July 9, 1987
Created by nepalarchives

निर्णय नं. ३०९५ – लिखत फिर्ता पाउँ ।

निर्णय नं. ३०९५  ने.का.प. २०४४ अङ्क ५   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं....

निर्णय नं. ३०९५  ने.का.प. २०४४ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ६६७

मुद्दा : लिखत फिर्ता पाउँ ।

 

पुनरावेदक/वादी: धनुषा भुचक्रपुर गा.पं. वार्ड नं. ५ बस्ने शुभराज पाख्रिन तामाङ ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. बेगाडाबर गा.पं. वार्ड नं. ८ बस्ने कृष्णप्रसाद उपाध्याय

फैसला भएको मिति : २०४४।३।२५।५ मा

   रजिष्ट्रेशनको ३७ नं. बमोजिम रुपैयाँ लिनु दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैंयाँ बढी लिए भन्ने व्यहोरा लेखी बुझी लिने धनीको ऐन बमोजिमको रीत पुर्‍याई सहिछाप गराई फट्टा लिई रजिष्ट्रेशन गर्ने अड्डामा जान पर्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।१०।२ को फैसला उपर चित्त नबुझी वादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.  मुचक्रपुर गा.पं. वार्ड नं. ५(घ) कि.नं. २६ को ज.वि. ४१७ को जग्गामा भोगचलन गर्दै आएकोमा २०२६।३।८।१ का दिन व्यवहार चलाएपछि फर्काउने शर्तमा रु. ३,७५०।मा कृष्णप्रसाद उपाध्यायलाई सोही मितिको रजिष्ट्रेशनबाट बिक्रीको औपचारिकता पूरा गरी निज कृष्णप्रसादबाट समेत भएको शर्त बमोजिम सोही मितिमा उक्त जग्गा माघ देखि चैत्र भरमा सो रु. ३,७५०।मैले बुझाएकोमा म फर्काई दिन्छु भन्ने कागज समेत निज विपक्षी मध्येका कृष्णप्रसादले गरेकोमा भाखा भित्र रुपैयाँ दिई जग्गा मेरा नाउँमा फिर्ता माग्दा निजले दरपीठ राजीनामाको स्थितिलाई पनि गुम पारी दाखिल खारेज गर्नु भएकोले सो दरपीठ भएको लिखत फिर्ता पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.  मैले कुनै किसिमको लिखत दरपीठ गरिदिएको नहुँदा दावी बमोजिम मैले कुनै लिखत फिर्ता गर्ने शर्तनामा भए वादीले फिरादसाथ त्यसको नक्कल पेश गर्नु पर्दथ्यो सो समेत नहुँदा झुठ्ठा दावीबाट मुक्त गराइपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.  उक्त दरपीठ भनेको लिखत हरायो भनी निवेदन दिनु र शर्तनामा सनाखत गर्दा लिखत हरायो नभनेको समेतबाट दरपीठ गरेको भन्ने वादीको दावी समर्थित हुन आउने र रुपैयाँ समयमा बुझाइएकोमा शर्तनामा बमोजिम प्र.कृष्णप्रसादले जग्गा फिर्ता गर्नु पर्नेमा निज प्रतिवादी शुद्ध हृदयको व्यक्ति भन्न नमिली वादीले दावी बमोजिम प्रतिवादीबाट लिखत फिर्ता पाउने ठहर्छ भन्ने  समेतको २०३९।२।६।५ को शुरु धनुषा जि.अ.को फैसला ।

५.  शुरु जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेतको प्रतिवादी कृष्णप्रसाद उपाध्यायको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.  दरपीठ गराई लिखत आफ्नै साथमा राख्नु पर्ने कर्तव्य वादीलाई कानूनले तोकिदिएकोले शुरुले फैसलामा नैतिक रुपमा पुनरावेदक प्रतिवादीलाई जिम्मेवार ठहर्‍याए पनि कानूनले बाध्य गराउन नसक्ने हुनाले कानूनले तोकेको जिम्मेवारी प्रत्यर्थी वादीले नै पुरा गर्न सकेको नदेखिँदा लिखत फिर्ता दिनु पर्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेतको जनकपुर अञ्चल अदालतको मिति २०३९।११।२५ को फैसला ।

७.  सो फैसलामा प्रत्यक्षतः विवाद रहित त्रुटि हुन गएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको वादी शुभराज पाख्रिन तमाङको म.क्षे.अ.मा परेको निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को प्रश्नमा त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत ०४१।२।३१ को क्षे.अ.को आदेश ।

८.  वादीले दावी गरेको दरपीठ गरेको लिखतबाट मालपोत कार्यालयले राजीनामाबाट अड्डामा रहेको श्रेस्ता सच्याई वादीको नाममा फिर्ता दिने कुनै कानूनी आधार समेत भएको नदेखिँदा वादी दावी नपुग्ने गरी शुरुको उल्टी हुने ठहर्‍याएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को फैसला रहेछ ।

९.  वादी दावी बमोजिम लिखत फिर्ता पाउने ठहर नगरेको क्षे.अ.को इन्साफमा कानूनी त्रुटि हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको यस अदालतमा पर्न आएको निवेदनमा मुलुकी ऐन रजिष्ट्रेशनको ३७ नं. मा रजिष्ट्रेशन भएको लिखतको रुपैयाँ धनीलाई बुझाउँदा घरसारमै बुझाई कागज फट्टा गरी लिनु दिनु पनि हुन्छ भन्ने व्यवस्था भएको स्थितिमा राजीनामाको रुपैयाँ बुझी फिर्ता दिने व्यवस्था नभएको भन्ने समेत आधारमा वादी दावी नपुग्ने गरी गरेको क्षे.अ.को निर्णयमा उक्त रजिष्ट्रेशनको ३७ नं. को त्रुटि देखिन आएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको ०४१।१०।२१ को आदेश रहेछ ।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत विषयमा तारेखमा रहेका पक्ष विपक्षको वा.समेतलाई इजलासबाट पटक पटक बोलाउन लगाउँदा उपस्थित नभएका पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्धान अधिवक्ता श्री हरिशंकर निरौला तथा विपक्षी प्रतिवादीका तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमुनासिब के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

१२. यसमा प्रतिवादी कृष्णप्रसादबाट भएको शर्तबमोजिम मिति २०२६।३।८।१ मा भुचक्रपुर गा.पं वार्ड नं. ५(घ) कि.नं. २६ को ज.वि. ४१७ जग्गा माघ देखि चैत्र भरमा रु. ३,७५९०। बुझाएमा फर्काई दिन्छु भन्ने कागज गरेकोमा भाखा भित्र रुपैयाँ दिई जग्गा मेरा नाउँमा फिर्ता माग्दा दरपीठ राजीनामाको स्थितिलाई पनि गुम पारी दाखिल खारेज गर्नु भएकोले सो दरपीठ भएको लिखत फिर्ता पाउँ भन्ने वादीको मुख्य जिकिर भएकोमा कुनै पनि किसिमको लिखत दरपीठ गरिदिएको नहुँदा दावी बमोजिम कुनै लिखत फिर्ता दिनु पर्ने होइन र त्यसप्रकारको शर्तनामा भए वादीले फिरादसाथ पेश गर्नु पर्नेमा नभएबाट समेत झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाइन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ हेर्दा समेत दरपीठ  गराई लिखत आफ्नै साथमा राख्नु पर्ने कर्तव्य वादीलाई कानूनले तोकी दिएकोले नैतिक रुपमा प्रतिवादीलाई जिम्मेवार ठहर्‍याए पनि कानूनले बाध्य गराउन सक्ने नहुनाले कानूनले तोकेको जिम्मेवारी वादीले पूरा गर्न नसकेको भन्ने समेतका आधारमा शुरु जि.अ.को इन्साफलाई ज.अ.ले उल्टी गरेकोलाई म.क्षे.अ.ले सदर गरेको पाइन्छ । साथै यस अदालतबाट वादीलाई क्षे.अ.को उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति दिँदा मु.ऐन रजिष्ट्रेशनको ३७ नं. मा लिखतको रुपैयाँ धनीलाई बुझाउँदा घरसारमै बुझाई कागज फट्टा गरी लिन दिन पनि हुन्छ भन्ने समेत व्यवस्था रहेको भन्ने समेतको आधारमा अनुमति प्रदान भएको देखियो रजिष्ट्रेशनको उक्त ३७ नं. हेर्दा रजिष्ट्रेशन भएको लिखतको रुपैयाँ धनीलाई बुझाउँदा घरसार मै बुझाई कागज फट्टा गरी लिन दिन पनि हुन्छ । अड्डामा आई बुझाई आएपनि हुन्छ । घरसारमै लिनु दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैयाँ बुझिलिएँ भन्ने व्यहोरा लेखी बुझिलिने धनीको ऐन बमोजिमको रीत पुर्‍याई सहिछाप गराई फट्टा लिई सो लिएको मितिले पन्ध्र दिनभित्र आफैं हाजिर भई वा वारेस गरी वा लेखोट साथ छाप पठाई अड्डामा रहेको कागज श्रेस्तामा जनाई माग्न आएमा अड्डैका रोहवरमा बुझी लिएमा समेत अड्डैमा रहेको लिखतका पिठमा र पञ्जीकामा समेत सो व्यहोरा जनाई लेखी फट्टाका पिठमा समेत अड्डाको छाप लगाई फिर्ता दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । मिति २०२६।३।८ को पारीत विवादित लिखत राजीनामाको लिखत भई सुक्री बिक्रीबाट जग्गाको हक हस्तान्तरण भएको भन्ने देखिन्छ । सो लिखतबाट वादीले रुपैयाँ बुझाएमा पुनः रजिष्ट्रेशनको लिखत गरी जग्गा फिर्ता दिने भन्ने समेत पनि देखिँदैन । साथै शर्तनामालाई प्रतिवादीले माने पनि शर्तनामा बमोजिम रुपैयाँ बुझाएको प्रमाण वादीबाट पेश भएको देखिँदैन र शर्तनामाबाट कानून बमोजिमको पारीत लिखतको व्यवहारलाई असर पार्न सक्ने स्थिति पनि आउँदैन । करार ऐन, २०२३ बमोजिम वादीको फिराद परेको पनि देखिँदैन । उक्त रजिष्ट्रेशनको ३७ नं. बमोजिम रुपैयाँ लिन दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैयाँ बढी लिए भन्ने व्यहोरा लेखी बुझी लिने धनीको ऐन बमोजिमको रीत पुर्‍याई सहिछाप गराई फट्टा लिई रजिष्टे«शन गर्ने अड्डामा जानपर्नेमा वादीले सो बमोजिमको प्रकृया अपनाई कानूनी उपचारतर्फ लाग्नु पर्नेमा सो बमोजिम गरे भएको देखिन नआएको समेतबाट वादीले दावी गरेको दरपीठ गरेको लिखतबाट मालपोत कार्यालयले राजीनामाबाट अड्डामा रहेको श्रेस्ता सच्याई वादीको नाममा फिर्ता दिने कुनै कानूनी आधार समेत भएको नदेखिएको भन्ने आधारमा वादी दावी पुग्न नसक्ने गरी शुरु जि.अ.को इन्साफलाई उल्टी गरेको अञ्चल अदालतका इन्साफलाई मनासिब ठहर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्ट फी रही मुद्दा दायर भएको देखिँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल असार २५ गते रोज ५ शुभम् ।

