March 1, 1987
Created by nepalarchives

निर्णय नं. ३०५६ – तिरो बुझाई पाउँ

निर्णय नं. ३०५६     ने.का.प. २०४४ अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. ६५२...

निर्णय नं. ३०५६     ने.का.प. २०४४ अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको रि.नं. ६५२

मुद्दा : तिरो बुझाई पाउँ।

 

पुनरावेदक/वादी: जि.पर्वत खुर्केही गा.पं. वार्ड नं. ८ घर भई हाल ऐ.ऐ.वार्ड नं. ७ पौवा पानी बस्ने चक्र पाणी पाध्या।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. वार्ड नं. ६ बस्ने जि.विष्णुप्रसाद पौडेल।

      ऐ.ऐ बस्ने मेघिनी बल्लभ पाध्या।

फैसला भएको मिति: २०४३।११।१७।१ मा

     तेरो मेरो भन्ने प्रश्न उपस्थित भएपछि जग्गाको हक बेहकमा निर्णय गर्ने अधिकार माल अड्डालाई नभएकोले जग्गामा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएको मुद्दामा सम्बन्धित अदालतबाट हक बेहक गरी ल्याउनु भनी सुनाउनु पर्ने ।

(प्रकरण नं. १६)

पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा अधिकारी

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बरप्रसाद सिंहःपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।४।२९।३ को फैसलामा चित्त नबुझी पुनरावेदक वादीको तर्फबाट पुनरावेदनको अनुमतिको निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ।

२.    २०३७ सालको तिरो बुझिदिनुहोस् भनी २०३८।१।४ गते विपक्षका घरमा गई भन्दा तिरो बुझी रसीद गरिदिन्न भनी भन्नु भएको कारणबाट म्याद भित्र ।२५ मध्ये खेत मुरी ।९।७।१ मध्येमा खेत मुरी ।६।७।१ को तिरो रु. २।८।६ लागेको चिसापानी भन्ने खेतको ।७५ छुट गर्दा हुने तिरो रु. ।७।१।२ तिरो धरौट राख्न ल्याएको छु विपक्षीलाई झिकाई तिरो बुझाई रसीद दिलाइपाउँ भन्ने समेत व्यहोराको चक्रपाणी पाध्याको पर्वत माल कार्यालयमा दिएको दर्खास्तपत्र ।

३.    १९९९ सालका ३ महलेमा चिसापानी भन्ने जग्गा मेरी आमा चित्रकला विपक्षका बाबु रश्मीराज समेतका नाउँमा खेत ।२५ र खेत ।१२ समेत जम्मा खेत मुरी ।३७ दर्ता भई मेरी आमा चित्रकलाका हकमा खेत मुरी ।१९ पर्न आई म समेतको अंशियारा खेती भलानाथ, घनराज, कृष्णप्रसाद र म समेतले खाएको खेत मुरी ।१८ निजका अंशियारा कान्छा बाबु चुडामणी र रश्मिराजले आधा आधा बण्डा गरी २००५।११।२८ मा बण्डापत्र पारीत गरी विपक्षका बाबु रश्मिराजका बण्डामा खेत मुरी ।९ बण्डा भई खेत मुरी ।९ मा खेत मुरी ।६ भोग बन्धकी र खेत मुरी ।३ राजीनामा गरी मेघिनी बल्लभलाई दिएको हुँदा मेघिनी बल्लभबाट तिरो बुझेको छु । खेत पाथी ।७।१ विपक्षको हकको होइन । विपक्षका दाजु मोहनराजले मेरा हक अंश भोगको खेत मुरी १ को रु. १००।मा बन्धक गरिदिएको सो बन्धकी माटोको तिरो निज मोहनराजका अंशियारा विपक्ष चक्रपाणी, टेक नारायणले बण्डा गरी आएको हुँदा निज चक्रपाणीलाई  खेत पाथी । ।७।१ को रसीद दिने गरेको हो । २०३५।९।७ मा विपक्षीको दाजु मोहनराजलाई थैली बुझाई मैले लिएको हुँदा निजबाट तिरो बुझी रसीद गरिदिन पर्ने होइन भन्ने समेत व्यहोराको जि.मु.विष्णुप्रसाद पौडेलको बयान ।

४.    चिसापानी भन्ने खेत ।२५ मध्ये निज चक्र पाणीका हकको खेतमुरी ।९ मा खेत मुरी ।६ उजूरवाला चक्रपाणीबाट २०३४।१०।२० मा भोग बन्धकी लिएको र खेत मुरी ।३ रु. १२,०००।मा २०३६।११।५ मा राजीनामा पारीत गरी लिएको हुँदा राजीनामा र बन्धकी गरी खेत मुरी ।९ को तिरो मैले जि.विष्णुप्रसादलाई बुझाई रसीद लिने गरेको छु भन्ने समेत व्यहोराको मोधिनी बल्लभको बयान ।

५.    बण्डापत्रमा उल्लेख भएको जग्गा भुक्तान देखिन आउने खेत पाथी ।।७।१ को हकमा उजूरवालाको दाजु मोहनराजलाई खेत मुरी १ जि.विष्णुप्रसादले बन्धकी दिई सो बन्धकी समेत निखनी लिएको देखिएको उजूरवालाका बाबुको बण्डापत्र हुँदा खेत मुरी ।१८। मा खेत मुरी।९ अंशमा परेको बण्डापत्रबाट देखिएकोले बण्डा भन्दा बढी जग्गाको तिरो जि.विष्णुप्रसादले बुझ्नु पर्ने भन्न नमिल्ने हुँदा उजूरी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको पर्वत माल कार्यालयको २०३८।८।२९ को फैसला ।

६.    मैले विपक्षीलाई बुझाउनु पर्ने खेत मुरी ६।७।१ को तिरो बुझाउन पाउनेलाई बुझाउन नपाउने भनी पर्वत मालले गरेको फैसला बदर गरी तिरो बुझाउन पाउँ भन्ने समेत व्यहोराको चक्रपाणी पाध्याको २०३९।१०।१८ को धवलागिरी अञ्चलाधीश कार्यालयमा परेको पुनरावेदनपत्र ।

७.    बण्डा भन्दा बढी जग्गाको तिरो जि.विष्णुप्रसादले बुझ्नु पर्ने भन्न नमिल्ने हुँदा उजूरी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको २०३९।१२।२२ को धवलागिरी अञ्चलाधीश कार्यालयको फैसला ।

८.    धवलागिरी अञ्चलाधीश कार्यालयको निर्णयमा कानूनमा प्रत्यक्ष त्रुटि भएको र खास लाग्ने प्रत्यक्ष प्रमाण छाडि इन्साफ तलमाथि पारेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको चक्रपाणी पाध्याको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।

९.    यसमा निवेदकले २०३५ सालको तिरो खेत मुरी ।९।७।१ को तिरो तिरेको रसीद पेश भएको र बण्डा पत्रमा निजको अंश भागमा ९ मुरी सात पाथी परेको देखिन्छ । निवेदकले ३ मुरी राजीनामा र ६ मुरी भोग बन्धकी दिए पनि ७ पाथी बाँकी रहन आउँछ र भोग बन्धकीमा दिएको ६ मुरी जग्गाको तिरो समेत निवेदकले तिर्नु पर्ने देखिन आएकोमा निवेदकको ९ मुरी बण्डापत्रको जग्गा नै नरहेको भन्ने अर्थ गरी शुरु मालले उजूरी झुठ्ठा ठहर्‍याई गरेको फैसलालाई सदर गरी अञ्चलाधीश कार्यालयबाट भएको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ अनुसारको त्रुटि भएको देखिनाले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।३।२८ को आदेश ।

१०.    यसमा वादीका बाबु रश्मीराज पाध्याले चिसापानी भन्ने जग्गा नौ मुरी पाएको देखिन्छ । नौ मुरी ७ पाथी १ माना भन्ने देखिएन । यस स्थितिमा धवलागिरी अञ्चलाधीश कार्यालयको इन्साफमा कुनै कानूनी त्रुटि नदेखिएकोले अञ्चलाधीश कार्यालयको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको मिति २०४२।४।२९।३ को प.क्षे.अ.को फैसला ।

११.    पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट वादी दावी नपुग्ने ठहर्‍याई मिति २०४२।४।२९।३ मा भएको फैसला चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा मिति २०३५।१२।८ मा जिम्मावाल विष्णुप्रसादले तिरो बुझी चक्रपाणी पाध्यालाई गरिदिएको रसीद समेत प्रमाण लगाई निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को  त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय समेत हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति २०४२।११।१५।४ को यसै अदालत डिभिजन बेञ्चको आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा अधिकारीले गर्नु भएको बहस जिकिर समेत सुनियो।

१३.   यसमा प.क्षे.अ.बाट भएको इन्साफ मनासिब बेमनासिब के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।

१४.   प्रस्तुत मुद्दामा खेत मुरी ।९।७।१ मध्ये खेत मुरी ।६।७।१ को तिरो रु. ।७१।२ बुझाउन जाँदा जि.विष्णुप्रसादले बुझी नलिएकोले तिरो बुझाई पाउँ भनी निवेदन साथ मालपोत कार्यालयमा निवेदक चक्रपाणी पाध्याले धरौट राखेकोमा माल कार्यालयबाट विष्णुप्रसादलाई झिकाई २०३८।२।२७ मा बयान गराउँदा निवेदकको अंश भागको जम्मा खेत मुरी ।९ मध्ये खेत मुरी ।६ भोगबन्धकी र खेत मुरी ३ राजीनामा पारीत गरी मेघिनी बल्लभलाई दिइसकेकोले खेत पाथी ।७।१ विपक्षीको हकको होइन मेरो जग्गा भन्ने बयान गरेको देखिन्छ ।

१५.   पर्वत माल कार्यालयबाट खेत मुरी ।६ बन्धकी खाने साहू मेघिनी बल्लभलाई बन्धकी जनाई रसीद दिएको र खेत मुरी ।३ को पनि निजै मेघिनी बल्लभलाई राजीनामा गरेको देखिएकोले बण्डामा पाएको खेत ।९ भुक्तान भएको खेत पाथी ।।७।१ को हकमा उजूरवालाको दाजु मोहनराजलाई खेत मुरी ।१ जि.विष्णुप्रसादले बन्धकी दिई सो बन्धकी समेत निखनी लिएको देखिएकोले उजूरवालाको अंशबण्डा भन्दा बढी खेत । ।७।१ को तिरो बुझाई पाउँ भनी राखेको उजूरी झुठ्ठा ठहर्छ भन्ने फैसला गरेको र सोही इन्साफलाई धौलागिरी अञ्चलाधीश कार्यालय र प.क्षे.अ.बाट समेत सदर भएको देखियो ।

१६.    उक्त माल कार्यालयको निर्णयबाट जग्गाको हकबेहक तर्फ नै निर्णय भएको पाइन्छ। जग्गामा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएपछि जग्गाको हकबेहकमा निर्णय गर्ने अधिकार माल अड्डालाई नभएकोले जग्गामा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएको प्रस्तुत मुद्दामा सम्बन्धित अदालतबाट हकबेहक गरिल्याउनु भनी सुनाउनु पर्नेमा अधिकार नभएको माल कार्यालयले हक बेहक तर्फ समेत निर्णय गरेकोलाई सदर गरेको धवलागिरी अञ्चलाधीश कार्यालयको इन्साफलाई सदर गरेको प.क्षे.अ.को इन्साफ कानून अनुरुप नहुँदा उक्त इन्साफ बदर हुने ठहर्छ कानून बमोजिम गर्नु भनी तारेखमा रहेका पक्ष विपक्षलाई सम्बन्धित पर्वत मालमा हाजिर हुन जाने तारेख तोकी मिसिल समेत पठाई दिने समेत ठहर्छ । प.क्षे.अ.को इन्साफ उल्टी भएकोले मा.मु.न्या.श्री प्रचण्डराज अनिल तथा मा.न्या.श्री मोहनप्रसाद शर्माको उल्टी रेकर्ड राख्नु ।

 

उक्त रायसंग म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४३ साल फाल्गुण १७ गते रोज १ शुभम् ।

