October 19, 1962
Created by nepalarchives

निर्णय नं. १७१ – थैली बुझाइ पाउँ

निर्णय नं. १७१                  ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स.ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. १३८ निवेदक, वादी :...

निर्णय नं. १७१                  ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश स.ईश्वरीराज मिश्र

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. १३८

निवेदक, वादी : अनन्तनारायण श्रेष्ठ

विरुद्ध

प्रतिवादी, विपक्षी : छत्रमान प्रधान

मुद्दा : थैली बुझाइ पाउँ

(१)   हकसफा गर्ने म्याद बारेघरायसमा भएको लिखतमा सही गर्नेको हकमा म्याद कहिले देखि शुरु हुने ? अन्य घरायसको कागजमा सही नपरेका हकदारहरूका लागि म्याद कहिले देखि शुरु हुने ? रजिष्ट्रेशनको ३२ नं. मुताविक घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था देखिने ।

            …म्याद कहिले देखि लागू हुने हो ? त्यस तर्फ विचर गर्दा, रजिष्ट्रेशनको ३२ नं. मा रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा पहिले कागज गराई पछि पास गराएकोमा निखन्न र नालिस उजुर गर्नालाई हदम्याद कायम गर्दा घरायसमा पहिले कागज भएको भए पनि अड्डामा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु । घरायसमा भएको कागजमा सहीछाप गर्नेको हकमा भने घरायसमा कागज भएकै मिति कायम गर्नु भन्ने लेखिएबाट सो ऐनले घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था गरेको पाइयो ।

(प्रकरण नं. १३)

(२)   ऐनद्वारा प्रस्तुत सुविधा पक्षले पाउनै पर्ने ।

            …घरायसमा लिखत हुँदा साहिछाप नपरे तापनि घरायसमा कागज भएको कुरा थाहा पाउनेका हकमा सो थाहा पाएकै मिति कायम गर्ने ऐनको मनसाय भए सो कुरा ऐनमा खुल्नु पर्ने, सो खुलेको नदेखिएकोले रजिष्ट्रेशनका ३२ नं. ले दिएको सुविधा प्रस्तुत मुद्दाको वादी निबेदकले पाउँदैनन् भन्न न्यायोचित देखिएन ।

(प्रकरण नं. ५)

निबेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय

विपक्षी तर्फबाट      : प्लीडर नारायणप्रसाद

फैसला

            १.     सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निबेदकको निबेदन परी ऐ. नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहराउने निस्सा भई दुबै पक्ष राखी पेश हुन आएको यस मुद्दाको छोटकरी व्यहोरा यसप्रकार छ :

            २.    म समेतको हक लाग्ने अबण्डाको तिरो रु. १।६ दर्ताको साहु हर्षनारानको घर देखि दक्षिण गणेश थान र जोशी कृष्णमानको घर देखि उत्तर मूल बाटो देखि पूर्व काजीमानका घरबारी देखि पश्चिम ४ किल्ला भित्रको घर र भित्री बारी समेत छत्रमान साहु हुने दाजु गणेशलाल असामी हुने गरी कं.रु. ३००४ मा ०५।९।१५ मा जालसाजबाट राजीनामा लिनु दिनु गरी पास गरी पाउँ भनी छत्रमानले नालिस दिई म्याद तामेल हुँदा थाहा पाएकोले अन्यायी समेत उपर जालसाजमा उजुुर दिई पास मुद्दा मुलतवी रहेको जालसाज मुद्दामा हराई दिएकोमा सर्वोच्च अदालतमा अपील दिएको किनारा भएको जनाउ पाईनसकेको । मुल्तवीको मिसिल जगाई ०१५।११।१४ मा पास गरेछन । ०१५।११।२९ गते थाहा पाएकाले ०१५।१२।१३ मा लक्ष्मीदेवी श्रेष्ठनीबाट कर्जा लिई थैली बुझी दिनुस भन्दा थैली बुझी नदिएकोले पास भएको मितिले ३५ दिन भित्र थैली कं.रु. ३००४ धरौट दाखिल गरी नालिस गर्न आएको छु । थैली बुझाई पाउँ भन्ने समेत अनन्तनारान श्रेष्ठको ०१५।१२।१८।३ को फिराद ।

            ३.    वादी र गणेशलालहरू ८५ साल अघि नै बण्डा भएको । पहाडको मूल घर गणेशलालको भागमा परेको । गणेशलालले कं.रु. ३०३।।। बाबु छँदै भोगबन्धकी लेखी दिएको । मदेश खेतीमा वादी र सूज्र्येनारान समेतका जालसाजबाट गणेशलालले राजीनामा गराएमा समेत मुद्दा गर्न पर्दा मबाट थपबढ खाई घर जग्गा थामी खान नसक्दा ०५।९।१५ मा जाँच आएमा समेत मेरा नाउँमा दर्ता गर्नु पर्ने गरी राजीनामा गरी दिएबाट मेरै आफ्नो हक चलन जानी दर्ता बमोजिम तिरो तिरी भोगी आएको हामी सबैको भाग लाग्ने जग्गा घर गणेशलालले बिक्री गर्न पाउने होइन । पास मुद्दा मुल्तवी भई जालसाजी मुद्दा तर्फ कारबाई हुँदै जाँदा अघि नै बण्डा भई छुटेकोले बण्डा नपाउने ठहरी ०१५।८।२ गते फैसला भएको । कं.रु. ३००४ धरौट राखी झुट्ठा नालेस गरेको हो भन्ने समेत व्यहोराको छत्रमानको प्रतिउत्तर ।

            ४.    रजिष्ट्रेशन पास भएको मितिबाटै ६ महिना भित्र थाहा पाएका ३५ दिन भित्र निखनी लिन पाउने देखिएको । रजिष्ट्रेशनका ३२ नं. ले पास भएको मितिले ३५ दिन भित्र थैली धरौट रहेको । प्र. ले थैली बुझी दिए वादीले उजुुर गरी रहन नपर्ने र थैली बुझाई निखनी अन्यत्र बिक्री गर्न पाउँदैन भन्ने कुनै कानूनमा समेत नलेखिएको समेत हुँदा धरौट रहेको थैली प्र. ले हकसफा गरी दिनु पर्ने समेत ठहर्छ भन्ने समेत धनकुटा अदालतको ०१६।३।१९।६ को फैसला।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत छत्रमानको अपील ।

            ६.    वादीले अघि नै लिखत गरेको थाहा पाई जालसाज मुद्दा समेत चलाएको देखिए तापनि सो लिखतमा वादीको सही भएको नदेखिएकोले रजिष्ट्रेशनका ३२ नं. ले पास भएको मिति कायम हुने भएकोले इन्साफ शुरुकै मुनासिव ठहर्छ भन्ने समेत ०१६।९।१।४ मा धनकुटा अपीलबाट भएको फैसला ।

            ७.    एउटै राजीनामा उपर पहिले जालसाजमा र फेरी थैली बुझाई पाउँ भन्ने तहतह मुद्दाको उजुर लिई तहकिकात गर्नु भन्ने ऐन सवाल समेत नभएकोले इन्साफमा चित्त बुझेन भन्ने समेत छत्रमानको अपील ।

            ८.    वादी अनन्तनारायणलाई हा.का.का ९ नं. बमोजिम छलफलको १५ दिने म्याद पठाई झिकाई आएपछि पेश गर्नु भन्ने पूर्वाञ्चल उच्च अदालत सिंगलबेञ्चको ०१७।४।२७ को आदेश ।

            ९.    ०१३ साल माघ ५ गतेमा धरौट राखी नालिस गर्ने म्याद थामी पाउँ भन्ने लक्ष्मिनीयाको निबेदनमा थाहा पाएका ३५ दिन भित्र निखन्न पाउने विषय रजिष्ट्रेशनको ३२ नं. साहु आसामीको ९ नं. समेत उल्लेख भएको । फुलकोर्टको निर्णयको छाप नलागेको उतार दर्खास्तसाथ पक्षले दाखिल गरेको उक्त निर्णय भएको हो, होइन ? भए १ प्रति उतार ऐन सवालको रीत पुर्‍याई पठाई दिनु होला भनी सर्वोच्च अदालत रजिष्ट्रार अफिसलाई लेखी पठाई आएपछि पेश गर्नु भन्ने पूर्वाञ्चल उच्च अदालत सिंगलबेञ्चको ०१८।३।१।५ को आदेश ।

            १०.    मेरो समेत हक लाग्ने घर घडारी गणेशलाल बिक्री गर्ने छत्रमान किन्ने गरी ०५।९।१५ मा जालसाजबाट राजीनामा गरेको थाहा पाई जालसाज मुद्दा चलेकोमा सर्वोच्च अदालत लगायतबाट फैसला भएबाट ०१५।११।१४ मा पास भए छ । ०१५।११।२९ गते थाहा पाएकोले पास भएको मितिले ३५ दिन भित्रै थैली धरौट राखी नालिस दिएको छु । थैली बुझाई पाउँ भन्ने समेत अनन्तनारायणको मुख्य जिकीर भएको । रजिष्ट्रेशनको ३२ नं. मा रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा पहिले कागज गराई पछि पास गराएकोमा निखन्न र नालेस उजुर गर्नलाई हदम्याद कायम गर्दा घरायसमा पहिले कागज भएको भए पनि अड्डामा रजिष्ट्रेशन पास भएका मिति कायम गर्नु । घरायसमा भएको कागजमा सहीछाप गर्नेको हकमा भन्ने घरायसमा कागत भएकै मिति कायम गर्नु भन्ने लेखिएको ०१३।१०।५ को सर्वोच्च अदालत फुलकोर्टको निर्णय उतार आएकोमा थैली धरौटी राखिने नालिसको हदम्याद थामी पाउँ भन्ने लक्ष्मिनिया रौनियारको वा. महम्मदको निबेदनमा ०१३।६।१३ को फुलकोर्टको निर्णय बमोजिम रजिष्ट्रेशनलाई भएको सनद नक्कल बुझी पेश हुन आएको यसमा, रजिष्ट्रेशनको ३२ नं. मा निखन्न र हदम्याद कायम गर्दा घरायसमा भएको कागजमा सहिछाप गर्नेको हकमा घरायसमा कागजै भएकै मिति कायम गर्नु । सहीछाप नपर्नेका हकमा पास भएको मिति कायम गर्नु भन्ने र साहु आसामीको ९ नं. मा बेचेकिनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेशमा गएको भए १ वर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालाले पाउँदैन । किनेबेचेको पक्का हुन्छ भन्ने लेखेको उक्त ऐनले थाहा पाएका मितिले ३५ दिन भित्र निखन्न पाउने र सो साहु आसामीको ९ नं. मा सरहदमा भए ६ महिना र बिदेशमा गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने लेखिएकोले ६ महिना र १ वर्षसम्म थाहा पाउनु पर्ने र सो थाहा पाएका ३५ दिन भित्र निखन्न पाउने देखिनाले उक्त म्यादसम्ममा थाहा पाई सो थाहा पाएको ३५ दिनसम्ममा निखन्न पाउने देखिन्छ भन्ने निर्णय भएको । यस मुद्दामा विपक्ष अनन्तनारायण श्रेष्ठले रजिष्ट्रेशन पास भएपछि मात्र थाहा पाएको नभई अपीलाट छत्रमान साहु हुने, दाजु गणेशलाल आसामी हुने गरी कं.रु. ३००४ मा ०५।९।१५ मा जालसाजबाट राजीनामा लिनु दिनु गरे भन्ने मुद्दा दायर गरी किनारा भएको र प्रमाण मिसिलबाट देखिएको र सो मुद्दाको फिरादमा थाहा पाएँ भन्ने लवज उल्लेख भएको देखिएको । सोही राजिनामालाई अघि नै थाहा पाएपछि थाहा पाएका मितिले ३५ दिन भित्र हक सफा गर्न पाउँ भनी उजुर गर्नु पर्नेमा २पटक थाहा पाए भनी भन्न नहुने समेतबाट फुलकोर्टका निर्णय बमोजिम थाहा पाउने म्याद ६ महिना र १ वर्ष सम्ममा थाहा पाउनु पर्ने । सो म्याद नाघी सकेकाले अब धरौट राख्न उकास्न पाउँछ भन्न नभई किनबेच गरेको पक्का ठहर्छ । शुरु र अपीलको थैली बुझी हक साफा गरी दिनु पर्ने ठहर्छ भन्ने इन्साफ गल्ती ठहर्छ भन्ने समेत सर्वोच्च अदालत पूर्व दौडाहा डिभिजन बेञ्च मुकाम धरान फुश्रेबाट भएको ०१८।१२।१४।३ को फैसला ।

            ११.    निखन्न पाउने ठहरी शुरु अपीलबाट फैसला भएकोमा निखन्न नपाउने गरी डिभिजन बेञ्चबाट फैसला भयो । निखन्दा पास भएको मिति कायम गर्नु भन्ने रजिष्ट्रेशनको ३२ नं. ऐन बाहालै भएकोले निखन्न नपाउने गरी भएको फैसला चित्त बुझ्ेन । मुद्दा दोहर्‍याई पाउँ भन्ने समेत अनन्तनारायण श्रेष्ठको निबेदनको व्यहोरा पेश हुँदा हकवालाले निखन्ने विषयमा रजिष्ट्रेशको ३२ नं. ले रजिष्ट्रेशन पास भएको मिति कायम हुने र घरसारको लिखतमा साक्षी भई सहिछाप गर्नेको हकमा घरसारमा भएको लिखतको मिति कायम हुने उल्लेख भएको । साहु आसामीको ९।१० नं. ले निखन्ने विषय म्याद कायम गर्दा रजिष्ट्रेशनको ३२ नं. बमोजिम गर्नु भन्ने उल्लेख भएको प्रस्तुत मुद्धामा घरसारको लिखतमा साक्षी बुसेको छैन । रजिष्ट्रेशन पास भएको मिति कायम नगरी डिभिजन बेञ्चले खारेज गरेको भनी निबेदक तर्फका वकिलले रोहबरमा भन्नु भएकोले यसमा व्यहोरा साँचो हो र रजिष्ट्रेशन पास भएको मिति कायम नगरी फैसला भएको रहेछ भने कानूनी व्याख्या गर्नु पर्ने देखिएकोले दोहर्‍याई हेर्ने निस्सा गरी दिएको छ । दुबै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत श्री माननीय प्राधान न्यायाधीशज्यूबाट ०१९।१।२७।४ मा आदेश भएको रहेछ ।

            यसमा उक्त फैसला सहितको मुद्दाको विवरणहरूबाट घरायसमा भएको कागजमा सहीछाप नगर्ने प्रस्तुत मुद्दाको निबेदकको निखन्ने हदम्याद कायम गर्दा थाहा पाएका मितिदेखि म्याद शुरु हुने वा रजिष्ट्रेशन पास भएको मितिदेखि शुरु हुने के हो ? र निबेदकले निखन्न पाउने नपाउने के हो ? यी कुराको निर्णय गर्नु पर्ने देखिन आयो ।

            १२.   निबेदक तर्फबाट रहनु भएका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्यायले घरसारमा लिखत भएकोमा जहिले सम्म रजिष्ट्रेशन पास हुँदैन, त्यसमा १०० सय भन्दा माथिको लिखत गराई लिनेको हक पुग्दैन । निखन्न पाउने हक हकदारले अन्य व्यक्तिलाई बिक्री गरेर दिए पछि मात्र सो व्यक्तिबाट निखन्ने हक हुन्छ । बिक्री गर्ने व्यक्तिसँग निखन्ने होइन । रजिष्ट्रेशन पास नभए सम्म बेच्नेको हक टुटेको हँदैन । रजिष्ट्रेशनको ३२ नं. मा निखन्न र नालिस उजुर गर्नालाई घरायसमा भएको कागजमा सहीछाप नगर्नेको हकमा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु भन्ने भएकोले निबेदकले कानून बमोजिम म्याद भित्रै उजुर गरेकोले निखनी लिन पाउनु पर्छ भनी र विपक्षी तर्फबाट रहनु भएका विद्वान वकिल प्लीडर नारायणप्रसादले रूपैयाँ लिनु दिनु गरी लिखत भएको मिति नै बेचे किनेको मिति कायम हन्छ । पास भएको मितिलाई बेचे किनेको मिति भन्ने हैन । ६ महिना भित्र पास गर्नु भन्ने म्याद लेखी कागज भएकोमा सो म्याद भित्र रजिष्ट्रशन पास भएकोमा घरसारमा कागज भएको मिति बेचे किनेको कायम रहने भएकोले घरसारमा लिखत भएको कुरा थाहा पाएको मितिले ऐन बमोजिमको नालिस दिने हदम्याद पाउने । सो म्याद नाघी गरेको यो नालिस नै खारिज हुनु पर्ने भनी बहस गर्नुभयो ।

            १३.   साहु असामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेश गएको भए १ वर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालाले पाउँदैन । किने बेचेको पक्का हुन्छ भन्ने उल्लेख भएबाट म्याद कहिले देखि लागू हुने हो ? त्यस तर्फ विचार गर्दा, रजिष्ट्रेशनको ३२ नं. मा रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा पहिले कागज गराई, पछि पास गराएकोमा निखन्न र नालिस उजुर गर्नालाई हदम्याद कायम गर्दा घरायसमा पहिले कागज भएको भए पनि अड्डामा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु, घरायसमा भएको कागजमा सहीछाप गर्नेको हकमा भने घरायसमा कागज भएकै मिति कायम गर्नु भन्ने लेखिएबाट सो ऐनले घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था गरेको पाईयो ।

            १४.   घरायसमा लिखत हुँदा सहीछाप गर्नेका हकमा लिखत भएका मितिदेखि नै हदम्याद शुरु हुने हुनाले निखन्न निजले कानून बमोजिम ३५ दिन भित्रै उजुर गर्नु पर्ने र रजिष्ट्रेशन पास गर्ने म्याद ६ महिनासम्म भएकोले रजिष्ट्रेशन पास गर्नु पर्ने लिखत रजिष्ट्रेशन पास नभई हकवालालाई निखन्न पाउने अधिकार प्राप्त हुँदैन भन्ने एडभोकेट कृष्णप्रसाद उपाध्यायको बहस मुनासिव देखिएन ।

            १५.   घरायसमा भएको कागजमा सहिछाप नगर्नेका हकमा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु भन्ने रजिष्ट्रेशनको ३२ नं. मा प्रष्ट उल्लेख भएको । घरायसमा लिखत हुँदा सहीछाप नगरे तापनि घरायसमा कागज भएको कुरा थाहा पाउनेका हकमा सो थाहा पाएकै मिति कायम गर्ने ऐनको मनसाय भए, सो कुरा ऐनमा खुल्नु पर्ने, सो खुलेको नदेखिएकोले रजिष्ट्रेशनका ३२ नं. ले दिएको सुविधा प्रस्तुत मुद्दाको वादी निबेदकले पाउँदैनन् भन्न न्यायोचित देखिएन । तसर्थ, निबेदकका हकमा लिखत भएको थाहा पाएको मितिदेखि हदम्यादको हिसाब हुनु पर्ने भन्ने प्रतिवादी तर्फका वकिल नारायणप्रसादको बहस कानूनमा आधारित देखिएन ।

            १६.    लिखत भएको कुरा ०५ सालमै थाहा पाई जालसाजी मुद्दा समेत चलाईसकेकोले थाहा पाएको १५ सालमा फेरि थाहा पाएको भनी २ चोटी सोही कुराको जनाउ पाए भन्न नमिल्ने भन्ने डिभिजन बेञ्चको फैसलामा लेखेको हकमा जुन लिखतका आधारमा निखनी पाउँ भन्ने उजुर दिनु पर्ने हो । सो लिखत सदर हुने नहुने कुरा जालसाज मुद्दा टुंगो नलागि एकिन नहुने हुँदा त्यसलाई सदर मानी निखनाई पाउँ भनी उजुर गर्ने व्यवस्था नै वादीलाई परेको देखिएन । सो डिभिजन बेञ्चले प्रशासनसम्बन्धीत काम गर्ने फुलकोर्टबाट भएको कानूनको व्याख्या फैसलामा उधृत गरेको पनि मुनासिव देखिएन ।

            १७.   रजिष्ट्रेशनका ३२ नं. ऐनका म्याद भित्रकै निवेदकको नालिस परेको देखिएको समेत उक्त लेखिएका कारणबाट डिभिजन बेञ्चको इन्साफ मुनासिव नदेखिई निखन्न पाउने ठहराएको शुरु अपीलको इन्साफ मुनासिव ठहर्न आएकोले तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी धनकुटा तल्लो कोपचे बस्ने छत्रमान प्रधानके शुरु धनकुटा अदालतका ०१६।३।१९ का फैसलाले लिने गरेको दण्ड भा.रु. ७५ऽ।। र अपील गरे वापत धनकुटा अपीलका ०१६।९।१।४ का फैसलाले लिने गरेको दण्ड भा.रु. ७।५२ समेत गर्ने गरेकोमा सो दण्ड नलाग्ने भनी देहायबमोजिम ने.रु. मा परिणत गरी सर्वोच्च अदालत डिभिजन बेञ्च पूर्व दौडाहाका ०१८।१२।१४।३ का फैसला र वीराटनगर इलाका अदालतका ०१८।१२।२० का लगतले असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काट्ने गरेको हाल लेखिएबमोजिम ठहरी शुरु अपीलका फैसला बमोजिम दण्ड लाग्ने नै ठहरोले असूल भई डिभिजन बेञ्चको फैसला बमोजिम फिर्ता गईनसकेको भए सो डिभिजन बेञ्चका फैसला बमोजिम लगत काटी शुरु अपील फैसला बमोजिम लगत कायम गरी ऐन सवाल बमोजिम गर्नु । फिर्ता गएको भए देहाय बमोजिम लगत कसी असूल गर्नु भनी पुर्जी गर्न का.दे.त. मा लगत दिनु …………………. १

शुरु दण्ड भा.रु. ७५ ऽ।। को हुने ने.रु.१२०।२५, अपील गरे वापतका दण्ड भा.रु. ७।५२ को ऐ.ऐ. १२।३

ऐ. ऐ. के अपील उपर सर्वोच्च अदालतमा अपील गरे वापत दोश्रो अपील हुँदा शुरु दण्ड भा.रु. ७५ऽ।। को हा. का. १० नं. सयकडा ५ ले भा.रु. ३।।। दण्ड हुनेमा भा.रु. १०० को ने.रु. १६० ले ने.रु. ६।२ दण्ड हुन्छ । बेरुजु हुँदा असूल गर्नु भनी ऐ.ऐ ……………………२

धनकुटा अदालतका ०१६।३।१९ का फैसलाले वादीबाट ०१५।१२।१८ अपील अवस्था नाघेपछि म्याद भित्र लिन आए प्रतिवादीलाई फिर्ता खर्च लेख्ने गरेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाले सो लगत काटेको नदेखिएको र माथि लेखिए बमोजिम ठहरेकोले शुरु फैसला लगत बमोजिम गर्नु भनी पुर्जी गर्न ऐ.ऐ. …………………. ३

सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१८।१२।१४।३ का फैसलाले गर्ने गरेको देहायको कलमको लगत काटी दिनु भनी ऐ ऐ ……………..

वादी धनकुटा बजार बस्ने अनन्तनारायण श्रेष्ठलाई गर्र्ने गरेके दण्ड ने.रु. ५। को कलम १, ऐ. ऐ. बाट प्रतिवादीलाई भराई दिने गरेको वकिल फी ने.रु. १२। को कलम १

सर्वोच्च अदालत डिभिजन बेञ्चका ऐ. मितिका फैसलाले देहायका मानिसके गल्ती इन्साफ गरेमा रेकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा लेखी पठाउने गरेको हाल सोही इन्साफ सदर ठहरेकाले रेकर्ड पर्दैन भनी रजिष्ट्रार अफिसमा लेखी पठाउने .……….…..५

धनकुटा अदालतका हाकिम डि. गोबिन्दप्रसाद पाध्या १, धनकुटा अपीलका का.मु.सु. झपट सिं रावल १, ऐ.ऐ. का मु.ना.सु. हिरामान डंगोल १,

नियम बमोजिम मिसिल बुझाई दिनु……………..६

 

इति सम्वत् २०१९ साल कार्तिक ३ गते रोज शुभम् ।