January 25, 1963
Created by nepalarchives

निर्णय नं. १७७ – लिखत बदर

निर्णय नं. १७७                             ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स. श्री इश्वरीराज मिश्र न्यायाधी श्री धनेन्द्रबहादुर सिंह फु.नं. १९१ निवेदक,...

निर्णय नं. १७७                             ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश स. श्री इश्वरीराज मिश्र

न्यायाधी श्री धनेन्द्रबहादुर सिंह

फु.नं. १९१

निवेदक, प्रतिवादी : सबुहनी शेषीनी

विरुद्ध

विपक्षी, वादी : शेषइसा महमद

मुद्दा : लिखत बदर

१.    शेषपछि सम्पत्ति खाने भन्ने धर्मपुत्र शेषपछि उक्त धनमालमा उजुर गर्ने पाउने ।

            प्रस्तुत मुद्दाका वादीलाई गरिदिएको ०६।१२।८ गतेको लिखतमा शेषपछि सम्पत्ति खाने व्यहोरा मात्र नभई धर्मपुत्र राखेको भन्ने व्यहोरासमेत परेको र सो कागजमा लोग्ने स्वास्नी दुवैको शेषपछि खान पाउने व्यहोरा लेखिएकोमा सो कागज गरिदिने लोग्ने शेष औसान मरिसकेको । सो धर्मपुत्रको कागज बदर गरीपाउँ भन्ने यो मुद्दा पर्नु अगावै प्रतिवादी गौसनियाले दिएको मुद्दामा लाग्ने शेष औंसनको जिन्दगी छँदासम्म स्याहार सम्हार गरेकै देखिंदा गौसनियाको शेषपछि शेष औसानको भाग यो वादी इसा महमदले खान पाउने शेष औसानको भाग यस मुद्दाको प्रतिवादी गौसानियाले बेचबिखन गर्न नपाउने गरी मध्यमाञ्चल उच्च अदालतबाट अन्तिम फैसला भएको देखिएबाट प्रस्तुत मुद्दामा वादीको उजुर पर्ने हक छैन भन्न मिल्ने देखिएन ।

(प्रकरण नं. १४)

२.    आफु खुशगर्न पाउने सम्पत्तिको भाग बेचबिखन गरेको सदरै हुने ।

            आफू खुशगर्न पाउने आधा १० बिगाहा मध्येबाट ६।३।।२ मात्र बिक्री भएको देखिएकाले वादीको हक मेटिएको नभई आधा हक कायमै रहिआएको र ६।३।।२ जग्गाको बिक्री बदर हुन्छ भन्दा प्रतिवादीले आफू खुश गर्न पाउने ठहरेको जग्गा आफु खुश गर्न नपाउने हुन आउने हुनाले प्रतिवादी गौरानियाले ०१५।६।१५ मा प्रतिवादी सबुहनी शेखिनीलाई राजीनामा गरी बिक्री गरेको बेमुनासिब भन्न मिलेन ।

 

निवेदक तर्फबाट : सिनियर एडभोकेट देवनाथ शर्मा

विपक्षी तर्फबाट      : कृष्णप्रसाद भण्डारी

फैसला

            १.     डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

            २.    गौसनियाको लोग्ने शेख औसानले मलाई धर्मपुत्र राखेको निज मरी धर्मपुत्र बदर गरी पाउँ भन्ने गौसनियाको र अंशपाउँ भन्ने मेरो नालिस परेकोमा आधा आधा खान पाउन गरी फैसला भएको त्यस्तै अवस्था थैली लिन दिनु नगरी कल्पित अंक देखाई तपसीलबमोजिम जग्गा बिगाहा ६।३।।२ जग्गा ०१५।६।१५ मा जाल परिपञ्च लेखत गरी राजीनामा पास गराएको बदर भए बदर नभए लेखतको जग्गामध्ये मेरो अंश लाग्ने जग्गा नम्बरै पिच्छे आधा ३द्र४।१ को लेखत बदर गरी हक थामी पाउँ भन्नेसमेत शेषइसा महमदको फिराद ।

            ३.    लोग्ने शेषऔसान मरे मेरो हेरचाह गर्ने कोही नभएकोले साहु तिर्न र घर खर्च गर्नेसमेत प्रतिवादी सबुहनीबाट कं.रु. ८३०१ लिई मेरो हक भोगको जग्गा बिगाहा ६।३।।२ बिक्री गरिदिएको हुनाले लेखत बदर हुन नसक्ने भन्नेसमेत गौसनियाको र सुफत थैल तिरी जग्गा लिएको हुँ भन्नेसमेत सबुहनीको र जालसाजी खडा गरी हामी लेखेको र साक्षी बसेको समेत नभई सच्चा व्यवहारको कागज हुँदा साक्षी बसेको हुँ भन्नेसमेत सियाराम शेख लियाकत शेख हनिफसमेतको एउटै प्रतिवादी ।

            ४.    गौसनिया शेखिनीले सबुहनी शेषनीबाट थैली कं.रु ८३०१ लिई जग्गा फार्छे गरिदिएकोमा म पनि साक्षी बसेको हुँ । झुट्टा उजुर गरेको हो भन्नेसमेत शेषयासिमको प्रतिवादी।

            ५.    प्रतिवादी गौसनियाको नाउँमा सबुहनीलाई बिक्री गरे बाहेक अरु १३ बिगाहा चानचुन जग्गा कायमै रहेको पेश भएको २ नं. रसिदहरूबाट देखिएकोले गौसनियाको हक बिक्री गर्न पाउँछन् भन्ने उचित नपर्ने । शेख औसानको भागमा पर्ने भन्दाबढी नै जग्गा गौसनियासँग छ भन्ने कुरा देखिएकैले वादीको अघि हकै मेटाई प्रतिवादीहरूले जग्गा खरिद बिक्री गरेको रहेछ भन्न कुनै अवस्थामा पनि नमिल्ने भएकोले लिखत सदरै हुने वादी दावा झुट्टा ठहर्छ भन्नेसमेत कटरवन इलाका अदालतको फैसला ।

            ६.    इन्साफमा चित्त बुझेन भन्ने वादी शेषइसा महमदको अपील परेमा इन्साफ शुरुको मुनासिव भन्नेसमेत जिल्ला अदालत विरगन्जको फैसला ।

            ७.    इन्साफमा चित्त बुझेन भन्ने वादी शेषइषा महमदको अपील ।

            ८.    बिक्री गरेको जग्गा गौसनियाको भागमा मात्र परेको भन्ने नदेखिनालेसमेत आफूसँग भए पास भएको राजीनामा लिखत लिई आउनु भनी प्रतिवादीहरूलाई हा.क. का ९ नं बमोजिम छलफलको १५ दिने म्याद दिई झिकाई आएपछि पेश गर्नुभन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१८।११।२६।६ को आदेश ।

            ९.    वादीलाई गरिदिएको धर्मपुत्र बदर गरीपाउँ भन्ने गौसनियाको उजुर परेको मुद्दामा शेषइसा महमदले गौसनियारको भाग पाउन नसक्ने गौसनियाले आफू खुशगर्न पाउने र गौसनियाको शेषपछि शेष औसानको भाग शेषइसा महमदले खान पाउने शेषऔसानाको भाग गौसनियाले बेचबिखन गर्न नपाउनेसमेत ठहरी मध्यमाञ्चल उच्च अदालतबाट ०१७।२।१६ मा फैसला भएको प्रमाण मिसिलबाट देखिएकोले औसानको भाग गौसनियाको शेषपछि आधी वादीको हक हुनाले सो बाहेक प्रतिवादी गौसनियाले बिक्री गर्नसमेत पाउने आधी हक देखिन आएको । यद्यपि बिक्री गरेको भन्दा डबलै जस्तो बाँकी जग्गा हुनाले खरिद बिक्री गरेको सदर ठहराएको शुरु तथा जि.अ. को इन्साफ मुनासिब होकि भन्नालाई उक्त जग्गा बिक्री गर्दा वादीको मन्जुर नलिएको । सबै जग्गा एकैनासको हुन्छ भन्ने नियम नहुनाले कित्ता कित्ताको पूरै खरिद बिक्री गरिदिए लिएको थैली कं. रु. ८३०१ मा पास गरी दिएको राजीनामा लिखत नक्कलबाट औसानको भाग छुट्टाएको समेत देखिनाले यो राजीनामा गरिदिएको जम्मै जग्गा राजीनामा सदर हुन्छ भन्न न्यायोचित नपर्ने हुँदा गौसनियाले शेषपछि वादीले खान पाउने । गौसनियाले बेचबिखन गर्न नपाउने वादीको आधी हक राजीनामा गरिदिएको देखिनाले सो राजिनामामा लेखिएको कित्तै पिच्छे नरम गरम मिलाई आधी जग्गा सदरै र आधी जग्गाको राजीनामा बदर हुने ठहरी थैलीको हकमा आधी थैली कं.रु. ४१५०।। प्रतिवादी सबुहनीले गौसनियासँग कपाली सरह पाउनेसमेत ठहर्छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१९।४।८।२ को फैसला ।

            १०.    डिभिजन बेञ्चबाट भएको फैसला चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भन्नेसमेत प्रतिवादी सबुहनी शेखिनीको निवेदनपत्र ।

            ११.    शेखा औसानले उनकी पत्नी गौसनियाको समेत शेषपछि खान पाउने गरी इसा महमदलाई धर्मपुत्र गराएको शेष औसान मरेपछि इसा महमदले हेरविचार नगरेकोले गौसनियाले ६ बिगाहा जग्गा मलाई बिक्री गरेकी २० बिगाहा जग्गा भई १४ बिगाहा जती जग्गा बाँकी नै भएकोमा त्यसतर्फ विचारै नगरी बिक्री गरेको आधी बदर हुन्छ भनी डिभिजन बेञ्चबाट फैसला हुँदा उचित न्याय पाएनौ भनी निवेदकले रोहवरमा जिकिरसमेत गरेकोले व्यहोरा साँचो भए बिक्री गर्ने गौसनियाको भागमा अन्दाजी जग्गा बिगाहा १० भएकोमा निजले धर्मपुत्रले हेरविचार नगर्दा ६ बिगाहा बिक्री गरेको सदर हुन्छ हुँदैन शेषपछि खाने धर्मपुत्रलाई कानूनले उजुर गर्ने हक दिएको छ छैन भन्ने कानूनी प्रश्न भएकोले दोहर्‍याई हेर्ने निस्सा भएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।५।३१।१ को आदेश ।

            १२.   यसमा प्रतिवादी सबुहनी शेखिनीतर्फबाट रहनुभएको विद्वान वकील सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले प्रतिवादीले सबै जग्गा बिक्री गरेको नभई ६ बिगाहा बिक्री गरको १३ बिगाहा जग्गा बाँकी नै छ । वादीको हक पुग्ने आधाभन्दा बढीनै जग्गा बाँकी भएपछि मेरो पक्षले आफ्नो हकको आधा जग्गाबाट केही बिक्री गरेको सदरै हुनुपर्ने भन्नेसमेत र विपक्षतर्फको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारीको जग्गाको आधा मूल्यको हिसाबबाट गरिन्छ । जग्गाको बिगोको हिसाबले होइन कुनै जग्गा थोरै भएपनि मूल्यको हिसाबबाट धेरै जग्गाको बराबर हुन आउँछ । तसर्थ जग्गामा आधा आधा भाग लगाउँदा असल कमसल र मूल्यका हिसाबबाट आधा गर्नुपर्छ । विपक्षीले ६ बिगाहा मात्र बिक्री गरेको नभई अरु पनि बिक्री गरेको छ । यसरी असलअसल जग्गा जति बिक्री गर्दै गएपछि मेरो पक्षले पाउने कमसल जग्गा मात्र रहन गई निजले पाउने आधा पनि नपाउने हुन जाने भएकोले डिभिजन बेञ्चले कित्तै पिच्छे आधा बिक्री गरेकोमात्र सदर गरेको इन्साफ न्यायोचित हुँदा सोही सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

            १३.   भएको दोहर्‍याउने निस्सा समेतको उपरोक्त व्यहोराहरूबाट प्रस्तुत मुद्दामा देहायको २ कुराको विचार गरी निर्णय गर्नुपर्ने देखियो ।

१.     शेषपछि खाने यो धर्मपुत्र वादीलाई उजुर गर्ने हक छ छैन ?

२.    उजुर गर्ने हक भए निजको फिराद दावीबमोजिम प्रतिवादीले बिक्रीगरेको जग्गाका नम्बरै पिच्छे आधाको लेखत बदर गराउन वादीले पाउने नपाउने के हो ?

            १४.   पहिले प्रश्नतर्फ विचार गर्दा साधारणतः शेषपछिको बकसपत्र गरिदिनेले आफू बाँचुन्जेल सो बकसपत्र बदर गर्न सक्ने हुँदा बकसपत्र गरी दिने नगरेसम्म शेषपछि बकसपत्र पाउनेको सम्पत्तिमा हक नपुग्ने देखिन्छ । तापनि प्रस्तुत मुद्दाको वादीलाई गरिदिएको ०६।१२।८ गतेको लिखतमा शेषपछि सम्पत्ति खाने व्यहोरामात्र नभई धर्मपुत्र राखेको भन्ने व्यहोरासमेत परेको र सो कागजमा लोग्ने स्वास्नी दुवैको शेषपछि खान पाउने व्यहोरा लेखिएकोमा सो कागज गरिदिने लोग्ने शेख औसान मरिसकेको सो धर्मपुत्रको कागज बदर गरीपाउँ भन्ने यो मुद्दा पर्नु अगावै प्रतिवादी गौसनियाले दिएको मुद्दाको लोग्ने शेख औसानको जिन्दगी छँदासम्म स्याहार सम्हार गरेकै देखिंदा गौसनियाको शेषपछि शेष औसानको भाग यो वादीले इसा महमदले खान पाउने, शेख औसानको भाग यस मुद्दाको प्रतिवादी गौसनियाले बेचबिखन गर्न नपाउने गरी मध्यमाञ्चल उच्च अदालतबाट अन्तिम फैसला भएको देखिएबाट प्रस्तुत मुद्दामा वादीको उजुर गर्ने हक छैन भन्न मिल्ने देखिएन ।

            १५.   अब दोस्रो प्रश्नतर्फ विचार गर्दा उक्त लेखिएबमोजिम वादीको उजुर गर्न हक प्राप्त भएको देखिन आएकोले दावीबमोजिम लिखत बदर हुने होकि भन्न गौसनियाको र निजको लोग्नेको हकमा करिब २० बिगाहा जग्गा देखिएको त्यसमा आधा लोग्नेको भाग गौसनियाको शेषपछि वादीको हक हुने र १० बिगाहा जग्गामा गौसनियाको हक भई निजले खुश गर्न पाउने ठहरी फैसला भएको र राजीनामा हेर्दा जग्गा बिगाहा ६।३।।२ मात्र बिक्री भएको देखियो ।

            १६.    लेखिएबमोजिम खुश गर्न पाउने भित्रकै बिक्री भएको देखिन आएपछि जग्गा असल कमसल भई बढी मूल्यको हो कि भन्नेतर्फ पनि सो बिक्री भएको जग्गा वादीको भागमा पर्न आउने आधा सम्पत्ति भन्दा बढ्ता मूल्यको छ भन्ने सबुद वादीतर्फबाट पेश दखिल हुन नसकेको र आफू खुश गर्न पाउने आधा १० बिगाहा मध्येबाट ६।३।।२ मात्र बिक्री भएको देखिएकाले वादीको हक मेटिएको नभई आधा हक कायमै रहे भएको र ६।३।।२ जग्गाको बिक्री बदर हुन्छ भन्दा प्रतिवादीले आफू खुश गर्न पाउने ठहरेको जग्गा आफूखुश गर्न नपाउने हुन आउने हुनाले प्रतिवादी गौसनियाले ०१५।६।१५ मा प्रतिवादी सबुहनी शेखिनीलाई राजीनामा गरी बिक्री गरेको बेमुनासिव भन्न मिलेन ।

            १७.   तसर्थ बिक्री सदर ठहराएको शुरुको सदर गरी विरगन्ज जिल्ला अदालतले गरेको इन्साफ मुनासिब छ । आधी लिखत बदर गर्ने ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।४।८।२ को फैसला मुनासिब नदेखिएकाले अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी शेषइसा महमद के निजलाई शुरु क.बं.इ.अ. का ०१७।९।२५। का फैसलाले गर्ने गरेको भा.रु. ५ को ने. रु. ८। डिभिजन बेञ्चबाट भएका ०१९।४।८ का फैसला र का.दे.त. का ०१९।७।३ का लगतले नलाग्ने भई फिर्ता दिने गरेकोमा हाल लाग्ने नै भएकोले फिर्ता दिने गरेको डिभिजनको लगत काटी शुरुको लगत कायम गर्नु भनी क.बं.इ.अ. लाई पुर्जि गर्न तहसिलमा लगत दिने ……………….१

ऐ. के निजलाई वि.जि.अ. का ०१८।५।१८ का फैसलाले गर्ने गरेको दण्ड ने.रु. ८० डिभिजनका ऐ. मितिका फैसलाले र ऐ. मितिका लगतले नलाग्ने भनी फिर्ता दिने गरेकोमा हाल लाग्ने नै भएकोले फिर्तादिने गरेको लगत काटी जि.अ. विरगन्जको लगत कायम गर्नु भनी क.बं.इ.अ. लाई लेखिपठाउनु ऐ.ऐ  …………………२

ऐ.ऐ. के निजले यस अड्डामा अपील गर्दा क.बं.ई.अ. मा ०१८।८।५ मा धरौट राखेको ने.रु. ।४० डिभिजनका ऐ. मितिका फैसला र लगतले फिर्ता दिने गरेकोमा हाल लाग्ने नै भएकोले फिर्ता दिने गरेको लगत काटी सदर स्याहा गर्नु भनी क.बं.इ.अ. मा पुर्जि गर्न ऐ …………………. ३

डिभिजन बेञ्चबाट भएको ऐ. मितिका फैसला र लगतलेधनी सबुहनी शेष शेखिनी ऋणी गौरानिया शेखिनी भएको कं. रु. ८३०१ को ०१५।१०।३।६ मा पास भएको राजिनामाको थैली र जग्गाको नरम करम मिलाई व्यहोरा जनाई आधी राजीनामा बदर गरी दिनु भनी रौतहटमालमा लेखि पठाउन शुरुमा लेखी पठाउन तहसीलमा लगत दिने गरेकोमा हाल उक्त डिभिजनका फैसलाबमोजिम आधी बदर हुन नसक्ने भएकोले आधी राजीनामा बदर गरी दिने गरेको लगत काटी दिनु भनी रौतहट मालमा लेखि पठाउन शुरु कं.बं.इ.अ. लाई पुर्जि गर्न ऐ.ऐ ………………….४

नियमबमोजिम मिसिल बुझाई दिनु ………………….५

 

इति सम्बत् २०१९ माघ १२ गते रोज ६ शुभम् ।