निर्णय नं. १६६ – आयस्ता दिलाइ पाउँ
निर्णय नं. १६६ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ६७ निवेदक, वादी...
निर्णय नं. १६६ ने.का.प. २०१९
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. ६७
निवेदक, वादी : गुणशम्शेर थापा क्षेत्री मरी मुद्दा सकार गर्ने पद्मकुमारी थपेनी क्षेत्रीनी
विरुद्ध
विपक्षी, प्रतिवादी : मे.क.टेक शम्शेर थापा क्षेत्री समेत
मुद्दा : आयस्ता दिलाइ पाउँ
(१) विधुवा अंशधनको १ नम्वरको १ र २ दफामा भिन्नता–कस्तो परिस्थितिलाई उपरोक्त दफाहरूले दर्शाएको ?
विधवा अंशधनको १ नं. मा विधवा स्वास्नी मानिसले आफ्नो हक पुग्ने सम्पत्तिमा तपसीलमा लेखिए बमोजिम गर्न पाउँछ भन्ने र तपसीलको १ दफामा ४० वर्ष पुगेकोले आफ्ना वा सौतेनी छोरा र एकाउदरबाट जन्मेको जेठाज्यू र देवर छन् भने लोग्ने छँदैको हिसावसँग हेरविचार गरी राखेको भए छोराहरूको मन्जूरी नभए पनि आफ्नो हक पुग्नेमा ३ खण्डको १ खण्ड, ४० वर्ष नपुगेको भए ४ खण्डको १ खण्ड आफ्नो खुश गर्न पाउछे । मन्जूरी लिई गर्छे भने सबै गर्न पाउछे । लोग्ने छँदैका हिसावसँग हेरविचार गरी राखेको छ भने ४० वर्ष नपुगी भए चलमा सबै अचलमा ३ खण्डको १ खण्डसम्म हकवालाको मन्जूरी नभए पनि आफ्नो खुश गर्न पाउँछ भन्ने र २ दफामा ३ पुस्ताका हकवाला मात्र छन् आफ्नो वा सौतेनी पट्टीका छोराहरू पनि छैनन् भने त्यस्तो अवस्थालाई मात्र लिएर उल्लेख भएको देखियो ।
(प्रकरण नं. २७)
(२) एकाउदरबाट जन्मेको जेठाज्यू, देवर भएमा विधवा स्वास्नी मनिसले विधवा अंशधनको १ दफा बमोजिम गर्नु पर्ने र सो को २ दफा लाग्न नसक्ने । २ दफा कस्तोमा लाग्ने ?
वादी पक्षबाट बकसपत्र गरी दिने भनेका ईश्वरीकुमारीको आफ्नो छोरा र सौतेनी छोरा नभए पनि एकाउदरबाट जन्मेका जेठाज्यू र देवरहरू समेत भएको दुवै पक्षका लेखाईबाट देखिन आएकाले एकाउदरबाट जन्मेका जेठाज्यू देवरहरू भएको अवस्थामा त्यस्तो बिधुवा स्वास्नी मानिसले उक्त १ दफाबमोजिम गर्नु पर्ने प्रष्ट लेखिएको देखिन्छ ।
(प्रकरण नं. २८)
आफ्ना र सौतेनी छोरा वा एकाउदरबाट जन्मेको जेठाज्यू र देवरहरू नभई अरू ३ पुस्ता भित्रको हकवाला मात्र भएको अवस्थालाई उक्त २ दफा लागू हुने देखिएको हुनाले यस मुद्दामा सो २ दफा लागु हुन्छ भन्न मुनासिव देखिएन ।
(प्रकरण नं. २९)
(३) अचल सम्पत्ति लोग्नेको पालाको नभै जिज्यू बाजेको आर्जन देखिए विधवाले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने ।
अचल लोग्नेका पालाको भन्ने दाबी लिन नसकेको र जिज्यू बाजेको आर्जन भन्ने मिसिलमा उल्लेख भईरहेको हुनाले र बाजेका आर्जनको रहेछ भने माथी लेखिएका रीतसँग उठाउन पाउनेमा विधवा अंशधनको १ को ३ ले अचलका आधी उठाउन पाउँछ भन्ने लेखिएको हुँदा ईश्वरीकुमारीले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने ठहर्छ ।
(प्रकरण नं. ३१)
फैसला
१. काइँली मुमा ईश्वरीकुमारीको सन्तान नहुँदा उहाँको जो भएको श्रीसम्पत्ति धनमाल घर खेत समेत जम्मै काज–कृया गरी मेरा शेष पछि खानु भनी मलाई ०७९।९ मा बकसपत्र लेखी दिनु भएको । सो बकसपत्र पास नहुंदै उहाँ पर्लोक हुनु भएको । हकदार अन्यायीहरूले सो कागज पास गरी नदिएबाट पास गराइ पाउँ भन्ने मेरो नालेस परी रा.का.दे.दो. बाट पास गरी दिने ठहराई ०१०।८।१० मा र सो सदर गरी प्र.न्या. बाट ०१२।८।२ मा फैसला भई ०१३।१।३१ मा सो लिखत पास भएको । लिखत पास भईसके पछि ७ साल देखिको आयस्ता दिलाइ अंश छुट्याई पाउँ भन्ने नालेस परेमा कोर्ट फी नराखेबाट ८ खण्डको १ खण्ड भन्ने बोली राखी यसबाट भरी भराउ नगर्ने, अंश तर्फ वादीको हक दावा नपुग्ने भनी दे.पै. ले छिनेमा अपील परी अ.ते. बाट ८ खण्डको १ खण्ड भनी लेखेमा बढी बुँदा लेखेको भनी दे.पै. लाई जरिवाना भएको र अब ७ साल देखीको आयस्ता प्रतिवादीहरूले नदिई रोक्का गरी राखेकोले सप्तरी रौतहट, मोरंग समेत ३ मौजाको ७ साल देखी १३ साल तक वर्ष ७ को मैले पाउने आयस्ता कं.रु. २३९९३ अन्यायवालाहरूबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको ०१४।९।२४ को गुणशम्शेरको वादी ।
२. बकसपत्र पास मुद्दामा बकसपत्र सोझै पास गरी दिनु भन्ने फैसला भएको नभै ऐनले उठाउन पाउने जति भन्ने बोली थपी पास गरी दिने भन्ने फैसला भएको हो । पछि वादीले बकसपत्र बमोजिमको अंश छुट्याई पाउँ भनी नालेस दिएकोमा सोझै कोर्ट फी राखी नालेस गर्नु भन्ने मात्र फैसला भएको नभै ऐनले उठाउन पाउने जति भन्ने बोली थपी बकसपत्र पास भएकोले विधवा अंशधनको १ नं. को १ दफाले ४ खण्डको १ खण्ड ऐजन ३ दफाले बाजेका आर्जनमा त्यसको आधी ८ खण्डको १ खण्ड पाउने देखिएकोले त्यसको फाँट खोली आयस्ताको अंक किटानी गरी नालेस गरेमा ठहरे बमोजिम हुँने हुदा सो बमोजिम नालेस गर्नु भनी सुनाई दिने भन्ने दे.पै. बाट फैसला भएको । सो फैसला उपर वादीको अपील परेमा लिखत पास हुँदा ऐनले दिन पाउने भन्ने बोली थपी पास भएकाले बकसपत्रका नाताबाट अंशमा वादीको दावा नपुग्ने भई वादीले आफुले पाउने सम्पत्तिको फाँट खोली उजुर नगरेकोले बकस दिनेले विधवा अंशधनका ऐन बमोजिम उठाउन पाउने सम्पत्ति अनुसार वादीले पाउने र यो यस्का आर्जनको यती यती यो यो चिज पाउन पर्ने भनी फाँट खोली वादीले उजुर गर्नु पर्ने हुँदा ८ भागको १ भाग पाउने भनी शुरुले बढी बुँदा लेखेको र अरू सुरुको मुनासिव भनी अ.ते. बाट फैसला भएको । सो फैसला उपर वादीले अपील गर्न नसकेकी । सो फैसला बमोजिम यो यती पाउनु पर्ने भनी फाँट खोली नालेस गर्नु पर्नेमा नखुलाई ७ साल देखी १३ साल तकको आयस्तामा दावी गरेको र आयस्ता भनेको बालीको बिगो हो । बालीको बिगोमा ३ वर्षको भन्दा बढीमा ऐनले दावा नै नलाग्नेमा ७ वर्षको बालीको बिगो कसी राखेको र वादीले जग्गामा दावा लिएको देखिंदैन । बिगोमामात्र दावा गरेको देखिन्छ । वादीको नालेस लाग्नै नसक्ने हुँदा खारेज गर्नु पर्ने । आयस्ता बालीको हकमा पनि मधेशमा राखेका कारिन्दाहरूबाट वादी जिल्लैमा गई आफुले नपाउने । बढी आयस्ता जबरजस्ती लिने खाने गरेकाले वादी उपर हामीले नालेस गर्नुपर्ने भईरहेको । हाम्रो जग्गा आफ्ना पालाको नभै बाजेका आर्जनको भएकाले बकस दिनेका अंशका ८ खण्डको १ खण्ड पाउछौं । आफु आफु मिली छुट्याई लिउँ दिउँ भनी बराबर भन्दा वास्ता नगरी झुट्टा नालेस दिएको हो । वादीका दावा बमोजिमको बिगो हामीले तिर्नु पर्ने होइन भन्ने समेत व्यहोराको ०१४।११।१४ को क.प. मान शम्शेर ले.क. टेक शम्शेर, पूर्णकुमारीको प्रतिवादी ।
३. काईली मुमा ईश्वरीकुमारीका सन्तान नहुँदा वादीलाई निजले आफ्ना घरमा लगी राखी विवाह दान समेत गरी उहाँको जो भएको श्रीसम्पत्ति धनमाल घर खेत जम्मै काज–कृया गरी मेरा शेषपछि खानु भन्ने ७।९।९ मा वादीलाई धर्मपुत्रको बकसपत्र लेखी दिएकोमा सो लिखत पास नहुँदै उहाँ पर्लोक हुनु भएको र हामीहरूलाई पास गरी देउ भनी बराबर भन्दा मुख्य जानीफकार टेक शम्शेर समेतले सहिछाप गरी नदिएकाले टेक शम्शेरले सहिछाप गरेपछि हामी समेतले सहिछाप गरी दिउँला भनी बुबा कुबेर शम्शेरले भनेका र टेक शम्शेर समेतले सहिछाप गरी नदिंदा वादीले नालेस दिएकोमा सो बकसपत्र पास हुने ठहराई प्र.न्या. लगायतबाट फैसला भई लिखत ०१३।१।३१ मा पास समेत भई सकेपछि वादीले ७ साल देखीको आयस्ता मेरो भाग दिनुस् भनी टेक शम्शेर र हामी समेतलाई भन्दा वादीमा लेखिएका वीराटनगर, रौतहट, सप्तरीका हाकिमसँग साल बसाल उठाई टेक शम्शेरले लिईराखेको हुँदा वादीको आयस्ता हिसाव गरी दिउँ भन्दा तँलाई के वास्ता ? भनी टेक शम्शेरले भनेकाले मैले भाग हिसाव बण्डा दिएर नहुने । प्रतिवादीहरू जम्मा भई वादीलाई आयस्ता नदिने सल्लाह गरेछन र वादीले आयस्ता दिलाई ईश्वरीकुमारीको भाग छुट्याई पाउँ भनी नालेस गरेछन् । दे.पै.ले अंशमा दावा नपुग्ने । आयस्ता तर्फ कोर्ट फि नराखेबाट समेत ८ खण्डको १ खण्डमात्र पाउने भन्ने फैसला भएपछि वादीको अपील परी अ.ते. बाट ८ खण्डको १ खण्ड भन्ने बोली राखेमा देवानीलाई जरिवाना गरी वादीको लिखत बकसपत्र बमोजिम जम्मै पाउने भएकोमा प्रतिवादीहरूले नदिएको र सो आयस्ता मेरो जिम्मामा नरहेको सो ३ मौजाको आयस्ता टेक शम्शेरले उठाई लिएको हुँदा आयस्तामा निजहरूलाई नै पक्राउ गरी निजैहरूबाट उपर होस् भन्ने समेत व्यहोराको ०१४।११।३० को बटुकशम्शेर थापाको प्रतिवादी ।
४. गुणशम्शेरको हक छ, छैन थाहा छैन । ईश्वरीकुमारी समेत ५ जनाको गोश्वारा रौतहट मौजाको तहसिल गर्ने काममा ०९ साल पौष महिनामा भर्ना भई असुल भईआएको आयस्तामा २ भाग टेक शम्शेरले १ भाग कुवेर शम्शेरले १ भाग मान शम्शेरले १ भाग ईश्वरीकुमारीले १ भाग पूर्णकुमारीलाई बुझाई आएको । ईश्वरीकुमारी ७ सालमा मरेकाले निजको भाग टेक शम्शेरले नै साल सालै लिने गरेको । अरूको भाग आफु आफुले नै लिने गरेका छन । बुझाएको निस्साका हकमा बैंक मार्फत पठाएकोमा बैंकको रसिद र त्यही ल्याइ बुझाएकोमा भरपाई गराएको छु । सो मौजामा सालमा यती आयस्ता हुन्छ भनी खुलाई बयान गर्न सक्दिन । ७।८ सालमा मैले काम नगरेकाले थाहा छैन । ९।१०।११।१२।१३ सालको आयस्ता बुझाएको भरपाई मौजामा भएकाले पछि दाखिल गर्ने छु । ७।८ सालमा रेशमीदत्तले काम गरेको हो । ईश्वरीकुमारीको भाग टेक शम्शेरलाई दिनु भनी मान शम्शेर, पूर्णकुमारी समेतले मलाई दस्तखत गरी दिएकोले टेक शम्शेर, मान शम्शेरलाई बुझाएको हुँ । दस्तखत खोजी भएमा दाखिल गर्ने छु भन्ने समेत व्यहोराको ०१५।५।१७ को अमिरमानको बयान ।
५. म ८ साल बैशाख १ गते देखी बहाल भएकोले मेरो पालाको ८।१।१ गते देखि १३ साल तकको बालीका उब्जामा ७ सालको आयस्ता बाँकी रु. १००। साल ८।२।३१ मा मान शम्शेरलाई बिमाद्वारा गएको । ८ सालको आयस्ता कं.रु. २८५० मध्ये ८।६।१९ गते मे.कं. टेक शम्शेरलाई बिमाद्वारा गएको । रु. ५० साल ९।१।१३ मा ईश्वरीकुमारीको भाग कर्जामा भनी नरप्रताम शम्शेरलाई गएको । रु. १३२२। ।. र ९।१२।६ मा टेक शम्शेर कहाँ दाखिल भएको । १४७७। ।.९ सालको आयस्ता कं.रु. १४१८ मध्ये ०९।१२।६ मा टेक शम्शेर कहाँ दाखिल भएको । रु. ९१८ र ०१०।१।१५ मा चूडामणि शम्शेर कहाँ वीरगन्ज बैंकद्वारा पठाएको । रु. ५००, ०१० सालको आयस्ता कं.रु. १५०० मध्ये सवै ११।२।१८ मा गुणशम्शेर कहाँ दाखिल भएको । ११ सालको आयस्ता रु. ४५० मध्ये ११।६।१२ मा टेक शम्शेर कहाँ दाखिल भएको । रु. ३०० साल १२ को आयस्ता रु. ९९० मध्ये मान शम्शेरलाई पठाएको । १०० कुवेर शम्शेरलाई पठाएको ८००† १३ सालको आयस्ता २००० मध्ये मान शम्शेरलाई पठाएको रु. १०० गुणशम्शेरलाई पठाएको । रु. ४२५ टेक शम्शेरलाई पठाएको । रु. १४७५ दाखिल भएको हो भन्ने समेत व्यहोराको सप्तरी मौजाको मु. गणपत्तिलाल कायस्तको १५।६।३ को कागज ।
६. ईश्वरीकुमारीले बकसपत्र गरी दिएको कुरा यहाँबाट केही देखिँदैन । केदार शम्शेरको छोरा कुबेर शम्शेर, मान शम्शेर, टेक शम्शेर अरू नाउँ याद नभएको २ भाइ र मुमा समेत गरी ६ जनाको ६ भाग गरी केदार शम्शेर पर्लोक भएपछि कुवेर शम्शेरका नाउँमा र उहाँ पनि पर्लोक भएपछि टेक शम्शेरका नाउँमा जग्गा जिमिदारी दर्ता भई ६ अंश लागेको हो । कुवेर शम्शेर छँदै देखी उहाँ १ जनाको अलग्गै उहाँकै नाउँमा र अरू ५ अंशीको चाहि टेक शम्शेरका नाउँमा आम्दानीहरू पठाई दिने गरेको । स्याहा श्रेस्ता पनि ५ जनाको एउटा र कुवेर शम्शेरको एउटा श्रेस्ता टेक सम्शेका तहविल नक्सालमा पठाउने गरेको उहीं होला । बुझे जाहेर हुने छ । के कति आयस्ता आउने गरेको त्यो कुरा सम्झना भएन भन्ने समेत व्यहोराको हा.मु. लेखप्रसादको कागज।
७. रौतहटको रोहुवा मनौलीय समेत मौजा ३ साल देखी १३ साल तकको जम्मा आयस्ता रु. २४०१६५ मध्ये ईश्वरीकुमारीको फाँटको आयस्ता रु. ४०२७।।. मध्ये मान शम्शेर जिम्मापटक पटक गरी रु. १९०० टेक शम्शेर जिम्मा । २०२७।।. मान शम्शेरको छोरा शम्भु शम्शेर जिम्मा । रु. १०० समेत जिम्मा रहन गएको फाँट खुलाइ दिएको छु भन्ने समेत व्यहोराको हा.मु. अमिरमानको ०१५।७।१८ को दर्खास्त ।
८. ०७ साल देखि १३ साल सम्मको आयस्ताका श्रेस्ता ईश्वरीकुमारी समेत कसैको अंश फाँट नछुटेको हुनाले कैले कुवेर शम्शेरमा कैले मान शम्शेर, कैले टेक शम्शेरमा समेत पठाई सकेको छु । रूपैयाँ पठाएको भरपाईको हकमा मालिकहरूले भरपाई दिएका छैनन् । श्रेस्तामा खर्च लेखी दिएको छु । श्रेस्ता मालिकहरूकहाँ छ । म सँग कुनै श्रेस्ता भरपाई छैन भन्ने समेत व्यहोराको हा.मु गणपति लालको कागज ।
९. ७।८ सालको आयस्ता बारेमा सो मौजाको असुल तहसिल समेतको काम साक्षी हरीप्रसादले गरेकाले निजै बुझेमा यथार्थ हुने भन्ने समेत व्यहोराको रेसमीदत्तको कागज ।
१०. मोरंगको ७ साल देखी १३ सालतकको आयस्ता ईश्वरीकुमारीको रु. ४५५० भन्ने समेत व्यहोराको ०१५।११।१२ को प्र.टेक शम्शेर समेतसँगको नक्साल गोश्वारा तहबिल समेतको जबाफ ।
११. ईश्वरीकुमारीका बकसपत्र बमोजिम निजको भागको आयस्ता वादी दाबी बमोजिम जम्मै पाउने वा ८ खण्डको १ खण्ड मात्र पाउने के रहेछ ? भन्ने तर्फ विचार गर्दा, प्रमाण निमित्त आएको वादी प्रतिवादीको बकसपत्र लिखत पास मुद्दाको मिसिलबाट ऐनले दिन पाउने भन्ने बोली थपी पास गरी दिने भन्ने अ.ते. बाट ०१०।८।१० गते गरेको इन्साफ सदर गरी प्र.न्या. सिंगलबेञ्चबाट १२।८।१४ गते फैसला भई सो बमोजिम पास गरी दिनु भनी का.पो. रजिष्ट्रेशनलाई पुर्जी गरी दिने गरी यस अड्डाबाट पर्चा भएको देखिएको र अंश आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा १३।१।३१ मा लेखिए बमोजिम ऐनले दिन पाउने जति भन्ने बोली सिरमा लेखि पास भएको बकसपत्र समेत पेश भएको देखिएको । सो बकसपत्र लिखतमा अरूले हेरबिचार नगरेको भन्ने कुरा नलेखिएकोले हेरविचार गरेकै देखिने हुनाले ईश्वरीकुमारीका लोग्नेका आर्जनको नभै ससुराकै आर्जनको भन्ने देखिन आएकोले अचलमा विधुवाका अंशधनको १ नं. का १।३ दफाले ईश्वरीकुमारीले ८ खण्डको १ खण्ड सम्म आफूखुशी गर्न पाउने हुनाले ८ खण्डको १ खण्ड मात्र वादीले हक पाउने हुनाले सप्तरीको जम्मा आयस्ता कं.रु. १०६३७।।ऽ।। र रौतहटको जम्मा आयस्ता रु. ५३३८।।. र मोरंगको आयस्ता रु. ४५५० समत जम्मा तिन मौजाको आयस्ता कं.रु. २०८२६ऽ।। को ८ खण्डको १ खण्ड वादीले पाउने देखिएकोले वादीले बुझी लिएको कं.रु. १९५० कट्टी गरी बाँकी नपुगमा टेक शम्शेरबाट रु. ९२९।।।ऽ। र मान शम्शेरबाट रु. ५६–३ वादीले भरी पाउने ठहर्छ भन्ने समेत रा.का.दो. को ०१५।१२।४ को फैसला ।
१२. बकसपत्रमा धर्मपुत्रको युक्ति परेकै । त्यसबाट दावा बमोजिम ईश्वरीकुमारीका अपुतालीमा पुरा हक भएकोले दावा बमोजिमको बिगो दिलाई दिनु पर्नेमा ८ खण्डको १ खण्ड पाउने गरी फैसला गरेकोमा चित्त बुझेन भन्ने समेत व्यहोराको गुणशम्शेरको मुद्दा सकार गर्ने पदमकुमारीको अपील ।
१३. ईश्वरीकुमारीको हकबाट वादीले ८ खण्डको १ खण्ड मात्र पाउने हुन् । नेपालको जम्मै आयस्ता ईश्वरीकुमारीका भागको वादीले उठाई खाएको छन । त्यसबाट वादीले ८ खण्डको १ खण्ड पाउने हुनाले सो निजबाट खुलाइ कट्टी मट्टी गरी पाउँ भन्ने समेत टेक शम्शेरको कागज।
१४. मेरा दावा बमोजिम पाउनु पर्ने ठिक हो । हाकिम कारिन्दाले दिएको फाँट धेरै फरक छ । सक्कल श्रेस्ता बुझी दावा बमोजिमको आयस्ता भराई ईश्वरीकुमारीका भाग सोरै आना छुट्याई पाउँ भन्ने समेत व्यहोराको वादीको वा. समुद्र शम्शेरको कागज ।
१५. अपीलाटले धर्मपुत्रको हैसियतबाट जम्मै हक भईसकेको भनी जिकिर लिएको । धर्मपुत्रको हैसियतबाट वादी जिकिर भएको नदेखिएको र ०१४।१।५ गते अ.ते. बाट सदर भई फैसला भएको र सो मुद्दामा शुरुले धर्मपुत्रको नाताले जम्मै वादीको दावी पुग्न नसक्ने, २ वर्ष भित्र उजुर नगरेको भनी फैसला गरेको देखिएको र यसमा बकसपत्रका नाताले शुरुले विधुवा अंशधनका १ नं. को ४ दफाले पाउने ठहराएको ८ खण्डको १ खण्डको इन्साफ शुरुको मनासिव भन्ने अपील तेश्राको १६।७।२६ को फैसला ।
१६. धर्मपुत्र बकसपत्र पाएका नाताले ईश्वरीकुमारीको अंश भागको जग्गा जमिन समेतका आयस्तामा मेरो हक पुग्ने । सन्तान हुनेले पनि धर्मपुत्र राख्छ भने अरू अंशियार सरहको अंश पाउने ऐनमा व्यवस्था छँदाछँदै विधवा अंशधनको ऐन लगाई ८ खण्डको १ खण्ड हुनु पर्ने होइन । फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पद्मकुमारीको अपील ।
१७. लिखतपास मुद्दाको रेकर्ड मिसिल साथै राखी यो मुद्दा पेश गर्नु भन्ने म.उ.अ. डिभिजन बेञ्चको १७।८।२७ को आदेश ।
१८. वादीको र क.प. मान शम्शेर समेतको प्रतिवादीमा प्रमाण लेखिएको बकसपत्र पास गरी दिने प्र.न्या. बाट भएको १२।८।२ को फैसला मिसिल र फाँट खुलाई नालेस दिनु भनी सुनाई दिने भनी अपील तेश्राबाट १४।१।५ मा भएको फैसला मिसिल झिकाई पेश गर्नु भन्ने म.उ.अ. डिभिजन बेञ्चको आदेश ।
१९. ७।९।९।१ मा ईश्वरीकुमारीले गुणशम्शेर थापा क्षेत्रीलाई लेखी दिंदा धर्मपुत्र राखि पालन–पोषण गरेको र तिमी भतिजाले पनि हेरविचार गरेको हुनाले म बाँचुन्जेल पालन–पोषण गरी मरेपछि काजकृया गरी मेरो हकको चल अचल तिमी भतिजाले खानु भन्ने समेत बकसपत्र लेखी दिएकोमा उक्त बकसपत्र प्रतिवादीहरूले पास गरी नदिएमा वादीको नालेस परी आखिर पास हुने ठहरी फैसला भईसकेको प्रमाण मिसिलबाट देखिन्छ । ईश्वरीकुमारीले लेखिदिएको धर्मपुत्रको बकसपत्र बदर नभै सदर भएपछि निजको हक आउने आयस्ताको भाग वादी गुणशम्शेरको मुद्दा सकार गर्ने अपीलाट पद्मकुमारीले पुरै नपाइ खण्डे पाउँछ भन्न नमिलेबाट छलफलमा प्रतिवादीहरूलाई झिकाई पेश गर्नु भन्ने म.उ.अ. डिभिजन बेञ्चको ०१७।८।५ को आदेश ।
२०. शुरुको सदर गरी गरेको इन्साफ अ.त. को मनासिव छ । हदमुनी भई छिनेको तोक तारेखमा रहेका झगडीयालाई सुनाई दिनु भन्ने समेत म.उ.अ. डिभिजन बेञ्चको ०१७।९।६ को फैसला ।
२१. मोल बिगोबाट हद मुनी हुनै नसक्ने । जग्गाको मोल बिगो ८५०६७५ हुन आउछ । त्यसबाट सर्वोच्च अदालतमा अपील दिन पाउनु पर्नेमा हद मुनी गरी फैसला गर्नु भएकोले चित्त बुझेन । अपील दर्ता गरी राम्रो कारबाइ गरिदिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत व्यहोराको पदमकुमारीको बिन्तिपत्र ।
२२. यस्मा व्यहोरा साँचो भए निबेदनपत्रमा उल्लेख भएको मुद्दा दोहर्याई हेरी ऐन सवाल बमोजिम इन्साफ जाँची किनारा गरी दिनु भन्ने हुकूम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको ०१८।९।१३ को पत्र ।
२३. यस्मा तारेखमा रहेका दुवै पक्षलाई राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पक्षबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्या, निरकुमार क्षेत्री र प्रतिवादी पक्षका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारी, प्लीडर कुलराजको बहस समेत सुनी विचार गर्दा, काँहिली मुमा ईश्वरीकुमारीको जो भएको श्रीसम्पत्ति जम्मै बकसपत्र लेखी दिनु भएकोले ०७ साल देखी १३ साल तकको आयस्ता पाउँ भन्ने वादी र वादीले पाएको बकसपत्र ऐनले उठाउन पाउने जति भन्ने बोली थपी पास गरी दिनु भन्ने प्रधान न्यायालयबाट ०१।८।२४ गते फैसला भएकाले ८ खण्डको १ खण्ड मात्र पाउनेमा पुरैमा दावी गर्न नपाउने भन्ने प्रतिवादीको जिकिर भएकाले ईश्वरीकुमारीको श्रीसम्पत्ति जम्मै वादीपक्षले पाउने वा प्रतिवादी पक्षको जिकिर बमोजिम ८ खण्डको १ खण्ड मात्र पाउने के हो ? त्यसको निर्णय गर्नुपर्ने देखियो ।
२४. २०१७ साल पौष ९ गते रोज १ मा ईश्वरीकुमारीले गुणशम्शेर थापा क्षेत्रीलाई गरी दिएको लिखत हेर्दा, गुणशम्शेर थापा क्षेत्रीलाई धर्मपुत्र राखी पाली पोषण गरेको र निज भतिजा गुणशम्शेरले पनि हेरविचार टहल चाकडी गरकोले मेरा हकको चल अचल मेरो शेषपछि मेरा काज–कृया, दागवत्ती समेत गरी भोग चलन गर्नु भनी बकसपत्र लेखी दियौं भन्ने लेखिएको देखिन आयो । सोही लिखत पास गरी पाउँ भन्ने वादी पक्षको उजुर परी तह–तहबाट किनारा हुंदै आएकोमा ऐनले दिन पाउने भन्ने बोली थपी पास गरी दिनु भन्ने प्रधान न्यायालयबाट ०१।८।२४ मा फैसला भएकोमा त्यस फैसला उपर कसैको उजुर नपरी अन्मित निर्णय भई सो लिखत ०१३।१।३१।१ मा सो बोली राखी रजिष्ट्रेशन पास भएको देखियो ।
२५. त्यस पछि सोहि लिखतको आड लिई ईश्वरीकुमारीको हक अंश आयस्ता पाउँ भनी वादी पक्षले नालेस गर्दा बकसपत्रको नाताबाट अंशमा वादीको दावी नपुग्ने भनी अपील तेश्रा फाँटबाट ०१४।१।५।४ मा फैसला भएको भन्ने उल्लेख भएको । त्यस उपर उजुर नपरी अन्तिम टुंगो लागेको देखिन आयो ।
२६. उक्त लेखिएका कारण परिबन्दबाट धर्मपुत्रको नाताबाट ईश्वरीकुमारीको हक अंश सबै पाउँ भन्ने वादी पक्षको दावी जिकीर मुनासिव भन्ने नभै शेषपछिको बकसपत्र सम्म पाएको देखियो ।
२७. बकसपत्र पाएकोमा विधवा अंशधनको १ नं. को १।३ दफा बमोजिम ईश्वरीकुमारीको श्रीसम्पत्तिको ८ खण्डको १ खण्ड पाउने भनी उच्च अदालत लगायतबाट फैसला भएको र विधवा अंशधनको १ नं. को १।३ दफा लागु हुदैन, ऐजन २ दफा बमोजिम हुनु पर्ने भन्ने वादी पक्षका वकिलको बहस भएकोमा विधवा अंशधनको १ नं. मा विधवा स्वास्नी मानिसले आफ्नो हक पुग्ने सम्पत्तिमा तपसीलमा लेखिए बमोजिम गर्न पाउँछ भन्ने र तपसीलको १ दफामा ४० बर्ष पुगेकाले आफ्ना वा सौतेनी छोरा र एकाउदरबाट जन्मेका जेठाज्यू र देवर छन् भने लोग्ने छँदैको हिसावसँग हेरविचार गरी राखेको भए छोराहरूको मञ्जुरी नभए पनि आफ्नो हक पुग्नेमा ३ खण्डको १ खण्ड, ४० वर्ष नपुगेको भए ४ खण्डको १ खण्ड, आफ्नो खुस गर्न पाउछे । मञ्जुरी लिई गर्छे भने सवै गर्न पाउछे । लोग्ने छँदैका हिसावसँग हेरविचार गरी राखेको रहेछ भने ४० वर्ष पुगेकी भए चलमा सबै अचलमा आधी, ४० वर्ष नपुगेकी भए, चलमा आधी अचलमा ३ खण्डको १ खण्ड सम्म हकवालाको मञ्जुरी नभए पनि आफ्नो खुस गर्न पाउँछ भन्ने र २ दफामा ३ पुस्ताका हकवाला मात्र छन, आफ्नो वा सौतेनी पट्टीका छोराहरू पनि छैनन् भने त्यस्तो अवस्थालाई मात्र लिएर उल्लेख भएको देखियो ।
२८. वादी पक्षलाई बकसपत्र गरी दिने भनेका ईश्वरीकुमारीको आफ्नो छोरा र सौतेनी छोरा नभए पनि एकाउदरबाट जन्मेको जेठाज्यू र देवरहरू समेत भएको दुवैपक्षका लेखाईबाट देखिन आएकाले एकाउदरबाट जन्मेका जेठाज्यू देवरहरू भएको अवस्थामा त्यस्तो विधवा स्वास्नी मानिसले उक्त १ दफा बमोजिम गर्नुपर्ने प्रष्ट लेखिएको देखिन्छ ।
२९. आफ्ना र सौतेनी छोरा वा एकाउदरबाट जन्मेको जेठाज्यू र देवरहरू नभइ अरू ३ पुस्ता भित्रको हकवाला मात्र भएको अवस्थालाई उक्त २ दफा लागु हुने देखिएको हुनाले यस मुद्दामा सो २ दफा लागु हुन्छ भन्न मुनासिव देखिएन ।
३०. अब बकसपत्र लिखत बमोजिम वादीपक्षले के कति पाउने रहेछ ? भन्ने तर्फलाई बकस दिने ईश्वरीकुमारीलाई उहाँको खसम छँदैका हिसावसँग हेरविचार गरी राखेको भन्ने कुरा सबुद प्रमाण नआएको र भतिजा गुणशम्शेर थापा क्षेत्रीले सबै तरहबाट हेरविचार गरेको भन्ने लिखतमा उल्लेख भएको हुनाले लोग्ने छँदैका हिसावसँग हेरविचार नगरेको अवस्थामा ४० वर्ष नपुगेकी ईश्वरीकुमारीले चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड हकवालाको मञ्जुरी नभए पनि आफ्ना खुश गर्न पाउने सोही विधवा अंशधनका १ नं. को १ दफामा उल्लेख भएको देखियो।
३१. वादीपक्षको उजुरीमा चल तर्फ दावी नभई अचल तर्फको दावी हुन आएको । सो अचल लोग्नेका पालाको भन्ने दावी लिन नसकेको र जिज्यू बाजेको आर्जन भन्ने मिसिलमा उल्लेख भईरहेको हुनाले र बाजेका आर्जनको रहेछ भने माथी लेखिएका रीतिसँग उठाउन पाउनेमा विधवा अंशधनको १ को ३ ले अचलका आधी उठाउन पाउछ भन्ने लेखिएको हुँदा ईश्वरीकुमारीले ३ खण्डको १ खण्ड आफुखुशी गर्न पाउने ठहर्छ ।
३२. उक्त लेखिएका कारण परिबन्दबाट ईश्वरीकुमारीका बकसपत्र लिखत बमोजिम ६ खण्डको १ खण्ड वादी पक्षले पाउने गरी दिनु पर्नेमा ८ खण्डको १ खण्ड मात्र पाउने गरेको म.उ.अ. डिभिजन बेञ्चको ०१७।९।६।३ को फैसला मुनासिव देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीबाट वादीले भरी पाउने बिगो ने.रु. १३१४।।। को को.स.का. ११।४३ दफा बमोजिम सैकडा ५ ले ने.रु. ६५।६७ कोर्ट फी लाग्नेमा रा.का.दे.दो.का १५।१२।४ का फैसला ०१६।२।२६ का लगत बमोजिम प्र.टेक शम्शेरबाट ने.रु. ४६।४९ प्र. मान शम्शेरबाट ने.रु. २।८१ लिने गरेको हुँदा नपुग देहायबमोजिमको कोर्ट फि ऐन सवालको रीत पुर्याइ असुल गर्नु भनी का.दे.त. मा लगत दिनु …………………. १
प्र. टेक शम्शेरबाट ने.रु.१४।४७ प्र. मान शम्शेरबाट नेरु ।९० वादी के रु. २३९९३ भरी पाउँ भन्ने दावी गरेकोमा रु. १३१४।– पाउने भई रु. २२६७८।।.।।। नपाउने बढी पक्रेमा को. स.का. ११।४४ दफा बमोजिम कोर्टफि रु. ९५७।१३ लाग्नेमा शुरुबाट ऐजन ऐजन मितिमा फैसला लगतले रु. ९७०।२९ लिने गरेको र अपील गर्दा भनी रु. ९७।३ समेत जम्मा रु. १०६७।३२ लाग्ने गरी अपील तेश्राबाट भएका ०१६।७।२७ को फैसला ०१६।८।१२ का लगतलेलाग्ने गरेकोमा अपील गर्दाको रु. ९५।७१ लाग्नेभई हिसाव गर्दा ने.रु. १४।४८ बढी लिनेगरी लगतभएको देखिएकाले सो ने.रु. १४।४८ असुल भएकोभए ऐन सवालको रीत पुर्याई वादीलाई फिर्तादिनु भनी र असुल नभएकोभए बेहोराजनाई लगत काटीदिनु भनी का.दे.त. मा लगत दिनु ……………….२
वादीले देहायका प्रतिवादीहरूबाट देहाय बमोजिम १३१४।।। बिगो भरि पाउनेमा कं.रु. ९८६।३ भराइ दिने गरी रा.का.दे. दो बाट ऐजन मितिमा फैसला र १६।२।२।२२ का लगतले प्र.टेक शम्शेरबाट रुक. ९२९।।।–। र मान शम्शेर बाट रु. ५६–३ भराउने गरी लगत दिएको देखिएकोले सो लगत काटी देहाय बमोजिमको बिगो भराइ पाउँ भनी प्र. हरूको जायजात देखाई वादीले ऐनका म्याद ५ वर्ष भित्र दर्खास्त गरे वादीलाइ भराइ को.स.का. ५९ दफा बमोजिम् वादीबाट सैकडा २।। दशौद लिनु भनी का.दे.त. मा लगत दिनु …………………३
प्र. टेक शम्शेरबाट भा.रु. १२३९।।। प्र. शम्शेरबाट भा रु. ७४।।।.। वादी पद्मकुमारी के मुद्दा दोहर्याएमा शुरु दण्ड ने.रु. ९५७।१३ को हा.का ११ नं. ले दशौद ने.रु. ९५।७१ दण्ड हुनेमा स्वास्नी मानिस हुँदा दण्ड सजायको २ नं. ले आधा ने.रु. ४७।८६ दण्ड हुन्छ । रुजु हुँदा असुलगर्नु भनी का.दे.त. मा लगत दिनु ………………….४
नियम बमोजिम मिसिल बुझाई दिनु …………………. ५
इति सम्वत् २०१९ साल जेष्ठ ३० गते रोज ३ शुभम् ।