February 23, 1962
Created by nepalarchives

निर्णय नं. १६३ – भ्रष्टाचार

निर्णय नं. १६३                  ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.ईश्वरीराज मिश्र वादी : सरकार...

निर्णय नं. १६३                  ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री स.ईश्वरीराज मिश्र

वादी : सरकार

विरुद्ध

प्रतिवादी : ना.सु. गोपालप्रसाद उपाध्याय समेत

फौ.फु.नं. ४

मुद्दा : भ्रष्टाचार

(१)   कस्तोमा गढाउ गर्न नमिल्ने ?

            सबुद प्रमाण विशेष पुलिस विभागको ई. सूर्यबहादुरले बिक्रम र सुब्बा गोपालप्रसादको वार्तालाप भएको राम्रो सुन्न पाइएन । त्यसको प्रतिउत्तरमा निज सुब्बा गोपालप्रसादजीले हुन्छ, म जिताइ दिन्छु । तर मलाई रु. १५० चाहिन्छ । सो रूपैयाँ उ फाँटवाला बिचारी भन्ने देखाए र दिई राख्नु भनी भनेका र हजुरलाई नै म त दिन्छु भनी बिदुरजीले भन्दा मैले आफ्ना हातले लिने गरेको छैन । विचारीलाई नै दिनु भन्ने जवाफ दिए । ति कुरा मैले बिस्तारको हिंडाइबाटै सुनें भनी रीपोर्ट दिएको । तर विचारी रामजंगलाई रु. १३०।मात्र दिएको । औ निज विचारीको मार्फत हाकिम ना.सु. गोपालप्रसादलाई दिने बन्दोवस्त बारेमा केही नभनेकोबाट रूपैयाँको कलम पनि नमिली फरक परेको । बिचारीबाट पनि इन्सपेक्टरको कुराको समर्थन नभएको । बिदुरविक्रम विशेस पुलिस विभागकै मानिस भएको । निजले ०३१।१०।८ गतेमा ना.सु. गोपालप्रसादले रु. १५०। देउ, मुद्दा जिताइ दिन्छु भनी घुस मागेको र सो घुस आज मेरा डेरामा आई लिने छु भनी सुब्बाले भनेको छ । रूपैयाँ र मद्दत पाउँ भनी विशेष पुलिस विभागमा दर्खास्त लेखी दिएकोमा केही कारवाई नभई ०१३।११।२२ गते सुब्बासँग कुरा गर्ने भएबाट अफिसर मेरा साथ लगाई पाउँ भन्ने ०१३।११।२१ गते बिदुरविक्रमको अर्को दर्खास्त परेकोमा, ०१३।११।२२ गतेमा मात्र इन्सपेक्टरले गोपालप्रसाद र बिदुरविक्रमको कुरा सुनें भन्ने भएकोमा, माघ ८ गतेमै चाहिने कारवाई हुनु पर्ने । सो भएको देखिएन । तसर्थ, फाल्गुण २२ गतेमा मात्र सुनेको भन्ने कुरा पत्यारलाग्दो देखिएन । इन्सपेक्टर बाहेक ना.सु. गोपालप्रसादलाई गढाउ गर्ने अरू केही सबुद प्रमाण आएन । यतिकैमा ना.सु. गोपालप्रसादलाई गढाउ गर्न मिल्दैन ।

(प्रकरण. नं. ३६)

(२)   प्रत्यक्ष प्रमाणको अभावमा अनुमानबाट नै निर्णयमा पुग्न नमिल्ने ।

            ना.सु. गोपालप्रसादले हैसियतबाट नपुग्ने धेरै घर जग्गा जोड्यो । सो सबै घुसको पैसाबाट जोडेको भन्ने राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतको बुँदा विषयमा ना.सु. गोपालप्रसाद सो जग्गा जमीन जोडेको सावितै भएको । तर जुवाबाट जितेको पैसाले जोडेको हो भन्ने जिकिर लिएको देखियो । अरू प्रत्यक्ष प्रमाणको अभावमा घुसबाट नै जोडेको हो भनी अनुमान गर्न मिल्दैन ।

(प्रकरण नं. ३७)

प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी

फैसला

      १.     चन्द्रकुमारीसँगको कुटपीट मुद्दामा सु. गोपालप्रसादले रु. १५०। देउ । मुद्दा तिमीलाई जिताई दिन्छु भनी घुस माँगेकाले सो घुस लिन आज अड्डा उठेपछि आई लाने छु भनेकाले सरकारी रूपैयाँ र मद्दत समेत पाउँ भन्ने समेत ०१३।१०।८ को का.ई. वानेश्वर बस्ने हे.कं.पु. बिदुरविक्रम शाहाको दर्खास्त ।

      २.    मेरो रा.का.फौ. मा परेको चन्द्रकुमारीसँगको कुटपीट मुद्दामा फाँटवाला वि. रामजंगसँग मुद्दा जिताई दिनु पर्‍यो भन्दा, सो कुरा सुब्बा बाजेसँग उहाँको चित बुझाउने कुरा गर्नु होस् भनी रूपैयाँ घुस दिने विषयको राय दिएको र सो बमोजिम मैले सुब्बासँग भोलि १३।११।२२ गते अड्डाको टायम अरू मानिस नआईपुग्दै एकान्त पारी कुरा गर्ने भएकाले सुब्बाले मसँग के कस्तो कुरा गर्छन् ? एकिन बुझ्न विश्वासिलो अफिसर, नचिनिने फेशनमा मेरासाथ लगाई पाउँ भन्ने समेत १३।११।२१ को दर्खास्त ।

      ३.    इ. सूर्यबहादुरले प्राईभेट बुझ्ने विषयको वि.पु.वि. को पत्र बुझेको भरपाई वि.पु.वि. बाट इन्सपेक्टर सूर्यबहादुरके भोली बिदुरविक्रमसँग गई निज बिदुरको र सुब्वाको भेट हुनासाथ तपाँईले बडो होशियारका साथ गई के कस्तो कुराकानी हुन्छ ? सुनी बुझी सुने बुझेको यथार्थ कुराको रिपोर्ट पेश गर्न ल्याउनु होला भन्ने समेत १३।११।२१ को वि.पु.वि. को पुर्जी मलाई भएका पत्र बमोजिम सुब्बाको चेवा गरी रहेको थिएँ । निज सुब्वा आज १०।५ मिनेट गएपछि आई होटेल अगाडिको मुल ढोकाबाट भित्र पसेको र चौरको बीचको बुर्जानेर पुगेपछि बिदुरले नमस्कार गर्‍यो र त्यसपछि दुबै जना सँगै गई फौजदारी अगाडिको चौरमा सुब्बा बाजे बस्नु भयो । सुब्बा बाजेको मेचको नगिचै वि. रामजंग पनि हुनुहुन्थ्यो । अरू कोही नभएकोले वातावरण देखिए पछि अब उनीहरूको कुरा हुन्छ भनी आफ्नो काम विशेषमा हिंडेको भान पारी हिंड्दै कुरा सुन्दै गईरहेको बखत बिदुरले आफ्नु भन्नु पर्ने भनी सक्नु भएछ । म अलि टाढा भएबाट राम्रो सुन्न पाएन । त्यसको उत्तरमा सु. गोपालले हुन्छ । म जिताई दिन्छु । तर मलाई रु. १५० चाहिन्छ । सो रूपैयाँ उ फाँटवाला विचारी भन्ने देखाए र दिईराख्नु भनेको हजुरलाई नै म दिन्छु भनी बिदुरले भन्दा मैले आफ्नु हातले लिने गरेको छैन । वि. लाई दिनु भन्ने जवाफ दिए । त्यो कुरा मैले बिस्तारैको हिंडाईबाट सुनेको र यती सुनेपछि म टाढाको फासलामा पुगेर अली बेरपछि फेरी हेर्दा बिदुर सुब्बासँग छुट्टिएको देखिएकोले मैले सुने जानेको कुराको रिपोर्ट पेश गरेको छु भन्ने समेत १३।११।१२ को इ. सूर्यबहादुरको रिपोर्ट ।

      ४.    मेरो मुद्दा जिताई दिनु भनी विचारीलाई भन्दा सुब्बा बाजेको चित्त बुझाउन भने । सुब्बा बाजेसँग १३।११।१२ गते अड्डा बस्ने टायममा चारखालको चौरमा गएँ । विचारी त्यहीं रहेछ । सु. बाजे पनि त्यहीं आई बस्नु भयो । म कति तारेखमा हिडीरहुँ ? मुद्दा चाँडो छिनी दिई बक्सनु होस् भन्दा विचारीको र हाकिमको सो विषयमा हिजै कुरा भईसकेको रहेछ क्यारे । त्यसको जवाफमा म जिताई दिन्छु । मलाई रु. १५० । दिनु पर्छ । सो रूपैयाँ उ फाँटवालालाई मन्टाले देखाई दिनु भनी सु. गोपालप्रसादले भन्नु भयो । मैले हजुरलाई दिन्छु भनी जिरह गर्दा, मैले आफ्नो हातले लिने गरेको छैन । विचारीलाई दिनु भन्नु भयो र विचारीलाई कहिले कहाँ रूपैयाँ दिने हो ? भनी सोध्दा म रूपैयाँ लिन फागुन २५ गते अड्डा उठेपछि ५।। बजे तपाँईको डेरा वानेश्वरमा आउँछु । रूपैयाँ ठीक पारी राख्नु भनी वि. रामजंगले भनेपछि बिदा भई आएँ । इन्सपेक्टर हाम्रो नजीक बाटै हिडी रहनु भएको थियो निजले सुनेको रिपोर्ट गरेकै होलान । वि. रामजंग मार्फत सुब्बा गोपालप्रसादलाई घुस दिना निमित्त सरकारी रूपैयाँ र आवश्यक मद्दत समेत पाउँ भन्ने १३।११।२२ को बिदुरको दर्खास्त ।

      ५.    सुब्बालाई घुस खुवाउन निमित्त तपसीलका नम्बरको नोट कित्ता बुझी लियाँ भन्ने १३।११।२५ को बिदुरको भरपाई ।

      ६.    बिदुरका डेरामा मद्दत साथ घुसी बसेका बैठक कोठामा वि. रामजंग र अर्को १ जना निजको साथी झलकबहादुर समेत २ जना साइकल भर्‍याङ्ग मुनी राखी आई बसी चेवा गर्दै रहेका बखत सोही मुद्दा जिताई चाडो छिनी दिने कुरा गरी बिदुरले दिएको रूपैयाँ विचारीले जेवमा हाली खोकिका इसारा दिएकाले सो बैठक कोठामा पक्राउ गरी वानेश्वर पु. चौकीमा ल्याई रूपैयाँ भएको ठाउँमा विचारीको जीउ खानतलासी गरी देउ भनी खटी आएका इन्सपेक्टरले भन्दा हाम्रो चित्त बुझ्यो । पक्राउ भएको २ जना मध्ये वि. रामजंगको जीउ खानतलासी हुँदा कोटको दाइने खल्तीबाट निस्केको १० दरको ७ कित्ता र दायाँ पट्टी कोटको भित्री पट्टी खल्तीबाट निस्केको १ दरको ५९ रूपैयाँ समेत निस्केको ठीक साँचो हो । निज वि. रामजंगको लगाई राखेको कोटको टाँक समेत खोली हेर्दा देखिएको व्यहोरा लेखी दिएकाछौं भन्ने सरजमिन र माथि लेखिए बमोजिम नम्बर नम्बर दरको नोटहरू सरजमिन समेतका रोहवरमा मेरो जीउ खान्तलासी हुँदा निस्केको हो भन्ने वि. रामजंगको कागज ।

      ७.    वि. रामजंगको साथमा आएको बिदुरको घर कोठामा हामी २ जना गई बिदुरले दिएको नोट वि. रामजंगले लिई कोटको जेवमा राखी सकेपछि कुन इसाराद्वारा हो विचारीलाई र म समेतलाई बिदुरकै कोठामा पक्राउ गरी दुबैलाई पुलिस चौकीमा ल्याई सरजमिनका रोहबरमा खानतलासी गर्दा विचारीको जेवबाट माथि लेखिएका नम्बर दरको नोटहरू कोटका जेबबाट निस्केको हो भन्ने समेत झलकबहादुरको कागज ।

      ८.    पक्राउमा परेका रामजंगको सरजमिनको रोहबरमा मलाई खानताजासी गर्न लगाउँदा माथि लेखिएको नम्बर दरको नोट निस्केको र झलकबहादुरका साथ खानतलासीमा गोबरधन दास, विष्णुमायाँ समेतको चोरी मुद्दाको पर्चा १ र अरू तारिख पर्चा थान ३ फैसलाको नक्कल मुठा १ समेत निस्केको हो भन्ने ताराप्रसाद । माथि लेखिए बमोजिम खानतलासीमा निस्केको ठीक साँचो हो भन्ने १८ जना सरजमिनको कागज ।

      ९.    १३।११।२५ गतेको साँझ ५ बजेपछि रामजंगले आज वानेश्वर तिर जाउँ भनेकाले यिनको साथ लागि गएको हुँ । म डिल्लीबजार अड्डामा गई नक्कल सार्दछु । अड्डा उठेपछि बिदुर, , रामजंग बिदुरका घरमा सरासर गयौं । वाहाँ पुगेर विचारीको साइकल बिदुरकै छिंडीमा राखी तिनै जना १ तल्ला माथि कोठामा गई बस्यौं । त्यसपछि बिदुरले रु.१३० विचारीको हातमा दिए । विचारीले बगलीमा हाले । बिदुरले हाम्रो अघिको कुरा बमोजिम रु. १०० । हाकिमलाई, रु. ३० तपाँईलाई भनी दिएका हुन् र रु. ३०। छुट्टाई कोटको बगलीको तल्लो बगलीमा हाले । रु. १०० को नोट देब्रे पट्टीको बगलीमा हाले । बिदुरले हाकिम र विचारीको समक्षमा दिन कबूल गरेको भनेको रूपैयाँ हो । हाकिम गोपालप्रसादलाई रु. १००। र तपाँईलाई रु. ३० भनी दिएका हुन् । विचारीले रूपैयाँ लिएपछि पक्राउ भई भएको खानतलासी मुचुल्कामा सबै कुरा लेखी दिएकै छु । मैले अरू कुनै बदमासी गरेको छैन । रूपैयाँ लिएपछि श्रीमहल बुझ्नु पर्छ भन्ने कुरासम्म विचारीले भनेको थियो भन्ने समेत १३।११।२७ को झलकबहादुरको बयान ।

      १०.    बिदुर समेतको कुटपीट मुद्दा मेरो फाँटमा छ । लूटपटि मुद्दा कसको फाँटमा छ ? थाहा छैन । मेरो फाँटको मुद्दा दायर छ । मेरो फाँटको कुटपिट मुद्धा यो मितिमा दायर भएको भन्ने सम्झना भएन । सो मुद्दामा साक्षी बुझ्ने कारवाईको निमित्त तारेख तोकी दिएको मिसिल हेर्दा प्र. मध्येको १ जनाले गुजारेको रहेछ । थाम्ने म्याद बाँकी नै हुँदा गुजार्ने प्रतिवादीका ऐनले थाम्न पाउने म्याद भुक्तान भएपछि साक्षीका नाउँमा समन जारी गर्ने गरी पर्चा खडा गरी हाजिर रहेका झगडीयालाई तारिख दिई त्यसपछि झगडीयाले अर्जी गरेको कारणबाट रोकावट भईरहेको छ । मुद्दा छिन्न अंग पुगेको छैन । १३।११।२५ गते अड्डा उठ्ने टायममा उठी हिंडेको हुँ । अड्डा हटेपछि वानेश्वर जान भनी हिंडेको । मेरो साथमा बिदुर, झलकबहादुर थिए । झलकबहादुर नक्कल सार्ने र त्यसबाट जीविका गर्ने मानिस हो । झलकबहादुरलाई साथमा लगेको अरू कारण होइन । म अड्डामा रहेको बखत २५ गतेकै दिन ३,३।। बजेको टायममा बिदुर अड्डामा गई तपाँईको जेठान गणेशकुमारले रूपैयाँ पठाई दिएको रहेछ । मसँग छ । लिन हिड्नुहोस भनेकाले अड्डा उठेपछि जाउँला भनी भने । बिदुर बाहिर बसी रहेको रहेछ । उठी आउँदा भेट भई हिड्न लागेको बखत झलकबहादुर समेत आएकोले बिदुरका घरमा रुपैंया लिने कामको निमित्त गएको हुँ । साईकल छिंडीमा राखी तीनैजना बिदुरका घर कोठामा गयौं । त्यसपछि म रूपैयाँ लिई आउँछु भनी झरी कता गई हो एकछिन पछि आई आमासँग रूपँैयाँ लिई आए । एक छिन बस्नु होस भनी ने.रु. १३० । दिएकोले लिई कोटको खल्तीमा राखी कुरा हुँदै थियो । त्यसै बखत मलाई समाई सडकमा झारी चौकी अगाडि लगी मेरो शरीर खानतलासी गरी भएको साथको रूपैयाँ झिकी सरजमीन समेत भईसकेपछि डि.एस.पी. लगेका हुन् । बिदुरले दिएको १३० मध्ये रु. १०० कोटको बायाँ जस्तो लाग्छ, तल्लो जेवमा र रु. ३० दायाँ पट्टी तल्लो जेवमा राखेको थिएँ । सो नोट सय दर १० को रु. ३०, १०, ५ दरको थियो । गते बारको भने मलाई सम्झना भएन । १ दिन म र सुब्बा बाजे समेत घाम ताप्न बसेको बखत बिदुर आएको थियो । त्यसै वखत यो मानिस डोब अन्यायमा परेका छन भनी मैले सुब्बा बाजेलाई भनी दिएँ । त्यहाँ नै सुब्बा बाजेलाई नै केही सेवा पनि गर्छु भनी बिदुरले भन्दा छँदैछ भनी सुब्बा बाजेले भने । त्यसपछि नोट साटी सुब्बालाई दिन्छु भनी बिदुर भन्थ्यो । दिए नदिएको र लिए नलिएको मलाई थाहा छैन । रु. १०० लिई जिताई दिने मसँग सल्लाह भएको थिएन । बिदुरको भिनाजु श्यामबहादुर मेरो जेठानको सालो नाता भएकोले भेट हुँदा बिदुर अन्यायमा परेका छन । तपाँईको फाँटमा रहेछ । राम्रो हेरी दिनु पर्ला भनेका थिए । त्यसै कारणबाट सुब्बा बाजेलाई भनी दिएको हुँ । हाकिमको र मेरो इन्साफमा रायबाझी भईआएकोले बेइन्साफ गरी दुख देला भनी भनिदिएको हुँ । बिदुरको मुद्दा फाँटैमा भए पनि ऐनले नाता नलाग्ने भएकाले रहेको हो । बाहिरी नाता हुँदा सँगै हिंडेको हुँ । ऐनले जो ठहर्छ । जेठानले गणेशकुमारले लिएको रूपैयाँ पठाई दिएको छ भनी बिदुरले अड्डामा आई सबैका सामुन्ने भन्नु भएकोले बिदुरका घरमा गई जेठानले पठाएको भनी लिएको हुँ । सो नोटको नम्बर टिपाई लगेको रहेछ । मलाई थाहा थिएन । पछि मुद्दाको सम्बन्धबाट लिएको गराई पक्राउ गरी खानतलासी गर्दा सोही अवस्थामा परी मेरो जेवबाट निस्कन गएको हो । बिदुरसँग मेरो कुनै अदावत थिएन । बिदुर पुलिस विभागमा नोकरी गर्नु भएको र निजबाट हाकिमले घुस माँगी खाई मुद्दा जिताई दिने सल्लाह गरेछन । कुन अनुकुल परी हो निजलाई दिन मौका नपरी म मार्फत पनि अभियोग लगाउन पाए दर्जा बढी हाल्ला कि भनी रूपैयाँ बक्साई लेनदेनको व्यवहार पट्टीबाट यस्ता कलममा मलाई फसाएको हुनु पर्छ । मेरो साथबाट निस्केको फैसलाको नक्कल स. यज्ञविक्रमले मुद्दा पत्ता लगाई दिनु पर्‍यो भनी दिएको हो । जेठान गणेशबहादुरले मलाई रु. २००। दिनु थियो । बिदुरको दिदीको घर पनि जेठानकै घर गाउँमा हो । कुन मौकामा बिदुरलाई दिए थाहा छैन । मैले घुसै भनी दिएको भए सोझै आफैले नलिई साथ जाने झलकबहादुरलाई लिन लगाए पनि हुन्थ्यो । देखाएको सबुद बुझी रिहाई पाउँ भन्ने समेत १३।११।२७ को वि. रामजंगको बयान ।

      ११.    यो घटना हुनुभन्दा १५।२० दिन अगाडि अड्डा उठेर डेरामा जान लागेको समयमा डिल्लीबजारको उकालो नपुग्दै प्याट्रोल पम्पनिर बिदुर बसेको देखेर हाकिम सुब्बा खोई भनी सोधे । मैले देखिन भने । त्यहाँ कुरा हुँदा सुब्बालाई भेट्न पर्छ भनेको । त्यही कुराको लक्षणबाट लेखिएको वाक्य लेखिन गएको हो । जेठानलाई विश्वासमा रूपैयाँ दिएको हो भन्ने समेत १४।७।२० मा विशेष न्यायाधीशको अदालतमा वि. रामजंगको ततिम्वा बयान ।

      १२.   १३।११।२२ गते र ऐजन २५ गतेका दिन टायमसम्म अड्डैमा हाजिर छु । चन्द्रकुमारी बिदुरको मुद्दा परेको रहेछ । सो मुद्दा विचारी रामजंगको फाँटमा रहेछ भन्ने कुरा वि. रामजंग घुसमा पक्राउ भयो भन्ने सुने पछि हेरिंदा थाहा हुन आएको हो । निजहरूको मुद्दामा प्रतिवादी ४ जवान मध्ये ३ जनाको प्रतिवादी परेको । १ जनाको बाँकी देखिन्छ । सो मुद्दा कुन मितिमा परेको हो ? मलाई याद रहेन । अरू कारवाई केही भएको छैन । म्यादै गुज्रेको बाँकी भएको कुरा फाँटवालाले मलाई सुनाएको छैन । बिदुरलाई मैले चिनेको नहुंदा निजले मलाई भेटी निजको मुद्दामा चाँडै जिताई छिनाई दिने कुरा गरेको र मैले सुनेको समेत छैन । झलकबहादुरलाई चिनेको छु । नक्कल सार्ने काममा आउँछ । निजसँग र रामजंगसँग इवी छैन । बिदुरको मुद्दामा सिफारिश पनि गरेको थिएन । घुस पट्टीको लगाउ लिन सके मुद्दा जितौंला कि भनी बिदुरले लेखेको होला । मेरा अंश भागबाट ९।१० मुरी अनाज आउँछ । ८।९ वर्ष जति भयो बुटवलमा ।। जिमिदारी र माझण्ड तर्फ मिन मिनवा १ पोखरा पारी १ र भैस्याई मौजमा ।।. जिमिदारी लिएको छु । सुन्दरीजलमा सोरह रोपनी पौने एघार आना मनहरा डोलमा दश रोपनी जग्गा लिएको छु । म ९१ सालमा ज. अमिनीको नौ. मा भर्ना र त्यहीं ना.रा. सम्म भई तौ. अमिनीको विचारीमा सरें । ९९ सालमा बेथरी अमिनीको खरिदार, त्यसपछि वीरगन्ज अमिनीमा चेन्ज, ०६ सालमा जलेश्वर अमिनीमा हाकिम भई १० सालमा फौजदारीमा सरेको हुँ । सो जग्गाहरू जुवा जितेको रूपैयाँबाट खरीद गरेको हुँ । आफ्ना आयस्ताबाट खान पुग्छ भन्ने समेत १३।११।२८ को ना.सु. गोपालप्रसादको बयान ।

      १३.   बिदुरसँग चिनाजानी छैन । ना.सु. गोपालप्रसाद सरुवा भएपछि अड्डा सम्वन्धी काम कुराबाट चिनेको हुँ । चालचलन राम्रै देख्दछु । जुवाले जिती कमाएको सम्पत्तिको फाँट पनि खुलाई दिनु पर्‍यो भन्नु हुन्थ्यो भन्ने समेत साक्षी अम्वरबहादुरको बकपत्र ।

      १४.   हाकिम ना.सु. गोपालप्रसाद रकम लिएको टायम साधसोध गर्न परे निजको घरमा जाने गरेको छु । निजको मौजा समेत के कति छ ? थाहा छैन । जिनको छोरा छोरी नोकर समेत गरी ५।७ जना देखेको छु भन्ने समेत डि. गणेशमानको बकपत्र ।

      १५.   १३।११।२५ गतेको दिन ३।३।। बजेको टायम बिदुर आई वि. रामजंगलाई प. १ नं. बाट रूपैयाँ पठाई दिएको रहेछ । लिन हिँड भने यँही ल्याई दिनोस् भन्दा बुबासँग छ । उहाँ नै जानु होस् भन्ने कुरा गरे । पछि अड्डा उठेपछि जान्छु भनी भनेको हो । अरू थाहा छैन भन्ने सि. बद्रीबहादुरको बकपत्र ।

      १६.    ऐजन मिलानको नौ. इन्द्रमानको बकपत्र ।

      १७.   ऐजन ऐजन मिलानको नौ. महेश्वरको बकपत्र ।

      १८.   अड्डा उठेपछि कता जाने कुरा उठ्दा मलाई पहाडबाट जेठानले रूपैयाँ पठाई दिएको छ रे । सो रूपैयाँ लिन वानेश्वर जान्छु भन्थे । गए, नगएको थाहा छैन । वास्तवमा रूपैयाँ बक्साई घुस भन्ने भान पारी पक्राउ भयो भन्ने सुनें । अरू कुरा थाहा छैन भन्ने गणेशनाथको बकपत्र ।

      १९.    ना.सु. गोपालप्रसाद तौ. अमिनीमा विचारी हुनहुन्थ्यो । हैसियत कस्तो छ ? थाहा छैन । जुवा फुकेका टायममा म र गोपालप्रसाद गई खेल्थे । जुवा खेल्ने गोपालप्रसादले हारे भन्ने सुनेको छैन । निजले जिती आएकै हुनाले तौलिहवा बुटवल समेतमा गरी १५०००।२०००० जति जितेको होला । अरू थाहा छैन भन्ने सु. अनन्तमानको बकपत्र ।

      २०.   यो मुद्दा विशेष न्यायाधीशको अदालतमा पठाई कारवाई गराउने १४।७।१३ मा सरकारबाट निर्णय भईआएको भन्ने गृह मन्त्रालयको १४।७।१४ को पत्र ।

      २१.   सु. गोपालप्रसादको जेथा फाँट खोली दिएको दर्खास्त ।

      २२.   वि. रामजंग मेरा कान्छा बाबुको छोरी विवाह गरेकोले जुवाई नाता भएको र बिदुर मेरो सालोको सालो भएकोले चिनेको छु । किनमेल गर्न भनी रामजंगसँग रु. २००। सापट लिएको थिएँ । सो रूपैयाँ १४ सालको बैशाख महिनामा रामजंगको स्वास्नीलाई तिरी दिईसकेको छु भन्ने गणेशमानको बयान ।

      २३.   १२।१५ सयको नोकरी डेढ लाखको पँुजी कताबाट भयो ? सरकारबाट निर्णय होस् भन्ने न्याय माँग दलले भ्रष्टाचारमा उजुर गर्ने भएका छन भन्ने सि.आई.डि. विभागबाट वि.पु.वि. लाई लेखेको पत्र ।

      २४.   ना.सु. गोपालप्रसादले त्यस होटलमा पुँजी राखेको छ, छैन ? भनी बि.न्या.अ.बाट कोरोनेशन होटललाई लेखेको पत्र ।

      २५.   ना.सु. गोपालप्रसादले यस होटेलमा पूँजी लगाएको छैन भन्ने जवाफ ।

      २६.   ना.सु. गोपालप्रसादको यस बैंकमा रु. ६८।८४ बाँकी देखिएको भन्ने बैंकको जवाफ।

      २७.   चन्द्रकुमारी समेतको लूटपीट कुटपीट मुद्दाको मिसिल पठाई दिनु भन्ने वि.न्या.अ. को फौ.अ. लाई लेखेको पत्र ।

      २८.   आफ्नो फाँटको झगडीयाको घरमा गई रूपैयाँ लिएमा वि. रामजंग सावितै भएको । असामी उठेको वा घुस माँगे पट्टी के हो ? भनी विचार गर्दा, लेनदेन गर्दा लिखत गर्नु पर्छ भन्ने कानून भएको । लिखत बिना दिनु लिनु गरेको भन्ने रामजंगको भनाई कानून बाहिरको देखियो । सापटी रूपैयाँ बिदुरबाट पुरा प्राप्त भएको नदेखिएको । रूपैयाँ पठाएको हुँ भनी गणेशले भन्न नसकेको । बिदुरको मुद्दा यस विषयमा दिने लिने चर्चा रामजंग पक्राउ हुनु भन्दा पहिले देखि नै आपसमा चली सकेको भन्ने रामजंगको बयानबाट देखिन आएकोले समेत सापटी दिएको भन्ने रामजंगको बयान सिवाय अरू केही देखिन नआएको र मौकाको कागजमा सापटीको कुरा केही नलेखेकोले पछिमात्र सापटीको कुरा लेखेकाले पछि फर्माएको देखिएको । झलकबहादुरले मुद्दासम्बन्धी कामलाई लिएको भनी बकी दिएको र पुलिसको रिपोर्टको कुरा मिल्न आएको र फौजदारीबाट झिकाई आएको मिसिल हेर्दा पर्खनु पर्ने कानूनको म्याद नपर्खी कारवाईमा हतार गरेको देखिन आएको समेतबाट चाँडो मुद्दा छिनी दिने भनिएको । वाद विवादलाई मिसिलबाट पुष्ट््याँई दिएकोले समेत बिदुरबाट मुद्दासम्बन्धी कम गर्न भनी बिदुरको निजी रूपैयाँ सम्झी रु. १३०। वि. रामजंगले लिएको ठहर्छ । रामजंग पक्राउ भए पछि मात्र बिदुरको मुद्दा परेको थाहा पाएँ भन्ने गोपालप्रसादको भनाई भएकोले फौजदारीको मिसिल हेरेमा रामजंग पक्राउ हुनु भन्दा अगाडिको कुटपीट लूटपीट मुद्दाको वादी प्रतिवादीको शिरमा गोपालको छाप दस्तखत भएको देखिएको र ३५ दिने दर्खास्तमा पनि हाकिमले दस्तखत गरेको देखिएको र बिदुरको तारिख पर्चामा पनि हाकिमको दस्तखत देखिनाले पक्राउ परेपछि मात्र थाहा भएको भन्ने भनाई साँचो नदेखिएको । सुब्बा बाजेलाई सेवा गर्दछु भनी बिदुरले भनेको थियो भनी रामजंगले बयानमा लेखिएको । त्यस तर्फ इन्कारी सिवाय अरू प्रमाण प्रस्तुत गर्न नसकेकोले रामजंग पक्राउ गर्नु भन्दा अगाडि बिदुरलाई नचिनेको भन्ने देखिन नआउने र नोट साटी सुब्बालाई दिन्छु भन्थियो । बाटामा पनि भेटेको भनी बि. रामजंगले लेखेकोबाट रामजंग, गोपालप्रसाद, बिदुरको बीच लिने दिने तर्फ कुरा तय नभएसम्म बराबर साँठो गाँठो भईरहने रहेछ भन्ने देखिन आउने । झलकबहादुरले बिदुरले दिंदा सु. गोपाल समेतलाई भनी रूपैयाँ दिएको भनी किटी बकी दिएको देखिएको र सो कुरामा गोपालले बयान गर्दा यो कारणबाट भने बके भन्न प्रमाण गुजार्न नसकेको र झुट्टा बकेको भए उजुर गर्नु पर्ने । गोपालप्रसादले सो सम्पत्ति कताबाट कसरी ? आर्जन गरेको भन्ने कुरामा निज गोपालप्रसादले जुवा खेली जितेबाट जोरेको भनेकोले विचार गरेमा, जुवा खेल्दा जिती मात्ररहने भन्ने निश्चित आधार नभएको र जुवा जितेबाट जोरेको भन्न नहुने । रामजंगले दिएको रूपैयाँ घुस हो भनी गोपालप्रसादले बकेको देखिएकाले ना.सु. गोपाल समेत सो कुरामा सहमत नभए निजको भनाइ अनुसार केही जानकारी नभएको भनेको विषयमा त्यसरी घुस भनी जानी किटी बकी लेख्न नसक्नु पर्ने । सो भन्नु, आफू समेत सम्मिलित भएको विषयमा संकेत सम्झनु पर्ने समेत हुँदा मुद्दासम्बन्धी काम कुरामा कानूनले लिन खान मनाही भएको रकम भित्री तौरबाट लिनु खानु पर्ने गोपालप्रसादको आदत भएको र यो मुद्दा सम्बन्धमा रामजंगलाई पठाई बिदुरसँग मनाही भएको रकम लिन हाकिम गोपालले उद्योग गरेको ठहर्छ भन्ने समेत १५।१।२७ को वि. न्यायाधीशको अदालतको फैसला ।

      २९.   निजामती सेवा ऐन परिच्छेद ९ को ४ दफा बमोजिम पाउनु पर्ने सुविधा पाइएन । कुन कानूनको आधारमा मेरा उपर ठाडै मुद्दा दायर भयो ? दस्तखत अगाडिको मितिमा पर्‍यो भन्दैमा झगडीयालाई पनि पहिले नै चिनेको भन्न नहुने । रामजंगले बिदुरलाई अन्याय परेको भनी चिनाएको पनि होइन । लिने दिने कुरा भएको पनि होइन । इन्सपेक्टरहरूको रिपोर्ट बनावटी हो । घुसको पेशामा लागेको भए कसैको उजुर हुनु पर्ने । १४ सालमा जारी भएको ऐन लगाएको विलकुल अन्याय हो । भित्री तवरले घुस लिने खाने भन्ने कुनै सबुद नभएको । त्यस्तो कुरामा मलाई हराई फैसला गरेकाले चित्त बुझेन भन्ने समेत ना.सु. गोपालप्रसादको अपील परेको।

      ३०.   राष्ट्रसेवकहरूको भ्रष्टाचार निवारण ऐन, २०१३ बमोजिम गठन भएको विशेष न्यायाधीश उपरको अपील उक्त ऐन दफा २४ ले सर्वोच्च अदालतमा लाग्ने भई सर्वोच्च अदालत नियमले यो मुद्दा सिंगल तहको देखिँदा सोझै डिभिजनमा दर्ता भएको लगत काटी सिंगलबेञ्चमा पेश गर्नु भन्ने १५।५।३१ को डिभिजन बेञ्चको आदेश ।

            बिदुरविक्रमको र चन्द्रकुमारीको कुटपीट लूटपीट मुद्दाको मिसिल फौ.अ. बाट झिकाई पेश गर्नु भन्ने १५।६।७ को सिंगलबेञ्चको आदेश ।

      ३१.   राष्ट्रसेवकहरूको भ्रष्टाचार निवारण संशोधन ऐन, २०१५ को दफा १४ ले मूल ऐन, २०१३ को दफा १४ को सट्टा राखिएको २४ दफा र मूल ऐन प्रारम्भ भएकै मितिदेखि प्रारम्भ भएको मान्नु पर्ने उक्त ऐन संशोधन दफा १ को उपदफा २ मा उल्लेख हुनाले सिंगलबेञ्चबाट यो मामिला हेर्न उपरोक्त ऐनहरूले बाधा पर्ने भएबाट अघि आदेश दिनु हुने माननीय न्यायाधीशहरूको डिभिजन बेञ्चमा पेश गर्नु भन्ने १५।६।१९ को सिंगलबेञ्चको आदेश ।

      ३२.   ना.सु. गोपालप्रसादले राष्ट्रसेवक भ्रष्टाचार निवारण ऐनको अन्तर्गत विशेष अदालतमा दिएको दर्खास्तको नक्कल लिई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।

      ३३.   इन्साफ विशेष न्यायाधीशले गरेको सदर छ भन्ने १५।९।२ को डिभिजन बेञ्चको फैसला ।

      ३४.   मुद्दा दोहोराई पाउँ भन्ने ना.सु. गोपाप्रसादको निवेदनपत्रमा व्यहोरा साँचो भए दोहोराई ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजको निजी सचिवालयको १८।२।२० को पत्र रहेछ ।

      ३५.   यसमा प्रतिवादी ना.सु. गोपालप्रसाद पक्षका विद्वान वकिल कृष्णप्रसाद भंडारीको बहस समेत सुनी इन्साफ तर्फ बिचार गर्दा, राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतमा विशेष पुलिस विभागद्वारा ना.सु. गोपालप्रसाद र वि. रम जंग उपर भ्रष्टाचार गर्‍यो भन्ने मुद्दामा विशेष न्यायाधीशले दुवै जनालाई गढाउ गरी राष्ट्रसेवक (भ्र.नि.) ऐन, २०१३ को परिच्छेद २ को १५ दफाको उपदफा २ र २३ दफा अन्तर्गत ना.सु. गोपालप्रसादलाई ने.रु. १०००। जरिवाना गरेको र वि. रामजंगलाई सोही राष्ट्रसेवक (भ्र.नी.) ऐन, २०१३ को दफा ३ र ३१ अन्तर्गत गढाउ गरी ने.रु. ५००। जरिवाना गरी फैसला गरेकोमा विचारी रामजंगको अपील नपरी ना.सु. गोपालप्रसादले मात्र यस अदालतमा अपील गरेकोमा ०१८।११।५।३ का दिन मुद्दा पेश हुने भई उपस्थितिका निमित्त विशेष पुलिस विभागलाई म्याद गएको । ०१८।१०।१८ गते बुझी लिएको । सो विशेष पुलिस विभागबाट प्रतिनिधि नआएको र मुद्दाको बहस सकिने टायममा ४।।।। बजेमा गभर्नमेन्ट एडभोकेटलाई कागज मिसिलको अध्ययन गराउने समयको दरकार पर्ने भएको भनी म्याद माँगेको । म्याद बुझेको १६।१७ दिनसम्म केही कारबाई नगरी बहस सक्ने बेलामा म्याद माँगेकाले म्याद थप दिई मुद्दाको सुनवाई रोक्न मुनासिव देखिएन ।

      ३६.   मुद्दाको हकमा विचारी रामजंगले ने.रु. १३०। घुस लिएको सवूद प्रमाण समेत दाखिल भएकाले राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतबाट गढाउ गरी छिनेको । तर अपील नपरेको । ना.सु. गोपालप्रसादको मात्र अपील पर्न आएको । सबुद प्रमाण विशेष पुलिस विभागको इ. सूर्यबहादुरले बिदुरविक्रम र सुव्बा गोपालप्रसादको वार्तालाप भएको राम्रो सुन्न पाइएन । त्यसको प्रतिउत्तरमा निज सुब्बा गोपालप्रसादजीले हुन्छ, म जिताई दिन्छु । तर मलाई रु. १५० चाहिन्छ । सो रूपैयाँ उ फाँटवाला विचारी भन्ने देखाए र दिई राख्नु भनी भनेका र हजुरलाई नै म त दिन्छु भनी बिदुरजीले भन्दा, मैले आफ्ना हातले लिने गरेको छैन । विचारीलाई नै दिनु भन्ने जवाफ दिए । ति कुरा मैले बिस्तारको हिंडाइबाटै सुने भनी रिपोर्ट दिएको । तर विचारी रामजंगलाई रु. १३०। मात्र दिएको । औ निज विचारीको मार्फत हाकिम ना.सु. गोपालप्रसादलाई दिने बन्दोवस्त बारेमा केही नभनेकोबाट रूपैयाँको कलम पनि नमिली फरक परेको । विचारीबाट पनि ईन्सपेक्टरको कुराको समर्थन नभएको । बिदुरविक्रम विशेष पुलिस विभागकै मानिस भएको । निजले ०१३।१०।८ गतेमा ना.सु. गोपालप्रसादले रु. १५०। देउ । मुद्दा जिताई दिन्छु भनी घुस माँगेको र सो घुस आज मेरा डेरामा आई लिने छु भनी सुब्बाले भनेको छ । रूपैयाँ र मद्दत पाउँ भनी विशेष पुलिस विभागमा दर्खास्त लेखी दिएकोमा केही कारवाई नभई ०१३।११।२२ गते सुब्बासँग कुरा गर्ने भएबाट अफिसर मेरो साथ लगाई पाउँ भन्ने ०१३।११।२१ गते बिदुरविक्रमको अर्को दर्खास्त परेकोमा ०१३।११।२२ गतेमा मात्र इन्सपेक्टरले गोपालप्रसाद र बिदुरविक्रमको कुरा सुने भन्ने भएकोमा माघ ८ गतेमै चाहिने कारवाई हुनु पर्ने । सो भएको देखिएन । तसर्थ, फाल्गुण २२ गतेमा मात्र सुनेको भन्ने कुरा पत्यार लाग्दो देखिएन । इन्सपेक्टर बाहेक ना.सु. गोपालप्रसादलाई पक्राउ गर्ने अरू केही सबुद प्रमाण आएन । यतिकैमा ना.सु. गोपाप्रसादलाई पक्राउ गर्न मिल्दैन ।

      ३७.   ना.सु. गोपालप्रसादले हैसियतबाट नपुग्ने धेरै घर जग्गा जोड्यो । सो सवै घुसको पैसाबाट जोडेको भन्ने राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतको बुँदा विषयमा ना.सु. गोपालप्रसाद सो जग्गा जमीन जोडेको सावितै भएको । तर जुवाबाट जितेको पैसाले जोडेको हो भन्ने जिकीर लिएको देखियो । अरू प्रत्यक्ष प्रमाणको अभावमा घुसबाट जोडेको हो भनी अनुमान गर्न मिल्दैन ।

      ३८.   यी सबै कारणबाट ना.सु. गोपालप्रसादले घुस खाएको अथवा घुस खान उद्योग गरेको भन्न मिलेन ।

      ३९.   यो मुद्दा शुरु भएपछि ना.सु.गोपालप्रसाद सस्पेण्डमा रहेको र सस्पेण्डकै अवस्थामा जागीरबाट खारिज भईसकेको हुनाले केही गर्नु परेन ।

      ४०.   उपरोक्त कारणबाट ना.सु. गोपालप्रसादको कसूर ठहराए तर्फ राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतको ०१५।१।२७ को र सर्वोच्च अदालत डिभिजन बेञ्चको १५।९।२ को फैसला मुनासिव देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

ना.सु. गोपालप्रसादलाई राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतबाट ०१५।१।२७ मा गर्ने गरेको जरिवाना रु. १०००। र अपील गरेमा भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१५।९।२ गते गर्ने गरेको थप जरिबाना रु. १००। समेत जम्मा ने.रु. ११००। एघार सय नलाग्ने हुँदा असूल नभएको भए व्यहोरा जनाई लगत काटी दिनु भनी र असूल भएको भए ऐन सवालको रीत पुर्‍याई निज ना.सु. गोपालप्रसादलाई फिर्ता दिनु भनी अ.त. फौजदारी फाँटमा लगत दिनु …………..१

यसबाट अरू कसैलाई केही गर्नु पर्दैन …………….. २

रुल नियम बमोजिम गरी यो मिसिल बुझाई दिनु ………………..३

 

इति सम्वत् २०१८ साल फाल्गुण १२ गते रोज ६ शुभम् ।