निर्णय नं. १७८ – जग्गा दर्ता
निर्णय नं. १७८ ने.का.प. २०१९ फुल बेञ्च न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फु.नं. २७ निवेदक, प्रतिवादी :...
निर्णय नं. १७८ ने.का.प. २०१९
फुल बेञ्च
न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
फु.नं. २७
निवेदक, प्रतिवादी : क.क. डम्बरशम्शेर थापा
विरुद्ध
विपक्षी, वादी : रेवतमल माडवारी
मुद्दा : जग्गा दर्ता
(१) अङ्गबाट म्याद टाँसी लिलाम बडाबड गरेमा दर्तावालाले मेरो हकको भनीउजुर नगरे लिलाममा लिनेको सदरै हुने ।
सरकारी अड्डाबाट ऐनसवालको रीतपुर्याई लिलाम गरी दर्ता दाखिल खारेज भए गरेको कुरामा त्यसतर्फ उजुर गरी बदर नगराएसम्म लिलाम भईसकेको जग्गाको पोत बुझाई पाउँ भन्ने यो उजुर मुनासिव भन्न मिलेन ।
(प्रकरण नं. २१)
(२) दर्तावालाको जग्गा अड्डाले लिलाम गराएमा थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने ।
वादीलाई मौकैमा थाहा जानकारी भएपछि थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने ।
(प्रकरण नं. २२)
प्रतिवादीतर्फबाट : ल्पिडर मायानाथ उपाध्याय नन्दीकेशर शिकाकोटी
फैसला
१. मोरङ प्र. गोपाहा मौजे शंकरपुर मौजाको हक नाउँमा दर्ता भएको जग्गा ०५ सालको मालपोत बुझाउन जिमिदार कचहरीमा जाँदा तिम्रो १८८ नं कित्ताको जग्गा बिगाहा १।।१ मध्ये ।३।।।२ नेमचनबाट क.क. डम्बरशम्शेरले पाउने भई उहाँको नाममा दर्ता दाखिल भईसक्यो भनी सो कटाई बाँकी जग्गाको मात्र पोत बुझी दिए सो ।३।।।२ को पोत २।।३ दाखेल गरी नालेस गर्न आएको छु । सो जग्गा नेमचनको हकै नपुग्ने दर्तापनि निजको नभइ मेरै भएको त्यस्तो जग्गा बीच के कारण परिबन्धबाट दिई लिई दाखेल गरेको हु्न् जो बुझ्न पर्ने बुझी पोत २।।३ जिमिदार पटवारीलाई बुझ्न लगाई जग्गा मेरै सदर गरी पाउँ भन्ने रेवतमलको ०६।३।३१।५ को फेरादपत्र ।
२. विराटनगर बजारको मेरो नाउँमा दर्ता भएको जग्गा ।१.३ मा घर बनाई बसी आएको सो जग्गासँगैको वादीको दर्ता मध्ये ।३।।।२ वादीको बाबु ईश्वरीचनसमेतसँग कुरा मिलाई ७४।७५ सालतिर राजीनामा गराई लिई भोगी आएको थिएँ । म २००२ सालमा देशतर्फ जाँदा मेरो लेना रुपैयाँ नोक्सान पारी गयो भनी क.क. डम्बर सम्शेरले बिन्ति चढाई मेरो घरखेतसमेत विराटनगर गोश्वाराबाट दायतादी गराउँदा सो जग्गासमेत लेखाई दिएछन् । ऐनसवालबमोजिम २१ दिने म्याद टाँस गरी विराटनगर गोश्वारासमेत बसी २००४।५।२३ मा लिलाम गराउँदा रु. ४५००० मा डम्बर शम्शेरकै सकार भएको सो मुचुल्कामा वादी कै दाजु रामलालसमेत साक्षी बसेको छ । वादीको हक भए अ.बं. १११ नं. ऐनको म्याद थाहापाएका ३५ दिनभित्र उजुर गर्नपर्ने नगरी लिलाम कबुल गर्नेले बहाली चलन गरेको पनि धेरैबर्ष पछि झुट्टा नालेस दिएको मात्र हो भन्ने नेमचनको ०६।५।२८ को प्रतिवादी ।
३. शंकरपुरको ।३।।।२ मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने क.क. डम्बर शम्श्ेरको वारेसको दर्खास्त परेको र रेवतमलको नाउँमा दर्ता भएको कि.नं. १८८ को ।३।।।२ जग्गा श्री कम्याण्डर इन्चीफ साहेबको प्रमांगीबमोजिम डम्बर सम्शेरका नाउँमा दर्ता गरी दिनु भन्ने विराटनगर गोश्वाराको ०५।१२।२८ को पुर्जिसमेत भई आएकोले क.क. डम्बर सम्शेरका नाउँमा दर्ता गरी दिएको भन्नेसमेत पटवारी विश्वेश्वरप्रसादको ०६।६।२३ को प्रतिउत्तर ।
४. नेमचनसँगको बाँकीमा मैले बिन्ति चढाई निजको घरगोलासमेत रोक्का गर्ने प्रमांगी भएपछि तायदात हुँदा निजको जग्गा बिगहा ।।। हक ठहरी २००२।८।१८ मा रोक्का भएछ ०४।५।२३ मा लिलाम हुँदा रु. ४५००० डाक पुगेको सो अंकमा मैलेनै सकार गेरेको व्यहोरा जाहेर हुँदा मेरो नाउँमा चलन पुर्जि गरी दिने प्रमांगी भई चलन पुर्जि पाई विराटनगर बजार अड्डामा दाखिल दर्ता गर्न पठाउँदा ।१.३ मात्र नेमचनको बाबु धनराज खेमराजका नाउँमा दर्ता छ भनी त्यतिमात्र दर्ता गरी दिएको बाँकी ।३।।।२ रेवतमलको कि.नं. १८८ का शंकरपुरको दर्ता मध्येको रहेछ । बजार अड्डाले दर्ता गरी नदिएकोले गोश्वारामा दर्खास्त दिई जिमिदार पटवारीले ०५।१२।२९ गते मेरा नाउँमा दर्ता गरी पोत बुझी रसिद दिएका हुन् । वादीको हक भए २१ दिन म्याद टाँस हुँदासमेत म्यादै भित्र उजुर गर्नुपथ्र्यो । ०५।१२।२९ मा दर्तासमेत भई सकेकोमा ऐनको म्यादसमेत नाघिसकेपछि दुःखदिन झुट्टा नालेस गरेको हो । जग्गा मेरै सदर गरी पाउँ भन्नेसमेत क.क. डम्बर शम्शेरको ०६।७।२।३ को प्रतिउत्तर ।
५. आफुखुशी दर्ता गराएको नभई रेवतमलका नाउँमा दर्ता भएको सो जग्गा बिगाहा ।३।।।२ श्री कम्याण्डर इन्चीफ साहेबका प्रमांगीबमोजिम क.क. डम्बर शम्शेरका नाउँमा दर्ता गरी दिनु भन्ने मो.वि.गो. का ०५।१२।२८ का पुर्जि मुताविक दर्ता भएको देखिएको सो कुरा गुम गराई वादीले यो नालेस दर्ता गराएको हुनाले उजुर खारेज हुने ठहर्छ भन्ने ०६।८।२९ को विराटनगर अमिनीको फैसला ।
६. सो इन्साफमा चित्त बुझेन भन्ने वादी रेवतमलको अपील परेकोमा रेवतमलको नम्बरी जग्गा तायदात भई लिलाम भएको समेत रेवतमललाई थाहा छ भन्ने लिखत सबुद देखिन नआएको र लिलाममा समेतको कारवाईमा वादीको सहीछाप भए गराएको औ वादीलाई बुझेकोसमेत नदेखिएको जग्गा वादीका नाउँमा दर्ता भएकोमा प्रतिवादीहरू सावित भएका लिखत गराई लिएको भन्ने जिकिर भए पनि लेखत दाखिल गर्न नसकेकाले नेमचनको बाँकीमा रेवतमलको जग्गा लिलाम गर्न ऐन सवालले नहुने हुँदा लिलाम गरेको सदर हुन नसक्ने जग्गा वादीले पाउने ठहर्छ । प्रमांगीबमोजिम क.क. डम्बर सम्शेरका नाउँमा दर्ता गराएको बदर गरी वादीको नाममा दर्ता गराउनु पर्ने कुरा पर्न आएकोले जाहेर गरेको छौं भन्ने मोरङ न्यायालयको ०८।१।१३ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने क.क. डम्बर शम्शेरको अपील परी आएकोमा झगडा परेको जग्गा माईप्रसादसँग वादीले ८४ सालमा राजीनामा रजिष्ट्रेशन पास गराई दाखिल दार्ता तिरो भरोसमेत गरी आएको राजीनामा रसिदबाट देखिएको र नेमचनले रेवतमलसँग ७४।७५ सालमा राजीनामा गराई लिएको निस्सा र दर्तासमेत नदेखिएनाले इन्साफ मोरङ न्यायालयको मुनासिब छ भन्ने प्रधान न्यायालय डिभिजन बेञ्चको ०११।३।१४ को फैसला ।
८. इन्साफ दोहर्याई दिनु भन्ने प्रमांगी गरिपाउँ भन्ने क.क. डम्बर सम्शेरको बिन्तिपत्र व्यहोरासमेत जाहेर हुँदा बुझी व्यहोरा साँचो भए फुल बेञ्च गरी दिनु भन्ने श्री ५ युवराजाधिराजबाट ०११।८।१४ मा हुकुमको प्रमांगी बकस भई आउकोमा डिभिजनबाट छिनीएको फुल बेञ्चबाट दोहर्याउन बाधा परेकोसमेत व्यहोरा जाहेर भई गएको पुनः जाहेर हुँदा व्यहोरा साँचो भए अघि बक्सेका हु.प्र. बमोजिम दोहर्याई दिनु भन्ने ०१४।१२।२८ मा श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्सभई आएको ।
९. झगडा परेको १८८ नम्बर कित्ताको जग्गा ८४ सालमा माईप्रसादसँग रेवतमलले राजीनामा गराई लिई निजैका नाममा दर्ता भई सालसाल तिरो भरो गरी आएको देखिएको ८४ सालमा रेवतमलले खरिद गरेको जग्गा निजबाट ७४।७५ सालमा खरिद गरी लिएको भन्ने भनाई मिथ्या सावित भईरहेको रेवतमलको हक टुटाएको कुनै लिखत सबुद पेश दाखिल नभएको र रेवतमलको हक जग्गा पनि रोक्का राखि लिलाम डाक गर्नु भन्ने भई डाक भएको भन्न सबुद दिन नसक्नु भएको पेश भएको एकछापे नक्कलबाट पनि रेवतमलको १८८ नं. को जग्गा क.क. डम्बर सम्शेरलाई दिलाई दर्तागरी दिनु भन्ने भएको नदेखिएकोले रेवतमलका नामको जग्गा बिगाहा ।३।।।२ मरो हक लाग्ने भन्ने क.क. डम्बर सम्शेरको जिकिर पुग्न नसक्ने हुँदा ०११।३।१४ मा डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिब छ भन्नेसमेत सर्वोच्च अदालत फुल बेञ्चको ०१५।१२।४।१ को फैसला ।
१०. फुल बेञ्चको फैसलाउपर चित्त बुझेन रिभ्यू गरी पाउँ भन्ने क.क. डम्बर सम्शेरको निवेदन परेकोमा रिभ्यू निस्सा हुन नसक्ने सर्वोच्च अदालत फुल बेञ्चबाट ०१६।१।१५ मा आदेश भएपछि रिभ्यू गरी दिनु भन्ने हुकुमको प्रमांगी पाउँ भनी क.क. डम्बर शम्शेरले बिन्तिपत्र चढाउनु भएको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए रिभ्यू गरी दिनु भन्ने हुकुमबारेको छ भन्नेसमेत मौसुफका प्रमुख निजी सचिवालयबाट १६।६।११ मा लेखी आएको । श्री माननीय प्रधान न्यायाधीशज्यूमा पेशहुँदा यसमा फलुबेञ्चबाट दोहर्याई पाउँ भन्ने क.क. डम्बर सम्शेरको बिन्तिपत्र व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए रिभ्यू गरी दिनु भन्ने १६।६।११ मा हुकुमको प्रमांगी भएको देखिएकोले हु.प्र. बमोजिम मुद्दा दोहर्याउन वादी विपक्षी रेवतमललाई अर्जिखबर र थमाउन गुजार्न नपाउने गरी दिन १५ को म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने ०१८।१०।८।१ मा आदेश भएको ।
११. रेवतमालका नाउँमा ०१८।१२।२२ मा १५ दिने म्याद टाँसीएको हाजिर नभई गुजारेको ।
१२. यसमा तारेखमा रहेको प्रतिवादी पक्षलाई समेत राखी पेशहुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी पक्षबाट रहनुभएको विद्वान वकील प्लिडर मायानाथ पाध्या, नन्दीकेशर शिवाकोटीको बहससमेत सुनी विचार गर्दा वादी पक्षका रेवतमलका नाउँमा दर्ता भएको जग्गा निजको हक छुटेको लिखत बेगर रेवतमलको हक जाननसक्ने भनी डिभिजन बेञ्चबाट फैसला भएको देखियो ।
१३. रेवतमलको नाउँमा नं. १८८ मा दर्ता भएको जग्गा मध्ये ।३।।।२ जग्गा नेमचनको हकको भई नेमचनको तायदाती भई सरकारबाट रोक्का गरी लिलाम हुँदा लिलामतर्फबाट मैले लिई दर्ता भई सकेको सदर हुनुपर्ने भन्ने प्रतिवाद पक्षको जिकिर देखिनआयो ।
१४. दर्तावालाबाट हक छुटेको नहुनाले लिलाम भएपछि सदर हुन नसक्ने वा सरकारका अड्डाबाट म्याद टाँसी लिलाम बढाबढ हुँदा दर्तावालाले मेरो हकको भनी उजुर नगरेमा लिलाममा लिनेको सदर हुने के हो ? त्यसको निर्णय गर्नुपर्ने देखिन्छ ।
१५. दर्तावाला रेवतमलले ८४ सालमा लिई हक भएको जग्गा ७४।७५ सालमा मैले लिएको भनी प्र. नेमचनको जिकिरबमोजिमको सबुद नआए पनि सो ।३।।।२ जग्गा नेमचनको भनी तायदाती र लिलाम बिक्री भएको सो रेवतमलका नाउँको १८८ नं. का जग्गामध्येको ।३।।।२ जग्गासमेत जम्मा ।।। जग्गा नेमचनको भन्ने तायदात भई आउँदा रेवतमलकै एकाघरको भाई रामलाल साक्षी बसेको र सोही जग्गा लिलामको २१ दिने म्याद टाँसी लिलाम भएको भन्नेसमेत प्रतिवादी पक्षको मोरङ विराटनगर अमिनीमा २००६ साल कार्तिकमा दिएको प्रतिवादीमा जिकिर भएको ।
सो मुद्दमा मो.वि.अ. बाट फैसला भईसकेपछि २००६ साल फाल्गुणमा वादी रेवतमलले दिएको अपीलपत्रमा सो मेरो नाउँको १८८ नं. को जग्गा मध्ये ।३।।।२ जग्गा नेमेचनको भनी तायदात भएको र सो तायदात भई लिलाम हुँदा मेरो एकाघरको भाइ साक्षी बसेको र विराटनगर गोश्वाराबाट २१ दिन म्यादसमेत टाँसी लिलाम भएको समेत होइन भन्ने कुराको अडान लिई सो कुरालाई प्रष्टरुपमा खण्डन गर्न नसकेको र एउटा कागजमा एउटा हकदारको ससी खुस्काउँदैनमा दर्तावालाको हकजान नसक्ने भनी जिकिर लिएबाट सो जग्गा नेचनको हक भोगका भन्ने तायदाती भई लिलाम भएको कुरामा निज रेवतमलले समर्थन गरेकै देखियो ।
१६. सो ।३।।।२ जग्गा नेमचनको हकको नभई आफ्नै एकाघरको भैयाद रेवतीमलको हकको भएमा एकाघरका भाई रामलालको हकसमेत लाग्ने भई आफ्नो हकसमेत जानेगरी साक्षी बन्नुनपर्ने त्यसबाट पनि प्रतिवादीको जिकिर मुनासिवै देखिन्छ ।
१७. ०४ साल भाद्र २३ गते लिलाम बढाबढ भई अरु जग्गा दर्ता भईसकेको शंकरपुरको ईश्वरीतनका छोरा रेवतमलका नाउँको रैती नं २०८ कित्ता नं. १८८ को जग्गामध्ये बिगाहा ।३।।।२ श्री कम्याडर इन्चीफ साहेवका प्रमांगीबमोजिम क.क. डम्बर शम्शेरका नाउँमा दर्ता गरी दिनु भनी २००५।१२।२८ मा मोरङ विराटनगर गोश्वाराबाट जिमिदारी पटवरीका नाउँमा पुर्जि भई दर्ता भएको पनि देखिएन ।
१८. सोही जग्गा २००२ साल देखि रोक्का गरी २०२४ सालमा लिलम गरेको भन्ने कुरा मिसिलमा उल्लेख भई रहेको । सो कुरा हैन भन्न वादी रेवतीमलले नसकेको हुनाले र आफ्ना एकघरको भाईले यो सबै कुरा मौकै देखि थाहा पाएको भएपछि सो कुरा यिनी वादीले थाहा पाएन होला भन्न प्रतित नहुने र आफ्नो जग्गा के कारणबाट रोक्का भएको हो । सो कुराको यक्किन गर्नुपर्ने गरेको देखिएन र सो रोक्का भएका सालहरुको जग्गाको पोत बुझाएको कुनै निस्सा सबदु दाखिल गर्न सकेको पनि देखिएन ।
१९. सो जग्गा लिलाम बिक्री गर्ने मुलुकी सवाल रकम बन्दोबस्तबारेको २४ दफाबमोजिम रिट पुर्याई टाँस टाँसी लिलाम भएको समेत मिसिलमा उल्लेख भई रहेको देखिन्छ।
२०. उक्त लेखिएबमोजिम गोश्वारासमेत भई भए गरेको कारवाई सो जग्गा नजिकै घर हुने वादी रेवतीमलले थाहा पाएन होला भन्न नमिल्ने र निज रेवतीमलले मौकैमा थाहा जानकारी पाएको देखिन आउँछ । आफ्ना हक जाने कुरामा अ.बं. १११ नं का ऐनबमोजिम थाहा पाएका ३५ दिनभित्र लिलाम गर्ने गराउनेतर्फ ऐनबमोजिम उजुर गर्नुपर्ने सोबमोजिम भए गरेको नदेखिई मेरा जग्गाको ०५ सालको पोत बुझाउन जाँदा मेरो नाउँका ।३।।।२ जग्गा नेमचनबाट क.क. डम्बर सम्शेरले पाउँने भई डम्बर सम्शेरका नाउँमा दर्ता भईसक्यो भनी पोत बुझेन पोत बुझ्न लगाई मेरै दर्ता सदर गरी पाउँ भन्ने वादीको फेराद परेको देखियो ।
२१. सरकारीया अड्डाबाट ऐन सवालको रिट पुर्याई लिलाम गरी दर्ता दाखेल खारेज भए गरेको कुरामा त्यसतर्फ उजुर गरी बदर नगराएसम्म लिलम भई सकेको जग्गाको पोत बुझाई पाउँ भन्ने यो उजुर मुनासिब भन्न मिलेन ।
२२. उक्त लेखिएका कारण परिबन्धबाट वादीलाई मौकैमा थाहा जानकारी भएपछि थाहा पाएका ३५ दिन भित्र उजुर गर्नुपर्ने नगरी २००६ साल आषाढ ३१ गते मात्र वेरितको नालेस दायर गराएको र हाल यसबेञ्चबाट म्याद पठाउँदासमेत हाजिर हुन नआएकोले वादीको उजुर दण्ड सजायको ५३ नं बमोजिम खारेज हुने ठहर्छ । सो ठहरेकाले ०१५।१२।४ मा फुल बेञ्चबाट भएको फैसला मुनासिब भएन अरु तपसीलको कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
वादी रेवतमल माडवारी के शुर विराटनगर अमिनीका ०६।८।२९ वा फैसलाले उजुर खारेज भएवापत भा.रु. ऽ दण्ड गर्ने गरेकोमा हाल माथि लेखिएबमेजिम ठहरी यो दण्ड लाग्ने नै भएको र मोरङ न्यायालयका ०८।१।२३ का फैसलाबातट समेत शुरुबाट भएको उक्त दण्डको लगत काटेको नदेखिएकोले केही गर्नु परेन …………….१
मोरङ न्यायालय २००८।१।२३ का फैसलाले गर्ने गरेको देहाएका कलम नलाग्ने हुँदा असुल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी का.दे.त. मा लगत दिनु …………………२
प्रतिवादी विराटनगर बजार बस्ने नेमचन माडवारीलाई गर्ने गरेको दण्ड भा.रु. १ को कलम एक १ उल्टीमा मो.वि. अमिनीका ले. कृष्णप्रसाद ख. गजेन्द्रलाई गर्ने गरेको जरिवाना भा.रु. १ को कलम एक १
प्रतिवादी क.रु. डम्बर शम्शेर थापा के निजलाई प्रधान न्यायालय डिभजनबेञ्चका ०११।३।१४ का फैसला र ०११।५।१७ का लगतले अपील गरे वापत भनी गर्ने गरेको दण्ड भा.रु. १ र सर्वोच्च अदालत फुल बेञ्चका ०१५।१२।४ का फैसला र ०१६।१।३० का लगतले इन्साफ दोहराएमा भनी गर्ने गरेको दण्ड रु. १०। नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी ऐ.ऐ ……………..३
नियमबमोजिम मिसिल बुझाई दिनु ………………….. ४
अघि प्रधान न्यायालयको डिभिजन बेञ्चको फैसलामा रेवतमलको दर्ताको मात्र आधारमा निर्णय भएको थियो । अब यस फुल बेञ्चमा त्यसलाई काट्ने धेरै गहकिलो बुँदाहरू देखिन आएकोले त्यसबेलाको डिभिजन बेञ्चको फैसला कायम गर्न मिलेन । प्रधान न्यायाधीश
इति सम्बत् २०१९ साल आषाढ २२ गते रोज ६ शुभम् ।