निर्णय नं. २६७३ – हक कायम
निर्णय नं. २६७३ ने.का.प. २०४३ २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...
निर्णय नं. २६७३ ने.का.प. २०४३ २०४३ अङ्क – ४
फुलबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् ०४१ सालको दे.फु.नं. ७८
फैसला भएको मिति : २०४३।४।३१।६ मा
निवेदिका/प्रतिवादी : का.न.पं.वडा नं.२८ को हाल वडा नं.३३ डिल्लीबजार बस्ने मैयाँनानी देवी जोशी
विरुद्ध
विपक्षी/वादी : का.न.पं.वडा नं.७ को हाल वडा नं.२३ धर्मपथ बस्ने सानु बाबा जोशीसमेत
मुद्दा : हक कायम
(१) अंश लिई बेग्लै बसेपछि त्यस्तो बेग्लै बस्नेले मर्नेको संग बस्ने छँदाछँदै अंश हक पाउन सक्ने देखिएन ।
(प्रकरण नं. २०)
निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह
फैसला
न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३९।८।२४।५ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्याई पाउँ भन्ने निवेदिका मैयाँनानीदेवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र परेकोमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको हक कायम मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु” भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. बाबा शन्तलालले रामबहादुर श्रेष्ठ उपर डिग्री बमोजिम बिगो भरी पाउँ भनी लेनदेन बिगो मुद्दा दायर गरी पूर्पक्षमा रहनु भएकोमा निज शन्तलाल २०३१।२।२४ का दिन आफ्नो कालगतिले परलोक हुनु भयो । बाबा शन्तलालका दुई श्रीमती र दुई छोरामा क्रमश श्रीमती सानु बाबा, ल्याइते श्रीमती मैयाँ देवी भन्ने मैयाँनानी १, छोरा निर्मलाल १ र म पुरुषोत्तमलाल भएकोमा बाबा शन्तलालले विरामीको अवस्था हामी सबैलाई नगदी तथा असामी र असल जग्गामा जिम्मा रहेको मेरा शेष पछि सबै श्रीसम्पत्ति चारै जना बराबर बाँडी खानु भन्नु भएकोमा सो कुराको बन्दोवस्त गर्न नपाउँदै वहाँको स्वर्गवास हुँदा शन्तलालको नाउमा जनकपुर अञ्चल महोत्तरी जिल्ला भू.प्र.का.मा दर्ता भएको जग्गामा हामी चारै जनाको हक लाग्ने हुँदा दर्ता नाउँ जारी गरी दिन सिफारिशको लागि चारै जनाको संयुक्त दस्तखतबाट प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंबाट नाता प्रमाणित गरी पाएका छौ । यस्तै शन्तलालका नाउँमा नेपाल बैंक मलंगवाबाट रु.४,०००।– को टि.टि फो.नं. ३७।३११ मिति २०३१।२।२ को रकम हामी चारै जनाको हक लाग्ने देखाई पुरुषोत्तमलाले झिकी ल्याएकोले हामी चारैजना निजका हकदार सिद्ध भैरहेछ । हाल मुद्दा सकार गर्न जाँदा हामी चारै जनाको हक भनी दर्खास्त परेको र विपक्षी मैयाँनानीले निजको मात्र हक लाग्ने भनी मुद्दामा हाजिर हुन आउनु भएकोले हक कायम गराई आउनु भनी ०३१।८।५ मा का.जि.अ.ले सुनायो । उक्त मितिबाट ३५ दिनभित्र यो फिराद गर्न आएको छु । अतः मर्ने बाबा शन्तलालको सदिच्छा पूरा गर्न सोही अनुरुप काम कार्यबाही प्रारम्भ गर्दै आएको हुँदा मुद्दा शन्तलालको श्रीसम्पत्तिमा हामी चारै जनाको बराबर दर्ले चार भागको एक भाग मेरो एक भाग सानो बाबाको समेत हुने हक कायम गरी हामी चारै जनालाई हकदार कायम गरिपाउँ भन्ने समेत मिति ०३१।९।९।३ को सानो बाबा र पुरुषोत्तमलालको संयुक्त फिरादपत्र दर्ता भएको रहेछ ।
३. शन्तलालको ३ श्रीमतीमा जेठी सानु बाबा र निज तर्फको छोरा पुरुषोत्तमलाल जोशी र माहिली श्रीमती सानुमैयाँ भन्ने देवकुमारी जोशी र निज तर्फका छोरा निर्मललाल र कान्छी श्रीमती म मैयानानी देवी जोशी हुँ । विपक्षी सानु बाबाको नाममा रहेको जमिन्दारी जग्गा र नेपालको घर खेत समेत चल अचल गैह्र सम्पत्ति अंश बापत लिई छोडपत्र गरी २०१९।११।२७ मा रजिष्ट्रेशन पारीत समेत भएको छ । माहिली सानु मैयाँ भन्ने देवकुमारी र निर्मललाल जोशीले पनि आफ्नो अंश भाग बुझी लिई २०१७।९।१६ मा रजिष्ट्रेशन पारीत गरी भिन्न बसी आ–आफ्नो भाग भोगी आएकै छन् । म पनि शन्तलालसँग एकासगोलमा रही बसी आएकी छु । आफ्नो अंश कुनै भाग बण्डा लिई भिन्न भएको छैन । आफूले अंश लिई सकेपछि अरुको अंश हकको जग्गामा हामीहरूको समेत हक लाग्छ चारै जनालाई हकदार कायम गरिपाउँ भन्ने अधिकार वादीहरूलाई कुनै कानुनले प्रदान गरेको छैन । अ.बं.८२ नं. र अ.बं.१८० नं. अनुसार खारेज हुनुपर्छ निर्मललालको हकमा फिराद गर्न वारिसनामा चाहिन्छ । वादीहरूले फिराद गर्दा अरुको हकको समेत संरक्षण गर्ने जस्तो गरी चारैजनालाई हकदार कायम गरिपाउँ भन्नु भएको छ यसबाट वादीहरूको मुद्दा गर्ने नियत मनसाय चातुर्यता प्रष्ट झल्कन्छ । अपुतालीको ६ नं. अनुसार खसम शन्तलालको सम्पत्तिमा मेरो बाहेक विपक्षीहरूको हक लाग्न सक्ने कुरा छैन खसमको देहावसान पछि निजका नाउँमा सर्लाही जिल्लामा रहेको जमीन मेरा नाउँमा नाउँसारी गराएकोमा दर्ता बदर गरिपाउँ भनी विपक्षीहरूले म उपर फिराद दिएकोमा सो दर्ता बदर हुन नसक्ने गरी ०३१।९।९ मा फैसला भएकोछ, नाता प्रमाणित गर्ने कार्य र हकदार कायम गर्ने कार्य दुई भिन्दा भिन्दै कानुनी प्रकृयाहरू हुन् नाता प्रमाणित हुँदैमा हकदार कायम हुन सक्तैन । मैले हक छोडी नदिएसम्म मेरो सम्पत्ति जान सक्तैन र म मात्र शन्तलालको सम्पत्तिमा हकदार हुनाले झुठ्ठा नालेश दिएमा विपक्षीहरूलाई सजायँ गरी म मात्र हकदार कायम गरिपाउँ भन्ने समेत मैयाँनानी देवी जोशीको प्रतिउत्तर परेको रहेछ ।
४. वादी तथा प्रतिवादीहरू संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी समक्ष ०३१।३।१० गते दिएको निवेदनमा शन्तलाल परलोक हुनुभएका हुँदा निजको हक खाने अंशियार शन्तलालकी श्रीमती सानु बाबा जोशी १, मैयाँ देवी १, छोरा पुरुषोत्तमलाल १, निर्मललाल १ समेत आमा छोरा ४ बाहेक अरु अंशियार कोही नभएको भन्ने समेतको दर्खास्तबाट सिफारिश भएको र ५।६ वर्षदेखि मैयाँनानी छोरा निर्मलको घरमा बसेको भनी सर्लाहीमा बयान गरेको समेत हुँदा वादी दावा अनुसार शन्तलालको सम्पत्ति खान पाउने उक्त व्यहोराबाट चारैजनाको हक लाग्ने दैयादार देखिने हुँदा वादी दावा अनुसार निजहरू हकदार ठहर्ने देखिन्छ भन्ने समेत शुरु ललितपुर जिल्ला अदालतको मिति २०३४।९।५।३ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी सानुबाबा, पुरुषोत्तमलाल र प्रतिवादी मैयाँनानी देवी समेतको बा.अं.अ.मा पुनरावेदन परेकोमा सो पुनरावेदन क्षेत्रीय अदालतमा सरी गएकोमा शन्तलालको शेषपछि प्र.मैयाँनानी एक मात्र हकदार ठहरिनु हुन्छ भनी ल.पु.जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०३६।११।२९।४ को फैसला ।
६. उक्त फैसला हुँदा कानुनी त्रुटि भएकोले सो फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूको निवेदन सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा पुनरावेदनको अनुमति प्राप्त भई आखिर शुरु जिल्ला अदालतको इन्साफ उल्टी वा केही उल्टी गरी निर्णय गर्न पाइने अधिकार क्षेत्रीय अदालत नियमावली, २०३१ को नियम १८(ङ) ले क्षेत्रीय अदालत डिभिजनबेञ्चलाई मात्र प्रदान गरेको, पुनरावेदिका मिश्री कुस्लेनी विपक्षी ऐश्वर्यमान श्रेष्ठको पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ भन्ने मुद्दामा क्षेत्रीय अदालत नियमावली, २०३१ को नियम १८(ङ) ले तल्लो निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने व्यवस्था गरेको छ भन्ने समेत उल्लेख भई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३२।६।१२।१ मा निर्णय भएको ने.का.प. ०३२ भाग १७ अंक १० पृष्ठ २६२ बाट देखिन्छ । प्रस्तुत मुद्दामा सो अनुसार नगरी सिंगलबेञ्चबाट फैसला गरेको देखिन आयो । अतः उक्त कानुन र सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय समेतको विपरीत हुने गरी अधिकार क्षेत्रभित्र नपर्ने कुरामा प्र.मैयानानी शन्तलालको शेषपछि एकमात्र हकदार ठहरिनु हुन्छ । ल.पु.जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०३६।११।२९ को फैसला मिलेको नदेखिँदा सो फैसला बदर गरी दिएको छ, अब ३ महीनाभित्र कानुन बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारेख तोकी मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०३८।६।१५ को फैसला ।
७. शन्तलाल जोशी ०३१।२।२४ मा परलोक हुनु भएपछि पुरुषोत्तमलाल जोशी १, सानुबाबा जोशी १, श्रीमती मैयाँदेवी जोशी १, निर्मललाल जोशी १ समेत ४ जना संयुक्त भई जिल्ला कार्यालय काठमाडौंमा नाता प्रमाणित गरी माग्न निवेदन गरेको सो को आधारमा शन्तलालको छोरा स्वास्नी भनी नाता प्रमाणित गरी दिएको देखिन आउँछ । सो निवेदन व्यहोराबाट शन्तलालको मृत्युपछि हक खाने मैयादेवी बाहेक सानु बाबु जोशी, पुरुषोत्तमलाल जोशी, निर्मललाल जोशी पनि हुन् भन्ने तथ्यलाई मैयादेवीले स्वीकार गरेको देखिन्छ । एकपटक स्वीकार गरी सकेको तथ्यको प्रतिकूल हुने गरी मैयाँदेवीले जिकिर लिन पाउने अवस्था प्रमाण ऐन, २०३१ को दफा ३४ ले देखिन आएन । मैया देवीले जिल्ला कार्यालय काठमाडौंमा दिएको निवेदनमा उल्लेख गरेको व्यहोराको प्रतिकूल गर्न विबन्धित गरेको छ । आफ्नो ०३३।५।६ को बयानको दफा ३ मा अंशियार हकवाला मध्ये निर्मललाल जोशीको घरमा बसेको तथ्यलाई पनि स्वीकार गरेको देखिन आउँछ तथ्य र आचरणको प्रतिकूल हुने गरी शन्तलालको सम्पत्तिमा निजको शेषपछि मैयादेवीले मात्र हक खान पाउने भन्न नमिल्ने देखिँदा शन्तलालको सम्पत्तिमा हक खान पाउँने सानु बाबा जोशी १, पुरुषोत्तमलाल जोशी १, निर्मललाल जोशी १ र मैयाँ देवी जोशी १ समेत ४ जनालाई हकदार कायम गरेको ललिपुर जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । सानुबाबा, पुरुषोत्तमलाल जोशी र मैयाँ देवीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको २०३८।८।२९।२ को फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मैयाँनानी जोशी निवेदनमा मुलुकी ऐन अंशबण्डाको ११ नं. र प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको उल्लेख गर्दै डिभिजनबेञ्चबाट पुनरावेदनको अनुमति दिने भन्ने समेत मिति ०३९।२।६।५ मा आदेश भएको रहेछ ।
९. प्रतिवादी यी मैयाँनानी देवीले समेत उपरोक्त प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा ०३१ सालमा नाता प्रमाणित गराई पाउँन दिएको दर्खास्तमा लोग्ने आफ्नो कालगतीले यहि ०३१।२।२४ मा परलोक हुनुभएका हुँदा निजको हक खाने अंशियार श्रीमती सानु बाबा जोशी १, श्रीमती मैयाँनानी देवी १, छोरा पुरुषोत्तमलाल जोशी १, छोरा निर्मललाल जोशी १, समेत हामी आमा छोरा ४ जनाको बाहेक अरु अंशियार कोही नभएको भन्ने समेत व्यहोरा उल्लेख गरी मर्ने शन्तलालको स्वास्नी छोरा नाता प्रमाणित गरी माग्न दिएको कुरा शुरु मिसिल संलग्न फा.नं. ११ को दर्खास्त नक्कल कागजबाट देखिन आएकोले लिखित रुपमा यसरी स्वयं वादीहरूलाई हकदार देखाई सो बमोजिमको कार्य सम्पन्न भएपछि पुनः पछि आई मेरो मात्र हकको भनी प्रतिवादी मैयानानी देवी जोशीले मर्ने शन्तलाल जोशीको चल अचल सम्पत्तिमा एकलौटी मैले मात्र खान व्यहोर्न पाउनुपर्ने हो भन्ने मैयाँनानी देवीको जिकिर तथा दावी समेत उपरोक्त कारण तथा आधार समेतबाट पुग्ने देखिँदैन । किनभने वादी सानुबाबा समेतले प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा स्वीकार गरी दिएको दर्खास्त समेतको लिखित आधारमा वादीहरू स्वीकार गरी दिएको हक जतिमा मात्र निज प्र.मैयाँनानी देवीको हक पुग्न सक्ने हो । सो भन्दा बढीमा निजले दावी तथा जिकिर लिन पाउने र त्यसरी स्वीकार गरेको भन्दा बढि कुरामा दावी गर्न पाउने अवस्था माथि व्यक्त गरिए बमोजिम प्रचलित मुलुकी ऐन अंशबण्डाको ८ नं. ले दिँदैन । तसर्थ मर्ने शन्तलालको सम्पत्तिको हक खान पाउँने वादी सानु बाबा जोशी १, पुरुषोत्तमलाल जोशी १, प्रतिवादी मैयानानी देवी जोशी १, र निर्मल जोशी १ समेत यी ४ जनालाई हकदार कायम गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३८।८।२९ मा भएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको मिति ०३९।८।२४।५ को फैसला ।
१०. डिभिजनबेञ्चबाट भएको उक्त फैसला फुलबेञ्चले दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हुकूम बक्स भई आएको ।
११. नियम बमोजिम निर्णयार्थ मिति ०४३।४।२१।३ मा यस बेञ्चमा पेश हुँदा तारेखमा रहनु भएकी निवेदिका प्रतिवादी मैयाँनानी देवी जोशी र विपक्षी वादी सानु बाबा जोशी समेतको वारिस ठगेन्द्रकुमारी समेतलाई रोहवरमा राखी निवेदिका प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना तथा विद्वान अधिवक्ता श्री कूलराज गुरुघरानाले वादीहरूले मिति २०१९।११।२७ मा नै रजिष्ट्रेशन पारीत गरी शन्तलालसँग अंश लिई छोडपत्र गरी सकेको छ । यसरी एकपटक अंश लिई सकेपछि शन्तलालको सम्पत्तिमा पुनः अंशमा हक लाग्न सक्दैन । शन्तलालको माहिली श्रीमती सानु मैया भन्ने देवकुमारीले र निर्मल लाल जोशीले पनि ०१७।९।१६ मा रजिष्ट्रेशन पारीत गरी अंश भाग बुझी लिई भिन्न बसी आ–आफ्नो भाग भोगी आएका छन् । जेठी र माहिली स्वास्नीले अंश छोडपत्र गरी भिन्न भइसकेपछि ०३० सालमा शन्तलालले मैयाँनानीलाई पत्नी बनाई संगै बसी आएका हुन तसर्थ शन्तलालको सम्पत्तिमा अंशबण्डाको ११ नं. अनुसार यी मैयाँनानीको मात्र हक कायम हुनु पर्नेमा चारै जनाको हक कायम हुने ठहराएको डिभिजनबेञ्चको फैसलामा उक्त ऐन समेतको त्रुटि हुनाले बदर गरी मैयाँनानी देवी जोशीको एकलौटी हक कायम गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी सानु बाबा जोशीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले शन्तलालको नाउँमा जनकपुर अञ्चल महोत्तरी जिल्ला भू.प्र.का.मा दर्ता भएको जग्गामा मैयाँनानी, सानु बाबा, पुरुषोत्तमलाल र निर्मललाल चारै जनाको हक लाग्ने हुँदा दर्ता नामसारी गरी दिन सिफारिशको लागि प्र.जि.अ.को कार्यालय काठमाडौंमा दर्खास्त दिई नाता प्रमाणित गरी पाएका छौं । मैयाँनानीको एकलौटी हक कायम गरिपाउँ भनेर केही उजूरी परेको छैन । मैयाँनानीले कुन साल देखि शन्तलालको श्रीमती भएको भनेर कतै पनि भन्न सक्नु भएको छैन कुनै पनि लिखतबाट मैयाँनानी शन्तलालको श्रीमती भएको देखिँदैन भन्ने समेत र प्रतिवादी पुरुषोत्तमलाल जोशीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले मैयाँनानी देवी जोशी समेतले चार जनाको नाता प्रमाणित गरिपाउँ भन्ने प्र.जि.अ. को का. काठमाडौंमा दर्खास्त दिई मिति ०३१।३।२० मा नाता प्रमाणित गरी पाएको छ । यसरी मैयाँनानी स्वयंले वादीहरूलाई हकदार देखाई लिखित रुपमा स्वीकार गरी सकेपछि अब आएर मेरो मात्र एकलौटी हक कायम हुन्छ भन्ने निजलाई विबन्धन लाग्छ । अतः शन्तलालको सम्पत्तिमा वादी प्रतिवादी चारै जनाको हक कायम हुने ठहर्याएको यस अदालत डिभिजनबेञ्चको निर्णय नै कायम गरिपाउँ भन्ने समेत बहस गर्नुभयो ।
१२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम वादी प्रतिवादी चारै जनाले मर्ने शन्तलालको सम्पत्तिको हक खान पाउँने गरी हकदार कायम गरेको यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२४।५ को निर्णय मिलेको छ छैन हेर्नु परेको छ ।
१३. निर्णयतर्फ हेर्दा यसमा मर्ने शन्तलालको श्रीसम्पत्तिमा वादी प्रतिवादी चारैजनाको बराबरका दरले चार भागको एक भाग मेरो एक भाग आमा सानो बाबा जोशीको समेत हुने हक कायम गरी हामी चारै जनालाई हकदार कायम गरिपाउँ भन्ने मुख्य दावी वादीहरूले लिएको देखिन्छ ।
१४. वादीहरूले २०१९।१।२७ मा रजिष्ट्रेशन पास गरी अंशलिई छोडपत्र गरी सकेको र माहिली सानुमैयाँ भन्ने देवीकुमारी र निर्मललालले पनि ०१७।९।१६ मा रजिष्ट्रेशन पारीत गरी आफ्नो अंश भाग बुझी लिई भिन्न बसी आ–आफ्नो भाग भोगी आएकै छन् । म पति शन्तलालसँग एकासगोलमा बसी आएको छु । आफ्नो अंश भाग बाँडी लिई भिन्न भएको छैन । अ.बं. ८२ नं. र अं.ब. १८० नं. अनुसार फिराद दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर जिकिर भएको पाइन्छ ।
१५. अतः प्रस्तुत मुद्दामा मर्ने शन्तलालको श्रीसम्पत्तिमा वादी दावी बमोजिम सानो बाबा जोशी १, पुरुषोत्तमलाल जोशी १, मैयाँनानी देवी जोशी १ र निर्मललाल जोशी १, समेत गरी चारै जनाको हक कायम हुने हो होइन भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो ।
१६. मिसिल संलग्न फिरादपत्र हेर्दा बाबा शन्तलालको ल्याइते स्वास्नी मैयाँ देवी भन्ने मैयाँनानी भनी लेखिएको र प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा शन्तलालको नाउँमा जनकपुर अञ्चल महोत्तरी जिल्ला भू.प्र.का.मा दर्ता भएको जग्गामा हामी चारै जनाको हक लाग्ने हुँदा दर्ता नाउँसारी गरी दिन सिफारिश पाउँ भनी दिएको सानु बाबा र पुरुषोत्तमलाल समेतको संयुक्त दर्खास्तमा शन्तलालकी श्रीमती मैयाँदेवी भनी लेखिएको पाइन्छ । यी दुइटै लिखतहरूबाट शन्तलाल र मैयाँनानी देवी लोग्ने स्वास्नी नाताका हुन भन्ने देखिन आयो । अतः यस स्थितिमा मैयाँनानी देवी जोशी शन्तलालका प्रकाशित वा अप्रकाशित स्वास्नी भन्ने विवाद रहेको भन्न सकिएन ।
१७. अब शन्तलालको ०३१।२।२४ मा मृत्यु भएकोले निजको हक खाने अंशियार श्रीमती सानु बाबा जोशी, श्रीमती मैयाँ देवी, छोरा पुरुषोत्तमलाल जोशी र छोरा निर्मललाल जोशीलाई देखाई शन्तलालको नाउँको जग्गा निजहरूको नाउँमा नामसारी गर्नको लागि सिफारिश गरिपाउँ भनी प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा मैयाँनानी देवी जोशी समेतले संयुक्त दर्खास्त दिएबाट शन्तलालको मृत्युपछि निजको सम्पत्तिमा यी वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशीको हक लाग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय गर्नुपर्ने हुन आउँछ ।
१८. यसतर्फ विचार गर्दा वादी र प्रतिवादीहरूको लेखबाट नै यी वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशी मृतक शन्तलालका अंशियार हुन भन्ने कुरामा विवाद रहेन । यी वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशीले सानु बाबाको नाममा रहेको जमिन्दारी जग्गा र नेपालको घर खेत समेत चल अचल गैर सम्पत्ति अंश बापत लिई मिति ०१९।११।२७ मा रजिष्ट्रेशन पास गरी छोडपत्र गरी सकेको देखिन्छ । यस कुराको स्वीकारोक्ति स्वयं वादीहरूले पनि आफ्नो फिरादमा गरेका छन् । त्यस्तै गरी शन्तलालको माहिली श्रीमती सानु मैयाँ भन्ने देवकुमारी र निर्मललाल जोशीले पनि शन्तलालसँग आफ्नो अंश भाग बुझी लिई ०१७।९।१६ मा रजिष्ट्रेशन पास गरी लिई भिन्न बसी आएको देखिन्छ । यसरी वादीहरूले रजिष्ट्रेशन समेत पास गरी मिति ०१९।११।२७ मा नै अंश छोडपत्र गरिसकेपछि पुनः शन्तलालको सम्पत्तिमा हक कायम गरिपाउँ भन्न मिल्ने देखिएन । प्रतिवादी मैयाँनानी देवी जोशीले वादीहरू समेतका नाउँमा संयुक्त नामसारी गरिपाउँ भनी दर्खास्त दिएको भन्ने वादीका विद्वान कानुन व्यवसायीहरूको कथन रहेको छ । सो सम्बन्धमा विचार गर्दा कानुनको कार्यान्वयनबाट हुने प्रकृयामा विबन्धन लाग्न सक्ने हुँदैन । यस स्थितिमा संयुक्त नामसारी गरिपाउँ भन्ने मैयाँ नानीको मन्जुरी भए तापनि ऐनले हुने कुरामा विबन्धन लागू हुन सक्दैन ।
१९. वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशीले अंश छोडपत्र गरी सकेपछि पुनः शन्तलालसँग अंश मिसाई बसेको भन्ने कुराको दावी वादीहरूले लिन सकेको पाइएन र मिसिलबाट पनि देखिँदैन । अर्थात् यस्तो अवस्थामा यी वादीहरू मृतक शन्तलालको भिन्न भएको अंशियार मान्नु पर्ने हुन आयो । प्रतिवादी मैयाँनानी देवी जोशीले म पति शन्तलालसँग एकासगोलमा रही बसी आएको र आफ्नो अंश कुनै भाग बण्डा लिई भिन्न भएको छैन भन्ने कुराको जिकिर लिएको देखिन्छ । जुन कुराको खण्डन वादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहसको दरमियानमा गर्न सकेको पाउँदैन र मिसिलबाट पनि शन्तलाल र मैयाँ नानीको बीचमा अंशबण्डा भएको देखिँदैन । अतः शन्तलाल र मैयाँनानी देवी जोशीलाई एका सगोलको मान्नु पर्ने देखिन आयो ।
२०. अंशबण्डाको महलको ११ नं. मा “अंश लिई बेग्लै भएपछि आफ्नो र कोही स्वास्नी छोराको अंश समेत मिसाई संग राखेको रहेछ भने पछि अरु स्वास्नी ल्यायो वा छोरा जन्मे भने संग बसेकाहरूको अंश जिउनी जम्मा गरी संग बसेका र पछि ल्याए जन्मेका स्वास्नी छोरालाई ऐन बमोजिम अंश गरी दिनु पर्छ । आफ्नो अंश लिई बेग्लै भएपछि अर्को स्वास्नी ल्यायो वा छोरा जन्मे भने पछि ल्याए जन्मेकाले लोग्ने वा बाबाको अंश जिउनी सबै खान पाउँछन् । पछि ल्याए जन्मेकाले अघि अंश लिई पर सरेकोसँग अंशमा दैया गर्न पाउँदैन” भन्ने व्यवस्था भएको पाइन्छ । यस व्यवस्था अनुसार अंश लिई बेग्लै बसेपछि त्यस्तो बेग्लै बस्नेले मर्नेको संग बस्ने छँदाछँदै अंश हक पाउँन सक्ने देखिएन । वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशीले शन्तलालसँग अंश बुझी लिई छुट्टिसकेको र शन्तलाल र मैयाँनानी देवी जोशी बीच अंश नभई एकासगोलमा बसी आएको अवस्थामा शन्तलालको मृत्युपछि निजको सम्पत्तिमा यी वादीहरूले फेरी अंश पाउँछ भन्न यस अंशबण्डाको ११ नं. अनुसार मिल्ने देखिन आएन ।
२१. तसर्थ उपरोक्त प्रमाण तथा आधारहरूबाट शन्तलालको मृत्यु पछि शन्तलालको सम्पत्तिको हक खान पाउँने हकदार प्रतिवादी मैयाँनानी देवी जोशी देखिँदा निजको मात्र एकलौटी हक कायम हुने ठहर्छ । यस अदालतको डिभिजनबेञ्चले मर्ने शन्तलालको सम्पत्तिको हक खान पाउँने वादी सानु बाबा जोशी १, पुरुषोत्तम लाल जोशी १, प्रतिवादी मैयाँनानी देवी जोशी १, निर्मललाल जोशी १ समेत ४ जनालाई हकदार कायम गरेको मिति ०३९।८।२४।५ को निर्णय मिलेको देखिएन, उक्त निर्णय उल्टी हुने ठहर्छ । तससील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भई फैसला भएको शुरु ललितपुर जिल्ला अदालतको ०३४।९।५ को फैसला र ०३४।१०।१४ को लगतले वादीहरू सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशीलाई प्रतिवादी मैयाँनानी देवी जोशीबाट भराउने गरेको कोर्टफी, अरु दस्तूर समेत जम्मा रु.१०।८५ र सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।८।२४ को फैसला र ०३९।१०।७ को लगतले कोर्टफी अरु दस्तूर समेत जम्मा रु.१०।६० मैयाँ नानीबाट वादीहरूलाई भराई दिने गरेकोमा सो बमोजिम भरी भराउ गर्नुपर्ने नहुँदा सो लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ……………………१
प्रतिवादी मैयानानी देवी जोशी के शुरु ललितपुर जिल्ला अदालत उपर पुनरावेदन गर्दा काठमाडौं जिल्ला अदालतमा कोर्टफी अरु दस्तूर रु.१०।८५ मिति ०३४।११।१० मा धरौट राखेको र सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला दोहोर्याई दिनु भन्ने हुकूम प्रमांगी बक्स भए अनुसार मिति ०४१।२।४ मा काठमाडौं जिल्ला अदालतमा राखेको धरौटी कोर्टफी रु.१०।६० समेत जम्मा रु.२१।४५ फिर्ता पाउँ भनी प्रतिवादी मैयाँ नानी जोशीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई उक्त धरौट रहेको फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ………………….२
प्रतिवादी मैयाँनानी देवी जोशी के निजले शुरु उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० क्षेत्रीय अदालतको फैसला उपर सर्वोच्च अदालतमा अनुमतिद्वारा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० र हाल मुद्दा दोहोर्याए बापत राखेको रु.१।– समेत जम्मा रु.४।– वादीहरूबाट भराई पाउँ भनी ऐनमा म्यादभित्र प्रतिवादीको दर्खास्त परेमा दस्तूर केही नलिई देहायका वादीहरूबाट बराबरका दरले भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु………….३
वादी पुरुषोत्तमलाल जोशी १
वादी सानु बाबा जोशी १
मिसिल नियम बमोजिम गरी बुझाइदिनू …………….४
उक्त रायमा मेरो सहमति छ ।
न्या. प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय
यसमा निर्णयतर्फ हेर्दा डिभिजनबेञ्चले वादी दावी अनुसार मर्ने शन्तलालको सम्पत्तिमा वादी प्रतिवादीहरू चारै जनाको हक कायम हुने ठहर्याएको निर्णय मिलेको छ छैन हेर्नु परेको छ यसमा पति बाबु शन्तलालको मृत्युपछि निजको नाउँमा जनकपुर अञ्चल महोत्तरी जिल्ला भू.प्र.का.मा दर्ता भएको जग्गा सानु बाबा, पुरुषोत्तमलाल, मैयाँ नानी र निर्मललाल चारैजनाको हक लाग्ने हुँदा दर्ता नाउँसारी गरी दिन सिफारिश पाउँ भनी प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा चारै जनाको संयुक्त दर्खास्त परेको र प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंबाट पनि चारै जनालाई नाता प्रमाणित गरी दिएको समेत अधिकार देखाई मर्ने शन्तलालको नाउँको सम्पत्तिमा चारै जनाको हक कायम गरिपाउँ भन्ने मुख्य दावी वादीहरूले लिएको देखिन्छ । नाता प्रमाणित गर्ने कार्य र हकदार कायम गर्ने कार्य दुई भिन्दा भिन्दै कानुनी प्रकृया हुन्, नाता प्रमाणित हुँदैमा हकदार कायम हुन सक्दैन । वादीहरूले शन्तलालसँग अंश बुझी लिई छोडपत्र गरी सकेकोले वादी दावी खारेज गरिपाउँ भन्ने जिकिर प्रतिवादीले लिएको पाइन्छ ।
शन्तलालको ०३१।२।२४ मा मृत्यु भएकोले निजको नाउँको जग्गा नामसारी गरी दिनु भन्ने सिफारिश पाउँ भनी पुरुषोत्तमलाल जोशी, सानु बाबा जोशी, मैयाँदेवी र निर्मललाले प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंमा दिएको संयुक्त दर्खास्तको प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेको पाइन्छ । उक्त दर्खास्त हेर्दा “यसमा हामीहरूको बाबु लोग्ने शन्तलाल जोशी यही ०३१।२।२४ मा परलोक हुनुभएका हुँदा निजको हक खाने अंशियार म श्रीमती सानु बाबा जोशी १, म श्रीमती मैयाँ देवी १, छोरा पुरुषोत्तमलाल जोशी १, छोरा निर्मललाल जोशी १, समेत हामी आमा छोरा जम्मा ४ बाहेक अरु अंशियार कोही नभएको हुँदा निज बाबु पतिका नाउँमा रहेको जग्गाहरूको नाउँसारी गर्नाका लागि का.न.पं.वडा नं.७ समितिबाट ०३१ सालमा गरिदिएको सिफारिश अनुसार उक्त जिल्ला महोत्तरी भू.प्र.का.कार्यालयमा गरी दिएको सिफारिश अनुसार उक्त कार्यालयका नाउँमा जो चाहिने महोत्तरी भू.प्र.का.का नाउँमा सिफारिश पाउँ” भन्ने उल्लेख भएको छ र प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंबाट पनि मिति ०३१।३।२०।५ मा यी चारै जनालाई शन्तलालको नजिकको नाता प्रमाणित गरी दिएको कुरा मिसिल संलग्न नाता प्रमाणित नक्कलबाट देखिन्छ ।
उक्त दर्खास्तबाट प्रतिवादी मैयाँनानी देवी जोशी स्वयंले वादीहरूलाई समेत मर्ने शन्तलालको हक खाने अंशियार हो भनी स्वीकार गरेको पाइयो । यसरी प्रतिवादी मैयाँनानी देवी जोशी स्वयंले वादीहरू मर्ने शन्तलालको हक खाने अंशियार हुन् भनी लिखित रुपमा स्वीकार गरी सकेपछि अहिले प्रस्तुत मुद्दामा आएर शन्तलालको सम्पत्तिको हक खाने म मात्र हुँ र उक्त सम्पत्तिमा मेरो मात्र हक कायम हुनुपर्छ पुरुषोत्तमलाल सानु बाबा र निर्मललालको हक कायम हुन सक्दैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले मिल्ने देखिएन ।
यस्तै गरी मर्ने शन्तलालका नाउँमा नेपाल बैंक लि. काठमाडौं मार्फत टि.टि.फो.नं.मा मलंगवा बैंकको ड्राफ्ट जे. ३७।३११ मिति २।२।०३१ को मा उल्लिखित रकम रु.४,०००।– चार हजार मात्र मृतक श्री शन्तलाल जोशीका हामी पिताका अंशियार हकवाला प्र.जि.अ. कार्यालय काठमाडौंबाट निश्चय प्रमाणित प्राप्त गरेका छौं । जेठा छोरा पुरुषोत्तमलाल जोशीलाई सो रकम दिन अनुरोध गर्दछौं भनी सानुबाबा जोशी, मैयाँ देवी जोशी, पुरुषोत्तमलाल जोशी र निर्मललाल जोशी चारै जनाले नेपाल बैंक लिमिटेडका जनरल मैनेजर कहाँ निवेदन दिएको कुरा मिसिल संलग्न उक्त निवेदनको प्रतिलिपिबाट देखिन्छ । यसरी मर्ने शन्तलालका यी वादीहरू र प्रतिवादी समेत चारैजना हकदार देखाई चारै जनाको मन्जूरीबाट सो रुपैयाँ वादी मध्येका पुरुषोत्तमलाल जोशीले नेपाल बैंक लिमिटेड काठमाडौंबाट झिकी ल्याएको कुरा मिसिलबाट देखिन्छ ।
उपरोक्त प्रमाणहरूबाट प्रतिवादी मैयाँनानी देवी जोशी स्वयंले नै मर्ने शन्तलालको हक खाने अंशियारहरू सानु बाबा जोशी, पुरुषोत्तमलाल जोशी र निर्मललाल जोशी समेत हुन् भनी स्वीकार गरेको देखिएबाट मर्ने निज शन्तलालको सम्पत्तिमा यी प्रतिवादी मैयाँनानी देवी जोशीको मात्र एकलौटी हक कायम हुन्छ भन्न मिलेन । तसर्थ मर्ने शन्तलालको सम्पत्तिको हक खान पाउने वादी सानुबाबा जोशी १, पुरुषोत्तमलाल जोशी १, प्रतिवादी मैयाँनानी देवी जोशी १, र निर्मललाल जोशी १, समेत यी चारजनालाई हकदार कायम गरेको शुरु ललितपुर जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्याएको यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२४।५। को निर्णय मनासिब ठहर्छ । डिभिजनबेञ्चको इन्साफ उल्टी हुने ठहर्याइएको माननीय सहयोगी न्यायाधीशहरुसँग राय नमिलेकोले आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
इति सम्वत् २०४३ साल श्रावण ३१ गते रोज ६ शुभम् ।