निर्णय नं. २६७२ – घर जग्गा खिचोला
निर्णय नं. २६७२ ने.का.प. २०४३ २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...
निर्णय नं. २६७२ ने.का.प. २०४३ २०४३ अङ्क – ४
फुलबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४१ सालको दे.पु.नं. ७७
फैसला भएको मिति : २०४३।४।३१।६ मा
निवेदिका/प्रतिवादी : का.न.पं.वडा नं.२८ को हाल वडा नं.३३ डिल्लीबजार बस्ने मैयाँनानी देवी जोशी
विरुद्ध
विपक्षी/वादी : का.न.पं.वडा नं.२३ धर्मपथ बस्ने सानु बाबा जोशीसमेत
मुद्दा : घर जग्गा खिचोला
(१) मर्नेका नाउँको वादीले दावी लिएका घर जग्गाहरूमा प्रतिवादीले खिचोला गर्यो भन्ने दावी पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. ११)
निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३९।८।२४।४ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्याई पाउँ भन्ने निवेदिका मैयाँनानी देवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र परेकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको घर जग्गा खिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. स्वर्गीय शन्तलाल जोशीका हामी पत्नी छोरा हौं ०१९ सालमा शन्तलालले केही सम्पत्तिको हक गराई दिनु भए पनि पछि रितपूर्वकको बण्डा हुन गर्न बाँकी नै थियो वहाँको पालन स्याहार सम्भार हेर विचार हामीले नै गरी रहेको अवस्था ०३१।२।२४ गते परलोक हुँदा दागबत्ती काजक्रिया समेत कुल धर्म अनुसार सबै हामीले नै गर्यौं । विपक्षीले शन्तलालका नाउँमा रहेको महोत्तरी जिल्ला अन्तर्गतका जग्गा नामसारी गराएको जालसाजी सिफारिश जालसाजी ठहराई माग्न दिएको मुद्दा बा.अं.अ. मा र नामसारी मुद्दा महोत्तरी जिल्ला अदालतमा तथा सर्लाही जिल्ला अन्तर्गतको नामसारी बदर मुद्दा म.क्षे.अ. मा दायर छ । विपक्षी मैयाँनानी देवी हाम्रो पिता शन्तलालको पत्नी भएको हामीलाई थाहा थिएन । शन्तलालले विपक्षीलाई प्रकाश गरी पत्नी बनाई राख्नु भएको कानुनी मान्यता प्राप्त कुनै सबूद प्रमाण विपक्षीले दाखिल गर्न सक्नु भएको छैन । अंशबण्डाको ८ नं. अनुसार शन्तलाल परलोक भएपछि उहाँको सम्पत्तिमा दावी गर्न पाउने हक विपक्षीलाई कुनै कानुनले प्रदान गरेको छैन । हाम्रा पति पिता स्वर्गीय शन्तलालका नाउँमा यसै सर्लाही जिल्ला चन्द्रनगर गा.पं.वार्ड नं. ३ख. कि.नं. ८९, कि.नं.१०२, १०३, १०४, १०५, १०६, १५३ वार्ड नं. ३ग. कि.नं. ७ ऐ.४क. कि.नं. १८ ऐ.५(ख) कि.नं.६१ का जग्गा र विष्णुपुर गा.पं.वडा नं.९ कि.नं. २८ को जग्गामा बनेको २ तले घर समेत प्रचलित मोल रु.१६,०००।– जाने घर समेत छ हामीले दिएको जग्गा नामसारी बदर मुद्दामा विपक्षीले प्रतिउत्तर दिँदा जग्गा आफ्नो भनी लेखी दिएको सो नक्कल ०३१।७।२५ मा लिई थाहा हुन गयो । विपक्षीले त्यसै दिन जग्गा घर मेरो हो तिमीहरूलाई चलन उपभोग गर्न दिन्न भनी हटक खिचोला गर्नुभएकोले हाम्रो हकको घर जग्गालाई विपक्षीले आफ्नो भनी पक्री दावी खिचोला गरेकोले खिचोला मेटाई मुलुकी ऐन जग्गा मिच्नेका १० नं. बमोजिम आयस्ता बाली र घरको बहाल समेत रोक्का राखी घर जग्गामा हाम्रो हक कायम गरिपाउँ भन्ने समेत ०३२।८।५ को सानु बाबा तथा पुरुषोत्तमलाल जोशीको फिरादपत्र ।
३. मेरो पति शन्तलालको जेठी श्रीमती विपक्ष सानु बाबा जोशी र निजको छोरा विपक्षी पुरुषोत्तमलाल आफ्नो अंश भागको चल अचल सम्पत्ति लिई ०१९ साल र १७ सालमा मेरा पतिको माहिली श्रीमती देवकुमारी र निजको छोरा निर्मल पनि रजिष्ट्रेशन पारीत गरी आफ्नो अंश भाग लिई छुट्टी भिन्न भएका मेरो र खसमको अंश भाग नगरिएका सगोल भई बसी आएको आफ्नो अंश बापत कुनै भाग बण्डा लिई छुट्टि भिन्न भएकी समेत छैन विपक्षीहरूले हामीहरूको हक लाग्ने जग्गा घर खिचोला गर्यो भनी उजूर गर्न पाउने कुनै अधिकार छैन । यो फिराद गर्नु भन्दा अघि विपक्षीहरूले यसै जग्गा समेतको दर्ता बदर गरिपाउँ भनी म उपर फिराद गर्दा मलाई समेत अंशियार मानी पति शन्तलाल जीवित रहेको अवस्थामा मलाई र विपक्षीहरूलाई राखी बराबर खानु भनी सुनाएको भन्ने उल्लेख गरेकोले प्रकाश नगरी राखेको भन्नु विपक्षीहरूका नियत विलकूल खिचोलापूर्ण मुद्दामा यसै सर्लाही जिल्ला अदालतबाट विपक्षीहरूको हक नपुग्ने हुनाले मेरो नाउँको नन्द नगर गा.पं.अन्तर्गतको जग्गाहरूको दर्ता बदर हुन नसक्ने ठहराई ०३१।९।९ मा फैसला भएको सो फैसला उपर विपक्षीहरूको पुनरावेदन परी म.क्षे.अ.मा निर्णय हुन बाँकी छँदै पुनः सोही विषयमा यस अदालतमा विपक्षीहरूले खिचोला मुद्दा दिन नपाउनेमा फिराद दिई आयस्ता रोक्का गराई दुःख दिई रहेछन् । फिरादमा वनावटी खिचोलाको कारण देखाएको छ सो दिन विपक्षीहरूसँग भेटघाट छैन मेरो भोग चलनको जग्गा मैले खिचोला गर्नुपर्ने कारण पनि छैन । विपक्षीहरूको झुठ्ठा दाबाबाट फुर्सद गरी मेरा नै हक सदर गरिपाउँ भन्ने समेत मैयाँनानी देवीको प्रतिउत्तर रहेछ ।
४. यिनै वादी प्रतिवादी शन्तलालको स्वास्नी सानु बाबा, नानी मैया र छोरा पुरुषोत्तमलाल, निर्मललाल समेतले २०३१ साल आषाढमा संयुक्त निवेदन कागज प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पेश गरिए नाता कायमको प्रमाण गरी दिएको सम्बन्धित प्रमाणको दर्ता बदर मुद्दामा पेश भएका कागजबाट देखिएको । ०१७ र ०१९ सालमा पाए जति दर्ता हक गराउन बाँकी रहेको भन्ने नभएको उक्त निवेदन कागजबाट शन्तलाल मर्दाका अवस्था बाँकी रहेको निजको नाउँको अचल सम्पत्ति ४ चारै अंशियारले समान भाग बाँडी लिनु पाउने भई उक्त निवेदन कागज पेश भएको देखिँदा शन्तलाल स्वर्गे हुँदा निजका हकमा रहेको फिरादमा उल्लिखित घर र निजका नाउँमा दर्ता रहेको जग्गा ४ अंशियारले चार खण्ड लगाई एक एक भाग अर्थात् सो सम्पूर्ण सम्पत्तिबाट आधा वादी सानु बाबा र पुरुषोत्तमलालको हक पुग्ने ठहर्छ । आफूले पाउँने भन्दा बढी भाग पाउँ भनी वादीले झुठ्ठा दावी गरेको ठहर्छ भन्ने समेत शुरु सर्लाही जिल्ला अदालतको मिति ०३४।३।१।४ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी तथा प्रतिवादी दुवैपक्षबाट पुनरावेदन परेकोमा मैयाँ नानीलाई हाल सानु बाबा पुरुषोत्तम समेतले शन्तलालकी अप्रकाशित स्वास्नी भनी संज्ञा दिए पनि यिनै पक्ष विपक्ष भएको आजैका मितिमा यस अदालतको सिंगलबेञ्चबाट किनारा भएको हकदार कायम मुद्दामा यिनै सानु बाबा पुरुषोत्तमले यी मैयानानीलाई शन्तलालको ल्याइती स्वास्नी हुन् भनी भनेका र त्यसमा प्रकाशित र अप्रकाशित भन्ने कुराको उठानै गर्न नसकेको । प्र.जि.अ. बाट भएको मर्ने शन्तलालको नाता कायम सिफारिशमा यी पक्ष विपक्ष समेत दुवै थर संयुक्त रुपमा नातादार देखिएको कुराबाट मात्रै प्रमाण ऐन, २०३१ को दफा ३४ को प्रतिबन्धात्मक वाक्यांशले कानुनी हक अधिकारको बुँदामा लिनु नमिल्ने जालसाजी मुद्दातर्फ प्रधानपञ्चको सिफारिश सम्म निष्कृय एवं प्रमाण विहिन ठहरिएको बा.अं.अ.को फैसलाले नामसारी गर्ने बारेको सम्बन्धित निकाय माल कार्यालयको आदेश पर्चालाई असर पार्न नसक्ने अंशबण्डाको ११ नं. ले आफ्नो अंश लिई बेग्लै भएपछि आर्की स्वास्नी ल्याएमा वा छोरा जन्मे भनी पछि ल्याए जन्मेकाले लोग्ने वा बाबुको अंश जिउनी सबै खान पाउँदछ भन्ने प्रष्ट व्यवस्था गरी राखेको हुनाले समेत मर्ने शन्तलालको सम्पत्ति यी मैयाँ नानी मात्रले खान व्यहोर्न पाउँनेमा अघिबाट अंश लिई बेग्लै भइैसकेका विपक्षी सानु बाबा पुरुषोत्तम समेतले आधी पाउँने भन्ने शुरुको फैसला केही गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३६।११।२९।४ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूको निवेदन पेश हुँदा ऐ.वादी प्रतिवादी भएको हक कायम मुद्दामा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने नि.नं.१२७० मा पुनरावेदन गर्ने अनुमतिको निस्सा दिएको सो मुद्दाको फैसलाको आधार लिई शन्तलालको मैयाँनानी मात्र एकलौटी हकदार ठहराई मैयाँनानीले मात्र पाउँने भनेको फैसला प्रमाण ऐनको दफा २४(४) को विपरीत भई सार्वजनिक महत्वको विषयमा कानुनी त्रुटि भएको देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०३७।५।२६ को आदेश रहेछ ।
७. प्रस्तुत मुद्दाको एकैसाथ पेश हुन आएका यिनै वादी र यिनै प्रतिवादीहरू भएको हक कायम तथा हकदार कायम मुद्दा र अन्य जग्गा खिचोला नामसारी दर्ता बदर मुद्दा समेत सम्पूर्ण मुद्दाहरू अध्ययन गरियो । लेखिएनुसार हक कायम तथा हकदार कायम गरिपाउँ भन्ने मुद्दामा दे.पु.नं. ५२९ र २१६ का उक्त मुद्दाहरूमा यी वादी सानु बाबा पुरुषोत्तमलाल र यी प्रतिवादी मैयाँनानी देवीहरू मर्ने शन्तलालको स्वास्नी छोरा हकवाला तथा हकदार ठहरी आजै यस बेञ्चबाट फैसला भएकोले यी प्रतिवादी मैयानानी शन्तलालकी स्वास्नी होइन भन्ने वादी दावा युक्तिसंगत देखिएन । शन्तलालको देहावसान हुनु अघि लोग्ने शन्तलालको संगमा रहेको भन्ने प्रतिवादी जिकिरका हकमा यिनै वादी र यिनै प्रतिवादी भएको आजै यस बेञ्च समक्ष पेश हुन आएको ०३७ सालको दे.पु.नं. २१९ को नामसारी दर्ता बदर मुद्दाको शुरु मिसिल संलग्न फा.नं.५६ को यी प्रतिवादी मैयाँनानी देवीले गरेको बयान हेर्दा ५।६ वर्ष देखि निर्मलको घरमा छु भनी मिति २०३३।५।६ मा बयान गरी दिएको देखिँदा निज मैयाँ नानी मर्ने शन्तलालको संग साथ रहेको भन्ने कुरा पत्यार लायक देखिँदैन । शन्तलालले यी मैयाँनानी देवीलाई स्वास्नी तुल्याई राखेको र प्रकाशित गरेको भन्ने कुराको कानुनी मान्य सबूद प्रतिवादीतर्फबाट पेश हुन आएको नदेखिएको र शन्तलालको मृत्यु पछि मात्र यी वादी सानु बाबाहरूले निज मैयाँनानी देवीलाई मर्ने शन्तलालको श्रीमती हुन् भनी स्वीकारेबाट निज शन्तलालकी पत्नी हुन् भनी प्र.जि.अ.को कार्यालयबाट नाता प्रमाणित गराएको लिखत बेगर अन्य सबूद नभएको । शन्तलालको मृत्य पछि निज शन्तलालका नाउँमा मलंगवा ने.बैंकद्वारा टि.टी रकम रु.४,०००।– ने.बैंक.लि.मा पठाएको सो रकम समेत लिनालाई उक्त नाता प्रमाणितको आधारबाट पुरषोत्तमलालले झिकी ल्याई यस किसिम काम कारवाही भइसकेपछि यी वादीका लोग्ने पिता स्वर्गीय शन्तलालको मुत्यु पछि नाता प्रमाणित भई प्रकाशमा आएकी यी प्रतिवादी मैयाँ नानी पुनः पछि आई मेरो मात्र हक लाग्ने भनी विवादका जग्गा समेत मर्ने शन्तलालका नाउँबाट म एक मात्र हकवाला हु भनी निज मैयाँनानी देवीले आफ्ना नाममा नामसारी दर्ता गराएको दे.पु.नं.२१८ तथा दे.पु.नं. २१९ का नामसारी दर्ता बदर मुद्दामा प्रतिवादीको १ भाग मात्र कायम हुने अरु वादी दावी अनुसार दर्ता बदर गर्ने ठहरी आजै यस बेञ्चबाट फैसला भएको समेत हुँदा यी प्रतिवादी मैयाँनानी देवीले मर्ने शन्तलालको सम्पत्तिमा एकलौटी गरी लिन खान पाउनुपर्ने भनी दावी गर्न पाउने देखिन आउँदैन । उपरोक्त प्र.जि.अ.को कार्यालय काठमाडौंमा यी वादी सानु बाबाहरूले स्वीकार गरी दिएको हक जतिमा मात्र प्रतिवादी मैयाँ नानीको हक पुग्न सक्ने हो अन्यथा बढी दावी गर्न पाउने अवस्था प्रचलित मुलुकी ऐन अंशबण्डाको महलको ८ नं. ले प्र. मैयाँनानी देवीलाई दिँदैन । अतः उपरोक्त कारण तथा मिसिल संलग्न प्रमाण आधार समेतबाट मर्ने शन्तलालको सम्पत्तिमा यी प्रतिवादी मैयाँ नानीले पाउने एक भाग बाहेक अरु वादी दावीको घर जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादी मैयाँ नानी एक मात्रले मर्ने शन्तलालको हक खान व्यहोर्न पाउने भनी मिति ०३६।११।२९।४ मा भएको इन्साफ र विपक्षी प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहससँग सहमत हुन सकिएन । तसर्थ उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्र.मैयाँनानी देवी एकलै मात्र मर्ने शन्तलालको हक खान व्यहोर्न पाउने ठहराएको इन्साफ गल्ती भई वादी दावाको प्रत्येक जग्गाको कित्तै पिच्छे र घर समेतमा ४ खण्डको ३ खण्ड वादीहरूको हक पुग्ने ठहर्छ । प्रस्तुत घर जग्गा खिचोला सम्बन्धमा निर्मललाल जोशीको दावी नहुँदा त्यसतर्फ केही बोलिरहन परेन भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२४।५ को फैसला ।
८. उक्त फैसला फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको ।
९. नियम बमोजिम निर्णयार्थ मिति ०३९।४।२१ मा बेञ्च समक्ष पेश हुँदा निवेदिका प्रतिवादी मैयाँनानी देवी जोशी तथा वादी पक्षका वारिस ठगेन्द्रकुमारी महतलाई समेत रोहवरमा राखी निवेदिका प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री कूलराज गुरुघराना तथा विपक्षी वादीहरू तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद पन्त तथा श्री कुञ्ज विहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनियो ।
१०. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । यसमा हाम्रो पति, पिता स्वर्गीय शन्तलालका नाउँमा सर्लाही जिल्ला चन्द्रनगर गा.पं.वार्ड नं. ३(ख) कि.नं. ८९ कि.नं. १०२, १०३, १०४, १०५, १०६, १५३ वार्ड नं. ३ग. कि.नं. ७ ऐ.४क. कि.नं. १८ ऐ.५(ख) कि.नं.६१ का हाम्रो हकको जग्गा र विष्णुपुर गा.पं.वडा नं.९ कि.नं.२८ को जग्गामा बनेको हाम्रो हकको २ तले घरमा विपक्षीले खिचोला गरेकोले खिचोला मेटाई उक्त घर जग्गामा हाम्रो हक कायम गरिपाउँ भन्ने मुख्य दावी लिई फिराद परेको देखिन्छ ।
११. यसमा यसै लगाउको दे.फु.नं.७८ को यीनै वादी प्रतिवादी भएको हक कायम मुद्दामा मर्ने शन्तलालको सम्पत्तिमा वादीहरूको हक कायम नहुने र प्रतिवादीको मात्र उक्त सम्पत्तिमा एकलौटी हक कायम हुने ठहरी आज यस बेञ्चबाट निर्णय भइसकेको छ । यसरी शन्तलालको सम्पत्तिमा यी प्रतिवादी मैयाँनानी देवी जोशीको एकलैको मात्र हक कायम हुने ठहरी फैसला भइसकेकोले मर्ने शन्तलालका नाउँको वादीले दावी लिएका घर जग्गाहरूमा प्रतिवादीले खिचोला गर्यो भन्ने दावी पुग्न सक्ने देखिएन । अतः उक्त हक कायम मुद्दामा भएको निर्णय समेतको आधारबाट वादी दावीका घर जग्गाहरूमा प्रतिवादीले खिचोला गरेको ठहर्दैन । तसर्थ वादी दावाको प्रत्येक जग्गाको कित्तै पिच्छे र घर समेतमा ४ खण्डको ३ खण्ड वादीहरूको हक पुग्ने ठहर्याएको यस अदालत डिभिजनबेञ्चको मिति २०३९।८।२४ को फैसला गल्ती भई उल्टी हुने ठहर्छ । तससील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ उल्टी भई निर्णय भएकोले सो डिभिजनबेञ्चको मिति २०३९।८।२४ को फैसला र २०३९।१०।७ को लगतले प्रतिवादीबाट वादीलाई जम्मा कोर्टफी रु.८८७।५० भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नुपर्ने नहुँदा सो लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु…………१
प्र.मैयाँनानी देवी जोशी के मुद्दा दोहोर्याए बापत निजले मिति २०४१।२।४ मा काठमाडौं जिल्ला अदालतमा कोर्टफी रु.८८७।५० धरौटी राखेको देखिएकोले सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई निजलाई फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु….२
मुद्दा दोहोर्याई ल्याए बापत प्रतिवादी मैयाँनानी देवी जोशीले राखेको कोर्टफी रु.६७।५० पैसा वादीहरूबाट भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे दस्तूर केही नलिई देहायका वादीहरूबाट बराबरका दरले भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु …….. ३
पुरुषोत्तमलाल जोशी १
सानु बाबा जोशी १
डिभिजनबेञ्चको २०३९।८।२४ को फैसलाले रोक्का रहेको बहाल तथा आयस्तामा ४ भागको १ भाग प्रतिवादीलाई र अरु वादीहरूलाई फुकुवा गरी दिने गरे अनुसार नौकेलवा गाउँ पञ्चायत कार्यालयलाई मिति २०३९।१०।२० मा लेखी गएको देखिँदा सो बमोजिम वादीहरूलाई बहाल तथा आयस्ता फुकुवा गरी दिनु परेन, सबै बहाल तथा आयस्ता प्रतिवादीलाई फुकुवा गरी दिनु भनी नौकेलवा गाउँ पञ्चायतलाई लेखी पठाउनु ……………………..४
मिसिल नियम बमोजिम गरी बुझाइदिनू ………………………..५
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय :–
निर्णयतर्फ हेर्दा यसमा यस अदालतको डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । यीनै वादी प्रतिवादी भएको दे.पु.नं.७८ को हक कायम मुद्दामा वादी दावी अनुसार मर्ने शन्तलालको सम्पत्तिमा वादीहरू पुरुषोत्तमलाल जोशी १, सानुबाबा जोशी १, प्रतिवादी मैयाँनानी देवी जोशी १ र निर्मललाल जोशी १ समेत चारै जनाको हक कायम हुने ठहर्याएको डिभिजनबेञ्चको फैसला मनासिब ठहर्छ भनी आजै यसै बेञ्चमा आफ्नो छुट्टै राय व्यक्त गरी सकेको छु । यसरी मर्ने शन्तलालको सम्पत्तिमा वादी प्रतिवादीहरू चारै जनाको हक कायम हुने ठहर्याई आफ्नो राय व्यक्त गरी सकेको हुनाले उक्त हक कायम मुद्दामा व्यक्त गरेको आफ्नो राय समेतको आधारबाट वादी दावीका घर तथा जग्गाहरूमा प्रतिवादीले खिचोला गरेको देखियो । तसर्थ वादी दावाको प्रत्येक जग्गाको कित्तै पिच्छे र घर समेतमा ४ खण्डको ३ खण्ड वादीहरूको हक पुग्ने ठहर्याएको यस अदालत डिभिजनबेञ्चको मिति २०३९।८।२४ को फैसला मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहर्याइएको बहुमतको रायसँग सहमत नहुनाले आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
इति सम्वत् २०४३ साल श्रावण ३१ गते रोज ६ शुभम् ।