July 2, 1953
Created by nepalarchives

निर्णय नं. १७३ – बकसपत्र जालसाजी

निर्णय नं. १७३                             ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स. ईश्वरीराज मिश्र न्यायाधीश श्री बाशुदेव शर्मा दे.फु.नं. १३० निवेदक,...

निर्णय नं. १७३                             ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री स. ईश्वरीराज मिश्र

न्यायाधीश श्री बाशुदेव शर्मा

दे.फु.नं. १३०

निवेदक, प्रतिवादी  : कृष्णगोपाल श्रेष्ठ

विरुद्ध

विपक्षी, वादी : चन्द्रलाल श्रेष्ठ

मुद्दा : बकसपत्र जालसाजी

(१)   रजिष्ट्रशनको १२ नम्बरपास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाएऊ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्नेऊ मनीका हकदारका नाउँमा नालिस नगरी अन्य हकदारको नाममा नालिस गरेमादण्ड सजायको ५३ नम्बर बमोजिम खारेज हुने ।

            पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए उ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्छ भन्ने रजिष्ट्रेशनको १२ नं. मा उल्लेख भएको देखिन्छ । लिखत गरी दिने जमुनीका हकदार निजको लोग्ने रत्नदास खडै भएको देखिएकोले उक्त कानूनले निज रत्नदासबाट पास गराई लिनु पर्ने पास गरी नदिए निजका नाउँमा नालेस गर्नु पर्नेमा निज रत्नदासका नाउँमा नालेस नगरी रत्नदासको दाजु कृष्णगोपालका नाउँमा नालेस दायर गरी मुद्दा चलिआएको रजिष्ट्रेशनका १२ नं. ले मुनासिव भन्न नभएकोले यो मुद्दा दण्ड सजायको ५३ नं. बमोजिम खारेज हुने ठहर्छ ।

(प्रकरण नं. १२)

फैसला

            १.     मेरी दिदी जमुनी श्रेष्ठनीलाई प्रतिवादीको भाइ रत्नदाससँग विवाह गरी दिएको निज रत्नदासले भान्जी बुहारी ल्याई बस्न नपाउने भए पछि अन्यायवालाले मेरी दिदीलाई निकाला गरेबाट अंशमा मुद्दा चल्दा दिदीले ४ खण्डको १ खण्ड अंश पाउने ठहर भई फैसला भएकोमा निज दिदीले पालनपोषण गरेको रिझ वापत मलाई आफुले पाउने ४ खण्डको १ खण्ड अंश जेथा शेषपछि खानु । ६ महिना भित्र रजिष्ट्रेशन पास गरी दिउँला भन्ने ०७।११।१७।३ मा घरायसमा बकसपत्र गरी दिएपछि निज दिदी ०७।१२।४ गते कालगतीले परलोक भएकी । बकसपत्र पास गर्ने म्याद बाँकी नै भएको । हकदार अन्यायवालाबाट पास गराई लिनु पर्ने भई पास गरी देउ भन्दा गरी दिएनन । पास गराई पाउँ भन्ने चन्द्रलालको ०८।६।९ को फिरादपत्र ।

            २.    भाइ रत्नदास र म २ भाइको चित्त नमिली ०४।१२।५ गते चल बाहेक अचलको मोलबाट मोरु ८९७।७३ बुझी लिई अंश छोडपत्रको रजिष्ट्रेशन पास समेत गरी दिईसकेपछि भाइ बुहारी जमुनीले अंश मुद्दा चलाएकोमा अंश पाउने ठहराई रा.का.दे.दो. ले फैसला गरेकोमा अपील तह चल्दै प्रधान न्यायालय सम्म पुगेको छ । बुहारी जमुनी माइतमै मरेकी हुनाले निजको भाइ चन्द्रलालले मरी सकेका मानिसको खाली कागजमा ल्याप्चे सहिछाप गराई लिई झुट्टा जालसाजी मुद्दा खडा गरेका हो । अंश मुद्दा टुंगो नलागी आफ्नो हक भई खुश गर्न पाउने भईनसकी मुद्दा चलि नै रहेको । त्यस्तो श्रीसम्पत्ति बकस लेखी दिएको कागज सदर मान्न नहुने हुनाले सो कागज देख्न सुन्न पाएमा छुट्टै उजुर गर्ने छु । झुट्टा वादीबाट फुर्सद पाउँ भन्ने कृष्णगोपालको ०८।११।२७ को प्रतिउत्तर ।

            ३.    वादीबाट पेश भएको ०७।११।१७ को बकसपत्र प्रतिवादीलाई देखाउँदा बुहारी जमुनीको आखिरी अवस्थामा गराएको जालसाजी भन्ने समेत प्रतिवादीको र सद्दे नै भन्ने वादीको औ लिखतका साक्षी हरिनाथ खडानन्द, कुलबहादुर समेतको बयान ।

            ४.    वादीलाई बकस दिनेको अंशमुद्दा नै आखिर तहबाट सदर भईनसकेको मौका बकस लेखी दिएको भन्ने कागज देखिएको र आफ्नो हक पक्का भईनसक्दै बकस लेखी दिनु पर्ने अवस्था नदेखिएकोले समेत बकसपत्र जालसाजी किर्ते र वादीको उजुर झुट्टा ठहर्छ भन्ने रा.का.दे.पै. को ०११।७।३।३ को फैसला ।

            ५.    सो इन्साफमा चित्त बुझेन भन्ने वादी चन्द्रलाल समेतको अपील परेकोमा पेश भएको सक्कल बकसपत्रको र प्रमाणलाई आएको अंशमुद्दाको जमुनीको सहीछाप भिड्छ भन्ने सहीछाप जाँच गर्ने ख. शिवबहादुरले लेखी दिनुभएको र लिखतका साक्षीहरूले बकसपत्र लिए दिएकै हुन् भन्ने बयान गरेको समेतबाट वादी वादीका लिखतमा ऐनले उठाउन पाउने जति भन्ने बोली राखी पास हुने ठहर्छ भन्ने समेत अपील तेश्राको ०१४।५।६।५ को फैसला ।

            ६.    सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी कृष्णगोपालको अपील परी आएकोमा अंश मुद्दामा जमुनीले ४ भागको १ भाग अंश पाउने ठहरी फैसला भएको र आफूलाई पालनपोषण गर्ने भाईलाई बकसपत्र गरी दिएकोमा दानदातव्यको २ नं. ले पनि दिन पाउने नै देखिएकाले वादीको लिखतमा ऐनले उठाउन पाउने जति भन्ने बोली पारी पास हुने ठहराएको अपील तेश्राको इन्साफ मुनासिव छ भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको ०१५।११।१८।१ को फैसला ।

            ७.    सिंगलबेञ्चको इन्साफ दोहर्‍याई दिनु भन्ने प्रमांगी पाउँ भन्ने कृष्णगोपालको बिन्तिपत्र परेकोमा सो बिन्तिपत्रको व्योरा जाहेर हुँदा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवाल बमोजिम गर्नु भनी हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख निजी सचिवालयबाट ०१६।८।२।३ मा लेखी आएको ।

            ८.    श्री माननीय प्रधान न्यायाधीशज्यूमा पेश हुँदा जमुनीले गरेको लिखतमा निज मरेपछि हकवालाका नाउँमा लिखत पास गरी पाउँ भनी नालिसमा जमुनीको लोग्ने जिवीत हुँदै प्रतिवादी उपर नालेस हुनु नपर्ने भन्ने मुख्य जिकिर हुँदा र सो लिखत समेत जालसाजी हो भन्ने प्रतिवादीको जिकिर भएकाले व्यहोरा साँचो हो भन्ने हकदार छँदाछँदै निजलाई प्रतिवादी नगरी निवेदकलाई प्रतिवादी गरेको कानून बमोजिम भयो भएन ? सो लिखत जालसाजीबाट तयार भएको हो, होइन ? सो समेत विचार गर्नु पर्ने देखिनाले हु.प्र. बमोजिम दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१९।३।४।२ मा आदेश भएको ।

            ९.    डिभिजन बेञ्चका ०१८।९।११।२ का आदेश बमोजिम रत्नदास श्रेष्ठका नाउँमा म्यादगै निज हाजिर भई तारेखमा रहेको र ०१९।३।१२।३ मा फुल बेञ्चमा पेश हुँदा वादी चन्द्रलाल श्रेष्ठलाई हाजिर गराउनु भनी निजको वारेस ताराप्रसादलाई ७ दिनको तारेख तोकी निज चन्द्रलाल हाजिर भएपछि तारेखमा रहेको रत्नदास श्रेष्ठ भन्ने मानिस निज चन्द्रलाललाई देखाई कृष्णगोपालको भाइ र जमुनीको लोग्ने भनेको रत्नदास निज हो, होइन ? सनाखत कागज गराई पेश गर्नु भन्ने आदेश भएको ।

            १०.    हाजिर हुन आएको चन्द्रलाल श्रेष्ठलाई तारेखमा रहेको रत्नदास भन्ने मानिस देखाई सनाखत गराउँदा मेरै रोहवरमा रहनु भएको रत्नदास भन्ने मानिसलाई देखें । कृष्णगोपाल श्रेष्ठको भाइ र मेरी दिदी जमुनीको लोग्ने रत्नदास श्रेष्ठ भन्ने मानिस यिनी नै हुन् भनी निज चन्द्रलालले ०१९।३।१८।२ मा कागज लेखी दिएको ।

            ११.    यस्मा तारेखमा रहेका दुवैपक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान वकिल प्लीडर मुुक्तिलाल झाको बहस समेत सुनी विचार गर्दा, वादीका दिदी जमुनीले गरी दिएको बकसपत्र पास गरी पाउँ भनी जमुनीका जेठाजु हकदार गोपालकृष्ण श्रेष्ठका नाउँमा नालेस परी मुद्दा चल्दै आएको देखियो ।

            १२.   निज जमुनीकै लोग्ने कृष्णगोपालकै भाइ रत्नदास भन्ने हाल तारेखमा रहेको भन्ने मिसिलमा उल्लेख भईरहेकाले तारेखमा रहेका रत्नदास जमुनीको लोग्ने कृष्णगोपालको भाइ हो हैन ? वादी चन्द्रलाललाई झिकाई सनाखत गराई पेश गर्नु भन्ने आदेश बमोजिम झिकाई आएका चन्द्रलाललाई देखाई सनाखत गराएमा तारेखमा रहेका रत्नदास जमुनीको लोग्ने र कृष्णगोपालको भाइ यिनै हुन् भनी चद्रलालले कागज गरी दिएको देखिन आयो । पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए उ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्छ भन्ने रजिष्ट्रेशनको १२ नं. मा उल्लेख भएको देखिन्छ । लिखत गरी दिने जमुनीका हकदार निजको लोग्ने रत्नदास खडै भएको देखिएकाले उक्त कानूनले निज रत्नदासबाट पास गराई लिनु पर्ने पास गरी नदिए निजका नाउँमा नालेश गर्नु पर्नेमा निज रत्नदासका नाउँमा नालेश नगरी रत्नदासको दाजु कृष्णगोपालका नाउँमा नालेश दायर गरी मुद्दा चली आएको रजिष्ट्रेशनको १२ नं. ले मुनासिव भन्न नभएकाले यो मुद्दा दण्ड सजायको ५३ नं. बमोजिम खारेज हुने ठहर्छ । उक्त लेखिएबमोजिम मुद्दा खारेज भए पनि जमुनीले गरी दिएको लिखत पास गरी पाउँ भनी लिखत भएका मितिले ऐनका म्याद भित्रै नालेस परेको देखिएकाले आजका मितिले ३५ पैंतिस दिन भित्र रत्नदास उपर ऐन बमोजिम नालेस गर्नु भनी वादी पक्षलाई सुनाई दिनु ।

            १३.   उपरोक्त कारण परिवन्धबाट रत्नदास छँदै कृष्णगोपालका नाउँमा नालेस गरी तहतहबाट र ०१५।११।१८।१ मा डिभिजन बेञ्चबाट भएको फैसला मुनासिव देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी प. १ नं. नु. इ. बैवापति बजार बस्ने चन्द्रलाल श्रेष्ठको माथी लेखिए बमोजिम उजुरी खारेज भएकाले कोर्टफि लागि दायर भएको हुँदा केही गर्नु परेन ……………….१

अपील तेश्रा फाँटका १४।५।६।५ का फैसलाले गर्ने गरेको देहायको कलम हाल नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाइ लगत काटी दिनु भनी का.दे.त. मा लगत दिनु ……………….२

वादीलाई प्रतिवादीबाट भराई दिने गरेको कोर्टफि अरू दस्तुर नेरु ५।६२ को कलम १, लिखत तर्फ झुट्टा जिकिर लिएमा प्रतिवादी कृष्णगोपाललाई गर्ने गरेको दण्ड ने.रु. २।५० को कलम १

प्रतिवादी कृष्णगोपाल के अपील उपर सर्वोच्च अदालतमा अपील गर्दा लाग्ने कोर्टफि वापत टिकट टाँसेको ने रु. ।५८ ऐनका म्याद भित्र फिर्ता माग्न आए अड्डैको आम्दानीबाट फिर्ता दिनु भनी ऐ. ऐ ………………३

गल्ती गरेमा शुरुलाई अपील तेश्रा फाँटबाटै सजाय गरेको हुँदा अपील तेश्रा फाँटका अ.ख.नीलबहादुर मरी सकेकाले केहि गर्नु नपरी वि. ताराप्रसाद हाल गभरमेन्ट प्लीडर डोटीको रेकर्ड राख्नु भनी रजिष्टार अफिसमा लेखी पठाउनु ……………….४

नियम बमोजिम मिसिल बुझाई दिनु …………………..५

 

इति सम्वत् २०१९ साल आषाढ १९ गते रोज ३ शुभम् ।