June 19, 1962
Created by nepalarchives

निर्णय नं. १६७ – लेनदेन

निर्णय नं. १६७            ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स. ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेद्रबहादुर सिंह दे.फु.नं. २८ निवेदक,...

निर्णय नं. १६७            ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री स. ईश्वरीराज मिश्र

न्यायाधीश श्री धनेद्रबहादुर सिंह

दे.फु.नं. २८

निवेदक, प्रतिवादी : एस.एस.पी. कुम्भसिं गुरुङ

विरुद्ध

विपक्षी, वादी : जेजुनाथ पाध्या

मुद्दा : लेनदेन

(१)   अ.बं. १३६ नं. का ऐनबमोजिम रीतपूर्वक साक्षी राखी म्याद तामेल गर्नुपर्ने । म्याद पठाउँदा एकाघरसँगको दुइजना भए छुट्टा छुट्टै पठाउनु पर्ने ।

            निज नरजंगका नाउँको म्याद हेरिएमा ले.क.कुम्भसिं गुरुङ १, निजको एकाघरसँगको नरजंग गुरुङ १ समेत २ जनाका नाउँको इतलायनामा भनी जारी भएको म्यादमा भतिजा नरजंग बिदेश गएको भन्ने जनाई ०११।१।३ मा ले.क. कुम्भसिंले म्याद बुझी लिएको देखिए पनि म्याद पठाउँदा छुट्टा छुट्टै पठाउनु पर्ने, सो पठाएको र सो म्याद तामेल हुँदा अ.बं. १३६ नं. का ऐन बमोजिम रीतपूर्वक साक्षी समेत राखी तामेल भएको देखिएन ।

(प्रकरण नं. ६)

(२)   म्याद तामेल गर्ने अर्दलीको सहीछाप हुनु पर्ने ।

            सो म्याद पनि अ.बं. १३६ नं. का ऐनको रीतपूर्वक साक्षी राखी तामेल भएको र तामेल गर्ने अर्दलीको समेत सहीछाप परेको देखिएन ।

 (प्रकरण नं. ७)

(३)   अ.बं. १३६ का ऐनको रीतपूर्वक तामेल नभएको म्याद, म्याद गुजारेको भनी गरेको फैसलालाई मान्यता दिन नमिल्ने ।

            नरजंगका नाउँको म्याद अ.बं. १३६ नं. को ऐन बमोजिम रीतपूर्वक तामेल नभई बेरीतको तामेलीबाट म्याद गुजारेको भनी बिगो भराइ दिने गरी भएको फैसलालाई मान्यता दिन नमिलेकाले यस मुद्दामा शुरु पोखरा अदालतबाट १२।६।१८ मा अपील तेश्रा फाँटबाट ०१३।१०।५ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१७।२।१९ मा भएको फैसला सदर हुँदैन बदर हुने ठहर्छ ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय, प्लीडर दुर्गाप्रसाद उपाध्याय

वादी तर्फबाट : प्लीडर पुरेन्द्रकुमार मैनाली

फैसला

      १.     यसमा नरजंगको बाबु कुम्भसिंको दाजु जि.मु. धनकाजी गुरुङले व्यपार गर्न भनी ०५।१०।२६ मा मोरु. ११००। को कपाली तमसुक गरी लगेकोमा निज मरेकाले निजको छोरा नरजंगको भाइ कुम्भसिंलाई भन्दा भरे भोली भनी टार्ने नियत गरेकाले नालिस गरेको छु । मुद्दा किनारा हुँदा तकको व्यपार गर्न लिएकोले सयकडा १२ का दरले व्याज समेत साँवा ब्याज भराई पाउँ भन्ने समेत जेजुनाथ पाध्याको फिराद ।

      २.    ५०।६० हजारको सम्पत्ती भएको घरकै पैसाले पुगी रहेकै । कसैसँग ४ पैसा ऋण लिन नपरी वादीसँग ऋण कर्जा लिएको र तमसुक गरी दिएको समेत छैन । भजिता नरजंग बिदेश तर्फ छन । वादी झुट्टा हो भन्ने समेत र वादीबाट पेश भएको तमसुक किर्र्ते हो भन्ने समेत ले.क. कुम्भसिंको प्रतिउत्तर बयान ।

      ३.    धनकाजी गुरुङ समेतको दोहोरो दर्ता मुद्दाको प्रतिउत्तरमा लागेको निज धनकाजीको ल्याप्चे सहीछाप र तमसुकको सहीछाप मिल्न आएको र किर्र्ते भन्ने सबुद पुर्‍याउन नसकेकाले बनावटी भन्न नहुने । साहु अ. ५ नं. का ऐनले नाफा खाएको सबुद नहुदा ब्याज दसौंद र साँवा समेत भराइ दिने समेत ठहराई पश्चिम ३ नं. पोखरा अदालतले फैसला गरे उपर कुम्भसिंको अपील परी, सहीछाप जचाउँदा ख. शिवबहादुरले मिल्दैन भनी लेखी दिएकोले किर्ते ठहर्छ भनी अपील तेश्रा फाँटबाट फैसला गरे उपर वादीको अपील परेमा धनकाजीले पोखरा तहसीलमा पास गरी दिएको । असामी धनकाजी साहु दलबहादुर भएको ०५।२।१९ को लिखतको सहीछापसँग जचाउँदा मिल्छ भनी ख. शिवबहादुर, माष्टर दुर्गाप्रसादले लेखी दिएकोले लिखतको सही धनकाजीको होइन । किर्ते रहेछ भन्न नभई सद्दे नै ठहर्न आएकोले किर्ते ठहराएको अपील तेश्राको राय नमिलेकाले झगडीया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चबाट आदेश भई डिभिजन बेञ्चमा पेश हुँदा शुरु अदालतको इन्साफ सदर गरेको सिंगलबेञ्चको राय मुनासिव भन्ने समेत १७।२।१९।४ को डिभिजन बेञ्चको फैसला ।

      ४.    चित्त बुझेन । दोहर्‍याई पाउँ भनी कुम्भसिंले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवाल बमोजिम गर्नु भन्ने ०१७।११।२५ को हुकूम प्रमांगी ।

      ५.    तारिखमा रहेका दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी निबेदक तर्फबाट रहनु भएका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्याय, प्लीडर दुर्गाप्रसाद उपाध्यायको र वादी तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर पुरेन्द्रकुमार मैनाली समेतको बहस सुनी विचार गर्दा, इन्साफको निर्णय दिनु पर्छ कि भन्नलाई वादी जेजुनाथले प्रतिवादी कुम्भसिं गुरुङ, नरजंग गुरुङ १ समेत जना २ का नाउँमा फिरादपत्र दिएको र उक्त प्रतिवादी जवान २ मध्ये कुम्भसिंको प्रतिवादी परी सद्दे किर्तेतर्फ बयानसमेत भएको देखियो ।

      ६.    नरजंगका हकमा निजको प्रतिवादी नपरेको र निजका नाउँको म्याद कानूनको रीतपूर्बक नभएको भन्ने हाल बहसमा जिकीर भएकाले त्यस तर्फ विचार गर्दा, मिसिल सामेल रहेको निज नरजंगका नाउँको म्याद हेरिएमा ले.क. कुम्भसिं गुरुङ १ निजको एकघरसँगको नरजंग गुरुङ १ समेत २ जनाका नाउँको इतलायनामा भनी जारी भएको म्यादमा भतिजा नरजंग बिदेश गएको भन्ने जनाई ०११।१।३ मा ले.क. कुम्भसिंले म्याद बुझी लिएको देखिए पनि म्याद पठाउँदा छुट्टा छुट्टै पठाउनु पर्ने, सो पठाएको र म्याद तामेल हुँदा अ.बं. १३६ नं. का ऐन बमोजिमको रीतपूर्वक साक्षी समेत राखी तामेल भएको देखिएन ।

      ७.    त्यस पछि नरजंगका नाउँमा जारी भएको ३ महिने म्याद ११।२।२९ मा तामेल भएकोमा मेरा एकाघरको भतिजा नरजंगका नाउँको ३ महिने म्याद बुझी लियौं भनी कुम्भसिंले बुझी लिएकोसम्म देखिन्छ । सो म्याद पनि अ.बं. १३६ नं. का ऐनको रीतपूर्बक साक्षी राखी तामेल भएको र तामेल गर्ने अर्दलीको समेत सहीछाप परेको देखिएन ।

      ८.    नरजंगका नाउँको म्याद अ.बं. १३६ नं. का ऐन बमोजिम रीतपूर्बक तामेल नभई बेरीतको तामेलीबाट म्याद गुजारेको भनी बिगो भराई दिने गरी भएको फैसलालाई मान्यता दिन नमिलेकाले यस मुद्दामा शुरु पोखरा अदालतबाट १२।६।१८ मा अपील तेश्रा फाँटबाट ०१३।१०।५ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट १७।२।१९ मा भएको फैसला सदर हुंदैन । बदर हुने ठहर्छ।

      ९.    प्रतिवादी ले.क. कुम्भसिंका हकमा प्रतिवादी परी बयान भईसकेकाले सोही प्रतिवादी बयान कायम गरी नरजंगका हकमा ऐन बमोजिम रीतपूर्वक म्याद तामेल गरी गराई ऐन सवाल बमोजिम तहकिकात किनारा गराउनु पर्ने देखियो ।

      १०.    लेखिएबमोजिम तहकिकात गराउन शुरु अदालतमा पठाउनलाई यो मुद्दा धेरै वर्ष देखि चलिआएको देखिएकोले जिल्ला अदालत पोखरा भए पनि ऐनबमोजिम जो बुझ्नु पर्ने बुझी ऐनबमोजिम किनारा गरिदिनु भनी तारिखमा रहने दुबै पक्षलाई तारिख तोकी काठमाडौं जिल्ला अदालत पहिला फाँटमा पठाई अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफखण्डमा लेखिएबमोजिम ठहरी फैसला बदरभएकाले १७।२।१९।४ का सर्वोच्चअदालत डिभिजन बेञ्चका फैसला र १७।६।२९।६ का लगतले गर्नेगरेको देहायको कलमको लगत काटीदिनु भनी का.दे.त. मा लगत दिनु ………१

शुरु पोखरा अदालतका १२।६।१८ का फैसलाबमोजिम कायम गर्ने गरेको देहायको कलम १, प्र.प. ३ नं. कास्की मौजे पुरदी टुनार गाउँ बस्ने ले.क. कुम्भसिं गुरुङके जम्मा दण्ड ने.रु. ५५३। वादी ऐजन ऐजन पुम्दी खारा बस्ने जेजुनाथ पाध्या के दण्ड ने.रु. ५।१, ऐजन ऐजन के प्र. कुम्भसिं गुरुङ नरजंग गुरुङबाट भरी पाउने बिगो मो रु. १८५३।, जम्मा बिगो रु. २२००। हुनेमा उक्त १८५३। का हकमा माथि लेखी सकेको हुनाले बाँकी रु. ३४७। पनि वादीले भरी पाउने हुँदा सो ने.रु. ३४७ समेत थपी ५ वर्ष भित्र वादीको दर्खास्त परेमा दसौंद विसौद लिई भराउँने भनी लगत कस्ने भनेको बिगो नेरु ३४७ को कलम २

उपरोक्त बेरीतको म्यादलाई मान्यता दिई किनारा गर्ने देहायको मानिसको रेकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा लेखी पठाई दिनु ……………….२

पोखरा अदालतका डि. हाल ना.सु. नारायणप्रसाद काठमाडौं जि.अ. दोश्रा फाँट १ पोखरा अदालतका बिचारी शेरबहादुर थापा १, अपील तेश्रा फाँटका डि. दिललीबहादुर हाल इ. न्या. ललितपुर इलाका अदालत १

नियम बमोजिम मिसिल बुझाई दिनु …………………३

 

 

इति सम्वत् २०१९ साल आषाढ ५ गते रोज शुभम् ।