June 27, 1986
Created by nepalarchives

निर्णय नं. २६७१ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

  निर्णय नं. २६७१     ने.का.प. २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा...

 

निर्णय नं. २६७१     ने.का.प. २०४३ अङ्क – ४

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको रि.फु.नं. ५१

आदेश भएको मिति : २०४३।३।१३।६ मा

 

निवेदक/विपक्षी : जिल्ला सिराहा करजन्हा गा.पं.वार्ड नं. ३ बस्नेको हाल कायम भएको बदुरा माल गा.पं.वार्ड नं. ६ बस्ने पदमलाल तामाड्डको हकमा लालबहादुर भुजेल

विरुद्ध

विपक्षी/रिट निवेदक : जिल्ला सिराहा गा.पं.भेदिया वार्ड नं. २ बस्ने मुनर नायक सुडी मरी मु.स. गर्ने निजकी श्रीमती राजोदेवी सुडी

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै छुट्टी भिन्न भइसकेको व्यक्तिलाई जग्गाधनी देखाई प्रकाशित २ नं. अनुसूची एवं ४ नं. जोताहा अस्थायी निस्साको आधारबाट रिट निवेदकको नाममा दर्ता भएको जग्गाको मोहियानी हक दावी गर्न नमिल्ने ।

(प्रकरण नं. ९)

(२)        गाउँपञ्चायतको सिफारिशको आधारमा मोहियानी हक कायम गर्न सकिने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको देखिँदैन ।

(प्रकरण नं. १०)

 

निवेदक/विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

भू.सु.का.तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : यस अदालत डिभिजनबेञ्चबाट मिति ०४०।११।५।५ मा निर्णय भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र चढाउनु भएकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट भएको बिन्तिपत्रमा लेखिएको उत्प्रेषण भन्ने मुद्दाको आदेश सहित मिसिल फुलबेञ्चबाट झिकाई दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नुभनी विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२. म निवेदकको दर्ता जोतभोग तिरोको साविक सिराहा जिल्ला मौजे मडहराको साविक कि.नं. ६९ को ऽ४।।१ कि.नं. ४९ को ।।।.।।२ मौजे प्रयागपुरको कि.नं.२५२२ को ।।२.।।। जग्गा हाल सर्भे नापीमा वडहरा गा.पं.वडा नं.४क. कि.नं. १२२ को ०० वडा नं.३क. कि.नं.१७ को ०१६१२ र कि.नं. १११ को ०१२० कायम भएको छ । उक्त जग्गा कहिले पनि कसैलाई कमाउन नदिई जग्गाधनी र जोताहा स्वयं  निवेदक नै भई उपभोग गर्दै आएको फिल्डबुक र जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट समर्थित छ । विपक्षी पद्‌मलालले दर्तावाला नै नरहेको सरजु नायकको नाउँमा सर्भे दर्ता भई हाल जग्गाधनी भुरार नायक सुडीको नाउँमा दर्ता रहेको वर्डहरा गा.पं.वडा नं.४क. कि.नं. १२२ को ०, वडा नं.३क. कि.नं. १७ को ०१६१२ र कि.नं. १११ को ०१२१० समेत जम्मा जग्गा विगहा ११३२ जग्गा मोहीमा कमाई आएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी झुठ्ठा कुराको फिरादमा विपक्षीको दावी भन्ने मेरो प्रतिउत्तर भएकोमा जोताहाको स्थायी निस्सा, करजहा गाउँ पञ्चायतको सिफारिश तथा पत्र समेतको आधारबाट वादी दावी अनुसारको जग्गाको वादीले मोहीको हकको प्रमाणपत्र पाउँने हुँदा वादीको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी मिति ०३८।१२।२९ मा प्रत्यर्थी अधिकारीज्यूले निर्णय गर्नुभएको छ ।

३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१)(२) तथा भूमिसम्बन्धी नियमावली, ०२१ को नियम ३, , ७ र ९ को अधीनस्थ रहेको छ, विपक्षी पद्‌मलालले म निवेदकको जग्गा मोहीमा कमाएको भए नियम ३ अनुसार १ नं. मोहीको लगत भर्नु पर्ने नियम ६ बमोजिम २ नं. अनुसूची प्रकाशित हुनुपर्ने र नियम ९(२) अनुसारको ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्नुपर्ने थियो वा दफा ३४(१) अनुसार जग्गा कमाउन लिए दिएको कबूलियत तथा बाली बुझाएको भर्पाई हुनु पथ्र्यो । ऐनको दफा २५(१)(२) को पूर्वावस्थाको अभावमा प्रत्यर्थी अधिकारीज्यूबाट मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी भएको निर्णय ऐनको दफा २५(१)(२), ३४ तथा नियमावलीको नियम ३, , ७ र ९ को विपरीत १ नं. लगत २ नं. अनुसूची तथा ४ नं. जो.अ.नि.को अभावमा ३ नं. मोहियानी हकको प्रमाणपत्र दिने गरी भएको निर्णय त्रुटिपूर्ण छ । उल्लेख गरे अनुसार प्रत्यर्थी अधिकारीज्यूको त्रुटिपूर्ण निर्णयले म निवेदिकाको उक्त उल्लिखित हकको अतिरक्ति नेपालको संविधानको धारा १०(१) मा संरक्षित समानताको हक धारा ११(२)(ङ) र १५ मा प्रत्याभूत सम्पत्ति सम्बन्धी मौलिक हक समेतको हकहरूको प्रचलनमा कुण्ठा तथा अवरुद्ध गरेको र सो हक प्रचलन गरी पाउँन अन्य उपचारको अभावमा संविधानको धारा १६ तथा ७१ अन्तर्गत निवेदन गरेको छु उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी भूमिसुधार अधिकारीको निर्णय बदर गरिपाउँ भन्ने निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

५. रिट निवेदकका नाउँमा दर्ता रहेको जग्गा साविकमा देखाएको जो.अ.नि.कै जग्गा भएको र प्रत्यर्थीले मोही भई जोती आएको साथै निजको नाउँको २ नं. अनुसूची समेत प्रकाशित भएको र प्रत्यर्थीले उक्त जग्गा जोती आएको व्यहोरा स्थानीय पञ्चायतबाट सिफारिश गरी दिएबाट मोही प्रष्ट देखिएकोले निर्णय कानुनयुक्त एवं न्यायोचितै भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने जि.भू.सु.का सिराहाको लिखितजवाफ ।

६. नियम बमोजिम २ नं. अनुसूची प्रकाशित भई सो उपर विपक्षीले कुनै उजूर गर्न नसके पछि मैले प्राप्त गरेको ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गरेको हुँ । हालै मात्र जग्गाधनी प्रमाण पूर्जा लिने विपक्षीले पहिले पनि जग्गावाला भए नियम ७ को म्यादभित्र उजूर गरी नियम १० बमोजिम जग्गा धनीको र मोही महलमा सच्याई आफूलाई कायम गर्न सक्नु पर्नेमा सो नगरेबाट नियम ७ बमोजिम म्यादै भित्र उजूर गर्न नसक्ने विपक्षीले मेरो मोही हक दखल गर्ने अधिकार कुनै कानुनले प्रदान नगरेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी पद्‌मलाल तामाङ्गको लिखितजवाफ ।

७. उल्लिखित जग्गामा पद्‌मलाल तामाङ्गको जोत भोग रहेको निजले प्राप्त गरेको अस्थायी निस्सा प्रकाशित २ नं. अनुसूचीमा मोहीमा निज पद्‌मलाल तामाङ्ग  जनिएको आदि सम्पूर्ण प्रमाणहरू र भू.सु. ऐन, २०२१ को दफा २५ को उपदफा १ तथा ३ अन्तर्गत जोती कमाई आएको तथ्यलाई मुचुल्काले समर्थित गरिरहेकै हुँदा मोहीको प्रमाणपत्र पद्‌मलाललाई दिन सिफारिश गरेको काम कुनै पनि गैरकानुनी क्रिया नहुँदा रिट निवेदन खारेज गरियोस् भन्ने समेत प्रत्यर्थी भू.पू.प्रधानपञ्च मोरिल साहूको लिखितजवाफ ।

८. एकको नामको जग्गाको ४ नं. जोताहा अस्थायी निस्साको आधारमा अर्कै व्यक्ति रिट निवेदक मुनर नायक सुडीका नामको ज.वि.११२१२ जग्गामा मोहियानी कायम गर्ने गरेको उक्त ०३८।१२।२९ को निर्णयलाई कानुन अनुरुप भन्न मिलेन । गाउँ पञ्चायतको सिफारिश र सरजमीनको आधारमा मोही कायम गर्न सक्ने कानुनी व्यवस्था देखिएन । विपक्षी पद्‌मलालले रिट निवेदकका नामको उक्त जग्गा नै मोहियानीमा कमाएको र निजैका नाममा अनुसूची प्रकाशित भई ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गरेको हो भनी लिखितजवाफमा उल्लेख गर्न सकेको छैन । यस्तो अवस्थामा रिट निवेदकका भाइ सरयुग नायक सुडीका नामको जग्गाको ४ नं. जोताहा अस्थायी निस्सा, गा.पं.कार्यालय करजन्हाको सिफारिश र सरजमीन समेतको आधारमा निवेदक मुनर नायक सुडीको नामको जग्गामा मोहियानी कायम गर्ने गरेको भूमिसुधार कार्यालय सिराहाको ०३८।१२।२९ को निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको मिति ०४०।११।५।५ को आदेश ।

९. नियम बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिटमा निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले मेरो पक्षले साविक देखि विवादीत जग्गा कमाउँदै आएको र भूमिसुधार लागू भएपछि १ नं. फाराम भरेको, २ नं. लगत पनि मेरो पक्ष पद्‌मलाल तामाङ्गकै नाउँमा प्रकाशित भई ४ नं.जो अ.नि.प्राप्त गरेको छ र यी कुराहरूको आधारमा मोहियानीको स्थायी प्रमाणपत्र दिने गरी ०३८।१२।२९ मा भूमिसुधार कार्यालयबाट भएको निर्णयलाई बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय बदर गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । भूमिसुधार कार्यालय सिराहा तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले सबूद प्रमाणहरूको मूल्याङ्कन गरी अधिकार प्राप्त अधिकारीबाट भएको निर्णयमा कुनै त्रुटि नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले जग्गावाला मुनर नायकलाई जग्गाधनी देखाई २ नं. लगत प्रकाशित नभएकोले मुनर नायकले त्यसमा उजूर गर्ने प्रश्‍न नै उठ्दैन । मुनर नायकको नामको २ नं. अनुसूचीको अभावमा ४ नं. जो.अ.नि. गाउँ पञ्चायतको सिफारिश सरजमीनलाई प्रमाणमा लगाउन नमिल्ने हुनाले भू.सु.का.बाट भएको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहराएको डिभिजनबेञ्चको निर्णय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । मिति ०४३।३।३।३ मा निर्णयार्थ बेञ्चमा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको रहेछ । यसमा निर्णयतर्फ हेर्दा पद्‌मलालले प्राप्त गरेको जोताहा अस्थायी निस्सा गाउँ पञ्चायतको सिफारिशको आधारमा निवेदक पद्‌मलालको माग दावी भएका जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउने ठहराई भूमिसुधार कार्यालय सिराहाबाट ०३८।१२।२९ मा निर्णय भएको देखिन्छ । पद्‌मलालले प्राप्त गरेको जोताहा अस्थायी निस्सा तथा २ नं. अनुसूचीमा समेत जग्गाधनी महलमा रिट निवेदकको मुनर नायकको नाम उल्लेख नभई रिट निवेदकको भाइ सरयुग नायक सुडीको नाम उल्लेख भएको मिसिलबाट देखिन्छ । रिट निवेदक मुनर नायकका दाजु भाइका बीचमा २०२०।४।२।४ मा बण्डा पत्र पास भएको भन्ने कुरा रिट निवेदनको प्रकरण ५(ख) मा उल्लेख भएको देखिन्छ । सो कुरा विपक्षीहरूबाट खण्डन हुनसकेको छैन । यसबाट भूमिसम्बन्धी  ऐन, २०२१ लागू हुनुभन्दा अगावै छुट्टी भिन्न भइसकेको, व्यक्तिलाई जग्गाधनी देखाई प्रकाशित २ नं. अनुसूची एवं ४ नं. जोताहा अस्थायी निस्साको आधारबाट रिट निवेदक मुनर नायकको नाममा दर्ता भएको जग्गाको मोहियानी हक दावी गर्न मिल्ने देखिएन ।

१०. गाउँ पञ्चायतको सिफारिश भएको भन्ने निर्णयमा आधार लिएको हकमा गाउँ पञ्चायतको सिफारिशको आधारमा मोहियानी हक कायम गर्न सकिने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको देखिँदैन ।

११. अतः उपर्युक्त कारणहरूबाट निवेदक पद्‌मलाललाई रिट निवेदक मुनर नायकको नाउँ दर्ताको विवादको जग्गाको मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको भू.सु.का.सिराहाको ०३८।१२।२९ को निर्णय कानुन अनुरुप नदेखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४०।११।५ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. गजेन्द्रकेशरी बास्तोला

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल आषाढ १३ गते रोज ६ शुभम् ।