सबै दाखिल नगरी पर्चाई खाने नियत गरेकोले बुझी पाउँ भनी दिएको निवेदनमा जो बुझ्नुपर्छ बुझी बाह्रमासे मुद्दा र जागिरदार उपरको भएकोले दुवै मुद्दा अपीलावट कारवाई गरी दिनु भन्नेसमेत श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश भएकाले तपसीलबमोजिमको धनमालको बिगो मोहरू १०३४०।१७ दामासाहीबाट बिगो भराई सजाय गरीपाउँ भन्नेसमेत वादी कृष्णबदन रन्जितकारनीको बयान ।

      ३.    सि. रणबहादुरले बालकृष्णको घरमा बाह्रमासे जुवा खेलाएको भनी रिपोर्ट गरेकोले कम्याण्डर च्याम्जुङसमेत गई सो भाद्र २३ गते पक्राउ गरेकोमा बरामद भएको रक्सीसमेत गारतमा जिम्मा दिई बालकृष्णलाई छुट्टा राखी म त्यही पालो बसेको हुँ दालिख भएको माल गोश्वारामा बुझाएकै छु वादीका दावीबमोजिम धनमाल लिए खाएको होइन भन्नेसमेत ह. चिरन्जीवीका रिपोर्ट ।

      ४.    चिरन्जीवीका मिलानको रणबहादुर थापा क्षेत्रीको रिपोर्ट ।

      ५.    ०९।५।२२ गते बिहान ९।९।। बजेका टायममा पूर्ण शाक्यसमेत १० जवान बज्रबाराही गई २४ गते बेलुकी फर्की आएकाले वारदाता गरेको होइन भन्नेसमेत ले. विष्णुकुमारको रिपोर्ट ।

      ६.    सिं. रणबहादुर चिरन्जीवीबाट बाह्रमासे खेलाएका छन् भन्ने रिपोर्ट पर्न आएकाले नं. ८६ का मोटरी लिई सिपाही साथ लिई पक्रन जाँदा खेली रहेको अवस्था फेलापारी पक्रेको हुँ भन्नेसमेत वि.वि. च्याम्जुङको रिपोर्ट ।

      ७.    वि.वि. च्याम्जुङ विष्णुकुमार चिरन्जीवी रणबहादुरसमेतले विगो मोहरू. ९१४२।१७ को धनमाल लूटपीट गरेको र रु ११९८। बढी वादीले दावी गरेकोसमेत ठहराई ०१२ साल पौष २२ गते अपील दोश्रा फाँटबाट फैसला गरेको ।

      ८.    उक्त फैसला चिक्त बुझेन मोहरू. ११९८। पनि लूटपीट गरेकै हो भन्नेसमेत वादीकृष्णबदनको अपील ।

      ९.    घटना स्थलैमा नगएकोमा इवीबाट पोल गर्दैमा दोषी ठहर्नुपर्ने होइनन् भन्नेसमते ले. विष्णुकुमारको अपील परेकोमा निजले तारिख गुजारेकोबाट ०१९।५।१० मा डिसमिस भएको र कृष्णबदनले मौकामा ने.रु. ९१४२।१७ लेखाएका देखिएकाले अपीलाटले मोहरू १०३४२।१७ भनेकालाई मौकामानै नलेखिएकाले मोरु. ९१४२।१७ लुटपीट गरेको देखिएकाले रु. १०३४२।१७ कायम गरी पाउँ भन्ने वादीको दावी पुग्न नसक्नेसमेत ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१९।५।२७।४ मा फैसला भएको ।

      १०.    ले. विष्णुकुमारले तारिख थामी ल्याएकोले डिसमिस जगाई मुद्दामा दर्ता गरी पेश गर्नुभन्ने ०१९।८।१२।३ को आदेश ।

      ११.    भाद्र २२ गते बज्रबाराही गई २४ गते मात्र फर्केको भनी अपिलाटल भनेकोमा जागिरदार मानिस ३ तीन दिनसम्म बस्नुपर्ने कारण केही दवाउन नसकेकाले वारतादा छल्न मात्र भनेको रहेछ भन्ने देखिन आएकोलेसमेत अपीलाटको अपील जिकिर पुग्न सक्तैन । इन्साफ अपील दोश्राको मुनासिब छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१९।१०।१०।४ को फैसला ।

      १२.   डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ले. विष्णुकुमार श्रेष्टको निवेदनपत्रको व्यहोरा पेश हुँदा बाह्रमासे जुवा खेलेकोमा पुलिसले पक्राउ गरी रिपोर्ट दिईसकेपछि त्यसै बारदातमा पुलिसले लूटपिट गरे भनी उजुर गरी मुद्दा परेकोमा बाह्रमासे खेलेको ठहर्दैन । लूटपीट गरेको ठहर्छ भनी निवेदकबाटसमेत बिगो भराउने गरी डिभिनजबेञ्चबाट फैसला भएको र वारदाताको समयमा निवेदक नभई बज्रबाराही गएका अरु पुलिस अफीसरहरूको पनि निवेदक वारदातामा थिएन भनेको प्रमाणहरू मिसिलमा महजुद भएकोमा बिगो तिर्नु पर्दा चित्त बुझेन भनी निवेदकको वकीलले रोहवरमा जिकिरसमेत गरेकोले व्यहोरा सँचो भए अन्याय परेकै जस्तो देखिनाले दोहर्‍याई हेर्ने निस्सा दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिन भन्नेसमेत श्री मननीय प्रधान न्यायाधीशज्यूको ०१९।१०।२९।२ को आदेश ।

      १३.   निवदेक प्रतिवादी तर्फबाट रहनुभएको विद्वान वकील प्लिडर दुर्गाप्रसाद वादीले १ पटक पिस्तोलसमेत देखाई धनमाल र लोग्ने समेतलाई पक्राउ गर्न लागेको भन्ने र फेरि विष्णुकुमारसमेत आई बाह्रमासे जुवा खेलाएको भनी खानतलासी गरी धनमालसमेत लगे भनी २ वारदाता देखाएको ।१ पटक धनमाल मानिस लगिसकेपछि फेरि धनमाल लगेको भन्ने कुरा अनप्रतित देखिने र साक्षी र वादीकैसमेत कुरा फरक फरक परेका र पेटीमा बसेका साक्षीले कोठामा भएको कुरा र कपडाको रङ्गसमेत छुट्टयाई बकेको लूटपीट भएका भनेको सामान यो यो भन्ने वादीले र लुट्ने मानिसले भनेको भन्ने कुरा अनपत्यार देखिएको छ । मेरो पक्ष वारदातामा नभई बज्रबाराही गएको हुनाले मेरो पक्ष उपरैको दावा झुट्ठा हो भनी र वादी तर्फबाट रहनुभएको विद्वान वकील सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले निवेदकवारदातमै नभएको भन्ने हकमा अन्यत्र रहेको कुनै भरपर्दो सबुद दिन सक्नुभएको छैन । चिरन्जीवीले डि. आई. जि. मा जाहेर गरेको ०९ साल भाद्र २३।२६ गतेको रिपोर्टमा ले. विष्णुकुमारको नाउँ उल्लेख छ । वि.वि. च्यामजुङको साक्षी के.वि. सुब्बाको बकपत्र र मेरो पक्षको साक्षीले किटानी साथ बकपत्र गरेको समेतबाट विष्णुकुमार वारदातमा सरीक भएकै देखिने हुनाले डिभिजन बेञ्चको फैसला न्यायासङ्गत छ । तसर्थ सोही कायम रहनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

      १४.   विद्वान वकीलहरूको बहस उक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वारदातको समय निवेदक प्रतिवादी अन्यत्र रहेको हो वा वारदातामा सरिक भई निजसमेतले लूटपीट गरेको के हो भन्ने कुराको निर्णय गर्नुपर्ने हुनआयो ।

      १५.   निवेदक विष्णुकुमारसमेत आई धनमाल लगे भन्ने वादी र सो वारदाताका दिन भन्दा १ दिन अगाडी ०९ साल भाद्र २२ गतेका दिन बिहान ९।९।। बजेको टायममा पूर्ण शाक्य नानीकाजी, आनन्द नकर्मी, श्यामसुन्दर खत्री, गोबिन्द उपाध्याय, कान्छा शाक्य, मोहनलाल, भाइचा, ग्यानचा, जितबहादुरसमेत १० जनासँग बज्रबाराही गई २४ गते बेलुका फर्की आएको भनी वारदातको दिन निवेदक प्रतिवादीले आफू अन्यत्र रहेको भन्ने जिकिर लिएको । यस्तो अवस्थामा आफू अन्यत्र रहेको भन्ने कुरा प्रमाणित गर्नेपूर्ण अभिभारा निवेदक प्रतिवादी माथि नै रहन्छ । त्यस्तो आफ्नो जिकिरलाई प्रमाणित गर्न निवेदकले के कस्तो सबुद प्रमाण दिनु भएको रहेछ भन्नेतर्फ विचार गर्दा मुख्यतः दामोदर पाध्या समेत ९ जना साक्षी राखेको देखियो । निज साक्षीहरूको बकपत्र हेर्दा नै ले. विष्णुकुमार र धर्मरत्न, आशाकाजी, ज्ञानरत्न, विष्णु विक्रम हरिज्ञान, प्रेमबहादुर, श्यामबहादुर, समेत र म समेत भई बज्रबाराही गएको भन्ने दामोदर र सोही मिलान बुद्धमुनी, ज्ञानरत्न, प्रेमबहादुर हरिज्ञान, आशाकाजीले बकपत्र गरेको देखिएको । प्रतिवादीले बज्रबाराही जाँदा साथ गएको मानिस देखाई सो कुराको समर्थनको निमित्त साक्षी राखेको साक्षीले हामीसमेत गएको भनी बकेको देखिएकोले बज्रबाराही जाँदा साथ जाने भनेको मानिसमा प्र. वादीको भनाई र साक्षीको भनाई फरक परी विश्वास लायक नदेखिएको र यसको अतिरिक्त आफ्नो जिकिर प्रमाणित हुने अन्य शंका रहित पक्का सबुद प्रमाण निवेदकतर्फबाट कुनै पेश दाखिल भएको देखिएन । जब प्रतिवादीले आफू अन्यत्र रहेको कुरा प्रमाणित गराउन सक्दैन । तब सामन्यतः वादीले भनेअनुसारको स्थानमा प्रतिवादी रहेछ भन्ने कुरा देखिन आउँछ ।

      १६.    अन्य प्रतिवादी कुनैले पनि पोल नगरेको भन्ने निवेदकतर्फको जिकिरका हकमा पनि यसै मुद्दाको प्रमाणमा रहेको बाह्रमासे मुद्दाको मिसिल सामेल रहेको ह. चिरन्जिीवीले डि.आई.जि. मा दिएको भाद्र २३ गतेको रिपोर्टबाट वारदात अवस्थामा वादीको घरमा ले. विष्णुकुमार रहे भएको भन्ने देखिएको, प्रतिवादी वि.वि. च्यामजुङको साक्षी के.वि.     सुब्बाल उजुरवालाको लोग्नेसमेतले बाह्रमासे जुवा खेलेको भनी वृ.क.वि.वि. च्यामजुङ र ले. विष्णुकुमारसमेतले कृष्णबदनको लोग्ने समेतलाई पक्राउ गरी पुलिस गोश्वारामा लगेकोसम्म मलाई थाहा छ भनी बकपत्र गरेको र वादीका साक्षी समेतका बकाई लेखाई मिसिल प्रमाणबाट निवेदकले विष्णुकुमार वारदातमा सरिक भएको नै सिद्ध हुन आएकोले अन्यत्र थिएँ । वारदात भई नभएको भन्ने निजतर्फको बहस जिकिर मुनासिब देखिएन । तसर्थ निवेदक समेतले लूटपीट गरेको ठहराई बिगो दिलाई दिने गरेको इन्साफ अपील दोश्राको सदर गरेको डिभिजन बेञ्चको ०१९।१०।१०।४ को इन्साफ मुनासिव छ, अरु तपसीलबमोजिम गर्नु ।

     

तपसील

निवेदक ले. विष्णुकुमार श्रेष्ट के इन्साफ दोहर्‍याएमा शुरु दण्ड ने.रु. ५७१।३८।२ को हा.क. का ११ नं. बमोजिम दशौद ने.रु. ५७।१४ दण्ड हुन्छ वारिस हुँदा असूल गर्न तहसीलमा लगत दिनु …………….१

नियमबमोजिम मिसिल बुझाई दिनु ……………… २

 

इति सम्बत् २०१९ साल चैत्र ७ गते रोज ४ शुभम् ।