निर्णय नं. १७० – .
निर्णय नं. १७० ने.का.प. २०१९ फुल बेञ्च (आदेश) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह (१) अ.बं....
निर्णय नं. १७० ने.का.प. २०१९
फुल बेञ्च
(आदेश)
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री बाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
(१) अ.बं. ७९ नं. मा तोकिएको “दिन” मुख्यतः अर्जी पठाउने व्यवस्थाको लागि मात्र ।
अ.बं. ७९ नं. को दफा ५ को देहायमा “नेपाल जग्गा जग्गामा हाजिर हुने र जग्गा जग्गाबाट नेपाल हाजिर हुनाको दिन” भनी उल्लेख भई यो ईलाकाको यती दिन, भन्ने लेखिएकोले सो म्याद के को लागि निर्धारित गरिएको रहेछ ? भन्ने तर्फ हेर्दा, सो अ.बं. ७९ नं. को दफा १ मा जहान थलिएको वा आफू बिरामी परी मुद्दा परेको अड्डामा हाजिर हुन नसक्ने भएमा यस नम्बरको ५ दफामा लेखिएबमोजिम बाटाका म्याद राखी भनी यो यती दिन अर्जी गर्न पाउँछ भन्ने र दफा १ (क) र अरू २,३,४ दफामा म्याद समन ईतलयनामा वा तारिख लिएका मानिस सो दफामा उल्लेखित कारण परी हाजिर हुननसकेकोमा सो भएको निस्सा समेत लिई सो दफाले तोकिएको म्याद बाहेक ऐन बमोजिम बाटाका म्याद भित्र हाजिर हुनु भन्ने समेत हुँदै आई दफा १ मा “माथि दफा दफामा लेखिए बमेजिमको कारण परी अर्जी खबर पठाउँदा” रेलको बाटो गरी आउनु हुनेमा सो समेतको हिसाब भई देहाय बमोजिमको म्याद बाँकी राखी मौफसलमा भएका ईलाकाबाट अर्को ईलाकामा हाजिर हुन पर्नेले रेल चढी हिंडन हुनेमा रेलमा लाग्ने दिन र पैदल हिड्ने हिड्ने बाटाको ऐन बमोजिम लाग्ने दिनसम्म बाँकी हुने गरी अर्जी खबर पठाएकोमा तारिख थाम्न सक्तछ भन्ने उल्लेख भएबाट सो अ.बं. ७९ नं. मा तोकिएको दिन मुख्यतः अर्जी पठाउने व्यवस्थाको लागि मात्र हो भन्ने देखिन्छ ।
(२) बही बुझ्नेको १९ नं. को म्याद केवल बही बुझ्ने निमित्त मात्र निर्धारित गरिएको ।
बही बुझ्नेको १९ नं. मा “नेपालबाट जग्गा जग्गामा हुलाक आउन जान जग्गा जग्गाबाट नेपालमा भारी समेत लिई मानिस आउन जानाके र कागज तैयार गर्नाके समेत तपसील बमोजिमको म्यादको ऐन” भनी तपसील खण्डमा म्याद तोकिएको । सो म्याद केवल बही बुझ्नको निमित्त निर्धारित गरेको देखिएबाट एक निश्चित कामको निमित्त कायम गरेको म्यादलाई अर्को विषयको निमित्त लागू गर्न उचित देखिदैन ।
(प्रकरण नं ४)
(३) बाटाको म्याद कायम गर्दा अ.बं. ११९ नं. का ऐनको नै आधारमा कायम गर्नु पर्ने–हुलाक तथा अन्य सरकारी स्तरबाट खुल्न नआएको कोष, सरजमिनबाट खुलाई कायम गर्नुपर्ने ।
तसर्थ, देशको आवागमनको साधन भौगोलिक स्थितिलाई समेत ध्यानमा राख्दा यस विषयमा एकरूपता ल्याउनको लागी पूर्णतः अ.बं. ११९ नं. का ऐनमा नै आश्रीत भई सो बमोजिम बाटाको म्याद हिसाब गर्नु पर्ने स्पष्ट र व्यवहारिक देखिन्छ । हुलाकबाट वा अन्य कुनै सरकारी स्तरबाट खुल्न नआएको कोष, सरजमिनबाट खुलाई कायम गर्नु पर्दछ ।
(प्रकरण नं. ५)
आदेश
१. यसमा नयनराज आदेश पण्डितज्यू समेतसँगको जिमिदारी जिरायत मुद्दामा बिराटनगर वीरयाती मौजे अमाही बस्ने बद्रि सा रौनियारका नाममा दिन १५ को म्याद ०१९।७।१।४ मा तामेल भएको । सो म्याद भित्र हाजिर हुनालाई निजले पठाई वारिस गरी दिएकोले बही बुझ्नेका ऐन बमोजिम पाउने बाटाका म्याद दिन ३० समेत म्याद भित्र हाजिर हुन आएको छु भनी ऐ कटहरी कदमाहा बस्ने वा. अनुपा केवट वारिसनामा समेत लिई ०१९।८।१ मा हाजिर हुन आएकाले बाटाको म्याद अ.बं. ७९ नं. बमोजिम वा बही बुझ्नेका १९ नं. बमोजिम कुन कायम गर्ने ? भन्ने विषय पेश हुन आएकोमा सम्बन्धित कानूनी व्यवस्था हेर्दा, अं बं. ७९ को उपदफा ५ मा अर्जी खबर पठाउँदा बाटाका म्याद बाँकी राखी पठाउनु पर्ने कुरा उल्लेख गरी उपदफामा नेपालबाट जग्गा जग्गामा हाजिर हुने र जग्गा जग्गाबाट नेपाल हाजिर हुना के दिन भनी फलाना इलाकाको लागि यती दिन भन्ने व्यवस्था भईरहेको । बही बुझ्नेको १९ नं. मा नेपाल वा जग्गा जग्गामा हुलाक जान आउन र जग्गा जग्गाबाट नेपालमा भारी समेत लिई मानिस जाना आउना के र कागज तयार गर्नाके समेत तपसील बमोजिम म्यादको ऐन भनी तपसीलमा फलाना ठाउँको यती भन्ने व्यवास्था भईरहेको । अ.बं. ११९ नं. मा बाटाको म्यादको हिसाब गर्दा दिनको ४ कोषका दरले गर्नु । ४ कोषदेखि घटीको कोषलाई १ दिनको म्याद कायम गर्नु भन्ने व्यवस्था भईरहेको देखिन्छ । ठाउँ ठाउँबाट म्याद तारिखमा हाजिर हुन आउने मानिसहरूको सम्बन्धमा म्याद कायम गर्ने विषयमा उपरोक्त लेखिए बमोजिम विभिन्न व्यवस्था भएकोबाट विभिन्न अदालतहरूले तथा एकै अदालतले पनि उपरोक्त लेखिए मध्येका विभिन्न आधारहरू मानी कारवाई गरी आएको देखिन्छ । प्रस्तुत मुद्दामा पनि वीराटनगरबाट म्यादमा हाजिर हुन आएको झगडीयालाई बेञ्चबाट नै १० दिन भन्दा बढी दिन लगाई १५ दिनमा हाजिर हुन आएको झगडीयालाई म्याद भित्रैको भनी बयान गराई राखेको देखियो । जबकि अ.बं. ७९ नं. मा वीराटनगरबाट हाजिर हुनलाई १० दिनमात्र म्याद दिएको छ । यसरी अदालतबाट गरिने कारबाईमा विभिन्न कानूनी आधार मानी विभिन्न रूपबाट कारबाई गर्दा अदालती कारवाईमा एकरूपता नआई जनसाधारण अलमलिन जाने सम्भावना भएकोले यसै सम्बन्धमा दैलेख इ.अ. बाट भईआएको रिपोर्ट समेतमा विचार भई अब उप्रान्तलाई यस सम्बन्धमा यो बमोजिम गर्नु भन्ने निर्णय भई निर्णय भएको कुरा सारा अदालतमा तथा जनसाधारणको जानकारीको लागि सर्कुलर समेत हुन बान्छनीय देखिएकोले प्राप्त हुन आएको रिपोर्ट तथा सम्बन्धित मिसिल समेत साथ राखी पेश गरेको छु भन्ने का.मु. राजिष्ट्रारज्यूको रिपोर्ट ।
२. रिपोर्ट साथ पेश हुन आएको दैलेख इलाका अदालतको रिपोर्ट हेर्दा, अदालती बन्दोबस्तको ७९ नं. को दफा १ (क) देहाय ५ दफामा दैलेख इलाका अदालतलाई १४ दिन तोकिएको छ । दैलेखको पश्चिम, दक्षीण–पश्चिम डोटी जिल्लासँग जोडिएको भूगोलबाट देखिन्छ । दैलेखको सदरमुकामबाट यस जिल्लाको दक्षिण–पश्चिम सिमाना करिब ३६ कोष पर्ला । त्यस ठाउँबाट काठमाडौं जान र काठमाडौंबाट त्यस ठाउँमा जान अन्दाजी १७२ कोष पर्न गै ४३ दिन लाग्छ भने १४ दिन म्याद रहनु अव्यवहारिक प्रष्टै छ । बही बुझ्नेको १९ नं. मा पछि थपघट भएको इलाकाको निमित्त र प. १ नं. इलाकाको निमित्त यती दिन भन्ने उल्लेख भएको देखिदैन । तर यो महल बही बुझ्नेको कामको निमित्त हुनाले अरू कारबाईलाई लागू हुने देखिदैन । ठाउँ ठाउँमा नयाँ हुलाकहरू रहेका छन । त्यसको निमित्त बही बुझ्ने महलको सो १९ नं. मा थप हुलाकको बारे थप भएको देखिंदैन । नेपालको यो जिल्ला यो थुम गाउँबाट यती कोष भन्ने कुनै कानूनी आधार भएको देखिंदैन । बाटाको म्याद कायमगर्दा अदालतहरूबाट विभिन्न तरीकाबाट गरेको बुझिन्छ । अ.बं.७९ नं.१ (क) र बही बुझ्नेको १९ नम्बर ब्यवहारीक रूपमा संशोधन गर्ने तर्फ नेपाल अधिराज्यका गाउँ थुमथुम सम्मको कोष संख्या निर्धारित गरियोस । बाटाको म्याद कायम गर्दा यो ठाउँबाट यो ठाउँ यती कोष भन्ने सरकारी निर्णय नभएसम्म यस ठाउँबाट यो ठाउँ यती कोष फरकमा छ भन्ने कुरा कारणीले दर्खास्तमा खुलाई साथै त्यस कुरा साँचो हो भन्ने कमसेकम २ जना साक्षी लेखी सो व्यक्ति साथै ल्याए सोही व्यक्ति र नल्याय अरू सरजमिन बुझी ती सरजमिनले तोकिएको कोषको हिसाब गरी अ.बं. ११९ नं. बमोजिम म्याद कायम गर्नु भन्ने सर्कुलर हुन, जो आदेश भन्ने समेत उक्त रिपोर्टको व्यहोरा टिप्पणी पेश हुँदा कानूनी व्याख्यासम्बन्धी कुरा पर्न आएकोले फुल बेञ्चमा पेश गर्ने भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट ०१९।८।५ मा टिप्पणी सदर भएको रहेछ ।
३. उपरोक्त रिपोर्ट जिकीर बमोजिम अड्डा अदालतबाट मुद्दा मामिला विषयमा जारी भएको म्यादमा हाजिर हुन आउनेलाई बाटाको म्याद कुन कायम गर्ने ? भन्ने निर्णय निमित्त आएको यसमा विचार गर्दा, अ.बं. ७९ नं. को दफा ५ को देहायमा “नेपाल जग्गा जग्गामा हाजिर हुने र जग्गाबाट नेपाल हाजिर हुनाके दिन” भनी उल्लेख भई यो इलाका के यती दिन भन्ने लेखिएकाले सो म्याद के को लागि निर्धारित गरिएको रहेछ भन्ने तर्फ हेर्दा, सो अ.बं. ७९ नं. को दफा १ मा जहान थलिएको वा आफू बिरामी परी मुद्दा परेको अड्डामा हाजिर हुन नसक्ने भएमा यस नम्बरको ५ दफामा लेखिए बमोजिम बाटाका म्याद राखी भनी यो यती दिन अर्जी गर्न पाउँछ भन्ने र दफा १ (क) र अरू २,३,४ दफामा म्याद समन इतलायनामा वा तारिख लिएका मानिस सो दफामा उल्लेखित कारण परी हाजिर हुन नसकेकोमा सो भएको निस्सा समेत लिई सो दफाले तोकिएको म्याद बाहेक ऐन बमोजिम बाटाको म्याद भित्र हाजिर हुनु भन्ने समेत हुँदै आई दफा ५ मा ‘माथि दफा दफामा लेखिए बमोजिमको कारण परी अर्जी खबर पठाउँदा रेलको बाटो गरी गरी आउनु हुनेमा सो समेतको हिसाब भई देहाय बमोजिमको म्याद बाँकी राखी मोफसलमा भएका इलाकाबाट अर्को इलाकामा हाजिर हुन पर्नेले रेल चढी हिंड्न हुनेमा रेलमा लाग्ने दिन र पैदल बाटाको ऐन बमोजिम लाग्ने दिनसम्म बाँकी हुने गरी अर्जी खबर पठाएकोमा तारिख थामिन सक्तछ’ भन्ने उल्लेख भएबाट सो अ.बं. ७९ नं. मा तोकिएको दिन मुख्यतः अर्जी पठाउने व्यवस्थाका लागि मात्र हो भन्ने देखिन्छ ।
४. बही बुझ्नेको १९ नं. मा “नेपालबाट जग्गा जग्गामा हुलाक आउन जान र जग्गा जग्गाबाट नेपालमा भारी समेत लिई मानिस आउन जानाके र कागज तैयार गर्नाके समेत तपसील बमोजिमको म्यादको ऐन” भनी तपसील खण्डमा म्याद तोकिएकको । सो म्याद केवल बही बुझ्नेको निमित्त निर्धारित गरेको देखिएबाट एक निश्चित कामको निमित्त कायम गरेको म्यादलाई अर्को विषयको निमित्त लागू गर्न उचित देखिँदैन ।
५. तसर्थ, देशको आवागमनको साधन भौगोलिक स्थितिलाई समेत ध्यानमा राख्दा यस विषयमा एकरूपता ल्याउनको लागि पूर्णतः अ.बं. ११९ नं. का ऐनमा नै आश्रित भई सो बमोजिम बाटाको म्याद हिसाव गर्नु पर्ने स्पष्ट र व्यवहारिक देखिन्छ । हुलाकबाट वा अन्य कुनै सरकारी स्तरबाट खुल्न नआएको कोष, सरजमिनबाट खुलाई कायम गर्नु पर्दछ ।
६. अतः यो निर्णयको सर्वसाधारणको जानकारीकोलागि र यसै बमोजिम हुन, गर्नको निमित्त मातहत अदालत समेतमा सर्कुलर गर्न र रजिष्ट्रार अफिसमा समेतमा सर्कुलर गर्न रजिष्ट्रार अफिसमा सूचना दिनु ।
इति सम्वत् २०१९ साल मार्ग १० गते १ रोज शुभम् ।